Tuesday, October 21, 2025
९९औं यात्रा नुवाकोट - खोलाघरे साहिंलो
आज नुवाकोटका बेलकोटगढी र बाघखोरमा स्थानीयहरूसँग भेटघाट गरेर,साहित्यिक ,साँस्कृतिककार्यक्रममा सहभागी भएर बिताइयो ।स्रष्टा पदयात्राको ९९अौं शृङ्खलामा हामी (
खोलाघरे साहिंलो,घनश्याम प्रसाईं ,बालचन्द्र मिश्र,शीतल गिरि,निशा केसी,वासु पौडेल ,सावित्री श्रेष्ठ ,शशी थापा,,नानीबाबा अधिकारी ,दुर्गा भवानी भट्ट ,ध्रुव थापा पुरुष,माधवलाल श्रेष्ठ रामकुमार पण्डित ,
जुनम किरण,मन्दिरा मधुश्री,शुभारम्भ पाण्डे ,,परिच्छेद सेन,यति १७ जनाको सहभागिता रहेको छ । अहिले महाकवि देवकोटाको मावली गाउँ बेलकोटगढी न पा को झिल्टुङमा वास बसेका छौं ।भोलि बिहान यहाँको कुञ्जिनी पार्कमा अर्को कार्यक्रम छ। दिउँसो देवीघाट हुँदै काठमाडौं फिर्ता हुनेछौं । जय स्रष्टा ! जय साहित्य !! ०८२/०७/०१
९९अौं पदयात्राको दोस्रो दिन - ०८२/०७/०२
झिल्टुङ,झिल्केश्वर महादेव,कुञ्जिनी पार्क र देवीघाट
०८२/०७/०१ गते बिहान अर्थात् हिजो स्थानीय झिल्केश्वर महादेव सहकारी संस्थाले हामीलाई टीका लगाइ दिएर गाइड समेत साथ लगाएर विदा दियो । हामी अलिक माथि रहेको झिल्केश्वर महादेव थानको दर्शन गर्दै कुञ्जिनी पार्कतिर लाग्यौं । ९ बजेतिर त्यहाँ पुग्यौं । यो कुञ्जिनी पार्कको नजिकै देवकोटाको मावली ससुराली घर,जो अब भत्किसकेछ,त्यहाँ बसेर एकै रातमा देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेका थिए । बेलकोटगढी न पा वडा नं ५,नगरपालिका र पर्यटन मन्त्रालयको समवेत प्रयास र लगानीमा कुञ्जिनीपार्क बनेको रहेछ । यो पार्कमा देवकोटा प्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेर देवकोटाकै हिजो मात्रै अनावरण गरिएको शालिकलाई साक्षी राखेर रचनावाचन गर्छौं । यहाँ रचनावाचन गर्नेहरूमा( दुर्गा भवानी भट्टानीबाबा अधिकारी,खोलाघरे साहिंलोमन्दिरा मधुश्री,डा। शशी थापा पण्डित ,वासुदेव पौडेल ,डा। बालचन्द्र मिश्र यति थियौँ । मैंले यो कविता वाचन गरें(
ूश्रद्धाञ्जलि महाकवि देवकोटामाू
नेपाली कविवर्गमा शिखर हुन् साहित्यका गाौरव
पढ्छौं नित्य खुशी भएर यिनका वाणी कलापौरख
नेपाली जनका विशिष्ट प्रतिभा हुन् देवकोटा कवि
झुल्केलान् कि हजार वर्षभरिमा यस्ता उज्याला रवि ।१।
नेपाली मन बोल्छ काव्यजतिमा नेपाल नै लेख्दछन्
आफ्नै सँस्कृति,सभ्यता र गरिमा अग्लो चुली देख्दछन्
हो पूर्वीय कला,पना जगतकै आनन्ददायी
चाला पश्चिमको छ नश्वरमुखी,झिल्के सबै चिन्तन ।२।
हो शाकुन्तल काव्य उन्नत बडो,लालित्यभण्डार यो
अत्यन्तै प्रिय झन् मुनामदन हो पढ्ने उसै पल्कियो
एकै रात खिपेर काव्य बनियो ,जो गुञ्जियो कुञ्जिनी
यस्ता काव्यमहारथी अमर छन् नौलाख तारामुनि ।३।
कोही जात ठुलो हुँदैन दिलले बन्छन् ठुला मानव
यस्तो उच्च विचार लाग्छ यिनको हो विश्वकै वैभव
मान्छे बन्दछ मानवीय गुणले,सिद्धान्तले होइन
सेवा गर्नु ठूलो छ धर्म,गफले गर्ने ठूलो होइन ।४।
यस्तै उत्तम सोच काव्यभरि छन्,छन् उच्चताबोधक
लक्ष्मी नाम छ किन्तु कार्य जतिमा हुन् शारदाका सुत
आफ्नो सँस्कृतिभित्र गौरव गरी आनन्दमा रम्दथे
हो अत्यन्त पवित्र जन्मधरणी यो तीर्थ हो भन्दथे । ५।
हाम्रा उत्तम काव्यमूलप्रतिभा आऊन् सधैं सम्झना
हामी गर्व गरी सधैंभरि गरौं साहित्य संरक्षण
लक्ष्मीको स्मृतिमा यिनै लवजले सम्मान अर्पीकन
साथै गर्दछु शुद्ध भाव,मनले श्रद्धाञ्जली अर्पण ।६।८८८
हामी आधा घण्टाजति पैदल हिंडेर केही तल सडकसम्म आयौं । त्यहाँ रोटेपिङ पनि खेलियो । झिल्केश्वर महादेव सहकारी संस्था र महाकवि देवकोटा प्रतिष्ठान,बालकोटगढी न पा वडा नं ५ का सदस्यहरू र वडावासी लगायतबाट हामीलाई अगुवाइ गरिएको छ । ठाउँठाउँका बारेमा उहाँहरूले हामीलाई जानकारी दिइरहनुभएको छ ।तीनजना प्रहरी जवानहरू पनि हाम्रो टीमका लागि वडाले व्यवस्था गरिदिएको छ,प्रहरी र हवल्दार भाइहरू पनि हाम्रो पदयात्रामा साथै हुनुहुन्छ । रोटेपिङ खेलेर भैंसीको दूध,बेस्सरी तताएको हामीलाई थपीथपी खान दिइन्छ । त्यसपछि हाम्रो बिहानको ३ घण्टाजतिको पैदलयात्रा सकिन्छ ,हामी त्यहाँका स्थानीयहरूबाट विदा भएर बसमा चढ्छौं ।
नारायण नेपाल महाकवि देवकोटा प्रतिष्ठानका सचिव ले हामीलाई छोड्नुभएको छैन । सरासर हामी देवीघाट पुग्छौं । त्यहाँ ज्येष्ठ नागरिक सेवा भवनमा हामीलाई भोजनको व्यवस्था गरिएको हुन्छ । सुस्वादु भोजनबाट हामी सन्तुष्ट हुन्छौं । त्यसपछि आश्रमको हलमा हामी जम्मा भएर परिचय आदानप्रदान गर्छौं । कार्यक्रम सञ्चालक नारायण नेपालजी नै हुनुहुन्छ ।आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपालबाट आश्रमको स्थापना, इतिहास,गतिविधि र सेवामूलक भावी कार्ययोजना हरूबारे जानकारी दिनुहुन्छ । ज्येष्ठ नागरिक आश्रमलाई हामी स्रष्टा पदयात्रासमूहबाट बाट रू ३ हजार समर्पण गर्छौं । अध्यक्ष शीतल गिरिको मन्तव्य हुन्छ,घनश्याम प्रसाइँबाट भजन प्रस्तुत हुन्छ । कार्यक्रम समापन भएपछि आश्रमको अगाडि सामुहिक फोटो खिचिन्छ,अनि विष्णुप्रसाद नेपालजी,नारायण नेपालजीको अगुवाइमा हामी देवीघाटको भ्रमणमा जान्छौं । तादी र त्रिशूलीको सङ्गममा केही बेर स्रष्टाहरू रमाउँछन्,अध्ययन गर्छन्,मैंले पनि यी दुवै नदीको सङ्गममा आफ्ना पितृहरूलाई सम्झेर जलाञ्जलि अर्पण गरें । पृथ्वीनारायण शाहको चिताशिलाको पनि अवलोकन गर्यौं हामीले । यसपछि देवीघाट लगायत बेलकोटगढी न पा लाई विदाइको हात हल्लाउँछौं र बसमा चढ्छौं । यो यात्राभरि मलाई जिलिङका सूइरे कवि शम्भु गजुरेलको अभाव महसूस भैरह्यो ।उहाँ अस्वस्थ भएर आउन सक्नुभएन । स्थानीय भएकाले र स्रष्टा पदयात्राका सदस्यसमेत हुनुभएकाले यो परिसरको भ्रमणमा उहाँबाट हामीलाई अझै धेरै जानकारी प्राप्त हुने थियो,यो पक्ष बिझाइरहने भयो ।
हार्दिक धन्यवाद
यो ९९अौं यात्राका संयोजक दुर्गाभवानी भट्ट,छन्द कवि,स्थानीय स्रष्टा रामराजा तिमिल्सिना,कार्यक्रम सञ्चालिका दीक्षा लामा,बेलकोटगढी न पा वडा नं ५ का अध्यक्ष लगायत हामीलाई सहयोग गर्ने सबैमा,महादेव मा वि का प्र अ रामशरण पुडासैनी ,झिल्केश्वर सहकारी संस्थाका सम्पूर्ण पदाधिकारीहरू,महाकवि देवकोटा प्रतिष्ठानका नारायण नेपाल,ज्येष्ठ नागरिक सेवा आश्रमका विष्णुप्रसाद नेपालजी,प्रहरी भाइहरू लगायत सबैमा ।
जय बेलकोटगढी ! जय स्रष्टा !! जय साहित्य !!!
२०८२-०७=०३
Subscribe to:
Post Comments (Atom)
९९औं पदयात्रा नुवाकोट - शीतल गिरी - (मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रा पलासे )
२०८२ कार्तिक १ गते विहान बालाजु माछापोखरी चोकमा जम्माभएर बासुदेव पौडेल, माधवलाल श्रेष्ठ, शीतल गिरी, ध्रुवराज थापा पुरुष, मन्दिरा मधुश्री, डा...
-
मेरो पदयात्रा एन्जल निलू म मिथिला (सप्तरी) मा जन्मेकी मिथिलाकी छोरी स्रष्टा पदयात्रा नेपालको कार्यक्रममार्फत धेरै पटक ...
-
नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितक...
-
अभिनव साहित्य समाजको जेष्ठ महिनाको कार्यक्रम सम्पन्न, पौडेल सम्मानित । नेपाल राज्यभरि धेरै साहित्यिक संघसंस्थाहरू खुलेका छन् । कति साहित्य...






No comments:
Post a Comment