आख्यानमा तेस्रोलैङ्गिक चरित्र ... 🖋 लेखक दीपकप्रसाद ढकाल
प्रस्तुत कृतिलाई अनुसन्धान विमर्श नेपालले २०८१ सालमा प्रकाशनमा ल्याएको छ । वितरकमा प्राज्ञिक बुक्स बागबजार र भुँडीपुराण प्रकाशन बागबजार रहेका छन् । लेआउट विपिन प्रकाश ढकाल गर्नु भएको छ ।
लेखकको भनाइ
नेपाली आख्यान समाजका युगिन तथा परिवेशगत सन्दर्भसँग अविच्छेद्य सम्बन्धमा विकसित भएको विधा हो । स्रष्टाले समाजमा बाँँचेर देखे भोगेका घटना साझा विश्वास विगतका अनुभवका आधारमा आगतका सन्दर्भमा गरेको कल्पना तथा पाठ्यक्रममा प्रदान गर्ने वैचारिकीका कोणबाट यस विधाले आलंकारिक सौन्दर्य प्राप्त गरेको हो । समाजका वस्तु स्थितिलाई आख्यानको परिधिभित्र दिक् तथा कालको सुसम्बद्ध विन्यास गरी प्रस्तुत गर्ने सिलसिलामा नेपाली आख्यान विधाले हालसम्मको ऐतिहासिक गति एवं प्रवृत्ति प्राप्त गरेको हो । त्यसैले समाजमा भएका राजनीतिक सामाजिक शैक्षिक तथा प्राज्ञिक सांस्कृतिक घटना आख्यानीकरणका कच्चा पदार्थ एवं रुपाधार निर्माणका आधारभूमि हुन्। यसै सन्दर्भमा २०३६ को जनमत संग्रह २०४६ को प्रजातान्त्रिक आन्दोलन विश्व राजनीति र बजारका तत्कालीन सामूहिक वस्तु एवं ज्ञानात्मक संचारले नेपाली समाजमा पनि प्रभाव पारेको हो । यसैले सृजना गरेका परिवेशगत उदारता तथा नागरिकले अनुभव गरेको हक अधिकारको सचेततासँगै सांस्कृतिक लिङ्ग व्यवस्थासम्बन्धी सोचमा पनि परिवर्तनको सन्दर्भ देखिएको हो ।
लिङ्ग र लैङ्गिकता फरक सामाजिक सन्दर्भ हुन्। लिङ्ग यौनिक अनुभूति संवेग तथा प्रजननको प्राकृतिक भूमिका सम्बद्ध विषय हो । त्यसैले यो प्रजनक गुणको प्राकृतिक अवस्थासँग निकट हुन्छ। लैङ्गिकता सांस्कृतिक भूमिका अमूर्त संस्थागत स्थान तथा त्यसका निम्ति आवश्यक अभिमुखीकरण एवं स्वीकरणको व्यावहारिक पक्ष हो । यौनिकता अमूर्त तथा तरल भएकाले यो कुनै सामाजिक तथा सांस्कृतिक आवरणद्वारा परिभाषित एवं चिन्वित हुने विषय होइन भन्ने दृष्टिकोण नै लैङ्गिकताका बारेमा गरिएको पृथक बहस हो । तेस्रो लैङ्गिकता विशेषत समाजमा विद्यमान दुईलिङ्गीय सांस्कृतिकताप्रति विमति र तरल संवेदनाप्रति सम्मतिको बीज बिन्दु हो । जब नारीलाई समाजद्वारा ओडाइएका आवरण तथा भूमिकाको आलोचना सुरु भयो तब लैंगिकता र यौनिक पहिचानको विषय पनि सतहमा आयो । यसैले नारीवादले समाजमा सघन मूल्य स्थापनाका सन्दर्भमा उठाएका प्रश्न तथा त्यसले सिर्जना गरेका यौनिक सवाल नै तेस्रो लिङ्गीको वैकलिल्पक स्थान हो । उत्तर आधुनिकताले स्थापित गरेको अनिर्धारण अनित्य सापेक्षतावादी चिन्तन केन्द्र बिहिनताको अवधारणाले तेस्रोलिङ्गीको यौनिकता तथा त्यसको स्वभाविकता स्थापित गरेको हो किनभने समाजले संस्थागत गरेको लैंगिकता नै अन्तिम सत्य होइन भन्ने आलोचनात्मक दृष्टि यसको तार्किक धरातल हो ।
नेपाली आख्यानमा तेस्रो लैङ्गिकता उदार सामाजिक तथा राजनीतिक परिवेश र उत्तर आधुनिकतासँगै प्रवेश भएको केन्द्रविहीनताको परिणाम हो । चरित्र आख्यानको दिगद्वारा सिर्जना गरिएको कारणकार्यको परिणाम हो । यो मानवीय व्यक्तित्वमा विम्बित प्रकारको पुञ्ज हो । तेस्रो लैङ्गिक व्यक्तित्वयुक्त चरित्र नेपाली उपन्यासमा हालसम्म प्राप्त तथ्याङ्क अनुसार २०५० देखि प्रयोग भएको देखिन्छ भने कथामा २०६६ बाट प्रवेश गरेको देखिन्छ । त्यसयता यी दुवै विधामा तेस्रो लैङ्गिक चरित्र तथा यस्तो चरित्रको प्रारूपीकरणमा संलग्न स्रष्टा क्रमश प्रवेश गरेका छन्। विषयवस्तुको नविनता घटनाको उपलब्धता र त्यस्ता घटनाको आन्तरिकीकरण प्रक्रियाद्वारा चरित्र निर्माण गर्नु जटिल सन्दर्भ भएकोले पनि कम प्रकाशित भएका छन् तिनका विषयमा गरिएका विमर्श एवं अध्ययन पनि तुलनात्मक रूपले कम हुने गरेका छन्।
प्रस्तुत अध्ययन मैले नेपाली आख्यानमा तेस्रो लैङ्गिक चरित्रको प्रयोग २०७५ शीर्षक त्रिभुवन विश्वविद्यालय शिक्षा दक्षको कार्यालय अनुसन्धान केन्द्र कीर्तिपुरमा सम्पन्न गरेको लघु अनुसन्धानको परिमार्जित सामग्री हो । अनुसन्धानको प्रकृति अवधि र आयामका विस्तारका दृष्टिले यसको आफ्नै संरचनात्मक स्वरूप रहेकोमा हाल परिमार्जित रूपबाट यो प्रकाशनमा आएको हो । यस क्रममा मैले २०७५ यता प्रकाशित भएका तेस्रो लैङ्गिक चरित्र सम्बद्ध उपन्यास कथा समालोचनाबाट सामग्रीले परिमार्जनलाई व्यवहारिक रुप दिएको छु । थप सामग्रीका बारेमा सूचनाको अभाव विश्लेषणमा देखेका त्रुटी र विषयलाई पाठक सामु प्रस्तुत गर्ने शैलीमा सुधार गर्नुपर्ने पक्ष नितान्त मेरा कमजोरी हुन् । अध्ययनमा समावेश गर्न सकेका नविनतम सामग्री र दृष्टि प्राज्ञिक परिवेशका सृजना हुन् अध्ययनका निम्ति पारिवारिक वातावरण अनुकूल बनाइदिने स्नेही पत्नी सिता घिमिरे (ढकाल)प्रति मेरो असिम सम्मान छ । अन्त्यमा प्रकाशनको जिम्मेवारी र व्यवस्थापकीय भूमिकाका निम्ति अनुसन्धान विमर्श नेपालका प्रबन्धक बद्रीप्रसाद ढकालप्रति आभार व्यक्त गर्दछु ।
... 🖋दीपकप्रसाद ढकाल ।
प्रस्तुत अनुसन्धानमूलक कृतिलाई ढकालले चार परिच्छेदमा विभाजन गरेको देखिन्छ । पहिलो परिच्छेद अन्तर्गत आख्यानमा तेस्रो लैङ्गिक चरित्र प्रयोगको सैद्धान्तिक सन्दर्भ छ । यस शीर्षक अन्तर्गत विषय प्रवेश, लैङ्गिक अभिमुखीकरण, नारीवाद र लैङ्गिकताको सम्बन्ध, तेस्रो लैङ्गिकताका आयाम शीर्षकमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
यसैगरी दोस्रो परिच्छेद अन्तर्गत तेस्रो लैङ्गिकको पहिचान र उत्तरवर्ती नेपाली आख्यानमा प्रयोग शीर्षक दिइएको छ । यस अन्तर्गत विषय प्रवेश, तेस्रो लैङ्गिक चरित्रको सामाजिक पहिचान, संविधानमा तेस्रोलिङ्गीको पहिचान, पेशा, विश्व प्रसिद्ध तेस्रोलिङ्गी तेस्रो लैङ्गिक चरित्रयुक्त आख्यानको युगीन परिवेश र सर्वेक्षणको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
त्यसैगरी तेस्रो परिच्छेद अन्तर्गत तेस्रो लैङ्गिक चरित्रयुक्त उत्तरवर्ती प्रतिनिधि नेपाली आख्यानको शीर्षकमा विश्लेषण गरिएको छ । यस अन्तर्गत विषय प्रवेश, तेस्रो लैङ्गिक चरित्रयुक्त उपन्यास र विश्लेषण तेस्रो लैङ्गिक चरित्रयुक्त प्रतिनिधि कथाको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
चौथो परिच्छेद अन्तर्गत सारांश र निष्कर्ष प्रस्तुत गर्नुभएको छ। समग्र कृतिको सारांश र निष्कर्षको माध्यमबाट हर प्रकारका अनुसन्धानदातालाई यो विश्लेषणात्मक सामग्री महत्वपूर्ण ठहरिएको छ र अध्यताले अन्तिममा सन्दर्भ सामग्री सूची समेत प्रस्तुत गर्नुभएको छ ।
कृतिको अन्तिम भाग बाहिर कभरपट्टि नेपाली भाषा साहित्यका विद्वानद्वय प्रा. मोहनराज शर्मा र प्रा. डा. गोविन्दराज भट्टराईको भनाइलाई प्रस्तुत गरेको देखिन्छ । समगमा्र अध्येताहरूको नजरमा यो विश्लेषणात्मक कृति एकदमै मननीय देखिन्छ ।
कृतिको बारेमा बाँकी यहाँहरुले कृति संकलन गरी आफै अध्ययन गरी बुझ्नसक्नु हुनेछ । कृति अनुसन्धान विमर्श नेपालको स्टल बागबजारमा यहाँहरुले प्राप्त गर्न सक्नुहुनेछ ।
No comments:
Post a Comment