Saturday, February 8, 2025

समाजसेवी उत्तम पुडासैनी अभिनवमा सम्मानित

  • अभिनव साहित्य समाजमा हरेक महिना रचनावाचनका कार्यक्रम हुने गर्छन् । हरेक महिनाको अन्तिम शनिबार हुने रचनावाचनका साथ अतिरिक्त  पुरस्कार अर्पणका कार्यक्रम पनि जोडिएर सम्पन्न हुने गरेको छन्् । आज अभिनव मणिराम शिक्षा तथा समाजसेवी पुरस्कार वितरण समेत जोडिएर रचनावाचन सम्पन्न भयो । आजको कार्यक्रमको सभापतित्व अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले गर्नुभएको थियो भने सञ्चालन शारदा पराजुलीको रहेको थियो । स्वागत मन्तव्य मेनका आचार्यको रहेको थियो । प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र विशिष्ट अतिथिमा प्राध्यापक पिताम्बर दाहाल रहनुभएको थियो । कार्यक्रममा सर्जक कविहरू सुशील आचार्य, ओमप्रसाद कोइराला, ठाकुर खतिवडा, प्रदीप आचार्य, डिल्लीराज अर्याल, परासर रिजाल, सिताराम पोखरेल, रामचन्द्र दाहाल, बाजुराम पौडेल, बसन्त रिजाल, गीता बराल, ब्रह्मप्रिय प्रेमस्वरूप, बिपि इलामे, मेनका पोखरेल, घनश्याम प्रसाई लगायतका व्यक्तित्वहरूले रचनावाचन गर्नुभएको थियो । आज दर्शक दीर्घामा संविधानसभा सदस्य रामेश्वर फुएल लगायतका समाजसेवी, साहित्यकार, स्थानीय बासीहरू उपस्थित हुनुहुन्थ्यो । आजको कार्यक्रममा डा. सुवास प्याकुरेल जो मणिराम चालिसेका नाती पनि हुनुहुन्छ उहाँले मणिराम चालिसेकोबारेमा जीवनका विविध पक्षबारे जानकारी दिनुभयो । स्वर्गीय मणिराम चालिसे राजनीतिज्ञ, समाजसेवी, शिक्षाप्रेमी, उद्यमी र धेरैका प्रेरणाका स्रोत हुनुहुन्थ्यो । उहाँको भेट तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भएको सन्दर्भ पनि आज कार्यक्रममा चर्चा भयो । मणिराम शिक्षा तथा समाजसेवा पुरस्कार  समाजसेवी उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिका ६ का बासिन्दालाई प्रदान गरियो ।  पुरस्कृत व्यक्तित्व उत्तम पुडासैनीको बारेमा संस्थाका अध्यक्ष घिमिरेले प्रकाश पार्दै भन्नुभयो धर्ती बचाऊँ जीवन जोगाऊँ अभियान, फोहोर मुक्त समाज, बागमती सफाई, बाछाबाछी संरक्षण अभियान र विकृति विसंगति विरुद्धका अभियानमा सम्मानित पुडासैनीले ४६ सालदेखि नै कार्य गर्दै आउनुभएको हो । समाजलाई जसले सम्मान गर्छ उसलाई समाजले पनि सम्मान गर्छ । विदेशमा १० वर्षको कामको अनुभव समेत लिएर आफ्नै समाजको सेवा गर्न आएका पुडाासैनी उदाहरणीय पात्र हुन् । उनले लामो समयदेखि गाई बाछा बचाउ अभियानमा देखाएको सक्रियताले समाजको मन जितेका छन्  । गत वर्ष यो पुरस्कार समाजसेवी  उद्धव रायमाझीलाई प्रदान गरिएको थियो । बहुजन हिताय कार्य गर्ने व्यक्ति चालिसे र पुडासैनी अनि रायमाझी जस्ता व्यक्तित्वलाई समाजले जहिले पनि सम्झिरहन्छ । चालिसे परिवारद्वारा स्थापित यो पुरस्कारले सबैलाईे आआफ्ना मातापिताको सम्झनामा केही न केही योगदान गरौं भन्ने सन्देश दिएको छ । आजै यही अभिनव साहित्य समाजका उपाध्यक्ष बिमल अर्यालकी काकी आमाको १३ौं पुण्य तिथिको पुण्य दिनको समय पनि रहँदा संस्थाका उपाध्यक्ष अर्यालले काकीको नाममा रु ५ लाख अक्षयकोष राख्ने सूचना संस्थाका अध्यक्ष गोविन्द घिमिरे वेदमणि मार्फत सुनाउनुभएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले प्रमुख अतिथिको आसनबाट बोल्दै चालिसे परिवार र उत्तम पुडासैनीलाई धन्यवाद दिनुभयो । रमेश विकल साहित्य प्रतिष्ठानको समेत उहाँले त्यहाँ चर्चा गर्न भ्याउनुभयो । नगरपालिकाले राम्रो काम गर्ने सबै व्यक्ति र संस्थालाई सम्मान गर्ने गरेको चर्चा गर्दै खराब काम गर्नेलाई समाजले सचेत गराउनुपर्छ र नराम्रोलाई सच्याउने काममा नगरपालिका पनि लाग्ने गरेको, असललाई सम्मान खराबलाई दण्ड भन्ने नारा नगरपालिकाको रहेको र व्यवहार पनि देखिएको भन्ने कुरा राख्नुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व उत्तम पुडासैनीले भावुक हुँदै आफ्ना विगतका समाजसेवाका कार्यहरू बताइरहँदा उपस्थित सबैको आँखा रसाई पनि रहेको थियो । उहाँ आफै पनि भावुक भएर शब्दहरू व्यक्त गरिरहनु भएको थियो । आजको कार्यक्रममा प्राध्यापक पिताम्बर दाहालले राजनीतिको प्रसङ्ग समेत जोडेर पुराना दलहरू र नयाँ आउने दलहरू सबैलाई सजग भएर असल नियतका साथ समाज सेवामा लाग्न आग्रह गर्नुभयो र आफ्ना विगतका ऐतिहासिक प्रसङ्ग समेत प्रस्तुत गर्नुभयो । अभिनव साहित्य समाजको कार्यक्रममा हरेक महिना वाचित रचनाहरू मध्येबाट केही रचनाहरूलाई सान्त्वना पुरस्कार दिने परम्परा रहेकोमा आज पनि केही सर्जकहरु सान्त्वना पुरस्कारबाट पुरस्कृत हुने समेत अवसर पाए । कार्यक्रमको अन्त्यमा समीक्षक परशुराम परासर (सचिव ) ले आज वाचित रचनाहरूको संक्षिप्त समीक्षा गर्नुभयो । 





कवि खोलाघरे साहिंलोलाई छन्दकवि पुरस्कार अर्पण र कृति विमोचन

छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन ‎ ‎अभिनव साहित्य समाजको २८६ अ‍ौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा(६...