Tuesday, May 27, 2025

कथाकार शारदा पराजुलीद्वारा लिखित बालकथाहरूको सङ्ग्रह मेरी पुतली प्रकाशित

 

                                                         

कथाकार शारदा पराजुलीद्वारा लिखित बालकथाहरूको सङ्ग्रह मेरी पुतली शीर्षकको कृति प्रकाशनमा आएको छ, यहाँहरू सबैले यो सङ्ग्रहमा सङ्ग्रृहीत कथाहरूबाट विविध क्षेत्रका ज्ञान प्राप्त गर्न सक्नुहुनेछ ।

-छोरीको स्कुल -

प्रस्तुत कथासङ्ग्रहमा समेटिएका कथाहरूमध्ये पहिलो कथा छोरीको स्कुल शीर्षकको रहेको छ । यो कथाले बालबालिकाका क्रियाकलापहरूलाई पाठकहरूको सामु प्रस्तुत गरेको छ । पात्र संयोजनको दृष्टिकोणबाट हेर्दा प्रस्तुत कथाभित्र दुईथरिका पात्रहरू रहेका देखिन्छन् म पात्र र उसकी छोरी मुख्य पात्रको रूपमा प्रस्तुत भई सहायक पात्रमा केही बालबालिकाहरू आएकाछन् । बालबालिकाका क्रियाकलाप प्रस्तुत गर्दै लेखिएको हो छोरीको स्कुल शीर्षकको कथा । यस कथामा म पात्रले समग्र कथालाई आफ्नो मुखारविन्दबाट प्रस्तुत गरेको देखिन्छ । 

उसकी छोरी स्कुलबाट चार पाँच बजे घर आइपुग्छे । घर आइपुग्दा छोरीकी साथी देवकी अर्की साथी बबिया अनि पाहुना बनेर आएका पूर्ण सूचीकारको छोरो ध्रुव र माइली तामाङकी छोरी जयमाया यी सबै पात्रहरू मिलेर खेल्छन् । प्रस्तुत कथामा छोरीको स्कुल भनेर छोरीको खेल्ने ठाउँलाई प्रस्तुत गरिएको 

छ । स्कुल छुट्टी भएर चार पाँच  बजे घर आइपुगिसकेपछि म पात्रकी छोरी र छोरीका साथीहरू मिलेर खेल्ने क्रममा छोरी चाहिँ गुरुमा भनेर गुरुमाकै भूमिका निर्वाह गर्छे । अंग्रेजी, नेपाली, गणित सबै विषयमा उनीहरू खेलखेलमै पढ्ने गर्छन् । उनीहरू विभिन्न जातजातिका बालबालिकाहरू हुन्छन् । उनीहरूमा विभेद हुँदैन । उनी उनीहरू आपसमा भएका खानेकुराहरू पनि साटासाट गर्छन् । अबोध बालबालिकाहरू एउटै मानसिकताका साथ खेलमा रमाएका हुन्छन् । वास्तवमा यो नै विद्यार्थीहरूको लागि सिक्ने स्कुल हो भनेर बुझ्न सकिने अवस्था कथामा आएको देखिन्छ ।  कथाको आशय पनि बालबालिकाहरूलाई खेलको माध्यमबाट सिकाउन सकिन्छ, खेल्ने ठाउँलाई नै स्कुल बनाउन सकिन्छ भन्ने छ ।

प्रस्तुत कथामा आएका मुख्य पात्रहरूमध्ये म पात्रले कथाको वर्णन गरेको र म पात्रकी छोरीले कथामा मुख्य भूमिका निर्वाह गरेको छ ।  म पात्रकी छोरीका साथीहरूले कथामा सहायक भूमिका निर्वाह गरेका छन् । यसरी कथामा आएका मुख्य पात्र र सहायक पात्रले कथालाई उत्कर्षमा पु¥याई पाठकहरूलाई बालबालिकाका लागि खेल्ने ठाउँ नै वास्तविक स्कुल हो भन्ने कुरा बुझिदिन सन्देश छोड्न सफल भएका छन् । कथामा आएका मुख्य पात्र र सहायक पात्रको भूमिकाबाट कथाले पूर्णता पाएको देखिन्छ । बालबालिका र उनीहरूका अभिभावकका लागि यो कथा  प्रभावकारी देखिन्छ । 

                                   - बचेराको नयाँ वर्ष -



यस कथामा जुरेलीका आमाछोरीको संवाद र कार्यलाई मुख्य स्थान दिएको छ । नयाँ वर्षको दिन बचेराले आमा जुरेलीलाई कति गुँडमा बसिराख्नु घुम्न जाउँ भनेर कर गरेको स्थितिबाट कथानक अगाडि बढेको देखिन्छ । जुरेलीले बचेरालाई केही सम्झाउने प्रयास गरे तापनि बचेरो घुम्नलाई उत्सुक भएर कर गरेको छ । यस्तै अवस्थामा वर्णित पात्रहरू आइतमाया, शिवराम र उसका बुबाआमा घुम्न गएका र त्यसबाट बचेरा झन् घुम्न लालायत बनेको देखिन्छ ।  बचेराको घुम्न जाने जिद्दीपनले गर्दा जुरेली पनि भाले जुरेली आएपछि घुम्न जाउँला भनी बचेरालाई आश्वस्त पार्छे  ।  नयाँ वर्षको अवसर पारेर उनीहरू घुम्नलाई सहर बजारतिर जान्छन् । बजारमा ठुलठुला बाटाहरू भएका, घरहरू पनि अग्लाअग्ला बनेका, जतासुकै घुइँचोमुइँचो देखिने तर सहरबजार एकदमै फोहोर देख्छन् उनीहरूले । उनीहरूलाई त्यहाँ खानेकुराको समस्या पर्छ । पानी समेत खान नपाउने स्थिति सहरमा देख्छन् र सहर भन्दा टाढाको खोलाबाट चुच्चामा केही पानी ल्याएर जुरेलीले बचेरालाई खुवाउँछे । उक्त बचेराको सहर बजार हेर्ने, घुम्ने इच्छा दिनको मात्र हैन रातको पनि पूरा गरेर उनीहरू भोलिपल्ट आफ्नै गुणमा फर्कन्छन् । 


यस कथामा भूमिकाको आधारमा जुरेलीका बचेरा र जुरेली मुख्य पात्रको रूपमा रहेका देखिन्छन् । उनीहरूको भूमिका सुरुदेखि अन्तिमसम्म रहेको छ । त्यसैले यो कथामा बचेरा र बचेराकी आमा जुरेली नै मुख्य पात्रका रूपमा रहेका छन् । बचेराको बाउ कथाको सुरु भागमा देखिएको छैन र त्यसपछाडिका भागमा उसको भूमिका रहेको छ । कथाको प्रारम्भमा बचेरा र जुरेलीको बीचमा मात्र संवाद भएको छ । उनीहरूको जिज्ञासा र उत्तर त्यहाँ आएको छ । बचेराले आमासँग सहर घुम्न जाने कुरा उठाएको छ । यी संवादमा भाले जुरेली नदेखिएकोले उसको भूमिका कम छ ।  र, यो कथामा केही वर्णित पात्रहरू पनि आएका छन् । आइतमाया, शिवराम र उसका बुबाआमालाई वर्णित पात्रका रूपमा देख्न सकिन्छ । यसरी पात्रको संयोजन हेर्दाखेरि मुख्य पात्र, सहायक पात्र र वर्णित पात्रको संयोजनबाट यो कथा अगाडि बढेर पूर्ण भएको देखिन्छ । 

प्रस्तुत कथाले केटाकेटीहरू धेरै जिज्ञासु हुन्छन्, केटाकेटीका जिज्ञासालाई समाधान गर्नुपर्छ । त्यसका लागि हरेक अभिभावकहरू तयार हुनुपर्छ भन्ने सन्देश प्रस्तुत गरेको छ । यसका साथै कथाले ठूलाठूला सहरहरूभन्दा ससाना गाउँघरहरू नै सफा सुन्दर र शान्त रहन्छन् भन्ने सन्देशको पनि प्रवाह गरेको 

छ ।     

।।।यसैगरी अन्य कथाहरूमा पुतलीकी साथी, छुमुको भक्ति, फुल बेच्ने केटी, जू मा एकदिन, हाम्रो गाउँ, इच्छा, चित्रकला, मेरो ब्याट र चिलगाडी  रहेका छन् । यी सबै ११ वटै कथाहरू बालबालिकाहरूका निम्ति अत्यन्त उपयुक्त खुराक रहेका देखिन्छन् सबै बालबालिकाहरू र ती बालबालिकाका अभिभावकहरू र शिक्षक शिक्षिकाहरूले पनि यी कथाहरु पढेर आस्वादन गर्न सक्नुहुनेछ । यति धेरै राम्रा बालकथाहरूका सर्जक कथाकार शारदा पराजुलीज्यूलाई धेरै धेरै धन्यवाद आगामी दिनमा अझै धेरै कथाहरू उहाँबाट लेखियोस् र हामीले पढ्ने मौका मिलोस् ।






No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...