Tuesday, May 26, 2026

१०६ औं स्रष्टा पदयात्रा : सिन्धुली भिमान - शुभाष ढुङ्गेल

( १०६ औं स्रष्टा पदयात्रा : सिन्धुली भिमान) मिति २०८३-जेष्ठ १ गते,बिहान कोटेश्वरबाट हामी करीब ३१ जना, रिजर्व गरिएको Best city नामक बसबाट यात्रा प्रारम्भ गर्न लाग्दै थियौँ । केही बेरसम्मकको पर्खाइपछि, तोकिएको समय भन्दा ढीलो गरेर केही यात्रुहरु आइपुगेपछि हामीलाई लिएर जान बस आइपुग्यो । आ-आफ्नो सरसामानको थान्कोमान्को लगाएर,बसभित्र तोकिएका सिटमा बस्छौं । बस सोझिन्छ भक्तपुर,बनेपा,धुलिखेल तर्फ । गन्तव्यसम्म पुग्न बिपी राजमार्गकै छनौट भयो सडकको दुरावस्था भएरपनि । रोशी खोलाको छेउ भएर गाडी गुड्दा सडकको बेहाल अवस्था, कहालीलाग्दो थियो । बस गुड्दै गर्दा विभिन्न व्यक्तिले ल्याएको तितौरा,भुटेको मकै,काँक्रो,गाजर,मुला,मिठाई, पुष्टकारीले हाम्रो भोक पहिले जगाएर पछि भगाएको थियो । अफ्ठ्यारो बाटो कटेपछि बस रोकियो खाजा खान । चिउरा,दही, आँपको खट्टमिठ्ठी सजिए प्लाष्टिकका प्लेटमा,सबै थिए आफैंले ल्याएका । होटलको चिया खायौं, सबैले । आधा बाटो पार भएपछि बाटोको अवस्था राम्रै, हेर्नलायक रहेछ । अब भने हामीलाई रोशी होइन कोशीले साथ दिइरहेको थियो । विभिन्न मनोरम उकालो घुम्ती पार गरेर खनिया खर्क, सिंधुली गडी हुँदै समयमै पुगियो सिन्धुली बजारमा अवस्थित लक्ष्मी प्रधान म्यामको स्कुल जहाँ हामीलाई दिनको खाना खुवाउने व्यवस्था मिलाइएको थियो । सोचेभन्दा धेरै स्वादिष्ट खाना खायौं । पनिर,च्याउ, खसीको मासु, दाल,तरकारी अचार,सलाद सहितको खानामा उदारता, श्रद्धा र माया मिसिएको थियो। खानापछि छोटो परिचयात्मक कार्यक्रम गरेर, सामुहिक तस्बिर खिचाएर,म्याडम र सरलाई हार्दिक धन्यवाद अर्पण गरेर, बस चढेर हामी गयौं उमानाथ शास्त्री प्रतिष्ठान,त्यसपछि गयौं जराबुटा कलाकेन्द्र । मीठो मोही पिएर, त्यहाँबाट हामी लाग्यौँ भिमान तर्फ । दिउँसै पुगियो । तीन शहीद(दुर्गा सुवेदी,ऋषी देवकोटा आजाद,रजन मगर)को शालिक सँग मौन संवाद गरेपछि हामी पुग्यौं कमलामाई नगरपालिका वार्ड नं ९ कार्यालय । हाम्रो स्वागत भयो त्यहाँ टीका,खादा लगाएर, हातहातमा सिँगारिएको फूल गुच्छा दिएर, मोही पिलाएर । वार्ड अध्यक्ष,सदस्य, सुवास देवकोटा,उत्तम कोइराला लगायत विभिन्न महानुभावहरुले जानककारीमुलक बिचार राख्नु भयो, सिंधुलीलाई केन्द्र बनाएर । साँझपख भिमान बजार, शुक्रबारे हाट र शहीद रघुनाथ कोइरालाले स्थापना गर्नुभएको शिव मन्दिर अवलोकन पछि बस चढेर कमला पारी गौरन टोल पुग्न लाग्दा बाटो छेउमा अवस्थित मन्दिर परिसरमा वार्ड नं १० ले न्यानो स्वगत गर्यो । झमक्क साँझ परिसकेको थियो गौरन टोल पुग्दा । स्व.रघुनाथ कोइरालाको घर आँगनमा उभिएर दियो बालेर सम्पुर्ण स्रष्टाहरूले १ मिनेट मौनधारण गरी शहीद रघुनाथ कोइरालामा हार्दिक श्रद्धाञ्जली अर्पण गरे । सम्पूर्ण स्रष्टाहरूलाई बसोवासको राम्रो प्रबन्ध मिलाइएको रहेछ । झोला झाम्टा बिसाएर, नुहाएर रातिको खाना खान जम्मा भयौँ, सूर्य पौडेलको घर आँगनमा । खाना यहाँ पनि साह्रै मिठो थियो । खसीको मासु, सलाद,पापडले सिंगारिएको खानालाई मीठो मोहीले साथ दिएको थियो । दिल खोलेर स्वागत भयो यहाँ पनि । सेवामा सक्रिय संलग्न हुनुहुन्थ्यो: रमेश कोइराला,उत्तम कोइराला, सूर्य पौडेल,रमेश पौडेल हरू । केही स्रस्टाहरु गफिदै थिए आँगनमा निकै बेर । भोलिपल्ट २०८३-०२-२ गते बिहानै,५:३० बजे पैदल यात्रामा लाग्यौँ । गन्तव्य थियो रानीचुरी डाँडा । पानी पर्न ठिक्क परेको थियो । छाता थियो हातहातमा । हिंड्दै जाँदा बाटोमा निवर्तमान वडा अध्यक्ष कैलाश ढुंगेलले सबैलाई खान र बोक्न समेत पानीको व्यवस्थापन गरेका थिए । उकालो लाग्दै, घुम्ती पार गर्दै, मुसलधारे पानीको सामना गर्दै, चिप्लिंदै,लड्दै,चौतारीमा ओत लाग्दै करीब १ घण्टा समय लगाएर पुगिछाडयौं । रानीचुरीमा माधव शमसेरको पहिले रहेको दरवार क्षेत्र र त्यहाँ अवस्थित शिव मन्दिरको अवशेष अवलोकन भयो । माधव शमसेरले मौजा विस्तार र फैलावट कसरी गरे भन्नेबारे सुबास देवकोटाले जानकारी गराए । त्यहाँबाट फर्किने क्रममा पानी रोकिएको थियो तर बाटो धेरै परसम्म मटौले र चिप्लो थियो । बाटोमा रोकिएको बेला,नुनिलो/गुलियो कालो चिया पियौं । पैसा तिर्नु भएको थियो लिलाराज कोइराला दाइले । गौरन टोलमा फर्कनासाथ चिउरा,चना घुगनी, मोही खायौं खाजामा । लखतरान भएका थियौँ थाकेर । आराम गरेपछि करीब ११ बजे खाना खायौं । कटहरको तरकारी,बुङ्गोको अचार बिषेश थियो । दिउँसो १ बजे गौरन टोल चौतारीमा कमला वारी पारीका टोल बासि, विशिष्ट व्यक्तित्वहरू र जनमानसको ठूलो उपस्थिति थियो । शहीद रघुनाथ कोइराला ट्रष्टले आयोजना गरेको कार्यक्रमलाई गंगा प्रसाद भेटवालले कुसलता पूर्वक संचालन गर्नु भएको थियो । आमा कालिका देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सागरमणि पौडेल,पूर्व सांसद श्याम घिमिरे(प्रमुख अतिथि),शीतल गिरी, भवानी खतिवडा, प्रतिक ढकाल,डा. सावित्री श्रेष्ठ,मन्दिरा मधुश्री जयराम विडारी,दीपक अर्याल,शालिग्राम पौडेल,सुरेश पौडेल,सोम बहादुर हायु,सुबास देवकोटा, वार्ड नं ९ र १० का अध्यक्ष क्रमशः विनोद प्रधान र दीप बहादुर कार्की र अनिता कोइरालाले आफ्नो मन्तव्य राख्नु भएको थियो । खोलागरे साहिँला, स्थानीय देवी पाठकले कवितावाचन गर्नुभयो भने,घनश्याम प्रसाइंले भजन गाउनु भएको थियो । भारती न्यौपाने र डा.हेम भण्डारीले उज्यालो औंसीको समीक्षा गर्नुभएको थियो । स्वागत मन्तव्य उत्तम कोइरालाले राख्नु भएको थियो । कार्यक्रममा १ मिनेट मौनधारण गरेर स्व रघुनाथ कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रम भव्य सफल भएको उपस्थित हरेकले महसुस गरेका थिए । कार्यक्रम पश्चात हामी लाग्यौँ दोभान (कमला र चँदा खोला ) जहाँ पुगेपछि अनपेक्षित आत्मिय स्वागत भयो समता नागरिक समाजको तर्फबाट:रामनामी, रुद्राक्ष र टीका लगाइदिएर, फूलको गुच्छा थमाएर, थपी थपी दही खुवाएर र फर्कदा बाटोमा बसाएर फलफूल ख्वाएर र एक डोज रचना सुनाए,उही देवी पाठकले। गौरन टोल कोही पैदल फर्के त कोही अटो चढेर । साँझ परिसकेको थियो । बोका ढालेर भव्य खानपिन गराइयो । सबैको मन पुलकित भयो । २०८३-०२-०३ गते आइतबार बिहान ७बजे सोही बस आइपुग्यो । अब काठमाडौं फर्कनु थियो । बिदाइ खाजा खाइयो । बस चढ्नु पहिले बारीमा पसेर सबैले लिच्ची खायौं। फोटो खिचायौं । यस पटकको यात्रा हामीले सोचेभन्दा धेरै आत्मिय भएको हरेकले अनुभूत गर्न पुग्यौं । हार्दिक आभार व्यक्त गर्यो स्रष्टापरिवारले दाइ उत्तम कोइराला र संलग्न सम्पुर्ण सदस्यहरुलाई । फर्कने क्रममा हाम्रो योजनामा थियो कमलामाई दर्शन र सिंधुली गडी युद्ध सङ्ग्रहालय अवलोकन । सो कार्य पनि पुरा भयो । खनिया खर्कमा सामान्य किनमेल भयो । बाटोमा पर्ने कुशेश्वर महादेवको पनि दर्शन गरियो । बेल खरिद भएर बस बेलमय बन्यो । रोशी कटेपछि एउटा रेष्टुरेन्टमा कफीदै कार्यक्रमको अनौपचारिक छोटो समीक्षा भयो । २०८३-०२-०१ देखि २०८३-०२-०३

No comments:

Post a Comment

१०६ औं स्रष्टा पदयात्रा : सिन्धुली भिमान - शुभाष ढुङ्गेल

( १०६ औं स्रष्टा पदयात्रा : सिन्धुली भिमान) मिति २०८३-जेष्ठ १ गते,बिहान कोटेश्वरबाट हामी करीब ३१ जना, रिजर्व गरिएको Best city नामक बसबाट यात...