Wednesday, June 11, 2025

भिनाजुलाई फाल्नु बोक्रा ताछेपछि...डा.बालचन्द्र मिश्र

 भिनाजुलाई फाल्नु बोक्रा ताछेपछि...

(काठमाडौँँ उपत्यका र वरिपरिका जिल्लाको काँठे लोकलयमा)

 

डा.बालचन्द्र मिश्र 





स्रष्टा पदयात्री, घुम्छन् वर्षैभरी, कुन गाउँ कुन  ठाउँ कस्तो छ ?

शनिबारे साइत, कुरा बुझे है त, कुन गाउँ कुन ठाउँ कस्तो छ ?

दक्षिणकाली  नगर,  पाखा  जङ्गल  बगर,  शहर  खासै देखिन्न

नयाँ नौला कुरा,  खोज्दै  हिँड्छौँ  पुरा,  मन  नरमाई  लेखिन्न ।

१,

टल्कु  डुुँडेचौर,   छैमले,   शेषनारन,   सेतीदेवी,   चाल्नाखेल

साबिकका छ गाउँ, दक्षिणकाली यो ठाउँ, एउटै नगर कस्तो मेल !

एकहत्तर   साल,   मङ्सिर   सोह्र   गते,  उचित  साइत  जुरेछ

छ  गाउँको  नगरपालिका  भो  एउटै,   विचार   राम्रो   फुरेछ ।

२,

पूर्व  यसको  पर्छ,  ललितपुर  जिल्ला, पश्चिम  पर्छ मकवानपुर

उत्तरतिर  हेर्दा,   चन्द्रागिरि   सहित,  अर्को   नगर  कीर्तिपुर

दक्षिणतिर  फेरि,  मकानपुर  नै  पर्छ,  नक्सा  यसको यस्तै छ

एकछिन यसमै गमौँ, जान्याजति भनौँ, विशेषता चाहिँ कस्तो छ ?

३,

जल  जङ्गल  जमिन,  कृषि  जडिबुटी, ढुँगा गिटी बालुवा

प्राकृतिक श्रोत, साधन हुन यो ठाउँका, पौरखी छन् पाखुरा

धार्मिक पर्यटन, पर्या पर्यटनले, आत्मनिर्भर बनाउलान् 

जातीपोखरी र, सेतीदेवी, चौकोटदेवी दर्शन रमाउलान् ।

४,

नास्पाती र लौसी, खास महिनामा फल्छन्, अरू महिना फुर्सदै

पशुपालन  गर्दा,  गोठमा  मल  फल्दा, फाइदा दोहोरो, तेहरै

यहाँको उर्बर माटो, उत्पादनको पाटो, पोसिला घाँस  प्रशस्त

बाख्रा पालन गर्दा, राम्रै फाइदा हुने, किसान भाउजू लौ मस्त ।

५,

यहाँका खसी बोका, राजधानीका तीन हर, हेटौँडामा माग बढ्यो

दक्षिणकाली  माइलाई, भोग चढाउने बोका, यतै किन्ने चाख बढ्यो 

चाल्नाखेल र आसपास, बाख्रा  फार्म  बढे,  व्यवसायिक  रूप  दिँदै

खेर  ग’का  पाखा,  डाँडा  जङ्गलतिर,  बाख्रा  बथान  कुद्छन्   है ।

६,

स्वागत  गर्छ  गेट,  दक्षिणकाली  भेट, चोभार कट्नेबित्तिकै 

सुखा  बन्दरगाह कट्दा सानो खोली, देख्छौँ ट्याङकर लस्करै

अलिकति   पर्छ,   उकालोको   बाटो,   चाल्नाखेल  पुगेछी

हरियाली  सडक,  सफा  सग्लो  भेट्छौ तामाङ गाउँ कटेछी ।

७,

मकैबारी  पाखा,  लाग्ला  बाँदर  आँखा,  पल्के  सखाप पार्लान् है

कन्दमूल   खेती   र   मसला   बाली   लाए   सुर्ता   हुन्न  तै 

सिपालु यो बस्ती, डाला नाङला चोया, काट्छन्, बुन्छन लामा दाइ

रेस्टुरेन्ट  चाहिँ  धेरै,  झैझगडा  हल्ला,  नहोस्  पुलिस  चौकी है ।

८,

यै  सडकको माथि, बाँसबारी डाडाँ, राष्ट्रिय झन्डा खोपेको

एउटा पिलर ठड्याई, डमरु नि राख्या, फुल बिरुवा रोपेको

पारी सैबुबाट, अझ राम्रो देख्यो, जिल्ला  त्यता  ललितपुर

चन्द्र  सूर्य  झन्डा, नाच्ने फरर, चरी चिरबिर ताल र सुर

९,

सानो भन्ज्याङ बजार, छैन यसलाई हतार, आफ्नै तालमा मस्त छ 

खेतबारीमा  प्लटिङ,  यता  देखिएन,  चिन्तन  आहार  स्वस्थ  छ 

भिरालो छ जमिन, पहिरो लड्न सक्छ, काँल्ला भिरमा  लप्सी  रुख 

जाडो  महिनातिर,  पाक्या  लप्सी  चुस्नु,  रसाइसक्यौ  ऐल्यै मुख !

१०,

लौ  उडेर  आयो,  हावाजातको  ठाँडो,  सिग्नल  दियो  टावरले

ल्यायो   तलतल,   बत्ती   झललल,   भट्टेडाँडा  टावरले

राणाकालमै शहर, झिलिमिली भाको, फर्पिङ विद्युत् पावरले

इतिहासमैै पहिलो, चन्द्रज्योति विद्युत्, यहीँको खोला पावरले ।  

११,

शेषनारान  दह,  अरू सातवटा, मूलको पानी लगेको 

एसियाकै दोश्रो, नेपालको पहिलो, विद्युत्गृह यही हो

उन्डाइस सय, अठसठ्ठी  विक्रम,  संवतमा  बनेथ्योे 

राजा  पृथ्वी  वीर विक्रम शाहदेवले, उद्घाटन गरेको ।

१२,

चन्द्रज्योति   जल  विद्युत्  गृह  हेर्न,  पर्यटकलाई  डाक्नुहोस्

यसको धेरै गुन छ, फोटो खिच्न हुन्छ, मौलिक स्वरूप राख्नुहोस्

बागमतीको  पारी,  ललितपुरले  खान्छ,  पानी सफा राख्नुहोस् 

यति भने भो कि, भन्नैपर्ने  हो  कि,  सफा  सुग्गर  राख्नुहोस् ।

१३,

ऐतिहासिक  चिनो,  धेरै  पाइन्छ  हिनौँ,   दक्षिणकाली   पालिका

खोकना–चाल्नाखेल,  झोलुङ्गे  पुल  अर्को,  चन्द्रसमशेर  पालाको

उन्डाइस  सय  साठी,  विक्रम  संवत् थियो, बागमतीमै तेश्रो पुल

डिजाइन लुइस हार्बर, निर्माण कुमार नरसिंह, राणाले यो ग¥या हुन् ।

१४,

यो  पुल  बन्नुअघि,  खोकना  गाउँबाट, दक्षिणकाली पुग्नलाई

चोभार पुग्दै घुमी, जान बाध्यता  थ्यो,  बल्ल  सिधा  भयो  है 

बिचमा भत्क्यो, चुट्यो, काम नलाग्ने भयो, अनि अर्को बन्या छ

दुईहजार पच्चिस, सालमा पुनः निर्माण, चारसय मिटर लम्बाइ छ ।

१५,

पुलको  प्रशंसामा,  बेग्लै  चित्रकाव्य,  त्यै   बेलामा   छापिन्छ

नेट   खोलेर  हेर्दा,  पुरातत्व  जाँदा,  यो  काव्य  नि  भेटिन्छ

विक्रम  संवत्  उन्डाइस, सत्तरीमा छाप्यो, नाम भूचन्द्र चन्द्रिका

पुल बनाउने शासक, चन्द्र समशेर तारिफ, क्वै कविलाई लेखाका ।

पुनश्च ः (१९६० मा खोकना–चाल्नाखेल जोड्ने पुल बनेपछि खुसियालीमा पुलको तारिफमा काव्य नै लेखियो) ः 

१६,

देसकै  पुरानो  त्यो,  फर्पिङ  उच्च मा.वि., राणाकालमै खुलेको

उन्डाइस   सय,   छैहत्तर  साल  थ्यो,  उद्घाटन  यो  भएको

अर्को नयाँ कुरा, पहिलो बोर्डिङ स्कुल, त्रिभुवन आदर्श माध्यामिक

नाम चल्यामा गन्थे, पढाइ राम्रो भन्थे, ठुलाबडा भन्थे ठिक ।

१७,

सात सालमै खुल्यो, फर्पिङ पक्की सडक, दक्षिणकाली पूज्य धाम

उद्घाटन नि गरे, राजा  त्रिभूवनले,  ईश्वरी  मार्ग  राखे  नाम

लहरी  मोटर  जीप,  यो  रुटमा गुड्थे, साझा बस नि चल्दथ्यो

राज्य नजर लाको, महत्व  नि  पाको,  तै  नि  पछि  प¥या  हो ?

१८,

यो  फर्पिङको  बजार,  भाग्नै  भयो  हतार,  बहत्तरको  भूकम्प

पुराना  घर  ढले,  नया  पिलर  बढे,  नढलेका  त   कम  छ 

नाम  चलेकै  पर्छ,  यहाको  मनमोहन,  सामुदायिक  अस्पताल

एम्बुलेन्स नि रेछ, सुविधा पो के छ ? भन्नोस्, सुनौँ यसको हाल ।

१९,

शिखरापुर  नगर,  ऐले  फर्पिङ शहर, इतिहास छ पौराणिक

तल कटुवाल दह, सुनाउँ मनको बह, महिमा छ ऐतिहासिक

नामै दक्षिणकाली, शक्तिपीठ नै भैगो, मन्दिर अरू छन्  पनि

झम्केश्वरी  मन्दिर,  जात्रा  हरिशंकर,  जात्रा  बग्रजोगिनी

२०,

बजार  जङ्गल  गाउँ,  घुम्ने  हेर्ने  ठाउँ, धेरै दक्षिणकालीमा

भुन्डोल डाँडा सुटिङ, गुफा गोरखनाथको, घुम्नु यसैपालिमा

गोपालेश्वर अनि वाणासुर  पुग्नु,  दरबार  उषा  माहारानी

जानु  पन्जल  गणेश,  र  वामन  धाम, भैरव पचली पनि ।

२१,

गोपालवंशी  शासन,  इतिहासको  आसन,  यता  प्रमाण  भेटिन्छ

गोपाली   थर  नेवार,  काठमाडौँँको  यही  भेगमा  मात्रै  देखिन्छ ।

क्षेत्री  बाहुन  नेवार,  तामाङ  अनि  अरू,  धेरै  जातको फुलबारी

फास्ट् ट्रयाक् नजिक छुन्छ, साँच्चै विकास हुन्छ, स्वाट्टै तराई सवारी ।

२२,

काठमाडौँँ जिल्ला, सबैभन्दा  अग्लो,  डाँडाको  नाम  वाणासुर 

बाइसे अठहत्तर, मिटर यसको उचाइ, ट्रेकिङ, हाइकिङ गरौँ सुर

केवलकार  चलोस्,  चाल्नाखेलको बोसन, डाँडा कति रमाइलो

हात्तीबन डाँडा, अनि डाँडिखेल,  हाइकिङ  रुट  छ  घमाइलो ।

२३,

ब्रम्हा  सृष्टिकर्ता,  विष्णु  पालनकर्ता,  संहारकर्ता महेश्वर

शेषनारायण भन्ने, विष्णुकै हो रूप, फर्पिङ बस्या यी ईश्वर 

शिखा  नारायण,  चाँगु  नारायण,  इचङ्गुको  नारायण

फर्पिङ शेषनारान, गरी चार नारान, मेला लाग्ने छ कारण ।

२४,

माधव  नारायणको,  व्रत बस्छन् हजुर, माघे शुक्ल परेवा

माधव  नारायणलाई, शेषनारानको सूर्य कुण्ड स्नान गर्दैमा

चढाएमा  जल,  प्राप्त  हुन्छ  फल,  स्वस्थानीले  भन्दछ

पार्वतीलाई पनि माधव नारायणले माहादेव स्वामी देको छ ।

२५,

शेषनारानको   दर्शन,   हरिबोधिनीको   एकादशी   तिथिमा

रोगव्याधि भाग्छन्, मागेको वर पाउँछन्, लेख्या शास्त्र नीतिमा

अविवाहित  महिला,  महादेवजस्तै,  हेन्डसम्  बुढा पाउँछन् रे

विवाहितले व्रत, बसे  सौभाग्य  र  शुख  शान्ति  छाउँछन्  रे ।

२६,

शुन्दर शान्त शीतल, फर्पिङ शेषनारान, चारवटा त कुण्ड छन्

त्यो  वासुकि  कुण्ड,  अनि  सूर्य कुण्ड, भैरव कुण्ड चिसा छन्

चौथो  गोसाइँ  कुण्ड,  रसुवाको  जस्तै,  पवित्र  नै  मान्दछन्

उता  हिमाल  चढ्न,  नसक्नेले  यतै,  दर्शन  स्नान  गर्दछन् ।

२७,

वासुकि नाग बस्ने, गहिरो नीलो कुण्ड, विशेष जात्रा चल्दछ

हरेक तेश्रो वर्ष, नाग नागिनी रूपका, दुई रुख विसर्जन हुन्छ 

अचेल रुखसँगै, माछा पौडी खेल्छन्, टिप्न लान  मनाही  छ

नाग  नागिनी, रुखको दर्शन स्पर्शले, प्रेमरस जाग्ने भनाइ छ ।

२८, 

बौद्ध ग्रन्थ भन्छन्, दक्षिणकाली क्षेत्र, तपस्याको थलो होस्

गुरु पद्मसम्भव, यहीँ ध्यान गर्थे, सोच्थे सबको भलो  होस्

फुर्तिलो  छ  ज्यान, बौद्ध गुम्बा ध्यान, नयाँ नयाँ खुल्दै छन्

पारदर्शी शिक्षा, भिक्षु अनि भिक्षा, ज्ञानको खोजमा डुल्दै छन् ।

२९,

रिम्पोछे  नि  भन्छन्,  गुरु  पद्मसम्भव,  दुई  खेप आए नेपालमा

पहिलो पटक  आउँदा,  हलेसीको  गुफा,  अर्को  पटक  फर्पिङमा 

टल्कुगाउँको खोला, खर्पास्योङलाई सुकाई, शेष नारनमा मूल फुट्ने

तान्त्रिक  शक्ति  लाउने,  गुरु  पद्मसम्भव,   जनश्रुति   यो   सुनेँ ।

३०,

लाङे– काथाङ्ग ग्रन्थ, गुरु पद्मसम्भव, जीवन इतिहास हो

तान्त्रिक महामुद्रा, जस्तो कठिन अभ्यास,  ती  गुरुले  गरेको 

शाक्यदेवी  सहित,  रिम्पोछेको  ध्यान,  पद्मसम्भव  गुफामा

उनको शिरको प्रतीक, अहिले पनि दर्शन, हुन्छ यही गुफामा ।

३१,

लाङे–काथाङ्ग    ग्रन्थ,    पढ्दै जानुपर्छ,   धेरै   कुरा   भेटिन्छ

मङ्गलसिद्धि हुने, स्वस्तिक सूचक भाको, यो ठाउँ जमिन विशेष छ

गुफाको   चारैतिर,   अष्टमन्डल   अङ्कित,   चट्टानमा  गुरुको

सिंहासन सहित,  जडीबुटी  भन्डार,   पछिल्तिर    रहेको ।

३२,

याङ्लेस्योद फुक्पा, शेष नारानलाई भन्छन्, हिमाली भोट भाषामा 

बौद्धधर्मी    ङिङमापा    सम्प्रदाय, श्रद्धा   छ   यै   गुफामा

मङ्गलसिद्धि  भूमि,  पवित्र  छ  थलो,  भन्ने  विश्वास  सधँै  छ 

अर्का  महायोगी,  ज्याटल  रिम्पोछेको,  भव्य  गुम्बा  सँगै   छ ।

३३,

दक्षिणकाली साथी, सालिन डाँडामाथि,  ठाडो  तेर्सै  उकालो   

उक्लिँदा नि कालो, ओर्लिदा नि कालो, सालिन डाँडा उकालो 

उत्तर  दक्षिण डाँडो, पुगिन्छ है चाँडो, सुन्दर शान्त बस्ती छ

डाँडैडाँडा हिँडे, डाँडागाउँ नै पुग्छौ, भोटे  कुकुर  गस्ती  छ 

३४,

माटो ढुङ्गा गाह्रो, ढुङ्गे स्लेटका छानो, तामाङ गाउ चिटिक्क

भुँइचालोले  सबै,  हल्लाई लडाइदियो, छोडेन नि फिटिक्क 

सिमेन्ट इँटा रड, पक्की घर बने, रिनको भारी  खेप्यौ  कि

खासै  भाउ  थेन, यी ठाउँका जग्गा, पुर्खा छालो बेच्यौ कि !

३५,

थकाइ मार्न एकछिन, डाँडागाउँको थाप्लो, हेर्नु पारी बाग्मती

तरेली ती पाखा, तान्छ त्यतै आँखा, कति सुन्दर गाउँ  बस्ती

तल्लापट्टी  हेर्दा  दक्षिणकाली  शहर, बस्ती बाक्लो हुँदो छ

छैमलेको डाँडो, स्वरूप फेर्दै चाँडो,  आधुनिकताले  छुँदो  छ ।

३६, 

लौसी  पनि किन्नु, स्वाद चाखेर चिन्नु, थसी गाउँको नास्पाती 

स्वाउँदो हावापानी, लानु छानी छानी, किसानका  यी  सम्पत्ति 

लाग्यो मङ्सिर महिना, धान काटेकै छैन, हकुवा पठुवा धान चुट

तातो  हुन्छ  पराल,  दिउँसो  सकिँदैन, झिसमिसे भो लौ उठ ।

३७,

छैमलेमा  जाँदा,  स्याउ  नास्पाती  खाँदा,  आँतै हुन्छ रसिलो

आफ्नै श्रममा बाँच्ने, प्रकृतिलाई साँच्ने, गाउँले जीवन हँसिलो ।

छैमलेको  पाखो,  छैन  झिँगा  माखो, घर गोठ पोती चिटिक्क

बिहान बजार धाऊ, दिउँसो बाली लाऊ, छैन फुर्सद  फिटिक्क ।

३८,

भादगाउँको टोपी, खोकनाको तेल, नेपाल प्रख्यात भका छन् 

र  टोखाको चाकु, फर्पिङको नास्पाती, अझै चर्चा पाका छन् । 

उहिले मूलपानी र,  गोठाटारमा  थिए,  भैँसी  पाल्ने  भैँमाले

ती  शहरिया  भए,  बस्तुपाल्न  छोडे,  नछोड्ने  चैँ   छैमले ।

३९,

चित्लाङका मुला,  ढिकीभन्दा  ठुला,  छैमलेका  नास्पाती

एक सय पचास वर्ष, पुराना ती रुख, अन्त पाइन्न हत्पती

एउटै  दाना  हुन्छ, सवाकिलोसम्म, फल चँै राम्रो लागेमा

मलजल गोडमेल, औषधि नि हाल्नु, रुखमा  रोग  लागेमा

४०,

नास्पाती र लौसी, बेच्दा  पाँच  करोड,  भित्रिने  ठाउँ  यतै  हो

फर्पिङ   सेतीदेवी,   छैमलेका   जति,   छैनन्   मिठा  कतैको

रोपनी  पाँच  हजार, जमिन ढाक्या भन्छन्, नास्पातीका रुख बुटा

खेत बारीका कान्ला, पहिरो लड्न रोक्छन्, भूसंरक्षक हुन् यी बुटा ।

४१,

सातहजार  भन्दा,  धेरै  बोट   रोप्या,   खेतबारीका   छेउ   भित्ता 

बिचमा तोरी बेसार, कोदो मकै भटमास, छैन खाली एक बित्ता 

आलु,  इस्कुस  कतै,  पिँडालु  र  अदुवा,  बीच  बीचमा  रोप्या  छ

प्रकृतिले   देको,  किसान   बाँच्ने   टेको,  भाग्य  आफैँ  खोप्या  छ ।

४२,

कार्तिक  मङ्सिर  पुसमै  लौसी  बेचिसक्नु,  नत्र  कुहिई  जाला नि 

साउन भदौ असोज,  नास्पातीको  बिक्री,  बिचौलियाले  खाला  नि 

अचार  बनाइ  खाने,  ती  लौसीका  गेडा,  पाकी  झर्छन् फेदभरि

त्यसको पनि क्यान्डी, सिलप्याक सिसी अचार, बनाइ बेच्दा होला कि !

४३,

तीन  महिनामै  बेची,  सक्नुपर्ने यी  फल,  साँच्ने छैन प्रविधि

नास्पातीको क्यान्डी, जुस उत्पादन मेसिन, पाए सहज होला कि !

क्यान्डी   बेच्ने   इच्छा,  जाँगर  भएदेखि,  लाग्नु  घुँडा  धसेर

भिनाजुलाई   फाल्नु,   बोक्रा   ताछेपछि,  साला  साली  बसेर

४४,

भिजाएर  नुनमा,  एक  रात राखिदिनु, पानी त्यसको निस्कन्छ

नास्पातीको तौल, जति हुन्छ  त्यति,  चिनी  चास्नी  पकाइन्छ 

त्यो  पाकेको  चास्नी,  नास्पातीमा खन्याई, बिर्को टाइट गर्दिनु

दुई महिना राखी, घाममा सुकाइदिनु, लौ क्यान्डीको स्वाद लिनु ।

४५,

ठुला  दाना  फल्न,  हाँग व्यवस्थापन, छुट्टै सीप चाहिन्छ

पुराना ती हाँगा, हिउँदमै काटिदिए, नयाँ ठुला फल  लाग्छ

छाँया पर्ने ठाउँमा, राम्रै फल्दैन नि, पारिलो घाम परोस् है

हरेक  फलमा  घाम,  सोझै पर्नेगरी, हाँगा छाँटिदिनोस् है ।

४६,

बर्खामा फल चाख्न, हिउँदैमा मल, बोटको फेदमा दिनु नि

जरा  वरिपरि,  गोलो खाल्टो खनी, बस्तुको मल हाल्नु नि ।

कमिलाले अलि दुःख दिन्छन् बोटलाई, नास्पातीका फेदमा

नीलोतुथो र चुन, जैविक विषादीले, पोत्नु रुखका  फेदमा ।

४७,

रोगव्याधिले  कुहिने,  उत्पादन नै चुहिने, अवस्था दाइ नआओस्

बिचौलिया दलाल, धेरै नाफा चाख्लान्, श्रम सीप सित्तै अजाओस् 

बिचौलिया काँका ? चुस्छन् धेरै नाफा, खेतमा बेच्दा सस्तो  छ

छैमलेका काँक्रा,  कालिमाटी  पुग्थे,  अचेल दर भाउ कस्तो छ ?

४८, 

प्रतिमान चउर, पुग्यौँ किसान बस्ती, ठाउँ ठाउँ सुन्दर चउर छन्

मोटरबाटो  खन्या,  डाँडा  टुप्पैसम्म,  डोजर  जमिन थर्काउँछन् ।

डाँडागाउँको माथि, गज्जब भेटियो साथी, नाच्ने  पनि  गाइदिने

डाँडापाखा  जान्ने,  जे  भने  नि  मान्ने, आफ्नो कुरा खाइदिने 

४९,

अझै  चढौँ  डाँडो,  पुग्नुपर्छ  चाँडो, चौकोटदेवी भेट्नलाई

उत्तर पूर्व तिमाल, मुस्कुराए हिमाल, तिम्रै न्यास्रो  मेट्नलाई

अन्नपूर्ण  गणेश,  गौरीशङ्कर  जुगल,  नाउँका  हिउँ चुचुरा

लामटाङ दोर्जे लाक्पा, सगरमाथा लस्कर, हेर हिउँका टाकुरा 

५०,

अर्को सानो बजार, त्यो राम्चेको भन्ज्याङ,  सडक  विस्तार  हुँदै छ

तामाङ  भाउजू  दिदी,  पेन्ट टी सर्टमा देखे, आधुनिकताले छुँदै छ 

एकछिन डुलाऊ आँखा, गाउँका भित्ता पाखा, बौद्ध गुम्बा बन्दै छन्

हिन्दु, बौद्ध मिली, एउटै माला खिली, सँगै बाँचौँ भन्दै छन् ।

५१,

चौकोटदेवी  थुम्को, देवी पुज्या ढुङगो, छैन मन्दिर भवन

चारैतिर  खुला,  दृश्यपानमा  भुल,  धर्ती  अनि   गगन

पानीको छ अभाव, यो डाँडाको टुप्पो, जाँदा बोकी लानु है

क्वै दाताले एउटा, सत्तल बनाइदेको, खाजा खानु चिउरा दै ।

५२,

रुखको  फेदमा केही, मूर्ति पूजा त्यहीँ, घन्ट पनि बजाइदेऊ

नजिकै छ बाघको, पेन्ट गरेको ढुँगो, बागदेवीलाई नचाइदेऊ 

चौकोटदेवी दर्शन, बाटो छोटा पर्छन्, भन्ज्याङ  हुमानेको  चैँ

राम्चे भन्ज्याङबाट, ठाडै उक्लिनेलाई, एक घन्टा त लाग्छ नै ।

५३,

हिउँ  खेल्नेभए  चन्द्रगिरि  टुुप्पो,  पुस  माघ  झरी   पर्दामा

हाइकिङ  पदयात्रा  चौकोटदेवी  उक्लौँ,  दर्शन भाकल गर्दामा ।

साक्षात देवी मान्छन्, फाखेल धामी नाच्छन्, दसैँ मङ्सिर पुर्णेमा

फुल्चोकी रे जेठी, चम्पादेवी कान्छी,  माइली  चौकोट  देवीमा ।

५४,

खरायो र मिर्ग,  कालिज  देख्छौ  पूर्व,  चौकोटदेवी  जङ्गलमा 

वन बिरालो आउला, चितुवा दर्शन पाउला, दिउँसै चकमन्नमा 

तीनै  शहर  नेपाल,  मकवानपुर जिल्ला, प्रष्ट तुवालो फाटेमा

फाखेल लामा गाउँ,  नजिकै  छ  ठाउँ,  घुम्न  त्यता  आँटेमा ।

५५,

उचाइ एक्काइस सय, मिटर नाप्ने भए, भन्ज्याङ जातीपोखरी ।

छैन भने थकाइ, जाँगर देखाऊ अझै, जङ्गल बीचकी यी परी

थकाइ मार्ने चउर, जङ्गल चरा चिरबिर, धुपीसल्ला छ घारी ।

काठमाडौँँ हो यता, मकानपुर चाहिँ उता, सीमा जातीपोखरी

५६,

नेवारीमा बोल्दा, चामल चउलानी, जाकी भन्ने गरिन्छ

त्यही शब्द  पछि,  अपभ्रंश  हुँदै,  जाति  बन्न  गएछ

बर्खेभेल जम्ने,  पोखरी  छ  सानो,  तर सुन्दर उत्तिकै

अर्कै संसार हो कि, प्रकृतिको स्वर्ग, लाग्छ पुग्ने बित्तिकै ।

५७,

चौकोटदेवी माटो, यै पोखरी बाटो, बाइकमा  कुलेखानी  जाऊँ

खल्ती पारी गह्रौँ, नौका बिहार गरौँ, चिसो तालका माछा खाऊँ

फर्पिङबाट  सोझै,  हुमानेको  बाटो,  पुग्ने इन्द्रसरोवर

दक्षिणकाली राम्चे, सिस्नेरीको बाटो, पनि इन्द्र सरोवर ।

५८,

सुगन्धित छ माटो, शीतलचोकको बाटो, राम्चे भन्ज्याङसम्म नै

आँगन डिलमा पाक्छन्, हलुवाबेदका झुप्पा, चाख्नु रम्नु, यतै है

चौकोटदेवी  दक्षिण, राम्चे भन्ज्याङ पर्छ, उत्तर भन्ज्याङ हुमाने

गुरुप्रसाद   पात्र,   छिमेकी   हो  कथा,  धनजिते  र  गुमाने ।

५९,

ए  हुमाने  भन्ज्याङ,  थाके गोडा खन्च्याङ, कोदो बाला कपनी

बेसीतिर टङिन, धान् फुल् खेल्न थालिन्, लेकमा चिसै छ पानी 

चुत्रो झुप्पा झार्दै, जिब्रो कालो पार्दै, चाख्दै  म  त  फुर्के  नि

कुलेखानी  माछो,  कुरा  गर्छु  साँचो,  यस्तै  ठाउँमा  हुर्के नि ।

६०,

वैशाख  जेठमा जाग्छन्, बाटैभरि पाक्छन्, पहेलपुर ती ऐँसेलु

चैत वैशाखमा नाच्ने, मस्की मस्की हाँस्ने, लालीगुराँस बैँसालु

जाइजुइ   फुल्छन्,   जाडो  महिनातिर,  पीताम्बरी  दृश्यमा

अनेक रङका फुल,  भमरा  भै  भुल,  त्यता  डुल्न  कस्सेमा ।

६१,

कतै  चिम्ट्या  माटो,  कतै  रातो माटो, नाङ्गो पाखा भेटिन्न

नास्पाती र लौसी, स्कुस डोके हौ कि  !  अन्त  यस्तो  भेटिन्न

रातोमाटे  बाटो,  हिँड्न  चिप्लो  माटो,  खुट्टा  दह्रो  गर्नु  नि

उकालोको जोश कि, बर्खा महिना होस् कि, लट्ठीको भर गर्नु नि ।

६२,

चौकोटदेवी गाको, पाती चढाई आको, असोजको  पदयात्रामा

माटो  ढुँगा  सिली,  लेखनकर्मी  मिली, असोजको पदयात्रैमा

जाने बेला भैगो, मनको धोको रैगो, कार्तिकमा नि भेट  होला

बाह्रै  महिना चल्ने, सिर्जनामा फल्ने, अर्को ठाउँमा भेट होला  ।

कुरा गरौँ सिधा, माग्छौँ अहिले बिदा, अर्को ठाउँमा भेट होला  ।।

६३,

                   भक्तपुर ।















No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...