Thursday, June 19, 2025

भ्रमण स्रष्टा पदयात्राको : लेखन चौकोटदेवीको -शीतल गिरी

 


भ्रमण स्रष्टा पदयात्राको ;  लेखन चौकोटदेवीको

                                                                                             

                                                                                                               

 

शीतल गिरी


स्रष्टा पदयात्राको थालनी गर्दा लाँकुरी भन्ज्याङको उकालो उक्लँदै गर्दा मनमा प्रश्न आएको थियो, कुन उद्देश्यले किन थालनी गर्न थाल्दै छौँ यो ? आपसमा धेरै पटक छलफल गरेका जय छाङछा, डा.भक्त राई, डिल्लीराज अर्याल र म अनि हाम्रो अभियानमा साथ दिएका डिल्लीरमण सुवेदी, जसध्वज गुरुङ र प्रवीण पुमा । हो हामी सात जनाले ३ मङ्सिर २०७३ देखि स्रष्टा पदयात्रा थालनी गरेका हौँ । ‘स्वास्थ्य र सिर्जनाको लागि स्रष्टा पदयात्रा’ ।

२०८१ असोज ५ गते छयासीयौँ यात्रामा ३४ जना स्रष्टा पदयात्री दक्षिणकाली नगरपालिका वडा नं. ८ छैमलेको चौकोटदेवी मन्दिर पुगेका हौँ ।

उपत्यका वरपरका डाँडाहरूमा पदयात्रा गरिसकिएको छ । यतिमात्र होइन स्रष्टा पदयात्रा पूर्वमा खोटाङ, पश्चिम पर्वतको मल्लाज, उत्तर रसुवाको वेत्रावती र दक्षिण गैँडाकोटको मौलाकालीका पुगिसकिएको छ । 

पदयात्राको क्रममा दक्षिणकाली नगरपालिकामा योसमेत गरी हामी ५ पटक आइसकेका छौँ । पहिलो पटक ७ पौष २०७४ मा खोकनाबाट हिँड्दै नेपालको पहिलो जलविद्युत ‘चन्द्रज्योति विद्युत्गृह’ अवलोकन गर्न आएका थियौँ । यस यात्रामा यो विद्युत्गृह सय वर्ष पुगेको अवसरमा निर्माण गरेको पार्क पुगेका थियौँ । चन्द्रज्योति विद्युत्गृह सन्चालन गर्न बनाइएको पानी पोखरी पनि अवलोकन गरेका थियौँ ।

 


नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजनाको पावर हाउस वि.सं. १९६८ सालमा बनेको हो । पुरानो शैलीको घर, सिमेन्ट प्रयोग नगरिएको चुना र सुर्कीले बनाइएको । १२ वैशाखको भुइँचालोले पनि क्षति पुगाउन नसकेको भवन । चन्द्र शमशेरको पालामा बनाइएको विद्युत्गृह देशकै ऐतिहासिक सम्पदा हो । उहिले राणाकालमा बेलायत जाँदा त्यहाँ बत्ती बलेको देखेर चन्द्र शमशेरले यो विद्युत्गृह बनाएका हुन् । भित्र दुइटा टर्वाइन मेसिन छन् । पानीको समस्याले पाँच सय वाट बिजुली उत्पादन गर्ने क्षमता भएको यसको उत्पादन बन्द छ । यहाँको पानी खान मात्र प्रयोग गरिएको छ, पाटनवासीका लागि । हाल मेसिन बिग्रनबाट बचाउन, यहाँ भ्रमणमा आएकालाई देखाउन मात्रै चलाइन्छ केही समय । नेपाल जलस्रोतको देश । तर, गलत व्यक्ति नेतृत्वमा पुगेको, दीर्घकालीन सोचको अभावले गर्दा देशमा अहिले खानेपानी र बिजुली अव्यवस्थित बन्न पुगेको छ । यसलाई व्यवस्थित गरेर पावरहाउस संचालनमा ल्याउन सके उपत्यकामा खानेपानी र बिजुलीको समस्यामा कमी आउने देखिन्छ । नेपालमा बिजुली उत्पादन हुन थालेको सय वर्ष नाघिसक्यो । पावर हाउस आफैँमा सुन्दर छ । यस वरिपरि राम्रा होटेल र होमस्टे हुने हो भने एक रात बिताउन र अध्ययन भ्रमण गर्न सजिलो हुने थियो । ऐतिहासिक गढी पनि हो पावर हाउस क्षेत्र । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा बनाएको गढीको भग्नावशेष छ त्यहाँ ।

विद्युत्गृहबाट पानीपोखरी हेर्न उक्लँदै गर्दा दायाँ बायाँ दुवैतिर आँखाले भ्याएसम्म सुनौला सुन्तला लटरम्म फलेको देख्दा हामी दङ्ग परेका थियौँ । घरका आँगन सुन्तलाले ढकमक्क स्वखेल गाउँ । २०७५ असार १ गते दक्षिणकाली मन्दिर पुगेका हौँ । फर्पिङ शहरको पश्चिमपट्टि रहेको डाँडो दक्षिणकाली उत्पत्ति भएको डाँडाको नामले प्रसिद्ध रहिआएको छ । यही डाँडाको बीचको थुम्कामा पहिले दक्षिणकाली आफ्ना गणसहित विचरण गर्थिन् भनिन्छ । दक्षिणीका रूपमा रहेकी देवीले जङ्गलमा घाँस दाउरा लिन वा भेडाबाख्रा चराउन जाँदा फर्पिङबासी एक्लै दोक्लै फेला पारेमा भक्षण गर्थिन् भन्ने भनाइ पाइन्छ । डाँडामा रहेको एउटा ठुलो ढुङ्गामा मानिसको बलि हुन थालेपछि तत्कालीन राजा प्रताप मल्लको आदेशले तान्त्रिक लम्बकर्ण भट्टले कालीको मूर्ति बनाएर प्राणप्रतिष्ठा गर्दा काली जागेर जाज्वल्यमान भई कालीको शक्ति थाम्नै सकिएन । अनि तान्त्रिक लम्बकर्ण भट्टले चामुण्डाको मूर्ति बनाएर डाँडाको फेँदीमा स्थापना गरी डाँडामाथिको मूल पीठको ढुङ्गा घोप्टाइदिएर कालीको शक्तिलाई मत्थर पारिएको रहेछ ।

डाँडाको फेँदीमा तल खोचमा पर्ने दुई नदी उद्धारवती गङ्गा र पूर्णावती गङ्गाको दोभान र मसान घाटमा देवी चामुण्डाको मन्दिर रहेको छ भने दक्षिणकालीका नामले प्रख्यात देवीलाई तान्त्रिक लम्बकर्णले राँगा, हाँस, बोका, भेडा र कुखुराको पञ्चबलि दिएका थिए भनिन्छ । देवमाला वंशावलीमा श्री दक्षिणकाली माईको मूर्ति रहेको स्थान दक्षिणपट्टि पूर्णावती गङ्गा र उत्तरपट्टि उद्धारवती गङ्गा सङ्गममा सहस्रबलि, नरबलि महापूजा कोट्याहुति यज्ञ गरेर प्रतिष्ठा कर्मको विधि पु¥याई वैशाख शुक्ल तृतीया (अक्षय तृतीया)का दिन स्थापना गरेको कुरा उल्लेख गरेको पाइन्छ । दक्षिणकाली माईका भक्तलाई इतिहाससँग मतलब हुँदैन । समस्या समाधान निमित्त भाकल गर्छ, पूरा भएकै छ र भक्त आमाको शरणमा आइपुग्छ । यस कारण त दिनुनुदिन भक्तको सङ्ख्या बढ्दै छ ।

कुरा प्रष्ट छ आमा दक्षिणकालीबाट बालक भक्तको भलो हुने गरेको छ । एकान्त वनमा, दुई गङ्गाको दोभानमा देवीको आराधनाबाट भक्तले जिम्मेवारी सिक्ने अवसर पाउँछ । यो सत्य हो स्रष्टा पदयात्रीले यात्रा गरेको ठाउँको यथार्थ थाहा पाउँछ । र अहिले हामी छैमलेको चौकोटदेवी दर्शन, अध्ययन गर्न पाइला बढाउँदै छौँ । सडकछेउ घर भएका एक जनाले दाहिनेतर्फको उकालो बाटो देखाए, यथार्थमा यो छोटो भए पनि गोठालाहरूले वनमा गाईबाख्रा चराउन लैजाने बाटो हो— ठुलो बाटो खोज्ने हामी केहीबेर अलमलमा मात्र होइन रनभुल्ल भएका थियौँ ।

२०७७ फागुन १ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर (कुलेखानी ड्याम) अवलोकन गरी फर्कनेक्रममा शेषनारायण पुगेका थियौँ ।

चार अङ्कसँग काठमाडौँँको अजिबको संयोग छ— चार गणेश, चार टाकुरा, चार भन्ज्याङ, चार योगिनी, चार नारायण । वंशावली भन्छ, चारौँ शताब्दीमा नेपाल खाल्डोमा चार नारायणको स्थापना गरिएको थियो । चार दिशामा— चाँगुनारायण, इचङ्गुनारायण, शेषनारायण र विशङ्खु नारायण । लोक मान्यताअनुसार यी चार नारायणको परिक्रमा गरिन्थ्यो । देश दर्शनको उद्देश्यले पहिले पैदल १८ कोस हिँडेर परिक्रमा गरिन्थ्यो भने अचेल यातायातको साधनबाट गइन्छ ।

फर्पिङ शहरलाई प्राचीन अभिलेखहरूमा शिखरापुरी भनिएको पाइन्छ र मध्यकालमा नेवारी अभिलेखहरूमा फर्पिङ, फमपीन आदि नामकरण गरिएको छ । यस्तै उत्तरबाट दक्षिणतर्फ लम्पसार परेको ठुलो डाँडाका फेँदीमा पहराको चेप पारेर स्थापना गरिएको शेषनारायणलाई शिखर नारायण, ठाउँको नाउँबाट भएको र प्रायः अन्त्याक्षर लोप गरी शब्दको उच्चारण गर्ने नेवारी भाषाको परम्परा अनुसार शिखा वा शिका नारायण भनिएको हो । धेरै जसो वंशावलीले नृसिंह नारायण भनेर नामकरण गरेका छन् । त्यहाँ स्थापना गरिएको आठौँ शताब्दी पछिको पुरानो चतुर्भुजी नारायणको मूर्ति हराएकाले वर्तमानको मूर्ति प्राण–प्रतिष्ठा गरी स्थापना गरिएको हो । विष्णु नारायणको स्थापना गर्दा शालिग्राम शिला या गोमती चक्रशिला हुनुपर्छ । त्यो नभए काष्ठ, धातु, पाषाण र माटोकै भए पनि मूर्ति बनाएर स्थापना गर्ने विधान रहेअनुसार स्थापनाकालमा चार नारायणका अवश्य नै मूर्ति बनेका थिए होलान् । देव प्रतिमाहरू टुटफुट, अङ्गहीन भएमा पूजा नगर्नु र नयाँ निर्माण गरी प्राणप्रतिष्ठा गरेर स्थापना गर्नु भन्ने शास्त्रीय चलन भएको हुँदा अङ्गभङ्ग भएमा नयाँ मूर्ति बनाइ स्थापना गरिन्थ्यो । शिखरापुर (फर्पिङ)मा लिच्छविकालीन शिलालेख पाइएकाले प्राचीन बस्ती हो भन्ने कुरा थाहा हुन्छ । फर्पिङमा अति प्राचीन गोपालेश्वर शिवको मन्दिरपछि यहाँ शेषनारायणको स्थापना भयो । शैव र वैष्णवमा परस्पर वैमनस्य नहोस् भन्ने हेतुले प्राचीन कालदेखि नै शिव र विष्णु एकै हुन् भन्ने भावनालाई साकार रूप दिन फर्पिङमा परम्परादेखि चल्दै आएको हरिशङ्कर जात्रामा रथारोहण गरी जात्रा गरिने नारायणको सुनौलो मूर्तिले शेषनारायणको प्रतिनिधित्व गर्दछ । सुकरात कालदेखिको इतिहास रहेको शेषनारायणको दर्शन अवलोकन नगरेर स्रष्टा पदयात्री कसरी रहन सक्थ्यो ।

हो शेषनारायण मन्दिर परिसरमै उत्तरतर्फ आचार्य पद्मसम्भवले तपस्या गरेको गुफा छ, यसै याङलेसो गुम्बामा ध्यान गर्दा गर्दै उनले बज्रकिल (दोज्रो फुर्वा)को भयंकर क्रोधी रूप धारण गरेर आध्यात्मिक चर्याबाट भ्रान्तिको आवरणयुक्त शक्तिहरूलाई शान्तिपूर्ण जीवनको प्रवाहमा परिवर्तन गरिदिए । यति लेखिसकेपछि पद्मसम्भवबारे केही शब्द खर्चिनु स्वभाविक हुनेछ । बौद्ध धर्मअनुसार जीवहरूको जन्म चार प्रकारले हुन्छ— गर्भबाट जन्मने, अण्डाबाट जन्मने, पसिनाबाट जन्मने र अलौकिक रूपमा प्रकट हुने । मातापिताको समायोजनविनै अलौकिक रूपबाट जन्मिएको चामत्कारिक बालकलाई नै पद्मसम्भव भन्ने गरेको पाइन्छ । करूणाका प्रतिमूर्ति अवलोकितेश्वर सुखावती भुवनमा अमिताभलाई जनताको दुःखप्रति करुणायुक्त दृष्टि पु¥याउन अनुरोध गरेअनुसार अमिताभ बुद्धको जिब्रोबाट निस्किएको रातो प्रकाश किरण उल्का झैँ) खसेर ओर्गेन (उड्डियान)को धनकोष सरोवरको बीचमा खस्यो । स्वतःस्फूर्त रूपले फुलेको कमलको फूलको बीचमा अमिताभको हृदयमा प्रकट भएको एकाक्षरी मन्त्र ‘ह्री’ एक स्वर्ण वज्रको आकृतिमा प्रकट भयो । सबै कुद्धको सार समाहित भएको त्यो एक आठ वर्षको जत्रो बालक विराजमान भएको देखियो । बुद्ध अमिताभ र वोधिसत्व अवलोकितेश्वरको उपज पद्मसम्भव बुद्धले भविष्यवाणी गरेअनुसार सर्वसत्त्व हितार्थ र गुह्य मन्त्रको धर्म प्रकट गर्न यस धार्तीमा आएका हुन् ।

‘जीवन क्षणिक छ, संसारको चर्या अनन्त छ र बिछोड अपरिहार्य छ’ भनेर उनले सांसारिक भोगविलास त्यागेर मोक्ष प्राप्ति गर्नतर्फ आफ्नो मति स्थिर गरे । त्यसपछि उनले स्वतन्त्रतापूर्वक भारतका आठ प्रख्यात मसानहरूलाई आसन बनाई त्यसमाथि बसेर अति गम्भीर समाधिमा प्रवेश गरेको समयमा शरीर धान्न पद्मसम्भवले मृतकहरूलाई चढाउन ल्याएका खानेकुरा समेत खान्थे । निरन्तर अभ्यासको कारण उनी विनाशकारी शक्तिहरूमाथि नियन्त्रण गर्न सक्ने ऋद्धिसिद्धि प्राप्त शक्तिशाली गुरु बने ।

रंगल भूमिमा पद्मसम्भवले विमित्र नाम गरेका पुरुषबाट देवभाषा संस्कृत र अरू भाषाहरू गरी जम्मा ३६० भाषा र ६४ वटा लिपी सिके । शिल्पविद्या र मृत्तिका शास्त्र लगायतका सबै कलामा निपुण भए । गुह्य मन्त्रका स्वामी बनेका उनी दुष्करचर्या अभ्यास गरेर दिव्य–दृष्टि, दिव्य–श्रोत्त, दिव्य–घ्राण, दिव्य–जिव्ह्राका ऋद्धिहरू प्राप्त गरे । दुष्कर चर्यास्वरूप च(डाली अभ्यासमा निपुणता प्राप्त गरेपछि उनले डाकिनीहरूलाई महायान तथा वज्रयानका उपदेशहरू दिए । पद्मसम्भवले दक्षिण भारत, श्रीलङ्का, इन्डोनिसिया, बर्मा, मध्यएसिया, चीनका केही प्रान्त, रुस, अफगानिस्तान, पर्सिया, इजिप्ट र अरू विभिन्न भूमिमा भयङ्कर पहाडका देवताहरू, असभ्य जङ्गली मांशाहारी प्रेत पिशाचहरू र महामारी फैलाउने राक्षसहरूलाई दमन गर्नुका साथै मन्त्रयानका उपदेशहरू दिए । पद्मसम्भवले नेपालको पूर्वी भागमा पर्ने हलेसीका गुफामा दीर्घायु साधना गरेका थिए । मन्त्रयानका प्रवर्तक बौद्धधर्मलाई लोक धर्म बनाउने पद्मसम्भवले साधना गरेका पवित्र गुफा दक्षिणकालीको फर्पिङमा हुनु, स्रष्टा पदयात्राको क्रममा अवलोकन गर्न पाउनु— अवश्य सामान्य रूपमा लिन सकिन्न ।

२०७९ असार ४ गतेको ५९ औँ स्रष्टा पदयात्रा दक्षिणकाली मन्दिर अवलोकनपश्चात् कटुवाल दह अवलोकन गरेका थियौँ । कटुवाल दहसँग अनेकन किंवदन्ती जोडिएका छन् । मञ्जुश्री तिनै किंवदन्तीसँग गाँसिएको नाम हो । महाचीनको पञ्चशीर्ष पर्वतबाट परिक्रमा गर्न निस्किएका मञ्जुश्रीले नगरकोटको डाँडोबाट यो उपत्यका देखेका थिए । पानीले भरिएको विशाल सरोवरको पश्चिमको कुनामा फुलेको कमलको फूलमा उनको दिव्यदृष्टिले एउटा अलौकिक ज्योति देखे । यही ज्योतिको दर्शन गर्न भनी आएका उनी यति मोहित भए कि पानी निकास गर्न उनले डाँडो काटे । किंवदन्ती यसै भन्छ, तीव्रतम गतिमा पानी निस्कँदा ढुङ्गे चट्टानमा बन्न गएको दह हो कटुवाल दह । समाजमा घटेका अद्भूत घटनालाई दैवी शक्तिसित जोडेर हेर्नु मानवीय स्वभाव हो ।

मञ्जुश्रीले डाँडो काटेर पानीलाई निकास दिएको किंवदन्ती प्रख्यात छ । तर, पानी निकासका लागि काटिएको स्थान चोभार मात्रै थिएन, अन्य तीन स्थानमा पनि काटिएका थिए पहाड । त्यसमध्येको एक स्थान हो कटुवाल दह । दक्षिणकाली मन्दिरबाट पूर्व–दक्षिणमा पर्छ यो— काठमाडौँँ र ललितपुर जिल्लाको साँध । आफूलाई सभ्य सुसंस्कृत ठानी नाक फुलाउने, सबै कुरा मैले जानेको छु भन्ठान्ने बौद्धिक व्यक्तित्व कतिले कटुवाल दह हेरेका छन् ? मञ्जुश्रीले खड्गले काटी उपत्यकाको पानी निकालेको यो स्थान अवलोकन गरेका होलान् भनेर भन्न सक्दिन । उपत्यकाका नदीले बगाएको वस्तु या मानव अन्त कतै नपाएपछि कटुवाल दहमा पाइन्छ भन्ने किंवदन्ती रहेको छ । अहिलेसम्म गहिराई नाप्न नसकिएको दहको रूपमा लिइन्छ यसलाई ।

इतिहास, किंवदन्तीसँग जोडिएका स्थान अवलोकन गर्न जानु स्रष्टा पदयात्राको दायित्वको कुरा हो । निश्चय नै अवलोकन गर्नु पर्ने कुरा धेरै छन् दक्षिणकाली नगरपालिकामा । यसै गरी पदयात्रा गर्न छुटाउन नहुने स्थान नेपालमा निकै धेरै छन् । पदयात्रा गर्दै पुगिएको ठाउँको बारेमा जानकारी सङ्कलन गरी लेख्नु स्रष्टा पदयात्रीको अधिकार हो । जब कर्तव्य थोरै र अधिकार धेरै हुन्छ, तब कल्पनाभन्दा पनि यथार्थ सिर्जनामा आउने गर्दछ । यसो त अधिकारले अभिमान जन्माउँछ र अभिशाप बन्न पुग्छ, तर स्रष्टा पदयात्रीको हकमा भने अधिकार त्रासको कारण बन्ने गरेको छैन ।

अन्ततः हामीले चौकोट देवीथान जाने बाटो पहिल्याऔँ । यो के जङ्गलको बीचमा फराकिलो दुइटा घाँसे मैदान, त्यहाँ बाख्रागाई चर्दै गरेका । पहिलो घाँसे मैदानमा दुई चरणको रचनावाचन गरिएको थियो भने दोश्रोमा दिवा सह–भोजन । दुवै चउरको नाम च्यानडाँडा र प्रतिमान, पहिलो यानी रचनावाचन गरिएको स्थल च्यानडाँडा र भोजन गरिएको स्थल प्रतिमान चउर (जाति पोखरी) । भोजनपश्चात् आधा घण्टाभन्दा अलिक बढी समय लाग्यो होला कम्मर कम्मर आउको घाँसमा गोरेटो बाटो पहिल्याउँदै उकालै उकालो चौकोट देवीथानमा पुग्न । जहाँ मानिसको आस्था हुन्छ, त्यहाँ देवताको वास हुन्छ र त श्रद्धा र आस्थाको शक्तिले तानिएर अप्ठेरो बाटो छिचोल्दै भक्त भगवान्को शरणमा पुग्छ । पहाडको अग्लो थुम्कोमा देवीथान छ— खुला शीलाको रूपमा । फुल्चोकी र चम्पादेवीको कथा महाचिनबाट स्वयम्भू ज्योतिको दर्शन गर्न आएका मञ्जुश्रीको त्यागसँग जोडिएको त मलाई थाहा थियो, तर यहाँ अलिक फरक पाएँ— मञ्जुश्रीले खड्गले उपत्यकाको पानी निकालेपछि आफ्ना तीन शक्ति (दीग्गज, पत्नी)मा जेठी वरदालाई फुल्चोकीमा (फुल्चोकी भगवती), माहिली मोक्षदालाई चौकोटमा (चौकोट भगवती) र कान्छी कामदालाई चन्द्रागिरिमा (चम्पादेवी) स्थापना गरेका रहेछन् । यसको अर्थ चौकोटदेवी लिच्छवीकाल अघिको हुनुपर्छ । तर किन हो फुल्चोकी र चम्पादेवीको जति नाम चल्न सकेन मोक्षदेवी यानी चौकोटदेवीको । स्थानीय बाहेक अन्यको नजरमा किन पर्न सकेन । चार वर्ष जति अघि पुरातत्त्व विभागले उत्खनन गरेर प्राप्त इँटा, भाँडा–वर्तन, कार्बन अध्ययनको लागि लगेको भन्ने सुनियो, यति हो देवीबारे थाहा पाएको कुरा । यति चाहिँ भन्न सकिन्छ— स्रष्टा पदयात्रा नेपालको टोली नै पहिलो हो, सोध्दै खोज्दै आएको समूहमा देवीथान पुगेको, स्थानीय यही भन्थे ।

चौकोट (मोक्ष) देवीको शक्तिको बयान नै किंवदन्तीको जग हो । पृथ्वीनारायण शाह छैमलेको यस थुम्कोमा आएका हुँदा हुन त यसको सुन्दरताको मोहबाट बच्न नसकेर वरिपरि मगरबस्ती बसाल्ने थिए । काठमाडौँँ वरिपरिका फुलचोकी, चम्पादेवी, जमाचो, नगरकोट यहाँबाट देख्न सकिन्छ ।

काठमाडौँँ वरिपरिका थुम्कोहरू आफैँमा प्राकृतिक भ्यूटावर हुन्, स्रष्टा पदयात्राको क्रममा उपत्यका वरिपरि चारैतिर पुगियो— चौकोटदेवीको यस थुम्कोबाट हुमाने भन्ज्याङ, अनि उपत्यकाको धेरैजसो भाग जति देख्न पाइन्छ, अन्तबाट पाइन्न । चारैतिर हरियाली बनको बीचमा दुइटा आकर्षक चउर अनि उकालो उक्लँदै थुम्कोमा रहेको चोकोट देवीथान । स्थानीय सरकारले पुरानो गोरेटो बाटो पहिचान गरी ढुङ्गा छापेर व्यवस्थित गरिदिए पुग्छ । अझ सकिन्छ तीन ठाउँमा घाम पानीबाट बच्ने टहरा बनाए हुन्छ । जाति पोखरी अलिक ठुलो बनाएर कमलको फूलले सिगार्ने र सानो चउर पिकनिक गर्ने थलो र ठुलो चउर बाल उद्यान बनाएर खाने पानीको व्यवस्था गरिदिए हुन्छ । स्थानीय पहिचान झल्कने अनि स्थानीय परिकारले पाहुनाको स्वागत गर्ने होमस्टे सञ्चालन हुन सके रात बिताउँन चाहने र फरक स्वादमा भुल्न चाहने पर्यटकको रोजाइमा यो स्थान अवश्य पर्नेछ ।








No comments:

Post a Comment

नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...