भरतकाजीको योजना र चिन्ता
–गङ्गाप्रसाद भेटवाल (कथा)
प्रशस्तै जग्गा जमिन भएका भरतकाजी आफूले चाहेजति समयमा पढ्न नपाएकोमा चिन्तित बन्छन् । शिक्षा नै समाज विकासको आधारशिला हो । उनले राम्ररी बुझेका छन् । उनको मनमा शिक्षाप्रतिको चासो खड्केकोले आफ्ना दुवै छोरालाई काठमाडौँमा राखेर पढाउने गर्छन् । उनी गोरखाका थापाकाजीका सन्तान हुन् । पुख्र्यौली सम्पत्ति पनि राम्रो छ । जग्गा जमिन व्यापार राम्रै हुन्छ । गाउँको स्थानीय राजनीतिमा पनि पकड उनको छँदैछ । नाता सम्बन्धका मान्छेहरू गोरखा, काठमाडौँदेखि विदेशसम्म पनि पहुँच भएकै छन् । उनले आफू गोरखामा बसेर भए तापनि दुवै छोरालाई महँगो काठमाडौँको विद्यालयमा पढाउँछन् । दुवै छोराले बाह्र पास गरेपछि थप पढाइ गर्न अस्ट्रेलियाको बाटो तताउँछन् । जेठो छोरो गएको केही वर्षपछि कान्छो छोरो पनि अस्ट्रेलिया जान्छ । भरतकाजीको भने गाउँसँगको सम्बन्ध ठिकै रहिरहेको हुन्छ । त्यति हुँदाहुँदै पनि उनले काठमाडौँको लाजिम्पाटमा ठुलै घर बनाएका छन् । काठमाडौँमा आएर बस्न पनि उनीहरूलाई आफ्नै घर भएपछि सजिलो हुन्छ । समयक्रम अगाडि बढ्छ । भारतकाजीकी आमाको गाउँमा निधन हुन्छ । उनी, आमा निधन भएपछि गाउँमा केही खल्लोपनको महसुस गर्छन् । समयक्रम अझै अगाडि बढ्छ । आमा बितेको केही वर्षपछि बाबा पनि रहँदैनन् । त्यतिखेरसम्ममा गाउँका धेरै हुने खाने परिवारहरू विभिन्न बहानामा गोरखाबाट अन्यत्र सर्दै गरेका हुन्छन् । यसरी गोरखा छोडेर जानेहरू चितवन, काठमाडौँ र विदेशी मुलुकहरूसम्म पुग्छन् । भरतकाजीको उमेर पचपन्नको हाराहारी पुग्छ । उनी आफू बुढ्यौलीतर्फ लाग्दै गरेको महसुस गर्छन् । उता अस्ट्रेलिया पुगेका दुवै छोराहरू पढाइसकेर उतैको व्यापार र जागिरमा स्थापित हुन्छन् । भरतकाजी नाति नातिनाका मालिकसम्म बन्छन् । छोरा–बुहारी नेपालमा आउँदा थापा परिवारको बसोबास काठमाडौँ लाजिम्पाटको घरमा नै हुन्छ । उनका छोरा–बुहारीहरू नेपाल आउँदा समय नपुगेर गोरखा घुम्न जान भ्याउँदैनन् । अलिअलि गर्दै थापाकाजीले गोरखाको सम्पत्ति बिक्री गर्दै काठमाडौँमा नै लगानी बढाउँछन् । बाबुबाजेको सम्पत्ति राम्रो ठाउँमा धेरै भएकोले पनि गोरखाको सम्पत्ति बेचेर काठमाडौँमा अर्को घरसमेत बनाउँछन् । घरबाट भाडा बापद राम्रो आम्दानी काजीलाई हुन्छ । काजीको जीवनमा आर्थिक अभावको छायाँ बाल्यकालदेखि अहिलेसम्म नै परेको छैन । बिस्तारै–बिस्तारै गोरखासँगको उनको सम्बन्ध पातलो हुँदै जान्छ ।गोरखामा रहँदा भरतकाजीको धेरै गाउँलेसँग दिनौं भेटघाट, गफगाफ हुन्थ्यो । रमाइलोसँग समय बित्थ्यो । काठमाडौँमा त्यसप्रकारका आत्मीय मान्छेहरूसँग गफगाफ हुन पाउँदैन । काठमाडौँ आफैंमा व्यस्त हुन्छ । सबै मान्छेहरूका आ–आफ्ना व्यस्तता र मतलबहरू हुन्छन् यहाँ । सबैले आ–आफ्ना डम्फु बजाएका हुन्छन् । अरूको डम्फुको ताल सुन्न कसैलाई फुर्सद हुन्न । थापाकाजीसँग प्रशस्तै समय हुन्छ । उनी धेरै मानिसहरूसँग कुरा गर्न चाहन्छन् तर काठमाडौँमा उनी जस्तै फुर्सदिला मान्छे कमै भेट्छन् । यसरी उनको जीवनको दैनिकीसँग फरक पर्न गएसँगै जीवन प्रक्रियाको सन्तुलन नमिले जस्तो हुन्छ ।
काठमाडौँमा फुर्सद भएसँगै उनी नेपालको राजनीतिमा बढी चासो दिन्छन् । राजनीति गर्नेहरूसँग उसको उनको सम्बन्ध बढ्दै जान्छ । विभिन्न पार्टीका मान्छेहरूसँग प्रगाढ सम्बन्ध हुन्छ । उनी प्रमुख पार्टीको सदस्य बनाइन्छन् र माथिल्लो नेतृत्वसम्म पुग्छन् । उनी छोटो समयमा नै पार्टीको मुख्य मान्छे बन्छन् । एकाएक आफूलाई आफू संलग्न भएको पार्टीले धेरै महŒव दिएको उनलाई पत्तो नै हुन्न तर स्थिति त्यसरी नै त्यहाँ निर्मित हुन्छ । त्यसको कारण उनका छोराहरूको अस्ट्रेलियामा बसाइ व्यवस्थित हुनुरहेछ । काजीका छोराहरूले अस्ट्रेलियामा धेरै व्यापार पनि गरेकाले यताका पार्टी नेताहरूको सम्पत्ति विभिन्न माध्यमबाट अस्ट्रेलिया लान सजिलो हुँदो रहेछ । थापागाजीले केही समयमा धेरै थाहा पाउँदै जान्छन् । पार्टीले थापाकाजीबाट पनि धेरै कुरा आशा गरेर उनलाई नेतृत्वमा लगेको रहेछ । नेपाली व्यवसायीहरूका पनि अस्ट्रेलिया र विश्वभरि व्यापारी कम्पनीहरू सञ्चालित हुन्छन् । गैर आवशीय नेपाली संघका धेरै मान्छेहरूले सम्पत्तिको व्यवस्थापन गर्ने भएकाले उनीहरू नेपालको राजनीतिमा दबाब दिन सक्ने हैसियतका देखिँदा रहेछन् । नेपाली राष्ट्रिय सम्पत्ति कसरी लुटिन्छ ? कहाँकहाँ पुग्छ ? कसले चलाउँछ ? र के को लागि प्रयोग हुन्छ ? यी सबै विषयमा भरतकाजी बिस्तारै–बिस्तारै बुझ्न सक्ने अवस्थामा पुग्छन् । तर उनी पनि त्यही दलदलमा फसिसकेका हुन्छन् । यो “सतीले सरापेको देश” हो भन्ने उखानको झड्का काजीलाई परिरहन्छ । काजीको मनमा देशप्रेम प्रकट भएपनि उनी स्वयं मुतको न्यानोमा हुन्छन् । उनी पनि बिस्तारै त्यही परम्परामा चल्न थाल्छन् ।
नेपालको राजनीतिमा असम्भव भन्ने केही हुँदैन । काजी नेपालको योजनामन्त्री बन्छन् । उनी योजनामन्त्री बनेपछि योजनाको तर्जुमा गर्न सर्भे गर्छन् । उनको सर्भे शिक्षा क्षेत्रबाट सुरु हुन्छ । उनी देख्छन्– नेपालबाट प्रतिदिन कम्तीमा एक हजार विद्यार्थी पढ्नका लागि अमेरिका, युरोप जाने गर्छन् । ती सबै विद्यार्थी नेपालको बाह्र कक्षा सकेर वा स्नातक सकेर उच्च शिक्षा आर्जन गर्न गएका हुन्छन् । उनको सर्भेमा ती सबै विद्यार्थी पढाइसकेर उतै बस्ने योजनाका साथ गएका हुन्छन् । उनी अनुमान लगाउँछन्– एक दिनमा नेपालको एक कलेज बन्द हुने अवस्थामा हुन्छ । सबै कलेजमा एक हजार विद्यार्थी नहुन पनि सक्छन् । उनी सर्भेलाई अलिक गहि¥याउँछन् । विदेश पढ्न जाने हरेक विद्यार्थीको साथमा नेपाली पैसा दश लाखदेखि एक करोडसम्म बाहिर जाँदो रहेछ । सरकारी जागिरेका छोराछोरीदेखि व्यापार–व्यवसाय गर्नेका छोराछोरी अलिक सजिलैसँग विदेश अध्ययन गर्न गएका र आर्थिक अवस्था राम्रो नहुनेले ऋणको भारी बोकेर भएपनि युरोप, अमेरिका पढ्न गएको देखिन्छ ।
नेपालमा बच्चाहरू बाह्र कक्षासम्म पढ्ने र त्यसपछि नेपाल छोड्ने क्रम बढेसँगै स्नातक र स्नातकोत्तर तह पढाइ हुने क्याम्पसका सञ्चालकहरू चिन्तामा परेका देखिन्छन् । यो चिन्ता निजी क्याम्पसका सञ्चालकहरूमा मात्र देखिन्छ । भरतकाजी नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह पढाइ हुने विभिन्न विभागमा पुग्छन् । जहाँ स्नातकोत्तर तह पढ्ने विद्यार्थी दश जना र प्राध्यापक तीस जनासम्म भेट्छन् । सर्भेको काम अगाडि बढाउँदा बढाउँदै काजीको मुड अफ बन्न पुग्छ । के गर्ने, कसो गर्ने भएको बेला आफ्नो पुख्र्यौली गाउँ गोरखातिर पुग्छन् । गोरखामा पहिले–पहिले खेतीपाती गरिएका धेरै ठाउँहरू जङ्गल भएछन् । एकपल्ट गोर्खा छाडेका परिवारहरू फर्केर गोरखा फर्किएर नआउँदा रहेछन् । भित्री गाउँका बस्तीहरू क्रमश सिद्धिँदै गएछन् । गोरखामा उनी फ्रेस बन्न सक्दैनन् । छिट्टै काठमाडौँ फिर्ता हुन्छन् । भरतकाजी काठमाडौँ लाजिम्पाटको आफ्नो घरमा पुग्छन् । खाना खाएर बेलुका अबेरसम्म झोक्राएर बस्छन् । केके सोच्न भ्याउँछन् । राति बाह्र बजेतिर निदाएका उनी सपना देख्न पुग्छन् । सपनामा नेपालको अवस्था चित्रित हुन्छ । नेपालका अधिकांश गाउँहरूमा बुढाबुढी मात्र रहेका र बुढेसकालमा आफ्ना सन्तति सम्झेर उनीहरु तड्पिएका हुन्छन् । संसारको जनसङ्ख्या एकातिर बढ्दै गएको तर नेपालको निरन्तर घट्दै गएको देख्छन् । नेपालीहरूले अठार वर्षसम्म आफ्ना बच्चालाई दुध, भात, घिउ खुवाएर हुर्काएको र सधैंका लागि विदेश पठाएको देख्छन् । यसैबीच कुनै विदेशी राष्ट्रले पचासौँ लाख आफ्ना नागरिकलाई दीर्घकालिक योजनाका साथ व्यापार, व्यवसाय गर्न नेपालको तराई क्षेत्र र अनुकूल सबैतिर पठाउँछ । तिनीहरू बीसौं वर्षपछि नागरिकता विधेयक मार्फत नेपाली नागरिक बन्ने अवसर आउँछ । त्यसपछि साविकका नेपालीभन्दा हालका नेपालीको सङ्ख्या बढ्दै जान्छ । नागरिक अनुसारको सरकार बन्छ र आफू सत्ताबाट बाहिरिनुपर्छ । भरतकाजी नब्बे वर्षका हुन्छन्, सन्तान आफूसँग हुँदैनन् । नेपालकै सरकारले अल्पसंख्यकहरूलाई बेवास्था गर्छ र किनारा लाउँछ । उनी झसङ्ग भएर सपनाबाट बिउँझिन्छन् ।
भोलिपल्ट बिहानै भरतकाजी मन्त्रालय जान्छन् । योजना तर्जुमा गर्छन् । आगामी वर्षबाट जसको परिवारमा चार सन्तानको जन्म हुन्छ, उनीहरूलाई आठ लाखको दरले राहत दिने योजना बन्छ । त्यही योजनापछि सरकारले लागू गर्छ तर भरतकाजीलाई ती चारै सन्तान विदेश जान्छन् कि भन्ने डर छ !
ॐ
गङ्गाप्रसाद भेटवाल कीर्तिपुर नगरपालिका ४ काठमाडौँ । फोन ९८४९ ७१४८६७ ।
No comments:
Post a Comment