Monday, December 2, 2024

कालो गुलाफ कथासङ्ग्रह भित्र के छ ? -गङ्गाप्रसाद भेटवाल

  कालो गुलाफ कथासङ्ग्रह भित्र के छ  ?                                                            गङ्गाप्रसाद भेटवाल  

                                                                                             

कालो गुलाफ कथासङ्ग्रह कथाकार गोपाल अस्कद्वारा लिखित कथाहरूको सँगालो हो । यो कथा सङ्ग्रहलाई ओरिएन्टल पब्लिकेशन प्रा.लि.ले २०८० साल आश्विन महिनामा प्रकाशनमा ल्याएको हो । यस सङ््गहमा प्रा.डा. लक्ष्मणपसाद गौतमले समीक्षात्मक भूमिका लेख्नुभएको छ । त्यसपश्चात् कथाकारको छोटो भनाइ  र प्रकाशकीय रहेको छ । यस सङ्ग्रहमामा पन्ध्रवटा कथाहरूलाई संकलन गरिएको छ । यस सङ्ग्रहमा संकलित भएका कथाहरूले अधिकांश मधेस क्षेत्रका सन्दर्भहरूलाई प्रस्तुत गरेका छन् भने केही केही कथाहरूका परिवेश र पात्रहरूले पहाड क्षेत्रलाई समेत समेट्न भ्याएका छन् । सिङ्गो कथा सङ्ग्रहलाई बुझ्न सजिलो होस् भनेर पन्ध्र्र वटा कथाहरूको छुट्टाछुट्टै संक्षिप्त स्वरूपलाई यो  समीक्षात्मक लेखमा सारगत रूपमा प्रस्तुत गरिएको छ ः 

कथा १ – कालो गुलाफ

यस कथामा पात्रहरू रामलाल यादव उपनाम अग्नि, उसकी श्रीमती रमपतिया, छोरा गापी र अपरिचित व्यक्ति निर्मलमणि सापकोटा उपनाम ज्वाला रहेका छन् । यस कथामा माओवादी आन्दोलनको झलक छ । माओवादीभित्र पनि पहाडे र मधेसीको भावना आएको छ । आन्दोलनकारीहरू गणतन्त्र आएपछि धेरै नै मन्त्री बनेका छन् । उनीहरुमा दक्षिणी छिमेकी राष्ट्रलाई हेर्ने दृष्टिकोण उस्तै–उस्तै भएपनि पहाडे र मधेसे नेताहरूले एकअर्कालाई आरोप लगाउने गरेका छन् । माओवादीभित्रका नेतामा पनि मधेसलाई हेर्ने नजर त्यति राम्रो पाइँदैन । पहाडेले आफूलाई लालीगुराँससँग तुलना गरेका र सोही प्रकारले मधेसेले आफूलाई गुलाफसँग तुलना गर्दा पहाडेले गुलाफ त हौ तर कालो गुलाफ हो भनेर मधिसेप्रति नकारात्मक सोच व्यक्त गरेका छन् । यही कथाको शीर्षकबाट सिङ्गो सङ्ग्रहको नामकरण समेत भएको देखिन्छ । 

कथा २ – एउटा लेखकको आत्मकथा 

यस कथामा लेखको जीवनचर्यालाई प्रस्तुत गरिएको छ । वास्तविक लेखक जो गरिवीसँग जुधेको छ । चार दर्जनकृति लेखे पनि बाँच्नकै लागि ती कृतिहरू अरुलाई बेच्नु परेको छ । लेखकले घोस्ट राइटिङलाई आफ्नो पेशा बनाएको छ । कथामा मोफसलका साहित्यकारहरूबाट पनि राजधानीमा बस्ने लेखक पीडित भनेको छ । आफ्नै श्रीमतीले समेत आफ्नो विवशता बुझ्न नसकेको अवस्था कथामा छ । श्रीमतीले श्रीमान्बाट पैसा पाउँदा अति खुसी भएको देखिन्छ तर श्रीमान्को अवस्था बुझ्न चासो राखेको छैन । आफन्तको विवाहमा कृति बेचेर खर्च जुटाउन लेखक बाध्य छ । यस कथामा लेखकको लाचारीपन प्रस्तुत भएको छ । 

कथा ३ – प्र्रेमको मृत्यु 

यस कथामा मुख्य पात्रका रूपमा रमा, टाङ्गावाल भैया, राकेश, राकेशकी बहिनी, मास्टर काका अर्थात् अविनाश आँशुतोष, राकेशकी आमा लगायतका पात्रहरू आएका छन् । परिवेशमा मधेस छ । मुख्य पात्र रमा एम.ए. तहको पढाइ सकेर शोधकार्यमा संलग्न भएकी छन् । तराईमा रहेका विद्वान अविनाश आशुतोषको विषयमा उनको शोधकार्य हुन्छ । उनी काठमाडौँबाट बस चढेर मधेशमा पुग्छिन् र त्यहाँबाट टाङ्गाको सहारा लिएर अविनाश आशुतोषको घरमा पुग्छिन् । आशुतोषलाई मास्टर काका समेत भनिने गरेको टाङ्गावालाबाट थाहा पाउँछिन्। अविनाश आशुतोसरको घरमा राकेश पनि भेटिन्छ । वास्तवमा राकेश र रमा सहपाठी र प्रेम जोडी हुन्छन् । अविनाश आशुतोष सरको छोरा भएको उसले रमालाई भनेकै हुँदैन अचानक त्यहाँ रहस्य खुल्छ । राकेशकी बहिनी, आमा, बाबाबाट रमाले एकदमै माया पाउँछिन् । शोधको लक्षित कार्यक्रम सकिएपछि काठमाडौँ फर्किने बेलामा बस चढाउन राकेश रमा सँगै जान्छ । गाडी पाउँदैनन् त्यस दिन । उनीहरू होटलमा बस्छन् । त्यसको भोलिपल्ट प्लेनबाट रमालाई राकेशले काठमाडौँ पठाउँछ । त्यहाँ होटलमा बस्दा उनीहरूले श्रीमान श्रीमतीको भूमिका निभाएका छन् । सम्बन्ध राखेपछि प्रेमको मृत्यु भएको ठान्दछन् । अब हामी अर्कै सम्बन्धमा रह्याँै भन्ने कुरा गर्छन् । रमा एयरपोर्टबाट भित्र छिर्छिन । यसरी त्यहाँ प्रेमी प्रेमिकाको प्रेमको मृत्यु भएको छ र त्यसपश्चात श्रीमान् श्रीमतीको प्रेम पलाउने आशा छ । 

कथा ४ – सम्पादक 

यस कथामा वर्तमानमा बाँचिरहेका नेपाली पत्रिकाको समस्या प्रस्तुत गरिएको छ । विभिन्न ठाउँमा हुने कार्यक्रममा आयोजकहरूले कति न महŒवपूर्ण कार्यक्रम छ भनेर बोलाउँछन् तर जाँदा न कार्यक्रम समयमा हुन्छ न त समयमा सकिन्छ नै । कार्यक्रम आयोजकहरूले सम्पादक तथा पत्रकारहरूको समयको ख्याल गर्न नसकेको कुरा कथामा आएका छन् । पत्रिकामा काम गर्ने पत्रकारहरूले पनि राम्रोसँग काम नगरी सम्पादकै टाउकोमा थोपर्दछन् । उता सम्पादकले पनि लेख, कथा तथा अन्य सृजनाको स्तर निर्धारण गर्दा पक्षपात गर्ने गरेको कुरा कथामा आएको छ जुन कुरो आजको पत्रकारिता क्षेत्रको तितो यथार्थ हो । 

कथा ५ – नचिताएको कुरा  

यस कथामा रामलाल र रमाको परिवार वीरगञ्जबाट काठमाडौँ उपत्यकामा नचाहँदा नचाहँदै बसाई नै सर्न पुगेका छन् । सुरुमा काठमाडौँमा डेराको समस्या उनीहरूको परिवारले भोगेको छ भने पछि उनीहरुले परिस्थितिकै कारण यतै घर बनाउन पुगेका छन् । यतै घर बनाएर बसेपछि संस्कृति तथा परम्परामा पहाडियाहरूसँग फरक परेको छ । विशेषगरी तिहारको लक्ष्मी पूजा मनाउने क्रममा असन्तुलन देखिएको छ । काठमाडौँमा घर बनाएपछिका तीन चार वर्षपछि उनीहरूको संस्कृति र यताको पहाडिया संस्कृतिको सन्तुलन बिन्दु फेला परेको छ । मानिसले नचाहेका कुराको सन्तुलन समेत समयले दिन्छ भन्ने सन्देश पाठकमा पर्न गएको छ । 

कथा ६ – डा. दिलवर दिल

यस कथामा नेपालको मधेशको परिवेशबाट कथानकको आरम्भ भएको छ । नेपालको तराईमा बस्ने मानिसहरूका दुई प्रकारका आवतजावत गन्तव्य प्रस्तुत गरिएको छ । मधेसीहरू उपचार लगायतका काम गर्न भारतीय सहर जाने र पहाडियाहरू काठमाडौँतिर जाने परम्परा रहेको छ । रमाको पति मुटुको रोगी भएको हुन्छ र उपचारको सिलसिलामा पटना पुग्छ । त्यहाँ झुकिएर साहित्यमा पीएचडी गरेको डाक्टरकोमा पुग्छ । केही समय सन्दर्भ नमिलेका वार्तालाप चल्छ । ऊ साँच्चिकै डाक्टर ठानेर त्यहाँ पुगेको हुन्छ डाक्टर दिलवर दिलकोमा । कथाको अन्त्यमा रहस्य उद्घाटन भएपछि साँच्चिकै एमबिबिएस डाक्टरकोमा जान्छ । यसरी यस कथामा डाक्टर शब्दका कारण झुकिएको घटना प्रस्तुत भएको छ । 

कथा ७ – मत्स्यगन्धा 

यस कथामा नयाँ पुस्ताका युवा युवती कसरी भविष्यलाई सुनिश्चित गर्न चाहन्छन् भन्ने कुराको दृष्टान्त छ । पहिले पहिलेका मानिसहरू विवाह गर्न अगाडि चिना हेर्ने गर्थे भने अबका युवायुवती चिना भन्दा पनि निरोगिताको बारेमा वास्तविकता बुझेर मात्र नयाँ जीवन शुरु गर्न चाहन्छन् भन्ने कुरा आएको छ । समय बदलिएको छ भन्ने कुरा र बदलिएको समयले जीवनलाई सुनिश्चित गर्न चाहन्छ भन्ने दृष्टान्त यस कथामा छ । 

कथा ८ – वेदनाको फूल

वेदनाको फूल कथामा वीरगञ्ज आसपासका गाउँमा किशोर अवस्थामा बिहे हुने गरेका सन्दर्भ आएका छन् । बुबाको पालामा वाध्यात्मक रूपमा किशोर अवस्थामा बिहे गर्नुपरेको स्थिति छ भने छोरीको समयमा बाबुआमालाई थाहा नै नदिकन उही किशोर अवस्थामा नै बिहे गरेका घटना आएका छन् । यी दुवै समयमा दुई अवस्थामा नै गरिएको विवाहले परिवारमा वेदना दिएका छन् । तराई क्षेत्रमा प्रशस्त मात्रामा साहित्यिक कार्यक्रम हुने गरेका छन् । विद्यार्थीहरू गणित तथा अङ्ग्रेजीमा कमजोर भएपनि साहित्य सिर्जनामा लागेर सम्मानित भएको स्थिति छ । कथाको शीर्षकले भने बाबु र छोरीको फरक स्थितिमा गरिएको बिहेबाट भएको वेदनालाई प्रस्तुत गरेको छ । मुख्य पात्रको रूपमा कृष्णलाई उद्धृत गरिएको 

छ ।

कथा ९ – पलायन 

यस कथामा शशिकलाको चारजनाको सदस्य भएको परिवारलाई मुख्यरूपमा प्रस्तुत गरिएको छ । दुई छोराहरू र आमाबुबा छन् । जेठो छोराको मागेर विवाह गरेको तर घरबार हुन नसकेर सम्बन्ध विच्छेद हुने अवस्था कथामा आएको छ भने कान्छो छोराले आफैँ अन्तरजातीय प्रेम विवाह गरेको छ । विवाह पश्चात कान्छा छोरा बुहारी विदेश गएका छन् । मागी विवाह गरेको जेठो छोरा बुहारी पढेलेखेका भएपनि दुवैको अहमताको कारण घरबार हुन सकेको छैन । जेठो छोरो पनि सम्बन्ध विच्छेद गरिसकेपछि जीवन निर्वाह गर्न विदेश जाने तयारी गर्छ । यसरी दुइटा छोरा नै आफ्ना आमाबुबा र जन्मस्थानबाट पलायन हुनुपरेको समयको तितो यथार्थ र बाबाआमाको मनको पीडा कथामा अभिव्यक्त भएको छ । शशिकलाको परिवार यसरी पलायन हुने अवस्थामा छ । 

कथा १० – बुबा हजुरबा खोई ?

यस कथामा मुख्य पात्रको रूपमा ईशा रहेकी छ ।  ईशा हरिवन सरलाईमा जन्मेकी केटी हो । ऊ मामाघर काठमाडौँमा बसेर पढ्छे । त्यहाँ मामामाइजु, मावलीको हजुरबुबा, हजुरआमा सहितको परिवार हुन्छ । मावली हजुरबुबा हरेक दिन मोटरसाइकल लिएर उसलाई लिन स्कुल आउँछन् । त्यही स्कुलमा पढ्ने ईशाकी साथी रितिकालाई लिन आफ्नै बुबाको बुबा अर्थात् घरकै हजुरबा आउँछन् । त्यस घटनाबाट ईशालाई आफ्नै बुबाको बुबा हजुरबाको याद आउँछ तर उसले कहिल्यै देखेकै हुँदैन । दशैंमा घर गएर आमाबुबालाई हजुरबुबा आमाको बारेमा सोधपुछ गर्छे । ईशाका हजुरबुबा आमा भएको तर गाउँमा भएको रहस्य खुल्छ । कथामा आमाकै कारण हजुरबा र हजुरआमासँग भेट हुन नसकेको कथ्य स्थिति देखिन्छ । त्यति हुँदाहुँदै पनि ईशाकै कारण दशैंको अवसरमा त्यो परिवारको हजुरबुबा आमासँग मिलन हुन सक्ने अवस्था कथामा आएको छ । 

कथा ११ – भैया 

यस कथामा मुख्य पात्रको रूपमा गोपी, कमल, निशा र रिता रहेका छन् । गोपी र रिता दाजुबहिनी हुन् भने कमल र निशा दाजुबहिनी हुन् । गोपी र रिता तराई मूलका हुन् । कमल र निशा पहाडी मूलका । गोपीले साइकलमा कालिमाटी आसपासमा तरकारी बेच्छ भने कमलले त्यसै क्षेत्रमा चिया बेच्छ । केही बदमास केटाले गोपीको तरकारी पसल साइकलबाट फालेपछि सँगै रहेको चिया पसलबाट आएर कमलले गोपीलाई बचाउँछ । त्यसपछि गोपी र कमलको मित्रता बढ्छ । गोपी, कमलको पहाड घरसम्म पुगेर भाइटिका लगाउँछ । उनीहरूको मित्रता कसिलो हुन्छ । पछि दुवैका बहिनीहरू निशा र रिता पनि आआफ्ना दाजुहरुसँगै काठमाडौँ आउँछन् । एकदिन अचानक मोटरसाइकल दुर्घटनामा परेर निशाको श्रीमान्को मृत्युको खबर लिएर कमल गोपीकोमा पुग्छ । त्यस घटनामा गोपीले कमललाई धेरै मद्दत गर्छ । मृत्युपछि गरिने संस्कार कर्ममा चलन अनुसार माइतबाट मान्छे गएर हेर्न नहुने भनिएकाले त्यहाँ कमलको सट्टा गोपी पुग्छ । गोपी त्यहाँ पुग्दा त्यहाँ भैया भन्दै निशा उसको शरणमा पुग्छिन् र कथा टुङ्गिन्छ । यस घटनामा तराई र मधेश मान्छेलाई दाजुभाइकै रूपमा प्रस्तुत गरिएको छ ।  हिमाल पहाड तराई कोही छैन पराई भन्ने भावना कथामा आएको छ ।

कथा १२ – अनुगूँज 

यस कथामा म पात्रको रूपमा आएको रामलालको परिवारको आन्तरिक वेदना छरपष्ट भएको छ । उसको परिवारमा श्रीमती, दुई छोरा एक बुहारी (कान्छी बुहारी), नाती लगायतको परिवार छ । यो परिवार आपसमा खुलस्त हुन सकेको छैन । श्रीमान श्रीमतीमा पनि वास्तविक प्रेम छैन । कान्छी बुहारीको व्यवहारबाट पनि रामलाल पीडित बनेको छ । तराईको राम्रो घर उनीहरूको भएपनि त्यस घरभित्र पूर्ण सन्तुष्टि छैन । रामलाललाई पहाडी दृश्य मनपर्छ तर त्यसभित्रका समस्या श्रीमतीले उसलाई देखाउने गर्छिन् । कथाको अन्तिममा रामलाल कोरोनाको सिकार भएजस्तो देखिएको छ । यस कथाको सन्देश परिवार आफैंमा मिल्न सकेन भने कुनै न कुनै बेला रोगको सिकार बन्न पुग्छ भन्ने जस्तो देखिएको छ । 

कथा १३ – अन्तरसवाद 

यस कथामा नयाँ पुस्ता र पुराना पुस्ताको बीचमा असमझदारी छ । पुरानो पुस्ताले पुरानो संस्कृतिको बचाउ गर्दै त्यसको निरन्तरता चाहेको छ । नयाँ पुस्ता स्वतन्त्रतासँगै बाँच्न चाहेको छ । तुलाधर र तुलना छोरा बुहारीको पुस्ता हो । उनीहरुले अन्तरजातीय विवाह गरेका छन् । उनीहरू विदेशसमेत बसेर आएका छन् । यस कथामा पुरानो पुस्ताले आफ्नो कर्तव्य पूर्ण रूपमा पालना गरेको देखिन्छ भने नयाँ पुस्ताले स्वतन्त्रता खोजेको तर आफ्नो कर्तव्य पूरा नगरेको देखिन्छ । पाठकलाई हाम्रो समाजको नैतिक धरातल साँच्चिकै खस्कदै गएको हो कि भनेर चस्का पस्ने देखिन्छ । 

कथा १४ – जन्मकुण्डली 

यस कथामा म पात्रको माध्यमबाट कथानकलाई अगाडि बढाइएको छ । उसकी श्रीमतीको नाम रमा छ । श्रीमतीका अगाडि म पात्र कम बोल्ने गर्छ । तराईमा नातासम्बन्धी साइनो छोराको छोरा पोता, छोरी पोती, छोरीको छोरा नाती छोरी नातिनी भनिन्छ । छोराको छोराले हजुबुबाआमालाई दादा दादी र छोरीका छोराछोरीले नाना नानी भन्ने नाता सम्बन्ध छ । यी भए चलन परम्परा तथा संस्कारका कुरा कथामा श्रीमान् श्रीमतीको बाक्लो संवाद भएको छ र कथाको अन्तिमतिर श्रीमान्को जन्मकुण्डली हेरेर श्रीमती जलेर भुतुक्क हुन पुग्छिन् । जन्मकुण्डलीमा श्रीमानका महिला साथी र अन्तरंग सम्बन्धको पाटो खुल्छ र रमाको मनमा रिस र आलस्य भरिन्छ । जन्मकुण्डलीप्रतिको पूर्ण विश्वासका कारण रमाले आफ्नो श्रीमान््लाई आफूबाट टाढा राख्ने प्रयत्न गरेको छ । कर्ममा भन्दा जन्मकुण्डलीमा विश्वास गरेर रमा दुःखी बनेकी छ तर म पात्रले उसलाई सम्झाउन प्रयत्न गरेको देखिन्छ । यसैबीच कथा समाप्त हुन्छ । 

कथा १५ – हिजोआज 

यस कथामा पनि म पात्र आएको छ जसलाई गोपाल नाम पनि दिएको छ । गोपालले आफ्नो स्कुले जीवनका क्षणहरू सम्झन पुगेको छ । गणित शिक्षक, अंग्रेजी शिक्षकसँगका स्मृतिमा आफू पुगेको छ साथै कोरोना कालको अवस्थाको स्मरण समेत गर्न पुगेको छ र कथाको अन्तिममा उसले हिजो आजको अवस्था पनि बताउन पुगेको छ । हिजोआज नातिनातिनासँग रमाउँछ ऊ र यस धर्तीबाट अब कहिले अर्को लोकमा जाने भन्ने अनुमान गर्छ । यस्तैमा कथा समाप्त हुन्छ । 

यसरी कालो गुलाफ कथा सङ्ग्रहमा कथाकार गोपाल अस्कले पन्ध्र वटा कथाहरूको माध्यमबाट तराई मधेसका समस्याहरू, संस्कृतिका कुराहरू, नयाँ पुस्ता तथा पुराना पुस्ताका प्रवृत्तिहरू र बुढ्यौली कालसँग सम्बन्धित अप्ठ्याराहरूलाई आम पाठकहरू समक्ष प्रस्तुत गरेका छन् । कथामा परिवेशको रूपमा वीरगञ्ज आसपासको क्षेत्र, केही काठमाडौँका ठाउँहरू र पटनाका केही स्थानहरू आएका छन् । भाषाशैली सरल प्रकृतिको र सलल बगेको छ तर मधेसीपनको गन्ध कथाहरूमा पाइन्छ । कथाहरू पढिरहँदा पाठको मन मस्तिष्कलाई च्वास्स च्वास्स छोइरहन्छ । 

र अन्त्यमा कथाकार गोपाल अस्कलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दछु र उनको लेखनी अझै तिखारिँदै जाओस् भन्ने कामना गर्दछु । 

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर नगरपालिका वार्ड नं ४ काठमाडौँ 

फोन ९८४९ ७१४८६७ ।


                  





Friday, November 29, 2024

कथा : टुटेका सपनाहरू - गङ्गाप्रसाद भेटवाल

                                                       


            कथा :  टुटेका सपनाहरू

                                                                                                     

                                                                                                          गङ्गाप्रसाद भेटवाल                                          

पच्चिस  वर्षीय उषा बहुत जाँगरिली छन् । नहुन पनि कसरी त्यही जाँगरिली भएकै कारणले उनी एउटा गैर सरकारी संस्थामा काम गर्छिन् । उनी विभिन्न ठाउँमा गएर आफ्नो हाकिमले दिएको काम पूरा गर्छिन् । उनको काम प्राय रिपोर्टिङसँग सम्बन्धित हुन्छ । कहिले उनी ग्रामीण क्षेत्रका महिलाको साक्षरताका बारेमा रिपोर्टिङ गर्छिन् त कहिले सहरी क्षेत्रका अव्यवस्थित सुकुम्बासी बस्तीका जनजीवनकोबारेमा । उनको दैनिकी व्यस्तताका साथ चलेको छ । हप्ताका छ दिन हुने काममा जान्छिन् । शनिबार एक दिन बिदा हुन्छ त्यो दिन पनि कपडा र कोठाको सरसफाईमा व्यस्त हुन्छिन् । 

भरभराउदी उषा खुसी छिन् । काठमाडौँमा उनको आफ्नो घर त छैन तर आफैँ कमाउन सक्ने भएकीले उनमा खासै केही चिन्ता छैन । भर्खरै उनले एमबिए पास गरेकी हुन् । गैर सरकारी संस्थामा काम गर्दागर्दै उनको मनमा लोकसेवा परीक्षा दिएर स्थायी जागिरमा जाने सोच बन्दैछ तर सोचेको कुरा आफूले चाहेको समयमा पाउन पनि त सकिँदैन । त्यो उनले राम्रोसँग बुझेकी छन् । जीवनको एउटा पाटो यसरी चलिरहेको छ भने अर्को पाटो जुन प्रेमको पाटो हो त्यो पनि आफ्नै तरिकाले हुर्किराखेको छ । आफूसँगै एमबिए पढेर पास भएको मदन उनको प्रेमी हो । उनीहरू आफ्नो प्रेममा आनन्दित छन् । दुवैको एक किसिमले भन्नुपर्दा पढाइको मुख्य समय सकिएको र जीवनको नयाँ अध्यायमा प्रवेश गर्ने समय आएको छ । दुबैले राम्रो जागिर खाएर आपसमा विवाह गर्ने सल्लाह गरेका छन् । यो समय उनीहरूका लागि महत्वपूर्ण समय हो। यहीबाट जीवनको वास्तविक यात्रा प्रारम्भ हुन्छ। उषाले यो कुरा राम्ररी बुझेकी छन् । एक दिन उषा रिपोर्टिङकै सिलसिलामा एउटा वृद्धाश्रममा पुग्छिन् । त्यहाँ उनले वृद्धआमाहरूको जीवन भोगाइको रिपोर्टिङ गर्नुपर्ने हुन्छ । उषा आश्रमको कम्पाउन्ड भित्र पुग्छिन् । त्यहाँको प्रशासनसँग कुरा गरेर आमाहरू भएको ठाउँतिर पुग्छिन् । काठमाडौँको ठाउँ हिउँदको समय आमाहरू बाहिरपट्टिकै कुर्सीहरूमा बसेका छन् । उषा उनीहरू भएको ठाउँमा पुगेर एकजना आमालाई आमा π भनेर सम्बोधन गर्दै बोलाउँछिन् । ती आमा मुख बिगार्दै मुन्टो अर्कोतिर फर्काउँछिन् । उषा ट्वाल्ल पर्छिन् र फेरि भन्छिन् आमा π ती आमा त त्यो कुर्सी नै छोडेर अलि पर गएर अर्कै कुर्सीमा बस्छिन् । उषा झन् छक्क पर्छिन् । उनी जुन उत्साह लिएर त्यहाँ आएकी थिइन् त्यो उत्साहमा नै दुविधा देखिन्छ । उनले त्यहाँ रहेकी अर्की आमालाई बोलाउँछिन् । ती आमा पनि बोल्न चाहन्नन् । उनले फेरि त्यहाँ रहेकी अर्की आमालाई बोलाउने प्रयत्न गर्छिन् तर ती आमा पनि त्यस्तै सङ्केत गर्छिन् । त्यसपछि उषाको मनमा लाग्छ– यी आमाहरूले जीवनमा धेरै ठूला धोका खाएका छन् । धोका दिनेहरू सायद मेरै उमेरका मान्छे हुनुपर्छ । 

उनी त्यसपछि त्यस आश्रमको प्रशासन कार्यालयमा गएर थप सोधपुछ गर्छिन् । प्रशासन कार्यालयमा बसेका अनुभवी व्यक्तिले समग्रमा आमाहरूको जीवन, आश्रममा आउनुपर्ने कारण र परिवारसँगको सम्बन्ध बारेमा राम्रोसँग जानकारी दिन्छन् । उषाले ती कर्मचारीलाई आमाहरूसँग संवादका लागि वातावरण मिलाइदिन अनुरोध गरेपछि ती व्यक्ति गएर आमाहरूलाई केही कुरा भन्छन् । त्यसपछि उषाले आमाहरूसँग बातचित गर्ने वातावरण बन्छ र संवाद चल्छ । उनी सुरुमा बोल्न खोजेकी आमाको छेउमा पुग्छिन् । भन्छिन् –आमा 

 आमा : हजुर, के भयो नानी ? किन आयौ ?

 उषा : आमा म हजुरसँग जीवनको बारेमा केही सोध्न चाहन्छु !

 आमा : हेर नानी हाम्रो बारेमा तिमीले जानेर केही हुनेवाला छैन । 

 उषा :  त्यस्तो त केही होइन आमा, म एउटा गैर सरकारी संस्थामा जागिर खान्छु । 

मानिसहरूका समस्या के के हुन्छन् । 

तिनीहरूको पहिचान गर्छु र हाम्रो कार्यालयमा बुझाएर हाम्रो संस्थाले केही सहयोग गर्न सक्छ कि भनेर प्रतिवेदन तयार गर्छु । त्यसैका लागि आमाहरूसँग कुरा गर्न खोजेकी मात्र हुँ । 

आमा : त्यस्तो भन्ने धेरै आउँछन्, के के सोध्छन् जान्छन् । फर्केर पनि आउँदैनन् । आज तिमी आयौ । पछि तिमी       पनि आउँदिनौ । त्यो हामीलाई थाहा नै छ । त्यही भएर यहाँ कोही बोल्न नचाहेका बुझ्यौ । 

उषा : त्यसो होइन आमा ! पछि जे भएपनि म आउँछु ।

                  उषा र आमाबीचको संवाद विशेष रूपमा अगाडि बढ्दै जान्छ ।

उषा :  आमा ! तपाईंको घर कहाँ हो ?

 आमा :  यस प्रश्नको उत्तर मसँग छैन, नानी !

 उषा :  आमा, तपाईँ कसरी यहाँ आइपुग्नुभयो ? 

 आमा : नानी, यस प्रश्नको उत्तर मसँग भएपनि भन्न सक्दिन । 

 उषा :  तपाईंका आफन्तहरू को को हुनुहुन्छ ? 

आमा :  नानी तिमी पनि म जस्तै महिला हौ । कुनै दिन तिम्रो अवस्था पनि मेरो जस्तै बन्ला  

 अनि आफन्त र पराई थाहा पाउछौ ।  मलाई यस्ता प्रश्न नसोध । 

त्यसपछि आमा गम्भीर बन्छिन् । उषालाई अप्ठ्यारो महसुस हुन्छ । त्यहाँ केही मौनता छाउन पुग्छ । पढेलेखेकी उषा आमालाई हेर्दै केही समय टोलाउँछिन् र आमालाई भन्छिन्– आमा अब म तपाईंलाई थप केही प्रश्न सोध्दिन तर म पनि महिला नै भएकोले तपाईंबाट केही सल्लाहसुझाव चाहन्छु । जीवन कसरी जिउनुपर्छ म तपाईंबाट सुन्न चाहन्छु । तपाईंले मलाई सल्लाह दिनुभयो भने म र अरु धेरै छोरीहरूको जीवनमा सहयोग पुग्नेछ । के तपाईँ आफ्नै जीवन कहानी पनि सुनाउँदै मलाई सल्लाह दिन सक्नुहुन्छ ? 

आमा पुलुक्क आँखा उठाएर उषालाई हेर्छिन् । आफ्नो अगाडि अत्यन्तै सुन्दर युवती उषालाई देख्छिन् । सुरुमा केही नभनी चुप बसौँ जस्तो पनि गर्छिन् तर एकैछिनमा उनी उषाप्रति दयालु भाव व्यक्त गर्छिन् । त्यसपछि उषाको हात समाउँदै आफूतिर तान्छिन् । गालामा हात लगेर सुमसुम्याउँछिन् । सँगैको कुर्सीमा बसाउँछिन् र भन्छिन्– आज तिमीले मलाई कर गर्यौ । मेरो जीवन कहानी बन्न बाध्य बनायौ ।  म बुढी पनि भएँ । मैले जीवनमा गरेका गल्ती र जीवनका भोगाइले तिमीलाई जीवनमा सचेत रहन मद्दत गर्ला । म तिमीलाई मेरो जीवन सबै उदाङ्गो पारेर भन्छु सुन : 

म गाउँबाट पढ्न र पढेर ठूलो मान्छे बन्न भनेर काठमाडौँ आएँ । यो सहर नै यस्तै हो । मेरै जस्ता सपना बोकेर यहाँ धेरै आएका छन् र आइरहन्छन् । सायद तिमी पनि त्यसैगरी यस शहरमा आएकी हौली । अनुभव तिमीसँग पनि केही होला ।

उषा : त्यसपछि समय कसरी अगाडि बढ्यो त आमा ! 

आमा : भन्दै त छु नि । मेरी साथी बिमला र म ओखलढुंगाबाट गाउँकी काकी पर्नेको ठेगाना टिपेर 

एसएलसी पछिको शिक्षा लिन काठमाडौँ आइपुग्यौँ । उबेला हामीले दुःख भनेको गाउँघरतिर मात्र हुन्छ शहरमा हुन्न भन्ने सोचेका थियौँ तर शहर भनेको त दुःखको महासागर रहेछ । केही समयपछि एसएलसीको रिजल्ट आयो । हामी दुवैजना पास भयौं । ती काकीले केही समय बस्न हामीलाई सहयोग गरिन् तर सधैंभरि त्यो सम्भव पनि थिएन । बिमलाले र मैले ताहाचल क्याम्पसभन्दा केही भित्र एउटा सानो कोठा खोजेर बस्ने प्रबन्ध गर्यौ । काठमाडौँमा पढ्नभन्दा टिक्न गाह्रो रहेछ । हामी काम खोज्नतिर लाग्यौँ । प्राइभेट कम्पनीहरूमा काम दिगो हुँदैन थियो । यता उता सर्दा सर्दै समय बित्दै गयो । त्यही बीचमा बिमला दाङतिरको एउटा केटासँग पोइला गई । मलाई झन् कठिन भयो । पढ्ने र ठूलो मान्छे बन्ने सपना टाढा गएजस्तो भयो । हातमुख जोड्न नै सकस भयो । जीवन जीउन सजिलो हुँदो रहेनछ । बिमला पोइला गइसकेपछि कोठाभाडा तिर्न र अन्य सामान जुटाउन मलाई धौधौ पर्न थाल्यो । त्यही समयमा उदय नाम गरेको केटासँग मेरो चिनजान भयो । ऊ ट्याक्सी चालक थियो । ऊसँग मेरो हिमचिम बढ्दै गयो । उसले सामान सबै म ल्याउँछु खाना मेरो लागि पनि तिमीले बनाइदेउ भन्यो । एक किसिमको सहमति बन्यो ।  अलिअलि गर्दै हामी दुवै त्यही कोठामा बस्न थाल्यौ । अहिलेको भाषामा भन्ने हो भने लिभिङ टुगेदरमा हाम्रो बसाई चल्न थाल्यो । हामी सँगै बस्न थालेपछि उसलाई साँच्चिकै श्रीमान् बनाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर ऊ भने हामी बरु सँगै नबसौँ भनेर ततर्किन्थ्यो । बिहेको कुरा गरेपछि ऊ सधैँ डराउँथ्यो । मैले उसको सवारी चालक परिचयपत्रमा नाम हेरँे नाम उदय सुर्खाली र ठेगाना सुर्खेत थियो । हामी बस्दै जाँदा मेरो पेटमा बच्चा बस्यो । ऊ सुरुदेखि नै त्यो बच्चा फालौं भन्थ्यो तर म त्यसो गर्न मान्दिन थिएँ । बच्चा जन्मने अन्तिम अन्तिम समयतिर आएर ऊ एकाएक गायब भयो । ऊ गायब हुँदा मेरो पेटमा सात महिनाको बच्चा थियो । त्यस्तो बेलामा म कसरी बाँचे होला नानी । कोही नहुनेको हरि हुँदा रहेछन् । म मर्न भनेर विभिन्न उपाय खोज्थेँ े  । हिम्मत गरेर कतै जान्थेँ तर मर्न सक्दिनथेँ । एकदिन बिहानै मर्न भनेर म झोलामा डोरी राखेर पशुपतिको श्लेष्मान्तक वन पुगेँ । त्यहाँ भित्र घना जंगल थियो । कुनै रुखमा झुण्डिएर मर्न सकिन्छ कि भनेर त्यस्तो बुद्धि आएको थियो । बिरुपाक्षको मन्दिरभन्दा अलिक अगाडि गएर एउटा रुखको हाँगामा डोरी बाँधे र घाँटीमा डोरीमा अट्काएँ ।  कोही आएर मलाई समायो । मलाई त्यहाँ आएर बचाउने एक जोडी अङ्कल आन्टी थिए । उनीहरूले बिहानको समयमा जङ्गलमा फ्रेस हावा लिन आउँदा देखेर मलाई बचाए । त्यो बेला मलाई उनीहरूले बचाउँदा शलेषमान्तक वनमा शिव पार्वती घुम्छन् भन्ने श्री स्वस्थानी व्रतकथामा लेखिएको र त्यसकोबारेमा सानोमा गाउँघरतिर सुनेको कुरा याद आयो । त्यसबेला उनीहरूले मेरोबारेमा सबै कुरा सोधे । मैले पनि सबै कुरा बताएँ । त्यसपछि ती अंकलले भने– चिन्ता नगर नानी, म उदयलाई खोजेर तिमी कहाँ ल्याउँछु र तिमीहरूको ठेगान लाग्छ । 

उषा : अनि उदयलाई ती अङ्कलले खोजेर ल्याए त आमा π

आमा :  त्यसपछि घटनाले अर्को मोड लियो नानी । 

उषा :  कस्तो मोड लियो त्यो पनि सुनाउनु न आमा π

आमा :  ती अङ्कल नाम चलेका वकिल रहेछन् । देशभरि वकिलहरूको संगठन हुँदो रहेछ । सुर्खेतमा 

रहेका वकिलहरूको सहयोग लिएर उदय सुर्खालीको घर पत्ता लगाएछन् । उदयको अर्कै कहानी रहेछ । उनीहरूको परिवार दलित परिवार रहेछ । उदयहरू तीन दाजुभाई रहेछन् । उनीहरूको पाँचजनाको परिवार दैलेखमा हुँदा उसको जेठो दाइले ठकुरीकी छोरीलाई भगाएर विवाह गरेछ । ठकुरी परिवारले छोरीलाई छुटाएर लगेछन् । त्यसको लगत्तै कुनै अज्ञात मानिसको हुल आएर उदयका दुईजना दाइ र बाबुलाई मारेर गएछन् । त्यसबेला उदय सानै थियो रे त्यही भएर छोडेछन् । त्यसपछि उनीहरू आमाछोरा सुर्खेत आएर दुःखजिलो गरेर बसेछन् । म बाहुनकी छोरी भन्ने थाहा पाएपछि ऊ तर्सिएर भागेको रहेछ । बुढेसकालको आमाको साहारा ऊ बाँच्न चाहन्छु भन्थ्यो रे । 

उषा :  त्यसपछि ती अङ्कलले के गरे आमा ।

आमा :  ती अंकलले धेरै कुरा सम्झाए । समाजको अवस्थाको बारेमा र मैले जन्माउने बच्चाका 

बारेमा भविष्य सम्मका कुराहरू बताए । त्यसबेला वास्तवमै म भुमरीमा परेको आभास भयो । उनले मलाई आफ्नै छोरी जस्तै सम्झेर धेरै सम्झाए । मैले जन्माउने बच्चाको बाबुको नाम के हुने ? जन्मदर्ता कसरी गर्ने ? र भविष्यसम्म नाम कसरी सुरक्षित गर्नेबारेमा धेरै बताए । म यस्ता कुराहरूमा अनविज्ञ थिएँ । उदय मेरो जीवनबाट नफर्किने गरी टाढा गइसकेको थियो । ती अंकलले भने–नानी तिमीले मैले भने जसरी केही काम गर्यौ भने तिम्रो इज्जत म बचाइदिन सक्छु तर तिमीले गलत गर्न पाउँदिनौ । म समयसँग धोका खाएकी मान्छे अब अरुलाई धोका दिनु हुँदैन भन्नेमा थिएँ । ती अंकलले सुझाए बमोजिम मेरो विवाह उनको डाइभरसँग भयो । मेरो विवाह दर्ता भयो । बच्चा पनि जन्मियो । जन्मदर्ता पनि भयो । त्यसपछि सम्बन्ध विच्छेद पनि उनैले नै गरिदिए र एउटा सर्त राखे– अब आइन्दा हाम्रो भेटघाट बोलचाल सबै बन्द । त्यसपछि हाम्रो चिनजान खत्तम भयो । त्यसयता उनीसँग कहिल्यै भेट भएन तर उनले केही आर्थिक सहयोग भने मलाई गरेका थिए । त्यसपछि फेरि मेरो जीवन छोराको साथमा अगाडि बढ्यो । दुःख त आफूसँग छँदै थियो । यसरी छोराको लागि इज्जत बचाउन बिहे गरी सम्बन्धविच्छेद भएको थियो । त्यसपछि एक बैंकका सीइओसँग मेरो भेट भयो । उनले बैंकमा जागिर दिने आश्वासन दिए । त्यसबेला मेरो छोरो पनि दुई वर्षको भएको थियो । बैंकमा जागिर दिने र एक हाउजिङमा बस्ने पनि व्यवस्था मिलाउने भने । उनको तलब धेरै थियो । उनकै तलबबाट हाउजिङमा बस्ने ठाउँमा भाडा तिर्ने कुरा राखे । विभिन्न शर्त राखे भोलिका दिनमा कतै केही नगर्ने । श्रीमान श्रीमती भनेर पनि दाबी नगर्ने । धेरै कुरामा मलाई वाचा गराए । भित्री मनले भने मानेको थिएन तर परिस्थितिले त्यो प्रस्ताव स्वीकार गर्न बाध्य गरायो । म छोरो सहित हाउजिङमा बस्न थालेँ । छोरो स्कुलमा डे बोर्डर्समा राखेँ । म बैंकमा जागिरे भएँ । पाँच बजे कोठामा आउँथे । ती बैंकका सिइओ पनि मसँगै कोठामा आइपुग्थे । उनका लागि खाना बनाउनु पर्दैन थियो । बेलुका ९ बजे मेरो कोठाबाट घर जान्थे । उनको र मेरो बीचमा कुनै पर्खाल थिएन । दिनभरि बैंकमा जागिर गर्थेँ । साँझ उनको लागि काम गर्थेँ । राति छोराको भविष्य कल्पना गर्दै निदाउँथेँ । यसरी उनीसँगको सम्बन्ध १५ वर्ष चल्यो छोरो पनि ठूलो हुँदै गयो । अचानक उनले आफूलाई यौन रोग लागेको भने र चेकअप गर्न दुवैजना क्लिनिकमा गयौं । रिपोर्ट हेरेर मेरो ठिक भएको डाक्टरले बताए । उनकोमा रोग जटिल छ भने । त्यसपछि उनी मबाट अलग भए । अर्कै बैंकमा सिइओ भएर पनि गए । बाटोमा कहिलेकाहीँ देख्दा अरु नै महिलालाई लिएर हिँडेको देख्थँे पछि थाहा पाएँ । त्यो क्लिनिक उनकै साथी पर्नेको रहेछ । त्यसपछि फेरि मेरा खराब दिन सुरु भए । बैंकमा म सामान्य कर्मचारी थिएँ तलव पनि सामान्य थियो । मेरो र छोराको खर्च त पुग्थ्यो तर हाउजिङको भाडा लगायत अन्य खर्च पुग्दैनथ्यो । त्यही बीचमा एकजना राष्ट्रिय स्तरका नेता मसँग जोडिन आइपुगे । उनी मसँग अरु पन्ध्र वर्ष सँगै बसे । त्यसबीचमा छोरो पनि बढेर र पढेर ठूलो भयो । थप अध्ययन गर्न भनेर अमेरिका पुग्यो । ती नेताले छोरालाई विदेश पठाउन पनि सहयोग गरे । हामी अघोषित श्रीमान् श्रीमतीकै रूपमा बस्यौँ । जिल्लातिर उनका परिवार हुनाले परिवारका सदस्यले ती कुरा थाहा पनि पाएनन् । माइततिरका मेरा आफन्तसँग पनि पातलो भेटघाट हुन्थ्यो त्यो पनि बाहिर बाहिरै । उनी पन्ध्र्र वर्षजति काठमाडौँ बस्दा मसँगै बसे । त्यसपछि उमेरले बुढो हुँदै गएकोले उतै उनकै जिल्लातिर बस्न थाले । जिल्लामा बस्न थाले पनि विभिन्न तरिकाले अरु पाँच वर्षजति मलाई मुस्किलले खर्च जुटाए । त्यसपछि उनी आफै थलिएर बिरामी भए । उनी बितेको पनि पाँच वर्ष भयो । उता अमेरिकाबाट छोराले केही खर्च पठाउँदै थियो । उसका छोराछोरी भएपछि बुहारीले अब खर्च नपठाउ जे गर्छ नेपाल सरकारले गर्छ भनेर दबाब दिएपछि छोरा पनि मसँग सम्पर्कमा छैन । उल्टै मेरी आमाले इज्जत फालेर बाँचिन् भन्छ रे । जीवनको अन्तिम क्षणमा म सहाराविहिन भएपछि आफूसँग भएको गहना गुरिया सबै बेचेर यही आश्रममा आएँ र यही दिएँ । बाँचिन्जेल यही आश्रममा बस्छु भनेर आएकी हुँ । सुन्यौ नि, मेरो जीवनको भोगाइ । अब तिमी जे गर्छौ गर बास π यति हो मेरो भन्नु ππ 

एकसुरले सुनिरहेकी उषा आफँैमा हराएकी जस्ती देखिन्थिन् । उनी आफूलाई सम्हाल्दै आमालाई पछि आउँछु है आमा भनेर बिदा भइन् । कार्यालय गएर आफ्नो प्रतिवेदन बुझाइन । 

उषा कोठामा पुग्छिन् । उनले अठोट गरिन् सरकारी जागिरमा नै जाने । सरकारी जागिर भए जीवन जिउन सजिलो होला भन्ने अनुमान लगाउँछिन् । लोकसेवा परीक्षा तयार गरिरहेकी उनले लिखित परीक्षामा अधिकृत तहमा नाम निकालिन् । मौखिक परीक्षा बाँकी हुन्छ । उनको प्रेमी पनि निरन्तर उनको सम्पर्कमा रहिरहेको हुन्छ ।  उषाको अधिकृतमा नाम निक्लिएको मदनलाई सुनाएकी हुन्छन् । मदनले भने केही दिनमा तिमीलाई सरप्राइज दिन्छु भन्दै कुरा लुकाएको हुन्छ । 

उषा, मदनको लागि खुल्ला खुल्ला बनेकी हुन्छिन् । आफ्नो लामो समयको प्रेमीसँग विश्वास गरेकी हुन्छिन् र भर पनि परेकी छन् । उनीहरूले गोप्य रूपमा मन्दिरमा गएर विवाह समेत गर्छन् । उषा अधिकृत तहको जागिरमा प्रवेश गर्छिन् । मदनसँगको सम्बन्धका कारण उनको पेट भारी भइसकेको हुन्छ । उता मदनको अमेरिकाको भिसा लागेर स्वाट्ट अमेरिका उड्छ । उषा जीवनकै मझ्धारमा पुग्छिन् । अर्कालाई सल्लाहसुझाव दिने काम सजिलो हुने तर आफैंलाई पर्दा निर्णय गर्न मुस्किल पर्ने भनेजस्तो अवस्थामा पुग्छिन् ।

उषा जागिरमा त छिरेकी छन् तर खुसी छैनन् । आफ्नो पहिलो गर्वलाई सुरक्षित जन्म दिनु नै अधिकांश महिलाको चाहना हुन्छ, यस्तो भनाइ समाजमा सुनेकी छन् उषाले र उनी पनि त्यही चाहन्छिन् । मदन उनको जीवनबाट स्वाट्टै हराइसकेको हुन्छ । आफ्नो कार्यालयमा उनले यी राजलाई खुल्न भन्ने दिएकी हुन्नन् । त्यही कार्यालयमा एकजना पाको उमेरका उपसचिव तहका अधिकृत हुन्छन् । उनी उषासँग नजिकिन थाल्छन् । नजिकिने क्रम बढ्दै जान्छ । घनिष्ठता बढ्छ । उषाले ती व्यक्तिको बारेमा सबै जानकारी लिन्छिन् । ती सम्बन्ध विच्छेद भएका व्यक्ति हुन्छन् । पन्ध्र वर्ष अगाडि नै बिहे भएको र बिहेको पाँच वर्षसम्म बच्चा नभएपछि तिनकी श्रीमतीले सम्बन्ध विच्छेद गरेर अर्कैसँग बिहे गरेकी हुन्छिन् । दुबैले एकआपसमा विगत जानिसकेपछि विवाह गर्छन् । उनीहरूको छोरो जन्मिन्छ । छोराको नाम भविष्य राख्छन् । 

उनीहरूको दिनचर्या आनन्दसँग चल्छ । उषा हर रात सुत्नुभन्दा अगाडि ती आश्रममा भेटिएकी आमा सम्झिन्छिन् । आफ्नो श्रीमानको मायामा डुब्छिन् र छोरो भविष्यको सुन्दर र सुखी भविष्यको कल्पना गरिरहन्छिन् । 

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर वडा नं ४ काठमाडौँ 

                                                                        महासचिव

                                                            स्रष्टा पदयात्रा नेपाल । 

 .watch more 







Monday, August 26, 2024

कृष्णाष्टमी - भक्ति रचना - कमल सापकोटा

            कृष्णाष्टमी - भक्ति रचना


(कमल सापकोटा, सिक्किम )
दहि चोर्दै आमासित डराउने आउँछन्
मधु बनमा गाई बस्तु चराउने आउंँछन्
आउँछन् आज मुरलीको धुन सुनाउंदै
मनमा एउटी राधा मन पराउने आउँछन्
कहिले कहिँ गोपिनीको मन चोर्नलाई
खेल्दा खेल्दै कतै छोडी हराउने आउँछन
विश्वसारा समाजको कल्याण गर्छु भन्दै
आज सबै झिली मिली गराउने आउँछन
तीनै लोकको हित गर्दै पाप नास गर्ने
धर्म जगाउन झण्डा फहराउने आउंँछन
जब आउँछन् उनि सबै रामाउछन् सारा
दर्शन गर्न कृष्ण भन्दै कराउने आउँछन्
आधा रातमा कंशलाई डराउने आउँछन्
मधु बनमा गाई बस्तु चराउने आउंँछन् ।
सिक्किम ।



केही नेपाली उपन्यासहरू तलका लिङ्कमा पनि छन् ।












Tuesday, July 16, 2024

दीपक सोतीका केही कविताहरू – कविता सङ्ग्रह

' 

दीपक सोतीका केही कविताहरू  – कविता सङ्ग्रह 

                                             

  यो कविता संग्रहलाई कावासोती नगरपालिका नगर पालिकालले प्रकाशन गरेको छ । विक्रम सम्वत २०७९ सालमा यो कविता संग्रह प्रकाशनमा आएको हो । प्रस्तुत कविता सङ्ग्रहमा लामाछोटा गरेर ६४ वटा कविताहरू संग्रहित छन् । सोतीको जन्म २००६ साल श्रावण महिनाको ११ गते औंशीका दिन लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा भएको हो र उहाँको हालको बसोबास कावासोती नगरपालिका नवलपुरमा रहेको छ । २०२८ सालमा अध्यक्ष कुन्छा साहित्य परिषद्को उहाँ बन्नुभएको अवस्था देखिन्छ । २०३६ सालमा संस्थापक सचिव युवा साहित्य सदन पोखरा । नेपाल १३ अञ्चल भ्रमण ।  सल्लाहकार साधन संगम । सचिव लक्ष्मी नारायण विद्याश्रम पिठौली । उनको अनुभव र संलग्नतामाथि उल्लेखित संघसंस्थाहरूमा रहेको देखिन्छ । यसका अलावा कृतिहरू प्रकाशन लेखन तथा सम्पादनमा पनि उनको संलग्नता रहेको पाइन्छ । उनका प्रकाशित कृतिहरूमा मेरो मर्स्याङ्दी कविता संग्रह २०२८, दुई बत्ती निभेर कविता संग्रह २०३०, जगदम्बा काव्य २०४५, समालोचक शोक काव्य २०४१, मेरी आमा रुँदी हुन् कविता संग्रह २०६७, फुल्न नसकेका फूलहरू 

२०७९ लगायतका कृतिहरू रहेका देखिन्छन् । सम्पादनतर्फ धरा मासिक साहित्यिक पत्रिका सम्पादन गरेको देखिन्छ । फुटकरतर्फ विभिन्न पत्रपत्रिकामा रचना प्रकाशित भएका छन् जस्तै दाउन्ने, गोरखापत्र, माधुयर्, मिर्मिरे, पल्लभ, छात्रप्रभा, गोर्खा संसार, कविता, दौतारी, गरिमा, लालुपाते, सारस्वत आदी पत्रपत्रिकामा उनका फुट्कर कविताहरू रचनाहरू प्रकाशित भएका देखिन्छन् । उनले स्थानीय स्तरका सम्मानदेखि लिएर राष्ट्रिय स्तरका सम्मानहरू पनि प्राप्त गरेको देखिन्छ भने उनको पहिलो रचित कविता नरोक मलाई शीर्षकको कविता २०२१ सालमा श्री शान्ति हाइस्कुल कुन्छामा दोस्रो पुरस्कार प्राप्त गर्दैे कविता प्रसारित भएको थियो । त्यहीबाट उनको साहित्यिक यात्रा अगाडि बढेको देखिन्छ । २०२८ सालमा दीपकशोतीको रचना रत्न रेकर्डिङ संस्थानबाट म्याउ म्याउ बिराली शीर्षकको रचना रेकर्डिङ भएर विद्युतीय माध्यमबाट प्रसारित समेत भएको पाइन्छ । 

अब दीपक सोतीका केही कविता शीर्षकको कविता संग्रह भित्र प्रवेश गरौं । प्रस्तुत कविता संग्रह कावासोती नगरपालिकाद्वारा प्रकाशित भएको हुनाले प्रकाशकीय विष्णुप्रसाद भुसाल नगर प्रमुखले नै लेखेका छन् । तत्पश्चात अविश्रान्त यात्री दीपक सोती भनेर गोविन्दराज विनोदीले कविताकै माध्यमबाट शुभकामना दिएका छन् । विनोदीका अनुसार ः  

       हाम्रा सोती कवि हृदयका छन् असाध्यै पवित्र

हुन् यी आफैँ विषम युगका चोटिला व्यङ्ग्यचित्र

हाम्रो श्रद्धा अटुट इनमा हुन्छ छन् पुजनीय 

       बाँचुन् भन्दै युगयुग यिनी लोकमा बन्दनीय । 


तत्पश्चात् कविता आफ्ना भनाइ र प्रभाकर पण्डितको भूमिका रहेको छ र भूमिका खण्डको अन्तिममा ध्रुव खनाल दिपेश वडाध्यक्ष कावासती नगरपालिका वडा नम्बर १२ को भनाइ रहेको छ । त्यसपछि विषय सूची अन्तर्गत ६४ वटा कविताको सूची प्रस्तुत भएको 

छ । उनले कविताका शीर्षकहरूमा समेटेका शीर्षकहरू तिहुन, म रेडियो नेपाल, म क्रान्तिकारी, म कर्मचारी, मन लाग्छ, अनुरोध, माया, भविष्य, समस्या, मेरी आमा रुँदी हुन्, मसँग पैसा छैन, समस्या, नयाँ वर्ष, कविसँग, अब पुग्छु, युद्ध कति होला, को ठूलो छ, सम्झना सिद्धिचरणका,े शान्ति सुरक्षा, गरीवि, पुग्ने ठाउँ एकै हो, मान्छेको गीत, परिस्थिति, छोराको बानी, ए कान्छी हिँड्न, इच्छा, चाहना शान्तिको, महाकवि देवकोटा प्रति, यी नेपाल रानी, अन्न छैन, के नेपाल बन्छ, छोरीसँग, मेरो कुन्छा, प्राविधिकको इमान्दारी, त्यो कवि कस्तो छ, हरिलाल, म्याउ म्याउ बिराली, भएन कविता, टाइचीसँग, कलम, मेरी मर्स्याङ्दी, राँची जानुपछर्, उपदेश, माया, आमाको स्मृतिमा, आँखा देखेनौ, तुलुङकोटैमा, टुक्र्याउँदिन देश, आमासँग, दुराडाँडा, नेताको मन, गणतन्त्रसँगै मुस्कुरायो मन, कुकुर मान्छे देवताहरू, चेई चेई, पोखरा, पोखरा (ख) नवलपुर÷नवलपरासी, कविता रानीसँग नवलपुर, सलाम, मन्दिर भित्र, बत्ती, सूय, स्वतन्त्र नागरिकका कुरा, गिद्धहरू, सुख छैन, राष्ट्र कविप्रति  शीर्षकमा कविताहरू यो संग्रहमा संग्रहित भएका छन् ।  सबै कविताहरूले राष्ट्रप्रेम संस्कृति प्रेमको भाव पोखी विकृति विसंगतिप्रतिको व्यङ्ग्य बाण प्रहार गरेका छन् । 

यस कविता संग्रहबाट –मेरी मर्स्याङ्दी– शीर्षकको कविता 

 सधैँ मेरी मर्स्याङ्दी 

एउटै गीत गाउँदिनन् 

अब मेरी मर्स्याङ्दी 

एउटै मादल चाहदिनन् 

      १

हिउँ चुलीबाट झरेकी छन् कसिङ्गरहरू बगाउँदै 

आएकी छिन् यहाँ कसरी रुखपातहरू नचाउँदै

मैले मेरो सुझाव दिनुपरेको छ 

मेरी मर्स्याङ्दीलाई

       २

मेरी मर्स्याङ्दीले मसँग प्रश्न गर्नेछन् 

के लैजाऊँ भनेर 

हे मेरी मर्स्याङ्दी किसानका गोठहरु नबगाउ 

मैले उनलाई भन्छु अन्याय अत्याचार,

 मानिस मानिसमा बढेको तिरस्कार

 लैजाउ मर्स्याङ्दी बटुलेर

         ३

लैजाउ तिमीले मर्स्याङ्दी 

यहाँका देशद्रोहीहरूलाई 

पखालिदेउ मेरी मर्स्याङ्दी 

यहाँका सबै दबाबहरुलाई

         ४

तब यहाँका काला अनुहारहरू

 हिउँचुली झैँ हाँस्न पाउनेछन्

युगौँ युगौँसम्म मर्स्याङ्दी

 तिम्रै गीत गाएर बाँच्न पाउनेछन्

    ५

समग्रमा यस संग्रहमा समेटिएका कविताहरूले राष्ट्रिय भावनाको प्रतिनिधित्व गरेका छन् । विकृति विसंगतिप्रति चोटिलो व्यङ्ग्य बाणप्रहार गरेका छन् । प्रस्तुत कृति नेपाली भाषा साहित्यको भण्डारणमा एक अमूल्य सम्पत्तिको रुपमा रहनेछ र आगामी दिनमा पनि उहाँबाट यो र यो भन्दा अझ उच्च कोटीका कृतिहरू नेपाली भाषा साहित्यका पाठकहरूले पाउने आशा गर्दछु । साथै उहाँको उज्जवल भविष्यको कामना पनि गर्दछु  । 

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर नगरपालिका वार्ड नम्बर ४ काठमाडौँ । 

फोन ः  ९८४९७१४८६७

  s]xL dxTTjk"0f{ pkGof;x¿ tyf ;|i6f kbofqfsf x]g{] k|ltj]bg / yk ;fdfu|L x]g'{ xf]nf .








Saturday, July 6, 2024

आख्यानमा तेस्रोलैङ्गिक चरित्र ... 🖋लेखक दीपकप्रसाद ढकाल

 आख्यानमा तेस्रोलैङ्गिक चरित्र                                            ... 🖋 लेखक दीपकप्रसाद ढकाल


प्रस्तुत कृतिलाई अनुसन्धान विमर्श नेपालले २०८१ सालमा प्रकाशनमा ल्याएको छ । वितरकमा प्राज्ञिक बुक्स  बागबजार र भुँडीपुराण प्रकाशन बागबजार रहेका छन् । लेआउट विपिन प्रकाश ढकाल गर्नु भएको छ । 

                 लेखकको भनाइ 

नेपाली आख्यान समाजका युगिन तथा परिवेशगत सन्दर्भसँग अविच्छेद्य सम्बन्धमा विकसित भएको विधा हो । स्रष्टाले समाजमा बाँँचेर देखे भोगेका घटना साझा विश्वास विगतका अनुभवका आधारमा आगतका सन्दर्भमा गरेको कल्पना तथा पाठ्यक्रममा प्रदान गर्ने वैचारिकीका कोणबाट यस विधाले आलंकारिक सौन्दर्य प्राप्त गरेको हो । समाजका वस्तु स्थितिलाई आख्यानको परिधिभित्र दिक् तथा कालको सुसम्बद्ध विन्यास गरी प्रस्तुत गर्ने सिलसिलामा नेपाली आख्यान विधाले हालसम्मको ऐतिहासिक गति एवं प्रवृत्ति प्राप्त गरेको हो । त्यसैले समाजमा भएका राजनीतिक सामाजिक शैक्षिक तथा प्राज्ञिक सांस्कृतिक घटना आख्यानीकरणका कच्चा पदार्थ एवं रुपाधार निर्माणका आधारभूमि हुन्। यसै सन्दर्भमा २०३६ को जनमत संग्रह २०४६ को प्रजातान्त्रिक आन्दोलन विश्व राजनीति र बजारका तत्कालीन सामूहिक वस्तु एवं ज्ञानात्मक संचारले नेपाली समाजमा पनि प्रभाव पारेको हो । यसैले सृजना गरेका परिवेशगत उदारता तथा नागरिकले अनुभव गरेको हक अधिकारको सचेततासँगै सांस्कृतिक लिङ्ग व्यवस्थासम्बन्धी सोचमा पनि परिवर्तनको सन्दर्भ देखिएको हो ।

  लिङ्ग र लैङ्गिकता फरक सामाजिक सन्दर्भ हुन्। लिङ्ग यौनिक अनुभूति संवेग तथा प्रजननको प्राकृतिक भूमिका सम्बद्ध विषय हो । त्यसैले यो प्रजनक गुणको प्राकृतिक अवस्थासँग निकट हुन्छ। लैङ्गिकता सांस्कृतिक भूमिका अमूर्त संस्थागत स्थान तथा त्यसका निम्ति आवश्यक अभिमुखीकरण एवं स्वीकरणको व्यावहारिक पक्ष हो । यौनिकता अमूर्त तथा तरल भएकाले यो कुनै सामाजिक तथा सांस्कृतिक आवरणद्वारा परिभाषित एवं चिन्वित हुने विषय होइन भन्ने दृष्टिकोण नै लैङ्गिकताका बारेमा गरिएको पृथक बहस हो । तेस्रो लैङ्गिकता विशेषत समाजमा विद्यमान दुईलिङ्गीय सांस्कृतिकताप्रति विमति र तरल संवेदनाप्रति सम्मतिको बीज बिन्दु हो । जब नारीलाई समाजद्वारा ओडाइएका आवरण तथा भूमिकाको आलोचना सुरु भयो तब लैंगिकता र यौनिक पहिचानको विषय पनि सतहमा आयो । यसैले नारीवादले समाजमा सघन मूल्य स्थापनाका सन्दर्भमा उठाएका प्रश्न तथा त्यसले सिर्जना गरेका यौनिक सवाल नै तेस्रो लिङ्गीको वैकलिल्पक स्थान हो । उत्तर आधुनिकताले स्थापित गरेको अनिर्धारण अनित्य सापेक्षतावादी चिन्तन केन्द्र बिहिनताको अवधारणाले तेस्रोलिङ्गीको यौनिकता तथा त्यसको स्वभाविकता स्थापित गरेको हो किनभने समाजले संस्थागत गरेको लैंगिकता नै अन्तिम सत्य होइन भन्ने आलोचनात्मक दृष्टि यसको तार्किक धरातल हो । 

नेपाली आख्यानमा तेस्रो लैङ्गिकता उदार सामाजिक तथा राजनीतिक परिवेश र उत्तर आधुनिकतासँगै प्रवेश भएको केन्द्रविहीनताको परिणाम हो । चरित्र आख्यानको दिगद्वारा सिर्जना गरिएको कारणकार्यको परिणाम हो । यो मानवीय व्यक्तित्वमा विम्बित प्रकारको पुञ्ज हो । तेस्रो लैङ्गिक व्यक्तित्वयुक्त चरित्र नेपाली उपन्यासमा हालसम्म प्राप्त तथ्याङ्क अनुसार २०५० देखि प्रयोग भएको देखिन्छ भने कथामा २०६६ बाट प्रवेश गरेको देखिन्छ । त्यसयता यी दुवै विधामा तेस्रो लैङ्गिक चरित्र तथा यस्तो चरित्रको प्रारूपीकरणमा संलग्न स्रष्टा क्रमश प्रवेश गरेका छन्। विषयवस्तुको नविनता घटनाको उपलब्धता र त्यस्ता घटनाको आन्तरिकीकरण प्रक्रियाद्वारा चरित्र निर्माण गर्नु जटिल सन्दर्भ भएकोले पनि कम प्रकाशित भएका छन् तिनका विषयमा गरिएका विमर्श एवं अध्ययन पनि तुलनात्मक रूपले कम हुने गरेका छन्। 

 प्रस्तुत अध्ययन मैले नेपाली आख्यानमा तेस्रो लैङ्गिक चरित्रको प्रयोग २०७५ शीर्षक त्रिभुवन विश्वविद्यालय शिक्षा दक्षको कार्यालय अनुसन्धान केन्द्र कीर्तिपुरमा सम्पन्न गरेको लघु अनुसन्धानको परिमार्जित सामग्री हो । अनुसन्धानको प्रकृति अवधि र आयामका विस्तारका दृष्टिले यसको आफ्नै संरचनात्मक स्वरूप रहेकोमा हाल परिमार्जित रूपबाट यो प्रकाशनमा आएको हो । यस क्रममा मैले २०७५ यता प्रकाशित भएका तेस्रो लैङ्गिक चरित्र सम्बद्ध उपन्यास कथा समालोचनाबाट सामग्रीले परिमार्जनलाई व्यवहारिक रुप दिएको छु । थप सामग्रीका बारेमा सूचनाको अभाव विश्लेषणमा देखेका त्रुटी र विषयलाई पाठक सामु प्रस्तुत गर्ने शैलीमा सुधार गर्नुपर्ने पक्ष नितान्त मेरा कमजोरी हुन् । अध्ययनमा समावेश गर्न सकेका नविनतम सामग्री र दृष्टि प्राज्ञिक परिवेशका सृजना हुन् अध्ययनका निम्ति पारिवारिक वातावरण अनुकूल बनाइदिने स्नेही पत्नी सिता घिमिरे (ढकाल)प्रति मेरो असिम सम्मान छ । अन्त्यमा प्रकाशनको जिम्मेवारी र व्यवस्थापकीय भूमिकाका निम्ति अनुसन्धान विमर्श नेपालका प्रबन्धक बद्रीप्रसाद ढकालप्रति आभार व्यक्त गर्दछु । 

                                                                                                  ... 🖋दीपकप्रसाद ढकाल । 


        प्रस्तुत अनुसन्धानमूलक कृतिलाई ढकालले चार परिच्छेदमा विभाजन गरेको देखिन्छ । पहिलो परिच्छेद अन्तर्गत आख्यानमा तेस्रो लैङ्गिक चरित्र प्रयोगको सैद्धान्तिक सन्दर्भ छ । यस शीर्षक अन्तर्गत विषय प्रवेश, लैङ्गिक अभिमुखीकरण, नारीवाद र लैङ्गिकताको सम्बन्ध, तेस्रो लैङ्गिकताका आयाम शीर्षकमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।

        यसैगरी दोस्रो परिच्छेद अन्तर्गत तेस्रो लैङ्गिकको पहिचान र उत्तरवर्ती नेपाली आख्यानमा प्रयोग शीर्षक दिइएको छ । यस अन्तर्गत विषय प्रवेश, तेस्रो लैङ्गिक चरित्रको सामाजिक पहिचान, संविधानमा तेस्रोलिङ्गीको पहिचान, पेशा, विश्व प्रसिद्ध तेस्रोलिङ्गी तेस्रो लैङ्गिक चरित्रयुक्त आख्यानको युगीन परिवेश र सर्वेक्षणको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।

त्यसैगरी तेस्रो परिच्छेद अन्तर्गत तेस्रो लैङ्गिक चरित्रयुक्त उत्तरवर्ती प्रतिनिधि नेपाली आख्यानको शीर्षकमा विश्लेषण गरिएको छ । यस अन्तर्गत विषय प्रवेश, तेस्रो लैङ्गिक चरित्रयुक्त उपन्यास र विश्लेषण तेस्रो लैङ्गिक चरित्रयुक्त प्रतिनिधि कथाको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । 

चौथो परिच्छेद अन्तर्गत सारांश र निष्कर्ष प्रस्तुत गर्नुभएको छ। समग्र कृतिको सारांश र निष्कर्षको माध्यमबाट हर प्रकारका अनुसन्धानदातालाई यो विश्लेषणात्मक सामग्री महत्वपूर्ण ठहरिएको छ र अध्यताले अन्तिममा सन्दर्भ सामग्री सूची समेत प्रस्तुत गर्नुभएको छ ।

कृतिको अन्तिम भाग बाहिर कभरपट्टि नेपाली भाषा साहित्यका विद्वानद्वय प्रा. मोहनराज शर्मा र प्रा. डा. गोविन्दराज भट्टराईको भनाइलाई प्रस्तुत गरेको देखिन्छ । समगमा्र अध्येताहरूको नजरमा यो विश्लेषणात्मक कृति एकदमै मननीय देखिन्छ । 

कृतिको बारेमा बाँकी यहाँहरुले कृति संकलन गरी आफै अध्ययन गरी बुझ्नसक्नु हुनेछ । कृति अनुसन्धान विमर्श नेपालको स्टल बागबजारमा यहाँहरुले प्राप्त गर्न सक्नुहुनेछ ।














Monday, July 1, 2024

खोटाङ – यात्रा एक, तरङ्ग अनेक ...गङ्गाप्रसाद भेटवाल

 

           
 खोटाङ – यात्रा एक, तरङ्ग अनेक   ===गङ्गाप्रसाद भेटवाल 

                                          


- २०८० चैत्र ९,१०,११ र १२ गतेको यात्रा _ यात्रा जीवन हो ।  जीवन यात्रा हो ।  यो चलिरहन्छ, चलिरहन्छ । जबसम्म मानिस जीवित रहन्छ कुनै न कुनै यात्रा उसले जीवनमा गरिरहेकै हुन्छ । उसले ती यात्राहरूलाई कसरी हेर्छ, कसरी परिभाषित गर्छ र कसरी आफूलाई समाहित गर्छ भन्ने कुरा मात्र भिन्न हो । जीवन र जगत त उस्तै उस्तै हुन्छ तर त्यसलाई बुझ्ने, त्यसलाई हेर्ने दृष्टिकोण हरेक मानिसहरूमा फरक फरक हुने गर्छ । जीवनमा सबै मानिसहरूले यात्रा गर्ने गरेको पाइन्छ । भनिन्छ मानिसको जन्मदेखि मृत्युसम्मको समयावधिमा मानिसले यात्रा गरिरहन्छ । जीवनमा गरिएका कतिपय यात्राहरू महŒवपूर्ण हुन्छन् ।  जीवनलाई सुनौलो रङ्गमा भर्न सफल हुन्छन् अनि कतिपय यात्राहरू यात्रा गर्नका लागि मात्र हुन्छन् । केही दिन पश्चात स्मृतिबाट लोप हुन पुग्छन् । महŒवपूर्ण यात्राहरूले मानिसको अन्तरमनलाई झक्झक्याउन पुग्छ, समाजलाई जगाउन पुग्छ र युगलाई दिशा निर्देशन गर्न बत्ती बनेर उज्यालो छर्न पनि सफल हुन्छ । हो, यस्तै यात्राहरू समयसमयमा गरिनुपर्छ । मानव जातिलाई झक्झक्याउनुपर्छ, समाजलाई अग्रगमनमा डोर्याउनुपर्छ र युगलाई नयाँ सन्देश दिन सक्नुपर्छ । कुनै खास ठाउँको यात्रा गरिसकेपछि त्यो क्षेत्रको वास्तविकता यात्रीले थाहा पाउने अवस्था सिर्जना हुन्छ । विभिन्न किसिमका भ्रमहरू छन् भने ती भ्रमहरूको अन्त्य हुन पुग्छ र वास्तविकताको प्रचार हुन्छ ।  समाजमा सकारात्मक सन्देशको तरङ्गहरू तरङ्गित हुन थाल्छन् र समाजमा आशाहरू जागृत हुन पुग्छन् । यहाँ सन्दर्भ आउँछ स्रष्टा पदयात्रा नेपालको खोटाङ यात्राको । जहाँ स्रष्टा पदयात्रा नेपालको नाम आउँछ त्यहाँ स्रष्टा पदयात्रा नेपालको केही विगत कोट्याउनु जरुरी देखिन पुग्छ । स्रष्टा पदयात्रा नेपाल नामको संस्था लेखक, सर्जक, कवि, कलाकारहरूको सामूहिक संस्थाको रुपमा विकसित हुँदै आएको संस्था हो । यस संस्थासँग प्रत्यक्ष र प्रत्यक्ष रूपमा पाँच सय भन्दा धेरै कवि लेखकहरूको सहभागिता रहने गरेको देखिन्छ । स्रष्टा पदयात्रा नेपालको उद्देश्य देशका विभिन्न भागहरूमा पैदलै भ्रमण गर्दै त्यहाँको जनजीवनसँग अत्यन्त निकट रहेर त्यस क्षेत्रको जानकारी हासिल गरी वास्तविक साहित्यको सिर्जना गर्नु रहेको छ । स्रष्टा पदयात्रा नेपालको खोटाङ यात्रा ८० आँै श्रृङ्खला अन्तर्गत रहेको छ  अर्थात् आजभन्दा अगाडि नै श्रष्टा पदयात्रा नेपालले ७९ आँै श्रृङ्खला पार गरिसकेको छ । विशेषगरी काठमाडौँमा बस्ने सर्जकहरूले महिनाको एकपटक प्रथम शनिबार देशका विभिन्न ठाउँहरूमा पैदल भ्रमण गर्दै साहित्यिक सिर्जनाका निम्ति खुराक जुटाउने अभियान सञ्चालन गरेको ७ वर्षभन्दा धेरै भइसकेको छ । प्रत्येक महिनाको पहिलो शनिबार पदयात्राको कार्यक्रम सञ्चालन गर्ने तालिका रहेता पनि बाहिरी जिल्लाहरूमा विशेष सन्दर्भ पारेर पदयात्राको कार्यक्रम तय गर्ने स्थिति सृजना भएमा स्थानीय संस्थाहरूसँग समन्वय गरी कार्यक्रमलाई तय गर्ने समेत गरिएको छ । चैत्र महिनाको पहिलो शनिबार ३ गते रहेको थियो ।  स्रष्टा पदयात्रा नेपालको नियमित तालिका अनुसार पदयात्राको कार्यक्रम पहिलो शनिबार ३ गते नै हुनुपर्ने थियो तर त्यसलाई अतिरिक्त पदयात्राको रूपमा स्वीकार गरेर काभ्रे जिल्लाको बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिर क्षेत्रमा अतिरिक्त पदयात्रा कार्यक्रम सञ्चालन गरियो । उक्त पदयात्राकै क्रममा एन.बि. जनकपुरीद्वारा लिखित कविता संग्रह हृदयमा छापिएका पीडाका अक्षरहरू शीर्षकको कविता संग्रह समेत लोकार्पित गरियो ।
खोटाङ जिल्लाको पदयात्रालाई डाक्टर धनप्रसाद सुवेदीज्यूले सहजीकरण गरी त्यो कार्यतालिकालाई अगाडि राख्नुभयो । खोटाङ क्षेत्र कोशी प्रदेश अन्तर्गत रहेको पहाडी जिल्ला रहेको हुनाले त्यस जिल्लामा गएर स्थानीय जनजीवनसँग घुलमिल हुँदै साहित्यिक मसला जुटाउने अवसर स्रष्टा पदयात्रा नेपाललाई प्राप्त हुन पुग्यो । यो अवसरलाई विशेष महŒव दिँदै स्रष्टा पदयात्राको ८० औँ श्रृङ्खला कायम गरियो र खोटाङ पदयात्रा तय गरियो । खोटाङ पहाडी जिल्ला,  पुराना दिनहरूमा सडक सुविधा नपुगेको खोटाङ पछिल्ला दिनहरूमा सानोसानो बाटोको माध्यमबाट भएपनि मोटरबाट यात्रीहरु खोटाङ पुग्न सजिलो भएको अवस्था छ । पहिला जस्तो राजधानीबाट धेरै दिन लगाएर अब खोटाङ पुग्नुपर्दैन । खोटाङले राज्यको मूल प्रभावमा गाभिने अवसर प्राप्त गरिसकेको छ । राजधानीबाट हिँडेको मोटर एकै दिनमा सजिलै खोटाङ पुग्छ । हुन त देशका धेरै दुर्गम भनिएका विकट ठाउँहरूमा पनि मोटर बाटोको सुविधा हालका दिनमा पुगिसकेको छ, यसलाई समयको यो उपहार मान्नुपर्छ । पदयात्राको ८० औँ श्रृङ्खला खोटाङमा तय गरेसँगै सहभागिताका लागि सबै सर्जकहरूलाई सूचना प्रवाह गरियो । खोटाङ यात्रामा सहभागिता जनाउनका लागि निश्चित केही नियमहरू पनि प्रस्तुत गरियो ।  जसमा ड्रेसका कुराहरू, लागतको अनुमान र त्यहाँ जाँदाखेरि अपनाउनुपर्ने सावधानीहरु समेत स्रष्टा पदयात्रामा सहभागीहरूलाई जानकारी गराइयो । यात्राको कार्यक्रम चार दिने तय गरियो । यात्रामा चार दिनका लागि एउटा बस रिजर्भ गर्नु आवश्यकता देखियो ।  बस रिजर्भ गर्ने जिम्मा डाक्टर धनप्रसाद सुवेदीज्यूले लिनुभयो र स्रष्टा पदयात्रीहरू मध्येबाट कति जना जान सकिन्छ भन्ने कुरा तय गरी गाडीमा लाग्ने भाडाको अनुमान गरेर त्यसको सूचना प्रवाह भयो । खोटाङ जान धेरै साथीहरूमा उत्साह देखियो । कतिपय साथीहरूलाई उत्साह हुँदाहुँद,ै जान मन हुँदाहुँदै पनि कार्य व्यस्तता, स्वास्थ्य अवस्था र घरायसी सन्दर्भहरूले पनि साथ दिएन । यो श्रृङ्खलामा पदयात्रीको रूपमा शीतल गिरी,  बिमल अर्याल, गङ्गाप्रसाद भेटवाल, अभय श्रेष्ठ, सुशील बान्तवा, शान्ति राइर्, अरुणा देवी राई, बसन्त रिजाल, डाक्टर शशी थापा पण्डित, रुबी सत्याल, जयराम बिडारी, डाक्टर अम्बिका अर्याल, डाक्टर जीवन श्रेष्ठ, नवराज रिजाल,  डाक्टर बालचन्द्र मिश्र, अप्सरा ढकाल, जानुका राइर्, मदन लामाखुल,े बम बानिँया, डा.धनप्रसाद सुवेदी,  डाक्टर यादेवी ढकाल लगायतका साथीहरू जुट्नुभएको थियो । चैत्र ९ गते बिहान साढे ६ बजे कोटेश्वरमा भेला हुन सबै साथीहरुलाई सूचना गरिएको थियो । बस चाबेल हुँदै आउने भएको हुनाले चाबेलतिरबाट आउने साथीहरू बसमै चढेर कोटेश्वर आइपुग्नुभयो र हामी कोटेश्वरमा भेला भएका पनि बसमा चढ्यौँ र हाम्रो यात्रा खोटाङका लागि अगाडि बढ्यो । बिहानै कोटेश्वरमा सवारीे भिडको चापाचाप थियो ।  त्यो बाक्लो भिडलाई क्रमश छल्दै छल्दै हामी चढेको बस अगाडि बढ्यो ।  भक्तपुर हुँदै काभ्रे हुँदै सररर अगाडि बढ्यो । कतै बाटो अप्ठ्यारो थियो कतै सजिलो थियो । बसभित्र चढेका हामी यात्रीहरू एक आपसमा रमाइलो गफगाफ गर्दै आनन्दित हुँदै आपसमा रमाइरहेका थियौँ । म बसको बीचतिरको सिटमा बसेको थिएँ ।  म भन्दा केही सिट अगाडि दाहिनेपट्टि डाक्टर शशी थापा पण्डित बस्नुभएको थियो । गाडी भक्तपुर प्रवेश गरेसँगै उहाँले भक्तपुरका विभिन्न ठाउँहरू देखाउँदै सानामा गाई चराएको प्रसङ्गहरू सुनाउनु भएको थियो । डाक्टर शशी थापा पण्डितको माइती गाउँ पनि उहाँले देखाउन भ्याउनु भयो  । केही साथीहरुले उहाँलाई हसी मजाकमा उडाउने प्रयास पनि गरे तर उहाँले वास्तविक कुरा गरेको थाहा पाएपछि सबैले उहाँको कुरामा रमाइलो पनि मान्न भ्यायौँ ।  पुराना दिनहरूको स्मृति उहाँले दिलाउनुभयो । उबेलाको खुल्ला ठाउँको कुरा उठाउँदा अबका दिनमा भक्तपुरमा खुल्ला ठाउँ देख्न गाह्रो पर्ने समय आएको महसुस भयो । बसको अगाडितिरको सिटमा बस्नेहरू आफ्नै तालमा हुनुहुन्थ्यो,  बीचका हामीहरूको आफ्नै ताल थियो । पछिल्लो भागमा बस्ने साथीहरूको आफ्नै ताल थियो र गाडीको आफ्नै ताल थियो । बसमा चढेकाहरूको जीवनमा केही स्वतन्त्रता थियो । काठमाडौँको बोझिलो दैनिकीबाट केही दिनको लागि उन्मुक्ति पाएको महसुस भइराखेको थियो । जब बस साँगा कटेर अगाडि बढ्न थाल्यो ।  काभ्रेपलाञ्चोक जिल्ला प्रवेश गर्यो । काभ्रेपलाञ्चोकको प्रवेशसँगै मैले साथीहरूलाई भन्न भ्याएछु ओहो मेरो गाउँ पो आइपुग्न आँटेछ । मैले मेरो गाउँको घर काभ्रेमै पर्छ भन्ने सम्झेर साथीहरूसँग धेरै कुरा पनि गर्न भ्याँएछु । हरेक नयाँ यात्रासँगै नयाँ भावना, नयाँ विचार र नयाँ तरङ्गहरूको पनि जन्म हुँदो रहेछ । काभ्रे जिल्लाको प्रवेशसँगै भेटवालहरूको उत्पत्तिको इतिहास, वंशावलीका सन्दर्भहरू मेरो दिमागमा आउन पुगे । केहीकेही सन्दर्भहरू मैले बसमै साथीहरूलाई सुनाएको पनि थिएँ ।  आज भेटवालहरूको उत्पत्तिको कथा–इतिहास यहाँहरू समक्ष प्रस्तुत गर्दछु । भेटवाल थर लेख्ने म बाह्रौँ पुस्ताको सन्तति हुँ । कतिपय दाजुभाइहरूले भेटुवाल लेख्नुहुन्छ र धेरैले भेटवाल थर प्रयोग गर्दै आउनुभएको छ । १२औँ पुस्ताभन्दा अगाडि तपाईँहरूले के थर लेख्नुहुन्थ्यो भनेर यहाँहरूको मनमा जिज्ञासा रहन सक्ला ? बाह्रौं पुस्ता अगाडि हाम्रो अग्रजहरूले जोशी थर लेख्ने गर्नुहुन्थ्यो । भेटवालहरू भगीरथ जोशीका सन्तति हौँ ।  हामीहरू जोशीकै एउटा हागोको रूपमा रहेका छौँ । भगीरथ जोशी हालको भारत देशको उत्तराखण्ड राज्यको कुमाउँ नैनीताल निवासी हुनुहुन्थ्यो । इतिहासकारहरूका अनुसार हालको कुमाउँ–गडवाल राज्य कुनै समय नेपालको डोटी राज्यको मातहतमा रहेको थियो र त्यही बेला डोटीबाट जोशीहरू कुमाउँ गडवालमा पुगेको इतिहास भेटिन्छ । जोशी परिवारले उबेलादेखि नै पूर्वीय दर्शनको, शास्त्रको राम्रो ज्ञान हासिल गरेको इतिहास भेटिन्छ ।  डोटीबाट कुमाउँ पुग्दा पनि जोशी परिवारले ज्योतिषीको काम गर्ने गरेको इतिहास शास्त्रहरूमा फेला परेको देखिन्छ । जोशी परिवारको बसोबास कुमाउँ क्षेत्रमा रहेता पनि भगीरथ जोशी भने त्यो बेलाको शिक्षाको केन्द्र बनारसमा पुगेर पूर्वीय दर्शनको, शास्त्रको अध्ययन गरी शैक्षिक क्षेत्रमा लागेको देखिन्छ । उबेला ज्योतिषी भगीरथ जोशीको सम्बन्ध गोरखाका अर्का ज्योतिषी कुलानन्द ढकालसँग राम्रो रहेको थियो । कुलानन्द ढकालको सम्बन्ध गोरखाका राजा पृथ्वीनारायण शाहसँग राम्रो थियो । दरबारमा ज्योतिष सम्बन्धी सेवा लिनुपर्दा पृथ्वीनारायण शाहले ढकाल गुरुहरूबाट लिने गरेका थिए । नेपाल राज्यको निर्माता पृथ्वीनारायण शाह साह्रै साहसी र दूरदर्शी राजा थिए ।  विभिन्न टुक्रे राज्यमा विभाजित नेपाली जातिहरूको एकीकरण गर्न नसकिए कुनै दिन यो जाति समाप्त हुनेछ भन्ने ठानेर अनि त्यसको पहिचान गरेर पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकृत अभियान अगाडि बढाउन थाले । पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गर्दै काठमाडौँ उपत्यकालाई पटकपटक आक्रमण गरे । धेरैपटकको असफलतापछि हतियार संकलन गर्न उनी बनारस पुगे  । बनारसमा उनले आफ्ना ज्योतिषी कुलानन्द ढकाल मार्फत बनारसका प्रख्यात ज्योतिषी भगीरथ जोशीको सहायता लिन आवश्यक ठाने र भगीरथ जोशीलाई गोरखा आउनको निम्ति निमन्त्रणा दिए । पृथ्वीनारायण शाहसँग भेट हुँदा त्यसबेलाका प्रख्यात ज्योतिषी भगीरथ जोशीले एक मोहोर दाम भेटिराखेको हुनाले भगीरथ जोशीलाई पृथ्वीनारायण शाहले बोलाउँदा भेटीवाल भन्न थाले र त्यसपछिको समयमा भगीरथ जोशीले थरको पछाडि भेटीवाल उपनाम राख्न थाले र भेटवाल शब्दको प्रचलन थरको पछाडि जोड्न थालियो । पृथ्वीनारायण शाहले गर्नुभएको आमन्त्रणलाई स्वीकार गरेर ज्योतिषी भगीरथ जोशी गोरखा पुगे र दरबारलाई आवश्यक पर्ने ज्योतिषीय परामर्श र अन्य राजकीय परामर्श प्रदान गर्न थाले । पृथ्वी नारायण शाहले काठमाडौँ उपत्यका विजय गरेपछि ज्योतिषी भगीरथ जोशी भेटीवाललाई काठमाडौँ उपत्यकाको कुनै पनि ठाउँमा रोजेर बस्न आग्रह गरे । पृथ्वीनारायण शाहको सल्लाह बमोजिम उनी काठमाडौँ उपत्यकाभन्दा अलि टाढा हालको काभ्रे जिल्लाको पलाञ्चोक भगवती क्षेत्रमा बस्न रुचाए । ज्योतिषी भगीरथ जोशी भेटीवालको इच्छा अनुसार राजा पृथ्वीनारायण शाहले काभ्रे जिल्लाको पलाञ्चोक भगवती क्षेत्रमा उनलाई वीर्ता प्रदान गरे । पलाञ्चोक भगवती क्षेत्रमा प्राप्त भएको वीर्ता नै भेटवालहरूको मुख्य बसोबास क्षेत्र हो र पहिलो नेपाल बसाइको उत्पत्ति थलो पनि पलाञ्चोक भगवती क्षेत्र नै हो । यही क्षेत्रमा भेटवालहरूको कुल पूजा हुने चलन पनि छ । पछि बहादुर शाहका पालातिर भेटवालहरूलाई थप वीर्ता नुवाकोटको सुनखानी र ककनी क्षेत्रमा पनि प्राप्त भयो र केही भाइहरू त्यता बस्न पुगे । हाम्रो पुस्ता पनि पाँच पुस्तासम्म काभ्रेको पलाञ्चोक भगवती क्षेत्रमा बसेको तथ्य वंशावलीमा उल्लिखित छ । भगिरथ जोशी (भेटिवाला )–रामकृष्ण जोशी ( भेटवाल )– केशव जोशी (भेटवाल ) –विरुवामदेव जोशी (भेटवाल)–छिताराम जोशी (भेटवाल) गरी पाँच पुस्तासम्म पलाञ्चोक क्षेत्रमा हाम्रा अग्रजहरूले बस्ने काम गरे । त्यसपछि हाम्रो तर्फको हाँगो पूर्वतिर लाग्यो । हाम्रो तर्फको हाँगो पूर्वको तेह्रथुमको इसिबुमा पुग्यो भने केही भाइहरू नुवाकोटको सुनखानी तर्फ लागे । केही ककनीमा पुगे ।  केही भाइहरू तनहुँ जिल्लामा पुगे र केही चाहिँ पलाञ्चोक भगवती क्षेत्रमा नै रहे । वामनदेव भेटवाल काभ्रेबाट तेह्रथुम गएका हुन् । उनका छोराहरूमध्ये प्रतिमन भेटवाल तेह्रथुमबाट हालको ताप्लेजुङ जिल्लाको थेचम्बु क्षेत्रमा पुगेका हुन् । हामी प्रतिमन भेटवालका पाँच पुस्ताहरूले ताप्लेजुङ क्षेत्रमा बस्ने सौभाग्य पायौँ र पाँचौं पुस्ताको रूपमा तुलसीप्रसाद भेटवाल झापा जिल्लामा बसाई सर्न पुग्नुभयो । प्रतिमन भेटवाल पछि – बनारसी भेटवाल  –धनन्जय भेटवाल –रङ्गलाल  भेटवाल –तुलसीप्रसाद भेटवालको पुस्ता ताप्लेजुङमा बस्यो र ताप्लेजुङबाट बसाई सर्ने अन्तिम पुस्तामा तुलसीप्रसाद भेटवाल रहनुभएको थियो । तुलसीप्रसाद भेटवालको बसोबास झापा जिल्लाको हालको गौरादह नगरपालिकामा रहन गयो र यो कलमकारको जन्म सोही नगरपालिकामा भएको हो । यो कलमकारको जन्म झापा जिल्लाको गौरादह नगरपालिकामा भएतापनि बाल्यकाल काठमाडौँमा बित्यो र बाल शिक्षा हुँदै उच्च शिक्षा काठमाडौँमै प्राप्त भयो । केही समय भने झापामा पनि शिक्षा आर्जन गर्ने अवसर जुर्यो । यसरी काभ्रेको पलाञ्चोक भगवती क्षेत्रबाट निस्केको एक भाइको हागो बाह्रौं पुस्ता पार गरेर फेरि काठमाडौँको कीर्तिपुर नगरपालिकामा आइपुगेर स्थायी बासथलो बन्न पुगेको छ । जातिगत हिसावमा भेटवालहरू कुमाइँ बाहुन हुन् । खोटाङको पदयात्राको लागि निस्केको टोलीमा भक्तपुरमा पुग्ने बित्तिकै डाक्टर शशी थापा पण्डितले आफ्नो माइती भनेपछि काभ्रे लागेसँगै मेरो मनमा पुर्ख्यौली थलोको तरङ्ग उब्जियो र पुर्ख्यौली पारिवारिक लहरो यहाँहरू समक्ष सुनाउने अवसर मिल्यो ।

गाडीभित्रका यात्रीहरू आफ्नै धुनमा थियौँ । आफ्नै संवादमा थियौँ । आआफ्नै छलफलमा थियौँ ।  गाडीका चालकले आफ्नो रफ्तार कायमै राखिरहेका थिए ।  सलल गाडी अगाडि बढिरह्यो । ठाउँ ठाउँमा खाजा र खानाका लागि गाडी रोक्दै खाना– खाजा खाँदै अगाडि बढ्दै बीपी राजमार्गको बाटोबाट खोटाङलाई लक्षित गर्दै अगाडि बढिरह्यौँ ।  ठाउँ ठाउँमा प्रकृतिको मनोरम दृश्य हेर्दै साथीहरूसँगै यात्रा गर्दा हुने आनन्दको वर्णन शब्दमा गर्न नसकिँदो पनि रहेछ । खोटाङ यात्रामा निस्केका हाम्रो टोलीमा खोटाङ क्षेत्रमै घर हुनुभएका अग्रज श्रष्टा डाक्टर धनप्रसाद सुवेदी, डाक्टर यादेवी ढकाल जन्तेढुंगा, गाउँपालिकाका अध्यक्ष अरुणादेवी राई, कवि बम बानियाँ र अग्रज साहित्यिक व्यक्तिŒव विद्वान् मदन लामाखुले पनि हुनुहुन्थ्यो । उहाँहरूले यो क्षेत्रको साविकको बाटो कस्तो थियो, मानिसहरू खोटाङबाट काठमाडौँ आउँदा कति दिन लाग्थ्यो, आउँदा खाजासामल कसरी ल्याइन्थ्यो भन्ने कुराको विविध जानकारी हामीलाई गाडीभित्रै प्रदान गर्नुभयो । हामी खोटाङ नपुग्दै खोटाङसँग परिचित हुँदै थियौँ ।  खोटाङको बारेमा धेरै जानकारी हामीलाई मिलिरहेको थियो । कवि बम बानियाले पनि गाडीभित्रै रमाइला कविताहरू, मुक्तकहरु हामीलाई सुनाउँदै खोटाङको झलक, खोटाङमा सुनाइने लोक भाका, खोटाङमा सुनाइने किम्वदन्ती अवगत गराइरहनुभएको थियो । गाडी निकैबेर गुडेपछि जयराम घाट भन्ने ठाउँमा पुग्यो । सो ठाउँमा पुल पनि राम्रोसँगले बनाइएको रहेछ । हामीसँग जाने यात्रीहरुमध्ये जयराम नाम गरेका एकजना साथी पनि हुनुहुन्थ्यो । हामीले हाम्रा मित्र जयरामजी र त्यहाँ अवस्थित जयराम घाटकोबीचमा गाडीभित्रै रमाइलो हाँसो ठट्टामा बहस पनि चलायौँ । जयरामजी पनि आफ्नो नाममा घाटै बनेको देख्दा पुकलित बन्नुभयो ।  जयरामजीले त्यहाँ गाडी रोक्न लगाउनुभयो । हामी सबै यात्रीहरू गाडीबाट ओर्लेर त्यहाँको दृश्यहरू आआफ्ना मोबाइल क्यामेरामा कैद गर्न तयार बन्यौँ । गाडी केही समय त्यहाँ रोकियो र त्यसपछि ठाडो बाटो सुरू हुने रहेछ । काठमाडौँ, भक्तपुर, काभ्रे, सिन्धुली, ओखलढुङ्गा, उदयपुरको केही भागहरू छुँदै हाम्रो गाडी अन्तत खोटाङ पुग्यो । जयराम घाटभन्दा माथि लागेपछि बाटो अलिक सानो हुँदै गयो । मनमा केही डरहरू पनि पलाउँथे । यात्रीहरूको आनन्ददायक छलफलले त्यो डरहरूलाई भगाउने गर्दथ्यो । गाडीबाट बाहिर हेर्दा केही भिर देखिए पनि प्रकृतिको सुन्दर छटाले मन लोभ्याइरहेको थियो ।  सुन्दर खोटाङका केही केही दृश्यहरू हामीले गाडीका झ्यालहरूबाट हेर्दै  आफूलाई भाग्यमानी ठानिरहेका थियौँ । साँझ साँझमा हामी खोटाङको हलेसी महादेवथानमा पुग्यौँ । हामी हलेसी महादेवथानमा पुगे पनि त्यो साँझ हामीले हलेसी महादेवको दर्शन गरेनौँ ।  हामी सिधै अगाडि बढ्यौंँ र कृषि वैज्ञानिक मदन राईज्यूले सञ्चालन गर्नुभएको होमस्टेमा पुग्यौँ । बाटोमा हाम्रो गाडीसँग माओवादी नेता जनार्दन शर्माको पनि जम्का भेट भयो । उहाँले हाम्रो टोलीसँग भेटघाट गर्ने मनसाय राख्नुभएको रहेछ तर त्यो यात्रामा गाडीहरूको मात्र जम्का भेट भयो । दुई टोलीहरूको बीचमा भेटघाट हुन सकेन ।  हाम्रो टोलीलाई जनार्दन शर्मा त्यहाँ आउँदै हुनुहुन्छ भन्ने थाहा पनि थिएन । उहाँहरू छुट्टै आÏनै पार्टीको कार्यक्रममा आउनुभएको रहेछ । हामी स्थानीय साथीहरूको साथ साहित्यिक कार्यक्रममा खोटाङ आएका थियौँ । १० गते बिहान हामी बसेको होमस्टे शुभम् होमस्टेमा उहाँ आउनुभएको थियो ।  त्यहाँ हामीले जनार्दन शर्मासँग संवाद गर्ने अवसर पायौँ । त्यसपछि यो यात्रामा उहाँसँग कहिँ पनि भेट भएन । उहाँहरू आफ्नै कार्यक्रममा लाग्नुभयो, हामीहरू आफ्नै यात्रामा जुट्यौँ । खोटाङमा रहेका दुई नगरपालिकाहरूमध्ये दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका अवस्थित शुभम् होमस्टेमा ९ गते साँझको हाम्रो बसाइ भयो र शुभम् क्याफेमै हामीले साँझको खाना खायौँ । खोटाङमा रहेका १० पालिकाहरूमध्ये दुईटा नगरपालिका र आठवटा गाउँपालिका रहेका छन् । हामी बसेको नगरपालिका दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका अवस्थित शुभम् होमस्टे रहेको थियो । यो होमस्टे दिक्तेल बजारभन्दा अलि पर्तिरपट्टि नगरपालिकाकै वडा नम्बर २ मा अवस्थित रहेछ । कवि बम बानिँया स्थानीय क्षेत्रका चर्चित साहित्यकार हुनुहुन्छ र उहाँ राजनीतिमा पनि लामो समयदेखि सक्रिय रहनुभएको रहेछ । उहाँले धेरैतिर यात्रा गरिरहँदा यात्रा गर्दाका सुख दुख अप्ठ्यारा परिस्थितिहरू बुझेर होला डाक्टर धनप्रसाद सुवेदीसँग समेत सल्लाह गरेर हाम्रो टोलीमा भएका जोडीजोडीहरूका लागि छुट्टै बस्ने कोठाको व्यवस्था मिलाउनु भएको रहेछ । यो व्यवस्थाबाट सँगै यात्रामा जोडी हुनेहरूमा धेरै खुसी छाएको पनि देखिन्थ्यो । शुभम् क्याफेमा बेलुका निकै बेरसम्म वार्ता–संवाद छलफल चलिरह्यो । तातो पानीको चुस्की लिँदै स्थानीय व्यक्तिहरूसँग यताबाट जाने साथीहरूको परिचय पनि भयो । सूर्यजी जो होटलमा बसेर शुभम् क्याफेको व्यवस्थापन हेरिरहनु भएको थियो । उहाँ र उहाँको व्यवसायसँग सम्बन्धित सम्पूर्ण महानुभावहरूसँग पदयात्रीहरूको आत्मीय परिचय सम्पन्न भयो । शुभम्मा स्थानीय परिकारहरूका साथ अर्गानिक खानेकुरा व्यवस्थापन गर्दा पदयात्रीलाई एकदमै हर्ष मिलेको थियो । पाहुनाको स्वागत सत्कार गर्न शुभम् क्याफे परिवारले कुनै कन्जुस्याई गरेन । पदयात्रीको तर्फबाट यो सम्पूर्ण व्यवस्थापन टोलीलाई सलाम छ । कृषि वैज्ञानिक मदन राईले यो क्षेत्रमा कृषि क्षेत्रलाई अगाडि बढाउन गरेको योगदान एकदमै महŒवपूर्ण देखियो । उहाँले आफ्नो ठाउँलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आय आर्जनको बाटो व्यवस्थित बनाउनुपर्छ भन्ने अभियान चालेको देख्दा पदयात्री टोलीमा खुसियाली  छाएको थियो । कृषि वैज्ञानिक मदन राई सकारात्मक चिन्तन लिनेहरूका लागि प्रेरणाको स्रोत पनि हुनुहुन्छ । पर्यटकीय दृष्टिकोणबाट यो क्षेत्र एकदमै राम्रो देखियो । आवासका लागि व्यवस्थित होमस्टे खानका लागि विषादी रहित ताजा अर्गानिक खानेकुरा, घुम्नका लागि सुन्दर प्रकृति उपलब्ध हुने रहेछ । शुभम् होमस्टेले स्थानीय क्षेत्रमा विभिन्न ठाउँमा निर्माण गरेका होमस्टेहरूमध्ये हाम्रो रूममा चाहिँ बिमल अर्याल, बसन्त रिजाल, डाक्टर बालचन्द्र मिश्र र म अर्थात् गंगाप्रसाद भेटवाल बसेका थियौँ, जुन बसाइ पानीको उपलब्धतासँगै सहज थियो । खोटाङ यात्रामा हामीले बास तीन दिन बस्नुपर्ने थियो । हामीले एउटै रूममा तीन रात बास बस्ने अवसर पायौँ । त्यसको लागि  फेरि एकपटक धन्यवाद ।

९ गते बेलुका खाना खाइसकेपछि १० गते र ११ गतेको कार्यतालिका सबैलाई जानकारी गराइयो ।  भोलिपल्ट बिहान ६ बजे शुभम् क्याफेमा भेला हुन सबैलाई भनियो । हामीले काठमाडौँबाट लगेको बस चार दिनलाई रिजर्भ गरेका थियौँ । पहाडी क्षेत्रमा यात्रा गरिरहनुभएका गुरुले त्यो गाडी चलाउने भएको हुनाले हामी ढुक्क थियौ यात्रा गर्दा । १० गते बिहान ६ बजे गाडी शुभम् क्याफे अगाडि आइपुग्यो । पदयात्रीहरू सबै जम्मा हुने काम भयो । हामी बिहान शुभम् क्याफेबाट बसमा चढेर मुढेमा रहेको मुन्धुम रिसोर्टमा पुग्यौँ । जहाँ त्यो दिनको बिहानको कार्यक्रम– कविता गोष्ठी, सांगीतिक कार्यक्रम र स्वागत कार्यक्रम राखिएको थियो । मुढेमा रहेको मुन्धुम रिसोर्टले व्यापार मात्रै गरेको देखिएन । कला, संस्कृति, संगीत तथा साहित्यको संरक्षण गरेको पनि देखियो । मुन्धुम रिसोर्टका सञ्चालकहरू तीनजना भनियो, तीनजना सञ्चालकहरू मध्ये भोगेन्द्र राईजीसँग हाम्रो प्रत्यक्ष भेटघाट भयो । उहाँ टेम्के तुवाचुङ प्रतिष्ठानको अध्यक्ष समेत हुनुहुँदो रहेछ । व्यक्तित्व रसिक प्रकारको रहेछ । मुन्धुम रिसोर्ट अगाडि उहाँहरूले भगवान गौतम बुद्धको ध्यान गर्ने अवस्थामा रहेको शालिक पनि निर्माण गर्नुभएको रहेछ साथै आदि पुरुषको सुनौलो कलरको धनुष बाण बोकेको सालिक पनि निर्माण गर्नुभएको रहेछ । यी सालिकहरूको निर्माणसँगै यो क्षेत्रले पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने अवसर पाएको देखिन्छ । मुन्धुम रिसोर्टभित्रको साहित्यिक, सांस्कृतिक र स्वागत कार्यक्रम बिहान ८ बजे प्रारम्भ गर्ने भनिए पनि केही ढिलो भएको हुनाले हामीसँग जानुभएका सबै साथीहरूले वरिपरिको वातावरणमा आफूलाई घुलमेल गराउँदै ती क्षेत्रहरूको भ्रमण गरेर विभिन्न तस्बिरहरू खिच्ने, खोटाङ मुढेको सम्झनालाई क्यामरामा कैद गर्ने काम भयो । मुन्धुम रिसोर्ट भित्र टेम्के तुवाचुन प्रतिष्ठानद्वारा भव्य कार्यक्रम आयोजना गरियो । कार्यक्रमलाई दुई भागमा विभाजन गरियो । पहिलो भागमा स्रष्टा पदयात्रीलाई स्वागत गर्ने, कवि बम बानिँया र कलाकार सन्तोष राईलाई सम्मान गर्ने र अतिथिका मन्तव्यहरू राख्ने काम भयो  । दोस्रो खण्डमा रचना वाचन तथा सांगीतिक प्रस्तुति रहेको थियो । काठमाडौँबाट जानुभएका श्रष्टाहरूले र स्थानीय श्रष्टाहरूले रचनावाचन गर्ने काम भयो । बीचबीचमा साइनो कला केन्द्रका भाइबहिनीहरूले उत्कृष्ट सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए । स्रष्टा पदयात्रीहरूको सम्पूर्ण टोलीले साइनो कला केन्द्रका भाइबहिनीहरूको प्रतिभालाई मुक्तकण्ठले प्रशंसा गर्न भ्याएको अवस्था थियो । कार्यक्रममा स्थानीय समाजसेवीहरू, राजनीतिकर्मीहरू, कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । जिल्ला समन्वय समितिका अध्यक्ष, दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका उपमेयर, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष लगायतका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको शोभा बढेको देखिन्थ्यो । स्रष्टा पदयात्रीको तर्फबाट डाक्टर शशी थापा पण्डितले खोटाङको वर्णन गर्दै आकर्षक ढङ्गले आफ्नो कविता प्रस्तुत गर्नुभएको थियो । जसले खोटाङको महिमालाई उजागर गरेको थियो । खोटाङका विविध पक्षको बारेमा हलमा उपस्थित सबैलाई जानकारी कविताको माध्यमबाट दिइएको थियो । कार्यक्रममा श्रष्ठा पदयात्रीको तर्फबाट अधिकांश सदस्यहरूले रचना वाचन गर्नुभएको थियो । स्थानीय कविहरू मध्ये भीम राई, रामविक्रम थापा लगायतका सर्जकहरूले हाम्रो ध्यान राम्रैसँग केन्द्रित गर्नुभयो । कार्यक्रम भव्यसँग सम्पन्न भयो र सोही मुन्धुम रिसोर्टमा अवेर गरेर बिहानको खाना खाने काम भयो । औषधि लिनुपर्ने साथीहरूलाई भने खाना अबेर खानुपर्ने अवस्थाले केही असहज पनि भएको थियो । खानपानको काम सम्पन्न भइसकेपछि सष्टा पदयात्रीहरूको टोली स्थानीय सर्जकहरू, कविहरू, कलाकारहरू र केही सामाजिक अभियन्ताहरू, समाजसेवीहरूका साथमा दिक्तेल बजार हुँदै कालिका देवी मन्दिर मजुवागढी घुम्नको लागि, दर्शन गर्नको लागि प्रस्थान गर्यौँ । मुढेबाट बस चढेर दिक्तेल बजार पुगियो । बसलाई एक ठाउँमा राखेर हाम्रो टोली पैदल यात्रामा अगाडि बढ्यो । दिक्तेल बजारलाई नजिकबाट आँखाले हेर्दै वरिपरिका छेउकुनाहरू अनि त्यहाँबाट देखिने धेरै तल तलसम्मका सुन्दर दृश्यहरूलाई हेर्दै रमाउँदै डाक्टर धनप्रसाद सुवेदीको जानकारीबाट दिक्तेल बजारका बारेमा धेरै कुराहरू थाहा पाउँदै मजुवागढीलाई लक्षित गर्दै अगाडि बढिरह्याँै बढिरह्याँै । लामो सोतो परेको दिक्तेल बजार केही हिलो केही निर्माणको काम हुँदै गरेको थियो । त्यो बजारलाई क्रमश छिचोल्दै हामी कालिकादेवी मन्दिर चढ्ने सिँढीसम्म पुग्यौँ । नयाँ ठाउँको यात्रा अनुभवले हामी रोमाञ्चित बन्दै थियौँ । माथि कालिकादेवी मन्दिरको दर्शन गर्न पाइने, मजुवागढी हेर्न पाइने अनि राईहरूको तीन चुलोको तथ्य जानकारी लिन पाइने आशाका साथ निरन्तर सिँढीहरू उक्लँदै हामी माथि गयौँ । बाटोमा गुप्तेश्वर महादेवको गुफा पनि भेटियो । त्यो पनि हेर्न भ्यायौँ ।  दायाँबायाँका दृश्यहरू क्यामरामा खिच्दै रमाइलो गर्यौँ । गुप्तेश्वर भन्ने गुफामा आएर महादेव शिवजी लुकेर बसेको कथा स्थानीयवासीहरूले हामीलाई सुनाउनुभयो ।  पौराणिक कालमा भष्मासुरलाई आफैले दिएको वरदानले शिवजीलाई हानि पुर्याउने देखेपछि शिवजी भाग्दै भाग्दै आएर यो गुफामा लुकेर बसेको विश्वास स्थानीयमा रहेको देखियो ।  पौराणिक कालमा भष्मासुरले शिवजीको भक्ति साधना गरेर वरदान आशीर्वाद माग्यो । शिवजीले पनि जसको टाउकोमा तिम्रो हात रहन्छ, ऊ डडेर भस्म हुनेछ भनेर वरदान  दिए । त्यसपछि भष्मासुरले आफ्नो हात शिवजीको टाउकोमा राख्न खोजेपछि शिवजी भाग्दै भाग्दै आएर यही गुप्तेश्वर गुफामा आएर बसेको किम्बदन्तीप्रतिको विश्वास स्थानीयवासीमा रहेको छ । पछि विष्णु भगवानले यो कुराको पत्तो पाएपछि छल गरेर भष्मासुरलाई आफ्नै टाउकोमा उसको हात राख्न लगाई भस्म पारेर महादेवको उद्धार गरेको हो भन्ने भनाइ पनि छ । गुप्तेश्वर गुफाको अवलोकन गरिसके पश्चात निरन्तर सिँढीहरू चढेर कालिकादेवी मन्दिर पुगियो । यो मन्दिरको स्थापनाका सम्बन्धमा पनि स्थानीय जनविश्वास रोचक प्रकारको सुन्न पाइयो । आजभन्दा ३५० वर्ष अगाडि दुईजना युवाहरूलाई सपनामा एउटै कुराको बोध भयो । एकजना राई युवा र आचार्य युवालाई सपनामा भगवती आएर यस्तो अप्ठ्यारो ठाउँमा भिरमा म बसेकी छु मलाई आएर उद्धार गर, हेर र यो मन्दिरको स्थापना गर भनेर सपनामा पूजा विधि समेत बताएर देवी आइन् भन्ने कुरा स्थानीयहरूको बीचमा सुन्न सकिन्छ । ती दुवै युवाहरू बाटोमा भेट हुँदा एकअर्काले आफ्नो सपनाको कुरा बताए । दुवै जनाले एउटै सपना देखेकोले आश्चर्य मान्न पुगे र पछि पनि फेरि सपनामा त्यही प्रक्रिया दोहोरिएपछि त्यहाँ मन्दिरको स्थापना गरियो । पूजाको विधि विधान पनि भगवतीले सपनामा ती युवाहरूलाई जे बताएकी थिइन् त्यही विधि विधान अनुसार आजका दिनसम्म कालिका देवी मन्दिरमा पूजाआजा गरिँदै आएको छ । कालिकादेवी मन्दिरमा भाकल गरिन्छ, कालोपाठीको बलि दिइन्छ । आफूले वाचा गरेको कुरा यसरी पूजा गरेमा प्राप्त हुन्छ भन्ने कुरा समाजले विश्वास गरेको देखिन्छ । यो मन्दिरलाई सातकन्या कालिका मन्दिरको रूपमा पनि चिन्ने गरिन्छ । यहाँ विशेषगरी बाला चतुर्दशी, शिवरात्रीका दिन विशेष मेला लाग्ने गर्दछ । सामान्य रूपले यहाँ पूजाआजा मेलापर्व लागिरहन्छ तर औंशी, एकादशी, आइतबार बलि दिनु हुँदैन भन्ने चलन छ । मलमास, सोह्र श्राद्ध र साउनमा पनि बलि पूजा गर्नु हुँदैन भन्ने विश्वास रहेको छ । कालिकादेवी मन्दिरको दर्शन गरिसकेर हामी त्यसभन्दा अगाडि रहेको मजुवागढीमा पुग्यौँ । गढीमा पुरानो केही अवशेषहरु पनि देखियो रणवीरहाङको तत्कालीन अवस्थाका गढीका केही अवशेषहरु त्यहाँ पाइयो । किरात संस्कृति अनुसार निर्माण भएको चिचिन्डो पनि पाइयो  र सँगै रहेको  चुलोको तीन चम्काको विशाल स्वरूप पनि देख्न पाइयो । मजुवागढी क्षेत्र राईहरूमा पनि चाम्लिङ राईहरूको धार्मिक महŒवको क्षेत्र रहेको बुझ्न पाइयो । यो ठाउँलाई धार्मिक र ऐतिहासिक दृष्टिकोणले चाम्लिङहरूले महŒवका साथ हेरेको देखियो । राईहरूको चुलामा ठुलठुला तीन चम्का हुने कुराले हामीमा रहस्य सृजना गरेको थियो, त्यो पनि समाधान भयो । त्यस बारेमा यात्राकै क्रममा ज्ञात भयो कि राईहरूको चुलामा भान्सामा कसैलाई पनि पक्षपात गरिँदैन । कसैलाई पनि निषेध गरिँदैन । एउटा चम्कोको अर्थ रहन्छ बुबापट्टिका सबै नातेदारहरुलाई भान्सामा स्वागत छ । अर्को चम्कोको अर्थ रहन्छ । आमा पट्टिका सबै नातेदारहरुलाई पनि भान्सामा स्वागत छ र तेस्रो चम्को कुल कुटुम्ब ज्वाई चेलाको खलक सबैलाई भान्सामा आमन्त्रण छ  । यसरी भान्सामा सबैलाई समेट्ने प्रचलन पौराणिक कालदेखि नै रहेको किराँत समुदायमा प्रचलन देखिन्छ । मजुवागढी पुग्दा करिबन साँझ पर्नै आँटेको थियो ।  हामी हतार गर्दै सिँढीको बाटोबाट पुन दिक्तेल बजार झयौँ र हामीले राखेको बस मा चढी पुन शुभम् क्याफेमा फिर्ता भयौँ । साँझमा शुभम् क्याफेमा स्थानीय श्रष्टाहरू र स्रष्टा पदयात्रीहरूको बीचमा थप अन्तरक्रिया कार्यक्रममा आयोजना गरियो । केही नयाँ साथीहरूसँग पनि परिचय गर्ने अवसर मिल्यो । थमप्रसाद आचार्य लगायतका स्थानीय कविहरूले माहोललाई झन् रन्काइदिनु भएको थियो । शुभम् क्याफेमा खानाका अतिरिक्त ढिँडो, रोटी लगायतको परिकार तयार थियो । बेलुका १० बजेको हाराहारीमा खाना खाएर निर्धारित स्थानमा विश्राम गर्न पुग्यौँ । अर्को दिन अर्थात् चैत्र ११ गतेको दिन टेम्के डाँडाबाट ६ वटा हिमालको दृश्यावलोकन गर्ने कार्यक्रम तय गरिएको थियो । त्यसकै कल्पनामा १० गते बेलुका सुत्दाखेरि हामी विभिन्न कुराहरू खेलाउँदै निद्रादेवीको काखमा पुग्यौँ । 

चैत्रको ११ गते सूर्य उदाउने समय भयो । त्योभन्दा अगाडि नै श्रष्टा पदयात्रीहरू जर्याक जुरुक उठिसकेको अवस्था थियो । सबैजना बिहानै शुभम् क्याफेमा भेला हुने सल्लाह भए बमोजिम हामी सबै जम्मा भयौँ । काठमाडौँको तुलनामा खोटाङको यो क्षेत्र दिक्तेल रूपाकोट मजुवागढी क्षेत्र केही बढी चिसो  अनुभूति भएको थियो । हामी काठमाडौँबाट खोटाङतर्फ हिँड्ने बेलादेखि नै पानी सिमसिम परिरहेको थियो । हामी ९ गते खोटाङ पुग्दा पनि पानी परिरहेकै थियो । १० गते पनि फाट्टफुट्ट पानी परेकै थियो भने ११ गतेसमेत बादल लागेर आकाश धुम्म थियो । बादल लाग्नु, खुल्नु, पानी पर्नु, घाम लाग्नु यी सबै प्रकृतिका कुरा भए । हामी स्रष्टा पदयात्रीहरूले प्रकृतिसँग के नै पो गर्न सक्थ्याँै र π हामीले गर्न सक्ने भनेको प्रकृतिको जस्तो अवस्था छ त्यस्तै अवस्थामा घुलमिल हुने काम मात्र थियो । धुम्म मौसमको बीचमा पनि हामी शुभम् क्याफेबाट बसमा चढेर साकेला गाउँपालिका हुँदै चखेवा भन्ज्याङ तर्फ लाग्यौँ । गाडी बिस्तारै अगाडि बढ्दै गयो । पहाडी बाटो घुमाउरो उत्तिकै थियो । कतै बाटो हिलाम्मे थियो र खाल्टाखुल्टी परेको थियो । बाटोमा ड्राइभरले अनुभवी पाराले बसलाई अगाडि बढाउँदै लगे । केही समय विस्तारो विस्तारो गरेर गाडी अगाडि बढ्दै थियो । अलि पर पुगेपछि एउटा निर्माणाधीन पुल क्षेत्रमा बाटो बिग्रिएको थियो । त्यहाँ गाडी फस्यो । त्यहाँबाट गाडी निकाल्नलाई गाडीका चालक, सहचालक र यात्रीहरूले निकै ठूलो मेहनत गर्नुपर्यो । हामीसँग यात्रा गर्नुहुने डाक्टर धनप्रसाद सुवेदी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव पनि हुनुहुन्छ र उहाँको गृह जिल्ला खोटाङ हो । यहाँनेरी जहाँ गाडी फसेको ठाउँ थियो त्यहाँबाट अलिकति अगाडि तल बस्तीमा उहाँको गाउँ रहेछ । उहाँले त्यो गाडी फसेको ठाउँभन्दा अलिकति अगाडि लगेर तल बस्तीमा रहेका गाउँहरूलाई औंलाले देखाउँदै आफ्नो घर ऊ त्यो हो भनेर चिनाउनु पनि भयो । यो पूरै यात्रामा सरल ढंगले हामीसँग उहाँले घुलमिल गरी आफ्नो विनम्रतालाई प्रस्तुत गर्नुभएको थियो । केही समय गाडी र बाटोको बीचमा प्रतिस्पर्धा चल्यो र अन्त्यमा गाडीले बाटोलाई जित्यो । हामी पुन गाडीमा बस्यौँ र यात्रा चखेवा भन्ज्याङ तर्फ अगाडि लम्कियो । गाडीभित्रै यात्रीहरू बीचमा विभिन्न किसिमका ठट्यौली–रमाइलो किसा कहानी सुनाउने क्रम चल्दै अगाडि यात्रा लम्किरह्यो । ठट्टाहरूको बीचमा डाक्टर अम्बिका अर्यालले सही हो भनेर चिच्याउँदा फरक अनुभूति रमाइलो पारामा प्रवाहित हुन्थ्यो । हामी शुभम् क्याफेबाट चिया पनि पिउन नभ्याई निक्लेका थियौँ । चखेवा भन्ज्याङमा पुग्दा साढे १० भयो । हामी टेम्के डाँडोको टुप्पोमा पुग्नु थियो । हामीलाई हतार थियो । यही हतारको बीचमा पनि चखेवाको मनमोहक प्रकृतिले स्रष्टा पदयात्रीहरूलाई लोभ्याइहाल्यो । धेरै साथीहरू फोटो खिच्न भिडियो कैद गर्न लाग्नुभयो । फोटो भिडियो खिच्दै गर्दा पनि खाजा खानुपर्छ है भन्ने गाईगुई साथीहरूमा निक्लिन थाल्यो । त्यही बेलामा हाम्रो समूह दुई भागमा विभाजित भएछ ।  एउटा समूह भोजपुरतर्फ लाग्ने बाटोतर्फ सरासर अगाडि बढ्यो भने अर्को समूह जहाँ डाक्टर धनप्रसाद सुवेदी समेत हामी थियौँ । हामीले चखेवा भन्ज्याङकै छेउमा रहेको चिया पसलमा चिया पाउरोटी खानका निम्ति साथीहरुलाई बोलायौँ शीतल गिरी लगायतको साथीहरूको समूह चखेवा भन्ज्याङबाट लगभग दुई किलोमिटर अगाडि गएर चिया खान थाल्नु भएछ । चखेवा भन्ज्याङ खोटाङ र भोजपुरको बीचमा रहेको भन्ज्याङ भएको हुनाले पनि होला सायद हाम्रो समूहका साथीहरू पनि आदि खोटाङतर्फ रह्यौँ र आदि भोजपुरतर्फको भागमा पुग्नुभयो । हामी चखेवा भन्ज्याङबाट दाहिने पट्टि रहेको बाटो समातेर उकालै उकालो हुँदै टेम्के डाँडातर्फ लाग्नु थियो जहाँबाट संसारका अग्ला छवटा हिमालहरूको दृश्य देख्न सकिन्थ्यो । हाम्रो समूहका साथीहरू चखेवा भन्ज्याङमा तितरवितर भएको हुनाले एक ठाउँमा भेला हुन पनि हामीलाई झन््डै आधा घण्टाभन्दा बढी समय लाग्यो । कोही साथीहरू हिँड्दै टेम्के डाँडामा जाउँ भनेर अगाडि फटाफट बढ्नुभयो । कोही साथीहरू भने माथि  बेस क्याम्पसम्म बसमा जान सकिन्छ भनेर बसलाई माथि लग्ने प्रयास पनि गर्न थाल्नुभयो तर बस माथि जान अप्ठ्यारो हुन्छ भनेर चालक सहचालकले लग्न मान्नुभएन । त्यतिखेरसम्ममा एउटा समूह धेरैमाथि पुगिसकेको थियो । समूह समूहमा ससानो टोली क्रमश डाँडामा अगाडि बढिरह्यो । हाम्रो यात्रामा विनोद आचार्य हुनुहुन्थ्यो जो स्थानीय चिरपरिचित समाजसेवी हुनुहुन्थ्यो । उहाँले हामीलाई यो क्षेत्रको बारेमा धेरै जानकारीहरू दिँदै यात्रामा साथ दिनुभयो । चखेवा भन्ज्याङदेखि माथि टेम्के डाँडोसम्म हामीलाई एकजना स्थानीय रिसोर्ट व्यवसायी भाइले गाइड गर्दै लिएर जानुभयो र हामीसँगै उहाँ पनि फर्केर चखेवा भन्ज्याङ आउनुभयो र उहाँकै रिसोर्टमा लगेर स्वादिष्ट भोजन पनि खुवाउनु भयो । ट्याम्के डाँडो सुख्खा रहेछ ।  पानीको समस्या पनि त्यहाँ यात्रीहरूलाई हुँदो रहेछ । ट्याम्के डाँडाको यात्रा गर्नेहरूले आफ्नो साथमा केही आफूलाई पुग्ने पानी पनि बोकेर यात्रा गर्दा धेरै सहज हुने रहेछ । उकालो उक्लिँदै गर्दा डाँडाभरि फुलिरहेका गुराँसहरूले हाम्रो मनलाई आनन्दित बनाइरह्यो । डाक्टर जीवन जीवन्तले बोक्नुभएको क्यासेट घन्काउँदै रमाइला गीतहरू सुन्दै र ठाउँ ठाउँमा नाच्दै रमाइलो गर्दै हाम्रो थकाइलाई बिर्सिएर ट्याम्केको चुचुरो तर्फ हामी लम्किँदै थियौँ । बाटामा डाक्टर यादेवी ढकाललाई प्यास लागेछ । उहाँले हामीसँगै यात्रा गरिरहेकी एकजना बहिनीको हातबाट बोतल लिनुभयो । उहाँले प्यास मेटाउन ठाडो घाँटी लगाउनु भएको थियो, एकैछिनपछि थुथु गर्दै मुख बिगार्नुभयो, बोतलमा के थियो को नि,  हामी करिबन दिउँसोको २ बजे टेम्के डाँडाको टुप्पोमा पुग्यौँ । त्यहाँ खोटेहाङ गाउँपालिकाबाट आउनुभएका साथीहरू, साहित्यकार मित्रहरू हामीलाई कुरेर बसिरहनु भएको थियो । सो अवसरमा खोटेहाङ गापा - जस्को नामबाट समग्र खोटाङ जिल्लाको नामाकरण गरिएको बताइन्छ_ बाट टेम्केलेकमा सहभागीता जनाउन आएका कविहरू रोशन पौडेल, भगवतीप्रसाद शर्मा, भक्त सापकोटा, भुवन गाँउले, भानुभक्त सापकोटा, देवराज सापकोटा, कृष्णश्री राई लगायतले रचना वाचन गर्नु भएको थियो । खोटेहाङ पहिला खोटाङ जिल्लाको सदरमुकाम पनि रहेको थियो भन्ने कुरा हामीले त्यहाँ नै थाहा पायौंँ । छवटा हिमालहरूलाई नजिकबाट हेर्ने हाम्रो धोको बादलले पुरा हुन दिएन तर डाक्टर जीवन जीवन्तद्वारा लिखित चरैवेति उपन्यास डाक्टर धनप्रसाद सुवेदीज्यूको हातबाट लोकार्पण गरियो । लोकार्पित उपन्यासमाथि अभय श्रेष्ठज्यूले संक्षिप्त प्रतिक्रिया व्यक्त गर्नुभएको थियो  सोही अवसरमा डाक्टर बालचन्द्र मिश्र लगायतका स्रष्टा पदयात्रीहरूले पनि केही रचनाहरू वाचन गर्नुभएको थियो । ट्याम्के हाइटमा चिसो सिरेटो मज्जाले चल्ने रहेछ । हामीले कार्यक्रमलाई छिटोछिटो सम्पन्न गरेर पुन अगाडि बढ्दै चखेवा भन्ज्याङ फर्किने योजना तय गर्याँै र हामी चखेवातर्फ झर्न थाल्यौँ । चखेवा भन्ज्याङबाट ट्याम्केको टुप्पोमा स्रष्टा पदयात्रीहरूको धेरै सदस्यहरू पुग्नुभयो भने ५ जना साथीहरू टुप्पोसम्म पुग्न सक्नुभएन । शीतल गिरी, बिमल अर्याल, लगायतका साथीहरू बाटोमै बसेर हामी फर्कँदा सँगै चखेवा भन्ज्याङ फर्किएका थियौँ । ट्यामके डाँडोबाट चखेवा भन्ज्याङ झर्ने क्रममा अभय श्रेष्ठ र म सबैभन्दा अगाडि थियौँ । चखेवा भन्ज्याङमा आएर खाना खाने ठाउँको बारेमा सोधपुछ गर्यौँ । खाना खाने ठाउँ चखेवा भन्ज्याङबाट भोजपुरतर्फ साढे तीन किलोमिटरको दुरीमा रहेछ । हामीले ४ बजेतिर खाना खायौँ र त्यहाँबाट पुन दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नम्बर २ मा रहेको शुभम् क्याफेतर्फ फर्कनु थियो । बाटोमा दुई ठाउँमा हामीलाई निमन्त्रणा गरिएको थियो । मदन लामाखुले र ९ नम्बर वार्डका वडाध्यक्ष दिनेश कठेत हामीलाई स्वागत गर्न मदन लामाखुलेको घरमा स्थानीय बासीका साथमा जुटिसक्नु भएको थियो । बाटोमा भुलभुले झरनाको पनि अवलोकन ग¥यौंँ । सुवेदी सरले त्यसको महŒव, ऐतिहासिक सन्दर्भ र विविध किम्बदन्तीहरूका बारेमा पदयात्रीहरुलाई जानकारी दिनुभयो । पदयात्रीहरूलाई गुराँसका थुङ्गाहरूले टेम्केको मुन्धुम रिसोर्टमा स्वागत गरेजस्तै मदन लामाखुलेको घरमा पनि स्वागत गरियो । दिनेश कठेतले सम्पूर्ण पदयात्रीहरूलाई स्वागत गर्दै वडाको विभिन्न जानकारी दिनुभयो । मदन लामाखुलेले धेरै पाहुनाहरूलाई घरमा बोलाएर स्वागत गर्दा सबै दङ्गदास परेका थियौँ । स्थानीय परिकारहरू सेल लगायतको खाजा त्यहाँ खाएर पुनः हामी अगाडि बढ्यौंँ ।  बाटोमा वडा नम्बर ६ का वडाध्यक्ष माधव राईको घरमा  स्थानीय बासीहरू हामीलाई स्वागत गर्न तयारी गरेर बसिरहनु भएको थियो । राजमार्गसँगै जोडिएको वडाध्यक्ष माधव राईको घरमा हामीले एक घण्टा जति नाचगान–रमाइलो गर्यौँ र त्यही साँझको खाना खाएर हामी अगाडि बढ्यौंँ । बेलुका औषधि खाएर खाना खानुपर्ने साथीहरूलाई केही असहज पनि भएको थियो । त्यसदिन स्थानीय साहित्यकार झमप्रसाद आचार्यले आफ्नो लोक भाकालाई बेतोडसँग प्रस्तुत गर्नुभएको थियो, आचार्यको गायकीले हामी स्रष्टा पदयात्रीहरूलाई निकै मजाले तानेको थियो । स्रष्टा पदयात्री डाक्टर बालचन्द्र मिश्रको नृत्य पनि  सबैको आकर्षणको केन्द्रबिन्दु बनेको थियो । त्यहाँबाट हामी सरासर अगाडि शुभम् क्याफे–शुभम् होमस्टेमा तय गरिएका बासस्थानहरूमा गएर आराम गर्यौँ । हामीले भोलिपल्ट छिट्टै उठ्नु थियो ।

चैत्र १२ गते अर्थात् यात्राको अन्तिम दिन तुवाचुङ स्थित रैछाकुले (भाइ) तयामा (नाना) खियामा (बहिनी) पार्क (मन्दिर) को अवलोकन भ्रमण गरी हिन्दु, बौद्ध, जैनको साझा धरोहरको रुपमा रहेको प्रसिद्ध हलेसी महादेव, बसाहा गुफाको दर्शन गरी अवलोकन भ्रमण सुसम्पन्न भयो । हाम्रो खोटाङको यात्रा ९ गते प्रारम्भ गरेर १२ गते चैत्रमा सकिँदै थियो । अन्तिम दिन बिहानै हामीले हलेसी महादेवको दर्शन गर्ने तयारी गरेका थियाँै । हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर हाम्रो स्वागतमा हलेसी महादेव मन्दिर परिसरमा उपस्थित हुनुभएको थियो । हलेसी महादेव खोटाङ जिल्लामा मात्र प्रसिद्ध छैन । विश्वभरिका किराँत, हिन्दू, बौद्ध र जैन सम्प्रदायमा यो हलेसी महादेवले महŒवपूर्ण स्थान ओगटेको छ र संसारभरिबाट यहाँ दर्शनार्थीहरू आउने चलन छ । हलेसी क्षेत्रमा दुईटा विशाल गुफाहरू रहेका छन् । अगाडिपट्टिको मुख्य गुफा नै हलेसी महादेवको मुख्य बासस्थान हो भने हलेसी महादेवको मुख्य गुफामा रहेको मन्दिरभन्दा पछाडिपट्टि  अर्को उत्तिकै ठूलो महŒवपूर्ण गुफा रहेको छ । केही समय गुफा सुरुङबाट हिँडेर पुग्न सकिन्छ भने अन्तिम बिन्दुको माथिपट्टि ठूलो प्वाल समेत रहेको छ । हामीले हलेसी महादेवको दर्शन गरिरहँदा हाम्रो मनमा ऊर्जा मिलिरहेको थियो । हाम्रो यात्रामा सफलता मिलेको हामीमा महसुस भइरहेको थियो । भगवान महादेवको आशीर्वाद हामीले पायौंँ । हाम्रो यात्रा सहजताका साथ सम्पन्न भयो । हलेसी मन्दिर परिसरमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयरज्यूले हामीलाई एउटा महŒवपूर्ण धार्मिक शोधग्रन्थ हलेसी शीर्षकको ग्रन्थ उपलब्ध गराउनुभयो । उक्त शोधग्रन्थमा सम्मरबहादुर भुजेल जो कार्यकारी निर्देशक हलेसी महादेवस्थान विकास समिति खोटाङको हुनुहुन्छ उहाँले धन्यवाद दिँदै कृतिमा लेख्नुभएको छ– पूर्वी नेपालको हलेसी त्रिधार्मिक धाम संसारकै सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय, धार्मिक तथा प्राकृतिक रुपमा रहेको अमूल्य सम्पदा हो । नेपालको विशिष्ट सांस्कृतिक स्थलहरूमध्ये हलेसी यस्तो महŒवपूर्ण सांस्कृतिक सम्पदा हो । जहाँ विश्वभरिका हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो भने अर्को तर्फ हलेसीलाई प्रकृतिले नै दिएको अनुपम, अद्भुत विशाल गुफाहरू नै मन्दिरको रुपमा रहेको छ । पृथ्वीको उत्पत्तिसँगै हलेसी धाम किराँत, हिन्दु र बौद्धको आस्था र मान्यता अनुसार जोडिँदै आएको पाइन्छ । शास्त्रीय रूपमा उल्लेख भएको परापूर्वकालदेखि नै साधना ध्यान तपस्या गर्ने स्थल भएको हुनाले जहाँ महादेव, आचार्य पद्मसम्भव, थारु पातेसुङ, रुङ र रैछाकुलेसमेतले साधना गरेको स्थल हो हलेसी ।  हलेसी हेर्न र अनुभव गर्न सकिने एक अचम्मको गुफाका साथै धार्मिक विश्वास र आस्थाको आकर्षक गन्तव्य पनि हो ( भूमिका अन्तर्गत धन्यवाद खण्डबाट) ।  हलेसी शीर्षकको त्रिधार्मिक धाम शोधग्रन्थका शोधकर्ताहरू डाक्टर धनप्रसाद सुवेदी, भोगीराज चाम्लिङ र मोहन कुमार तामाङ हुनुहुन्छ । शोधकर्ताहरूले उक्त शोधग्रन्थलाई तीन भागमा वर्गीकरण गरेर शोध गर्नुभएको छ । पहिलो खण्डमा हलेसी धाम किराँती दृष्टिकोण, दोस्रो खण्डमा हलेसी धाम हिन्दू दृष्टिकोण र तेस्रो खण्डमा हलेसी धाम बौद्ध दृष्टिकोण रहेका छन् । प्रस्तुत शोधग्रन्थले हलेसी महादेवको बहुआयामिक पाटोलाई समेटेको हुनाले धेरैभन्दा धेरै जनसमुदायको बीचमा यो ग्रन्थ पुग्नु जरुरी पनि रहेको छ । यसरी देख्दा सामान्य लाग्ने खोटाङ यात्रा अनुभूतिका दृष्टिकोणले विराट महŒव बोकेर, ग्रहण गरेर चैत्र ९ गते प्रारम्भ भई चैत्र १२ गते काठमाडौँ आइपुगेर समापन भयो । यात्राका सबै सहभागीहरू र यो लेख पढ्नुहुने हजुरहरू सबैमा हलेसी महादेवको आशीर्वाद प्राप्त हुनेछ भन्ने आशा व्यक्त गर्दै बिदा हुन्छु  – जय हलेसी ।

                  ===🖉गङ्गाप्रसाद भेटवाल

महासचिव– स्रष्टा पदयात्रा नेपाल

ठेगाना कीर्तिपुर ४ काठमाडौँ, नेपाल

फोन ९८४९७१४८६७ ।

 








 









स्रष्टा पदयात्रा नेपालको १०९औं पदयात्रा भक्तपुर ठिमी नगदेश क्षेत्रमा हुने लोभलाग्दो सहभागिता रहने

१०९ औं स्रष्टा पदयात्रामा सहभागि हुन नाम लेखिएका स्रष्टा २०८३ भाद्र ६ गते शनिवार विहान ७.३० बजेसम्म पुरानो थिमी नगदेसको प्रवेशद्वारमा अनिवार...