कालो गुलाफ कथासङ्ग्रह भित्र के छ ? गङ्गाप्रसाद भेटवाल
कालो गुलाफ कथासङ्ग्रह कथाकार गोपाल अस्कद्वारा लिखित कथाहरूको सँगालो हो । यो कथा सङ्ग्रहलाई ओरिएन्टल पब्लिकेशन प्रा.लि.ले २०८० साल आश्विन महिनामा प्रकाशनमा ल्याएको हो । यस सङ््गहमा प्रा.डा. लक्ष्मणपसाद गौतमले समीक्षात्मक भूमिका लेख्नुभएको छ । त्यसपश्चात् कथाकारको छोटो भनाइ र प्रकाशकीय रहेको छ । यस सङ्ग्रहमामा पन्ध्रवटा कथाहरूलाई संकलन गरिएको छ । यस सङ्ग्रहमा संकलित भएका कथाहरूले अधिकांश मधेस क्षेत्रका सन्दर्भहरूलाई प्रस्तुत गरेका छन् भने केही केही कथाहरूका परिवेश र पात्रहरूले पहाड क्षेत्रलाई समेत समेट्न भ्याएका छन् । सिङ्गो कथा सङ्ग्रहलाई बुझ्न सजिलो होस् भनेर पन्ध्र्र वटा कथाहरूको छुट्टाछुट्टै संक्षिप्त स्वरूपलाई यो समीक्षात्मक लेखमा सारगत रूपमा प्रस्तुत गरिएको छ ः
कथा १ – कालो गुलाफ
यस कथामा पात्रहरू रामलाल यादव उपनाम अग्नि, उसकी श्रीमती रमपतिया, छोरा गापी र अपरिचित व्यक्ति निर्मलमणि सापकोटा उपनाम ज्वाला रहेका छन् । यस कथामा माओवादी आन्दोलनको झलक छ । माओवादीभित्र पनि पहाडे र मधेसीको भावना आएको छ । आन्दोलनकारीहरू गणतन्त्र आएपछि धेरै नै मन्त्री बनेका छन् । उनीहरुमा दक्षिणी छिमेकी राष्ट्रलाई हेर्ने दृष्टिकोण उस्तै–उस्तै भएपनि पहाडे र मधेसे नेताहरूले एकअर्कालाई आरोप लगाउने गरेका छन् । माओवादीभित्रका नेतामा पनि मधेसलाई हेर्ने नजर त्यति राम्रो पाइँदैन । पहाडेले आफूलाई लालीगुराँससँग तुलना गरेका र सोही प्रकारले मधेसेले आफूलाई गुलाफसँग तुलना गर्दा पहाडेले गुलाफ त हौ तर कालो गुलाफ हो भनेर मधिसेप्रति नकारात्मक सोच व्यक्त गरेका छन् । यही कथाको शीर्षकबाट सिङ्गो सङ्ग्रहको नामकरण समेत भएको देखिन्छ ।
कथा २ – एउटा लेखकको आत्मकथा
यस कथामा लेखको जीवनचर्यालाई प्रस्तुत गरिएको छ । वास्तविक लेखक जो गरिवीसँग जुधेको छ । चार दर्जनकृति लेखे पनि बाँच्नकै लागि ती कृतिहरू अरुलाई बेच्नु परेको छ । लेखकले घोस्ट राइटिङलाई आफ्नो पेशा बनाएको छ । कथामा मोफसलका साहित्यकारहरूबाट पनि राजधानीमा बस्ने लेखक पीडित भनेको छ । आफ्नै श्रीमतीले समेत आफ्नो विवशता बुझ्न नसकेको अवस्था कथामा छ । श्रीमतीले श्रीमान्बाट पैसा पाउँदा अति खुसी भएको देखिन्छ तर श्रीमान्को अवस्था बुझ्न चासो राखेको छैन । आफन्तको विवाहमा कृति बेचेर खर्च जुटाउन लेखक बाध्य छ । यस कथामा लेखकको लाचारीपन प्रस्तुत भएको छ ।
कथा ३ – प्र्रेमको मृत्यु
यस कथामा मुख्य पात्रका रूपमा रमा, टाङ्गावाल भैया, राकेश, राकेशकी बहिनी, मास्टर काका अर्थात् अविनाश आँशुतोष, राकेशकी आमा लगायतका पात्रहरू आएका छन् । परिवेशमा मधेस छ । मुख्य पात्र रमा एम.ए. तहको पढाइ सकेर शोधकार्यमा संलग्न भएकी छन् । तराईमा रहेका विद्वान अविनाश आशुतोषको विषयमा उनको शोधकार्य हुन्छ । उनी काठमाडौँबाट बस चढेर मधेशमा पुग्छिन् र त्यहाँबाट टाङ्गाको सहारा लिएर अविनाश आशुतोषको घरमा पुग्छिन् । आशुतोषलाई मास्टर काका समेत भनिने गरेको टाङ्गावालाबाट थाहा पाउँछिन्। अविनाश आशुतोसरको घरमा राकेश पनि भेटिन्छ । वास्तवमा राकेश र रमा सहपाठी र प्रेम जोडी हुन्छन् । अविनाश आशुतोष सरको छोरा भएको उसले रमालाई भनेकै हुँदैन अचानक त्यहाँ रहस्य खुल्छ । राकेशकी बहिनी, आमा, बाबाबाट रमाले एकदमै माया पाउँछिन् । शोधको लक्षित कार्यक्रम सकिएपछि काठमाडौँ फर्किने बेलामा बस चढाउन राकेश रमा सँगै जान्छ । गाडी पाउँदैनन् त्यस दिन । उनीहरू होटलमा बस्छन् । त्यसको भोलिपल्ट प्लेनबाट रमालाई राकेशले काठमाडौँ पठाउँछ । त्यहाँ होटलमा बस्दा उनीहरूले श्रीमान श्रीमतीको भूमिका निभाएका छन् । सम्बन्ध राखेपछि प्रेमको मृत्यु भएको ठान्दछन् । अब हामी अर्कै सम्बन्धमा रह्याँै भन्ने कुरा गर्छन् । रमा एयरपोर्टबाट भित्र छिर्छिन । यसरी त्यहाँ प्रेमी प्रेमिकाको प्रेमको मृत्यु भएको छ र त्यसपश्चात श्रीमान् श्रीमतीको प्रेम पलाउने आशा छ ।
कथा ४ – सम्पादक
यस कथामा वर्तमानमा बाँचिरहेका नेपाली पत्रिकाको समस्या प्रस्तुत गरिएको छ । विभिन्न ठाउँमा हुने कार्यक्रममा आयोजकहरूले कति न महŒवपूर्ण कार्यक्रम छ भनेर बोलाउँछन् तर जाँदा न कार्यक्रम समयमा हुन्छ न त समयमा सकिन्छ नै । कार्यक्रम आयोजकहरूले सम्पादक तथा पत्रकारहरूको समयको ख्याल गर्न नसकेको कुरा कथामा आएका छन् । पत्रिकामा काम गर्ने पत्रकारहरूले पनि राम्रोसँग काम नगरी सम्पादकै टाउकोमा थोपर्दछन् । उता सम्पादकले पनि लेख, कथा तथा अन्य सृजनाको स्तर निर्धारण गर्दा पक्षपात गर्ने गरेको कुरा कथामा आएको छ जुन कुरो आजको पत्रकारिता क्षेत्रको तितो यथार्थ हो ।
कथा ५ – नचिताएको कुरा
यस कथामा रामलाल र रमाको परिवार वीरगञ्जबाट काठमाडौँ उपत्यकामा नचाहँदा नचाहँदै बसाई नै सर्न पुगेका छन् । सुरुमा काठमाडौँमा डेराको समस्या उनीहरूको परिवारले भोगेको छ भने पछि उनीहरुले परिस्थितिकै कारण यतै घर बनाउन पुगेका छन् । यतै घर बनाएर बसेपछि संस्कृति तथा परम्परामा पहाडियाहरूसँग फरक परेको छ । विशेषगरी तिहारको लक्ष्मी पूजा मनाउने क्रममा असन्तुलन देखिएको छ । काठमाडौँमा घर बनाएपछिका तीन चार वर्षपछि उनीहरूको संस्कृति र यताको पहाडिया संस्कृतिको सन्तुलन बिन्दु फेला परेको छ । मानिसले नचाहेका कुराको सन्तुलन समेत समयले दिन्छ भन्ने सन्देश पाठकमा पर्न गएको छ ।
कथा ६ – डा. दिलवर दिल
यस कथामा नेपालको मधेशको परिवेशबाट कथानकको आरम्भ भएको छ । नेपालको तराईमा बस्ने मानिसहरूका दुई प्रकारका आवतजावत गन्तव्य प्रस्तुत गरिएको छ । मधेसीहरू उपचार लगायतका काम गर्न भारतीय सहर जाने र पहाडियाहरू काठमाडौँतिर जाने परम्परा रहेको छ । रमाको पति मुटुको रोगी भएको हुन्छ र उपचारको सिलसिलामा पटना पुग्छ । त्यहाँ झुकिएर साहित्यमा पीएचडी गरेको डाक्टरकोमा पुग्छ । केही समय सन्दर्भ नमिलेका वार्तालाप चल्छ । ऊ साँच्चिकै डाक्टर ठानेर त्यहाँ पुगेको हुन्छ डाक्टर दिलवर दिलकोमा । कथाको अन्त्यमा रहस्य उद्घाटन भएपछि साँच्चिकै एमबिबिएस डाक्टरकोमा जान्छ । यसरी यस कथामा डाक्टर शब्दका कारण झुकिएको घटना प्रस्तुत भएको छ ।
कथा ७ – मत्स्यगन्धा
यस कथामा नयाँ पुस्ताका युवा युवती कसरी भविष्यलाई सुनिश्चित गर्न चाहन्छन् भन्ने कुराको दृष्टान्त छ । पहिले पहिलेका मानिसहरू विवाह गर्न अगाडि चिना हेर्ने गर्थे भने अबका युवायुवती चिना भन्दा पनि निरोगिताको बारेमा वास्तविकता बुझेर मात्र नयाँ जीवन शुरु गर्न चाहन्छन् भन्ने कुरा आएको छ । समय बदलिएको छ भन्ने कुरा र बदलिएको समयले जीवनलाई सुनिश्चित गर्न चाहन्छ भन्ने दृष्टान्त यस कथामा छ ।
कथा ८ – वेदनाको फूल
वेदनाको फूल कथामा वीरगञ्ज आसपासका गाउँमा किशोर अवस्थामा बिहे हुने गरेका सन्दर्भ आएका छन् । बुबाको पालामा वाध्यात्मक रूपमा किशोर अवस्थामा बिहे गर्नुपरेको स्थिति छ भने छोरीको समयमा बाबुआमालाई थाहा नै नदिकन उही किशोर अवस्थामा नै बिहे गरेका घटना आएका छन् । यी दुवै समयमा दुई अवस्थामा नै गरिएको विवाहले परिवारमा वेदना दिएका छन् । तराई क्षेत्रमा प्रशस्त मात्रामा साहित्यिक कार्यक्रम हुने गरेका छन् । विद्यार्थीहरू गणित तथा अङ्ग्रेजीमा कमजोर भएपनि साहित्य सिर्जनामा लागेर सम्मानित भएको स्थिति छ । कथाको शीर्षकले भने बाबु र छोरीको फरक स्थितिमा गरिएको बिहेबाट भएको वेदनालाई प्रस्तुत गरेको छ । मुख्य पात्रको रूपमा कृष्णलाई उद्धृत गरिएको
छ ।
कथा ९ – पलायन
यस कथामा शशिकलाको चारजनाको सदस्य भएको परिवारलाई मुख्यरूपमा प्रस्तुत गरिएको छ । दुई छोराहरू र आमाबुबा छन् । जेठो छोराको मागेर विवाह गरेको तर घरबार हुन नसकेर सम्बन्ध विच्छेद हुने अवस्था कथामा आएको छ भने कान्छो छोराले आफैँ अन्तरजातीय प्रेम विवाह गरेको छ । विवाह पश्चात कान्छा छोरा बुहारी विदेश गएका छन् । मागी विवाह गरेको जेठो छोरा बुहारी पढेलेखेका भएपनि दुवैको अहमताको कारण घरबार हुन सकेको छैन । जेठो छोरो पनि सम्बन्ध विच्छेद गरिसकेपछि जीवन निर्वाह गर्न विदेश जाने तयारी गर्छ । यसरी दुइटा छोरा नै आफ्ना आमाबुबा र जन्मस्थानबाट पलायन हुनुपरेको समयको तितो यथार्थ र बाबाआमाको मनको पीडा कथामा अभिव्यक्त भएको छ । शशिकलाको परिवार यसरी पलायन हुने अवस्थामा छ ।
कथा १० – बुबा हजुरबा खोई ?
यस कथामा मुख्य पात्रको रूपमा ईशा रहेकी छ । ईशा हरिवन सरलाईमा जन्मेकी केटी हो । ऊ मामाघर काठमाडौँमा बसेर पढ्छे । त्यहाँ मामामाइजु, मावलीको हजुरबुबा, हजुरआमा सहितको परिवार हुन्छ । मावली हजुरबुबा हरेक दिन मोटरसाइकल लिएर उसलाई लिन स्कुल आउँछन् । त्यही स्कुलमा पढ्ने ईशाकी साथी रितिकालाई लिन आफ्नै बुबाको बुबा अर्थात् घरकै हजुरबा आउँछन् । त्यस घटनाबाट ईशालाई आफ्नै बुबाको बुबा हजुरबाको याद आउँछ तर उसले कहिल्यै देखेकै हुँदैन । दशैंमा घर गएर आमाबुबालाई हजुरबुबा आमाको बारेमा सोधपुछ गर्छे । ईशाका हजुरबुबा आमा भएको तर गाउँमा भएको रहस्य खुल्छ । कथामा आमाकै कारण हजुरबा र हजुरआमासँग भेट हुन नसकेको कथ्य स्थिति देखिन्छ । त्यति हुँदाहुँदै पनि ईशाकै कारण दशैंको अवसरमा त्यो परिवारको हजुरबुबा आमासँग मिलन हुन सक्ने अवस्था कथामा आएको छ ।
कथा ११ – भैया
यस कथामा मुख्य पात्रको रूपमा गोपी, कमल, निशा र रिता रहेका छन् । गोपी र रिता दाजुबहिनी हुन् भने कमल र निशा दाजुबहिनी हुन् । गोपी र रिता तराई मूलका हुन् । कमल र निशा पहाडी मूलका । गोपीले साइकलमा कालिमाटी आसपासमा तरकारी बेच्छ भने कमलले त्यसै क्षेत्रमा चिया बेच्छ । केही बदमास केटाले गोपीको तरकारी पसल साइकलबाट फालेपछि सँगै रहेको चिया पसलबाट आएर कमलले गोपीलाई बचाउँछ । त्यसपछि गोपी र कमलको मित्रता बढ्छ । गोपी, कमलको पहाड घरसम्म पुगेर भाइटिका लगाउँछ । उनीहरूको मित्रता कसिलो हुन्छ । पछि दुवैका बहिनीहरू निशा र रिता पनि आआफ्ना दाजुहरुसँगै काठमाडौँ आउँछन् । एकदिन अचानक मोटरसाइकल दुर्घटनामा परेर निशाको श्रीमान्को मृत्युको खबर लिएर कमल गोपीकोमा पुग्छ । त्यस घटनामा गोपीले कमललाई धेरै मद्दत गर्छ । मृत्युपछि गरिने संस्कार कर्ममा चलन अनुसार माइतबाट मान्छे गएर हेर्न नहुने भनिएकाले त्यहाँ कमलको सट्टा गोपी पुग्छ । गोपी त्यहाँ पुग्दा त्यहाँ भैया भन्दै निशा उसको शरणमा पुग्छिन् र कथा टुङ्गिन्छ । यस घटनामा तराई र मधेश मान्छेलाई दाजुभाइकै रूपमा प्रस्तुत गरिएको छ । हिमाल पहाड तराई कोही छैन पराई भन्ने भावना कथामा आएको छ ।
कथा १२ – अनुगूँज
यस कथामा म पात्रको रूपमा आएको रामलालको परिवारको आन्तरिक वेदना छरपष्ट भएको छ । उसको परिवारमा श्रीमती, दुई छोरा एक बुहारी (कान्छी बुहारी), नाती लगायतको परिवार छ । यो परिवार आपसमा खुलस्त हुन सकेको छैन । श्रीमान श्रीमतीमा पनि वास्तविक प्रेम छैन । कान्छी बुहारीको व्यवहारबाट पनि रामलाल पीडित बनेको छ । तराईको राम्रो घर उनीहरूको भएपनि त्यस घरभित्र पूर्ण सन्तुष्टि छैन । रामलाललाई पहाडी दृश्य मनपर्छ तर त्यसभित्रका समस्या श्रीमतीले उसलाई देखाउने गर्छिन् । कथाको अन्तिममा रामलाल कोरोनाको सिकार भएजस्तो देखिएको छ । यस कथाको सन्देश परिवार आफैंमा मिल्न सकेन भने कुनै न कुनै बेला रोगको सिकार बन्न पुग्छ भन्ने जस्तो देखिएको छ ।
कथा १३ – अन्तरसवाद
यस कथामा नयाँ पुस्ता र पुराना पुस्ताको बीचमा असमझदारी छ । पुरानो पुस्ताले पुरानो संस्कृतिको बचाउ गर्दै त्यसको निरन्तरता चाहेको छ । नयाँ पुस्ता स्वतन्त्रतासँगै बाँच्न चाहेको छ । तुलाधर र तुलना छोरा बुहारीको पुस्ता हो । उनीहरुले अन्तरजातीय विवाह गरेका छन् । उनीहरू विदेशसमेत बसेर आएका छन् । यस कथामा पुरानो पुस्ताले आफ्नो कर्तव्य पूर्ण रूपमा पालना गरेको देखिन्छ भने नयाँ पुस्ताले स्वतन्त्रता खोजेको तर आफ्नो कर्तव्य पूरा नगरेको देखिन्छ । पाठकलाई हाम्रो समाजको नैतिक धरातल साँच्चिकै खस्कदै गएको हो कि भनेर चस्का पस्ने देखिन्छ ।
कथा १४ – जन्मकुण्डली
यस कथामा म पात्रको माध्यमबाट कथानकलाई अगाडि बढाइएको छ । उसकी श्रीमतीको नाम रमा छ । श्रीमतीका अगाडि म पात्र कम बोल्ने गर्छ । तराईमा नातासम्बन्धी साइनो छोराको छोरा पोता, छोरी पोती, छोरीको छोरा नाती छोरी नातिनी भनिन्छ । छोराको छोराले हजुबुबाआमालाई दादा दादी र छोरीका छोराछोरीले नाना नानी भन्ने नाता सम्बन्ध छ । यी भए चलन परम्परा तथा संस्कारका कुरा कथामा श्रीमान् श्रीमतीको बाक्लो संवाद भएको छ र कथाको अन्तिमतिर श्रीमान्को जन्मकुण्डली हेरेर श्रीमती जलेर भुतुक्क हुन पुग्छिन् । जन्मकुण्डलीमा श्रीमानका महिला साथी र अन्तरंग सम्बन्धको पाटो खुल्छ र रमाको मनमा रिस र आलस्य भरिन्छ । जन्मकुण्डलीप्रतिको पूर्ण विश्वासका कारण रमाले आफ्नो श्रीमान््लाई आफूबाट टाढा राख्ने प्रयत्न गरेको छ । कर्ममा भन्दा जन्मकुण्डलीमा विश्वास गरेर रमा दुःखी बनेकी छ तर म पात्रले उसलाई सम्झाउन प्रयत्न गरेको देखिन्छ । यसैबीच कथा समाप्त हुन्छ ।
कथा १५ – हिजोआज
यस कथामा पनि म पात्र आएको छ जसलाई गोपाल नाम पनि दिएको छ । गोपालले आफ्नो स्कुले जीवनका क्षणहरू सम्झन पुगेको छ । गणित शिक्षक, अंग्रेजी शिक्षकसँगका स्मृतिमा आफू पुगेको छ साथै कोरोना कालको अवस्थाको स्मरण समेत गर्न पुगेको छ र कथाको अन्तिममा उसले हिजो आजको अवस्था पनि बताउन पुगेको छ । हिजोआज नातिनातिनासँग रमाउँछ ऊ र यस धर्तीबाट अब कहिले अर्को लोकमा जाने भन्ने अनुमान गर्छ । यस्तैमा कथा समाप्त हुन्छ ।
यसरी कालो गुलाफ कथा सङ्ग्रहमा कथाकार गोपाल अस्कले पन्ध्र वटा कथाहरूको माध्यमबाट तराई मधेसका समस्याहरू, संस्कृतिका कुराहरू, नयाँ पुस्ता तथा पुराना पुस्ताका प्रवृत्तिहरू र बुढ्यौली कालसँग सम्बन्धित अप्ठ्याराहरूलाई आम पाठकहरू समक्ष प्रस्तुत गरेका छन् । कथामा परिवेशको रूपमा वीरगञ्ज आसपासको क्षेत्र, केही काठमाडौँका ठाउँहरू र पटनाका केही स्थानहरू आएका छन् । भाषाशैली सरल प्रकृतिको र सलल बगेको छ तर मधेसीपनको गन्ध कथाहरूमा पाइन्छ । कथाहरू पढिरहँदा पाठको मन मस्तिष्कलाई च्वास्स च्वास्स छोइरहन्छ ।
र अन्त्यमा कथाकार गोपाल अस्कलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दछु र उनको लेखनी अझै तिखारिँदै जाओस् भन्ने कामना गर्दछु ।
गङ्गाप्रसाद भेटवाल कीर्तिपुर नगरपालिका वार्ड नं ४ काठमाडौँ
फोन ९८४९ ७१४८६७ ।
No comments:
Post a Comment