Wednesday, March 26, 2025

कथा – शङ्काभित्रको खुसी - गङ्गाप्रसाद भेटवाल

    कथा –  शङ्काभित्रको खुसी

                                                                               

                                                                                         

                                                                                                                 गङ्गाप्रसाद भेटवाल  


हिउँदको समय काठमाडौँको जाडो मानिसहरूलाई घाम प्यारो छ । रातिको तापक्रम शुन्य डिग्री सेन्टिग्रेडमा झरेको छ । दिउँसो भने आकाश सफा भएकोले पारिलो घाम लाग्छन् । यसरी दिउँसो घाम नलाग्ने हो भने पुषको महिना निकै गाह्रो हुन्छ । 

उमा घरको छतमा बसेर सुन्तला खाँदै हुन्छिन् । सुन्तला खाने समय पनि यही मङ्सिर–पुष महिना नै त हो । छेउमा एक दुई भोगटेका दाना पनि छन् । उमा सुन्तला खाँदै बसेका बेला सन्तोष आउँछ ।

उमा ! सुन्तला तिमी मात्रै खान्छौ कि मलाई पनि दिन्छौ ?

दिन्छु नि बस्नुस् न । सुन्तला ल्याउने हजुर नै त हो सधैं तर आफू कहिले घरमा बस्न भ्याउनुहुन्न सधैं मैले त खाने गरेकी छु नि ।   

सन्तोष छेउमा बस्छ  । त्यहाँ भएका सुन्तलाका दानामध्ये एक दाना उठाउँछ । सुन्तलाको बोक्रा मज्जाले तास्छ । 

उमा π हेर त कति राम्रो सुन्तला । 

‘हजुरले ल्याएको सुन्तला नराम्रो हुन्छ त’ 

‘कुरो त बुझ्छौ तिमी पनि ।’ 

सन्तोषले सुन्तला बीचमा फुटाउँछ र देब्रे हातले उमाको टाउको समाउँछ अनि दाहिने हातले उमाको मुखमा सुन्तला पु¥याउँछ र खुवाउन खोज्छ । 

हैट के गर्नुभएको यस्तो ? 

‘प्यारीलाई सुन्तला खुवाउन खोजेको नि ।’

त्यस्तरी ख्वाएपछि त सबै गेडा पनि निलिन्छन् नि । त्यसरी खुवाउनुहुन्न । 

यी यसरी खुवाउनुपर्छ भन्दै सन्तोषको एक हातबाट सुन्तला लिएर गेडासमेत झिकेर फाली सन्तोषलाई नै उमाले खुवाउँछिन् । सन्तोष पनि आफ्नो अर्को हातको सुन्तलाको केस्राबाट गेडा फालेर उषालाई बाँकी सुन्तला खुवाउँछ । 

प्रेमिल ढङ्गले सुन्तला खाइसकेपछि उनीहरू दुवैजना छतमै रहेको एउटा गुन्द्रीमा बसी मज्जाले घमाइलो वातावरणमा रमाउँछन् । विभिन्न गफगाफ गर्छन् र आपसमा आनन्दित हुन्छन् । 

केही समयपछि त्यहीँ छतमा रहेको भोगटेमध्ये केही भोगटे तासेर उनी नुन–खुर्सानी मिसाउँदै साँध्न थाल्छिन् । 

‘उमा ! तिमीलाई भोगटे खाने रहर अझै पुगेको छैन है ?’

‘खै के भनु हजुर ! बिहे गरेको पन्ध्र वर्ष भयो । घरमा नयाँ मान्छे ल्याउन पाएको छैन । भोगटे खायो बस्यो । यस्तै गरी त समय बित्यो ।’

सन्तोष गम्भीर बन्छ । उमालाई मज्जाले शिरदेखि पाउसम्म हेर्छ । उमाका गालामा केही बुढ््यौली हुन खोजेजस्तो संकेत देख्छ । उमालाई उसले बिहे गरेर ल्याउँदा उमा पच्चिस वर्षकी थिइन् अनि ऊ २७ वर्षको । आज दुवै जना ४० माथि पुगे । उनीहरू घरमा जम्मा दुई जना मात्र छन् । बाआमा भाइका घरमा बस्छन् । सन्तोषको भन्दा पाँच वर्ष ढिलो गरी बिहे भएको भाइका दुई सन्तान भइसकेकाले बाआमा नातिनातिना हेर्न भाइकै घरमा बस्छन् र उतै रमाउँछन् पनि ।

उमा र सन्तोष बाहिरबाहिर हाँसे पनि भित्रभित्रै पिरलोमा पर्छन् । यो पिरलो धेरै वर्षदेखि उनीहरूले झेल्दै आएका छन् । यस्तो पिरलोबाट उन्मुक्ति पाउन दुवैजना पोषिलो खानेकुरा खाएर लक्ष्य केन्द्रित हुन्छन् तर नतिजा शून्य । 

उमा सन्तोषलाई असाध्यै माया गर्छिन् । सन्तोषको माया पनि त्यस्तै छ ऊप्रति । जतिजति उमेर बढ्दै जान्छ त्यति त्यति उनीहरुमा भित्रभित्रै छटपटी बढ्दै जान्छ । उमा कसैका ससाना केटाकेटी देख्दा एक टकले हेर्ने गर्छिन् । त्यो हेराइमा उनका चाहना, इच्छा, रहर र भविष्यसम्मका कल्पना मिसाउँछिन् तर ती सबै उनका अधीनमा हुन्नन् । 

उमाको मनको छटपटी सन्तोषले बुझेको छ । ती दुवैले आफ्नो स्वास्थ्य स्थिति पनि बुझेका छन् । कमजोरी उमामा थिएन । सन्तान नहुनुको कारण सन्तोषको तर्फबाट थियो । परिस्थिति जे जस्तो भएतापनि उनीहरूमा मायाको अभाव थिएन । ऊ आफूलाई फुर्सद हुँदा उमालाई लिएर उनलाई मनपर्ने ठाउँमा घुमाउन लग्थ्यो । 

एकदिन उमाको मनपर्ने स्थान गोदावरीको बोटानिकल गार्डेनमा पुग्छन् उनीहरू ।  त्यहाँको फूलबारी, ससाना खोला बुट्यान, रमाइलो वन, खुल्ला प्रकृतिले दुवैको मन प्रफुल्लित बनाउँछ । चौरको एक कुनामा बसेर प्रेमलाप गर्छन् । उनीहरू आपसमा हराउँछन् । प्रकृतिले शितलता दिन्छिन् अनि मधुर स्वरमा आएको झ्याउकिरीको आवाजले संगीत भरिदिन्छ । त्यो गार्डेनमा सयौं मान्छेहरू यताउता हिँडिरहन्छन् । फोटो खिचिरहन्छन् अनि हल्ला गरिरहन्छन् । तर उनीहरू न त मान्छेहरूलाई देख्छन् न त उनीहरूको हल्ला नै सुन्छन् । उनीहरूलाई लाग्छ –यत्रो आनन्दमय फूलबारीमा हामी दुई मात्र छाँै । 

दिन बितेको पत्तै हुँदैन । एक्कासी त्यहाँको बगैंचे आएर अब जानू, छुट्टी भयो भन्छ । त्यसपछि मात्र उनीहरू झसङ््ग हुन्छन् र आफ्नो आन्तरिक संसारबाट बाहिर निक्लन्छन् । आफूले लगेका पानीका बोतल खाली देख्छन् । लगेको खाजा पनि सकिएको देख्छन् । खान त उनीहरूले नै खाए तर कतिखेर खाइयो भन्ने कुरा थाहा हुँदैन । 

त्यो बोटानिकल गार्डेनबाट उनीहरू बाहिर निस्कन्छन् । बाहिर पार्किङमा राखेको बाइकको धुलो पुसपास पारेर सन्तोषले बाइक स्टार्ट गर्छ । उमा आफ्नो सल, कुर्था मिलाई बाइकमा बस्छिन् । 

 बाइक अगााडिको माइक्रो स्टेशनमा आइपुग्छ ।

‘उमा’ एक कप तातो चिया खाएर जाउँन है !

हुन्छ’ ।

बाइक एक छेउमा अड्याउँछ सन्तोष । तीन चारवटा माइक्रो त्यहाँ हुन्छन् । मान्छेको पातलो चहलपहल । ससाना टहरामा खाद्यान्न पसल अनि त्यस्तै टहरामा खाजा होटल र चिया पसल हुन्छन् । उमाको हात समातेर ऊ एउटा बाँसको मेचमा बस्छ । सामुन्नेको चिया पसल कि साउनी, अधबँैसे उमेरकी महिलाले सोध्छिन् – कस्तो चिया बनाउँ हजुर ?र्

रङ कडा, दूध कडा, चिनी कडा भएको दुई कप । 

हस् हजुर ।’ 

त्यहाँ बसेको बेला उमाको हात आफूतिर तान्दै सन्तोष भन्छ –उमा, तिमी खुसी त छौ नि हैन ?

उमा केही नबोली पुलुक्क सन्तोषको आँखातिर हेर्छिन् । त्यहाँ चार आँखाहरू दुई हुन्छन् । लगत्तै आफ्ना आँखा बन्द गरेर जिउ ढल्काएर सन्तोषसँग टाँसिन्छिन् ।र्

 चिया आयो, हजुर !

साउनीको आवाजले उनीहरू सतर्क बन्छन् । चिया दिने ती महिलाको साथमा तीनजना ससाना केटीहरू पनि देखिन्छन् । 

सन्तोषको मुखबाट फुत्त शब्द निक्लिर्यो ओहो ! साउनीका छोरी तीनतीन जना पो रहेछन् त ।’र्

हो नि । के गर्नु, छोरी छोरी भयो भनेर मुर्दार भागिगो ।

 आउला नि ।

 के आउँथ्यो बजिया, अर्की लिएर भागो, अब आाएर पनि के काम ।’

होटलवाल्नीसँगको छोटो संवादपछि यसो उमातिर फर्कन्छ । उमा ती सानी छोरीलाई बोकेर त्यहाँको अर्को पसलमा गएर चिजबल किनिदिँदै हुन्छिन् । 

उमा, चिया सेलायो । आऊ ।’

 उनीहरू त्यही बाँसको मेचमा चिया खाइसकेर पनि केहीबेरसम्म बस्छन् । 

त्यसपछि सन्तोष भन्र्छ  उमा अब जाऊँ ।’ र्

हुन्छ ।’

बाइक स्टार्ट गरेर सातदोबाटोतिर लाग्छन्् । केही हतार पनि हुन्छ उनीहरूलाई । सन्तोषले बाइकको स्पिड बढाउँछ । गफ गर्दै अगाडि बढिरहेका हुन्छन् । हातीवनको घुम्तीमा रोकिराखेको ट्रकमा उनीहरूको बाइक जोडले बजारिन्छ । स्पिडमा भएकोले ठूलो आवाजका साथ उनीहरू त्यहाँ मोटरसाइकल दुर्घटनामा पर्छन् । दुवैजना बेहोस हुन्छन् । बाटोमा भिड जम्मा हुन्छ । ट्राफिक आउँछन् । उनीहरूलाई घटना मुचुल्का उठाइसकेर अस्पताल पुर्याइन्छ । दुवै जनाको गम्भीर अवस्था हुन्छ । अस्पतालको आइसियुमा राखेर उपचार सुरु हुन्छ । उनीहरूको झोलामा भएको डायरीमा लेखिएको टेलिफोन नम्बरको आधारमा आफन्तलाई समेत अस्पताल आउन भनिन्छ । सन्तोषको दुवै खुट्टा कच्याककुचुक भएको, टाउको फुटेको अनि उमाको पनि टाउको फुटेको र देब्रे हात भाचिएको हुन्छ । अस्पतालमा सिकारु डाक्टरका कारण सन्तोषको दुवै खुट्टाको अपरेसन असफल हुन्छ । उसका दुवै खुट्टा काट्नुपर्ने अवस्था आउँछ । उमाको भने बिस्तारै टाउकाको चोट विसेक हुन्छ ।  लगभग दुई महिना सन्तोषको अस्पताल बसाई हुन्छ भने उमाको पनि पन्ध्र्र्र्र दिन बिरामी बनेर र बाँकी एक महिना पन्ध्र दिन कुरुवा बनेर सन्तोषको जत्तिकै अस्पताल बसाई हुन्छ । 

समय केही बित्यो । परिस्थितिको पाटो पल्टियो । घरमा वैशाखीको सहायताले सन्तोष मुस्किलले यता उता हिडडुल गर्न सक्ने हुन्छ । आफन्त, साथीभाइ भेटघाटका लागि सुरुसुरुमा बाक्लै आउँथे । पछिपछि भेट्न आउने मान्छेको क्रम पनि पातलिँदै जान्छ 

उमा पूर्ण रूपले निको भइन् । सन्तोषको साथी विनोद अलि बाक्लै उसलाई भेट्न आइरहन्थ्यो । यस्तै हो जीवन भनेर सम्झाइरहन्थ्यो पनि । समय बित्दै जाँदा उमा दोजिया भइन् । मुस्किलले अप्ठ्यारो तरिकाले भएपनि सन्तोष र उमाबीचका विविध कारोबार, घरव्यवहार आदि चलेकै थिए । उमा दाजिया भएपछि विनोद उनीहरूकोमा जान असजिलो मान्न थाल्यो र जान निकै कम गर्न थाल्यो  । त्यस घरबाट बोलावट भएमा मात्र जान थाल्यो । 

केही समयपछि उमाले छोरालाई जन्म दिइन् । सन्तोष र उमालाई त्यो बुढ्यौली उमेरमा सन्तानको सुख पाउने अवसर जुर्यो । छोराको नाम पुरोहित बाजले पुण्यप्रसाद राखिदिए । 

पुण्यप्रसाद घर अगाडिको आँगनमा मज्जाले खेल्न सक्ने भयो । ऊ हाँसी हाँसी घरलाई उज्यालो बनाउथ्यो । सन्तोष पनि मज्जाले हाँस्थ्यो तापनि मनको एक कुनामा यो छोरो मेरो हो कि होइन भन्ने भाव राखिराख्थ्यो तर दुनियाको नजरमा पुण्यप्रसाद उसकै छोरो देखिँदा ऊ खुसी थियो । उमामा त खुसीको सीमा नै थिएन । छोराकी आमा बन्न पाउँदा संसार जितेको अनुभूति भएको थियो तैपनि मनको एक कुनामा घटनाको पर्दाफास हुन्छ कि भन्ने डर रहिरहन्थ्यो । पछिल्ला दिनमा विनोद पनि त्यो घरमा बाक्लै आउँथ्यो । सन्तोषसँग कुरा गरेको बहाना गथ्र्यो । उमाको हालखबर सोधेजस्तो गथ्र्यो र पुण्यप्रसादलाई च्याप्प समाएर माया गथ्र्यो तर उसको मनमा पनि घटनाले के रूप लेला भन्ने झस्का परिरहन्थ्यो । हजुरबा हजुरआमा पनि हाम्रो बुढेसकालको नाती भनेर पुण्यप्रसादलाई खेलाउँथे । बेलाबेला ट्वाल्ल परेर हेर्थे तैपनि नाती पाएकोमा खुसी थिए ।

पुण्यप्रसाद एउटा बालक थियो तर उसले नजानिकन पनि धेरैलाई खुसी दिएको थियो । 

                  समाप्त । 

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर वडा नं ४ काठमाडौँ

 फोन – ९८४९७१४८६७ । 





Sunday, March 23, 2025

स्रष्टा पदयात्राको ९२ औं शृङ्खला - गोरखा - शीतल गिरी

स्रष्टा पदयात्राको ९२ औं शृङ्खलामा २०८१ चैत्र १ का दिन बिहान ७.४५ मा गोंगबु बसपार्कबाट गोरखा यात्रा शुरु भयो । यो यात्रामा कार्यसमिति सदस्य मन्दिरा मधुश्रीको संयोजनमा स्रष्टा पदयात्री हरू – १.
शीतल गिरी, २. खोलाघरे साहिंलो, ३. शान्ति सापकोटा, ४. मन्दिरा मधुश्री, ५. राजन पुडासैनी, ६. विमल अर्याल, ७. वसन्त रिजाल, ८. डा.बालचन्द्र मिश्र, ९. गंगाप्रसाद भेटवाल, १०. नानीबाबा अधिकारी, ११. हरिबोल काफ्ले, १२. शोभा शरभ, १३. दुर्गा भवानी भट्ट, १४. घनश्याम प्रसाइं, १५. गीता रेग्मी, १६. डिल्लीराज अर्याल, १७. हरिश कल्पित, १८. सुमन पुडासैनी, १९. पवित्रा अधिकारी, २०. लक्ष्मी थापा, २१. अनिता कोइराला, २२. सुभाष ढुंगेल, २३. विजया बस्नेत, २४. जयराम विडारी, २५. सानु पोखरेल, २६ शान्ता देवकोटा देवकोटा, २७. चिरञ्जीवी देवकोटा, २८.भारती न्यौपाने, २९. दिपक भेटुवाल, ३०. ज्ञानुवाकर पौडेल, २८.त्रिपुरारी पौडेल, ३२. सन्तोष आमगाईं थिए । पृथ्वी राजमार्गबाट नौबिसे, गल्छी, गजुरी, मलेखु आदि हुदै १२.१० मा कुरिनटारमा भोजन गरेर, आबु खैरेनी, दरौंदी, ठिगुरेछाप, पेट्रोलपम्प हुंदै २ बजे गोरखा पुगियो । गोर्खा इन होटलमा झोला बिसाएर गोरखाका पूर्व नगरप्रमुख विश्वेश्वर कट्टेलको अगुवाइमा होटलभन्दा केही माथि रहेको रानीपोखरी अवलोकनपछि ठुलो आंगनमा गोरखा नगरपालिकाको आयोजकत्वमा कार्यक्रम भयो । विजय उपाध्यायको सञ्चालन, अध्यक्ष नगरप्रमुख कृष्णबहादुर राना मगर, प्रमुख अतिथि जिल्ला समन्वयका अध्यक्ष मोहनबहादुर मगर हुनुहुन्थ्यो । विशेष अतिथिमा पुन्यविक्रम पौडेल प्र जि अ, मसलीमाया ठोकर नगर उपमेयर, स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरी, पूर्वमेयर विश्वेशर कट्टेल हुनुहुन्थ्यो ।
स्रष्टा पदयात्रीलाई रुद्राक्ष माला र नगरको लोगो अर्पण गरेर गोरखा नगरले स्वागत गरेपछि स्रष्टा पदयात्रा नेपालका महासचिव गंगाप्रसाद भेटवालले सभालाई सम्बोधन गर्नुभयो । स्रष्टा पदयात्राले पर्यटन क्षेत्रको विकासमा गर्नसक्ने भूमिकाको बारेमा उदाहरणको रुपमा काठमाडौं जिल्लाको दक्षिणकाली नपामा रहेको चौकोटदेवी यात्राबारे जानकारी गराउँदै बताउंदै “गोर्खा बुझेर आऊ“ कवितावाचन गर्नुभएको थियोे । रचनावाचनको क्रममा गोरखा जिल्लाका निर्वाचन अधिकारी चेतबहादुर कोइरालाबाट “अरूका बा” व्यङ्गकविता, खोलाघरे साहिंलोबाट “फगुवा”, शान्ति सापकोटाबाट “छैन निदरी” छन्द कविता, मन्दिरा मधुश्री, सन्तोष अमगाईं र त्रिपुरा पौडेलबाट मुक्तक, दुर्गा भवानी भट्टबाट “एक्लै” र घनश्याम प्रसाईंबाट “सबै जुट्नुपर्छ” शीर्षकको कविता, विजय उपाध्यायबाट गजल र ज्ञानुवाकर पौडेलबाट गजल वाचन भएका थिए । उपमेयर मसलीमाया ठोकरबाट हामीले आगामी पुस्तालाई सही सन्देश दिन सक्नुपर्छ भन्ने आशयको मन्तव्य प्रस्तुत गर्दै गोर्खालाई वास्तविक अनुभव गरेर स्रष्टाहरूलाई यथार्थ लेखनको अनुरोध गर्नुभयो । स्रष्टा पदयात्री गीता रेग्मीले सम्बोधन गर्दा उदयानन्द अर्याल गोरखाका भएको चर्चा गर्नुभयो र शीतल गिरिले आफ्नो सम्बोधनमा गोरक्षनाथ र गोरखाको सम्बन्ध, घाटुनाचको चर्चा गर्दै सिद्धलखन थापा र विद्रोही लखन थापा दुई जना भएको सुनाउनुभयो ।
यसैगरी विश्वेश्वर कट्टेल, प्रजिअ पुण्यविक्रम पौडेलबाट सम्बोधन, प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष मोहनबहादुर मगरबाट सम्बोधन भएपछि कार्यक्रमका अध्यक्ष कृष्णबहादुर राना मगरबाट गोर्खा ऐतिहासिक व्यक्तित्वहरूको चर्चा, हिमाल–पहाड–तराई गोरखाको प्राकृतिक भूबनोट रहेको हुंदा, भाषिक विकास, एकता गर्नुपर्छ भन्ने आशयका साथ सधन्यवाद सभा विसर्जन गर्नुभयो । यसपछि पृथ्वीनाराणको सालिक रहेको सो स्थलमा सैनिक आएर सलामी दिने समय भएकोले, सैनिक टुकडीबाट सलामी अर्पण र परेड गरेको बडो मनोहर लाग्यो । बिहान सूर्योदयको समयमा र सांझ सूर्यास्तमा यो सलामी हुने गरेको नगरप्रमुख कृष्णबहादुर मगरले बताउनुभयो । परेड सकिएपछि स्रष्टा पदयात्राका सदस्य गीता रेग्मी अर्यालको घर यही नजिकै रहेकोले हामीले उहांको घरमा गएर चिया पियौं । ७ बजे होटल गोर्खा इनमा आइपुगेपछि पुनः होटलकै हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा ८.३० सम्म सहभागी भयौं ।
मेयर कृष्णबहादुर मगरले गोरखा नगरपालिकाले गरेका सामाजिक सेवाका कामहरूबारे बडो सालीन ढंगबाट जानकारी दिनुभयो । शिक्षामा सुशासन, स्वास्थ्यमा धेरै प्रकारका उपचार निःशुल्क गरिएको, कृषि उत्पादनमा कृषकलाई प्रोत्साहन हुने नीति बनाएर व्यावहारिक बनाएको, जन्मदेखि मृत्युुसम्म कार्यक्रम लागू गरेर शिशु जन्मिदा पनि विशेष सुविधा र मृत्युुपछि दाह संस्कारगर्न घाटमा पनि निसुल्क दाउरा उपलब्ध जस्ता विशेष राहत दिने गरिएको जानकारी दिनुभयो । गोरखा नगरपालिकाका यस्ता सामाजिक सेवा सुविधा दिने कार्यहरू नगर समितिकै सामुहिक निर्णयबाट पहल र अनुगमनमा हुने गरेको सुन्न पाउंदा ज्यादै खुशी लाग्यो । यो न पा उदाहरणीय रहेको अनुभव भएको छ । हार्दिक धन्यवाद गोर्खा न पा का मेयर, उपमेयर, पूर्व मेयर, प्रजिअ र यो नगरपालिकाका सम्पूर्ण नागरिकहरूमा स्रष्टा पदयात्राको तर्फबाट ।
२ गते शनिबार बिहानको नित्यकर्मपछि होटलमै चिया खाएर पूर्व नगरप्रमुख विश्वेश्वर कट्टेलको साथमा गोरखा बजारबाट माथि रहेको गोरखा दरबार, पृथ्वीनारायण शाहको जन्मस्थल, गोरक्षनाथ, गोरखकाली मन्दिर हेर्न उकालो लाग्यौं । त्यहा रामशाहको चौतारो लगायत भ्रमण अवलोकनगरी फर्केर आएपछि भोजन गरेर बुङकोट जाने योजना छ । ६.४० मा उकालो लाग्यौं, ८ बजेतिर माथि डाँडामा पुग्यौं । जांदाखेरि उकालो सिंढीदार बाटो, कतैकतै थोरै सुस्ताउंदै गयौं । माथि रामशाहको चौतारामा केही बेर अवलोकन गर्यौं, अनि लाग्यौं मूल लक्ष्यतिर । दरबार परिसरमा पुगेपछि पृथ्वीनारायण शाह जन्मेको कोठा हेर्यौं, दरबार हेर्यौं, गोरखनाथ र गोरखकालीको मन्दिरमा दर्शन गर्यौं । अनि थोरै ओरालो झरेर बसमा चढेर तल होटलमा फर्किएर भोजन गरेर १०.३५ मा पुनः बसमा चढेर ११.३० बजे शहीद लखन गाउंपालिकामा पुगेर पालिकाले आयोजना गरेको कार्यक्रममा दिनभरि सहभागी भयौं ।
सहिद लखन थापा गाउंपालिका गोर्खाद्वारा आयोजित, शहिद लखन साहित्य समाज सहआयोजक र स्रष्टा पदयात्रा नेपाल समन्वयकर्ता रहेको “स्रष्टा जमघट तथा सिर्जनावाचन कार्यक्रम” शहिद लखन गाउँपालिकाको वडा नं ७ को गापा भवनमा सम्पन्न भयो । कार्यक्रम पालिका अध्यक्ष रमेशबाबु मगरको अध्यक्षता, मोहनबहादुर मगरको प्रमुख आतिथ्य र ज्ञानुवाकर पौडेल, शीतल गिरि विशेष आतिथ्यमा हुनुहुन्थयो । बाबुराम मगरद्वारा स्वागत मन्तव्य, छात्राहरूद्वारा स्वागतनृत्य, स्रष्टा पदयात्री मन्दिरा मधुश्रीबाट मन्तव्य, बुङ्कोट महिला भजन समूहद्वारा भजन प्रस्तुत “प्यारो छ नेपाल सुन्दर शान्त विशाल...” । स्थानीय स्रष्टा चरन खनालबाट हाईकू, सीताराम भण्डारी कविता “रित्तिए छिमेकी”, रामचन्द्र कविता, बाबुराम मगर “नाति” कविता, विष्णु कार्की कविता, चूडामणि न्यौपाने गजल, जुना रेग्मी गजल, राजेन्द्र गजल, शिव श्रेष्ठ गजल, केशवप्रसाद ढकाल ‘कोपिला’ गजल, लक्ष्मी पाण्डे केही शिलोक लगायतका रचना वाचन गरिएका थिए । लखन गा पा का अध्यक्ष रमेशबाबु मगरको गजलसङ्ग्रह “वसन्तको आंकुरा” विमोचन गरिएको सो साहित्यिक कार्यक्रममा केही गजल वाचन, राधाकृष्ण भजनसमूहद्वारा भजन प्रस्तुत पनि गरिएको थियो ।
विमोचित कृतिमा भूमिका लेख्ने सुपरिचित गजलकारा ज्ञानुवाकर पौडेलद्वारा सो कृतिबारे छोटो मन्तव्य । नारायण पोखरेलबाट शुभकामना मन्तव्य र “गाउंमै मर्न पाऊ” कविता मालिनी छन्दमा वाचन । स्रष्टा पदयात्री भारती खरेल “देशको स्पन्दन”, डिल्लीराज अर्याल “ढुङ्गालाई ढोग्छु”, घनश्याम प्रसाईं “उठ किसान दाजुभाइ” प्यारोडी गीत, हरिबोल काफ्ले “लखन थापाको पुकार”, शीतल गिरिको मन्तव्य, महासचिव गङ्गाप्रसाद भेटवालबाट पदयात्री स्रष्टाहरूको परिचय प्रस्तुत, वसन्त रिजालबाट स्वागत नृत्य गर्ने तीनजना नर्तकीहरूलाई जनही रू १ हजार प्रदान गर्नुभयो । ज्ञानुवाकर पौडेलबाट गजल प्रस्तुत भएपछि, गाउपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीबाट सम्बोधन । प्रमुख अतिथि मोहनबहादुर मगरबाट सम्बोधन र अध्यक्ष रमेशबाबु मगरबाट सम्बोधनपछि सभा समापन भयो । त्यसपछि बसबाट बुङकोटको काउले भँगार भन्ने ठाउ (शहिद लखन थापाको जन्मस्थल) मा बसबाट गयौं । होमस्टे समितिका तर्फबाट स्रष्टा पदयात्रीलाई पुष्पगुच्छा र सेतो अक्षताको टीका लगाइदिएर स्वागत गरिएको थियो । होमस्टेहरूमा नै बाँडिएर बसीयो । भोजन भने सबैको एकै ठाउंमा भरत आलेको घरमा भयो । राती ११ बजेको करिबसम्म मगर समुदायको कौडा नृत्यमा स्रष्टा पदयात्री रमाए ।
☝✌✌✌✌✌✌✌✌✌✌
३ गते आइतबार बिहान होमस्टेबाट नित्यकर्मपछि एउटै होमस्टेमा बसेका विमल अर्याल, वसन्त रिजाल, घनश्याम प्रसाईं र खोलाघरे साहिंलो यति चार जना गाउ एउटा खास उदेश्य लिएर गाउंघुम्न गएछन् । अन्य स्रष्टाहरू बिहानको चियापान पश्चात शहीद लखन थापाले बनाएको बुङ्गकोट दरबारको भग्नावशेष अवलोकन गर्न उकालो चढे, जलकन्यादेवीको मन्दिर दर्शन गर्न तेस्रो बाटो लागे । बिहानै गाउँ घुम्न गएका चार जनाले स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरिको आज परेको जन्मदिनमा सरप्राइज शुभकामना दिन खादा र एक डिब्बा चक्लेट लिएर आए । एकाएक लखन थापाको स्मारकस्थलमा जन्म दिवसको सामुहिक शुभकामना अर्पण गरेर वातावरण बडो रमणीय बनाएका थिए । यो परिसमा शहिद लखनको पूर्ण कद र अर्ध कदका को शालिक, अन्य शहिदहरूका पनि शालिक रहेका छन् । स्मारक परिसरमा स्थानीय सुवास आले र गा पा अध्यक्ष रमेशबाबु थापाले सहजीकरण गर्नुभयो र शहीदहरूका विषयमा धेरै जानकारी दिनुभयो ।
जङ्गबहादुरको क्रूर शासनको जीवन्त कथा बोकेको यो ठाउँमा पुगेर हामीलाई धेरै जानकारी मिलेको छ । त्यहीं रचनावाचन पनि भयो जसमा लखन थापा सम्बन्धी रचनाहरू प्रस्तुत भए । बालचन्द्र मिश्र र मन्दिरा मधुश्रीको सहगायनमा लखनसम्बन्धी गीत लोकलयमा, विमल अर्यालबाट सुसेलीहरू वाचन, खोलाघरे साहिलोबाट मालिनी छन्दमा “लखनको गाउंमा” कविता वाचन, लक्ष्मी थापाबाट “चुहिएका सपनाहरू” कविता, विजया बस्नेतबाट “लखनको गाउँसम्म” शार्दूलविक्रीडितमा, अनिता कोइरालाबाट “शहीदकी छोरी शहिदको भूमिमा”, ज्ञानुवाकर पौडेलबाट सम्बोधन, सुवास आले मगरबाट अन्य जानकारीका साथ ३ वटा गजल वाचन, ज्ञानुवार दाइले ३ शेर सुनाउनुभयो, विमल अर्यालले सहिद लखन थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सबैलाई समुचित सम्बोधन गर्दै सधन्यवाद सभा समापन गर्नुभएपछि स्माररकस्थलबाट फर्केर होमस्टेमा भोजन गरिसकेपछि स्थानीयहरूले हामीलाई सेतो दही अक्षताको टीका लगाएर, पुष्पगुच्छा दिएर विदाइ गर्नुभयो ।
💢💢💢💢💢💢💢💢💢💢💢💢💢💢💢

अनि बसबाट गोर्खातिर लाग्यौं । हामी १०.३० मा गोर्खा न पा पुगेका थियौँ । त्यहां हिजो समयाभावले गर्दा हेर्न नपाइएको गोरखा सङ्ग्रहालय हेर्यौ । र यो काठमाडौं फिर्ता आउन १२.३० मा बसमा चढ्यौं । गोरखा नगरपालिकाका पूर्वमेयर श्री विश्वेश्वर कट्टेल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री पुण्यविक्रम पौडेल, मेयर श्री कृष्णबहादुर मगर, उपमेयर मसलीमाया ठोकर, जिल्ला समन्वय समितिका अध्यक्ष श्री मोहनबहादुर मगर, शहीद लखन थापा गाउंपालिकाका अध्यक्ष श्री रमेशबाबु थापा, उपाध्यक्ष इन्दिरा तिवारी, विशेष सहयोगी काउले भँगारका श्री सुवास आले मगर एवम् होम स्टेका भरत आले लगायत सम्पूर्ण सहयोगी मनहरूमा आभार ।
full Video of Gorkha Travel
स्रष्टा पदयात्राको 91 episode
स्रष्टा पदयात्राको 90th episode
स्रष्टा पदयात्राको 89th episode
novel by ram chandra dahal 









Saturday, February 8, 2025

समाजसेवी उत्तम पुडासैनी अभिनवमा सम्मानित

  • अभिनव साहित्य समाजमा हरेक महिना रचनावाचनका कार्यक्रम हुने गर्छन् । हरेक महिनाको अन्तिम शनिबार हुने रचनावाचनका साथ अतिरिक्त  पुरस्कार अर्पणका कार्यक्रम पनि जोडिएर सम्पन्न हुने गरेको छन्् । आज अभिनव मणिराम शिक्षा तथा समाजसेवी पुरस्कार वितरण समेत जोडिएर रचनावाचन सम्पन्न भयो । आजको कार्यक्रमको सभापतित्व अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले गर्नुभएको थियो भने सञ्चालन शारदा पराजुलीको रहेको थियो । स्वागत मन्तव्य मेनका आचार्यको रहेको थियो । प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र विशिष्ट अतिथिमा प्राध्यापक पिताम्बर दाहाल रहनुभएको थियो । कार्यक्रममा सर्जक कविहरू सुशील आचार्य, ओमप्रसाद कोइराला, ठाकुर खतिवडा, प्रदीप आचार्य, डिल्लीराज अर्याल, परासर रिजाल, सिताराम पोखरेल, रामचन्द्र दाहाल, बाजुराम पौडेल, बसन्त रिजाल, गीता बराल, ब्रह्मप्रिय प्रेमस्वरूप, बिपि इलामे, मेनका पोखरेल, घनश्याम प्रसाई लगायतका व्यक्तित्वहरूले रचनावाचन गर्नुभएको थियो । आज दर्शक दीर्घामा संविधानसभा सदस्य रामेश्वर फुएल लगायतका समाजसेवी, साहित्यकार, स्थानीय बासीहरू उपस्थित हुनुहुन्थ्यो । आजको कार्यक्रममा डा. सुवास प्याकुरेल जो मणिराम चालिसेका नाती पनि हुनुहुन्छ उहाँले मणिराम चालिसेकोबारेमा जीवनका विविध पक्षबारे जानकारी दिनुभयो । स्वर्गीय मणिराम चालिसे राजनीतिज्ञ, समाजसेवी, शिक्षाप्रेमी, उद्यमी र धेरैका प्रेरणाका स्रोत हुनुहुन्थ्यो । उहाँको भेट तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भएको सन्दर्भ पनि आज कार्यक्रममा चर्चा भयो । मणिराम शिक्षा तथा समाजसेवा पुरस्कार  समाजसेवी उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिका ६ का बासिन्दालाई प्रदान गरियो ।  पुरस्कृत व्यक्तित्व उत्तम पुडासैनीको बारेमा संस्थाका अध्यक्ष घिमिरेले प्रकाश पार्दै भन्नुभयो धर्ती बचाऊँ जीवन जोगाऊँ अभियान, फोहोर मुक्त समाज, बागमती सफाई, बाछाबाछी संरक्षण अभियान र विकृति विसंगति विरुद्धका अभियानमा सम्मानित पुडासैनीले ४६ सालदेखि नै कार्य गर्दै आउनुभएको हो । समाजलाई जसले सम्मान गर्छ उसलाई समाजले पनि सम्मान गर्छ । विदेशमा १० वर्षको कामको अनुभव समेत लिएर आफ्नै समाजको सेवा गर्न आएका पुडाासैनी उदाहरणीय पात्र हुन् । उनले लामो समयदेखि गाई बाछा बचाउ अभियानमा देखाएको सक्रियताले समाजको मन जितेका छन्  । गत वर्ष यो पुरस्कार समाजसेवी  उद्धव रायमाझीलाई प्रदान गरिएको थियो । बहुजन हिताय कार्य गर्ने व्यक्ति चालिसे र पुडासैनी अनि रायमाझी जस्ता व्यक्तित्वलाई समाजले जहिले पनि सम्झिरहन्छ । चालिसे परिवारद्वारा स्थापित यो पुरस्कारले सबैलाईे आआफ्ना मातापिताको सम्झनामा केही न केही योगदान गरौं भन्ने सन्देश दिएको छ । आजै यही अभिनव साहित्य समाजका उपाध्यक्ष बिमल अर्यालकी काकी आमाको १३ौं पुण्य तिथिको पुण्य दिनको समय पनि रहँदा संस्थाका उपाध्यक्ष अर्यालले काकीको नाममा रु ५ लाख अक्षयकोष राख्ने सूचना संस्थाका अध्यक्ष गोविन्द घिमिरे वेदमणि मार्फत सुनाउनुभएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले प्रमुख अतिथिको आसनबाट बोल्दै चालिसे परिवार र उत्तम पुडासैनीलाई धन्यवाद दिनुभयो । रमेश विकल साहित्य प्रतिष्ठानको समेत उहाँले त्यहाँ चर्चा गर्न भ्याउनुभयो । नगरपालिकाले राम्रो काम गर्ने सबै व्यक्ति र संस्थालाई सम्मान गर्ने गरेको चर्चा गर्दै खराब काम गर्नेलाई समाजले सचेत गराउनुपर्छ र नराम्रोलाई सच्याउने काममा नगरपालिका पनि लाग्ने गरेको, असललाई सम्मान खराबलाई दण्ड भन्ने नारा नगरपालिकाको रहेको र व्यवहार पनि देखिएको भन्ने कुरा राख्नुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व उत्तम पुडासैनीले भावुक हुँदै आफ्ना विगतका समाजसेवाका कार्यहरू बताइरहँदा उपस्थित सबैको आँखा रसाई पनि रहेको थियो । उहाँ आफै पनि भावुक भएर शब्दहरू व्यक्त गरिरहनु भएको थियो । आजको कार्यक्रममा प्राध्यापक पिताम्बर दाहालले राजनीतिको प्रसङ्ग समेत जोडेर पुराना दलहरू र नयाँ आउने दलहरू सबैलाई सजग भएर असल नियतका साथ समाज सेवामा लाग्न आग्रह गर्नुभयो र आफ्ना विगतका ऐतिहासिक प्रसङ्ग समेत प्रस्तुत गर्नुभयो । अभिनव साहित्य समाजको कार्यक्रममा हरेक महिना वाचित रचनाहरू मध्येबाट केही रचनाहरूलाई सान्त्वना पुरस्कार दिने परम्परा रहेकोमा आज पनि केही सर्जकहरु सान्त्वना पुरस्कारबाट पुरस्कृत हुने समेत अवसर पाए । कार्यक्रमको अन्त्यमा समीक्षक परशुराम परासर (सचिव ) ले आज वाचित रचनाहरूको संक्षिप्त समीक्षा गर्नुभयो । 





Monday, December 23, 2024

८९ औं स्रष्टा पदयात्रा - खोलाघरे साहिंलो

 


८९ औं स्रष्टा पदयात्राको लागि मिति २०८१/०९/०५ र ६ गते हामी बस काभ्रेको मण्डन देउपुर गयौं । यो यात्राका संयोजक डा.बालचन्द्र मिश्रजी हुनुहुन्थ्यो । उहाँको निर्देशन अनुसार यात्रा सहज बनाउन कुन्ताबेसीमा बसबाट ओर्लिएर चियाखाजा खाएर मन्डन देउपुर नगरपालिकाको कार्यालय कुन्ताबेसीमा पुग्यौं । त्यहाँको नगरपालिकाद्वारा हाम्रो भव्य स्वागत भयो। मेयर टोकबहादुर वाईबा,उपमेयर विष्णुप्रसाद नेपाल लगायत सबै जनाको परिचय आदानप्रदान गरेर पुस्तक विमोचन, मन्तव्यहरू भयो । स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवाल,सचिव शारदा पराजुली ले यहाँ दयात्राबारेमा थप प्रकाश पार्नुभयो भने हरिबोल काफ्लेले पनि लामो मन्तव्य दिनुभयो । सभा सकेर नगरपालिकाकै क्यान्टिनमा, दिउँसोको खाना, खानापछि विन्ध्यवासिनी मा. वि.मा त्यहाँका स्टाफहरूसँग पहिलो चरणको रचना वाचन र उपाध्यक्ष विमल अर्यालबाट सामान्य मन्तव्य भयो । सो सकेर दिउँसो ४ बजे इन्द्रावती नदीको बगरमा दोस्रो चरणको रचना वाचन भयो । बेलुका ६ बजेदेखि ७ बजेसम्म साँझको खाना र केही समयको विश्रामपछि साँझ ७ बजेतिर जेष्ठ नागरिक भवन आँपघारीमा आयोजित भजनकीर्तन कार्यक्रममा स्थानीयहरूसँग सहभागी भयौं । कीर्तन गरिसकेर राति ९ बजे उहाँहरूले व्यवस्थापन गर्नुभएका घरहरूमा बाँडिएर रात्रिविश्राम गरियो । पुस ६ गते शनिवार बिहान ६ बजे उठेर ७ बजे चिया पिएर उकालो लाग्यौं । हामीलाई स्थानीय गणेश नेपालले सँगसँगै हिंडेर निर्देश गरिदिनुभयो साथै उहाँले दिनुभएको भुटेको मकै भटमास,बदाम खाजा खाँदै बिहान ७ बजेदेखि श्रीचौर हुँदै चन्डेनी भन्ज्याङ पुग्यौं र उमा सह शिक्षालय चण्डेनीका प्र अ शालिकराम श्रेष्ठको घरमा चियापान गरेर पुनः उकालो लाग्यौं । ११ बजे चन्डेनी माथिको थामडाँडा बुद्ध थुम्कामा पुग्यौं। त्यहाँ जाँदा उल्लेख्य संख्याका स्थानीय महिला,शिक्षिका र विद्यार्थीहरूले हामीलाई साथ दिएका र निर्देशन गरेका थिए। त्यहाँ रहेको भ्युटावरबाट दृश्यावलोकन गरी १२.१५ मा चण्डेनीको उमा सहशिक्षालयमा जम्मा भएर सहभोजन गरियो । भोजनपछि सोही विद्यालयमा अन्तिम रचनावाचन गरिसकेर सबै स्थानीयहरूसँग विदा भएर हामी दिउँसो २.४५ बजे फिर्ता आउन बसमा चढेका थियौं । स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवाल र यो ८९ अ‍ौं पदयात्राका संयोजक डा. बालचन्द्र मिश्रले समयसमयमा आवश्यक जानकारी र निर्देशनहरू गरिरहनुभयो । यस यात्रामा १. डा.बालचन्द्र मिश्र, २. शीतल गिरी, ३. राजन पुडासैनी, ४. शम्भु गजुरेल, ५. शारदा पराजुली, ६. परशुराम परासर, ७. नवराज रिजाल, ८. दुर्गा भवानी भट्ट, ९. विमल अर्याल, १०. खोलाघरे साहिंलो, ११. शोभा पोखरेल, १२. नानीबाबा अधिकारी, १३. गङ्गाप्रसाद भेटवाल, १४ विष्णु शर्मा पराजुली, १५. एञ्जेल नीलु, १६ प्रभा बराल, १७. रामकुमार पण्डित, १८. सुमन पुडासैनी, १९ कृष्ण सुवेदी निराकार, २०. निशा केशी, २१ डिल्लीराज अर्याल, २२. हरिबोल काफ्ले, २३ विजया बस्नेत, २४. डा.शशी थापा पण्डित,२५. दीपक लोहनी र २६. मन्दिरा मधुश्री यति २६ जनाको सहभागीता रहेको थियोे ।

स्थानीय जनप्रतिनिधिहरू मेयर,उपमेयर,वडाध्यक्षहरू,सहजकर्ता गणेश नेपाल,शालिकराम श्रेष्ठ लगायत मण्डन देउपुर न पा का सम्पूर्णमा आतिथ्य र सरसहयोगका लागि हार्दिक धन्यवाद ! नयाँ सदस्यका रूपमा सहभागी हुनुभएका झापाका साहित्यकार कृष्ण सुवेदी निराकारलाई हार्दिक स्वागतम् !
जय स्रष्टा ! जय साहित्य !! ***०८१/०९/०७
















Monday, December 2, 2024

कालो गुलाफ कथासङ्ग्रह भित्र के छ ? -गङ्गाप्रसाद भेटवाल

  कालो गुलाफ कथासङ्ग्रह भित्र के छ  ?                                                            गङ्गाप्रसाद भेटवाल  

                                                                                             

कालो गुलाफ कथासङ्ग्रह कथाकार गोपाल अस्कद्वारा लिखित कथाहरूको सँगालो हो । यो कथा सङ्ग्रहलाई ओरिएन्टल पब्लिकेशन प्रा.लि.ले २०८० साल आश्विन महिनामा प्रकाशनमा ल्याएको हो । यस सङ््गहमा प्रा.डा. लक्ष्मणपसाद गौतमले समीक्षात्मक भूमिका लेख्नुभएको छ । त्यसपश्चात् कथाकारको छोटो भनाइ  र प्रकाशकीय रहेको छ । यस सङ्ग्रहमामा पन्ध्रवटा कथाहरूलाई संकलन गरिएको छ । यस सङ्ग्रहमा संकलित भएका कथाहरूले अधिकांश मधेस क्षेत्रका सन्दर्भहरूलाई प्रस्तुत गरेका छन् भने केही केही कथाहरूका परिवेश र पात्रहरूले पहाड क्षेत्रलाई समेत समेट्न भ्याएका छन् । सिङ्गो कथा सङ्ग्रहलाई बुझ्न सजिलो होस् भनेर पन्ध्र्र वटा कथाहरूको छुट्टाछुट्टै संक्षिप्त स्वरूपलाई यो  समीक्षात्मक लेखमा सारगत रूपमा प्रस्तुत गरिएको छ ः 

कथा १ – कालो गुलाफ

यस कथामा पात्रहरू रामलाल यादव उपनाम अग्नि, उसकी श्रीमती रमपतिया, छोरा गापी र अपरिचित व्यक्ति निर्मलमणि सापकोटा उपनाम ज्वाला रहेका छन् । यस कथामा माओवादी आन्दोलनको झलक छ । माओवादीभित्र पनि पहाडे र मधेसीको भावना आएको छ । आन्दोलनकारीहरू गणतन्त्र आएपछि धेरै नै मन्त्री बनेका छन् । उनीहरुमा दक्षिणी छिमेकी राष्ट्रलाई हेर्ने दृष्टिकोण उस्तै–उस्तै भएपनि पहाडे र मधेसे नेताहरूले एकअर्कालाई आरोप लगाउने गरेका छन् । माओवादीभित्रका नेतामा पनि मधेसलाई हेर्ने नजर त्यति राम्रो पाइँदैन । पहाडेले आफूलाई लालीगुराँससँग तुलना गरेका र सोही प्रकारले मधेसेले आफूलाई गुलाफसँग तुलना गर्दा पहाडेले गुलाफ त हौ तर कालो गुलाफ हो भनेर मधिसेप्रति नकारात्मक सोच व्यक्त गरेका छन् । यही कथाको शीर्षकबाट सिङ्गो सङ्ग्रहको नामकरण समेत भएको देखिन्छ । 

कथा २ – एउटा लेखकको आत्मकथा 

यस कथामा लेखको जीवनचर्यालाई प्रस्तुत गरिएको छ । वास्तविक लेखक जो गरिवीसँग जुधेको छ । चार दर्जनकृति लेखे पनि बाँच्नकै लागि ती कृतिहरू अरुलाई बेच्नु परेको छ । लेखकले घोस्ट राइटिङलाई आफ्नो पेशा बनाएको छ । कथामा मोफसलका साहित्यकारहरूबाट पनि राजधानीमा बस्ने लेखक पीडित भनेको छ । आफ्नै श्रीमतीले समेत आफ्नो विवशता बुझ्न नसकेको अवस्था कथामा छ । श्रीमतीले श्रीमान्बाट पैसा पाउँदा अति खुसी भएको देखिन्छ तर श्रीमान्को अवस्था बुझ्न चासो राखेको छैन । आफन्तको विवाहमा कृति बेचेर खर्च जुटाउन लेखक बाध्य छ । यस कथामा लेखकको लाचारीपन प्रस्तुत भएको छ । 

कथा ३ – प्र्रेमको मृत्यु 

यस कथामा मुख्य पात्रका रूपमा रमा, टाङ्गावाल भैया, राकेश, राकेशकी बहिनी, मास्टर काका अर्थात् अविनाश आँशुतोष, राकेशकी आमा लगायतका पात्रहरू आएका छन् । परिवेशमा मधेस छ । मुख्य पात्र रमा एम.ए. तहको पढाइ सकेर शोधकार्यमा संलग्न भएकी छन् । तराईमा रहेका विद्वान अविनाश आशुतोषको विषयमा उनको शोधकार्य हुन्छ । उनी काठमाडौँबाट बस चढेर मधेशमा पुग्छिन् र त्यहाँबाट टाङ्गाको सहारा लिएर अविनाश आशुतोषको घरमा पुग्छिन् । आशुतोषलाई मास्टर काका समेत भनिने गरेको टाङ्गावालाबाट थाहा पाउँछिन्। अविनाश आशुतोसरको घरमा राकेश पनि भेटिन्छ । वास्तवमा राकेश र रमा सहपाठी र प्रेम जोडी हुन्छन् । अविनाश आशुतोष सरको छोरा भएको उसले रमालाई भनेकै हुँदैन अचानक त्यहाँ रहस्य खुल्छ । राकेशकी बहिनी, आमा, बाबाबाट रमाले एकदमै माया पाउँछिन् । शोधको लक्षित कार्यक्रम सकिएपछि काठमाडौँ फर्किने बेलामा बस चढाउन राकेश रमा सँगै जान्छ । गाडी पाउँदैनन् त्यस दिन । उनीहरू होटलमा बस्छन् । त्यसको भोलिपल्ट प्लेनबाट रमालाई राकेशले काठमाडौँ पठाउँछ । त्यहाँ होटलमा बस्दा उनीहरूले श्रीमान श्रीमतीको भूमिका निभाएका छन् । सम्बन्ध राखेपछि प्रेमको मृत्यु भएको ठान्दछन् । अब हामी अर्कै सम्बन्धमा रह्याँै भन्ने कुरा गर्छन् । रमा एयरपोर्टबाट भित्र छिर्छिन । यसरी त्यहाँ प्रेमी प्रेमिकाको प्रेमको मृत्यु भएको छ र त्यसपश्चात श्रीमान् श्रीमतीको प्रेम पलाउने आशा छ । 

कथा ४ – सम्पादक 

यस कथामा वर्तमानमा बाँचिरहेका नेपाली पत्रिकाको समस्या प्रस्तुत गरिएको छ । विभिन्न ठाउँमा हुने कार्यक्रममा आयोजकहरूले कति न महŒवपूर्ण कार्यक्रम छ भनेर बोलाउँछन् तर जाँदा न कार्यक्रम समयमा हुन्छ न त समयमा सकिन्छ नै । कार्यक्रम आयोजकहरूले सम्पादक तथा पत्रकारहरूको समयको ख्याल गर्न नसकेको कुरा कथामा आएका छन् । पत्रिकामा काम गर्ने पत्रकारहरूले पनि राम्रोसँग काम नगरी सम्पादकै टाउकोमा थोपर्दछन् । उता सम्पादकले पनि लेख, कथा तथा अन्य सृजनाको स्तर निर्धारण गर्दा पक्षपात गर्ने गरेको कुरा कथामा आएको छ जुन कुरो आजको पत्रकारिता क्षेत्रको तितो यथार्थ हो । 

कथा ५ – नचिताएको कुरा  

यस कथामा रामलाल र रमाको परिवार वीरगञ्जबाट काठमाडौँ उपत्यकामा नचाहँदा नचाहँदै बसाई नै सर्न पुगेका छन् । सुरुमा काठमाडौँमा डेराको समस्या उनीहरूको परिवारले भोगेको छ भने पछि उनीहरुले परिस्थितिकै कारण यतै घर बनाउन पुगेका छन् । यतै घर बनाएर बसेपछि संस्कृति तथा परम्परामा पहाडियाहरूसँग फरक परेको छ । विशेषगरी तिहारको लक्ष्मी पूजा मनाउने क्रममा असन्तुलन देखिएको छ । काठमाडौँमा घर बनाएपछिका तीन चार वर्षपछि उनीहरूको संस्कृति र यताको पहाडिया संस्कृतिको सन्तुलन बिन्दु फेला परेको छ । मानिसले नचाहेका कुराको सन्तुलन समेत समयले दिन्छ भन्ने सन्देश पाठकमा पर्न गएको छ । 

कथा ६ – डा. दिलवर दिल

यस कथामा नेपालको मधेशको परिवेशबाट कथानकको आरम्भ भएको छ । नेपालको तराईमा बस्ने मानिसहरूका दुई प्रकारका आवतजावत गन्तव्य प्रस्तुत गरिएको छ । मधेसीहरू उपचार लगायतका काम गर्न भारतीय सहर जाने र पहाडियाहरू काठमाडौँतिर जाने परम्परा रहेको छ । रमाको पति मुटुको रोगी भएको हुन्छ र उपचारको सिलसिलामा पटना पुग्छ । त्यहाँ झुकिएर साहित्यमा पीएचडी गरेको डाक्टरकोमा पुग्छ । केही समय सन्दर्भ नमिलेका वार्तालाप चल्छ । ऊ साँच्चिकै डाक्टर ठानेर त्यहाँ पुगेको हुन्छ डाक्टर दिलवर दिलकोमा । कथाको अन्त्यमा रहस्य उद्घाटन भएपछि साँच्चिकै एमबिबिएस डाक्टरकोमा जान्छ । यसरी यस कथामा डाक्टर शब्दका कारण झुकिएको घटना प्रस्तुत भएको छ । 

कथा ७ – मत्स्यगन्धा 

यस कथामा नयाँ पुस्ताका युवा युवती कसरी भविष्यलाई सुनिश्चित गर्न चाहन्छन् भन्ने कुराको दृष्टान्त छ । पहिले पहिलेका मानिसहरू विवाह गर्न अगाडि चिना हेर्ने गर्थे भने अबका युवायुवती चिना भन्दा पनि निरोगिताको बारेमा वास्तविकता बुझेर मात्र नयाँ जीवन शुरु गर्न चाहन्छन् भन्ने कुरा आएको छ । समय बदलिएको छ भन्ने कुरा र बदलिएको समयले जीवनलाई सुनिश्चित गर्न चाहन्छ भन्ने दृष्टान्त यस कथामा छ । 

कथा ८ – वेदनाको फूल

वेदनाको फूल कथामा वीरगञ्ज आसपासका गाउँमा किशोर अवस्थामा बिहे हुने गरेका सन्दर्भ आएका छन् । बुबाको पालामा वाध्यात्मक रूपमा किशोर अवस्थामा बिहे गर्नुपरेको स्थिति छ भने छोरीको समयमा बाबुआमालाई थाहा नै नदिकन उही किशोर अवस्थामा नै बिहे गरेका घटना आएका छन् । यी दुवै समयमा दुई अवस्थामा नै गरिएको विवाहले परिवारमा वेदना दिएका छन् । तराई क्षेत्रमा प्रशस्त मात्रामा साहित्यिक कार्यक्रम हुने गरेका छन् । विद्यार्थीहरू गणित तथा अङ्ग्रेजीमा कमजोर भएपनि साहित्य सिर्जनामा लागेर सम्मानित भएको स्थिति छ । कथाको शीर्षकले भने बाबु र छोरीको फरक स्थितिमा गरिएको बिहेबाट भएको वेदनालाई प्रस्तुत गरेको छ । मुख्य पात्रको रूपमा कृष्णलाई उद्धृत गरिएको 

छ ।

कथा ९ – पलायन 

यस कथामा शशिकलाको चारजनाको सदस्य भएको परिवारलाई मुख्यरूपमा प्रस्तुत गरिएको छ । दुई छोराहरू र आमाबुबा छन् । जेठो छोराको मागेर विवाह गरेको तर घरबार हुन नसकेर सम्बन्ध विच्छेद हुने अवस्था कथामा आएको छ भने कान्छो छोराले आफैँ अन्तरजातीय प्रेम विवाह गरेको छ । विवाह पश्चात कान्छा छोरा बुहारी विदेश गएका छन् । मागी विवाह गरेको जेठो छोरा बुहारी पढेलेखेका भएपनि दुवैको अहमताको कारण घरबार हुन सकेको छैन । जेठो छोरो पनि सम्बन्ध विच्छेद गरिसकेपछि जीवन निर्वाह गर्न विदेश जाने तयारी गर्छ । यसरी दुइटा छोरा नै आफ्ना आमाबुबा र जन्मस्थानबाट पलायन हुनुपरेको समयको तितो यथार्थ र बाबाआमाको मनको पीडा कथामा अभिव्यक्त भएको छ । शशिकलाको परिवार यसरी पलायन हुने अवस्थामा छ । 

कथा १० – बुबा हजुरबा खोई ?

यस कथामा मुख्य पात्रको रूपमा ईशा रहेकी छ ।  ईशा हरिवन सरलाईमा जन्मेकी केटी हो । ऊ मामाघर काठमाडौँमा बसेर पढ्छे । त्यहाँ मामामाइजु, मावलीको हजुरबुबा, हजुरआमा सहितको परिवार हुन्छ । मावली हजुरबुबा हरेक दिन मोटरसाइकल लिएर उसलाई लिन स्कुल आउँछन् । त्यही स्कुलमा पढ्ने ईशाकी साथी रितिकालाई लिन आफ्नै बुबाको बुबा अर्थात् घरकै हजुरबा आउँछन् । त्यस घटनाबाट ईशालाई आफ्नै बुबाको बुबा हजुरबाको याद आउँछ तर उसले कहिल्यै देखेकै हुँदैन । दशैंमा घर गएर आमाबुबालाई हजुरबुबा आमाको बारेमा सोधपुछ गर्छे । ईशाका हजुरबुबा आमा भएको तर गाउँमा भएको रहस्य खुल्छ । कथामा आमाकै कारण हजुरबा र हजुरआमासँग भेट हुन नसकेको कथ्य स्थिति देखिन्छ । त्यति हुँदाहुँदै पनि ईशाकै कारण दशैंको अवसरमा त्यो परिवारको हजुरबुबा आमासँग मिलन हुन सक्ने अवस्था कथामा आएको छ । 

कथा ११ – भैया 

यस कथामा मुख्य पात्रको रूपमा गोपी, कमल, निशा र रिता रहेका छन् । गोपी र रिता दाजुबहिनी हुन् भने कमल र निशा दाजुबहिनी हुन् । गोपी र रिता तराई मूलका हुन् । कमल र निशा पहाडी मूलका । गोपीले साइकलमा कालिमाटी आसपासमा तरकारी बेच्छ भने कमलले त्यसै क्षेत्रमा चिया बेच्छ । केही बदमास केटाले गोपीको तरकारी पसल साइकलबाट फालेपछि सँगै रहेको चिया पसलबाट आएर कमलले गोपीलाई बचाउँछ । त्यसपछि गोपी र कमलको मित्रता बढ्छ । गोपी, कमलको पहाड घरसम्म पुगेर भाइटिका लगाउँछ । उनीहरूको मित्रता कसिलो हुन्छ । पछि दुवैका बहिनीहरू निशा र रिता पनि आआफ्ना दाजुहरुसँगै काठमाडौँ आउँछन् । एकदिन अचानक मोटरसाइकल दुर्घटनामा परेर निशाको श्रीमान्को मृत्युको खबर लिएर कमल गोपीकोमा पुग्छ । त्यस घटनामा गोपीले कमललाई धेरै मद्दत गर्छ । मृत्युपछि गरिने संस्कार कर्ममा चलन अनुसार माइतबाट मान्छे गएर हेर्न नहुने भनिएकाले त्यहाँ कमलको सट्टा गोपी पुग्छ । गोपी त्यहाँ पुग्दा त्यहाँ भैया भन्दै निशा उसको शरणमा पुग्छिन् र कथा टुङ्गिन्छ । यस घटनामा तराई र मधेश मान्छेलाई दाजुभाइकै रूपमा प्रस्तुत गरिएको छ ।  हिमाल पहाड तराई कोही छैन पराई भन्ने भावना कथामा आएको छ ।

कथा १२ – अनुगूँज 

यस कथामा म पात्रको रूपमा आएको रामलालको परिवारको आन्तरिक वेदना छरपष्ट भएको छ । उसको परिवारमा श्रीमती, दुई छोरा एक बुहारी (कान्छी बुहारी), नाती लगायतको परिवार छ । यो परिवार आपसमा खुलस्त हुन सकेको छैन । श्रीमान श्रीमतीमा पनि वास्तविक प्रेम छैन । कान्छी बुहारीको व्यवहारबाट पनि रामलाल पीडित बनेको छ । तराईको राम्रो घर उनीहरूको भएपनि त्यस घरभित्र पूर्ण सन्तुष्टि छैन । रामलाललाई पहाडी दृश्य मनपर्छ तर त्यसभित्रका समस्या श्रीमतीले उसलाई देखाउने गर्छिन् । कथाको अन्तिममा रामलाल कोरोनाको सिकार भएजस्तो देखिएको छ । यस कथाको सन्देश परिवार आफैंमा मिल्न सकेन भने कुनै न कुनै बेला रोगको सिकार बन्न पुग्छ भन्ने जस्तो देखिएको छ । 

कथा १३ – अन्तरसवाद 

यस कथामा नयाँ पुस्ता र पुराना पुस्ताको बीचमा असमझदारी छ । पुरानो पुस्ताले पुरानो संस्कृतिको बचाउ गर्दै त्यसको निरन्तरता चाहेको छ । नयाँ पुस्ता स्वतन्त्रतासँगै बाँच्न चाहेको छ । तुलाधर र तुलना छोरा बुहारीको पुस्ता हो । उनीहरुले अन्तरजातीय विवाह गरेका छन् । उनीहरू विदेशसमेत बसेर आएका छन् । यस कथामा पुरानो पुस्ताले आफ्नो कर्तव्य पूर्ण रूपमा पालना गरेको देखिन्छ भने नयाँ पुस्ताले स्वतन्त्रता खोजेको तर आफ्नो कर्तव्य पूरा नगरेको देखिन्छ । पाठकलाई हाम्रो समाजको नैतिक धरातल साँच्चिकै खस्कदै गएको हो कि भनेर चस्का पस्ने देखिन्छ । 

कथा १४ – जन्मकुण्डली 

यस कथामा म पात्रको माध्यमबाट कथानकलाई अगाडि बढाइएको छ । उसकी श्रीमतीको नाम रमा छ । श्रीमतीका अगाडि म पात्र कम बोल्ने गर्छ । तराईमा नातासम्बन्धी साइनो छोराको छोरा पोता, छोरी पोती, छोरीको छोरा नाती छोरी नातिनी भनिन्छ । छोराको छोराले हजुबुबाआमालाई दादा दादी र छोरीका छोराछोरीले नाना नानी भन्ने नाता सम्बन्ध छ । यी भए चलन परम्परा तथा संस्कारका कुरा कथामा श्रीमान् श्रीमतीको बाक्लो संवाद भएको छ र कथाको अन्तिमतिर श्रीमान्को जन्मकुण्डली हेरेर श्रीमती जलेर भुतुक्क हुन पुग्छिन् । जन्मकुण्डलीमा श्रीमानका महिला साथी र अन्तरंग सम्बन्धको पाटो खुल्छ र रमाको मनमा रिस र आलस्य भरिन्छ । जन्मकुण्डलीप्रतिको पूर्ण विश्वासका कारण रमाले आफ्नो श्रीमान््लाई आफूबाट टाढा राख्ने प्रयत्न गरेको छ । कर्ममा भन्दा जन्मकुण्डलीमा विश्वास गरेर रमा दुःखी बनेकी छ तर म पात्रले उसलाई सम्झाउन प्रयत्न गरेको देखिन्छ । यसैबीच कथा समाप्त हुन्छ । 

कथा १५ – हिजोआज 

यस कथामा पनि म पात्र आएको छ जसलाई गोपाल नाम पनि दिएको छ । गोपालले आफ्नो स्कुले जीवनका क्षणहरू सम्झन पुगेको छ । गणित शिक्षक, अंग्रेजी शिक्षकसँगका स्मृतिमा आफू पुगेको छ साथै कोरोना कालको अवस्थाको स्मरण समेत गर्न पुगेको छ र कथाको अन्तिममा उसले हिजो आजको अवस्था पनि बताउन पुगेको छ । हिजोआज नातिनातिनासँग रमाउँछ ऊ र यस धर्तीबाट अब कहिले अर्को लोकमा जाने भन्ने अनुमान गर्छ । यस्तैमा कथा समाप्त हुन्छ । 

यसरी कालो गुलाफ कथा सङ्ग्रहमा कथाकार गोपाल अस्कले पन्ध्र वटा कथाहरूको माध्यमबाट तराई मधेसका समस्याहरू, संस्कृतिका कुराहरू, नयाँ पुस्ता तथा पुराना पुस्ताका प्रवृत्तिहरू र बुढ्यौली कालसँग सम्बन्धित अप्ठ्याराहरूलाई आम पाठकहरू समक्ष प्रस्तुत गरेका छन् । कथामा परिवेशको रूपमा वीरगञ्ज आसपासको क्षेत्र, केही काठमाडौँका ठाउँहरू र पटनाका केही स्थानहरू आएका छन् । भाषाशैली सरल प्रकृतिको र सलल बगेको छ तर मधेसीपनको गन्ध कथाहरूमा पाइन्छ । कथाहरू पढिरहँदा पाठको मन मस्तिष्कलाई च्वास्स च्वास्स छोइरहन्छ । 

र अन्त्यमा कथाकार गोपाल अस्कलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दछु र उनको लेखनी अझै तिखारिँदै जाओस् भन्ने कामना गर्दछु । 

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर नगरपालिका वार्ड नं ४ काठमाडौँ 

फोन ९८४९ ७१४८६७ ।


                  





Friday, November 29, 2024

कथा : टुटेका सपनाहरू - गङ्गाप्रसाद भेटवाल

                                                       


            कथा :  टुटेका सपनाहरू

                                                                                                     

                                                                                                          गङ्गाप्रसाद भेटवाल                                          

पच्चिस  वर्षीय उषा बहुत जाँगरिली छन् । नहुन पनि कसरी त्यही जाँगरिली भएकै कारणले उनी एउटा गैर सरकारी संस्थामा काम गर्छिन् । उनी विभिन्न ठाउँमा गएर आफ्नो हाकिमले दिएको काम पूरा गर्छिन् । उनको काम प्राय रिपोर्टिङसँग सम्बन्धित हुन्छ । कहिले उनी ग्रामीण क्षेत्रका महिलाको साक्षरताका बारेमा रिपोर्टिङ गर्छिन् त कहिले सहरी क्षेत्रका अव्यवस्थित सुकुम्बासी बस्तीका जनजीवनकोबारेमा । उनको दैनिकी व्यस्तताका साथ चलेको छ । हप्ताका छ दिन हुने काममा जान्छिन् । शनिबार एक दिन बिदा हुन्छ त्यो दिन पनि कपडा र कोठाको सरसफाईमा व्यस्त हुन्छिन् । 

भरभराउदी उषा खुसी छिन् । काठमाडौँमा उनको आफ्नो घर त छैन तर आफैँ कमाउन सक्ने भएकीले उनमा खासै केही चिन्ता छैन । भर्खरै उनले एमबिए पास गरेकी हुन् । गैर सरकारी संस्थामा काम गर्दागर्दै उनको मनमा लोकसेवा परीक्षा दिएर स्थायी जागिरमा जाने सोच बन्दैछ तर सोचेको कुरा आफूले चाहेको समयमा पाउन पनि त सकिँदैन । त्यो उनले राम्रोसँग बुझेकी छन् । जीवनको एउटा पाटो यसरी चलिरहेको छ भने अर्को पाटो जुन प्रेमको पाटो हो त्यो पनि आफ्नै तरिकाले हुर्किराखेको छ । आफूसँगै एमबिए पढेर पास भएको मदन उनको प्रेमी हो । उनीहरू आफ्नो प्रेममा आनन्दित छन् । दुवैको एक किसिमले भन्नुपर्दा पढाइको मुख्य समय सकिएको र जीवनको नयाँ अध्यायमा प्रवेश गर्ने समय आएको छ । दुबैले राम्रो जागिर खाएर आपसमा विवाह गर्ने सल्लाह गरेका छन् । यो समय उनीहरूका लागि महत्वपूर्ण समय हो। यहीबाट जीवनको वास्तविक यात्रा प्रारम्भ हुन्छ। उषाले यो कुरा राम्ररी बुझेकी छन् । एक दिन उषा रिपोर्टिङकै सिलसिलामा एउटा वृद्धाश्रममा पुग्छिन् । त्यहाँ उनले वृद्धआमाहरूको जीवन भोगाइको रिपोर्टिङ गर्नुपर्ने हुन्छ । उषा आश्रमको कम्पाउन्ड भित्र पुग्छिन् । त्यहाँको प्रशासनसँग कुरा गरेर आमाहरू भएको ठाउँतिर पुग्छिन् । काठमाडौँको ठाउँ हिउँदको समय आमाहरू बाहिरपट्टिकै कुर्सीहरूमा बसेका छन् । उषा उनीहरू भएको ठाउँमा पुगेर एकजना आमालाई आमा π भनेर सम्बोधन गर्दै बोलाउँछिन् । ती आमा मुख बिगार्दै मुन्टो अर्कोतिर फर्काउँछिन् । उषा ट्वाल्ल पर्छिन् र फेरि भन्छिन् आमा π ती आमा त त्यो कुर्सी नै छोडेर अलि पर गएर अर्कै कुर्सीमा बस्छिन् । उषा झन् छक्क पर्छिन् । उनी जुन उत्साह लिएर त्यहाँ आएकी थिइन् त्यो उत्साहमा नै दुविधा देखिन्छ । उनले त्यहाँ रहेकी अर्की आमालाई बोलाउँछिन् । ती आमा पनि बोल्न चाहन्नन् । उनले फेरि त्यहाँ रहेकी अर्की आमालाई बोलाउने प्रयत्न गर्छिन् तर ती आमा पनि त्यस्तै सङ्केत गर्छिन् । त्यसपछि उषाको मनमा लाग्छ– यी आमाहरूले जीवनमा धेरै ठूला धोका खाएका छन् । धोका दिनेहरू सायद मेरै उमेरका मान्छे हुनुपर्छ । 

उनी त्यसपछि त्यस आश्रमको प्रशासन कार्यालयमा गएर थप सोधपुछ गर्छिन् । प्रशासन कार्यालयमा बसेका अनुभवी व्यक्तिले समग्रमा आमाहरूको जीवन, आश्रममा आउनुपर्ने कारण र परिवारसँगको सम्बन्ध बारेमा राम्रोसँग जानकारी दिन्छन् । उषाले ती कर्मचारीलाई आमाहरूसँग संवादका लागि वातावरण मिलाइदिन अनुरोध गरेपछि ती व्यक्ति गएर आमाहरूलाई केही कुरा भन्छन् । त्यसपछि उषाले आमाहरूसँग बातचित गर्ने वातावरण बन्छ र संवाद चल्छ । उनी सुरुमा बोल्न खोजेकी आमाको छेउमा पुग्छिन् । भन्छिन् –आमा 

 आमा : हजुर, के भयो नानी ? किन आयौ ?

 उषा : आमा म हजुरसँग जीवनको बारेमा केही सोध्न चाहन्छु !

 आमा : हेर नानी हाम्रो बारेमा तिमीले जानेर केही हुनेवाला छैन । 

 उषा :  त्यस्तो त केही होइन आमा, म एउटा गैर सरकारी संस्थामा जागिर खान्छु । 

मानिसहरूका समस्या के के हुन्छन् । 

तिनीहरूको पहिचान गर्छु र हाम्रो कार्यालयमा बुझाएर हाम्रो संस्थाले केही सहयोग गर्न सक्छ कि भनेर प्रतिवेदन तयार गर्छु । त्यसैका लागि आमाहरूसँग कुरा गर्न खोजेकी मात्र हुँ । 

आमा : त्यस्तो भन्ने धेरै आउँछन्, के के सोध्छन् जान्छन् । फर्केर पनि आउँदैनन् । आज तिमी आयौ । पछि तिमी       पनि आउँदिनौ । त्यो हामीलाई थाहा नै छ । त्यही भएर यहाँ कोही बोल्न नचाहेका बुझ्यौ । 

उषा : त्यसो होइन आमा ! पछि जे भएपनि म आउँछु ।

                  उषा र आमाबीचको संवाद विशेष रूपमा अगाडि बढ्दै जान्छ ।

उषा :  आमा ! तपाईंको घर कहाँ हो ?

 आमा :  यस प्रश्नको उत्तर मसँग छैन, नानी !

 उषा :  आमा, तपाईँ कसरी यहाँ आइपुग्नुभयो ? 

 आमा : नानी, यस प्रश्नको उत्तर मसँग भएपनि भन्न सक्दिन । 

 उषा :  तपाईंका आफन्तहरू को को हुनुहुन्छ ? 

आमा :  नानी तिमी पनि म जस्तै महिला हौ । कुनै दिन तिम्रो अवस्था पनि मेरो जस्तै बन्ला  

 अनि आफन्त र पराई थाहा पाउछौ ।  मलाई यस्ता प्रश्न नसोध । 

त्यसपछि आमा गम्भीर बन्छिन् । उषालाई अप्ठ्यारो महसुस हुन्छ । त्यहाँ केही मौनता छाउन पुग्छ । पढेलेखेकी उषा आमालाई हेर्दै केही समय टोलाउँछिन् र आमालाई भन्छिन्– आमा अब म तपाईंलाई थप केही प्रश्न सोध्दिन तर म पनि महिला नै भएकोले तपाईंबाट केही सल्लाहसुझाव चाहन्छु । जीवन कसरी जिउनुपर्छ म तपाईंबाट सुन्न चाहन्छु । तपाईंले मलाई सल्लाह दिनुभयो भने म र अरु धेरै छोरीहरूको जीवनमा सहयोग पुग्नेछ । के तपाईँ आफ्नै जीवन कहानी पनि सुनाउँदै मलाई सल्लाह दिन सक्नुहुन्छ ? 

आमा पुलुक्क आँखा उठाएर उषालाई हेर्छिन् । आफ्नो अगाडि अत्यन्तै सुन्दर युवती उषालाई देख्छिन् । सुरुमा केही नभनी चुप बसौँ जस्तो पनि गर्छिन् तर एकैछिनमा उनी उषाप्रति दयालु भाव व्यक्त गर्छिन् । त्यसपछि उषाको हात समाउँदै आफूतिर तान्छिन् । गालामा हात लगेर सुमसुम्याउँछिन् । सँगैको कुर्सीमा बसाउँछिन् र भन्छिन्– आज तिमीले मलाई कर गर्यौ । मेरो जीवन कहानी बन्न बाध्य बनायौ ।  म बुढी पनि भएँ । मैले जीवनमा गरेका गल्ती र जीवनका भोगाइले तिमीलाई जीवनमा सचेत रहन मद्दत गर्ला । म तिमीलाई मेरो जीवन सबै उदाङ्गो पारेर भन्छु सुन : 

म गाउँबाट पढ्न र पढेर ठूलो मान्छे बन्न भनेर काठमाडौँ आएँ । यो सहर नै यस्तै हो । मेरै जस्ता सपना बोकेर यहाँ धेरै आएका छन् र आइरहन्छन् । सायद तिमी पनि त्यसैगरी यस शहरमा आएकी हौली । अनुभव तिमीसँग पनि केही होला ।

उषा : त्यसपछि समय कसरी अगाडि बढ्यो त आमा ! 

आमा : भन्दै त छु नि । मेरी साथी बिमला र म ओखलढुंगाबाट गाउँकी काकी पर्नेको ठेगाना टिपेर 

एसएलसी पछिको शिक्षा लिन काठमाडौँ आइपुग्यौँ । उबेला हामीले दुःख भनेको गाउँघरतिर मात्र हुन्छ शहरमा हुन्न भन्ने सोचेका थियौँ तर शहर भनेको त दुःखको महासागर रहेछ । केही समयपछि एसएलसीको रिजल्ट आयो । हामी दुवैजना पास भयौं । ती काकीले केही समय बस्न हामीलाई सहयोग गरिन् तर सधैंभरि त्यो सम्भव पनि थिएन । बिमलाले र मैले ताहाचल क्याम्पसभन्दा केही भित्र एउटा सानो कोठा खोजेर बस्ने प्रबन्ध गर्यौ । काठमाडौँमा पढ्नभन्दा टिक्न गाह्रो रहेछ । हामी काम खोज्नतिर लाग्यौँ । प्राइभेट कम्पनीहरूमा काम दिगो हुँदैन थियो । यता उता सर्दा सर्दै समय बित्दै गयो । त्यही बीचमा बिमला दाङतिरको एउटा केटासँग पोइला गई । मलाई झन् कठिन भयो । पढ्ने र ठूलो मान्छे बन्ने सपना टाढा गएजस्तो भयो । हातमुख जोड्न नै सकस भयो । जीवन जीउन सजिलो हुँदो रहेनछ । बिमला पोइला गइसकेपछि कोठाभाडा तिर्न र अन्य सामान जुटाउन मलाई धौधौ पर्न थाल्यो । त्यही समयमा उदय नाम गरेको केटासँग मेरो चिनजान भयो । ऊ ट्याक्सी चालक थियो । ऊसँग मेरो हिमचिम बढ्दै गयो । उसले सामान सबै म ल्याउँछु खाना मेरो लागि पनि तिमीले बनाइदेउ भन्यो । एक किसिमको सहमति बन्यो ।  अलिअलि गर्दै हामी दुवै त्यही कोठामा बस्न थाल्यौ । अहिलेको भाषामा भन्ने हो भने लिभिङ टुगेदरमा हाम्रो बसाई चल्न थाल्यो । हामी सँगै बस्न थालेपछि उसलाई साँच्चिकै श्रीमान् बनाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर ऊ भने हामी बरु सँगै नबसौँ भनेर ततर्किन्थ्यो । बिहेको कुरा गरेपछि ऊ सधैँ डराउँथ्यो । मैले उसको सवारी चालक परिचयपत्रमा नाम हेरँे नाम उदय सुर्खाली र ठेगाना सुर्खेत थियो । हामी बस्दै जाँदा मेरो पेटमा बच्चा बस्यो । ऊ सुरुदेखि नै त्यो बच्चा फालौं भन्थ्यो तर म त्यसो गर्न मान्दिन थिएँ । बच्चा जन्मने अन्तिम अन्तिम समयतिर आएर ऊ एकाएक गायब भयो । ऊ गायब हुँदा मेरो पेटमा सात महिनाको बच्चा थियो । त्यस्तो बेलामा म कसरी बाँचे होला नानी । कोही नहुनेको हरि हुँदा रहेछन् । म मर्न भनेर विभिन्न उपाय खोज्थेँ े  । हिम्मत गरेर कतै जान्थेँ तर मर्न सक्दिनथेँ । एकदिन बिहानै मर्न भनेर म झोलामा डोरी राखेर पशुपतिको श्लेष्मान्तक वन पुगेँ । त्यहाँ भित्र घना जंगल थियो । कुनै रुखमा झुण्डिएर मर्न सकिन्छ कि भनेर त्यस्तो बुद्धि आएको थियो । बिरुपाक्षको मन्दिरभन्दा अलिक अगाडि गएर एउटा रुखको हाँगामा डोरी बाँधे र घाँटीमा डोरीमा अट्काएँ ।  कोही आएर मलाई समायो । मलाई त्यहाँ आएर बचाउने एक जोडी अङ्कल आन्टी थिए । उनीहरूले बिहानको समयमा जङ्गलमा फ्रेस हावा लिन आउँदा देखेर मलाई बचाए । त्यो बेला मलाई उनीहरूले बचाउँदा शलेषमान्तक वनमा शिव पार्वती घुम्छन् भन्ने श्री स्वस्थानी व्रतकथामा लेखिएको र त्यसकोबारेमा सानोमा गाउँघरतिर सुनेको कुरा याद आयो । त्यसबेला उनीहरूले मेरोबारेमा सबै कुरा सोधे । मैले पनि सबै कुरा बताएँ । त्यसपछि ती अंकलले भने– चिन्ता नगर नानी, म उदयलाई खोजेर तिमी कहाँ ल्याउँछु र तिमीहरूको ठेगान लाग्छ । 

उषा : अनि उदयलाई ती अङ्कलले खोजेर ल्याए त आमा π

आमा :  त्यसपछि घटनाले अर्को मोड लियो नानी । 

उषा :  कस्तो मोड लियो त्यो पनि सुनाउनु न आमा π

आमा :  ती अङ्कल नाम चलेका वकिल रहेछन् । देशभरि वकिलहरूको संगठन हुँदो रहेछ । सुर्खेतमा 

रहेका वकिलहरूको सहयोग लिएर उदय सुर्खालीको घर पत्ता लगाएछन् । उदयको अर्कै कहानी रहेछ । उनीहरूको परिवार दलित परिवार रहेछ । उदयहरू तीन दाजुभाई रहेछन् । उनीहरूको पाँचजनाको परिवार दैलेखमा हुँदा उसको जेठो दाइले ठकुरीकी छोरीलाई भगाएर विवाह गरेछ । ठकुरी परिवारले छोरीलाई छुटाएर लगेछन् । त्यसको लगत्तै कुनै अज्ञात मानिसको हुल आएर उदयका दुईजना दाइ र बाबुलाई मारेर गएछन् । त्यसबेला उदय सानै थियो रे त्यही भएर छोडेछन् । त्यसपछि उनीहरू आमाछोरा सुर्खेत आएर दुःखजिलो गरेर बसेछन् । म बाहुनकी छोरी भन्ने थाहा पाएपछि ऊ तर्सिएर भागेको रहेछ । बुढेसकालको आमाको साहारा ऊ बाँच्न चाहन्छु भन्थ्यो रे । 

उषा :  त्यसपछि ती अङ्कलले के गरे आमा ।

आमा :  ती अंकलले धेरै कुरा सम्झाए । समाजको अवस्थाको बारेमा र मैले जन्माउने बच्चाका 

बारेमा भविष्य सम्मका कुराहरू बताए । त्यसबेला वास्तवमै म भुमरीमा परेको आभास भयो । उनले मलाई आफ्नै छोरी जस्तै सम्झेर धेरै सम्झाए । मैले जन्माउने बच्चाको बाबुको नाम के हुने ? जन्मदर्ता कसरी गर्ने ? र भविष्यसम्म नाम कसरी सुरक्षित गर्नेबारेमा धेरै बताए । म यस्ता कुराहरूमा अनविज्ञ थिएँ । उदय मेरो जीवनबाट नफर्किने गरी टाढा गइसकेको थियो । ती अंकलले भने–नानी तिमीले मैले भने जसरी केही काम गर्यौ भने तिम्रो इज्जत म बचाइदिन सक्छु तर तिमीले गलत गर्न पाउँदिनौ । म समयसँग धोका खाएकी मान्छे अब अरुलाई धोका दिनु हुँदैन भन्नेमा थिएँ । ती अंकलले सुझाए बमोजिम मेरो विवाह उनको डाइभरसँग भयो । मेरो विवाह दर्ता भयो । बच्चा पनि जन्मियो । जन्मदर्ता पनि भयो । त्यसपछि सम्बन्ध विच्छेद पनि उनैले नै गरिदिए र एउटा सर्त राखे– अब आइन्दा हाम्रो भेटघाट बोलचाल सबै बन्द । त्यसपछि हाम्रो चिनजान खत्तम भयो । त्यसयता उनीसँग कहिल्यै भेट भएन तर उनले केही आर्थिक सहयोग भने मलाई गरेका थिए । त्यसपछि फेरि मेरो जीवन छोराको साथमा अगाडि बढ्यो । दुःख त आफूसँग छँदै थियो । यसरी छोराको लागि इज्जत बचाउन बिहे गरी सम्बन्धविच्छेद भएको थियो । त्यसपछि एक बैंकका सीइओसँग मेरो भेट भयो । उनले बैंकमा जागिर दिने आश्वासन दिए । त्यसबेला मेरो छोरो पनि दुई वर्षको भएको थियो । बैंकमा जागिर दिने र एक हाउजिङमा बस्ने पनि व्यवस्था मिलाउने भने । उनको तलब धेरै थियो । उनकै तलबबाट हाउजिङमा बस्ने ठाउँमा भाडा तिर्ने कुरा राखे । विभिन्न शर्त राखे भोलिका दिनमा कतै केही नगर्ने । श्रीमान श्रीमती भनेर पनि दाबी नगर्ने । धेरै कुरामा मलाई वाचा गराए । भित्री मनले भने मानेको थिएन तर परिस्थितिले त्यो प्रस्ताव स्वीकार गर्न बाध्य गरायो । म छोरो सहित हाउजिङमा बस्न थालेँ । छोरो स्कुलमा डे बोर्डर्समा राखेँ । म बैंकमा जागिरे भएँ । पाँच बजे कोठामा आउँथे । ती बैंकका सिइओ पनि मसँगै कोठामा आइपुग्थे । उनका लागि खाना बनाउनु पर्दैन थियो । बेलुका ९ बजे मेरो कोठाबाट घर जान्थे । उनको र मेरो बीचमा कुनै पर्खाल थिएन । दिनभरि बैंकमा जागिर गर्थेँ । साँझ उनको लागि काम गर्थेँ । राति छोराको भविष्य कल्पना गर्दै निदाउँथेँ । यसरी उनीसँगको सम्बन्ध १५ वर्ष चल्यो छोरो पनि ठूलो हुँदै गयो । अचानक उनले आफूलाई यौन रोग लागेको भने र चेकअप गर्न दुवैजना क्लिनिकमा गयौं । रिपोर्ट हेरेर मेरो ठिक भएको डाक्टरले बताए । उनकोमा रोग जटिल छ भने । त्यसपछि उनी मबाट अलग भए । अर्कै बैंकमा सिइओ भएर पनि गए । बाटोमा कहिलेकाहीँ देख्दा अरु नै महिलालाई लिएर हिँडेको देख्थँे पछि थाहा पाएँ । त्यो क्लिनिक उनकै साथी पर्नेको रहेछ । त्यसपछि फेरि मेरा खराब दिन सुरु भए । बैंकमा म सामान्य कर्मचारी थिएँ तलव पनि सामान्य थियो । मेरो र छोराको खर्च त पुग्थ्यो तर हाउजिङको भाडा लगायत अन्य खर्च पुग्दैनथ्यो । त्यही बीचमा एकजना राष्ट्रिय स्तरका नेता मसँग जोडिन आइपुगे । उनी मसँग अरु पन्ध्र वर्ष सँगै बसे । त्यसबीचमा छोरो पनि बढेर र पढेर ठूलो भयो । थप अध्ययन गर्न भनेर अमेरिका पुग्यो । ती नेताले छोरालाई विदेश पठाउन पनि सहयोग गरे । हामी अघोषित श्रीमान् श्रीमतीकै रूपमा बस्यौँ । जिल्लातिर उनका परिवार हुनाले परिवारका सदस्यले ती कुरा थाहा पनि पाएनन् । माइततिरका मेरा आफन्तसँग पनि पातलो भेटघाट हुन्थ्यो त्यो पनि बाहिर बाहिरै । उनी पन्ध्र्र वर्षजति काठमाडौँ बस्दा मसँगै बसे । त्यसपछि उमेरले बुढो हुँदै गएकोले उतै उनकै जिल्लातिर बस्न थाले । जिल्लामा बस्न थाले पनि विभिन्न तरिकाले अरु पाँच वर्षजति मलाई मुस्किलले खर्च जुटाए । त्यसपछि उनी आफै थलिएर बिरामी भए । उनी बितेको पनि पाँच वर्ष भयो । उता अमेरिकाबाट छोराले केही खर्च पठाउँदै थियो । उसका छोराछोरी भएपछि बुहारीले अब खर्च नपठाउ जे गर्छ नेपाल सरकारले गर्छ भनेर दबाब दिएपछि छोरा पनि मसँग सम्पर्कमा छैन । उल्टै मेरी आमाले इज्जत फालेर बाँचिन् भन्छ रे । जीवनको अन्तिम क्षणमा म सहाराविहिन भएपछि आफूसँग भएको गहना गुरिया सबै बेचेर यही आश्रममा आएँ र यही दिएँ । बाँचिन्जेल यही आश्रममा बस्छु भनेर आएकी हुँ । सुन्यौ नि, मेरो जीवनको भोगाइ । अब तिमी जे गर्छौ गर बास π यति हो मेरो भन्नु ππ 

एकसुरले सुनिरहेकी उषा आफँैमा हराएकी जस्ती देखिन्थिन् । उनी आफूलाई सम्हाल्दै आमालाई पछि आउँछु है आमा भनेर बिदा भइन् । कार्यालय गएर आफ्नो प्रतिवेदन बुझाइन । 

उषा कोठामा पुग्छिन् । उनले अठोट गरिन् सरकारी जागिरमा नै जाने । सरकारी जागिर भए जीवन जिउन सजिलो होला भन्ने अनुमान लगाउँछिन् । लोकसेवा परीक्षा तयार गरिरहेकी उनले लिखित परीक्षामा अधिकृत तहमा नाम निकालिन् । मौखिक परीक्षा बाँकी हुन्छ । उनको प्रेमी पनि निरन्तर उनको सम्पर्कमा रहिरहेको हुन्छ ।  उषाको अधिकृतमा नाम निक्लिएको मदनलाई सुनाएकी हुन्छन् । मदनले भने केही दिनमा तिमीलाई सरप्राइज दिन्छु भन्दै कुरा लुकाएको हुन्छ । 

उषा, मदनको लागि खुल्ला खुल्ला बनेकी हुन्छिन् । आफ्नो लामो समयको प्रेमीसँग विश्वास गरेकी हुन्छिन् र भर पनि परेकी छन् । उनीहरूले गोप्य रूपमा मन्दिरमा गएर विवाह समेत गर्छन् । उषा अधिकृत तहको जागिरमा प्रवेश गर्छिन् । मदनसँगको सम्बन्धका कारण उनको पेट भारी भइसकेको हुन्छ । उता मदनको अमेरिकाको भिसा लागेर स्वाट्ट अमेरिका उड्छ । उषा जीवनकै मझ्धारमा पुग्छिन् । अर्कालाई सल्लाहसुझाव दिने काम सजिलो हुने तर आफैंलाई पर्दा निर्णय गर्न मुस्किल पर्ने भनेजस्तो अवस्थामा पुग्छिन् ।

उषा जागिरमा त छिरेकी छन् तर खुसी छैनन् । आफ्नो पहिलो गर्वलाई सुरक्षित जन्म दिनु नै अधिकांश महिलाको चाहना हुन्छ, यस्तो भनाइ समाजमा सुनेकी छन् उषाले र उनी पनि त्यही चाहन्छिन् । मदन उनको जीवनबाट स्वाट्टै हराइसकेको हुन्छ । आफ्नो कार्यालयमा उनले यी राजलाई खुल्न भन्ने दिएकी हुन्नन् । त्यही कार्यालयमा एकजना पाको उमेरका उपसचिव तहका अधिकृत हुन्छन् । उनी उषासँग नजिकिन थाल्छन् । नजिकिने क्रम बढ्दै जान्छ । घनिष्ठता बढ्छ । उषाले ती व्यक्तिको बारेमा सबै जानकारी लिन्छिन् । ती सम्बन्ध विच्छेद भएका व्यक्ति हुन्छन् । पन्ध्र वर्ष अगाडि नै बिहे भएको र बिहेको पाँच वर्षसम्म बच्चा नभएपछि तिनकी श्रीमतीले सम्बन्ध विच्छेद गरेर अर्कैसँग बिहे गरेकी हुन्छिन् । दुबैले एकआपसमा विगत जानिसकेपछि विवाह गर्छन् । उनीहरूको छोरो जन्मिन्छ । छोराको नाम भविष्य राख्छन् । 

उनीहरूको दिनचर्या आनन्दसँग चल्छ । उषा हर रात सुत्नुभन्दा अगाडि ती आश्रममा भेटिएकी आमा सम्झिन्छिन् । आफ्नो श्रीमानको मायामा डुब्छिन् र छोरो भविष्यको सुन्दर र सुखी भविष्यको कल्पना गरिरहन्छिन् । 

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर वडा नं ४ काठमाडौँ 

                                                                        महासचिव

                                                            स्रष्टा पदयात्रा नेपाल । 

 .watch more 







Monday, August 26, 2024

कृष्णाष्टमी - भक्ति रचना - कमल सापकोटा

            कृष्णाष्टमी - भक्ति रचना


(कमल सापकोटा, सिक्किम )
दहि चोर्दै आमासित डराउने आउँछन्
मधु बनमा गाई बस्तु चराउने आउंँछन्
आउँछन् आज मुरलीको धुन सुनाउंदै
मनमा एउटी राधा मन पराउने आउँछन्
कहिले कहिँ गोपिनीको मन चोर्नलाई
खेल्दा खेल्दै कतै छोडी हराउने आउँछन
विश्वसारा समाजको कल्याण गर्छु भन्दै
आज सबै झिली मिली गराउने आउँछन
तीनै लोकको हित गर्दै पाप नास गर्ने
धर्म जगाउन झण्डा फहराउने आउंँछन
जब आउँछन् उनि सबै रामाउछन् सारा
दर्शन गर्न कृष्ण भन्दै कराउने आउँछन्
आधा रातमा कंशलाई डराउने आउँछन्
मधु बनमा गाई बस्तु चराउने आउंँछन् ।
सिक्किम ।



केही नेपाली उपन्यासहरू तलका लिङ्कमा पनि छन् ।












स्रष्टा पदयात्रा नेपालको १०९औं पदयात्रा भक्तपुर ठिमी नगदेश क्षेत्रमा हुने लोभलाग्दो सहभागिता रहने

१०९ औं स्रष्टा पदयात्रामा सहभागि हुन नाम लेखिएका स्रष्टा २०८३ भाद्र ६ गते शनिवार विहान ७.३० बजेसम्म पुरानो थिमी नगदेसको प्रवेशद्वारमा अनिवार...