Saturday, May 25, 2024

सामाखुसी साहित्य समाजमा अनिता ढकालद्वारा लिखित किन नेपाल रुन्छ ? विमोचित ।

 


आज मिति २०८१ साल जेष्ठ महिनाको १२ गते शनिबार सामाखुसी साहित्य समाजको ११९औ रचनावाचन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भयो । सामाखुसी साहित्य समाजको कार्यक्रममा अनिता ढकालद्वारा लिखित किन नेपाल रुन्छ ? शीर्षकको कविता संग्रह वरिष्ठ साहित्यकार प्रमोद प्रधान लगायत उपस्थित सबै साहित्यकारहरुले संयुक्त रुपमा विमोचन गर्नुभयो समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधान प्रमुख अतिथि रहनुभएको थियो । यसैगरी अन्य अतिथिहरूमा चण्डीराज ढकाल पूर्व न्यायाधीश उच्च अदालत, रामबाबु सुवेदी वरिष्ठ साहित्यकार, डा. प्रभाकर खनाल उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, डा. मेघराज ढकाल लेखकको बुबा, हरिमाया ढकाल लेखकको आमा, लेखक अनिता ढकाल, जगदीश्वर पोखरेल, मर्स्याङ्दी वाङमय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने, साहित्यकार गंगाप्रसाद भेटवाल, सिटिजन्स बैंकका विभागीय प्रमुख रत्नेश्वरलाल कर्ण, पारस विक्रम थापा, बोर्ड मेम्बर गरिमा विकास बैंक सञ्जीव ढकाल, विद्वान साहित्यकार प्रा. डा. शेषकान्त अर्याल लगायतका व्यक्तित्वहरूले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा अनिता ढकालद्वारा लिखित किन नेपाल रुन्छ ? शीर्षकको कविता सङ्ग्रह विमोचन भयो । कविता संग्रहमाथि समीक्षा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभयो र आज सामाखुसी साहित्य समाजको नियमित रचनावाचन कार्यक्रम अन्तर्गत विभिन्न कविहरुले रचना वाचन गर्नुभएको थियो ।  आज रचना वाचन गर्ने कविहरूमा लुमडी खनाल कृष्णप्रसाद पौडेल, रामचन्द्र न्यौपाने, वीरबहादुर टेकबहादुर लौडारी, कृष्णकान्त घिमिरे, शिवराज पौडेल, कल्पना भट्टराई, हरिप्रसाद घिमिरे, जगदीश्वर पोखरेल, अरुण बहादुर खत्री, सुशीला ढकाल अधिकारी, द्वारिका कुइकेल, चन्द्रबदना घिमिरे, दिव्यचन्द्र आचार्य, कल्पना अधिकारी, धनबहादुर थापा, शेषकान्त अर्याल, धरणीधर गुरागाई लगायतका कविहरूले कविताहरू गद्य र पद्यमा वाचन गर्नुभएको थियो। प्रमुख अतिथि प्रधानले नेपाली साहित्यको उठान विकास समस्या र विश्व साहित्यमा नेपाली साहित्यको स्थान प्रष्ट पार्नुभयो भने साहित्य साधना गर्न लामो समय लिएर जो साहित्यकारले साधना गर्छ ऊ खारिएर निक्लिन्छ र लामो समयसम्म टिक्न सफल हुन्छ, लहडमा साहित्यकार बनेकाहरू खहरे खोला झैँ केही समयमा सुकेर जाने अवस्थामा पुग्छन् । त्यसो भएको हुनाले मनैबाट लामो साधना गर्दै साहित्य लेखनमा लाग्नुपर्छ अनि मात्र सफल भइन्छ भन्ने कुरा उहाँले व्यक्त गर्नुभयो ।  सभापतिको आसनबाट बोल्दै भाग्यशाली अधिकारीले सामाखुशी साहित्य समाजको इतिहास, यसले सञ्चालन गर्दै आएको लामो रचनावाचनको श्रृङ्खला र धेरै साहित्यकारहरूका प्रतिक्रियाहरु आफूले पाएको र निरन्तर साहित्यिक यात्रामा लागिरहने उर्जा मिलेको बताउनुभयो । कार्यक्रममा रत्नेश्वरलाल कणर्, पारस विक्रम थापा, चण्डीराज ढकाल पूर्व न्यायाधीश लगायतका व्यक्तित्वहरूले कृतिकार अनिता ढकाललाई बधाई दिँदै किन नेपाल रुन्छ ? कविता संग्रहको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उक्त कार्यक्रममा कवि सर्जक अनिता ढकालले पनि कृति लेखनको पृष्ठभूमि घरायसी पृष्ठभूमि र आफ्नो व्यावसायिक बैंकिङ क्षेत्रको पृष्ठभूमि समेतलाई जोडेर कृति सिर्जना गर्दाका क्षणहरू सम्पूर्ण उपस्थित महानुभावहरूको बीचमा व्यक्त गर्नुभएको थियो भने कृतिकारका बुबा मेघराज ढकालले पनि कार्यक्रममा आफ्ना धारणा राख्नुभएको थियो । मर्स्याङ्दी बाङमय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पनि कृतिमाथि चर्चा गर्दै कवि अनिता ढकाललाई आगामी दिनमा अझ सशक्त कृति सिर्जना गर्न उत्प्रेरणा प्रदान गर्नुभयो । कार्यक्रमको सञ्चालन साहित्यकार गङ्गाप्रसाद भेटवालले गर्नुभएको थियो र उक्त अवसरमा एउटा कविता समेत वाचन गर्नुभएको थियो । सभापतिको मन्तव्य पश्चात भाग्यशाली अधिकारीज्यूले आगामी दिनका सामाखुसी साहित्य समाजले गर्ने कार्यक्रममा उपस्थित भइदिन आग्रह गर्दै सभा समापन गर्नुभयो र चिया नास्ता खाएर कवि लेखकहरू आफ्नो गन्तव्यतर्फ लाग्नुभयो । 









No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...