Monday, May 27, 2024

रञ्जना पराजुली लम्सालद्वारा लिखित -भत्किएको बार्दली - कथासङ्ग्रह - बजारमा ।

 कथाकार ...🖉 रञ्जना पराजुली लम्सालद्वारा लिखित भत्किएकोबार्दली  कथासङ्ग्रह हालसालै बजारमा आएको छ । यो कथा सङ्ग्रहलाई विश्वनाथ लम्सालले प्रकाशन गर्नुभएको हो । कथाकार रञ्जना पराजुली लम्सालले यसभन्दा अगाडि केही कृति प्रकाशन गरिसक्नुभएको छ । यसभन्दा अगाडि सुनौलो यात्राको बेनामी साथी (२०७६) कथासङ्ग्रह, आर्तनाद (२०७९) उपन्यास र यहाँहरूको हातमा छ भत्किएको बार्दली (२०८०) कथा सङ्ग्रह । यस सङ्ग्रमा १५ वटा फरक फरक विषयवस्तुलाई कथाको रूप दिँदै कथासङ्ग्रह तयार बनेको छ । र भत्किएको बार्दली कथा विषयक्रममा एघारौँ नम्बरमा रहेको छ । अन्य कथाहरू भत्किएको बार्दली शीर्षकको कथासङ्ग्रह संकलन गरी यहाँहरुले पढ्न सक्नुहुनेछ । कथाकार रञ्जना पराजुली लम्सालको साहित्यिक यात्रा अझै तिखारिँदै जाओस् लेखनी अझै तिखारिँदै जाओस् शुभकामना सहित अहिले भने भत्किएको बार्दली यहाँहरू समक्ष प्रस्तुत छ– 


          भत्किएको बार्दली 

“आज मात्र होइन रोज म त तिमीलाई दिनदिनै र छिनछिनै यसैगरी पर्खेर बस्छु । जहाँ गए पनि तिमी फर्केर आउने यही बाटो त हो नि, मैले तिमीमाथि सजाएको विश्वास पनि यही हो । मलाई छोडेर जान चाहिँ पाउँदैन है रोज π यशोदाको उज्यालो अनुहार मोटो शरीर र छलकपट रहित ठूला आँखाका परेला झिमझिम हुँदै बोलेका शब्दहरू थिए ।

 उनी नरनाथ अधिकारीका पाँच छोरीमध्ये कि कान्छी छोरी । देखे सुनेकी पढेलेखेकी, दुःख र सुखका परिभाषा पनि बुझेकि, व्यावहारिक शिक्षा पाएकी कान्छी छोरी हुन् यशोदा ।  राजधानी नजिकै भएर पनि दुर्गम जस्तै बनेको काभ्रेको भिरालो बस्तीको डाँडा गाउँ आवागमनका हिसाबले विकट भनेको एउटा वीरताको जस्तै थियो । 

त्यही बस्तीका नरनाथ अधिकारी आफ्नो पौरख  र पराक्रमले समाजमा नाम कमाएका प्रतिष्ठा कमाएका र समाजसेवा र सामाजिक सुधार कार्यमा सबैलाई सजग गराउने व्यक्ति भनेर परिचित छन् । शोषण थिचोमिचो र नाजायज फाइदा उठाउनेहरूको विरोध गर्दागर्दै पनि आफ्नो हैसियत जोगाउन सफल भएका उनको समाजमा बाँच्ने र बचाउने कला थियो । सबैका होची अर्गेलीमा विचार पुर्याइदिन्थे । सामान्य झैझगडाका न्याय निसापका लागि अड्डा अदालत जानुभन्दा नरनाथका आँगन पिढी र बैठकमा नै मानिसहरूको भिड लाग्दथ्यो । 

धेरै भयो नरनाथका छिमेकीले भोकै मर्नुपरेको छैन । रोगले थलिएर बाँच्नुपरेको पनि छैन । गाउँ ठाउँ ऐँचोपैँचो व्यवहार खुलेकै थियो । मेलमिलाप थियो । इमान र जमान पनि थियो । 

सकेसम्म रिस राग र कुनै पनि विषयका वैभाव समाजमा उत्पन्न नहोस् र भइहालेमा पनि त्यसको उपचार आपसी छलफल र सल्लाहबाट टुङ्गो लाउनु पर्दछ भन्ने मान्यता राख्न उनी सफल थिए । 

समय एकै नासको नहुनेरहेछ ।

नरनाथ त्यस गाउँका निश्चित व्यक्तिका आँखाका कसिङ्गर बन्न लागेछन् । भिराले ओडारको कान्छीको चियापसलमा काम नगरेर बरालिएको जमात जम्मा हुन लागेको धेरै भइसकेछ । गाउँ भाड्ने लफङ्गाका बाहुल्यता बढेको कान्छीको चिया पसलले मान्छेको रूपै फेर्न थालेछ । 

उनले निस्वार्थ सेवा गरेको त्यस पवित्र कामको पनि डाह र इर्सा गर्ने दुष्ट मानसिकताले गाउँ भरिन लागेको कुरा नरनाथले बुझ्न थाले । कोही नआई कसैको दुःख सुख पनि सुन्न नपर्दा र मानिसका अनावश्यक भिडभाडले घर फोहोर नहुँदा एक किसिमको सन्चो त भएको थियो उनलाई तैपनि आफूले गरिरहेको सेवाकार्यमा यस प्रकार बाङ्गगाडिङ्गा आलोचना र कुरा कटाइका कारण भने उनलाई ननिको लाग्न थालेको थियो । 

नरनाथको विरोध हुन थालेको कुरा यत्रतत्र सुनिन्थ्यो । सिधासाधा र नरनाथका आश्रित गाउँलेहरूले पनि नरनाथलाई राम्रो मान्छे भन्न नपाउने वातावरण सृजना हुन लाग्यो । सबैजनाले नरनाथको प्रशंसा र उनले गरेका राम्रा काम कुरा र सेवामा जयजयकार गरेको सुन्न नचाहने एउटा वर्गले टाउको उठाउँदै रहेछ । नरनाथले आफू “भलो त जगत भलो” भनेर कसैको वास्ता गरेनन् । 

गरिब  निमुखा र अशिक्षित वर्ग जता खान पायो त्यतै ढल्किँदो रहेछ । नरनाथले आजसम्म गरेको गुणलाई बिर्सने कमजोरी पनि उनीहरूमा प्रष्टै देखिन्थ्यो । 

एकदिन हर्केले आएर भन्यो “रामशरणको काममा जाँदा पाँच सय आउँछ । तपाईँ जम्मा चार सय पचास मात्र दिनुहुन्छ ।”

उसले देखाएको ज्यालाको असमानताबारे नरनाथको अर्कै प्रतिक्रिया देखिन्छ ।  ”यसबारे कसैले खराब नियतले समाजका सिधा साधालाई भड्काइरहेछ” भन्ने उनले बुझेका छन् । 

उनी भन्छन् – “हेर हर्क म तिमीलाई तीन साँझ खान दिन्छु, रामशरणले त खाजा समेत दिँदैन भन्ने बुझेको छु ।” 

केही दिन बितेको थियो एक दिन वीरबहादुरले भन्यो– ”तपाईंको खेतमा म काम गर्न सक्दिनँ, आम्दानीको एक खण्ड मात्र बुझाएर हुन्छ भन्ने विचार गर्छु ।“ 

नरनाथले “गाउँका ठूला बडाले तिमीलाई एक चौथाइमा काम लगाएका छन् । मसँग चाहिँ तीन चौथाई माग्छौ ?“ भनेर प्रश्न गरे । 

ढोलप्रसादले एक बिहान घरमा आएर नरनाथलाई धम्क्याएछ– हेर नरनाथ अब म तिम्रो जग्गाको बालीनाली केही बुझाउँदिन जसको जोत उसकै पोत भइसकेको छ । ”अब छोड्दिन ।”

हुन पनि गाउँघर त अब दिनदिनै बेग्लिँदै जान थालेछ । नरनाथसँग सबै टाढा टाढा हुन थालेका छन् । समाजमा मर्यादा टुट्ने क्रममा छ ।जग्गा जमिन जबरजस्ती हडप्ने खेतीका बाली लुट्ने घरका अन्नपात खोस्ने र बथानलाई बटुलेर साँझ रात खुवाउनुपर्ने गोठका राँगा भैँसी भन्न नपाउने खसी बोकाको हक अधिकार पनि लुटेराका अधीनमा चल्ने र जवान छोराछोरीहरु सबै सामाजिक कुकृत्यको संगठनमा समर्पित गराउनुपर्ने जस्ता निन्दनीय र निकृष्टताले समाज व्याप्त बनिसकेको थियो ।

नरनाथ आफैंलाई सोध्छन् होइन, यो समाज यसतर्फ प्रश्न गर्न किन डराउँछ ? 

समाज सुधार र निर्माणका नाममा हुने गरेका विनाश, सामाजिक रुपान्तरणका नाममा हुने गरेका अवांचित हिंसा, राष्ट्रियताका नाममा हुने गरेका संस्कृतिमाथिको प्रहार र धर्म परिवर्तनका व्यापक खेलले प्रत्येक नेपालीलाई नेपाली भएर बाँच्न नदिएको अनुभूति गराउँदै मानिसलाई जिउँदो भएर बाँच्न नदिएको आभास गराउँथ्यो । 

यति मात्र भएको थिएन । देशका होनहार युवाहरू लुकेर बस्न बाध्य बने । कोही भारत पलायन बने भने कोही पढ्ने र कामका खोजीका बहानामा अरब मुलुकतर्फ ओहिरिन थाले ।हरेक परिवारले आफ्नो सदस्य मरेको मारिएको र यसैगरी हराउँदै वा विदेश पलायन भएको पीडा भोग्न थाले, तर एउटा वर्ग आफूलाई श्रेष्ठ ठानेर देश विकासको ढ्वाङ फुक्दै सामाजिक संरचना भत्काइरहेको थियो । घर गाउँमा बुढाबुढी वा कथित परिवर्तन अभियानमा घाइते भएर अपाङ्ग बनेका र उपचार नपाएका मानिसहरुले भरिँदै थियो । 

नरनाथ छायाँमा परे हराए सिधा साधाले बाँच्न नपाउने समय आएको महसुस हुँदै थियो ।

 तैपनि मनले खाएका र अझै पनि आफूप्रति आस्था देखाउँदै गरेका गाउँलेहरुलाई सम्झाउँदै भन्थे– “ जरा समेत मासेर छाक टार्न खोज्यो भोलि त तिमीलाई त्यसले फल दिन सक्दैन ।”

छाके प्रवृत्तिले नरनाथको भाषा बुझेन उल्टो उनको घर बैगलबाट धान र गहुँका बोरा जबरजस्ती खसाल्न लाउँथ्यो । ढुकुटीका नोट पैसा सबै लुट्थ्यो र भन्थ्यो–  ”कसैलाई भनिस् भने तेरो ज्यान लिन्छु ।” 

कत्रो परिश्रम र साधनाबाट निर्मित नरनाथको घर गृहस्ती एक दुई दिनमा झर्यामजुरुम फुट्यो, भत्क्यो । 

जवान भइसकेका छोरीहरूको भागाभाग चल्यो। नरनाथ आफै ज्यान जोगाउनका लागि लुक्दै छिप्दै आफन्तका घरतिर लागे । सानी छोरी यशोदा र बुढी आमा मात्र बसेर घर कुर्दै थिए। बेलाबेलामा तैपनि के के भनेर धम्क्याउने जथाले रात साँझ केही भन्दैनथ्यो । 

केही समयपछि यशोदाकी आमा त्यही पिरले मरिन् नरनाथ पनि कुन्ने कता जाँदा दुर्घटनामा परेर मरेको खबर आयो । यशोदा साँच्चिकै एक्लो र निसाय बन्दै थिइन्। पल्लो गाउँका ठकुरी बाको छोरो रोजले बेलाबेलामा भेट्ने गर्दथ्यो । लुक्दै छिप्दै उनको सामान्य रेखदेख गर्ने रोजमाथि पनि चुनौती थपियो । उसलाई पनि कसैले पक्डन लागेको थाहा पाएर ऊ एकदिन हतारिँदै यशोदाको घरमा आएर भन्या–े ”यशोदा मलाई पनि मार्न खोज्दैछन् रे भनेको सुनेको छु, बाँचे भने भेट्न आइहाल्छु नभए आफ्नो जीवनको ख्याल गरेर बस है ?“ भन्दै अंगालो मारेको थियो उनलाई ।

”तिमी जसरी पनि यही बाटो फर्कन्छौ, म तिमीलाई पर्खिरहन्छु“ भनिन् यसोदाले । 

त्यसपछि ऊ बेपत्ता भयो । 

एघार– बाह्र  वर्षको अवधिमा यशोदाले खपेका भोगाइका आफ्नै पीडा छन् ।उनको बाँच्ने आधार र विश्वासको पात्र उनको लागि । जहाँ गए पनि रोजको आफ्नो घर फर्कने बाटो त्यही थियो । उनी त्यही आशाले रोजको बाटो पर्खिरहेकी थिइन् । 

स्याहार सुसार र रेखदेख नभएपछि घर दैलो पनि फुङ्ग उठ्दो रहेछ , घर आँगन पिँढीमा लेउ लागेको र ठाउँ ठाउँमा बलेसीले भत्काएको डोब देखिन्छन् । छानापालीमा घाँस उम्रेका छन् । घरको रङ्ग उडेको छ । बार्दलीका काठमा भाँचिन थालेका छन् । कतै कतै फल्याक झरेर बार्दलीको खाली भाग पनि देखिन्छ । 

खानपिन आहार नपुगेकी डर र त्रासमा बाँचेकी सहाराविहीन यशोदाको जीवनमा बैस नै नआएर बुढी देखिएकी थिइन् । उनले लाएको यस्तो थोत्रो र महिलो पहिरनले उनी बाँचेको देशको गीत गाइरहेको
थियो ।

उनी अझै रोज सकुशल फर्किने आशा गरिरहेकी हुन्छिन् । बार्दलीमा बसेर सधैं बोल्ने उनको भाषा त्यही हुन्छ– ”रोज तिमी फर्कने बाटो त्यही त हो नि म सधैं पर्खेर बस्छु ।“

भोलिपल्ट बिहान यशोदाको घर छेउमा उदाएको सूर्यमा मलिनता थियो । एउटा कौवा पनि नराम्रो शब्द निकालेर कराउँदै छाना छाना उड्दै थियो । यशोदाले सुनेको समाचार सत्य थियो भने त्यो उनको लागि अत्यन्त अप्रिय हुन्थ्यो, त्यसैले उनी भन्थिन्– “मेरो रोजलाई कतै केही नहोस् ।”

समयले एकछिन पनि पर्केन उनलाई । मानिसहरूको लावा लस्करका साथ एउटा ठूलो बाकसमा ल्याइएको लास रोजको थियो भन्ने बुझेपछि उनी बार्दली नै हल्लिने गरी रुन र कराउन थालिन् । मक्किएको काठको त्यस बार्दलीले पनि उनको पीडा सहन सकेन र त्यसलाई बोझको अनुभव गर्दै सिङ्गै बार्दली भुइँमा झर्यो । मलामी बनेर आएका सबैले यशोदालाई उठाउन खोजे । उनले पनि अन्तिम सास फेरिसकेकी रहेछिन् ।

नरनाथका जस्तै अस्तव्यस्त हुँदै ध्वस्त बनेका पारिवारिक जीवनका लामा लामा कथा सुनेका मलामीहरूले यो कथालाई विशेष महत्वका साथ सम्झँदै मलामतिर लाग्छन् ।

 सुलेख पूर्णाङ्क ११९ । 











No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...