नियात्रा –
“बयासीमा बिर्सियो ब्यानर बसैमा“🖊🖉
हाम्रो ८२अौं स्रष्टा पदयात्रा २०८१÷०२÷०५ मा सम्पन्न भएको छ । हामी जम्मा ५१ जना स्रष्टाको रहरलाग्दो उपस्थितिले यो यात्रा विशेष रमाइलो रह्यो । आजका सहभागीहरूमा –१. प्रतिक घिमिरे, २. मधु पाठक, ३. सुषमा आचार्य, ४. खोलाघरे साहिलो, ५. सुभाष चन्द्र पौडेल भीमफेदीया, ६. डा.बालचन्द्र मिश्र, ७. जयराम बिडारी, ८. रुवी सत्याल, ९. हरीश कल्पित, १०. कल्पना आचार्य, ११. एन.बी.जनकपुरी, १२. एन्जेल निलु, १३. डा.शशी थापा पण्डित, १४. नवराज रिजाल, १५. राजन पुडासैनी, १६. विनोद नेपाल, १७. प्रदीप सापकोटा, १८. नानीबाबा अधिकारी, १९. उषा केशी, २०. शीतल गिरी, २१. गंगाप्रसाद भेटवाल, २२. बुद्धिसागर पौडेल, २३. मन्दिरा मधुश्री, २४. प्रोल्लास सिन्धुलीय, २५. गंगा खतीवडा, २६. शारदा पराजुली, २७. डा.यादेवी ढकाल, २८. वसन्त रिजाल, २९. परशुराम परासर, ३०. विष्णु खनाल, ३१. विमल अर्याल, ३२. माधवलाल श्रेष्ठ, ३३. लक्ष्मी मुडभरी, ३४. गोविन्द नेपाल, ३५. अप्सरा ढकाल, ३६. शोभा पोखरेल, ३७. वासुदेव गुरागाईं ३८. साम्राज्ञी भट्टराई, ३९. माधव घिमिरे ‘अटल’, ४०. हिमा पौडेल, ४१. पार्वता खनाल, ४२. घनश्याम प्रसाई, ४३. खुश्बु रिजाल, ४४. सुधा पोखरेल, ४५. प्राप्ति पोखरेल, ५६. प्रसिद्धी भण्डारी, ४७. शान्ता देवकोटा ४८. गीता रेग्मी, ४९.नवीन कार्की, ५०. गीता निरौला भण्डारी र ५१. विजया बस्नेत । हामी यति ५१ जना मात्रै स्रष्टा पदयात्रीहरूअधिकांश पीताम्बरी टीशर्ट लगाएका केही मात्रै साबिकको पोशाकमा पदयात्रा गर्दै ढोलाहिटी,च्याउँ डाँडा हुँदै खोलाको किनारैकिनार भएर सुनाकोठी बालकुमारी मन्दिर,धापाखेल नागदह, झरुवारासी ,सन्तानेश्वर महादेव, चापागाउँ बज्रवाराही मन्दिरमा पुगेर अवलोकन साथै रचनावाचन पश्चात् साँझ चापागाउँबाट बस चढेर फर्किएका छौं ।
हामी सातदोबाटो चापागाउँ चोकमा ७.३० बजे भेला भएर अरूलाई पर्खिंदै पैदल हिंड्न थाल्यौं ८ बजेतिर खुमलटार हुँदै ८.५५ मा सुनाकोठी पुग्यौं । त्यहाँ ग्राउनमा निकै प्रतिस्पर्धाको फुटबल खेल निर्णायक क्षणमा हुँदै रहेछ, उद्घोषण सुन्दै ,हेर्दै हामी हिंड्यौं । त्यसकै छेउमा रहेको बालकुमारी मन्दिरमा ९ बजे पुगेर पहिलो विश्राम लियौं र त्यहाँ पहिलो चरणको रचनावाचन सम्पन्न भयो । यो चरणको प्रस्तोता प्रतीक घिमिरे हुनुहुन्थ्यो र यसमा –शीतल गिरि,वसन्त रिजाल,माधव घिमिरे अटल,मधु पाठक,प्रोल्लास सिन्धुलीय,सुषमा आचार्य र सुधा पोख्रेलले कविता सुनाउनुभयो भने घनश्याम प्रसाईं , हिमा पौडेल,माधवलाल श्रेष्ठ र प्रकृति भण्डारीले गीत सुनाउनुभयो । सुनाकोठी र बालकुमारी मन्दिरको निकै फराकिलो परिसर रहेछ । यहाँबाट पूर्व लागेर हामी निकै लामो झोलुङ्गे पुलमा पुग्छौं । यो पुलमा हिंडेको बेला हाम्रो समुहको पीताम्बरी टीशर्ट लगाएका सहभागीहरूको लर्को देखेर वरपरका स्थानीय वासिन्दाहरू निकै रमाइलो मान्दै जिज्ञासु भएर हेर्छन् । त्यो पुल तरिसकेर केही समय हिंडेपछि एउटा ओरालो अनि अलिकति उकालो हिंडिसक्नेबित्तिकै हाम्रा नजर नागदहको प्रवेशद्वारमा परिहाल्छन् । हामी नागदह पुगेका छौं । पूर्व,पश्चिम र दक्षिणमा ३ कोण भएको यो दह निकै ठूलो र गहिरो दह रहेछ । जलकुम्भीले छेउछाउको भाग निकै ढाकिसकेको तर पनि भित्री सतह ठिकै रहेछ । नागदहको कथा रातो मच्छिन्द्रनाथसँग जोडिएको रहेछ । नागराजा कर्कोटकलाई मञ्जुश्रीले चोभारको टौदहमा वस्ने व्यवस्था मिलाइदिएपछि नागिनीनीहरूलाई चैं यो दहमा व्यवस्थापन गरिएको भन्ने किम्वदन्ती रहेछ । बर्सेनी नागपञ्चमीमा यहाँ ठूलो मेला लाग्दोरहेछ । बाहिरको मान्छे यहाँ आएर पौडी खेल्दा नागहरूले तानेर डुबाइदिने र मृत्यु नै हुने घटना भएका रहेछन्,चारजना चढेको डुङ्गा नै डुबेर ती मान्छे मरेको सत्य घटनासमेत रहेको, तर स्थानीयहरू भने पौडिएर पार गर्छन् भनेर एक जना स्थानीयले बताए । यहाँ अस्थानीयलाई पौडिन अनुमति रहेनछ ।
यसैको पश्चिमी किनारामा हाम्रो समुहले दोस्रो चरणको रचनावाचन सम्पन्न गरेको । दोस्रो चरणका संयोजक नवराज रिजाल हुनुहुन्छ र रचनावाचन गर्नेहरूमा– पर्शुराम परासर,शारदा पराजुली (दुवैले कविता पञ्चचामर र भुजङ्गप्रयातमा),प्रतीक घिमिरे– “अक्षरको आन्दोलन“,डा.बालचन्द्र मिश्र– लोकलयमा,एन बी जनकपुरी– गीत,रुबी सत्याल,उषा आचार्य–मुक्तकहरू ,सुषमा आचार्य –कविता“शान्ति “ पार्वता खनाल भट्ट,गीता रेग्मी ,जयराम विडारी हुनुहुन्छ । त्यहाँबाट पूर्वोत्तर वा ईशान दिशामा रहेको सन्तानेश्वर मन्दिरको लक्ष्य लिएर हामी अघि बढेका छौं । यहाँबाट बाटो लाग्नै लाग्दा हाम्रो समुहका सदस्य नारायण भण्डारी जनकपुरीको ज्याकेट कतै बाटामा खसेर हराएको कुराले निकै खैलाबैला हुन्छ,मायामारी नै भएको बुझेर ,फर्केर अघि आएकै बाटो खोज्न जान त्यो कडा गर्मीमा कसैलाई आँट आएन । उपत्यकामा सो दिनको तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम थिएन । मैंले नै बरु खोज्न जाने विचार गरेर एउटा बाइकसँग लिफ्ट मागिहेरें,त्यसले म त्यता जाने होइन भनेपछि जनकपुरीले पनि “होस् छोडिदिऊँ“ भन्नुभयो । (पछि आउने साथीहरूमध्ये कसैले टिपेर सुटुक्क बोक्नुभएको रहेछ,साँझमा दिनुभयो) अनि हाम्रो टोली नागदहबाट पूर्वोत्तरको माथि डाँडामा देखिने सन्तानेश्वर मन्दिरको गन्तव्य ताकेर उकालो लागेको हुन्छ । सींडी नै सींडीहरू उक्लिंदै सन्तानेश्वर परिसरमा १२ बजेतिर पुग्छौं । अग्लो डाँडामा रहेकाले यहाँबाट टाढाटाढासम्मको मनोरम दृश्य देखिने हुँदा निकै रमाइलो लागेको छ । त्यही मन्दिरको विश्रामालयमा हामी सहभोजन गर्छौं । भोजनपछि तेस्रो चरणको रचनावाचनका लागि जम्मा हुन्छौं । यहाँ मन्दिरका पुजारी गङ्गा गौतमले सन्तानेश्वर महादेवका बारेमा राम्रो जानकारी दिनुभएको छ । स्वस्थानी कथाअनुसार यो ठाउँमा सतीदेवीको माथिल्लो ओठ पतन भएको रहेछ । भक्तजनको अपार भीड लागिरहने यहाँ दर्शन गर्न आउँदा निःसन्तानले सन्तान प्राप्त गर्ने र सन्तान भएकाहरूले पनि सन्तानको सुख शान्ति ,प्रगति प्राप्त गर्ने विश्वास छ भनेर उहाँले बताउनुभएको छ । पाँचथर भारपामा जन्मिएका यी पुजारीको सेवाकर्म यो मन्दिरमा निकै वर्ष भएको रहेछ ।
हामीले तेस्रो चरणको रचनावाचन गर्न सोचेको मूल मन्दिरको पश्चिमी भवनको छतमा पुजारीको भनाइ मात्रै सुन्न अनुकूल भएको छ हामीलाई । किनभने यसको ठीक उता दक्षिणपटि मिथिला क्षेत्रका भक्तजनहरूको निकै सुन्दर भजनको कार्यक्रम चल्दै गरेकाले हाम्रो रचनावाचनले उहाँहरूलाई बाधा नगरोस् भन्ने लागेर हामीले अघिकै सींढीदार बाटो अलिक तल झरेर मन्दिर परिसरकै खुल्ला सडकमा तेस्रो चरणको कार्यक्रम गरेका छौं । यहाँ रचनावाचनको व्यवस्थापन डा. बालचन्द्र मिश्रले गर्नुभएको र वाचन गर्नेहरूमा– मन्दिरा मधुश्री,गंगा भेटवाल,अप्सरा ढकाल,हरीश कल्पित,लक्ष्मी मुडभरी,सुवासचन्द्र पौडेल भीमफेदिया,गंगा खतिवडा ,विजया बस्नेत हुनुहुन्छ ।
यो सन्तानेश्वर मन्दिर रहेको क्षेत्रलाई झरुवारासी भनिदो रहेछ । गोदावरी न.पा. को १३ नं वडामा पर्दोरहेछ यो । वाचन कार्यक्रम सकेर हामी झरुवारासी परिसरबाट अघि बढ्छौं । जनविकास मा. वि.को भवनकै अगाडिबाट केही ओरालो परेर अघि बढेको बाटोबाट अघि बढ्दै गएर गोदावरी नगरपालिकाको बडो सुन्दर,भव्य भवनलाई दाहिनेतिर छोड्दै हामी देब्रेतिरको वज्रवाराही मन्दिर परिसरमा प्रवेश गरेपछि मन्दिरमा दर्शन गरेर मन्दिरकै उत्तरतिरको खुल्ला ठाउँमा रचनावाचनका लागि भेला भएका हुन्छौं । जङ्गलैजङ्गल वरिपरि,बीचमा मन्दिर । चराचुरुङ्गीको चहचह ।
चौथो चरणको वाचनको सहजीकरण कल्पना आचार्यले गर्नुभएको छ । यसमा सहभागी स्रष्टाहरू– विमल अर्याल (कविता),राजन पुडासैनी (कविता) ,शान्ता देवकोटा (मुक्तक+कविता) ,जयराम विडारी (मुक्तकहरू),विनोद नेपाल (लघुकथा),बुद्धिसागर पौडेल (कविता), नवराज रिजाल(लघुकथा)डा. शशी थापा पण्डित( कविता),डा. यादेवी ढकाल (कविता),विष्णु खनाल (कविता,)शोभा पोख्रेल गजल),खुश्बू रिजाल–(कविता) हुनुहुन्थ्यो ।
पाँचौं चरणको वाचन पनि यही ठाउँमा सम्पन्न गरियो । यो चरणमा रचना वाचन गर्नेहरूमा–खोलाघरे साहिंलो ( कविता“भैंसी बनाऊ बरु“),कल्पना आचार्य ,एञ्जेल निलू (मैथिलीमा कविता),पिँडालु पण्डित ,प्रदीप सापकोटा,नवीन कार्की,गीता निरौला भण्डारी यति पर्नुभयो । यस पछिल्लो चरणमा सबैले कविता मात्रै पाठ गर्नुभयो ,अरू विधा थिएनन् । वाचन समाप्त भएपछि वज्रवाराही मन्दिर व्यवस्थापनका तर्फबाट
चिरञ्जीवी देवकोटाले स्रष्टा पदयात्राले आफूलाई सकारात्मक प्रभाव पारेको छोटो मन्तव्य दिनुहुन्छ । यसरी नै अध्यक्ष शीतल गिरिले मन्तव्य दिनुभएपछि उपाध्यक्ष विमल अर्यालले गर्नुभएको छोटो सम्बोधनमा हाम्रो संस्थामा आबद्ध सबैलाई नियमको पालना गर्न अनुरोध गर्दै सधन्यवाद सो दिनको सभा अौपचारिक रूपमा समाप्त भएको जानकारी गराउनुहुन्छ र सभा समाप्त हुन्छ ।
अब चिया खाने पालो –
वज्रवाराही मन्दिर परिसरबाट निस्किएर हामी अलिक परतिर चापागाउँकै बसस्टप छेउको एउटा चिया पसलमा जम्मा भएर चिया खान्छौं । समय बेलुकाको ५ बजेतिर भएको हुन्छ । चिया आधाजति खाइसक्न लाग्दा कताबाट हो एकएकवटा जेरी वितरण हुन्छन् । कसैले चियासँग जेरी खाएका छौं ,कसैले जेरीसँग चिया खाएका छौं, तर जेरी खाइसकेपछि चिया चैं नमिठो !
अब ता आआफ्नो बाटो नाप्ने काम मात्रै बाँकी रहेको छ । सडकतिर निस्किएर सातदोबाटो ,लगनखेलतिर जाने बसहरू,माइक्रो बसहरूमा छिर्न थाल्छौं हामी । आधा शयभन्दा बडी मान्छे अटाउन निकैवटा साधन चाहिने । अरू यात्रीले नै भरिएका देखिन्छन् आएका बस,माइक्रोबसहरू । अलिक पातलो भीड देखिएकामा चढ्दै,जाँदै गर्दैछौं,घट्तैछौं । हामी ५ जना चैं सबैभन्दा पछिल्लामा परेका छौं । ५ जना भनेको– विजया बस्नेत,उषा आचार्य ,नवराज रिजाल, र गङ्गाप्रसाद नामधारी २ जना (एकजना भेटवाल र अर्को अधिकारी) । यति पाँचैजनाको सातदोबाटोसम्मको भाडा उषा आचार्य बहिनीले दिनुभएछ,हामीले नमान्न खोज्दा पनि भएन,दिएरै छोड्नुभयो । उहाँको जिउ अलिक ठुलो– जिउभन्दा मन झन् ठूलो पो रहेछ,हार्दिक धन्यवाद उषा बहिनी !
विजया बस्नेत बहिनीले अर्कै प्रभाव पार्नुभयो,कुरैकुरामा थाहा पाइयो । शरीरले एउटा दीर्घरोग बेहोर्नुपर्ने बाध्यता रहेछ उहाँको , उपचार जारी रहेछ । महिला हुनाले घरको,परिवारको दायित्वबोधले धेरै जिम्मेवारी पनि छ,जागिर खानु अनिवार्य छ,नेपाल सरकारको स्थायी कर्मचारी । पीएचडी गर्दै हुनुहुँदो रहेछ “ नेपाली उपन्यासमा सामाजिक यथार्थवाद“ शीर्षकमा । म ता छक्क परें । मसँगै बसेका साथी आफूप्रसाद भेटवाल झन् तीनछक्क । रमाइलोसँग गफगाफ गर्दै सातदोबाटो आइपुगियो । अब सबैले आआफ्नै गन्तव्यका सवारीसाधन पहिल्याउनुपर्ने ।
ब्यानरको कुरा बाँकी नै छ । स्रष्टा पदयात्राका शुरुदेखिकै सदस्य डिल्लीरमण सुवेदीको प्रेसमा बनाउन लगाइएको हाम्रो स्रष्टा पदयात्राको रचनावाचनको ब्यानर ल्याउन मलाई भन्नुभएको हुन्छ शीतल सरले । पँहेलो टीशर्ट लगाएर जानुपर्ने ह्वीप पनि छ यस पालिदेखि । म बागबजारबाट ब्यानर लिएर टीशर्ट बनाउन लगाएको पसल “ युनिक टेलर्स“ डिल्लीबजारतिर लाग्छु । म त्यहाँ सोधीखोजी गर्दै पुग्छु तर टीशर्ट सिद्धिसकेको हुन्छ, नियमित पदयात्रामा नजानेहरूका लागि पनि पछि कुनैबेला जालान् भनेर जोहो गरिहालेछन् ,त्यसो गर्नाले मजस्ता अरू पनि कतिपयले नपाएको पनि थाहा भयो । छिटै अरू पनि बनाइदिने आश्वासन र लौरोजस्तो पारेर बेरेको ब्यानर लिएर म फर्किन्छु ।🖉
ब्यानर लिएर बिहान पदयात्रामा सहभागी हुन्छु,बाटामा पनि मेरै हातमा भएको ब्यानर रचनावाचन कार्यक्रम भएका ठाउँहरूमा टाँग्ने गरियो । अन्तिममा पनि घुमीफिरी आयो मेरै हातमा । मैंले नै लगेर राख्नुपर्ने अर्थ बुझियो ,बोकें आफ्नो निजी सम्पतिजत्तिकै माया गरेर ।
सातदोबाटो आएर बसबाट ओर्लिने हतारमा ब्यानर छुटेछ,ओर्लिने बेलामा झोला मात्रै बोकेंछु,ब्यानर भित्तामा उतापटि लडेर छेलिएछ ,र त देखिएन । आँखाअगाडि भएको भए बिर्सिने थिएन । बिर्सेको कुरा पनि सातदोबाटोबाट अर्को बस चढेर कोटेश्वर आइपुग्दा मात्रै थाहा पाएँ । बसको नम्बर हेरेको थिएन,भेट्टाउने उपाय नै थिएन । निराशामा रुमलिएरै घर आइपुगेर सुनाइदिएँ शीतल सर,डिल्लीरमण भाइ र अरूलाई पनि ।
डिल्लीरमणलाई अर्को ब्यानर बनाउन पनि भनिहालेको छु ।
लौ है त ! अर्को पदयात्रामा आउँदा लाउँला पिरती ! २०८१÷०२÷१८ ... 🖊 खोलाघरे साहिलो ।
No comments:
Post a Comment