गङ्गाप्रसाद भेटवालको जन्म २०३३ साल असोज २ गते झापा जिल्लाको गौरादह नगरपालिका वार्ड नं ४ किस्तीचौनमा भएको हो । उनको बुबाको नाम तुलसीप्रसाद भेटवाल र आमाको नाम कृष्णमाया भेटवालहो । भेटवालहरूको मुख्य थलो काभ्रे जिल्लाको पलाञ्चोक भगवतीस्थान हो भने त्यहाँबाट धेरै पुस्ता अगाडि नै तेह्रथुमको इसीबु हुँदै गङ्गाप्रसाद भेटवालका खलक ताप्लेजुङ पुगे र ताप्लेजुङमा पाँच पुस्तासम्म बसेर झापामा बसाईं सरेको बंशावलीमा उल्लेख छ । गङ्गाप्रसाद भेटवालले गौरादह नगरपालिका वडा नम्बर ४ स्थित भीमसेन प्राथमिक विद्यालयबाट शिक्षा आरम्भ गरेका हुन् । भीमसेन प्राथमिक विद्यालय घर नजिकै भएको हुनाले उनले प्राथमिक तहको पढाइ सजिलैसँग पूरा गर्ने अवसर पाएका थिए । पढाइमा सानैदेखि तेज भेटवाल प्राथमिक तहदेखि नै पढ्नमा लगनशील विद्यार्थीका रुपमा देखिएका थिए । प्राथमिक तहको पढाइ कक्षमा प्रथम हुदै पूरा गरे । प्राथमिक तहमा अध्ययन गर्दादेखि नै विभिन्न कविता वाचन, कथा लेखन, कविता लेखन कार्यक्रममा धेरै विद्यालयहरूमा प्रतियोगीका रुपमा पुगी पुरस्कार जित्ने पनि गर्दथे । त्यस क्षेत्रको माध्यमिक तहको पढाइ हुने विद्यालय– स्कूलचौन माविमा स्रोत केन्द्र अन्तर्गतका धेरै विद्यालयहरूका विद्यार्थीहरु रचनात्मक क्रियाकलापमा सहभागी हुन्थे । त्यहाँ हुने धेरै रचनात्मक बालक्रियाकलापहरूमा भीमसेन प्राथमिक विद्यालयले पुरस्कारहरू जित्ने गर्दथ्यो, जहाँ गङ्गाप्रसाद भेटवाल पनि पुरस्कृत धेरै पटक भएका थिए । गौरादह नगरपालिकाकै अर्को स्रोत केन्द्र जनता माध्यमिक विद्यालयमा पनि धेरै रचनात्मक क्रियाकलापहरु हुन्थे । ती क्रियाकलापहरूमा पनि भेटवालले धेरै पटक पुरस्कार प्राप्त गरेका थिए । कहिले कवितावाचनमा कहिले हाजिरीजवाफ प्रतियोगितामा त कहिले बालकथा लेखन प्रतियोगितामा पुरुस्कार पाउथे । भीमसेन प्राथमिक विद्यालयबाट कक्षा पाँचसम्मको पढाइ पूरा गरिसकेपछि घरबाट एक घण्टाको दूरीमा रहेको जनता माध्यमिक विद्यालय गौरादहमा यिनी भर्ना भए । भेटवाल खेती किसानी परिवारमा जन्मिएका र मध्यमवर्गीय परिवारको रुपमा यिनको परिवार रहेको थियो । त्यस समयमा झापा जिल्लाका ग्रामीण बस्तीहरूमा मध्यमवर्गीय परिवारहरूसँग पनि साइकिलसम्मको पहुँच थिएन । प्रत्येक दिन घरबाट एक घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने अनि दिनभरि पढेर फेरि साँझमा एक घण्टा हिँडेर घर फर्किनुपर्दा थाकेर लखतरान बन्ने अवस्था हुन्थ्यो त्यसकारण पढाइमा केही कमजोर हने अवस्था देखियो । यिनी कक्षा छमा पढ्दा जनता माध्यमिक विद्यालय गौरादहमा तीन सय विद्यार्थी कक्षा छमा पढ्थे र ती तीन सय विद्यार्थीहरूमध्ये भेटवाल तृतीय भई छ कक्षा उत्तीर्ण गरी कक्षा सातमा पुगे । यस क्षेत्रमा भेटवालको परिवार शिक्षाप्रति लगाव राख्ने परिवारको रूपमा चिनिएको थियो । यिनका दाजु दिदीहरू विराटनगर, दमक र काठमाडौँसम्म गएर उच्च शिक्षा आर्जन गर्न थालिसकेका थिए । भेटवालले कक्षा छ, सात र ८ को पढाइ जनता माध्यमिक विद्यालय गौरादबाट पूरा गरे । जनता माध्यमिक विद्यालय त्यस समयमा झापा जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित थियो तर घरबाट टाढा भएको हुनाले धेरै समय आइजाइमै व्यतीत हुँदा पढाइमा समस्या हुन सक्ने महसुस हुन थाल्यो । त्यसपछि यिनी पढाइ गर्नका लागि काठमाडौँ पुगे र काठमाडौँमा परोपकार आदर्श माध्यमिक विद्यालयमा कक्षा नौमा भर्ना भए । यिनले परोपकार माध्यमिक विद्यालयबाट एस.एल.सी. प्रथम श्रेणीमा पास गरे र शंकरदेव क्याम्पसमा आइ.कम. पढ्नलाई भर्ना भए । शंकरदेव क्याम्पसबाट आइ.कम. पास गरिसकेपछि पुन यिनी गौरादह, झापा घर पुगे र गौरादह बसेकै बेलामा नेपाली र अर्थशास्त्र विषय लिएर स्नातक (बि.ए.) तह गौरादह बहुमुखी क्याम्पसबाट पूरा गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तह र दर्शनाचार्य तहसम्मको औपचारिक शिक्षा यिनले पूरा गरे । यिनले कानुनमा पनि स्नातक गरेका छन् र पेशाले यिनी कानुन व्यवसायी, लिक्विडेटर तथा नोटरी पब्लिकको रूपमा कार्यरत छन् । स्वतन्त्र अध्ययनमा पनि यिनको चाख निकै रहेको पाइन्छ । पछिल्लो समयमा अनुसन्धानमूलक लेखनीमा यिनको सक्रियता बढेको पाइन्छ । विभिन्न सामाजिक साहित्यिक संघसंस्थाको नेतृत्व तहमा समेत रहेर यिनले कार्य गरिरहेको पाइन्छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा २०५३ सालमा गौरादह बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको उम्मेदवार यिनी रहेका थिए भने २०७९ साल मङ्सिर महिनामा भएको संसदीय निर्वाचनमा काठमाडौँ काठमाडौँ क्षेत्र नम्बर १० बाट संघीय सांसदको स्वतन्त्रहरूको संजालको तर्फबाट उम्मेदवार समेत बन्न पुगेका थिए । यिनको हालको स्थायी ठेगाना काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वडा नम्बर ४ गाम्चाचौरमा रहेको छ । साहित्यतर्फको रुचि यिनमा बाल्यकालबाटै प्रवेश गरेको देखिन्छ । विद्यालय तहको अध्ययन गर्दाको समयमा नै यिनले अप्रकाशित रूपमा भएपनि कविता, कथा प्रशस्त मात्रामा लेखेका थिए । कक्षा नौमा पढ्दा दरबार हाइस्कुल रानीपोखरीमा भएको कवितावाचन कार्यक्रममा यिनी तृतीय स्थान ल्याउन सफल भएका थिए । उक्त कवितावाचन कार्यक्रम तत्कालीन समयको विद्यार्थी संगठन अखिलले आयोजना गरेको हुँदा उक्त पुरस्कारको हस्तान्तरण त्रिचन्द्र बहुमुखी क्याम्पसमा तत्कालीन शिक्षामन्त्री मोदनाथ प्रश्रितबाट भएको थियो । यसरी यिनले काठमाडौँ आइसकेपछि पहिलो पुरस्कार त्रिचन्द्र क्याम्पसमा तत्कालीन शिक्षामन्त्रीबाट प्राप्त गरे । यी सबै पृष्ठभूमि र आफ्ना काका जयप्रसाद भेटवालबाट कथा उपन्यास लगायतका विभिन्न लेखहरु लेखिरहने स्वभाव समेतबाट प्रेरणा पाएर यिनी साहित्य लेखनतर्फ अगाडि बढे । छापा माध्यममा पहिलोपटक प्रकाशित यिनको रचना यस्तै रहेछ शीर्षकको कविता साहित्य कला सङ्गम दमकले २०५४ सालमा प्रकाशित गरेको थियो । बिस. २०५३ देखि वि.स. २०५६ सम्म गौरादह बहुमुखी क्याम्पसमा पढ्दा यिनको सम्पादनमा भित्ते पत्रिका प्रकाशित हुने गर्दथ्यो भने वि.सं. २०५५ सालमा गौरादह बहुमुखी क्याम्पसको स्मारिका सुसेली नामको साहित्यिक पत्रिका यिनको सम्पादनमा प्रकाशित भयो । तत्कालीन समयका आफूभन्दा केही अग्रज आफ्नै परिवेशका कविहरू टङ्कराज आचार्य, विजय हतास, स्वागत नेपाल, खगेन्द्र न्यौपानेहरूबाट यिनले प्रेरणा पाए र आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउँदै लगे । उनको सम्पादनमा वि.सं.२०५६ सालमा झापाली कथा सङ्ग्रह र वृक्षलता कथासङ्ग्रह दुईटा प्रकाशित भयो । यसैगरी वि.सं. २०५८ सालमा किताब भित्रको बालसपना कथासङ्ग्रह उनले सम्पादन गरे । वि.सं. २०६० सालमा भेटवालको सम्पादनमा साझा गीत सङ्ग्रह प्रकाशित भयो । सोही समयमा कवि स्वागत नेपाल मार्फत गीतकार कृष्णहरि बरालसँग यिनको चिनजान हुन पुग्यो । सोही समयमा यिनले प्रशस्त गीतहरु पनि लेखे । कतिपय गीतहरूले विद्युतीय माध्यमहरूमा प्रसारण हुने मौका पनि पाए । गगन (२०६०) एल्बम यिनको पहलमामा रेकर्ड भएर बजारमा पनि आयो । भेटवालका शब्दहरूलाई शम्भु राई, राजु लामा, प्राश्ना शाक्य, शुभ तामाङ, दिशु मानन्धर, दिजराज पौडेल लगायतका गायकहरूले गाएका छन्, स्वर दिएका छन् र ती अझै पनि विद्युतीय माध्यमहरुमा सुन्न सकिन्छ । वि.स.ं२०६१ सालको अन्तिमतिर गएर तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. बासुदेव त्रिपाठीसँग यिनी नजिकिन पुगे । सोही समयमा गङ्गा साहित्यिक प्रतिष्ठानको मातहतमा देशका विभिन्न विद्यालयहरूमा कविता वाचन कार्यक्रम सञ्चालन गरियो । विद्यार्थीहरू आफैले शान्ति र देशभक्ति का शीर्षकहरू राखेर कविताहरू श्रृजना गरी वाचन गरे । त्यो एक किसिमको ठूलो अभियानको रूपमा सञ्चालन भयो र करिव एक हजार पृष्ठको बालबालिकाहरूद्वारा लिखित नेपाली बालकविता सङ्ग्रह भेटवालको नेतृत्वमा प्रकाशित हुन पुग्यो । त्यसपछि केही समय थिनले भारतका विभिन्न प्रान्तहरूको भ्रमण गरे । भारतीय बहुल समाजको चित्रलाई नजिकबाट बुझ्ने अवसर पाए । विशेषगरी पूर्वोत्तर भारतमा रहेका विविध जातिहरूको बारेमा नजिकबाट जानकारी प्राप्त गरे । गणतन्त्रको आगमन पश्चात केही समय परिवारलाई व्यवस्थित गर्ने काममा यिनी लागे भने दुईटा उपन्यासका पाण्डुलिपि पनि तयार गरे । त्यसपछि लामो समयसम्म यिनका फुट्कर रचनाहरू मात्र प्रकाशित भए । लघुकथा, कथा र कविताहरू विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भए भने काठमाडौँमा हुने नियमित साहित्यिक कार्यक्रममा यिनको उपस्थिति बाक्लो हुने गर्दथ्यो । भेटवाल प्रखर वक्ताका रूपमा पनि चिनिन्छन् । भेटवालका ध्वन्य आवाजहरु विभिन्न विद्युतीय माध्यमहरूमा सुन्न सकिन्छ । पछिल्ला दिनमा गङ्गा भेटवाल युट्युब च्यानलको माध्यमबाट साहित्यिक पत्रकारिताको धर्मसमेत भेटवालले निर्वाह गरिरहेका छन् । २०८० सालमा भेटवालद्वारा लिखित पर्दाभित्र... उपन्यास प्रकाशित भयो । पर्दाभित्र... उपन्यासले सामाजिक परिवेशमा आफ्नो कथानकलाई प्रस्तुत गरेको छ । नेपाली समाजभित्र घटेका र घट्न सक्ने विकृति विङ्ंगतिहरुलाई उजागर गरेको छ । प्रस्तुत उपन्यासले अहिलेको युवा पुस्तालाई देशका विभिन्न क्षेत्रको विषयवस्तुको जानकारी गराउँदै समग्र देशको रक्षा गर्न संस्कृतिको रक्षा गर्न र नेपाली पहिचान बचाउनको निम्ति अगाडि आएर लागि पर्न आह्वान गरेको छ । अब युवाहरू शिक्षित भएर यसै बस्न मिल्दैन । वैचारिक ढंगले सशक्त भएर देश रक्षा गर्न निक्लनुपर्छ । समग्र नेपाली पहिचानसहित नेपाल विश्वमा अग्रपंक्तिमा उभिन सक्नुपर्छ । उपन्यासले यसको लागि युवाहरू नै अगाडि बढ्नुपर्छ भन्ने कुराको सन्देश प्रस्तुत गरेको छ । ...🖉 तोयानाथ सुवेदी
गङ्गाप्रसाद भेटवालद्वारा लिखित नेपाली उपन्यास पर्दाभित्र
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल दम्पतीसँगको अन्तरङ्ग संवाद -साथीहरूको साथ
गङ्गाप्रसाद भेटवालद्वारा वाचित गोविन्दराज भट्टराईको उपन्यास मुगलान
महासचिव गङ्गाप्रसाद भेटवालद्वारा प्रस्तुत हेर्ने प्रतिवेदन स्रष्टा पदयात्रा नेपालको
८२ औं सृङ्खला ।
खोटाङ सेरोफेरो स्रष्टा पदयात्रा नेपाल खोटाङ भ्रमणमा
No comments:
Post a Comment