वसन्त विदाइ
आयो किशोरपन पल्लवमा चढेर झन् जोशिला तरु भए तन कस्सिएर गाढा भयो चहुरको तन छिप्पिएको तन्ना बनी प्रकृतिको तनमा मिलेको ।
के खोज्न डुल्छ भुँवरो अझ बागभित्र ? आफैं चुसेर रस बिर्सिनु लौ विचित्र !
मौरीहरू पनि छिटो गतिमा दगुर्छन्
नाघेर बाग,वन ,दूर तुरुन्त पुग्छन् ।
ऐसेलु झर्छ अनि कोकिल रोज्छ शान्ति खेल्दैन वायु गहुँका तनमा बयेली पाकेर काफल सकिन्छ भएर कालो हाल्छन् लता तरुसँगै कसिलो अँगालो ।
हामी सबैभरि सधैं शुभभाव आऊन् होस् प्रीतिपूर्ण मन,कल्मष दूर जाऊन् आत्मीयता र ममता चुलियोस् अनन्त गाढा बनोस् हृदयमा रसिलो “वसन्त “ ।
उद्दाम बैँस जब पुग्दछ पूर्णतामा देखिन्छ पूर्णपन यी तरुमा,लतामा देओ विदाइ तरु हो ! ऋतुराजलाई अम्लान मात्र मृदु फूलहरू सजाई ।
मस्क्यो पराग अब यौवन छिप्पिएर लागून् सबै सृजनमा दृढ भै डटेर जा जा वसन्त अब जा खुश,हर्ष छोडी आउन्न भाइ तँ नगैकन घाम ओढी ।
यो रम्य बैँस बटुलीकन छर्न आएस् ! तिर्खाउली प्रकृति यो रस भर्न आएस् ! बस्नू बनेर ऋषिझैं दश मासलाई लौ जा वसन्त ऋतुराज विदा तँलाई !
स्रष्टा पदयात्रा नेपालको ९३औं शृङ्खला सम्पन्न २०८२ वैशाख ६
No comments:
Post a Comment