पर्यटकीय सम्भावनाले भरिएको चौकोटदेवी
— डिल्लीरमण सुवेदी
नेपाल पर्यटकीय सम्भावनाले भरिपूर्ण मुलुक हो । अग्लोमा सगरमाथाको चुचुरोदेखि होचोमा झापाको कचनकवलसम्म भौगोलिक पर्यटकीय गन्तव्य छन् । पशुपतिनाथदेखि मुक्तिनाथसम्म धार्मिक पर्यटकीय स्थल नेपालमै छन् । हिमालमा बसोबास गर्ने भोटियादेखि तराईका मुशहरसम्म विविध जातिको बसोबास रहेको छ यहाँ । उनीहरूका रहनसहन, चाडपर्व, रीतिरिवाज, लवाइखवाइ आदि पनि मौलिक छन् । पूर्व पाँचथरको तिम्बुङ पोखरीदेखि सुदूरपश्चिमको बडिमालिकासम्म पदयात्राका गन्तव्य छन् । हिमाल आरोहण, पहाडी पदयात्रा, घरबास, पहाडका सुन्दर पाटन र खोँचहरूको दृश्यावलोकनले बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेका छन् । कतिपय गन्तव्य त पहिचान हुन नसकेर ओझेलमै परिरहेका छन् ।
जनसङ्ख्याको दृष्टिकोणले काठमाडौँँमा सबैभन्दा धेरै जनघनत्व छ । काठमाडौँँको धुलो, धुवाँ, दुर्गन्ध, कामको चटारो र थकाइ मार्न मानिसले गन्तव्य खोजिरहेका छन् । समय मिलाएर, बिदाको दिन पारेर मानिसहरू घुम्न जाने, मनोरञ्जन गर्ने प्रचलन पनि छ । त्यसका लागि काठमाडौँँबासीले गन्तव्य खोजिरहेका छन् । त्यसमा पनि परिचित भन्दा नयाँ गन्तव्यको खोजी गर्नेको सङ्ख्या ठुलो छ । काठमाडौँँ उपत्यकाका वरिपरि प्रशस्तै पर्यटकीय स्थल रहेका छन् । रात बिताउने गरी होस् वा एक दिनको यात्रामा पूरा गर्ने गरिका धेरै स्थलहरू छन् । पदयात्रा गर्नेहरूलाई त झन् प्रत्येक डाँडा, गौँडा गन्तव्यस्थल बन्दछन् । ती स्थानहरूलाई सरकार र मातहतका निकायहरूले केही मात्रामा प्रवद्र्धन गरिरहेका छन् । स्थानीय पालिकाहरूले पनि आफ्नो क्षेत्रमा पर्ने धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थलहरूको विकास र प्रवद्र्धनको कार्य गरिरहेका छन् । स्रष्टा पदयात्राले २०७३ साल मङ्सिरदेखि काठमाडौँँ उपत्यका वरिपरिका डाँडाहरूमा मासिक रूपमा घुमेर प्रचारमा नआएका गन्तव्यहरूलाई प्रचारमा ल्याउने प्रयास पनि गरिरहेको छ ।
काठमाडौँँ उपत्यकाबाट नजिकै पर्ने दक्षिणकाली नगरपालिका पनि काठमाडौँँबासीलाई एक विशेष गन्तव्य हो भन्दा फरक पर्दैन । यहाँ थुप्रै पर्यटकीय गन्तव्य र सम्भावना रहेका छन् जसले काठमाडौँँबासीलाई डोहो¥याउन सक्छ । नेपाली ग्रामीण पर्यटन र जनजीवन बुझ्न चाहने विदेशी पर्यटकहरूलाई पनि यो ठाउँले बोलाइरहेको छ ।
दक्षिणकाली नगरपालिका
दक्षिणकाली मन्दिर तथा प्राचीन बस्ती रहेको फर्पिङ शहर (शिखरापुर नगर) दुवैको विशेष महŒव छ । पौराणिक, धार्मिक इतिहासअनुसार भगवान् श्रीकृष्णबाट चरण स्पर्श भएको पुण्यभूमि तथा बौद्ध ग्रन्थअनुसार बोधिसत्व पद्मशम्मभवको तपस्यास्थल तथा हिन्दुहरूको आराध्यदेवी पवित्र धार्मिक तीर्थस्थल माता श्री दक्षिणकाली मन्दिर यसै नगरपालिकामा पर्दछन् । उनै माता दक्षिणकालीको नामबाट यस नगरपालिकाको नामकरण भएको हो ।
भौगोलिक अवस्थिति हेर्दा यस नगरपालिकाको पूर्वमा ललितपुर जिल्ला, पश्चिम र दक्षिणमा मकवानपुर जिल्ला, उत्तरमा काठमाडौँँका कीर्तिपुर र चन्द्रागिरी नगरपालिका रहेका छन् । साविकका चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गा.वि.स.लाई समेटेर मिति २०७१ मङ्सिर १६ गते नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयानुसार यस दक्षिणकाली नगरपालिकाको घोषणा भएको हो ।
दक्षिणकाली क्षेत्रका पर्यटकीय स्थलहरू
एसियाकै दोश्रो तथा नेपालको प्रथम जलविद्युत आयोजना चन्द्रज्योति जलविद्युत्गृह यही नगरपालिकामा पर्दछ । हिन्दुहरूको शक्तिपीठ दक्षिणकाली मन्दिर, गोपालेश्वर मन्दिर, शेषनारायण मन्दिर र पानीको मूल, बौद्धमार्गीहरूका लागि पद्मशम्भवले तपस्या गरेको असुरा गुफा तथा ह्याङलासी गुम्बा काठमाडौँँ जिल्लाकै सबैभन्दा अग्लो वाणासुर डाँडा (२२७८ मि), पञ्चाल गणेश, कटुवाल दह, चाल्नाखेलको बोसनडाँडा, हात्तिवन डाँडा, डाँडीखेल, छैमलेको जाती (जःती) पोखरी, चौकोटदेवी मन्दिर, सेतीदेवी मन्दिर, बज्रयोगिनी तथा गोरखनाथ मन्दिर, फर्पिङ बजार क्षेत्र, पौराणिक फर्पिङको नेवारी बस्ती, झम्केश्वरी मन्दिर आदि यस नगरका चर्चित भौगोलिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक स्थलहरू हुन् । सांस्कृतिक रूपमा मनाइने श्री हरिशंकर जात्रा तथा बज्रयोगिनी जात्रा, थैली नाच, कात्तिक नाच, लाखे नाच र गाईजात्रा यस नगरपालिकाका प्रमुख पर्वहरूमा पर्दछन् ।
दक्षिणकाली नगरपालिका धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपीठ, धार्मिक स्थलहरू लगायत विभिन्न मौलिक संस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकाले पर्यटनको प्रचुर सम्भावना बोकेको छ । ऐतिहासिक महŒव बोकेको, सांस्कृतिक सम्पदाले भरिपूर्ण र भौगोलिक सुन्दरताको अनुपम नमूना हो दक्षिणकाली नगरपालिका भन्दा फरक पर्दैन । तर पनि पर्यटकीय, विकास र पहुँचको दृष्टिकोणले दक्षिणकाली नगरपालिका राजधानी नजिक भए पनि ओझेलमा परिरहेको छ ।
दक्षिणकाली क्षेत्रमा उपलब्ध होटल, रिसोर्ट तथा होमस्टेहरू
दक्षिणकाली नगरपालिका क्षेत्रमा दर्जनौँ होटल तथा रिसोर्टहरू छन् । जसले ठुलो सङ्ख्यामा पर्यटक थेग्न सक्ने क्षमता राख्छन् । फर्पिङ क्षेत्रमा अलि बढी होटल, रिसोर्ट भए पनि ग्रामीण क्षेत्रतर्फ कम रहेको पाइन्छ । दक्षिणकाली नगरपालिका ५ डोल्लुगेटमा प्रसिद्ध रिसोर्ट रहेको छ । जसमा ८ कोठा, ३० बेडरुम कन्फरेन्स हल र रेस्टुरेन्ट रहेको छ । यसैगरी वडा नं. ५ को डोल्लुमै ड्रला रिसोर्ट रहेको छ । यसमा ट्वीन बेडरुम ४ वटा, डिलक्स रुम ४ वटा, सुइट रुम २ वटा र योगाहल, डाइनिङ र सबै रुममा पकाउने सुविधा रहेको छ । सोही ठाउँमा दक्षिणकाली एन्ड डोल्लु रिसोर्ट पनि रहेको छ । यसमा फेमिली रुम २, डिलक्स रुम ५, स्टान्डर्ड रुम ५ वटा, कटेज ६ वटा, कन्फरेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, खुला चौर आदि रहेको छ ।
यता वडा नं. ७ मा सलिड रक लज एन्ड रेस्टुरेन्ट रहेको छ । यहाँ ६ वटा कोठा र रेस्टुरेन्टको सुविधा रहेको छ । वडा नं. ४ हात्तीवनमा हिमालयन हाइट रिसोर्ट रहेको छ । जसमा डिलक्स रुम २७ वटा, सुइट १ वटा, कन्फरेन्स हल, रेस्टुरेन्ट, बार आदि रहेको छ । यता वडा नं. ८ राम्चे भञ्जायङमा छैमले रिसोर्ट रहेको छ । जसमा स्टान्डर्ड, उडेन स्टान्डर्ड र कम्बाइन्ड गरी ३४ वटा कोठा र १३० जना बस्न सकिने व्यवस्था छ । वडा नं. ९ मै जोयसोर्स रिसोर्ट रहेको छ । हेटौँडा जाने मूलसडकमै पर्ने लामागाउँमा अवस्थित यो रिसोर्टमा ६ वटा कोठामा १५ जना पाहुना सुविधाजनक ढङ्गले राख्न सकिने व्यवस्था छ । अनलाइनबाटै बुकिङ गर्ने व्यवस्था रहेकाले विदेशी पर्यटक पनि यहाँ आउन सक्नेछन् ।
सुगा पँधेरो होमस्टेमा ६ वटा घरहरू रहेका छन् । सस्तो र सुविधाजनक बसोबास गर्न यो स्थान उपयुक्त रहेको छ । दक्षिणकाली नगरपालिका र मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको सिमानामा रहेको हुमाने भन्ज्याङमा रहेको छ होटेल हुमाने । यहाँ ६ वटा कोठा, २ वटा डाइनिङ हललगायतको सुविधा रहेको छ । (सीआरटी)
नगरपालिकाको पर्यटन नीति
दक्षिणकाली नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा पर्यटनसम्बन्धी नीति बनाएको छ । सो नीतिले नगरपालिका क्षेत्रको समग्र पर्यटन विकास गर्ने लक्ष्य राखेको छ । जसमा शिखरापुरी नगरीलाई प्राचीन शहरको रूपमा विकसित गर्नका लागि बजार क्षेत्रको अग्रभागमा कलात्मक प्राचीन नेवारीशैली झल्किने गरी भवन निर्माण गर्नकोे लागि प्रोत्साहिन गरिने, पालिकाको संस्कृति संरक्षणको लागि सांस्कृतिक घरको निर्माण, फर्पिङ बजार प्रवेश गर्ने स्थानमा कलात्मक प्रवेशद्वार बनाउने, वडा नं. ६ महालक्ष्मी स्थानबाट पुल्चोकको फ्याकुलडाँडा वडा नं. ८ सल्लेनीमा झोलुङ्गे पुल निर्माण गर्ने, नगर क्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना बनाई कार्यान्वयनमा ल्याइने र त्यसको प्रवद्र्धनका लागि स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गरिने, वडा नं. १, ४, ५, ६, ८ र ९ बोसन, चम्पादेवी, वाणासुर डाँडा, भुण्डोल, डाँडीखेल, चौकोटदेवी, जातिपोखरी तथा अन्य स्थान दृश्यावलोकन गर्न पर्यटकीय पदमार्ग निर्माणका लागि आवश्यक प्रकृया अगाडि बढाइने, पुरानो दक्षिणकाली हुँदै भुण्डोल जानेसम्मको गोरेटो बाटोसँगै साइकल स्टन्ट रुट बनाइने, साहसिक खेल, पदमार्ग, आराम क्षेत्र लगायत मानव निर्मित पर्यटकीय वस्तु एवं संरचना विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने, बाह्य लगानीकर्ताहरूलाई पर्यटकीय स्थलहरूमा लगानी गर्नका लागि प्रोत्साहित गरिने, केवल कार, रक क्लाम्बिङ, वायर साइक्लिङ, बन्जिजम्प, हाइकिङ, होमस्टे आदि क्षेत्रहरूलाई व्यवस्थापन गरी पर्यटक आकर्षित गर्ने, जातिपोखरी, भुण्डोलजस्ता क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने, नगरलाई पर्या तथा कृषि पर्यटनका क्षेत्रको रूपमा विकास गरिने, वडा नं. ८ भण्डारखर्क बतासेटोलदेखि गोदावरी नगरपालिका वडा नं. ७ बाबियो गाउँ झोलुङ्गे पुल निर्माण गर्न सम्बन्धित पक्षसँग सहकार्य गरिने, दक्षिणकाली नगरपालिकाभित्रका पर्यटकीय स्थलहरूको अभिलेखाङ्कन तथा श्रव्यदृश्य सामग्री निर्माणका लागि भिडियो कम्पिटिसनका साथै पुरस्कारको व्यवस्था गरिने नीतिमा उल्लेख छ । यसबाट दक्षिणकाली क्षेत्रको पर्यटन विकास हुने अपेक्षा गर्न सकिन्छ । (नीति तथा कार्यक्रम)
चौकोटदेवी मन्दिर
चौकोटदेवी मन्दिर दक्षिणकाली नगरपालिकाको वडा नं. ८ मा पर्दछ । दक्षिणकाली नगरपालिका र मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको सीमानामा रहेको हुमाने भन्ज्याङबाट करिब ३ किलोमिटर उकालो चढेपछि पुगिन्छ चौकोटदेवी मन्दिर । यसैगरी फर्पिङ–दक्षिणकाली–छैमले सडकको राम्चे भन्ज्याङबाट करिब ५ किलोमिटरको पदयात्रामा पनि पुगिन्छ चौकोटदेवी । दक्षिणकाली मन्दिरबाट करिब ८ किलोमिटर र फर्पिङ बजारबाट करिब १० किलोमिटरको दुरीमा छ चौकोटदेवी मन्दिर । प्राचीनकालमा चारवटा कोट भएकाले चौकोट भनिएको र त्यही ठाउँको नामबाट चौकोटदेवी नामकरण गरिएको भनाइ छ (सीआरटी, २०८०) । सो क्षेत्रमा प्राचीन र पुरातात्विक महŒवका इँटाहरू पाइएको छ । त्यहाँ पहिले दरबार थियो नत्र अहिले त्यहाँ कसरी त्यति पुराना इँटाहरू पाइन्छन् । करिब ५ वर्ष पहिले सो मन्दिर क्षेत्रमा खन्दा भेटिएका प्राचीन इँटाहरू पुरातत्व विभागले सङ्कलन गरेर लगेको थियो । सो क्षेत्रको उत्खनन् गर्ने हो भने अझै पनि त्यस्ता प्राचीन वस्तु र प्रमाणहरू पाउन सकिन्छ । (गौतम, २०८१)
फर्पिङमा शिखरापुर भन्ने दरबार थियो । चौकोट दरबारले शिखरापुर दरबारमा ओझेल लाग्यो भनेर भत्काएको किम्बदन्ती पाइन्छ (गौतम, २०८१) । यो मन्दिरलाई पहिले मच्छेदेवी पनि भन्ने गरिएको थियो ।
चौकोटदेवी मन्दिरको वस्तुस्थिति
यो मन्दिर चौकोट डाँडामा अवस्थित छ । वरिपरि जङ्गल र भिर, पहराले घेरिएको यो ठाउँ प्राकृतिक रूपमा निक्कै सुन्दर छ । यहाँबाट मकवानपुरको हुमाने भन्ज्याङदेखि फाखेलतर्फ (उत्तर र पश्चिम) का ग्रामीण बस्तीहरू, पूर्वतर्फ छैमले, दक्षिणतर्फ जाती पोखरी (जःति पुखु), पूर्वउत्तरमा फर्पिङ बजार र आसपासका दृश्यहरू तथा काठमाडौँँसम्मका दृश्यहरू मज्जाले देख्न पाइन्छ ।
मन्दिर डाँडोको टुप्पामा भए पनि यहाँ फराकिलो चौर रहेको छ । यही चौरको एक कुनामा बज्राँठको ठुलो रुख मुनि चौकोटदेवीको बासस्थान छ । विभिन्न आकृतिका शिला, त्रिशूल, घण्ट आदि यहाँ खुल्ला रूपमै रहेका छन् । त्यसको दाँयातर्फ एककोठे एउटा पक्की सत्तल निर्माण गरिएको छ । जसको छतमा जान भ¥याङको पनि निर्माण गरिएको छ । सत्तलको छतमा चढेर वरिपरिका सबै दृश्य देखिने भएकाले यो भ्यूटावरजस्तो बनेको छ । चौरको वल्लो छेउमा एउटा सानो जस्तापाताको टहरो पनि निर्माण गरिएको छ । चौकोटदेवीको मन्दिरबाट पश्चिम दक्षिणमा एउटा बाघको आकृति भएको ठुलो ढुङ्गा पनि रहेको छ । जसमा बाघको सुन्दर आकृतिसमेत कोरिएको छ ।
चौकोटको पर्यटकीय सम्भावना
सांस्कृतिक, धार्मिक सम्पदा भएको, विशिष्ट ऐतिहासिक पहिचान बोकेको, प्राकृतिक सुन्दरताले भरपूर्ण, राजधानीसँगै जोडिएको, यातायातको सुविधा पर्याप्त भएिको यो क्षेत्र समग्र पर्यटनको विकासको दृष्टिकोणले पनि अत्यन्त सम्भावनायुक्त गन्तव्य बन्न सक्छ ।
दक्षिणकाली नगरपालिकाले काठमाडौँँका आन्तरिक पर्यटकलाई अकर्षण गर्न सक्छ । यो क्षेत्रले प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक लगायतका धेरै प्रकारका पर्यटकलाई आकर्षित गर्न सक्छ । त्योसँगै चौकोटदेवी क्षेत्रले पनि ती पर्यटकलाई आकर्षित गर्न सक्छ । काठमाडौँँबाट नजिकै हुनु, फर्पिङ–कुलेखानी सडकखण्डको नजिकै पर्नु, कुलेखानी ड्यामले प्रशस्त पर्यटक आकर्षण गरिरहनु, नयाँ पर्यटकीय गन्तव्य हुनु, दक्षिणकाली आउने पर्यटकहरू थोरै थप समयमै पुग्न सक्ने हुनु आदिले चौकोटदेवी मन्दिरको पर्यटकीय सम्भावना उच्च छ । यसैगरी नजिकै रहेको जाती पोखरी, प्रतिमान चौर, जङ्गलको अनुभव, थरिथरिका बोटबिरुवा तथा फलफूल, मकवानपुर, ललितपुर र काठमाडौँँतर्फका विभिन्न स्थानहरूको दृश्यावलोकन गर्न पाउनु आदिले पनि यो क्षेत्र पर्यटकीय क्षेत्र बन्न सक्छ । काठमाडौँँको कोलाहलबाट शान्ति चाहेका आन्तरिक पर्यटकलाई एक दिनको भ्रमण वा बिदा मनाउने गन्तव्य बन्न सक्छ चौकोट । यसैगरी ग्रामीण जनजीवनसँग घुलमिल हुन्छु भन्नेहरूलाई रात बिताउन, टेन्ट लगेर क्याम्पिङ गर्न वा वनभोज (पिकनिक) का लागि पनि यो क्षेत्र उपयुक्त रहेको छ । यहाँ फर्पिङ क्षेत्रकै चर्चित नास्पाती र अन्य ग्रामीण फलफूलको स्वाद लिन पनि पाइन्छ भने सिजनमा जङ्गलमा काफल, ऐँसेलु लगायतका जङ्गली फलफूल आदि पनि खान पाइन्छ । यता स्थानीय किसानले उत्पादन गरेका मकै, कोदो, फापर लगायतका अन्नहरू, अर्गानिक फर्सी, काँव्रmा, सिमी, बोडी, साग लगायतका तरकारीहरू खान वा काठमाडौँँसम्मै ल्याउनसमेत पाइन्छ ।
पूर्वाधारको आवश्यकता
प्रशस्त पर्यटकीय सम्भावना भए पनि पूर्वाधारको दृष्टिकोणले चौकोटदेवी क्षेत्र निक्कै पछाडि रहेको छ । मन्दिरको केही तलसम्म कच्ची मोटरेबल बाटोको ट्रयाक खोलिएको छ । जसबाट सवारी साधानमार्फत यो क्षेत्र पुग्न चाहनेलाई पनि सहज बनाएको छ । तर बाटोको मर्मतसंहार हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । मन्दिर क्षेत्रमा लगभग पूर्वाधारको विकास भएको छैन भन्दा पनि हुन्छ । मुख्य देवीको शिला, त्रिशूल र घण्टहरू भएको ठाउँ नै खुल्ला आकाशमुनि रहेकाले सुरक्षाको दृष्टिकोणले पनि जोखिमपूर्ण रहेको छ । त्यहाँका विविधतायुक्त शिलाहरू हराउने, घण्ट, त्रिशूल चोरिने सम्भावना पनि छ । त्यसले गर्दा त्यहाँ एक व्यवस्थित मन्दिरको निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । तर मन्दिर बनाउँदा चौकोटदेवीको ऐतिहासिकता, मौलिकतालाई भने जस्ताको तस्तै राख्नुपर्दछ । मन्दिर परिसरलाई सम्याएर सहज बनाए पनि आवश्यक सरसफाइ नहुँदा झाडी बढेको छ त्यसलाई बेला बेलामा सरसफाइ गर्नुपर्ने देखिन्छ । दर्शनार्थीहरूलाई बस्नको लागि सत्तल निर्माण गरिए पनि त्यो धेरै सानो रहेको छ । जस्तापाताको टहरा पनि सानो रहेकाले त्यो उपर्युक्त नरहेको देखिन्छ । जसले गर्दा दर्शनार्थीलाई हावा, पानी, घामबाट सुरक्षाका लागि त्यहाँ अलि ठुलो सत्तल वा टहरा निर्माण गर्नुपर्ने देखिन्छ । मन्दिरसम्म पुग्ने गोरेटो बाटो पनि अझै व्यवस्थित गर्नुपर्ने छ ।
सो क्षेत्रलाई नै लक्षित गरेर होमस्टे, होटल निर्माण तथा पर्यटकलाई बसोबासको व्यवस्था गर्न आवश्यक छ । यसैगरी ठाउँठाउँमा स्थानीय उत्पादनका पसल वा बिक्रीस्थलहरू पनि निर्माण गर्नु पर्दछ । यता पदयात्रा गरेर चौकोटदेवी मन्दिरसम्म जाने पर्यटकहरूलाई बाटो निर्देशक चिन्हहरू, सूचना पार्टीहरू, ऐतिहासिक, धार्मिक तथा मिथकीय विवरणहरूको जानकारी दिने बोर्डहरूको पनि व्यवस्था गर्नुपर्ने देखिन्छ । साहसिक पर्यटनका लागि पूर्वाधारहरू निर्माण, ग्रामीण पर्यटनका लागि आवश्यक व्यवस्थापन पनि गर्न सकिन्छ ।
संस्थागत भूमिकाको जरुरत
पहिलो कुरा मन्दिरको संरक्षण, व्यवस्थापन र सरसफाइका लागि एक पूजारीको व्यवस्था गर्नुपर्ने देखिन्छ । यसैगरी स्थानीयहरूको सहभागितामा मन्दिर व्यवस्थापन समिति निर्माण गर्नुपर्दछ । पर्यटकीय प्रचुर सम्भावना बोकेको क्षेत्र भए पनि वडा नं. ८ र दक्षिणकाली नगरपालिकाले वेवास्ता गरेको पाइन्छ । स्थानीय सरकारले चौकोटदेवीको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सहज भूमिका निर्वाह गर्नुपर्दछ । यसैगरी स्थानीय सरकारबाट पर्यटन योजना निर्माण, पूर्वाधारको विकास, सङ्घीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँग समन्वय गर्न आवश्यक छ । यता स्थानीय युवायुवतीलाई होमस्टे, भाषा अनुवादक र प्रचारकर्ता तथा सहजकर्ता (गाइड), अतिथि सत्कार लगायतका विषयमा तालिम दिई जनशक्तिको उत्पादनमा स्थानीय तहले भूमिका खेल्नुपर्दछ ।
निष्कर्ष
दक्षिणकाली नगरपालिका पर्यटकीय सम्भावनायुक्त क्षेत्र हो । यहाँ उपलब्ध जति पनि पर्यटकीय क्षेत्र छन् तिनीहरूको विकास, प्रचारप्रसार र व्यवस्थापन गर्न आवश्यक छ । त्यसमध्ये पनि नयाँ गन्तव्यस्थलको रूपमा चौकोटदेवी क्षेत्रलाई बनाउन सकिन्छ । फर्पिङ–कुलेखानी सडकखण्डबाट नजिकै हुनु, अग्लो स्थानमा हुनु, वरिपरिका दर्जनौ भू–बनोट र पहाडी श्रृङ्खलाको दृश्यावलोकन गर्न पाउनु, ग्रामीण चिजवस्तु र जनजीवनको रसास्वादन गर्न पाउनु, वरिपरि दर्जनौँ पर्यटकीय स्थलहरू हुनु, नयाँ र मौलिक हुनु आदि चौकोटदेवी मन्दिर क्षेत्रका विशेषता हुन् । दक्षिणकाली नगरपालिकाभित्र दर्जनाँै होटल, रेस्टुरेन्ट, होमस्टे आदि भएकाले पनि बाह्य र आन्तरिक पर्यटकलाई स्वागत गर्न आतुर छ चौकोटदेवी । नगरपालिकाको पर्यटन नीतिले केही सुधार गर्ने लक्ष्य राखेको छ । जसबाट चौकोटदेवीलाई पनि थप मद्दत पुग्ने नै छ । आगामी दिनमा बन्ने नगरपालिकाको नीति र कार्यक्रममा चौकोटदेवी क्षेत्रलाई विशेष प्राथमिकता दिन आवश्यक छ । यहाँको पूर्वाधार विकास, प्रचारप्रसार र थप व्यवस्थापनमा सरकार, पर्यटनसम्बन्धी सङ्घसंस्था, निजी क्षेत्र, स्थानीय नगरपालिका र वडाले थप काम गर्नुपर्ने देखिन्छ ।
सन्दर्भ सामग्री सूची
गौतम, निलाम्बरसँग गरिएको कुराकानी (२०८१ असोज ५ गते) ।
नीति तथा कार्यक्रम (२०७९), वार्षिक नगर विकास योजना, दक्षिणकाली नगरपालिका, काठमाडौँँ ।
दक्षिणकाली नगरपालिकाको आधिकारिक वेबसाइट धधध।मबपकजष्लपबष्mिगल।नयख।लउ ।
सेन्टर फर रिसर्च इन टुरिजम (सीआरटी), (२०८०) । ‘दक्षिणकाली नगरपालिका वडा नं. ९ मा पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन प्रतिवेदन’ । दक्षिणकाली नगरपालिका, काठमाडौँँ ।
best novel for teenager by shanti sapkota
No comments:
Post a Comment