ईख्ना–खड्ग लोककथाको प्रयोजन
–गङ्गाप्रसाद भेटवाल
(महासचिव– स्रस्टा पदयात्रा नेपाल)
१.विषयपरिचय
ईख्ना–खड्गको कथा भन्नाले प्युठान जिल्लाको हालको झिम्रुक गाउँपालिकाअन्तर्गत वडा नम्बर ७ र ८ क्षेत्रमा अस्तित्व कायम गरेको धार्मिक तथा ऐतिहासिक कथालाई बुझिन्छ । यो क्षेत्र विभिन्न समयमा राजनीतिक सीमा हेरफेर र वर्गीकरणको आधारमा विभिन्न नाम र सन्दर्भसँग जोडिँदै आएको
छ । राजनीतिक एवं प्रशासनिक संरचनाअन्तर्गत यो क्षेत्र पनि समयानुसारमा विभिन्न नामका क्षेत्रभित्र समेटिएको देखिन्छ । यो कथा सङ्कलन गरेको समयमा यो क्षेत्र झिम्रुक गाउँपालिका वडा नम्बर ७ र ८ अन्तर्गत समेटिएको छ । यो कथाको शीर्षकभित्र समेटिएका ईख्ना र खड्ग एकआपसमा सम्बन्धित
छन् । ईख्नाले ईख्नाथानको प्रतिनिधित्व गरेको छ र खड्ग शब्दले तुषाराकोटको प्रतिनिधित्व गरेको छ । हालको अवस्थामा तुषाराकोट झिम्रुक गाउँपालिकाको वडा नम्बर ७ मा र ईख्नाथान वडा नम्बर ८ मा रहेको देखिन्छ । यो कथा सङ्कलन गर्न हाम्रो टोली स्थलगत भ्रमणमा जाँदाको समयमा ७ नम्बरका वडाध्यक्ष कृष्णबहादुर जिसी र ८ नम्बरका वडा अध्यक्ष तुलसबहादुर बस्नेत रहेको समय हो । यो क्षेत्रलाई तुषारा क्षेत्र मानिन्छ । तुषारा क्षेत्र नेपालकै पहाडी क्षेत्रहरू मध्येको अत्यन्त मनमोहक, पर्यटकीय गन्तव्य भएको, सांस्कृतिक सम्पदाले भरिएको, बहुल समाज रहेको क्षेत्र हो । नेपाली शब्दकोशका अनुसार ईख्ना शब्दले इख भएको, कसैलाई केही देखाइदिने क्षमता भएको अर्थलाई अभिव्यक्त गर्दछ भने खड्ग र कोट शब्दले हतियारसँग सम्बन्धित कुरालाई व्यक्त गर्दछन् । ईख्ना–खड्गको कथाभित्र यी विषयहरू आएको देखिन्छ । जन बोलीमा र लिखित रूपमा पनि कहीँकतै ईख्नाथानलार्ई स्षनाथान’ शब्द उल्लिखित गरेको देखिन्छ, वास्तवर्मा स्षनाथान’ यो प्रकारको शब्द नेपाली शब्दकोषमा व्यवस्थित देखिँदैन । केहीले इष्नाथान पनि भनेको सुन्न पाइयो तर त्यो नाम पनि उपयुक्त र अर्थ दिने खालको देखिँदैन । यस ठाउँको शुद्ध उच्चारण ईख्ना नै हुनुपर्दछ । यस अध्ययनमा ईख्ना–खड्गको कथा प्रस्तुत गरी यो कथाको प्रयोजन प्रष्ट पारिएको छ । प्रयोजन भनेको उद्देश्य वा कारण हो । के कारणले गर्दा यो लोककथा अस्तित्वमा आयो । त्यसको खोलुवा प्रयोजनमा गरिएको छ ।
२. लोककथाको पृष्ठभूमि र परिभाषा
लोकको अर्थ संसार हो । जहाँ मानवहरूको बस्ती हुन्छ, त्यहाँ लोक हुन्छ । लोकसँग विभिन्न भावनाहरू हुन्छन्, विचारहरू हुन्छन्, संस्कार–संस्कृतिहरू हुन्छन् र तिनीहरूलाई अभिव्यक्त गर्न भाषा माध्यम बनिदिन्छ । प्राचीन समयमा भाषाको माध्यम लिखित थिएन । जे जति भाषाका कामहरू हुन्थे ती सबै मौखिक परम्परामा पुस्तौपुस्तादेखि पुस्तान्तरित हुँदै आएका थिए । मौखिक परम्परामा लामो समय टिकेको लोकको सम्पदा लोककथा हो । बुढा मरे भाषा सरेको सिद्धान्तमा यो जीवित हुँदै आएको हुन्छ । एकै प्रकारका लोककथाहरू पनि समय, स्थान, परिवेश र पात्रहरू बदलिँदा त्यसमा धेरथोर परिवर्तन देखिने गर्छन् । पूर्वीय साहित्य र पाश्चात्य साहित्य दुवैतिरका साहित्य लोकसाहित्यको जगमा टेकेर विकसित हुँदै अगाडि बढेका छन् । लोककथा पनि लोकको सम्पदा भएको हुनाले दुवैतिर यसको अस्तित्व रहनु स्वभाविकै हो । लोककथाको अस्तित्व सर्वत्र थियो भन्ने कुरा सर्वस्वीकार्य भएको पाइन्छ । लोककथा लोकसाहित्यभित्रको आख्यान साहित्य हो । यसले धार्मिक आस्थाका कुरा, जादू, टुनामुना, तन्त्रमन्त्र, आत्मा–परमात्मा, स्वर्ग–नर्क तिलस्मी घटना, चामत्कारिक घटना आदिलाई स्थान दिने गरेको देखिन्छ । लोककथाका केही परिभाषा हेरौँ–
पाश्चात्य विद्वान स्टिथ थम्प्सनका अनुसार “आदिम जनता र संसारका घटनाक्रमहरूले भरिएका विश्वव्यापी रूपमा मूर्त आकृति लिएको मानवीय साहित्यिक अभिव्यक्ति लोककथा हो । जुनसुकै ठाउँमा बस्ने जुनसुकै संस्कृति भएका मानिसले पनि लोककथा भन्दछन् । ती सबै लोककथामा सामान्य भिन्नता भएपनि मूल विचार र तुलनात्मक अंश समान हुन्छ ।”
– स्टिथ थम्प्सन, द फोकटेल्स ।
लोककथाको सुनिश्चित परिभाषा दिने कुनै प्रयास भएको छैन । सामान्यत यस कथाभित्र परम्परागत आख्यान र त्यसका भेदहरुलाई लिन सकिन्छ । सामान्यतः पशुकथा (बलष्mब ितबभि० ऐतिहासिक कथा (जष्कतयचष्अब ितबभि) पौराणिक कथा (mथतज) गाथा वा वीरकथा (दबििभम) परिकथा (ाभचचथ तबभि) आदि लोककथा हुन् ।
–स्टान्डर्ड डिक्सनरी अफ फोकलोर, मिथोलोजी एण्ड लिजेण्ड ।
“लोककथा लोकमानसका मुखरमूर्ति हुन् ।” –हरद्वारीलाल शर्मा
नेपाली विद्वान वासुदेव त्रिपाठीका अनुसार “लोक कथा वास्तवमा आदिम मान्छेको स्मारक निशानी हो र यसलाई हामी प्रेमसाथ पुस्ता प्रतिपुस्ता आफ्ना सम्झनामा सुरक्षित गर्दै आइरहेका छौंँ । ...आज हाम्रो समाजमा प्रचलित लोककथाले प्राचीन मानवका जीवन र मनस्थितिको प्रतिनिधित्व गर्दछन् ।”
– वासुदेव त्रिपाठी, विचरण ।
यसरी पूर्व र पश्चिम दुवैतिरका विद्वानहरूको लोककथासम्बन्धी परिभाषालाई मध्यनजर गर्दा विषयवस्तुको उठान र सन्दर्भहरू उस्तै उस्तै देखिन आउँछ । वास्तवमा लोककथा भनेको लामो समयसम्म लोकमा अपठित मानिसहरूद्वारा अस्तित्वमा ल्याएको कथा हो ।
३ ईख्ना–खड्गको कथा
ईख्ना–खड्गको कथा तुषारा क्षेत्रमा प्रचलित लोककथा हो । यो कथा नेपालीहरूको महान चाड विजया दसैँसँग सम्बन्धित छ । विजया दसैैँ, यो क्षेत्रमा कसरी मनाइन्छ भन्ने कुरा यो लोककथाले बताउँदछ । सर्वप्रथम तुषारा भनेको के हो ? यो कुरा प्रष्ट पार्दछु । तुषारा भनेको सानो बिरुवा हो जसको फूल सेतो फुल्ने गर्दछ । उहिले–उहिले यस ठाउँमा तुषाराका बोटहरू धेरै मात्रामा पाइने गर्दथे अरे । त्यसो भएको हुनाले यो क्षेत्रलाई तुषारा नामाकरण गरिएको रहेछ । यहाँ तुषारा भन्ने स्थानमा तुषाराकोट रहेको छ । यसलाई खड्गस्थान पनि भनिन्छ र पारी डाँडामा ईख्नाथान भगवती माताको मन्दिर रहेको छ । यी दुई स्थानहरूको अत्यन्त नजिकको सम्बन्ध रहेको छ । एकआपसमा छुट्टिएर यिनीहरूको अस्तित्व बाँच्न पनि सक्दैन । यस क्षेत्रको दसैँ प्रचलन यी दुई स्थानहरूसँग जोडिएर आएको देखिन्छ । दसैंमा गरिने पूजा विधिहरूका लागि यहाँ पाँचजना पुजारीहरूको व्यवस्था गरिएको हुन्छ । यी पुजारी दुबैतिरको पूजा
गर्दछन् । यो आदिकालदेखि आजपर्यन्त निरन्तर चलिरहेको छ । पाँच पुजारीहरूमा पोखरेल, घर्ती क्षेत्री (जि.सी), महतारा, थापा र पछाई रहेका हुन्छन् । यिनीहरूको नियुक्ति चैते दसैँको समयमा प्रारम्भ हुन्छ र बर्खे दसैं पनि यही पुजारीहरूको मातहतमा सम्पन्न गरिसके पछि उनीहरूको कार्यभार पूरा भएको मानिन्छ । यस क्षेत्रमा सबै जातजातिका मानिसहरूको बसोबास रहने गरेको छ । मणि, द्वारे गिरी, खुलाल बस्नेत, जिसी, महतारा, बि.के., परियारहरूको बाक्लो बस्ती अनि मगर र अन्य जातिहरूको पातलो–पातलो बस्ती यहाँ पाइन्थ्यो । धान, मकै, कोदो खेतीलगायतका फलफूलहरूको उत्पादन यो क्षेत्रमा मनग्य हुने गर्दथ्यो । पशुपालनमा पनि यो क्षेत्र अगाडि रहेको पाइन्थ्यो ।
तुषाराकोटमा पूजा गर्न बेलघारी भन्ने ठाउँमा षस्टीको दिन गएर त्यस ठाउँबाट सप्तमीको दिन फूलपाती तुसराकोटमा ल्याइन्छ । अष्टमीको दिन राति रते विष्टलाई मारेको हुनाले राति १२ बजे राँगोको बलि दिइन्छ । त्यसपछि नवमीको दिन ईख्नाथानमा काली मैली गाईको धार र पाठी चढाइन्छ । यहाँ रते बिष्टको प्रवेश भयो । रते विष्ट को थियो ? त्यसको के अवस्था थियो ? त्यो पनि भन्दछु । रते विष्टको कथा नेपाल एकीकरणको शुभारम्भको समयतिर भएको बुझिन्छ । बाइसे, चौबिसे कालमा नेपालका विभिन्न ठाउँमा भुरे–टाकुरे राजा–महाराजा र शासकहरू रहेका थिए । यस तुषारा क्षेत्रमा पनि रते विष्ट नामको शासक भित्रीकोट राज्य अन्तर्गतको शक्तिशाली मन्त्री थियो जो राजा जसरी नै बसेको थियो । रते विष्टले गुरु पुरोहितहरूदेखि लिएर सबै गाउँलेहरूलाई दुःख दिने र यातना दिने गर्दथ्यो । उसका धेरै श्रीमतीहरू हुने गर्दथे । ऊ भने मोजले बस्दथ्यो । रते विष्टसँग सधैँ मानिसहरू डराउने गर्दथे किनकि रते विष्ट शक्तिशाली र चतुर पनि थियो । काजी बुद्धिमानसिंह बस्नेत नेपालको एकीकरणको सिलसिलामा भित्रीकोट आइपुग्दा तुषारा मौजाको शासक रते विष्ट नै थियो । यस क्षेत्रका जनताहरू रते विष्टको अत्याचार सहन नसकेर पृथ्वीनारायण शाहको एकीकरणको अभियानमा सामेल हुन चाहन्थे । काजी बुद्धिमानसिंह बस्नेतले रते विष्टलाई त्यो मौका पनि दिए तर रते विष्टले तपाईंको राज्यमा मिसिन चाहँदैनौँ भनेर प्रतिवाद गर्यो । त्यस पछि काजी बुद्धिमानसिंह बस्नेतले राजपुरोहितहरूसँगको गोप्य परामर्श गरी रते विष्टलाई हटाउने योजना बनाए । योजना बमोजिम गोर्खाली सेनाहरू तुषाराकोटको मुनि आएर
बसे । रते विष्टकै राजपुरोहितहरूमध्ये एकजनालाई माथि तुषाराकोटमा पठाए । रते विष्ट त्यहाँ रहेछ भने लोटाहा तल झार्दिनु भन्ने सङ्केत गर्न लगाए । उक्त राजपुरोहितमाथि गएर हेर्दा रते विष्ट त्यहीँ रहेछ । राजपुरोहितले योजना मुताविक लोटाहा तल खसाएर रते विष्ट भएको सङ्केत दिए र तलबाट सैन्यहरू राति १२ बजे रते विष्टलाई आक्रमण गर्न गए । रते विष्ट बलियो र चलाख भएको हुनाले अगाडिबाट आक्रमण गर्न नसकी पछाडिबाट तरवारले आक्रमण गरे । रति बिष्टले आफ्ना श्रीमतीहरू दरबारमा राख्दैनथ्यो । कुनबेला के हुन्छ भन्ने कुरा उसलाई थाहा हुन्थ्यो । त्यही भएकोले आफ्ना श्रीमतीहरूलाई माथि बुढीकोट थुममा रानी जसरी सुसारेको साथमा राखेको थियो । राति १२ बजे गोर्खाली सेनाले तरबारसहित आक्रमण गर्दा रते विष्ट आफ्नो केही लाग्ने नदेखि त्यहाँबाट भाग्दैभाग्दै बाघखोर तर्फ लम्कियो । खोपी डाँडा र बाघखोरको छेऊमा रते विष्टलाई काजी बुद्धिमानसिंह बस्नेतको टोलीले समातेर घुँडादेखि मुनिको भाग काटिदिए र त्यहीँनेर खाल्डो खनेर जिउँदै पुरी ठूलो ढुंगाले थिचेर राखिदिए । रते विष्टलाई जिउँदै खाल्डो खनेर त्यहाँ पुरेको र ठूलो ढुङ्गोले थिचेता पनि तीनचार दिनसम्म त्यो ढुङ्गो क्रमश माथि उचाली रहेको थियो अरे । रते विष्टलाई आक्रमण गरी खाल्डोमा पुरेको दिन दसैंको अष्टमीको दिन थियो अरे । संयोगबस रते विष्टमाथि आक्रमण भएको राति उसकी एक प्रिय श्रीमती ऊसँगै रहेकी थिइन् अरे । उनी त्यहाँबाट भाग्न थालिछिन् । भाग्दाभाग्दै ईख्नाथानमा पुगेपछि उनी अलप भइछन् । त्यसपछि ईख्नाथानमा मानिसहरू जान पनि डराउँथे अरे । रते विष्टको अन्त्यपछि यो सम्पूर्ण क्षेत्र काजी बुद्धिमानसिंह बस्नेतको नियन्त्रणमा रहन पुग्यो र उनैले यहाँ राज्य सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना
भयो । त्यसपछि उनले सपनामा देखेका आधारमा तुषाराकोट र ईख्नाथानको पूजा विधि पुनः सञ्चालन गरे । अष्टमीको दिन राति रते विष्टलाई काटेको समय पारेर रातको १२ बजे तुषाराकोटमा राँगो बलिदिने र नवमीको दिन कालीमैली गाईको दुधको धार, कालीपाठीको भोग ईख्नाथानमा दिने चलन चल्यो । नवमीकै दिन ईख्नाथानमा पञ्चबलि चढाइन्छ । राँगा, बोकोपाठो र तीनवटा कुभिन्डाको बलि चढाउने गरिन्छ । त्यसपछि क्रमशः भाकल गरे अनुसारका पुजारीका र गाउँलेहरूका बोकापाठा, राँगाहरू काटेर बलि दिइन्छ । ईख्नाथान मन्दिर भित्र पाँच जना पुजारीहरू मात्रै जान मिल्छ । मताहारा पुजारीले बलि दिन लगेका पाठा, बोका, राँगाहरू भित्र बलि चढाइसकेपछि प्रसादी खान बाहिर दिने गरेको हुन्छ । सुरुसुरुका वर्षहरूमा प्रसादीमा लुछाचुँडी भएकाले पछिल्लो समयमा त्यसको व्यवस्थापन भएको पनि राम्रो भएको छ । त्यहाँ उभ्रेको चिजबिज त्यहीँ नष्ट गरेर जाने तर घर नलाने परम्परा कायम देखिन्छ । दशमीको दिन पुजारीहरूले ईख्नाथानमा टीका लगाइसकेपछि त्यो टीका घरघरमा बाँडिन्थ्यो र सबैतिर दशैंको प्रारम्भ हुन्थ्यो अरे । एकादशीको दिनमा सुपोखरामा फूलपाती सेलाउने क्रममा कोटबाट बाजागाजा र सरायसहित ल्याएर यो सुपोखरामा सेलाइन्छ र राति आठ–नौ बजेतिर घर जाने चलन छ । यसरी दसैंको षस्टीदेखि प्रारम्भ भएको दसैंका प्रक्रियाहरू एकादशीमा आएर सुपोखरामा विसर्जन हुन्छ र नेपालीहरूको महान चाड दसैं सम्पन्न हुन्छ । एकादशीमा फूलपाती सेलाउने पोखरी चाहिँ गिरीहरूले खनाएको भन्ने सुनिन्छ । माथि ईख्नाथानमा तत्कालीन समयमा बलि चढाइएका बोकापाठो, राँगोहरूलाई बनाईतुल्याई गर्न थानको वरिपरि भाँडाकुँडाहरू आफै त्यहाँ उत्पत्ति हुन्थे अरे । तिनै भाँडाकुँडाको सहाराले मानिसहरूले पकाएर खानेकुरा खाँदा रहेछन् । एकदिन कुताबाट गएको एक व्यक्तिले हातको कोटको बाउलामा राम्रो पन्यू घुसारेर लिएर गएछ । नियालपानी भन्ने ठाउँमा पुगेर त्यो मानिसलाई प्यास लागेपछि पानी खान खोज्दा त्यो पन्यू हातबाट झरेर तल आएछ । त्यो पन्यू निक्लेपछि त्यो सापमा परिणत भएछ र सापले त्यो व्यक्तिलाई टोकेछ । त्यपछि त्यस व्यक्तिको त्यही निधन भएछ । त्यस समयबाट ईख्नाथान मन्दिरमा पूजापाठ गर्न जाँदा सिलाएको लुगा लगाएर जान नपाइने चलन चलेछ । प्रसाद निर्माण गर्नेले देवतापोखरीमा आएपछि शुद्धिकरण गर्नुपर्छ । पुजारीहरूले पनि शुद्धिकरण गर्नुपर्छ अनि मात्र पूजास्थलतर्फ प्रवेश गर्न पाइन्छ । ईख्नाथानमा पूजा गर्ने पुजारीले पूजाको समयमा चौविस घण्टामा एकपटक शुद्ध खानेकुरा खाने नियम छ । सिलाएको लुगा लगाएर कोही पनि मन्दिरभित्र प्रवेश गर्न पाउँदैन । पुजारीहरू मात्र मन्दिर भित्र जान पाउने हुन् । उनीहरूले पनि नसिलाएका लुगा लगाएर भित्र जानुपर्छ । महतारा पुजारीबाटै कैली मैली गाईको दूधको धार त्यहाँ चढाइन्छ । अहिले निर्माण भएको गेटभन्दा सय मिटर जति भित्रै ईख्ना भगवती अलप भएको स्थान मानिन्छ । यहाँ प्रसङ्ग अनुसार ईख्ना भगवती र ईख्ना भगवती अलप भएको सन्दर्भ आयो । त्यो के होला ? त्यो पनि म विस्तारमा भन्दछु– सुन । यसभन्दा अगाडि तुषाराकोट र ईख्नाथानमा रते विष्ट मगरका सन्दर्भहरू मुख्य रूपले जोडिएका थिए । यहाँ आएर अहिले ईख्ना देवीको प्रसङ्ग जोडिन आएको छ । यी देवीथानहरूकाबारेमा विभिन्न किम्बदन्तीहरू परापूर्वकालदेखि सुनिँदै आएका छन् । कुनै समयमा यस क्षेत्रका राजाका तीन बहिनी छोरीहरू थिए– कालिका, मालिका र ईख्ना । ती राजाले आफ्नी दुई छोरीहरू कालिका र मालिकाको विवाह गरिसकेका थिए भने ईख्नाको विवाह गर्न बाँकी थियो । त्यसो भएकोले ईख्ना राजासँगै बसेकी थिइन् । दुश्मनहरूले राजाको बासस्थानमा आक्रमण गरी ईख्नालाई आफ्नो हात पार्न खोजेछन् । त्यसपछि ईख्ना पनि त्यहाँबाट भाग्दैदौडदै जाँदा ईख्नाथानमा परियारले लगेको टपरीमाथि ईख्ना बस्न पुगी छन् र त्यहीँ अलप भइछन् । त्यो टपरीमा अलप भएको किम्बदन्ती भएकाले पूजाको समयमा यहाँ परियारले टपरी नलगी हुन्न । दसैंको समयमा ईख्नाथान मन्दिरमा जाँदा परियारहरू पनि सँगै जानुपर्दछ । परियारले नै नौ फेरे टपरी अगाडि लिएर जान्छन् र त्यसपछि पुजारीहरू पछाडि लाग्छन् । यो अगाडि जाने क्रममा विकहरूले खुँडा तरबार बाघखोरमा लगेर दिन्छन् अनि पुजारीहरू क्रमैसँग अगाडि लाग्छन् । ईख्नाथानको तल प्रवेशविन्दुमा रहेको पोखरीमा शुद्धिकरण गरी पुजारीहरू माथि मन्दिरको टुप्पामा बसेकी ईख्नाथान देवीको पूजा गर्न जान्छन् । कथामा ईख्नाथान र तुषाराकोटको सम्बन्ध एक आपसमा घुलमिल भएर रहेको छ । मानिसहरूमा भूत, प्रेत, चोखे, डाइनी, लागोभागको अवस्था आएमा तुषाराकोट र ईख्नाथानको संकल्प गरी ती रोगव्याधिबाट जोगिन सकिन्छ भन्ने जनविश्वास समेत रहेको देखिन्छ । एउटै पुजारीको टोलीले चैते दशैँमा नियुक्त भएर बर्खे दसैँसम्मका यहाँका सबै पूजा विधिहरू गर्ने चलन हुन्छ । यी दुइटा देवीथानहरूको दशैंको पूजा सकिएपछि मात्र सम्पूर्ण गाउँहरूमा दसैँको टीका प्रारम्भ हुन्छ । यो क्षेत्रको सामाजिक सुरक्षा गर्ने जिम्मा ईख्नाखड्गथानलाई छ भन्ने कुरामा समस्तलोक विश्वस्त रहेको पाइन्छ ।
४.ईख्ना–खड्ग लोककथाको प्रयोजन
प्रयोजन भन्नाले उद्देश्य अथवा कारणलाई बुझाउँदछ । ईख्ना–खड्गको लोककथाको प्रयोजन लोकप्रति समर्पित भएको देखिन्छ । लोक साहित्यका अध्येता प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले लोकसाहित्य परिचय शीर्षकको कृतिमा साहित्यको अथवा लोककथाको प्रयोजन चार किसिमले भएको पाइन्छ भनेर प्रस्तुत गरेका छन्– मनोरञ्जनका लागि, शिक्षा वा उपदेश दिनका लागि, लोकमङ्गलका लागि र यथार्थको प्रकटिरण गर्नका लागि (लुइटेल, २०६९, पृ.१३–१५) । लोकसाहित्यका अर्का विद्वान डाक्टर दुर्गाबहादुर घर्तीले लोककथाको प्रयोजन मनोरञ्जन, लोकोपदेश, आध्यात्मिक विचारको प्रचार, कल्पनाको अभिव्यक्तिका लागि रहेको हुन्छ (घर्ती, २०८१, पृ. ४२) भनेका छन् । लोककथाको प्रयोजन धेरै कोणबाट हुने गरे तापनि बुँदागत हिसाबमा लोककथाको प्रयोजनलाई लुइटेलले उल्लेख गरेका चारवटा शीर्षकमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ–
क) मनोरञ्जनका लागि लोककथा
ख) शिक्षा वा उपदेशका लागि लोककथा
ग) लोकमङ्गलका लागि लोककथा
घ) यथार्थको प्रकटिकरणको लागि लोककथा ।
विभिन्न विद्वान एवं समीक्षकहरूले लोककथाको प्रयोजनबारे धेरै बुँदाहरूमा आफ्नै प्रकारले समीक्षा–विश्लेषण गर्न सक्छन् तर यहाँ माथि उल्लिखित चारवटा बुँदाहरूमा आधारित भएर ईख्ना–खड्गको लोककथाको प्रयोजनबारे अध्ययन गरिएको छ ।
क) मनोरञ्जनका दृष्टिबाट ईख्ना–खड्गको कथा
तत्कालीन समयमा समाजमा मनोरञ्जनका धेरै साधनहरू उपलब्ध हुँदैन थिए । जे उपलब्ध हुन्थे त्यसमा रमाउने तŒवको खोजी लोकले गर्दथ्यो । सधैँभरि काममा लागिरहनुपर्ने अवस्थाले मानिसलाई दिग्दारी पनि हुने गर्दथ्यो । त्यो दिग्दारीबाट उन्मुक्ति पाउन मानिस मनोरञ्जन चाहन्थ्यो । मानिसको त्यो मनोरञ्जनको चाहनालाई लोकले लामो समयको परिक्षण पश्चात धार्मिक विश्वासहरूमा आधारित विभिन्न पक्षहरूबाट पूरा हुने अवसर दिन्थ्यो । यहाँ तुषारा क्षेत्रमा अस्तित्वमा आएको ईख्ना–खड्गको लोककथाभित्र मनोरञ्जनका धेरै पक्षहरू रहेको देखिन्छ । मानिसहरू देवीथानमा पाठापाठी, राँगा, बोकाहरूलाई बलि दिइसकेपछि त्यसको प्रसाद खाँदै नाचगानमा रमाउँदै मनोरञ्जन लिने गर्दथे । उक्त अवसरमा धेरैतिरका साथीभाइ, आफन्तहरूसमेत एकै ठाउँ भेटघाट गर्ने अवसर प्राप्त हुन्थ्यो र उनीहरूमा आनन्दको पनि चरमसीमा को अनुभूति हुन्थ्यो । कतिपय परिवारले त वर्षदिनसम्म मासु खान पनि नपाउने अवस्था
हुन्थ्यो । यस्तो अवस्थामा त्यस्ता परिवारहरूलाई दसैँको अवसरमा मासु खाने अवसर हुँदा, नाचगानमा सहभागी हुन पाउँदा र आफन्तहरूको भेटघाट हुन पाउँदा सबै प्रकारका आनन्दहरू प्राप्त हुन्थे । दसैंको अवसरमा तुषाराकोटमा दुर्गा भवानीको पूजा कीर्तनहरू हुने, ईख्नाथानमा ठुल्ठूला मेलाहरू लाग्ने र सुपोखरामा एकादशीको दिन दसैंको जमरा सेलाउने ठाउँमा पनि नाचगान रमाइलो हुने हुँदा यो कथालाई मनोरञ्जनको अवसरको रूपमा पनि लोकले तत्कालीन समयमा अपनाएको देखिन्छ । यस क्षेत्रका समस्त बासिन्दाहरू बस्नेत, जिसी, महतारा, गिरीहरू, विक, परियार, ब्राह्मण, क्षेत्रीलगायत सबै जातजातिका मानिसहरूले समानभावबाट यो कथामा जोडिएका प्रसङ्गहरू, संस्कार–संस्कृतिहरू र परम्पराप्रति पूर्ण विश्वस्त भई आत्मसाथ गरेको देखिन्छ । यी सन्दर्भहरू तत्कालीन समयमा लोकले ईख्ना–खड्गको कथाको परिधिभित्र रहेर मनोरञ्जन गरेका कुराहरू भए । यी कुराहरू आजका दिनमा पनि निरन्तर चलिरहेका छन् । यस क्षेत्रका अधिकाश बासिन्दाहरू विशेषगरी दसैंका अवसरमा पूर्ण रूपले मनोरञ्जन पनि लिने गर्दछन् । मनोरञ्जनका दृष्टिकोणबाट ईख्ना–खड्गको लोककथा स्थानीय क्षेत्रमा अपनत्व स्वीकार गरिएको, लोकमा अन्तर्घुलन भएको र दीर्घकालिक महŒव रहेको देखिन्छ । यसले मानवीया जीवनका दुःख दर्दहरू हटाएर उल्लास भर्ने काम गरेको छ । मनोरञ्जनका दृष्टिकोणबाट यो लोककथा उत्तम देखिन्छ ।
ख) शिक्षा वा उपदेशका दृष्टिबाट ईख्ना–खड्गको कथा
प्रस्तुत लोककथाभित्र शिक्षा र उपदेश दुवै आएका छन् । चोरी गर्नु दण्डनीय छ भन्ने कुरा यहाँ बताइएको छ । कुताबाट आएका एकजना भक्तले भक्तको धर्म गुमाएर ईख्नाथानमा रहेको पन्यू चोरेर जाँदा बाटोमा नियालपानी भन्ने ठाउँमा प्यास लागेर तुषाराको बोटमुनि भएको धारामा पानी खान जाँदाखेरि त्यो पन्यू तल झर्दै हातको फेरोमा निक्लिनु र त्यो सापमा परिणत हुनु अनि त्यही सापले ती व्यक्तिलाई टोकेर मारेको घटनाले चोर्नु हुँदैन भन्ने शिक्षा दिएको छ । यदि कसैले चोरी गर्छ, देवीदेवतालाई छल गर्छ भने त्यसको सजाय उसले भोग्नुपर्दछ । यो नैतिक शिक्षा हो । शिक्षाका साथसाथै यस लोककथाको विरासत भित्र जातजातिको आधारमा मानिस सानो ठूलो हुँदैन भन्ने कुरा व्यक्त भएको छ । सबै जातजातिहरू मिलेपछि समाज एक ढिक्का हुने हो । सिंगो समाजको निर्माणमा सबैको भूमिका हुन्छ । कामको आधारमा कोही सानो कोही ठूलो हुँदैन भन्ने उपदेश दिएको छ । कथामा वर्णित भए अनुसार राजाकी कान्छी छोरी ईख्ना शत्रुहरूबाट जोगिँदै भाग्दै जाँदा परियारले बोकेको नौ फेरे टपरीमाथि बसेर अलप हुन रुचाएको अथवा पुगेको कारणले उनले परियार जातिमाथि विश्वास र माया गरेको देखिन्छ । शोषक रते विष्टलाई आक्रमण गर्न विश्वकर्माहरूले हतियार उपलब्ध गराएको देखिन्छ र दसैंको विशिष्ट पूजाकार्यमा पनि तुषाराकोटदेखि विश्वकर्माहरूले हतियारहरू बाघखोरसम्म दिने चलन देखिन्छ । त्यसपछि परियारहरू टपरी बोकेर अगाडि लागेपछि पुजारीहरू उनका पछाडि लाग्ने चलन हुन्छ । पुजारीहरू पनि पाँच जातिबाट चयन गरिएको छ । बस्नेतहरूलाई प्रशासन चलाउने जिम्मा दिएको देखिन्छ । यसबाट प्रष्ट हुन्छ कि यो लोककथाले समाजका सबै जातजातिहरू मिलेर बसे, समाजको कल्याण हुन्छ भन्ने कुराको उपदेश दिएको देखिन्छ । यसको पालना गर्न दबाब दिएको छैन । सबै स्थानीय बासिन्दाहरूलाई विवेक प्रयोग गर्न प्रोत्साहन गरिएको छ । यो सामाजिक एकता र भाइचाराका निम्ति प्रदान गरिएको उपदेश हो । शिक्षा र उपदेशका दृष्टिकोणबाट यो कथा प्रभावकारी रहेको देखिन्छ ।
ग) लोकमङ्गलका दृष्टिबाट ईख्ना–खड्गको कथा
लोकमङ्गलको अर्थ सिंगो समाजलाई राम्रो हुनु हो । ईख्ना–खड्गको लोककथा भित्रको दसैं संस्कृति प्रमुख संस्कृति हो । यो संस्कृतिको सेरोफेरोमा सिङ्गो कथा अगाडि बढेको छ । कथाको सुरुवातदेखि मध्यभाग हुँदै अन्तिम भागसम्म सिङ्गो समाजको सामूहिक सहभागिता रहेको देखिन्छ । तत्कालीन समयमा भित्री गाउँघरहरूमा जातपातका कुराहरू निकै घातक हुने अवस्थामा रहेका थिए । वर्षमा एक दुई चोटी भएपनि सबै मानिसहरूलाई घुलमिल गराउन पाए त्यो जातपातको दूरी हराउन जाने थियो भनेर पनि सामूहिक सहभागितामा यहाँ विविध सांस्कृतिक, धार्मिक कार्यहरूमा सबै एकजुट भएर लागेको देखिन्छ । बाहुन, जिसी, क्षेत्री, महतारा, बस्नेत, थापा, विश्वकर्मा, परियार मगरलगायत सबैलाई यस महान कार्यमा कुनै न कुनै जिम्मेवारी दिएर समग्र संस्कार पद्धतिमा सहभागिता गराएपछि सामाजिक एकताको भावना जागृत हुन्छ । यो लोकमङ्गलको अवस्था हो । पृथ्वीनारायण शाहको एकीकरण अभियान अघि बढेसँगै यो क्षेत्रमा बस्नेतहरूले कब्जा जमाएर जातीय एकतालाई झन् प्रोत्साहन गरेको देखिन्छ । पृथ्वीनारायण शाहले अगाडि सारेको चार जात छत्तिस वर्णको साझा फूलबारी हाम्रो नेपाली समाज हो भन्ने अवधारणालाई तुषारा क्षेत्रका मानिसहरूले आत्मसाथ गर्दै गरेको देखिन्छ । लोकमङ्गलका दृष्टिकोणबाट यो कथा एकदमै प्रशंसनीय छ ।
घं) यथार्थको प्रकटिरकणका दृष्टिबाट ईख्ना–खड्गको कथा
पहिलो कुरा यस लोककथाको माध्यमबाट यस क्षेत्रको नेपाली समाजमा सबै जातजातिहरूको आ–आफ्नो ठाउँमा महŒवपूर्ण भूमिका रहेको छ भन्ने यथार्थको प्रकटिकरण भएको छ । दोस्रो कुरा यस क्षेत्रमा रते विष्ट नाम गरेको निरंकुश शासक थियो भन्ने कुरा प्रमाणित भएको छ । धेरैले उसलाई भित्री कोटको मुख्यमन्त्री मानेका छन् भने केहीले राजाकै हैसियतमा थियो भनेर स्वीकार गरेका छन् तर उसको अस्तित्व यस क्षेत्रमा शासकको हैँसियतमा थियो भन्ने कुरामा सबैको एकमत पाइन्छ । तेस्रो कुरा यस क्षेत्रका मानिसहरू आस्तिक थिए, दसैँलगायतका चाडबाड मनाउँथे र दुर्गा भगवतीलगायतका धेरै देवी देवताहरूप्रति उनीहरूको आस्था थियो भन्ने कुराको सामाजिक अवस्थाको यथार्थ चित्रण यो कथाले प्रस्तुत गरेको छ । चौथो कुरा यो क्षेत्र पृथ्वीनारायण शाहको एकीकरण अभियान यहाँ आइपुग्नुभन्दा अगाडि भुरेटाकुरे राजाहरूको मातहतमा थियो भन्ने देखिन्छ । यसरी हेर्दा यो लोककथाले तुषारा क्षेत्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक पक्षको यथार्थ कुरालाई लोकका सामु सुरक्षित राख्दै पुस्तौं पुस्तासम्म हस्तान्तरण गर्दै आएको देखिन्छ । यस क्षेत्रको यथार्थ कुराहरूको संरक्षण र प्रवद्र्धन गर्न यो लोककथाको भूमिका महत्वपूर्ण रहेको देखिन्छ ।
निष्कर्ष, लोककथाको प्रयोजनको दृष्टिकोणबाट यो कथा एकदमै मनोरञ्जनात्मक, शिक्षा वा उपदेशले भरिएका,े लोकमङ्गलको कामना गरिएको र यथार्थ कुराहरूको संरक्षण गर्न सफल भएको देखिन्छ । यो लोककथा हरदृष्टिबाट एकदमै महŒवपूर्ण रहेको देखिन्छ र पछाडि आउने युगलाई पनि यो लोककथाले मार्गनिर्देशन गर्ने सम्भावना अत्याधिक रहेको देखिन्छ । अन्य अध्येताहरूले यस लोककथाको र यससँग सम्बन्धित पक्षको धेरै कोणबाट अध्ययन विश्लेषण गर्न सक्ने देखिन्छ ।
५. अध्ययन–भ्रमण टोलीको अनुभव, निचोड र निष्कर्ष
काठमाडौँबाट गएको हाम्रो टोलीमा २८ सदस्य हुनुहुन्थ्यो । ती २८ सदस्यहरू मध्ये टोली विभाजन गर्दा ८÷९ टोलीमा टोलीका सदस्यहरू विभाजित हुनुभयो । मेरो टोलीमा दुर्गा भवानी भट्ट र म गङ्गाप्रसाद भेटवाल अनुसन्धाताको रूपमा यस तुषारा क्षेत्रमा आइपुगेका हौँ र हाम्रो साथमा हरहेमेसा आदरणीय बिनोद जिसी र रेकमसिंह रसाइली र अन्य साथीहरू रहनुभयो । टोली अनुसार सबैलाई फरक–फरक ठाउँमा स्थानीय समाजसेवी अगुवा एवम् बुद्धिजीवीहरूले भ्रमण गराउनुभयो । त्यहाँका विषयवस्तुकोबारेमा जानकारी दिनुभयो । हामी स्थलगत अध्ययनमा जाँदा हाम्रो साथमा समाजसेवीहरू किरण जिसी, विनोद जिसी, खिमबहादुर बस्नेत, पुजारी विष्णुप्रसाद पोखरेल, ओबीराम पोखरेल, जनप्रतिनिधि एवम् समाजसेवी रेकमसिंह रसाइली, कृष्णबहादुर सुनवार, झिम्रुक गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णबहादुर जिसी, वडा नम्बर ८ का वडा अध्यक्ष तुलसबहादुर बस्नेत, ८ का वडा सदस्य कल्पना परियार स्थानीय गायक बलबहादुर भण्डारी बुबालगायतका स्थानीय व्यक्तित्वहरू हुनुहुन्थ्यो । तुषारा क्षेत्रमा पहिलो दिन बास बस्न प्युठान जिल्लाका पूर्व सभापति कृष्णबहादुर जिसीको घरले हामीलाई स्वागत गरेको
थियो । आदरणीय कृष्णबहादुर जिसी समाजसेवी किरण जिसीका पिताजी पनि हुनुहुन्थ्यो उहाँहरूका घरमा तुसारा क्षेत्रको भ्रमण गर्दा हामीले पहिलो दिन एकदमै सौहार्दपूर्ण वातावरणमा बितायौँ । घरायसी गफगाफहरू, समाजिक विषय र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विविध पक्षहरूको बारेमा पनि छलफल ग¥यौँ । हामीले तुषारा क्षेत्रमा भ्रमण गर्दा जे जति अगुवा समाजसेवी व्यक्तिहरूसँग परामर्श ग¥यौँ, उहाँहरू सबैको परामर्श, उहाँहरूले दिएका सूचना र तथ्यहरूको आधारमा ईख्ना–खड्गको लोककथालाई माथि उल्लेख गरिए बमोजिम प्रस्तुत गरिएको हो । किरण जिसी, बुबा कृष्णबहादुर जिसी, विनोद जिसी, पित्रिभत्त रिजालका घरमा हामीले जुन आतिथ्यका साथ भोजन ग्रहण गर्यौ, बास बस्यौँ, त्यो सदैव स्मरणीय
रहनेछ । त्यो मायालु वातावरणले हामीलाई सदैव प्युठानप्रतिको मोहलाई जगाइरहनेछ । जनप्रतिनिधिहरू रेकमसिंह रसाइली, कल्पना परियार, कृष्णबहादुर सुनारहरूलगायतका साथीहरूको आत्मीय सहयोगको जति मूल्याङ्कन गरे पनि कम हुन्छ । त्यसले हामीलाई मित्रताको सम्झना गराइरहन्छ । वडा नम्बर ७ का वडाध्यक्ष कृष्णबहादुर जिसी र वडा नं ८ का अध्यक्ष वडाध्यक्ष तुलसबहादुर बस्नेतको स्थलगत कार्य गर्ने क्षमताको जति प्रशंसा गरे पनि कम हुन्छ । त्यो पहाडी बाटोमा उहाँहरूले घरघरमा पुगेर जनताका सुखदःुखहरू बुझ्ने गरेको स्थानीयहरूबाट समेत सुन्न पाइयो । उहाँहरू दलीय अवस्थाभन्दा माथि उठेर जनताका साझा व्यक्ति भएको हामीले अनुमान ग¥यौ । उहाँहरूले त्यो पहाडी बाटोमा मोटरसाइकलमा हामीलाई एक ठाउँबाट अर्को ठाउँमा लग्न जुन प्रकारको भूमिका निर्वाह गर्नुभयो त्यस कार्यको प्रशंसा शब्दमा वर्णन गरेर नपुग्ने छ ।
हाम्रो भ्रमणको निचोड अनुसार तुषाारा क्षेत्रमा भएका अन्य स्थानहरू दियाल्नाचौर (जसलाई लालीगुराँस रङ्गशाला नामाकरण गरिएको छ), ढुङ्गे बगैँचा, बुढीकोट थुम, भ्यु टावर लगायतका स्थानहरू पनि पर्यटकीय दृष्टिकोणले उत्तिकै महत्वपूर्ण रहेका देखिन्छन् । यो क्षेत्रको प्रचारप्रसार गरी बर्साँसराईको क्रमलाई रोक्न सकियो भने धेरैतिरबाट पर्यटकहरू यस तुसरा क्षेत्रमा र झिम्रुकका अन्य क्षेत्रमा आएर रमाउन सक्ने स्थिति देखिन्छ । विशेषगरी यहाँबाट तराईतिर झरेका मानिसहरू देशभित्रको हकमा दाङ, नेपालगञ्ज, बुटवल, कैलाली, काठमाडौँलगायतका ठाउँमा गएर नयाँ बसोबासको व्यवस्था मिलाएका देखिन्छ भने बाहिरको अवस्था हेर्ने हो भने संसारका धेरै ठाउँमा यहाँका मानिसहरु गएर अस्थायी अस्थायी र स्थायी दुवै ढङ्गबाट बसोबास गरेकोसमेत देखिन्छ । यस क्षेत्रबाट गएका सबै मानिसहरूको पहिचान गरी संस्थागत र व्यक्तिगत रूपमा पनि उनीहरूसँग सम्पर्क गरेर ईख्ना–खड्गको लोककथाको प्रचार गर्न संसारभरिका पर्यटकहरूलाई यो क्षेत्रमा भ्रमणको लागि आमन्त्रण गर्न सकिन्छ ।
हामी काठमाडौँबाट प्युठान अध्ययन–भ्रमणका लागि आयौँ । प्युठानभित्र पनि विभिन्न ठाउँमा छरिएर हामीले अध्ययन–भ्रमण ग¥यौ । विभिन्न सांस्कृतिक, आर्थिक, धार्मिक, ऐतिहासिक पक्षको अध्ययन ग¥यौ । हामीलाई प्युठान भ्रमणको निम्तो दिएर यो भ्रमणको लागि धेरै कुराको व्यवस्थापनमा भूमिका खेल्ने ओखरकोट पर्यटन एवं ग्रामीण सेवा समिति, प्युठानलाई हामी हृदयदेखि नै धन्यवाद दिन्छौँ । हामीले प्युठानको यो अध्ययन भ्रमणबाट धेरै कुरा सिक्ने अवसर पाएका छौं । त्यो सिकाई, यहाँका धर्म–संस्कृति, आर्थिक पाटो, सामाजिक परम्परा, रीतिरिवाजका कुराहरूलाई हामी जहाँ पुग्छौ प्रचारप्रसार पनि गर्नेछौं र प्युठानप्रतिको माया सदैव व्यक्त गरिरहनेछौंँ । धन्यवाद ।
सन्दर्भ सामग्रीसूची
घर्ती, दुर्गाबहादुर, (२०८१), लोकसाहित्य अध्ययन पद्धति, काठमाडौँ ः अनुसन्धान विमर्श लेपाल ।
पराजुली, मोतीलाल, (२०७१), नेपाली लोककथा सिद्धान्त र विश्लेषण, काठमाडौँ ः विवेक
सिर्जनशील प्रकाशन ।
लुइटेल, खगेन्द्रप्रसाद, (२०६८)लोकसाहित्य परिचय काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।
सुवेदी, हंसपरे (२०५५), नेपाली लोकजीवन ः लोकविश्वास, साझा प्रकाशन, काठमाडौँ ।
No comments:
Post a Comment