सुभाषचन्द्र पौडेल भीमफेदियाले सम्झना बिर्सना शीर्षकको कृति बजारमा ल्याउनुभएको छ । यो कृतिमा संस्मरण,कथा र लघुकथाहरू समेटिएका छन् । यो कृतिलाई २०८० सालमा उहाँले प्रकाशनमा ल्याउनुभएको हो । यो कृतिलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ । कृतिको सम्पादन बिमल भौकाजीले गर्नुभएको छ। मूल्य २५० रहेको छ । प्रस्तुत कृतिमा भूमिका किशोर पहाडी, ध्रुव मधिकर्मी, श्री रामसिंह बस्नेत तथा गोविन्द गिरी प्रेरणा समेतले लेखी कृति ओजिलो बनाउनुभएको छ । तत्पश्चात् कृति लेखनका अनुभूति र प्रकाशनका सन्दर्भहरू समेत जोडेर आफ्नो भनाइ लेखकले प्रस्तुत गर्नुभएको छ । अघि पनि माथि उल्लेख गरियो यो कृतिभित्र संस्मरण, कथा र लघुकथाहरू समेटिएका छन् भनेर संस्मरण खण्डमा १७ वटा लेखहरुलाई उहाँले प्रस्तुत गर्नुभएको छ भने कथा र लघुकथातर्फ ८ वटा रचना समेटिएका छन् । सर्जकले कथा लघुकथा खण्डमा केही कम रचना प्रस्तुत गर्नुभएको देखिए तापनि मैले यहाँ छोटो कथा फैसला शीर्षकको कथा पढेर यहाँहरुको लागि पनि प्रस्तुत गरेको छु । एउटा वकिलको नाताले यी कथाहरु मध्ये फैसला शीर्षकको कथामा मेरो ध्यान केन्द्रित हुन पुग्यो र सोही फैसला शीर्षकको कथा यहाँहरु समक्ष प्रस्तुत पनि गरेको छु ।
कथा –फैसला – सुभाषचन्द्र पौडेल ’भीमफेदिया’
सर्वोच्च अदालतको ढोक्कैमा रामप्रसाद र लक्ष्मणप्रसादको जमका भेट भयो। दुवैका आँखा जुधे तर बोलेनन्। निउरेर दुवै कोठाभित्र पसे । डिठ्ठा, बिचारी र लेखनदासहरू भर्खरै मात्र आइपुगेर आफ्नो कुर्सीको धुलो पुछ्दै थिए ।
बादी रामप्रसाद र प्रतिवादी लक्षणप्रसादको आज मुद्दाको फैसला हुने भएकोले १० बज्नुअघि नै दुवै सर्वोच्चको ढोकामा उपस्थित भएका थिए । पाँचपाथी धानको बिउ लाग्ने एउटा गैरीखेतको लागि वर्षौंदेखि उनीहरूबीच मुद्दा चलिरहेको थियो ।
एउटै आमाको दुधको लाम्टा चुसेर हुर्केका रामप्रसाद र लक्ष्मणप्रसादको अंशबण्डा बाबु छँदै भइसके पनि आमाको जीवनीमा परेको उक्त खेतको लागि ती दुईका मुद्दा पर्यो । बाबु बुढा बितेको दुई वर्षमै आमा पनि बितिन् । आमाबाबु पाल्ने र काजक्रिया खर्च समेत बेहोर्ने लक्ष्मण प्रसादलाई बुढी माउले आफू छँदै जिउने उनको नाममा इच्छाएर कागज गरिदिएकी थिइन् ।
आमा छउन्जेल रामप्रसादले विरोध गरेका पनि थिएनन् । आमाबुढीको बरखी नफुक्दै रामप्रसादले पञ्चायत बोलाए । पञ्चायतले लक्ष्मणप्रसादको ओटमाबोलेपछि रामप्रसादले जिल्ला अदालत नगुवारी सुखै पाएनन् । जिल्ला अदालतले पञ्चायतको निर्णय बदर गरी रामप्रसादकै जित गराएपछि लक्ष्मणप्रसाद चाउरिएर बसे । रामप्रसादले फेरि भाडाकुडा सम्बन्धी खिचलो उठाए अनि लक्षणप्रसादलाई पनि झोक चल्यो र उनले पनि खेत सम्बन्धी मुद्दामाथि नै अञ्चल अदालतमा नालेस दिए ।
तीन वर्षपछि अञ्चल अदालतले लक्षणप्रसादलाई उक्त खेतको हकदार बनाई रामप्रसादलाई हराइदियो । अञ्चल अदालतको निर्णय रामप्रसादलाई सह्य भएन । क्षेत्रीय अदालतमा पुगे । त्यहाँबाट पनि हारे । अन्त्यमा उनको आशाको त्यान्द्रो नै सर्वोच्चको फैसला भयो । सर्वोच्च अदालतमा मुद्दा दायर गरेको पाँच वर्षपछि मात्र बल्ल आज फैसला हुने भएकोले उनको मन अस्थिर भइरहेथ्यो ।
एउटै आँगन दुई टुक्रा पारेर छुट्टिएपछि उनीहरूको भेट अदालतको कोठामा मात्र हुने गरेकोले लक्ष्मणप्रसादसँगको आजको जम्का भेटले रामप्रसादलाई फेरि एकपटक खल्लो बनायो । अञ्चल अदालतसम्म उनीहरुले घरकै भात खाएर आआफ्नो तारिख धानेका थिए । क्षेत्रीय र सर्वोच्चमा पुगेपछि काठमाडौँ आउन जान गरिरहनुपर्दा दुवै दिगदार हुनु स्वभाविकै थियो । खेतको मोल जति मुद्दा खर्च भइसके पनि नलड्नु लडेपछि फैसला सुन्ने र खेत हात पार्ने दुवैको दाउ थियो । दुवैको खिचातानीमा खेतमा अन्न फल्न पाएको थिएन । वर्षौंदेखि बाँझो रहेको खेतमा अब कसले बिउ छर्न र रोप्न पाउने हो भन्ने फैसला सर्वोच्च अदालतकै गर्भमा थियो त्यसैले रामप्रसाद र लक्ष्मणप्रसाद व्याकुल भएर सर्वोच्चको फैसला पर्खिरहेका थिए ।
समय बिस्तारै बग्दै गयो १० बज्यो, ११ बज्यो, १२ बज्यो, १ बज्यो एवम् प्रकारले ३ पनि बज्यो तर रामप्रसाद र लक्ष्मणप्रसादको मुद्दाको कुनै प्रसङ्ग उठेन । एउटा ज्यानमारा केसको आज टुङ्गो लाग्ने भयो । रामप्रसाद र लक्ष्मणप्रसादका आ–आफ्ना वकिलहरूले उनीहरूको फैसला भोलि मात्र हुने जनाउ दिए तैपनि, रामप्रसाद र लक्ष्मणप्रसादले ५ नबजुन्जेल अदालतको मूल ढोका काटेनन् बरु बीच–बीचमा डिठ्ठा, बिचारी र आ–आफ्नो वकिलहरुलाई चियाचमेना गराउन कम्पाउन्डभित्रकै चमेना गृहसम्म पुगे ।
५ बजेपछि अरु कर्मचारीसँग उनीहरू पनि बाहिर निस्के। ज्यानमारा केस पनि प्रमाण नपुगेकोले टुङ्गिएनछ। भोलि उनीहरुकै मुद्दा पहिले हेरिने भयो ।
अदालतबाट निस्केपछि दुवैको जाने ठाउँ कतै थिएन । काठमाडौँमा आफन्त भन्ने कोही
थिएनन् । सिंहदरबार अगाडि आइपुगेपछि रामप्रसाद पुतली सडकतिर लागे र लक्ष्मणप्रसाद ठाडै भद्रकालीतिर लागे ।
मनमा अनेकन तर्कनाको जालो बुन्दै रामप्रसाद पुतली सडकबाट भरिकुटी मण्डप, भृकुटी मण्डपबाट बिजुली घर हुँदै रत्नपार्क भित्र पसे । अफिस छुटेर आउनेहरूको फुटपाथमा उत्तिकै घुइँचो थियो । रत्नपार्क भित्र हावा खान आउनेहरूको सङ्ख्या पनि निकै थियो । ससाना केटाकेटीहरू एकातिर भकुण्डो खेलिरहेका थिए । सुन्तला र बदाम बेच्नेहरु पनि आआफ्ना मालसामानको विज्ञापन फलाकी रहेका थिए ।
रामप्रसाद सरासर गएर पार्क भित्रको एउटा छातामुनि चौतारीमा आरामसँग बसे । बस्दा बस्दै रामप्रसादलाई घरको सम्झना आयो । स्वास्नी छोराछोरीको सम्झना आयो । अनि गैरीखेतको सम्झना आयो । उनको मन झन् एक तमासले दुख्न थाल्यो ।
रामप्रसादले आफू बसेको ठाउँभन्दा अलि पर एउटा सिमेन्टको बेन्चमुनि एउटी कुकुरनी र दुईवटा छाउरा गुडुल्किरहेका देखे । छाउराहरुको कुइँ कुइँ गरेर रोएको आवाजले रामप्रसादको ध्यान त्यतै केन्द्रित भयो। उनले आफ्नो घरमा पालेको भोटे कुकुरको छाउरालाई पनि सम्झे त्यसैले उनको विचारको श्रृंखला त्यही टुट्यो र कुकुरतिर आकर्षित भए ।
छाउराहरूको काइँकाइँ कुइँकुइँ बहन थालेपछि माउको कुकुर्नीे उठेर एकातिर हिँडी । केहीबेरपछि छाउराहरु रुन छाडेर टोकाटोक गरी जिस्केर खेल्न थाले । लगत्तै पाँच सात मिनेटपछि माउ चाहिँ
आइपुगी । उसले मासु सहितको एउटा हड्डी मुखमा च्यापेर ल्याएकी रहेछ । छाउराहरू माउलाई देखेर खुसी हुँदै लुटपुटिए । माउले त्यो हड्डी भुइँमा खसाली दिई र बेन्चमुनि घुिस्रई । हड्डी मुखमा च्यापेर एउटा छाउरो कुद्यो । त्यो कुदेको देखेर अर्को लखेट्दै पछि लाग्यो । पहिलोलाई भेटेर दोस्रोले मुखको हड्डी खोस्यो दोस्रोले टिप्न नपाउँदै पहिलोले फेरि झम्ट्यो झम्टाझम्टीमा एकअर्काले दुख्ने गरी नै टोके क्यारे ।
पीडाले कराएको पनि सुनियो । पल्लो छेउबाट हिँडिरहेको एउटा लुतेको कुकुरले तिनीहरूको झगडाको आवाज सुनेर कान ठाडो पार्यो लुते कुदेर ती छाउराहरु माथि झम्टन पुग्यो । छाउराहरूले त्यो हड्डी बचाउन निकै प्रयास गरे । लुते भएपनि छाउराहरु भन्दा त्यो निकै बलियो थियो । दुवै छाउरालाई टोकेर रक्ताम्य बनाई त्यो हड्डी टिपेर भाग्यो । लुते भागेपछि ती छाउराहरु जिल्ला राम परे । एकछिन दुबैले ङ्यार ङ्यार ङुरङुर गरेर घुरे । झगडाको मुख्य वस्तु अर्कैले उडाइसकेकोले टाङमुनी पुच्छर लुकाएर माउ भए ठाउँतिर लागे । माउलाई त्यो घटनाबारे केही थाहा थिएन । छाउराहरु फेरि माउको न्यानो खोकीला भित्र पसे ।
रामप्रसादले यी सबै घटना हेरिराखेका थिए । उनलाई त्यो दृश्यले साह्रै मर्माहत तुल्यायो । उनले त्यो आफ्नै घटना सम्झे, लुते कुकुरलाई गाउँको हर्केसाहू सम्झे । उनलाई मनमा ज्यादै ग्लानी भयो तर जे हुनु भइसकेको थियो ।
फेरि एकपल्ट रामप्रसादले आफ्नो मरेका बाबुआमालाई सम्झे आफ्नो बाल्यावस्था सम्झे । बिहान अदालतको ढोकामा जम्का भेट भएको भाइ लक्ष्मणप्रसादलाई सम्झे । मुटुदेखि भक्कानो फुटेर आयो र गलामा पुगेर अड्कियो ।
पार्कभित्रका मानिसहरू सब उठेर हिँडिसकेछन् । अध्यारो छिप्पिसकेको थियो । रामप्रसाद जुरुक्क उठे । लुगा टकटकाए । आँखाको डिलभरि टिल्पििलाएको आँसु पुछे । भारी मन लिएर बिस्तारै पार्कबाट निस्किए पार्कको ढोकामा बलेको बत्तीको उज्यालोमा आफ्नै छायाँ देखि पनि तर्से । ढोकाबाट फुत्त निस्केर फुटपाथको खुड्किला चढ्न लाग्दा छेवैको बाङ्गेको रुखमा अडेस लगाएर बिँडी तानिरहेका लक्षणप्रसाद माथि उनका दृष्टि पर्यो । लक्ष्मणप्रसादको नजिकै गएर उभिए रामप्रसाद । नजिकै उभिन आएका रामप्रसादमाथि लक्ष्मीप्रसादको पनि आँखा परे । फेरि उनीहरूका आँखा जुधे । यो पटक दुवै निहुरेनन्, केहीबेर किंकर्तव्यविमूढ भएर टोलाइरहे । रामप्रसादको आँखाभरि आँसु देखेर लक्षणप्रसादको आँखा पनि रसाए । हेराहेरीमै दुवैका आँखाबाट आँसुका दानाहरू गुड्न थाले । रामप्रसादले लक्ष्मणप्रसादलाई ग्वाम्म अँगालो हाले । लक्ष्मणप्रसाद फतक्कै गलेझै भएर रामप्रसादको गोडामा छाद हाल्न पुगे ।
निकै बेरपछि दुवै संयमित भएर अगाडि बढे । दुवै सरासर न्युरोडतिर लागे। बाटोभरि दुवैको बोलचाल भएन । रामप्रसादले लक्ष्मणप्रसादलाई आफू बसेको मारवाडी सेवा समितिको होटलमा लगे। खाना पनि दुबैले सँगै खाए र एउटै ओछ्यानमा पल्टिए ।
रातभरि ती दाजुभाई बीच गुनगुन कुरा चलिरह्यो । बिहान सबेरै उठेर दुवै बस स्टपतिर लागे । बसले नागढुंगा नाघेपछि सर्वोच्चको ढोका नागेजत्तिकै भयो उनीहरुलाई ।
मुद्दाको फैसला त राति होटलकै कोठामा उनीहरुले आफै गरिसकेका थिए ।
(यो कथा २०४४ सालको भदौमा मधुपर्क मासिकमा प्रकाशित पनि भएको थियो)
प्रतिक्रिया
यसरी दाजुभाइ आफन्तका बीचका मुद्दाहरू आपसी समझदारीमा टुङ्ग्याउने हो भने अदालतमा हुने अनावश्यक चाप पनि कम हुने थियो र सम्बन्धित मानिसहरूका खर्चवर्चहरू पनि जोगिने थिए । यो कथाको सन्देश आम मानिसहरूमा सही ढंगले सम्प्रेषण हुन सके निश्चय पनि साहित्यकारको भावना पाठकहरूले बुझेको अनुभूत हुने थियो । धन्यवाद छ कथाकार सुभाषचन्द्र पौडेल भीमफेदियालाई र अहिले यो फेसबुक मार्फत यो कथा पढेर सन्देश ग्रहण गर्नुहुने सबैलाई पनि धन्यवाद ।
गङ्गाप्रसाद भेटवाल कीर्तिपुर ४ काठमाडौँ
उपन्यास पर्दाभित्र
...🖉 गङ्गाप्रसाद भेटवाल
No comments:
Post a Comment