Monday, December 23, 2024

८९ औं स्रष्टा पदयात्रा - खोलाघरे साहिंलो

 


८९ औं स्रष्टा पदयात्राको लागि मिति २०८१/०९/०५ र ६ गते हामी बस काभ्रेको मण्डन देउपुर गयौं । यो यात्राका संयोजक डा.बालचन्द्र मिश्रजी हुनुहुन्थ्यो । उहाँको निर्देशन अनुसार यात्रा सहज बनाउन कुन्ताबेसीमा बसबाट ओर्लिएर चियाखाजा खाएर मन्डन देउपुर नगरपालिकाको कार्यालय कुन्ताबेसीमा पुग्यौं । त्यहाँको नगरपालिकाद्वारा हाम्रो भव्य स्वागत भयो। मेयर टोकबहादुर वाईबा,उपमेयर विष्णुप्रसाद नेपाल लगायत सबै जनाको परिचय आदानप्रदान गरेर पुस्तक विमोचन, मन्तव्यहरू भयो । स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवाल,सचिव शारदा पराजुली ले यहाँ दयात्राबारेमा थप प्रकाश पार्नुभयो भने हरिबोल काफ्लेले पनि लामो मन्तव्य दिनुभयो । सभा सकेर नगरपालिकाकै क्यान्टिनमा, दिउँसोको खाना, खानापछि विन्ध्यवासिनी मा. वि.मा त्यहाँका स्टाफहरूसँग पहिलो चरणको रचना वाचन र उपाध्यक्ष विमल अर्यालबाट सामान्य मन्तव्य भयो । सो सकेर दिउँसो ४ बजे इन्द्रावती नदीको बगरमा दोस्रो चरणको रचना वाचन भयो । बेलुका ६ बजेदेखि ७ बजेसम्म साँझको खाना र केही समयको विश्रामपछि साँझ ७ बजेतिर जेष्ठ नागरिक भवन आँपघारीमा आयोजित भजनकीर्तन कार्यक्रममा स्थानीयहरूसँग सहभागी भयौं । कीर्तन गरिसकेर राति ९ बजे उहाँहरूले व्यवस्थापन गर्नुभएका घरहरूमा बाँडिएर रात्रिविश्राम गरियो । पुस ६ गते शनिवार बिहान ६ बजे उठेर ७ बजे चिया पिएर उकालो लाग्यौं । हामीलाई स्थानीय गणेश नेपालले सँगसँगै हिंडेर निर्देश गरिदिनुभयो साथै उहाँले दिनुभएको भुटेको मकै भटमास,बदाम खाजा खाँदै बिहान ७ बजेदेखि श्रीचौर हुँदै चन्डेनी भन्ज्याङ पुग्यौं र उमा सह शिक्षालय चण्डेनीका प्र अ शालिकराम श्रेष्ठको घरमा चियापान गरेर पुनः उकालो लाग्यौं । ११ बजे चन्डेनी माथिको थामडाँडा बुद्ध थुम्कामा पुग्यौं। त्यहाँ जाँदा उल्लेख्य संख्याका स्थानीय महिला,शिक्षिका र विद्यार्थीहरूले हामीलाई साथ दिएका र निर्देशन गरेका थिए। त्यहाँ रहेको भ्युटावरबाट दृश्यावलोकन गरी १२.१५ मा चण्डेनीको उमा सहशिक्षालयमा जम्मा भएर सहभोजन गरियो । भोजनपछि सोही विद्यालयमा अन्तिम रचनावाचन गरिसकेर सबै स्थानीयहरूसँग विदा भएर हामी दिउँसो २.४५ बजे फिर्ता आउन बसमा चढेका थियौं । स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवाल र यो ८९ अौं पदयात्राका संयोजक डा. बालचन्द्र मिश्रले समयसमयमा आवश्यक जानकारी र निर्देशनहरू गरिरहनुभयो । यस यात्रामा १. डा.बालचन्द्र मिश्र, २. शीतल गिरी, ३. राजन पुडासैनी, ४. शम्भु गजुरेल, ५. शारदा पराजुली, ६. परशुराम परासर, ७. नवराज रिजाल, ८. दुर्गा भवानी भट्ट, ९. विमल अर्याल, १०. खोलाघरे साहिंलो, ११. शोभा पोखरेल, १२. नानीबाबा अधिकारी, १३. गङ्गाप्रसाद भेटवाल, १४ विष्णु शर्मा पराजुली, १५. एञ्जेल नीलु, १६ प्रभा बराल, १७. रामकुमार पण्डित, १८. सुमन पुडासैनी, १९ कृष्ण सुवेदी निराकार, २०. निशा केशी, २१ डिल्लीराज अर्याल, २२. हरिबोल काफ्ले, २३ विजया बस्नेत, २४. डा.शशी थापा पण्डित,२५. दीपक लोहनी र २६. मन्दिरा मधुश्री यति २६ जनाको सहभागीता रहेको थियोे ।

स्थानीय जनप्रतिनिधिहरू मेयर,उपमेयर,वडाध्यक्षहरू,सहजकर्ता गणेश नेपाल,शालिकराम श्रेष्ठ लगायत मण्डन देउपुर न पा का सम्पूर्णमा आतिथ्य र सरसहयोगका लागि हार्दिक धन्यवाद ! नयाँ सदस्यका रूपमा सहभागी हुनुभएका झापाका साहित्यकार कृष्ण सुवेदी निराकारलाई हार्दिक स्वागतम् !
जय स्रष्टा ! जय साहित्य !! ***०८१/०९/०७
















Monday, December 2, 2024

कालो गुलाफ कथासङ्ग्रह भित्र के छ ? -गङ्गाप्रसाद भेटवाल

  कालो गुलाफ कथासङ्ग्रह भित्र के छ  ?                                                            गङ्गाप्रसाद भेटवाल  

                                                                                             

कालो गुलाफ कथासङ्ग्रह कथाकार गोपाल अस्कद्वारा लिखित कथाहरूको सँगालो हो । यो कथा सङ्ग्रहलाई ओरिएन्टल पब्लिकेशन प्रा.लि.ले २०८० साल आश्विन महिनामा प्रकाशनमा ल्याएको हो । यस सङ््गहमा प्रा.डा. लक्ष्मणपसाद गौतमले समीक्षात्मक भूमिका लेख्नुभएको छ । त्यसपश्चात् कथाकारको छोटो भनाइ  र प्रकाशकीय रहेको छ । यस सङ्ग्रहमामा पन्ध्रवटा कथाहरूलाई संकलन गरिएको छ । यस सङ्ग्रहमा संकलित भएका कथाहरूले अधिकांश मधेस क्षेत्रका सन्दर्भहरूलाई प्रस्तुत गरेका छन् भने केही केही कथाहरूका परिवेश र पात्रहरूले पहाड क्षेत्रलाई समेत समेट्न भ्याएका छन् । सिङ्गो कथा सङ्ग्रहलाई बुझ्न सजिलो होस् भनेर पन्ध्र्र वटा कथाहरूको छुट्टाछुट्टै संक्षिप्त स्वरूपलाई यो  समीक्षात्मक लेखमा सारगत रूपमा प्रस्तुत गरिएको छ ः 

कथा १ – कालो गुलाफ

यस कथामा पात्रहरू रामलाल यादव उपनाम अग्नि, उसकी श्रीमती रमपतिया, छोरा गापी र अपरिचित व्यक्ति निर्मलमणि सापकोटा उपनाम ज्वाला रहेका छन् । यस कथामा माओवादी आन्दोलनको झलक छ । माओवादीभित्र पनि पहाडे र मधेसीको भावना आएको छ । आन्दोलनकारीहरू गणतन्त्र आएपछि धेरै नै मन्त्री बनेका छन् । उनीहरुमा दक्षिणी छिमेकी राष्ट्रलाई हेर्ने दृष्टिकोण उस्तै–उस्तै भएपनि पहाडे र मधेसे नेताहरूले एकअर्कालाई आरोप लगाउने गरेका छन् । माओवादीभित्रका नेतामा पनि मधेसलाई हेर्ने नजर त्यति राम्रो पाइँदैन । पहाडेले आफूलाई लालीगुराँससँग तुलना गरेका र सोही प्रकारले मधेसेले आफूलाई गुलाफसँग तुलना गर्दा पहाडेले गुलाफ त हौ तर कालो गुलाफ हो भनेर मधिसेप्रति नकारात्मक सोच व्यक्त गरेका छन् । यही कथाको शीर्षकबाट सिङ्गो सङ्ग्रहको नामकरण समेत भएको देखिन्छ । 

कथा २ – एउटा लेखकको आत्मकथा 

यस कथामा लेखको जीवनचर्यालाई प्रस्तुत गरिएको छ । वास्तविक लेखक जो गरिवीसँग जुधेको छ । चार दर्जनकृति लेखे पनि बाँच्नकै लागि ती कृतिहरू अरुलाई बेच्नु परेको छ । लेखकले घोस्ट राइटिङलाई आफ्नो पेशा बनाएको छ । कथामा मोफसलका साहित्यकारहरूबाट पनि राजधानीमा बस्ने लेखक पीडित भनेको छ । आफ्नै श्रीमतीले समेत आफ्नो विवशता बुझ्न नसकेको अवस्था कथामा छ । श्रीमतीले श्रीमान्बाट पैसा पाउँदा अति खुसी भएको देखिन्छ तर श्रीमान्को अवस्था बुझ्न चासो राखेको छैन । आफन्तको विवाहमा कृति बेचेर खर्च जुटाउन लेखक बाध्य छ । यस कथामा लेखकको लाचारीपन प्रस्तुत भएको छ । 

कथा ३ – प्र्रेमको मृत्यु 

यस कथामा मुख्य पात्रका रूपमा रमा, टाङ्गावाल भैया, राकेश, राकेशकी बहिनी, मास्टर काका अर्थात् अविनाश आँशुतोष, राकेशकी आमा लगायतका पात्रहरू आएका छन् । परिवेशमा मधेस छ । मुख्य पात्र रमा एम.ए. तहको पढाइ सकेर शोधकार्यमा संलग्न भएकी छन् । तराईमा रहेका विद्वान अविनाश आशुतोषको विषयमा उनको शोधकार्य हुन्छ । उनी काठमाडौँबाट बस चढेर मधेशमा पुग्छिन् र त्यहाँबाट टाङ्गाको सहारा लिएर अविनाश आशुतोषको घरमा पुग्छिन् । आशुतोषलाई मास्टर काका समेत भनिने गरेको टाङ्गावालाबाट थाहा पाउँछिन्। अविनाश आशुतोसरको घरमा राकेश पनि भेटिन्छ । वास्तवमा राकेश र रमा सहपाठी र प्रेम जोडी हुन्छन् । अविनाश आशुतोष सरको छोरा भएको उसले रमालाई भनेकै हुँदैन अचानक त्यहाँ रहस्य खुल्छ । राकेशकी बहिनी, आमा, बाबाबाट रमाले एकदमै माया पाउँछिन् । शोधको लक्षित कार्यक्रम सकिएपछि काठमाडौँ फर्किने बेलामा बस चढाउन राकेश रमा सँगै जान्छ । गाडी पाउँदैनन् त्यस दिन । उनीहरू होटलमा बस्छन् । त्यसको भोलिपल्ट प्लेनबाट रमालाई राकेशले काठमाडौँ पठाउँछ । त्यहाँ होटलमा बस्दा उनीहरूले श्रीमान श्रीमतीको भूमिका निभाएका छन् । सम्बन्ध राखेपछि प्रेमको मृत्यु भएको ठान्दछन् । अब हामी अर्कै सम्बन्धमा रह्याँै भन्ने कुरा गर्छन् । रमा एयरपोर्टबाट भित्र छिर्छिन । यसरी त्यहाँ प्रेमी प्रेमिकाको प्रेमको मृत्यु भएको छ र त्यसपश्चात श्रीमान् श्रीमतीको प्रेम पलाउने आशा छ । 

कथा ४ – सम्पादक 

यस कथामा वर्तमानमा बाँचिरहेका नेपाली पत्रिकाको समस्या प्रस्तुत गरिएको छ । विभिन्न ठाउँमा हुने कार्यक्रममा आयोजकहरूले कति न महŒवपूर्ण कार्यक्रम छ भनेर बोलाउँछन् तर जाँदा न कार्यक्रम समयमा हुन्छ न त समयमा सकिन्छ नै । कार्यक्रम आयोजकहरूले सम्पादक तथा पत्रकारहरूको समयको ख्याल गर्न नसकेको कुरा कथामा आएका छन् । पत्रिकामा काम गर्ने पत्रकारहरूले पनि राम्रोसँग काम नगरी सम्पादकै टाउकोमा थोपर्दछन् । उता सम्पादकले पनि लेख, कथा तथा अन्य सृजनाको स्तर निर्धारण गर्दा पक्षपात गर्ने गरेको कुरा कथामा आएको छ जुन कुरो आजको पत्रकारिता क्षेत्रको तितो यथार्थ हो । 

कथा ५ – नचिताएको कुरा  

यस कथामा रामलाल र रमाको परिवार वीरगञ्जबाट काठमाडौँ उपत्यकामा नचाहँदा नचाहँदै बसाई नै सर्न पुगेका छन् । सुरुमा काठमाडौँमा डेराको समस्या उनीहरूको परिवारले भोगेको छ भने पछि उनीहरुले परिस्थितिकै कारण यतै घर बनाउन पुगेका छन् । यतै घर बनाएर बसेपछि संस्कृति तथा परम्परामा पहाडियाहरूसँग फरक परेको छ । विशेषगरी तिहारको लक्ष्मी पूजा मनाउने क्रममा असन्तुलन देखिएको छ । काठमाडौँमा घर बनाएपछिका तीन चार वर्षपछि उनीहरूको संस्कृति र यताको पहाडिया संस्कृतिको सन्तुलन बिन्दु फेला परेको छ । मानिसले नचाहेका कुराको सन्तुलन समेत समयले दिन्छ भन्ने सन्देश पाठकमा पर्न गएको छ । 

कथा ६ – डा. दिलवर दिल

यस कथामा नेपालको मधेशको परिवेशबाट कथानकको आरम्भ भएको छ । नेपालको तराईमा बस्ने मानिसहरूका दुई प्रकारका आवतजावत गन्तव्य प्रस्तुत गरिएको छ । मधेसीहरू उपचार लगायतका काम गर्न भारतीय सहर जाने र पहाडियाहरू काठमाडौँतिर जाने परम्परा रहेको छ । रमाको पति मुटुको रोगी भएको हुन्छ र उपचारको सिलसिलामा पटना पुग्छ । त्यहाँ झुकिएर साहित्यमा पीएचडी गरेको डाक्टरकोमा पुग्छ । केही समय सन्दर्भ नमिलेका वार्तालाप चल्छ । ऊ साँच्चिकै डाक्टर ठानेर त्यहाँ पुगेको हुन्छ डाक्टर दिलवर दिलकोमा । कथाको अन्त्यमा रहस्य उद्घाटन भएपछि साँच्चिकै एमबिबिएस डाक्टरकोमा जान्छ । यसरी यस कथामा डाक्टर शब्दका कारण झुकिएको घटना प्रस्तुत भएको छ । 

कथा ७ – मत्स्यगन्धा 

यस कथामा नयाँ पुस्ताका युवा युवती कसरी भविष्यलाई सुनिश्चित गर्न चाहन्छन् भन्ने कुराको दृष्टान्त छ । पहिले पहिलेका मानिसहरू विवाह गर्न अगाडि चिना हेर्ने गर्थे भने अबका युवायुवती चिना भन्दा पनि निरोगिताको बारेमा वास्तविकता बुझेर मात्र नयाँ जीवन शुरु गर्न चाहन्छन् भन्ने कुरा आएको छ । समय बदलिएको छ भन्ने कुरा र बदलिएको समयले जीवनलाई सुनिश्चित गर्न चाहन्छ भन्ने दृष्टान्त यस कथामा छ । 

कथा ८ – वेदनाको फूल

वेदनाको फूल कथामा वीरगञ्ज आसपासका गाउँमा किशोर अवस्थामा बिहे हुने गरेका सन्दर्भ आएका छन् । बुबाको पालामा वाध्यात्मक रूपमा किशोर अवस्थामा बिहे गर्नुपरेको स्थिति छ भने छोरीको समयमा बाबुआमालाई थाहा नै नदिकन उही किशोर अवस्थामा नै बिहे गरेका घटना आएका छन् । यी दुवै समयमा दुई अवस्थामा नै गरिएको विवाहले परिवारमा वेदना दिएका छन् । तराई क्षेत्रमा प्रशस्त मात्रामा साहित्यिक कार्यक्रम हुने गरेका छन् । विद्यार्थीहरू गणित तथा अङ्ग्रेजीमा कमजोर भएपनि साहित्य सिर्जनामा लागेर सम्मानित भएको स्थिति छ । कथाको शीर्षकले भने बाबु र छोरीको फरक स्थितिमा गरिएको बिहेबाट भएको वेदनालाई प्रस्तुत गरेको छ । मुख्य पात्रको रूपमा कृष्णलाई उद्धृत गरिएको 

छ ।

कथा ९ – पलायन 

यस कथामा शशिकलाको चारजनाको सदस्य भएको परिवारलाई मुख्यरूपमा प्रस्तुत गरिएको छ । दुई छोराहरू र आमाबुबा छन् । जेठो छोराको मागेर विवाह गरेको तर घरबार हुन नसकेर सम्बन्ध विच्छेद हुने अवस्था कथामा आएको छ भने कान्छो छोराले आफैँ अन्तरजातीय प्रेम विवाह गरेको छ । विवाह पश्चात कान्छा छोरा बुहारी विदेश गएका छन् । मागी विवाह गरेको जेठो छोरा बुहारी पढेलेखेका भएपनि दुवैको अहमताको कारण घरबार हुन सकेको छैन । जेठो छोरो पनि सम्बन्ध विच्छेद गरिसकेपछि जीवन निर्वाह गर्न विदेश जाने तयारी गर्छ । यसरी दुइटा छोरा नै आफ्ना आमाबुबा र जन्मस्थानबाट पलायन हुनुपरेको समयको तितो यथार्थ र बाबाआमाको मनको पीडा कथामा अभिव्यक्त भएको छ । शशिकलाको परिवार यसरी पलायन हुने अवस्थामा छ । 

कथा १० – बुबा हजुरबा खोई ?

यस कथामा मुख्य पात्रको रूपमा ईशा रहेकी छ ।  ईशा हरिवन सरलाईमा जन्मेकी केटी हो । ऊ मामाघर काठमाडौँमा बसेर पढ्छे । त्यहाँ मामामाइजु, मावलीको हजुरबुबा, हजुरआमा सहितको परिवार हुन्छ । मावली हजुरबुबा हरेक दिन मोटरसाइकल लिएर उसलाई लिन स्कुल आउँछन् । त्यही स्कुलमा पढ्ने ईशाकी साथी रितिकालाई लिन आफ्नै बुबाको बुबा अर्थात् घरकै हजुरबा आउँछन् । त्यस घटनाबाट ईशालाई आफ्नै बुबाको बुबा हजुरबाको याद आउँछ तर उसले कहिल्यै देखेकै हुँदैन । दशैंमा घर गएर आमाबुबालाई हजुरबुबा आमाको बारेमा सोधपुछ गर्छे । ईशाका हजुरबुबा आमा भएको तर गाउँमा भएको रहस्य खुल्छ । कथामा आमाकै कारण हजुरबा र हजुरआमासँग भेट हुन नसकेको कथ्य स्थिति देखिन्छ । त्यति हुँदाहुँदै पनि ईशाकै कारण दशैंको अवसरमा त्यो परिवारको हजुरबुबा आमासँग मिलन हुन सक्ने अवस्था कथामा आएको छ । 

कथा ११ – भैया 

यस कथामा मुख्य पात्रको रूपमा गोपी, कमल, निशा र रिता रहेका छन् । गोपी र रिता दाजुबहिनी हुन् भने कमल र निशा दाजुबहिनी हुन् । गोपी र रिता तराई मूलका हुन् । कमल र निशा पहाडी मूलका । गोपीले साइकलमा कालिमाटी आसपासमा तरकारी बेच्छ भने कमलले त्यसै क्षेत्रमा चिया बेच्छ । केही बदमास केटाले गोपीको तरकारी पसल साइकलबाट फालेपछि सँगै रहेको चिया पसलबाट आएर कमलले गोपीलाई बचाउँछ । त्यसपछि गोपी र कमलको मित्रता बढ्छ । गोपी, कमलको पहाड घरसम्म पुगेर भाइटिका लगाउँछ । उनीहरूको मित्रता कसिलो हुन्छ । पछि दुवैका बहिनीहरू निशा र रिता पनि आआफ्ना दाजुहरुसँगै काठमाडौँ आउँछन् । एकदिन अचानक मोटरसाइकल दुर्घटनामा परेर निशाको श्रीमान्को मृत्युको खबर लिएर कमल गोपीकोमा पुग्छ । त्यस घटनामा गोपीले कमललाई धेरै मद्दत गर्छ । मृत्युपछि गरिने संस्कार कर्ममा चलन अनुसार माइतबाट मान्छे गएर हेर्न नहुने भनिएकाले त्यहाँ कमलको सट्टा गोपी पुग्छ । गोपी त्यहाँ पुग्दा त्यहाँ भैया भन्दै निशा उसको शरणमा पुग्छिन् र कथा टुङ्गिन्छ । यस घटनामा तराई र मधेश मान्छेलाई दाजुभाइकै रूपमा प्रस्तुत गरिएको छ ।  हिमाल पहाड तराई कोही छैन पराई भन्ने भावना कथामा आएको छ ।

कथा १२ – अनुगूँज 

यस कथामा म पात्रको रूपमा आएको रामलालको परिवारको आन्तरिक वेदना छरपष्ट भएको छ । उसको परिवारमा श्रीमती, दुई छोरा एक बुहारी (कान्छी बुहारी), नाती लगायतको परिवार छ । यो परिवार आपसमा खुलस्त हुन सकेको छैन । श्रीमान श्रीमतीमा पनि वास्तविक प्रेम छैन । कान्छी बुहारीको व्यवहारबाट पनि रामलाल पीडित बनेको छ । तराईको राम्रो घर उनीहरूको भएपनि त्यस घरभित्र पूर्ण सन्तुष्टि छैन । रामलाललाई पहाडी दृश्य मनपर्छ तर त्यसभित्रका समस्या श्रीमतीले उसलाई देखाउने गर्छिन् । कथाको अन्तिममा रामलाल कोरोनाको सिकार भएजस्तो देखिएको छ । यस कथाको सन्देश परिवार आफैंमा मिल्न सकेन भने कुनै न कुनै बेला रोगको सिकार बन्न पुग्छ भन्ने जस्तो देखिएको छ । 

कथा १३ – अन्तरसवाद 

यस कथामा नयाँ पुस्ता र पुराना पुस्ताको बीचमा असमझदारी छ । पुरानो पुस्ताले पुरानो संस्कृतिको बचाउ गर्दै त्यसको निरन्तरता चाहेको छ । नयाँ पुस्ता स्वतन्त्रतासँगै बाँच्न चाहेको छ । तुलाधर र तुलना छोरा बुहारीको पुस्ता हो । उनीहरुले अन्तरजातीय विवाह गरेका छन् । उनीहरू विदेशसमेत बसेर आएका छन् । यस कथामा पुरानो पुस्ताले आफ्नो कर्तव्य पूर्ण रूपमा पालना गरेको देखिन्छ भने नयाँ पुस्ताले स्वतन्त्रता खोजेको तर आफ्नो कर्तव्य पूरा नगरेको देखिन्छ । पाठकलाई हाम्रो समाजको नैतिक धरातल साँच्चिकै खस्कदै गएको हो कि भनेर चस्का पस्ने देखिन्छ । 

कथा १४ – जन्मकुण्डली 

यस कथामा म पात्रको माध्यमबाट कथानकलाई अगाडि बढाइएको छ । उसकी श्रीमतीको नाम रमा छ । श्रीमतीका अगाडि म पात्र कम बोल्ने गर्छ । तराईमा नातासम्बन्धी साइनो छोराको छोरा पोता, छोरी पोती, छोरीको छोरा नाती छोरी नातिनी भनिन्छ । छोराको छोराले हजुबुबाआमालाई दादा दादी र छोरीका छोराछोरीले नाना नानी भन्ने नाता सम्बन्ध छ । यी भए चलन परम्परा तथा संस्कारका कुरा कथामा श्रीमान् श्रीमतीको बाक्लो संवाद भएको छ र कथाको अन्तिमतिर श्रीमान्को जन्मकुण्डली हेरेर श्रीमती जलेर भुतुक्क हुन पुग्छिन् । जन्मकुण्डलीमा श्रीमानका महिला साथी र अन्तरंग सम्बन्धको पाटो खुल्छ र रमाको मनमा रिस र आलस्य भरिन्छ । जन्मकुण्डलीप्रतिको पूर्ण विश्वासका कारण रमाले आफ्नो श्रीमान््लाई आफूबाट टाढा राख्ने प्रयत्न गरेको छ । कर्ममा भन्दा जन्मकुण्डलीमा विश्वास गरेर रमा दुःखी बनेकी छ तर म पात्रले उसलाई सम्झाउन प्रयत्न गरेको देखिन्छ । यसैबीच कथा समाप्त हुन्छ । 

कथा १५ – हिजोआज 

यस कथामा पनि म पात्र आएको छ जसलाई गोपाल नाम पनि दिएको छ । गोपालले आफ्नो स्कुले जीवनका क्षणहरू सम्झन पुगेको छ । गणित शिक्षक, अंग्रेजी शिक्षकसँगका स्मृतिमा आफू पुगेको छ साथै कोरोना कालको अवस्थाको स्मरण समेत गर्न पुगेको छ र कथाको अन्तिममा उसले हिजो आजको अवस्था पनि बताउन पुगेको छ । हिजोआज नातिनातिनासँग रमाउँछ ऊ र यस धर्तीबाट अब कहिले अर्को लोकमा जाने भन्ने अनुमान गर्छ । यस्तैमा कथा समाप्त हुन्छ । 

यसरी कालो गुलाफ कथा सङ्ग्रहमा कथाकार गोपाल अस्कले पन्ध्र वटा कथाहरूको माध्यमबाट तराई मधेसका समस्याहरू, संस्कृतिका कुराहरू, नयाँ पुस्ता तथा पुराना पुस्ताका प्रवृत्तिहरू र बुढ्यौली कालसँग सम्बन्धित अप्ठ्याराहरूलाई आम पाठकहरू समक्ष प्रस्तुत गरेका छन् । कथामा परिवेशको रूपमा वीरगञ्ज आसपासको क्षेत्र, केही काठमाडौँका ठाउँहरू र पटनाका केही स्थानहरू आएका छन् । भाषाशैली सरल प्रकृतिको र सलल बगेको छ तर मधेसीपनको गन्ध कथाहरूमा पाइन्छ । कथाहरू पढिरहँदा पाठको मन मस्तिष्कलाई च्वास्स च्वास्स छोइरहन्छ । 

र अन्त्यमा कथाकार गोपाल अस्कलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दछु र उनको लेखनी अझै तिखारिँदै जाओस् भन्ने कामना गर्दछु । 

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर नगरपालिका वार्ड नं ४ काठमाडौँ 

फोन ९८४९ ७१४८६७ ।


                  





९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...