आमा छन् घरमा बसेर सँगमा स्याहार्छु छोरी भनी ।
पीडा हुन्छ सधैँ म हुन्छु दुःखमा तड्पेर रुन्छिन् उनी ।।
कालो बादल रुन्छ आज नभमा आषाढ डुब्ने गरी ।
आमा धीर धरा तिमी सकलकी सौदामिनी हौ परी।।
प्राणै घातक रोगबीच पनिता लड्थे खुसीले तर
आमाको ममता अपार भवमा रोएर बस्छिन् घर ।
आफू जोखिममा परेर पनिता राख्यौ नि आनन्दमा ।
तिम्रो शोककथा यही भुवनको भन्दै छु मैले यहाँ ।।
पच्चीसै वयमा बनेर विधवा फालिन् जवानी पनि ।
बाँचिन् कष्ट गरी नि रातदिन ती छोरा र छोरी भनी ।।
सोच्छन् ती नरले परी रहरले नारी मरेकै दिन ।
सेतो वस्त्र, कपाल मुण्डन गरी बस्छ्यौ नि आमा किन ? ।।
अर्काको घरमा गरी बनिबुतो सन्तान पाले पनि ।
भन्ने गर्छ समाज त्यो पुरुषको श्रीमान् पिराहा भनी ।।
भाले पास परी गयो नि पहिले अल्पायु नै कालमा ।
पोथीले गुँढमा कुरेर बसिथी बच्चा परे जालमा ।।
फुल्ने यौवनका दुई त अघि नै लग्यो कठै ! कालले ।
बेहोसी पलमै बिते नि तिनको सन्सार यै चालले ।।
घुम्टो बादलको निलो गगनमा खोलेर पूर्वी दिशा ।
हाँस्दैँ छिन् सविता, शशी पनि कतै छोडेर जाँदा निशा।।
नाचे ती वनमा मुनाल, मुनिया हाँस्यो हिमालै पनि ।
हाँसिन् ती अबला खुसी नजरले छोरी छ मेरी भनी ।।
बाँच्दैँ थिन् यसरी अनेक दुःखमा हेरी उसैको मुख ।
रोप्यो तीर अझै नि हाय ! मुटुमा लुट्यो नि तिम्रो सुख ।।
त्यो रानी वनमा सदा विरहमा रोएर बस्छे चरी ।
सन्सारी ममता अनित्य छ भनी सम्झाइ देऊ हरि ।।
कस्तो निष्ठुर नै रहेछ निय यो काखै उजाडी दियो ।
सम्झाऊँ कसरी म आज जननी प्रारब्ध यस्तै थियो ।।
ब्रह्माको जुन शक्तिले भुवन यो मान्छे बनायो अनि ।
सम्झाऊ मनुले उही छ जगमा लैजान खोज्ने पनि ।।
मेरो प्राणपखेरु उड्नु अघि नै लैजान्छु आमा घर ।
बाँचेकी छ भनी खुसी भरिदिनू मर्छे नभन्नू तर ।।
स्वेच्छा मृत्यु मिलोस् नि कानुन बनोस् हाँसू म जाने दिन ।
गोर्खाली जनकी म सन्तति भए रोएर मर्ने किन ।।
बाँचोस् देश अनन्त काल जगमा वैरी परास्तै गरी ।
फुल्दैँ फूल अनेक बर्ण, थर, भाषा, धर्म, शैली थरी ।।
मेरो चन्द्र र सूर्य अङ्कित ध्वजा गर्दै रहोस् फर्रर ।
अर्को जन्म कतै त मिल्दछ भने नेपाल नै होस् घर ।।
तिम्रो काख मिलोस् यही सकलमा फर्कन्छु फर्कन्छु म ।
हाम्रो भेट अवश्य हुन्छ जननी पर्खन्छु पर्खन्छु म ।।
विजया बस्नेत ।