मण्डन यात्रा प्रारम्भ
यात्राको सुचना प्रवाह गुरुले सञ्जालमा गर्दिए
आगामी पथको वृतान्त प्रतिमा छर्लङ्ग नैँ पार्दिए
सारा यात्रुहरू पढेर सुचना चम्के तयारी तिर
यात्री लेखकको गयो दिल सिधै मण्डन् दगुर्ने तिर।
जाडोको महिना थियो नगरमा बर्को थियो हुस्सुको
तारा अस्त थिए थिएन नभमा लाली कतै सूर्यको
आफ्नो नित्य कला सकेर म हिडेँ झोला भिरी काँधमा
तोकेको पलमा पुगौँ म कसरी भन्ने लिई चाहना ।
बाईपास भरी थियो कृषकको ताँती बिहानी पख
बेच्थे साग मकै मुला र धनियाँ आनन्द मानी कन
हेर्दै पावन दृश्यमा नजरले गोडा छिटो लम्किए
भेटेको बसमा चढेँ सिट मिल्यो आँखा दुबै चम्किए ।
समयको धरोहरले सधैं नयाँ अध्याय लेखिरहेछ। बिहान ६:४५ बजे चाबहिलबाट सुरु भएको हाम्रो यात्रा राजधानीको कोलाहलभन्दा टाढा, प्रकृतिको सुस्केरा सुन्ने चाहनाको अभिव्यक्ति थियो— एउटा सुन्दर र स्मरणीय मण्डन यात्रा।
शहरी आपाधापी पछि हरियालीको आश्वादन :
७:५० तिर ठिमी पार गर्दै गर्दा, सूर्यका कोमल किरणहरू हाम्रा आँखामा झुल्किरहेका थिए। राजधानीको धुलो र चापछाप छोडेर हामी विस्तारै जीवनको अर्को रूपतिर बढ्दै थियौं।
सूर्यविनायकदेखि केराघारीसम्मको बाटो निर्माणाधीन थियो, जसले यात्रामा केही अवरोध त ल्यायो तर उत्साह घटेन।
तीनपिप्ले नजिकै उर्वर भूमि पाँचखाल देखा पर्न थाल्यो— कहिल्यै हरियालीले ढाकिएको त्यो फाँट, अहिले सिमेन्टको जंगलमा परिणत हुँदैछ।
आलु, मकै, तरकारीको गन्ध हराउँदै गइरहेको देख्दा मनमा गहिरो प्रश्न उब्जियो— के विकासले कृषिलाई विस्थापित गर्दैछ?
मिठास बोकेको पाँचखाल र जंगल रिसोर्टहरूको छायाँ :
९:४० तिर हामी पाँचखाल पुग्यौं। स्थानीय प्रसिद्ध मिष्ठान्न पसलहरू— श्रीकृष्ण स्वीट र माँ दुर्गा स्वीट बाट निस्किएको मिठाइको सुवासले वातावरण सजीव बनायो।
घना हुस्सुले दृश्य ओझेलमा पारेको थियो, तर मिठासको अनुभूति गहिरो थियो।
जंगल अतिक्रमण गरेर उभिएका रिसोर्टहरू देख्दा संरक्षण र व्यापारबीचको द्वन्द्व मनभित्र बज्न थाल्यो।
चाकुखोला र रानीटार: इतिहास, कथा र वर्तमान:
जिरो किलो पार गरेर हामी चाकुखोला सिमानातिर झर्यौं।
त्यहाँको एउटा मन्दिर र स्कुल सँगै स्थानीयहरूको आत्मीयता देखिन्थ्यो।
चाकुखोलाको नामाकरण सुन्दै गर्दा कथाको रस पाइयो—
सख्खर उत्पादनको प्रशस्तता र चाकु बनाउँदा खोलामा मिसिने मिठो रसका कारण यसलाई “चाकुखोला” भनिएको रहेछ।
त्यहाँको माटो, नाम र मानिस—सबैमा मिठास मिसिएको महसुस भयो।
रानीटारको फाँटमा पुग्दा आलुका बोटहरू उम्रँदै गरेका देखिए।
तर, सँगसँगै खेतीको जगमा उभिएका घरहरूले विकास र प्रकृतिको दोधार झल्काइरहेथ्यो।
कुन्ता बेसीमा माछा पोखरीले स्वागत गर्यो।
स्थानीय सरकारसँगको साक्षात्कार:
१०:०० बजे हामी मण्डन देउपुर नगरपालिकाको आकर्षक भवनमा पुग्यौं।
नगर प्रमुख टोकबहादुर वाइवा र उपप्रमुख विष्णुमणि नेपालद्वारा हार्दिक स्वागत भयो।
भव्य सभा हल, २०० सिट क्षमता, सुशोभित संरचना—सबैले स्थानीय सरकारको प्रतिबद्धता देखायो।
१०:४३ मा सुरु भएको कार्यक्रम भावनात्मक र सौम्य थियो।
वडा अध्यक्ष, मेयर, उपमेयर लगायतका वक्ताहरूले आफ्ना मन्तव्य दिए।
लोकेन्द्र विष्ट, पुरुषोत्तम नेपाल, शीतल गिरि, गङ्गा भेटवाल, बालचन्द्र मिश्र लगायतले मन्तव्य दिएका थिए।
उद्घोषक शालिकराम श्रेष्ठको प्रस्तुतिमा तीजको “मालिक्नी माइत जानु भो” गीतले सभालाई रमाइलो बनायो।
पुस्तक विमोचन, कविता वाचन, र स्थानीय साहित्यिक धारामा नयाँ ऊर्जा भरिएको महसुस भयो।
शार्दूलविक्रीडित छन्दमा रचित दिनेश नेपालको “हाम्रो मण्डन, राम्रो मण्डन” कविता स्मरणीय रह्यो।
विद्यालय, हरियाली र गीतको प्रतिध्वनि:
२:५६ मा हामी आँपघारीस्थित श्री बिन्दवासिनी मा.वि. पुग्यौं।
चापको बो र सालको वनले ढाकिएको त्यो स्थान शान्त र रमणीय लाग्यो।
तर, वन खोतलेर बनाइएको भवन, ३ बजे नै अस्ताएको घाम— विद्यालयको अवस्थाप्रति केही चिन्ता पनि जगायो।
विद्यालयमा "अन्धकार नासिनी जय जय बिन्दवासिनी" गीतको सस्वर गायनले हृदय छोयो।
शारदा पराजुलीको सञ्चालन, प्राचार्य पुष्पराज अवस्थी र बिमल अर्यालका मन्तव्य,
र कविता वाचनहरूले वातावरण भावुक बनायो—
शीतल गिरि, परशुराम पराशर, निशा केसी, खोलाघरे साहिला, दिनेश नेपालजस्ता स्रष्टाहरूको प्रस्तुति उल्लेखनीय थियो।
इन्द्रावतीको संगीत र माझी गाउँको रमझम:
३:४० मा हामी जोगिटार फाँटमा पुग्यौं— तोरी फुलेको खेत, मकैको सुत्ला चेपिएको दृश्य र एउटा आँपको चौतारो।
४:३० तिर इन्द्रावती नदी किनारको माझी गाउँमा पुग्यौं।
नदीको कलकल, हावाको सरसर, र चापको रुखमुनिको चौतारी—
शान्ति, अनुभूति र स्मृतिको एकैचोटि संगम।
सोवित माझी र लालगेडीसँग जोडिएको चौतारीको कथा मन छुने थियो।
गाई र बंगुर एउटै गोठमा पालिएको देख्दा धार्मिक समभावको अनुपम उदाहरण देखियो।
नदी बगरमा साहित्यिक कार्यक्रम भयो—
विजया बस्नेत, बालचन्द्र मिश्र, राजन पुडासैनी, शम्भु गजुरेल, नवराज रिजाल, प्रभा बराल लगायतका कविहरूले प्रकृति र समाजका संवेदनशील पक्षलाई कविता मार्फत उजागर गरे।
भजन , भक्ति र काव्य :
ज्वाँनेटारको बसाइँ अत्यन्त सम्मानित र भावविभोर बनाउने खालको थियो । भोजन पश्चात्
७:३० बजे हामी भजन गृहमा पुग्यौं। शोकाकुल सामाजिक वातावरण भएपनि स्रष्टा पदयात्रीको स्वागतार्थ भजन गृह खोलिएको थियो ।
हरिबोल काफ्ले, पण्डित मुकुन्द नेपाल, एन्जेल निलुजीलगायतको भजन प्रस्तुति सुन्दर थियो।
एन्जेल निलुको मैथिली भजन विशिष्ट लाग्यो।
शम्भु गजुरेलको कविता वाचन र उपमेयरको भावनात्मक मन्तव्यले दिनभरको थकान भुलाइदियो।
चन्डेनीको बाटोमा— ऐतिहासिक चौतारी र स्मृति:
७:२१ मा ज्वाँनेटारबाट चन्डेनीतर्फ लाग्यौं।
बेशीको समथर टारमा पुराना मन्दिर, सामुदायिक भवनहरू हेर्दै अगाडि बढ्यौं।
सुरेन्द्र नेपाल र चण्डिका नेपालले स्थानीय इतिहास सुनाउँदै लगे।
ठूलोवन सामुदायिक वन, नर्दम पोखरी, जितौरी पोखरी—नाममा र कथनमा रहेपनि गौरव पूर्ण अस्तित्व जगाउने प्रयत्नमा अग्रसर देख्दा आनन्द आयो।
कहिँ सुक्दै गएका जलस्रोत, कहिँ हराउँदै गएका चौतारी मन खिन्न पनि भयो ।
श्री चौरको गणेशथान र पुराना वासस्थानले इतिहासको जरा देखाए।
देवी प्रतिभाको नाम र योगदान पनि सुन्न पाइयो।
अन्तिम स्पर्श: उमा शिक्षालय र साहित्यिक निष्कर्ष:
१२:११ बजे श्री उमा सहशिक्षालयमा अन्तिम कार्यक्रम सम्पन्न भयो।
खाना पछि रचना वाचन कार्यक्रम भयो—
रामकुमार पण्डित, खोलाघरे साहिला, कृष्ण सुवेदी निराकार, विष्णु शर्मा पराजुली, पुष्पराम सापकोटा, डिल्लीराज नेपाल, चण्डिका नेपाल, राजन पुडासैनी, नानीबाबा अधिकारी, सुमन पुडासैनी, शोभा पोख्रेल, दुर्गा भवानी भट्ट, गङ्गा भेटवाल, शम्भु गजुरेल लगायतले प्रस्तुति दिनुभयो।
शालिग्राम श्रेष्ठको संयोजन, शारदा पराजुलीको मन्तव्य, विद्यार्थीहरूको उत्साह—
सबैले मण्डन देउपुरको साहित्यिक जागरणको स्पष्ट संकेत गरे।
यात्रा सकियो, अनुभूति बाँकी नै छ...
२:२२ बजे हामी थानडाँडा हुँदै सुलीकोटतर्फ लाग्यौं।
यात्रा सकियो, तर मन अझै मण्डनका हरिया फाँटमा भिजिरहेको थियो।
हिमालको टाकुरी, इन्द्रावतीको संगीत, चौतारीका कविता, माझी गाउँका कथा,
र साहित्यप्रति समर्पित अनुहारहरू— यी सबै अमिट सम्झनामा रहिरहनेछन्।
समाप्ति भाव:
"मण्डन देउपुर, तिमी केवल एक गन्तव्य होइनौ,
तिमी स्मृति, सौन्दर्य र सम्भावनाको सजीव संगालो हौ।"
जीवनको परिबन्दले डो¥याएका यात्राका क्रममा शीताङ्क तलको तापयुक्त हिमाली पठारमा मुखको तातो बाफले हात सेकाउने प्रयत्न गर्दाको चञ्चलता, हिउँ पग्लेर हिमालको खोकिलामा जमेका मनोहर तालमा वृक्ष विहीन पर्वतमालामा लटरम्म फुलेका बहुरङ्गी फूलको प्रतिछायाले उकासेका स्वर्गीय बगैँचाको काल्पनिक बिम्बको प्रतिरूप हेर्दा बटुलेको मनोरम अनुभूति हृदयले समेटेको छ । अनकण्टार कन्दरामा तप्किँदो भिरमौरीको मह अनि डाँफेको नृत्यको तालमा ताल मिलाउँदै टाकुराबाट फेदको दहमा फाल हाल्ने झरना सोही झरनाको शीतल हावामा लोलाउँदै झुलेका लालिगुराँस आँखाभरि अटेसमटेस छन् । पहिले उर्लिंदै कहिले कुर्लिंदै कहिले सुसाउँदै अनि फाँटमा सुस्ताउँदै हिमालको खबर बोकेर सागर भेट्न आतुर जलधाराको अविरल प्रवाहले धमनी र कोषिकामा समभावना जागृत गराइरहेको छ । चारकोसेको घना जङ्गल भित्रका सतिसाल, तराईका गरामा झप्किएका धानका बाला, बारीभरि महकिएका तोरीका फूल, गृष्मको गर्मी र हिउदको शीतलहर मस्तिष्कको मैदानमा विचरण गरिरहेका हुन्छन् हरबखत । दैनन्दिनीमा चुर्लुम्म डुबेर हराएको बेला सुषुप्त भएर बस्ने दिलभित्रको घुमन्ते किरो अकस्मात जाज्वल्यमान भएर जुर्मुराउछ जब भ्रमणको सुइँको आउँछ । यात्राको चाहनालाई सहजीकरण गराउन विविध माध्यम वा भनौँ कुनै कारणले भूमिका निर्वाह गर्नेगर्छ । विगतका अनगिन्ती पटकका यात्रा जात्रा, तीर्थ, निमन्त्रणा, जन्ती, जागिर वा राजनीतिको अनौ समातेर आकाशमा हलो जोत्ने क्रममा भए पनि पछिल्लो समयमा “स्रष्टा पदयात्रा नेपाल” का संयोजक शीतल गिरी र कवि खोलाघरे साहिँलोज्यूले पदयात्राको गोरेटो निर्माण गरेर देश दर्शन गराउनुभएको छ । अब कता भन्ने अन्यौल छैन, स्थान छनोट र यात्रा सहजीकरणले चाहनालाई पखेटा हालेर सगर विचरण गर्ने तिर्खा मेटाउनुभएको छ ।
आज २०८१ साल असोज महिनाको ५ गते शनिबार नयाँ समय नयाँ गन्तव्य ! स्रष्टा पदयात्रा नेपालको ८६ औँ यात्राको पूर्व निर्धारित समय र पूर्व घोषित स्थान । यात्राको दिनको बिहान अन्य दिनभन्दा अलि चाँडै सुरु हुनेगर्छ प्रायः मेरो हकमा । निर्धारित समयभन्दा विलम्ब नहोस् भन्ने अभिप्रायले यात्रा प्रारम्भ खातिर तोकिएको स्थानतर्फ लम्कियो मेरो शरीर । मनमा अनेक भाव ज्वार बनेर उर्लिन्थे अनि भाटा बनेर लत्रन्थे, काठमाडौँ जिल्लाको एक भाग जहाँ म पहिलोपटक जाँदै थिएँ कस्तो होला त्यहाँ ! काठमाडौँ अर्थात् नेपालको मुटु अनि त्यो मुटुको एउटा भल्भ दक्षिणकाली नगरपालिका । दक्षिणकाली देवीको दर्शन गर्न उर्लिने जनसागरका नजरले नियाल्न नसकेको होला त छैमले ? धार्मिक आस्थाको खातिर चौध लोक भ्रमण गर्न तत्पर हुने नेपालीका अक्षताले भेउ पाएका छैनन् त चौकोटदेवीको पाउमा बर्सिन ! किंवदन्ती अनुसार उपत्यका रक्षा खातिर टाकुराबाट नियालेर बसेका तीन देवीमध्ये जेठी फुल्चोकी माइली चौकोटदेवी र कान्छी चम्पादेवी भन्ने श्रुति छ तर चौकोटदेवीको चर्चा कम सुनिन्छ । कौतुहलताको कुण्डमा बाकटे हान्दै बल्खु पुग्दा भर्खर ७ बजेको रहेछ । तोकिएको समयभन्दा आधा घण्टा चाँडै ! हुन त उपत्यकाका सार्वजनिक सवारी साधनको समय र भाडादर अनि सवारीसाधन कर्मचारीको सम्बोधन अनिश्चित हुन्छ त्यसैले पनि होला यात्रा टोलीका सदस्य आउन केही विलम्ब भयो । प्रतीक्षाको छोटो टहलाइपछि भक्तपुरको बोडेलाई प्रारम्भ बिन्दु बनाएर आफ्नो गति बढाएको बस आयो अनि हामी सवार भयौँ सोही साधनमा । शब्दका महारथिले खचाखच भरिएको बसले देशको सर्वोच्च शिक्षा संस्थानलाई दाहिने पारेर आफ्नो थुतुनो दक्षिणतर्फ पारेर अघि बढ्यो । हरियालीले भरिपूर्ण सुन्दर कीर्तिपुर नगरपालिकाको जलविनायक, मञ्जुश्री पार्क, टौदहको मधुर पवनको झोकासँग मुलायम स्पर्श गर्दै दक्षिणकाली नगरपालिका प्रवेश ग¥यो हाम्रो यात्रा समूहले ।
थुम्का थुम्कामा बसेका बुद्ध विश्रामस्थल, खोँच, गल्छी, कन्दरामा बसेका अनेकौँ देवीदेवताले यात्रालाई पवित्र र सुरक्षित बनएको अनुभुति गराउँछ । प्रसिद्ध शेषनारायण मन्दिर यात्रा मार्गमा छ । पूर्वतर्फ लमतन्न परेको पहाडको काखबाट दक्षिणकाली ताकेर लम्किएको बाटोबाट बागमती पारीको खोकना, बुङ्मती नियाल्दै मनमा आनन्दको बुकी फुलाउँदै जाँदा लाग्छ स्वर्ग अन्त छैन । बिस्तारै उपत्यकाको घना र कोलाहलमय वातावरणले बिदाइ स्वरूप आफ्नो जडवत मुहार लुकाउँदै जान्छ, देउराली र भन्ज्याङले स्वागतको मुस्कान छर्छन् आगन्तुकलाई । मनमा दक्षिणकालीको चरण स्पर्शको अभिलाषा लिएर हुइँकिने हजारौँ धार्मिक शरीरले शीघ्र दर्शनको चाहनामा रमणीय धराको अवयवलाई आफूभित्र समेट्न छुटाउँछन्, यहाँका प्रत्येक कणमा दैवीय शक्तिको निवास पाउन सकिन्छ । आँखाभरि नीलगगनको स्वच्छता, कञ्चन पानीको झरना अनि पखेराभरि लर्किएका नास्पाती र हलुवावेद निहार्दै कति बेला माताको मन्दिर आइपुग्यो पत्तै भएन । गाडी आफ्नै गतिमा थियो तल गहिरोबाट घण्टका ध्वनि र भक्तका आलापले माताको निवासतर्फ शिर झुकाउन लगायो । हुन त नास्तिकको चकटी बोकेर वैज्ञानिकवादको गौवा थाप्ने विद्वान्देखि अरुणोदयमा नै मदमा मातेका सबैखाले मनुवाले देवस्थल सामु पुग्दा आफ्नो शिर झुकाउँछन् । जन्मजात संस्कार भनौँ वा सुसंस्कृत परिपाटीको जगेर्ना बहुसङ्ख्यक नेपाली धार्मिक आस्थाबाट चाहेर पनि भाग्न सक्दैनन् ।
हाम्रो यात्राको प्रमुख गन्तव्य चौकोटदेवीको निवासस्थानको चुली भएकाले हामीले सवारी साधनबाट नै दक्षिणकाली मातालाई आफ्नो दिलको समर्पण टक््रयाएर अगाडि बढ्यौँ । गाडीले ६ किलोमिटरको आफ्नो यात्रा आफ्नै वेगमा पार ग¥यो र राम्चे चोकमा पुगेर ब्रेक लगायो । चौकोट चुलीको यात्राको आधार मान्न सकिन्छ राम्चेलाई ।
उपत्यकालाई ढाड देखाउँदै तराई भेट्न दक्षिणतर्फ चिप्लिँदै गरेको सडक कुलेखानीतर्फ लागे पनि राम्चे चोकका पुराना र नयाँ घरहरूले आफूमा समेटेर राखेको विविध परिकारले स्वागत गरिरहेका छन् । पूर्वतर्फको लाम्चो गाउँको डिलतर्फबाट बागमतीको अविरल धारा नियाल्न सकिन्छ । राम्चेको चोकमा बसबाट ओर्लिएका शब्दका कुमालेहरू नयाँ माटोको खोजीमा चारैतिर नजर दौडाउन थाले । मेरा नजरले पहिलोपटक नियाल्दै थियो दक्षिणकालीको शिरभाग । दक्षिणकाली निकट बाटाका डिलमा खुवा बेच्न लामबद्व कृषकहरूको आधार इलाकामा पर्ने छैमले, राम्चे पुग्दा र डुल्दा आनन्दले पुलकित हुन्छ अन्तर्मन । नेपालमा शासकीय स्वरूप परिवर्तनका क्रममा भएका विभिन्न क्रान्तिका ज्वारभाटाले देशका अति दुर्गम स्थानमा आफ्नो दब्दबा बनाए तापनि नेपाल खाल्डोमा आन्दोलन उच्च वर्गको पासा त्रिपासा र कोत, आँगनमा मात्ने र ढल्ने गरेको पाइन्छ तर इतिहासको एउटा कालखण्डमा अर्थात् २१ औँ शताब्दीको मध्य भागमा चलेको रक्तक्रान्तिको चढावको समयमा पढने विद्यार्थी, शिक्षक तथा अभिभावकसमेतलाई ढाल बनाउन सफल भएको थियो त्यो बेलाको आन्दोलनकारी नेतृत्व यो छैमलेबाट । इतिहासको एउटा अमिट पाना बोकेर मुस्कुराउँदै छ, दिलका दिवारमा दरार बनाएर बसेका खतहरूमा विकासको नयाँ लिउनले सिँगार्दै छ । ताजा दुधबाट बनेको चियाको चुस्की लगाएर पश्चिमतर्फको केही उकालो बाटोमा यात्राका टोली लम्किन्छन् । भिन्न भिन्न आकृति बनाएर तस्बिरमा आफ्नो बिम्ब उतार्ने क्रम सबैभन्दा बढी हुन्छ हरेक यात्रामा यहाँ पनि यात्रादलको यो कार्य चलिरहन्छ । असोजको महिना भए पनि बारीमा मकैका हरिया बोट ती बोटमा झप्किएका कात्तिके बोडीका झुप्पा अनि बाटातर्फ नागले फणा निकालेझैँ मुन्टा निकालेका फर्सीका लहरा आहा मनोरम । बेला घर्केर होला आफ्ना लच्केका हाँगाका फल रित्याएर माथि नै फर्किएका छन् नास्पातीका हात जस्तै डालीहरू । बोट मात्रै देख्दा मुख रसाउने प्रजाती हो लब्सी त्यसमा पनि लटरम्म फलेको बग्रेल्ती झरेको आहा भुरालाई पापा जस्तै भयो । टोलीका आँखा पुगे जमिनतर्फ अनि सम्झना आयो हिमाली भेगमा यार्सा खोज्ने बथानको । हुन पनि उस्तै त हो त्यो यार्सा हिउँखारमा हुर्कियो यो लब्सी छैमलेमा । लौका, फर्सी, कुभिन्डो अनि काँक्रोले भरिभराउ बारीका पाटामा बजार लैजान तरकारी टिप्दै गरेका खेतीहारलाई सामान्य अनुरोध गर्दै उकालियो हाम्रो पीत वर्णीय जमात ।
यात्रामा स्थानीय संयोजनकर्ता हुने गर्छन् प्राय यात्रामा तर यो पटक केही अन्यौल रह्यो हाम्रो समूह गन्तव्यलाई ढाड देखाएर चुली पुग्न ओरालो लाग्यो । केही युवाले ढिपी गरेको बाटोलाई बाटो नठानेका पाकाहरू तल पुगेर सोही उकालो पुनः चढेर चिहान डाँडा उक्लिए । चिहान डाँडा जहाँ तामाङ समुदायको अन्त्येष्टि कार्य गरिन्छ हो त्यो डाँडाको हरियो चौरबाट चोभारतर्फ नियाल्दै र चन्द्रागिरि र क्षितिजको मिलन हेर्दै पानीले गला भिजाएपछि प्रथम चरणको कवितावाचनले वन गुञ्जियो । एन्जेल निलुको लघुकथा, परशुराम पराशर, शोभा पोख्रेल, प्रभा बराल, शीतल गिरी, गीता रेग्मी आदिले आआफ्नो सिर्जनाले पहिलो मङ्गलाचरण गरेको कार्यक्रमले केही लचकता पायो र दोस्रो चरणको काव्यपाठ भयो । दोस्रो काव्यपाठ सत्रमा विमल अर्याल, सुष्मा आचार्य, राजन पुडासैनी, हरिबोल काफ्ले, डा. बालचन्द्र मिश्र, घनश्याम प्रसाईंज्यूको रचना सुन्ने अवसर मिल्यो ! डा. बालचन्द्र मिश्रज्यू र अप्सरा ढकालज्यूको ठाडो लोक गीत दोहोरी मनोरम भयो । न उकालो न तेर्सो तेर्पिउँ तेर्पिउँ यात्राको केही समय खपत पश्चात् लमतन्ने भएर सुतेको हरियो चौरमा पुग्यो यात्राको समूह । हिमालको काखमा बसेको पाटन जस्तै हरियाली सजाएर बसेको प्रतिमान चौरमा चर्दै गरेका गाई र बाख्राले चौरी र च्याङ्ग्राको झल्को दिन्थे । उपत्यकाको पल्लो डिल अर्थात् महाभारत पर्वतमालाको टाकुरोमा हिमालय र इन्द्र सरोवरको मन्द हावा चुस्दै र ओकल्दै रमाएको प्रतिमान चौरमा पुग्दा लाग्यो स्वर्गको एक टुक्रा झरेर आएछ । तस्बिर खिच्ने तछाडमछाड चल्यो, जोडी र घनिष्ठताको वर्गीकरण अनुरूप फोटो खिच्ने क्रम चल्छ यात्रामा ! म भने समूहमा भएर पनि एक्लै थिएँ वा एक्लै भएर पनि भिडमा थिएँ बुझ्न कठिन थियो तर पछि बुझियो प्राय तस्बिरले मलाई रुचाएनछ । माथिल्लो गन्तव्यमा पुग्नु अगावै शरीरले दानाको चाहना गरेको हुँदा खाना खाने योजना बन्यो, खुला चौरमा यात्रीका पीठ्युँ ओर्लिए पोका उघ्रिए अनि झुल्किए अनेकौँ व्यञ्जन ! हाम्रो यात्राको क्रममा प्रायः शारदा पराजुलीजी लगायत मातृशक्ति डाडुपन्यु समातेर आमाको भूमिका निर्वहन गर्नुहुन्छ, आज पनि सोह्रश्राद्धको हविष्य भए पनि उहाले हाम्रो भतेरको व्यवस्थापन गर्नुभयो ।
चिउरा, दही, पनिर, पकौडा, आलु, साग, हलुवा, रोटी लगायत व्यञ्जन यात्रापूर्व नै निर्धारित सूचनाअनुसार ल्याइएको हुन्छ अनि झोलामा खाना खाने थाल पनि । एक घण्टा प्रतिमान चौरमा मनलाई लमतन्न पारेर रमाएपछि लागियो मुख्य गन्तव्यतर्फ अर्थात् चौकोटदेवी मन्दिर तर्फ । उचाइको हिसाबले चन्द्रागिरि सँग आँखा जुधाउन सक्ने चौकोटदेवीको निवास स्थानमा माइला तामाङ पुजारी रहेछन् ! घाँसैघाँस ढाकिएको गढी उक्लन लाग्दा बाटोमा लमतन्न परेर झम्टिन तयार बाघको आकृतिको शिलाले नजर खिच्यो आफूतर्फ । किंवदन्तीअनुसार रामले विलाप गर्दै अरण्य विहार गर्दा बाघ बाटोमा आएको र वाण प्रहार गर्दा त्यही ढलेर शिला स्वरूप धारण गरेको भन्ने भनाइ चल्दै आएको रहेछ । नजिकै बस्ती नभएको र वनले सजाएको चौकोटदेवीको प्राचीनतामा सिमेन्ट र कङ्क्रिटको प्रवेश कदाचित उचित होइन तर यहाँ पनि डोकोमा बोकेको गिट्टी र बालुवाको खम्बा बनेको रहेछ अनि मनमा लाग्यो के त्यो पुरानो गढीको अब अन्त्य हुने नै हो त ? पाथीभरा मन्दिर तीर्थालु जान्छन्, गोसाइँकुण्ड जान्छन् के त्यहाँ सिमेन्टको भवन खोज्न गएका होलान् त कदापि होइन तसर्थ हाम्रो प्राचीन धरोहरलाई जस्ताको तस्तै सँगालेर भावी पुस्तालाई हस्तान्तरण गर्नु दायित्व हो जस्तो लाग्छ । त्यो चुलीमा देवीको पूजा गरेर चारैतिर परिक्रमा गर्दा पूर्वको भट्टेडाँडा र फुल्चोकी, पश्चिमको चन्द्रागिरि उत्तरको शिवपुरी दक्षिणको इन्द्रसरोवर र सिमभन्ज्याङ एक आपसमा वार्तालापमा मग्न छन्झैँ लाग्छ । हुमाने भन्ज्याङबाट ठोरी भेट्न चिप्लिएको कालो मार्गमा सुलुलुलु बग्दै गरेका बाहन हरबखत चौकोटदेवीलाई पाउमा दण्डवत गरेर हिँड्छन् । उता पूर्वको बँेसीबाट पशुपति र शालीनदी, विष्णुमती र मनहराको स्पर्श बोकेर आएकी बागमती नदी गङ्गा मिलनको अभिलाषा लिएर कलकलाइरहेकी छिन् । मन्दिरको पर्खालमा बसेर चित्लाङको मनोरम जैतुन बगैँचा अनि टिस्टुङको उच्च टाकुरो, दक्षिणकालीबाट आकाशतर्फ यात्रा गर्दै गरेका शङ्ख र घण्टका कर्णप्रिय आवाज साँच्चै मनोहर छ चौकोटदेवी गढी । पुजारी बाको स्मृतिका पानाबाट ऐतिहासिकताको सत्तल नियाल्ने प्रयत्न भयो र लाग्यो यो स्थान ओझेलमा परेको वा पारिएको ? कारण जे पनि हुन सक्छ तर अबको समयमा धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको चौकोटदेवी थुम्कोलाई उचित रूपमा प्रचारप्रसार मात्रै गरे पनि चाँडै नै यो स्थानको महिमाको बखान हुनेछ भन्ने अनुभव सबैले ग¥यौँ । पूजा, अर्चना, ध्यान, फोटोग्राफी सबै सकेपछि काव्य वाचनको अर्को नयाँ सत्र आरम्भ भयो ।
भिन्न भिन्न स्रष्टाले सञ्चालन गरेको कार्यक्रममा सहभागी स्रष्टाहरू खोलाघरे साहिलो, डिल्लीरमण सुवेदी, रामकुमार पण्डित, दीपक भेट्वाल, विष्णुप्रसाद शर्मा पराजुली, गङ्गाप्रसाद भेटवाल, दीपक लोहनी, रुबी सत्याल, अप्सरा ढकाल, जयबहादुर घिमिरे, विजया बस्नेत, वसन्त रिजाल, प्रतीक घिमिरे, नानीबाबा अधिकारी, दुर्गा भवानी भट्ट, शम्भु गजुरेल, नवराज रिजाल, विनोद नेपाल, वीना नेमकुल, शान्ता देवकोटा आदिले रचना पाठ गर्नुभयो । लामो समयदेखि नितान्त एक्लो जिन्दगी व्यतीत गर्दै आउनुभएका पुजारीलाई साथमा भएको केही फलफूल र यात्राको तर्फबाट मायाको उपहार अर्पण गरेर अप्ठ्यारो कान्लो ओर्लिंदै गर्दा मलाई एउटा यात्राको स्मरण भयो । लगभग १५ वर्ष अघि हरिद्वार र ऋषिकेश यात्रा गर्ने अवसर पाएको थिएँ मैले, हरिद्वारको धार्मिक पर्यटन र सरकारको समर्पणले मनमा पलाएका कौतुहलताको मुनाहरूमा त्यति बेला पालुवा पलायो जब म मन्सादेवी र चण्डादेवी दर्शन गर्न गएँ । शहरको एक किनारामा बसेका थुम्का जहाँ पुग्न पैदल यात्रा पनि खासै कठिन नहोला तर पनि स्थानीय भाषामा उडन खटोला भनेर सम्बोधन गरिने बिजुलीकार अर्थात् केबुलकारको जडान र मान्छेको भिड अनि मालाटाला र आस्थाको पसलमा बर्सिएको अलङ्कारको अविरल झरना जहाँ व्यापारको र धर्मको बेजोड सङ्गम थियो त्यहाँ । चौकोटदेवी जहाँ आधारभूत संरचना निर्माण गरेर यात्रु निवासको निर्माण, यात्राको लागि केबुलकार गरेर प्रचार गर्न सकेमा आम्दानीको हिमनदी बन्ने पक्का छ ।
अनि मनको अर्को पक्लेटोमा फेरि पनि अर्को कुरा खेल्न थाल्यो ! चन्द्रागिरिले चौकोटदेवीको थुम्कोलाई गिज्याउँदै त छैन ? पवित्रता, उच्चता र हरप्रकारले एक इन्च पछाडि नरहेको यो स्थानमा पूर्वाधार निर्माणको अनिकाल परेर छिमेकी थुम्काले गिज्याउने अवस्था किन आयो ? यो केवल धार्मिक दृष्टिकोणबाट मात्रै होइन कृषि उपज, वन पैदावर, कालिज, तित्रो, लगायतका चरा जाति, खरायो, बराह, दुम्सी जस्ता वन्यजन्तु नियाल्नको लागि आरक्ष, वनभोजको लागि अत्यन्त उत्तम गन्तव्य, मित्रताको प्रस्फुटन गर्ने कैलाश जस्तै पवित्र धाम ! कोरिएको रातो सडकलाई कालो बनाएर केही तल विश्राम र आराम अनि भोजनादिको सुनिश्चित केन्द्र बनाउन सकेमा अवश्य पनि चौकोटको मुहार हँसिलो हुने थियो ।
शिखर यात्रापछि ओरालो झरेका यात्रीगण रमणीय जङ्गल नियाल्दै शब्दका बान्कीहरूमा चौकोट यात्रालाई सजाउन उडालुको सिम्किनोदेखि दमकन्देको छेस्को अनि बाँझको बुटोदेखि चुत्रोको झ्याङको पात र काण्ड खोज्दै र टाँस्दै थिए कागजका पानामा । गोठालाका गफमा लट्ठिएका पाका यात्री पाश्र्वमा टिस्टुङ लिपेर तस्बिर खिच्न तल्लीन मातृ तथा पिता शक्ति साँच्चै मनोरम यात्रा । कलकल पानीका मूल हरिया घाँसका तरेली रहरलाग्दा दुहुना पशु बसौँ बसौँ लाग्ने छैमले ! केवल दुधमात्रैबाट बनाइने शुद्ध खुवा वा कुराउनी बनाउँछन् यहाँका किसानले ! लप्सीको माडा अनि नास्पातीको रसिलो स्वाद । कोलाहलमय काठमाडौँ छैन यहाँ विकटको चित्कार पनि छैन, पशुपतिको आकासमा गुञ्जेको शिव भजन सुनिन्छ जहाँबाट, स्वयम्भूको शान्ति सन्देशको ॐ माने पद्मे हुम् सल्बलाउछ वायुमा र मन शान्त पार्दछ । चोभार काट्ने मञ्जुश्रीको पौरख नियाल्न सकिन्छ त्यहाँबाट ।
छैमलेको राम्चेतर्फ ओरालो लाग्ने क्रममा साथीहरू अनेकन समूहमा हुनुहुन्थ्यो सम्भवतः यो तस्बिर समूह नै थियो भन्दा फरक नपर्ला । धेरैभन्दा धेरै फोटो खिच्ने पछि थिए बिस्तारै समूह आफ्नो क्रममा झर्दै थियो । बिहान अनुरोध गरेको स्थानमा तरकारीका नाना प्रजातिको खजित थियो बाटो छेउमा । रहरलाग्दा फर्सी, लोभलाग्दा काँक्रा, काँचो नै खाऊँ जस्तो इस्कुस, बोडी कति हो कति । मूल्य पनि बारीमा नै पुगेका उपभोक्तालाई अत्यन्त सरल नै भयो । सबै सहभागीले आ आफ्नो रुचिअनुसारको खरिदारी गरे । हाम्रो सवारी साधन अलि तल चोकमा नै भएकाले हिडाइ लामै भयो, चिया खाने सल्लाहमा एकमत भएन टोली र यात्राले गति लियो । दक्षिणकाली माताको पुनः दर्शन गरियो माथिबाटै अबको हाम्रो गन्तव्य थियो शेषनारायण । चार नारायणमध्येका एक शेषनारायण उपत्यकाको दक्षिणतर्फ बसेका छन् अग्लो र अनकण्टार पर्वतको फेदमा कहिल्यै नसुक्ने पोखरीमा विचरण गर्ने शेषशैयामा विराजित नारायण नै शेषनारायण हुन् भन्ने विश्वास छ । बौद्ध गुरुले तपस्या गरेको स्थान पनि भएकाले सँगै रहेको विहार र मन्दिर धार्मिक सहिष्णुताको उदाहरण बोकेर भविष्य सम्झाइरहेका छन् ।
कालोदह दहभरि फ्यालिएका काठका लाथ्रा सल्बलाइरहेका माछा अनि छेवैको राजमार्गमा चिप्लिरहेका गाडी सूर्यले ओरालो लागेको दृश्य नियाल्दै बसमा उक्लियो पदयात्रा टोली । जतिजति शहरसँग हाम्रो वाहनको निकटता बढ्दै गयो मेरो हृदयमा आजको यात्राको स्थलमा नवीन तीर्थाटनको लर्को लागेको दृश्य झल्किन थाल्यो । साँघुरो बल्खु कुलेखानी सडक फराकिलो बनेर दोहोरीलत्त मोटर दौडेका रहेछन् । हरियाली र फुलेका अनेकौँ नेपाली फूलले रङ्गीन वातावरण, बाग्मतीको प्रवाहमा कलकल आवाज नदीमा पारदर्शी पानीको बहाव, चौकोटदेवीको जङ्गलमा डुक्रेका बाघको आवाज, मग्मगाएका चिराइतो अनि अन्य वनकुसुम ! तल गाउँबाट लेक चर्न उकालो लाग्दै गरेका कामधेनुका बथान । खुवा घोट्दै गरेका हलुवाइ, तिहुन टिप्दै गरेका गृहिणी, पाकेको नास्पातीमा भुन्भुनाउँदै गरेक अरिँगाल, झप्केका बन्सो, तप्केका महका थोपा । राम्चे चोकबाट उकालो लागेको केबुलकार च्याँन डाँडा र प्रतिमान चौरमा बनेका सब स्टेशनमा झर्ने र उक्लिने सुविधा अनि माथि चौकोट चुलीको अन्तिम स्टेशनबाट आउनेजानेको भिड आहा मेरो सम्झनाको सुसेलीमा विकासको बाजा बजेको बज्यै थियो । गाडीभित्र चक्लेट, काँक्रो तितौराको भोज सुरु भएको थियो, भुटेको मकैको ठेट्ना चपाउँदै म भनेँ पुनः फर्किएँ कल्पनाको सगरमा कुबेरको पुष्पकमा यात्रा गर्न ।
मकवानपुर तर्फबाट र ललितपुर तर्फबाट नयाँ मार्गको सुरुवात गरेर चौकोटदेवीको भव्य मन्दिरलाई ऐतिहासिकता नबिगारेर एउटा पर्यटकीय गन्तव्य बनाउन सकेमा कस्तो होला ! दक्षिणकालीबाट धार्मिक करिडोर बनाएर चौकोटदेवी, हुमाने भन्ज्याङ, चित्लाङ, कुलेखानी इन्द्र सरोवर पालुङ पदयात्राको निर्माण गरेर कार्यान्वयन गर्न सके त्यो क्षेत्रको अवस्था र स्वरूप कस्तो मनोहर हुनेथियो होला ! यस्तै कल्पनामा झुल्दै गर्दा चोभार काटेर गाडीले नेपालको ठुलो विद्यालयको द्वार घच्घच्याउन आँटेछ । हाम्रो यो यात्रा साधनले हामीलाई मलको डोको जस्तै घप्लक्क पार्ने टुङ्गो बल्खु आउनै आँटेको थियो । बल्खु चोकमा कलङ्कीतर्फ लाग्ने आधाआधी यात्रुसँगै म पनि झरेँ सबैलाई बाइबाइ भनेर ।
जीवनका अनेकौँ यात्रामा विविध अनुभव भए पनि आजको यात्राको स्मरण फरक नै रहनेछ ककनी, शिवपुरी, नागार्जुन, फुल्चोकी, नगरकोट जस्तै र हाराहारीमा रहेको चौकोटदेवी मन्दिर ओझेलमा पर्नुमा समाजको उपेक्षित भावना शासकको पक्षपातपूर्ण रवैया स्थानीयले चिन्न नसकेको आफ्नै कस्तुरीको विना के थियो चौकोटको पछौटेपनको लागि जिम्मेवार ? त्यो त भविष्यले निक्र्याैल गर्ला नै तर यात्राभित्रको यात्राको लागि काठमाडौँभित्रको काठमाडौँँले काठमाडौँँको कन्सिरीमा रहेको चौकोट यात्रा गर्नैपर्छ भन्ने भावनाको बर्फी बनाउँदै गर्दा महानगर यातायातले माछापोखरीमा हुत्याइदियो अनि म लागेँ पुरानो गुज्जेश्वरी ।
सुभाषचन्द्र पौडेल भीमफेदियाको के भरोसा जिन्दगीको गीत सार्वजनिक ( date 2082.03.06)
पञ्चायतकालीन समयतिरबाटै गीत रेकर्डिङ हुन थालेका सर्जक सुभाषचन्द्र पौडेलले ८२ सालको प्रारम्भमा गीति सांगीतिक प्रस्तुति स्वरूप गीत रेकर्ड गराएर सार्वजनिक गर्नु भएको छ । पौडेलको के भरोसा जिन्दगी को शीर्षकको गीत आज अनामनगरको डालो रेस्टुरेन्टमा सार्वजनिक भयो । गीतका गायक र संगीतकारहरूसमेत त्यहाँ उपस्थित रहनुभएको थियो । कार्यक्रम साहित्यिक पत्रकार संघको आयोजनामा भएको र कार्यक्रमको सभापति साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली रहनुभएको थियो । आजको कार्यक्रममा गीतकार सङ्घका अध्यक्ष बसन्त विद्यासी थापा प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रमको सञ्चालन चर्चित कवि मुरारी सिग्देलले गर्नुभएको थियो ।सो गीतका गायक अपेक्षा खनाल र संगीतकार नरहरी प्रेमीले पनि आज आफ्ना कुरा राख्नुभएको थियो । कार्यक्रममा शब्दपथका प्रधान सम्पादक किशोर श्रेष्ठ, साहित्यकारहरू रामप्रसाद पन्त, युवराज मैनाली, महेश प्रसाई, श्रीराम सिंह बस्नेत, ठाकुर शर्मा भण्डारी, जयराम बिडारी, प्रतीक घिमिरे, गंङ्गाप्रसाद भेटवाल, नवराज पराजुली, मोहन पोखरेल, मन्जिला अनिल, सन्तोष श्रेष्ठ, विजय धोज थापा उषा केसी वीरेन्द्र राणाभाट तुलसीगिरी पुष्पा पौडेल छायाँ पर्साई प्राध्यापक डाक्टर गोविन्दमान सिंह कार्की लगायतका व्यक्तित्वहरु रहनुभएको थियो । कार्यक्रमको शुभारम्भ गीत बजाएर गरिएको थियो । तत्पश्चात गीतका स्रष्टा सुभाषचन्द्र पौडेललाई स्रष्टा अभिनन्दन गरियो र गीतका बारेमा प्रमुख वक्ता श्रीरामसिंह बस्नेतले सुभाषचन्द्र पौडेल भीमफेदीसँगका विभिन्न सम्बन्धहरू खुलाउनु भयो । बस्नेत स्रष्टा भीमफेदियाका अनन्य मित्र रहेको र उनले पञ्चायतकालदेखि नै भीमपेदियाँसँग संगत गरेको कुरा बताउँदै पञ्चायतकालीन समयमा नै भीमफेदीयाले गीतहरू लेखेर रेडियो नेपालमा उहाँका गीते बज्ने पनि गरेको बताउनु भयो । पछिल्ला दिनमा भीमफेदीका गीति रचनाहरू कम आएकोबारृ पनि उहाँले चर्चा गर्दै गीतहरू निरन्तर लेखिरहन सल्लाह सुझाव समेत प्रदान गर्नुभयो । उहाँले वास्तवमै भीमफेदियासँग लामो संगत गरेको र त्यो संगतबाट उहाँहरूको आत्मीयता समेत झल्केको देखिन्थ्यो । पछिल्ला दिनमा नेपाली गीत संगीत उद्योगमा हिन्दी अङ्ग्रेजी लगायतका शब्दहरूको प्रयोग हुन थालेकोमा सही प्रयोग गर्न सल्लाह समेत दिनुभयो। गलत प्रयोग गरे गीतलाई अन्याय हुने समेत उहाँले बताउनुभयो तत्पश्चात नरहरी प्रेमीे जो गीतका संगीतकार हुनुहुन्छ उहाँले पनि गीत रेकर्डिङ गर्दाका सन्दर्भहरू राख्नुभयो । गीतकी गायिका अपेक्षा खनालले ट्र्याक बेगरै उक्त गीत गाउनुभएको थियो। तत्पश्चात् सुभाष चन्द्र पौडेलबाट आफ्नो भनाइ राखिएको थियो उहाँ अस्ट्रेलिया र नेपाल गरिरहनुहुन्छ अस्ट्रेलिया जाँदा सिर्जना गर्ने र नेपाल पट्टि आउँदा रेकर्डिङ गर्ने भन्दै ठट्टा समेत गर्नुभएको थियो । तत्पश्चात् प्रमुख अतिथिको आसनबाट वसन्त विद्यासी थापा जो गीतकार सङ्घका अध्यक्ष समेत हुनुहुन्छ, उहाँले गीत सङ्गीतका क्षेत्रमा कपिराइट अधिकारका बारेमा र विद्यमान कानुनको बारेमा आफ्ना कुराहरू राख्नुभयो । सङ्गीत क्षेत्रलाई व्यवस्थित बनाउन सबै लाग्नुपर्ने कुरा समेत बताउनुभयो । सभापतिको आसनबाट बोल्दै राधेश्याम लेकालीले पौडेलका यसअघिका सबै गीति एल्बमहरू सार्वजनिक हुँदा आफूसँगै रहेको आज पनि रहेको र पौडेलसँग भोलिका दिनमा पनि रहने कुरा गर्नुभयो । उहाँले विदेशका सन्दर्भहरू पनि जोड्नुभयो । उहाँले बदलिँदो परिस्थितिमा नेपाली सङ्गीत क्षेत्रलाई विश्वव्यापी बनाउन सकिने धारणासमेत
राख्नुभयो । कार्यक्रम डालो रेस्टुरेन्टमा सम्पन्न भएको थियो । डालोमा साह्रै स्वादिलो खाजा, खाना र खानाका परिकारहरू पाइने स्थान हो । त्यसैले डालो रेस्टुरेन्टमा हरेक दिन सभा, समारोह, गोष्ठी, सेमिनार भइराखेकै हुन्छन् । यहाँहरु पनि डालोमा आएर कार्यक्रम गरेर सक्नुहुनेछ । कार्यक्रम बेगरका नियमित रेस्टुरेन्टका गतिविधिहरू पनि यहाँ सञ्चालित हुने गरेका छन् । स्वतन्त्र रूपमा पनि डालोमा जान सक्नुहुनेछ ।
म यस स्रस्टा पदयात्रामा जोडिएपछि, मैले सामाजिक सञ्जालमा प्रेसित सुन्दर फोटाहरू देखेर मेरा केही कवि साथीहरूले यो यात्रामा सहभागि हुन देखाएको रुचिबमोजिम आज बीना आएकी थिइन् यद्यपि अघिल्लो महिनाबाट नै स्रस्टा पदयात्रामा सहभागिता जनाएकी अन्जु तिमल्सिना भने घरायसी कारणले चाहेर पनि यो यात्रामा सरिक हुन सकिनन् । जसरी बीनालाई अघिल्लो महिना नै जान उनको स्वास्थ्यले रोकेको थियो । यसरी हेर्दा पनि म आफूलाई भाग्यशाली मान्दछु कि मैले यो पदयात्रा सुरु गरेपछिका उपत्यकाभित्रका कुनै पनि यात्रा छुटाउनुपरेको छैन । यही बिचमा चैत्र महिनाको ८०औँ पदयात्रा जुन खोटाङ जिल्लाको थियो, स्रस्टा पदयात्रा नेपालको नियमबमोजिम म अनुपयुक्त रहेको र मेरो आफ्नो पारिवारिक अवस्था पनि अनुकुल नभएकाले म छुटेँ तर खोटाङसँगको मेरो रगतको साइनोले त्यहाँको माटो टेक्ने चाहना एकदिन अवस्य पुरा गर्नेछु ।
तराईको फराकिलो फाँटमा हुर्किएको मेरो मन भने पहाडका तरेली र अग्ला थुम्काहरूले लोभ्याइरहन्छन् । तराईको सहज सडक सुविधाका कारण धेरैजसो स्थान यातायातको माध्यमबाट नै पुगिन्थ्यो । विभिन्न स्थानको भ्रमण गर्ने रुचि भएकी मलाई हरिया डाँडाकाँडा र सुन्दर प्रकृतिको काखमा नदीनाला हेर्दै, हरिया चौर र जङ्गल घुम्ने रहर बढ्दै गयो ।
विभिन्न संस्था र साथी समूहसँग बेलाबेलामा पदयात्रामा घुम्ने क्रम चलिरहेको थियो । काठमाडौँ नजिकैका जङ्गल घुम्दा प्राप्त हुने सन्तुष्टिले अन्तर आत्माले पदयात्रालाई निरन्तरता दिन घच्घचाइरहेको थियो । प्रकृतिको सुन्दरतामा रमाउने मन र लेखनप्रतिको मेरो अभिरुचिलाई नजिकबाट चिन्नुहुने आदरणीय राधा बोहोरा दिदीले, स्रस्टा पदयात्रामा मलाई जोड्नुभयो । यस अघि नै सामाजिक सञ्जालमा यो अभियानबारे केही कुरा जान्ने मौका पाएको थिएँ तर दिदीको निरन्तरको उत्प्रेरणाले आज यसको सदस्य बन्ने सौभाग्य पाएकोमा उहाँलाई हार्दिक आभार व्यक्त गर्दछु ।
मेरो पहिलो सहभागिता रहेको ७८औँ पदयात्रा २०८० साल माघ ६ गते म लगायत ३४ जनाको समूहमा केही बाहेक सबै अनुहार मेरो लागि अपरिचित हुनुहुन्थ्यो भने म पनि उहाँहरूको लागि नयाँ थिएँ । तर आज यो ८६ औँ यात्राका ३४ जना सबैको मुहारमा आफ्नोपन र आत्मियता पाएको छु । यो एउटा अनुपम उपहारझैँ हो मेरो लागि । हामी गाडी भित्र देशका विभिन्न भूगोलबाट भेला भएर काठमाडौँँसँग जोडिएका साहित्यलाई मायाँ गर्ने समूह तर यहाँका संवाद र हाँसो ठट्टाले लाग्छ हामी एउटै परिवारका सदस्य कतै पारिवारिक भ्रमणमा गैरहेका छौँ । यो रमाइलो वातावरणले कतिखेर शहरको भिडभाड र कोलाहल छिचोलेर गाडीले हामीलाई दक्षिणकाली मन्दिर छेउमा ल्याइपु¥यायो मैले त थाहै पाइनछु । फर्किंदा पो विचार गरेँ । हामी त अघिल्लो पदयात्रामा पुगेको टौदह, चोभार र मञ्जुश्री पार्क हँुदै गएका रहेछौँ । दक्षिणकाली मन्दिरबाट अगाडि बढेपछि भनेँ म चनाखोँ बनेर झ्यालबाट बाहिरको दृश्य नियाल्न थालेँ, मेरो लागि यो भूगोल नौलो थियो । अनि यो ठाउँको नामको बारेमा पनि एक किसिमको उत्सुकता थियो ।
नाकमा ठोकिन आएको शुद्ध तोरीको तेलको बासनासँगै गाडीको ब्रेक लाग्यो, गाडीबाट खœयाकखुत्रुक गर्दै सबै जना ओर्लिंदै गरेको देखेर, हामी पनि झ¥यौँ । चालकसहित ३५ जनाको टोली त बाहिर निस्केर हेर्दा २÷४ जना मात्रै देख्छु । सबै जना २०÷२५ किलोमिटरको कच्ची सडकको यात्राले खुम्चिएको गोडालाई, अब सुरुहुने यात्राको लागि तयार गर्न तन्याकतुनुक गर्दै वरिपरि छरिनुभएको रहेछ । कोही शौचालय भने कोही चियालयको खोजीमा रहेको देखियो । मलाई भने दुवैको आवश्यकता महसुस भएको थिएन । मिठो तेलको बासना आएको ठाउँ पहिल्याउन उत्सुक मेरा आँखालाई सिधै अगाडिको सानो घरतिर निर्देशन गर्दै नाकले तेल मिलको परिचय गरायो । दाहिनेतिरको उकालो बाटो देखेर मनले पदयात्राको बाटो त्यही हो भनेर ठम्याउँदै थियो, किनकि हिँड्नु त उकालो थियो । केही साथीहरू फोटा खिच्दै, कोही भने चिया पाउरोटी, चनाले तागत बटुल्दै थिए । आखिरमा मैले फोटो पनि खिचेँ, चिया पनि खाएर अघि बढियो । एकछिनलाई हाम्रो टोली तितरबितरझैँ भयो । कोही स्थानीयसँग कुराकानी गर्दै थिए भने कोही फोटो र भिडियो बनाउनमा मस्त । बजारमा नास्पाती किनेर खाएकी मैले, बोट भने नगरकोट जाँदा देखेकी थिएँ तर आँखै अगाडि नास्पाती फलेको अनि कुनैमा त भरखर सेता फूल पनि देखेर छक्क परेँ । सिजन सकिन लागेको र बाटै छेउको रुखमा फल टन्न हुने त कुरै थिएन, अलि माथि माथि रहेका एक–दुई फलहरू सक्नेले झारेर खाँदै थिए भने कोही रुख चढेँझैँ गरेर फोटो खिच्दै थिए । मैले भने अलि माथि नै देखिएको फलमा आँखा पु¥याएर, बच्चा बेलामा खसीलाई घाँस झार्न घरको आँगनमा रहेको बकाइनाको रुख चढेको अनुभव सम्झिँदै चढेर नास्पाती त टिपेँ तर त्यसको स्वाद लिन भने मेरो जिब्रोले पाएन ।
अग्लो ठाउँबाट रमणीय दृश्यावलोकन गर्दै हामी बिस्तारै अघी बढ्यौँ, केही स्थानीयहरूसँगको कुराकानी सुन्दा लाग्थ्यो छैमले, राजधानीको छायाँमा परेको स्थान हो । बत्तीमुनिको अँध्यारो भनेझैँ, चक्रपथबाट केवल २५÷३० किलोमिटरको दुरीमा रहेको ठाँउलाई उपत्यकाको कर्णाली भन्न मिल्ने रहेछ । पातला घरहरू, स–साना पसल देख्दा लाग्थ्यो हामी कुनै दूरदराजको गाउँमा छौँ । हामीलाई चौकोटदेवी मन्दिर पुग्ने मार्ग निर्देशन गरिदिने स्थानीयको खोजीमा थियौँ, तर कतिपय स्थानीयहरू आफैँ अन्योलमा रहेको पनि पाइयो भने केहीले हामीलाई बाटोको बारेमा बताउनुभयो । यो ठाउँको नामकरणको बारेमा बुझ्दा, धेरै पहिला यो ठाउँमा ठुला ठुला छवटा महल रहेको र छ महल अपभ्रंश हुँदै छैमले हुन पुगेको जानकारी स्थानीयहरूबाट पाइयो । अहिलेको यस भूगोलको अवस्था र विकास देख्दा भने परापूर्वकालमा महल भन्न लायक भवन थिए भनेर विश्वास गर्न गारो भयो । किंवदन्तीअनुसार चौकोटदेवीको डाँडामा एउटा विशाल दरबार रहेको र यसको छायाँ भक्तपुरसम्म पुग्थ्यो भन्ने रहेछ । देवी स्वयम् घोडचढी गरेर यताउता गर्ने गरेको जनविश्वास पाइन्छ । यसक्षेत्रका घुम्न पर्ने ठाँउमा, चौकोटदेवीको साथै चौलानी जम्मा गरेर बनेको जाती पोखरी अनि अर्कोतिर रहेको कटुवाल दह पनि रहेछन् । श्रीकृष्णले सुदर्शन चक्रले छेडेर कटुवाल दहमा पानी जम्मा गराएर छैमले क्षेत्र मानव बसोबासको लागि उपयुक्त हुन पुगेको कुरा यदाकदा सुनिन्छ रे । शायद यसैको स्मरणमा होला हरेक नव वर्षमा कटुवाल दहमा मेला लाग्ने रहेछ, जहाँ स्थानीयहरूको बाक्लो उपस्थिति हुन्छ ।
आजको हाम्रो गन्तव्य भने छैमले डाँडाको टुप्पोमा गुराँसको फेदमा स्थापना गरिएकी चौकोटदेवी माताको मन्दिरसम्म भएकाले, कटुवाल दह र जाती पोखरी छोडेर आस्थाको दियो हृदयमा बालेर, पैतालामा उर्जा भरेर हामी लम्कियौँ शिखर चुम्ने अभियानमा । यात्रा न हो दोबाटो र चौबाटोहरू आइरहने रहेछन् अलमल्याउन, केही बेरको उल्झनपछि सबैको सल्लाहमा तेर्सो बाटो छोडेर उकालियौँ पहाडको थाप्लोतिर । केही बेरको हिडाइ पछि एउटा सुन्दर सानो चौरमा अगाडि आइपुग्नुभएको साथीहरूले विश्राम गरिरहेको ठाउँमा हामी सबै मिसियौँ । प्रतिमान चौर भनिने उक्त स्थानबाट हामीले भरखरै छोडेर आएको शहरको दृश्य कलिलो घाममा नुहाएर बसेकी किशोरीझैँ सुन्दर देखिएको थियो । अध्यक्ष शीतल गिरीको निर्देशनमा पहिलो रचनावाचन यही ठाउँमा गर्ने निर्णयबमोजिम साहित्यकार दीपक लोहनीज्यूको संयोजनमा सम्पन्न भयो केही थकान अनि चौरबाट देखिएको सुन्दरताको रसपानमा न अघाएर हो कि कसो, दोश्रो रचनावाचन पनि यसै ठाउँमा सन्चालन गर्ने कुरा सर्वसम्मतबाट पारित गरेर सम्पन्न गरियो ।
‘यात्रा रहेछ जिन्दगी’ भन्ने गीतले जिन्दगीको यथार्थ बोकेझैँ लाग्छ, जिन्दगीको सहयात्रीको सहयोगले जसरी जीवन सहज बन्छ रसपूर्ण यात्राको लागि सहयात्रीको महŒव पनि त्योभन्दा कम छैन भन्ने मेरो ठम्याइ हो । यो यात्रामा भेटिएका सहयात्रीहरू सबै उत्तरार्धमा जोडिएका साथीहरू हुन्, तर समान सौख र साहित्यप्रतिका समान अनुरागले होला आत्मियता भने उच्च भएको महसुस हुन्छ । पाइला उकालीमा अलि सुस्त हुन थालेपछि लाग्छ, पेटको उर्जा खाली हुँदै छ । त्यसमाथि घामको फक्रिँदो बैँस र पहाडको उचाइको प्रतिस्पर्धा चल्दै छ । न्युरो सर्जन डक्टर वसन्त पन्तको दृष्टिकोणमा डर एउटा रोग हो रे तर अन्तर्राष्ट्रिय रोगको वर्गीकरणमा भने डर पर्दैन रे । यो डर भन्ने कुरा चैँ हुर्केको समाजिक र पारिवारिक परिवेशमा भर पर्छ किनकि बच्चा जन्मिदा ठुलो आवाजसँग र लड्ने डर मात्र लिएर आएको हुन्छ रे । म डराउने धेरै कुराहरूमध्ये आज एउटा डरसँगको साक्षात्कारले पछि आफैँलाई लज्जित तुल्यायो । भयो यस्तो कि कुराकानीको सिलसिलामा शारदा पराजुलीले लाँकुरी भन्ज्याङको पदयात्रामा जुका लागेको कहानी यसरी सुनाइन् कि मलाई लाग्यो मेरो आङ्गभरि जुका सलबलाउँदै छन् । अब डरको सुइरो यस्तरी पस्यो मलाई शरीर चिलाउन थाल्यो । यो कुराकानीलाई बेवास्ता गर्दै अगाडि बढेँ, आहा ! आँखा सामुन्ने लमतन्न फैलिएको हरियो चौरमा अलि अगाडि पुग्नुभएका स्रष्टाहरू रमाइलो गर्दै फोटो खिच्दै गरेको देखेँ । अब आजको दिवा भोजन यही चौरमा बसेर गर्ने जानकारी पाए लगत्तै मेरो दाहिने गोलिगाँठोको छेऊमा नमिठो गरी दुख्यो बिस्तारै हेर्छु त एउटा सानो डेढ इन्च जत्रो सुकेको घाँसको त्यान्द्रो अल्झे जस्तो लागेर फाल्न खोजेको त, मेरी आमा हौ ! उही मेरो डरको सरदारले भरखर आक्रमणको कोसिस गर्दै रहेछ । बिस्तारै नजिकैको पातले घस्रेर निकालेँ । मभित्रको डरको मापन कसैले थाहै पाएनन् धन्न लज्जित हुनु परेन भन्ने ठानेको त, मेरो डरको अध्याय सबैले नदेखी नसकिने पो रहेछ भन्ने त, चौकोटदेवी मन्दिरको अगाडि पुग्दै गर्दा निस्केको मेरो चिच्याहट र पेटको तल्लो भागबाट ढाडिएको जुका निकाल्नुपरेको अवस्था सम्झेर मलाई साँच्चै यो लेख्दा पनि डर लागिरहेको छ । त्यो बेला होस यसरी गुम्यो कि मैले चौकोटदेवी मन्दिर र वरिपरिका दृश्यावलोकन गर्न, कुनै फोटो खिच्न नै बिर्सिएँ । अहिले स्मृतिलाई पछाडि धकेलेर हेर्दा गुराँसको फेदमा स्थापना गरिएको शिला नै भगवती स्वरूप मानेर पूजा अर्चना गरिएको बुझ्न सकिन्छ । देवीको दायाँ बायाँ अरू शिला पूजन गरिएको र त्रिशूल स्थापना गरिएको थियो । देवीको कुनै मन्दिर नभएर खुला ठाउँमा नै देवीको पूजा अर्चना गरेको, छेउछाउमा अग्ला बुट्यान र घाँसले छोपिएको देख्दा, यो पवित्र स्थानको संरक्षण गर्न स्थानीय निकायले अलि बेवास्ता गरेको महसुस भयो । हामीसँग तल छैमले बजारमा भेटिएर पुनः चौकोटदेवी मन्दिर पुग्नै लाग्दा जोडिनुभएको माइला बमजन बुवाले दिनुभएको जानकारीअनुसार यहाँ दसैँको बेलामा मात्र नियमित पूजाआजा गरिने र मङ्सिर पूर्णिमाको बेला चैँ भव्य जात्रा लाग्ने र वरिपरिका स्थानीयहरूको चहलपहल बढ्ने रहेछ । नियमित पूजाआजा नहुने र निश्चित पुजारीको व्यवस्था नभएकाले, यदाकदा आफूले पनि पुजारीको काम गर्ने गरेको वृद्ध बम्जनले बताउनुभयो । अधिकांश तामाङ्ग समुदायको बसोबास रहेको छैमले क्षेत्रमा ३५% क्षेत्रीबाहुन लगायत मिश्रित समुदायको बसोवास रहेछ । देवीस्थानको संरक्षणमा स्थानीय सरकारको नजर नपुगे तापनि प्राकृतिक दृष्यावलोकनको लागि भने एउटा दुई तलाको भ्यूटावर निर्माण गरेको रहेछ ।
चौकोटदेवी मन्दिर अवस्थित डाँडाबाट कटुवाल दहसम्म एउटा सेतो बाघ नियमित जाने आउने गरेको किम्बदन्तीको सम्झनामा ठुलोढुङ्गामा चित्रित सक्कलीझैँ देखिने सजिव बाघको चित्रसँग बीनाको आइफोनले लिएको सेल्फी नै मेरो ८६औँ पदयात्राको अन्तिम फोटो भयो । धेरै बेरसम्म त असहज अवस्थाबाट बाहिर निस्किन लाग्यो । मन्दिर छेउको भ्यूटावरमाथि हुँदै गरेको रचनावाचनमा पनि सरिक हुन सकिन । धेरै समयपछि यो सानो देखिने मेरो ठुलो डरमा नियन्त्रण गरेर स्रस्टा पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्यालज्यू बल्खुमा गाडी चढेलगत्तै दिनुभएको उहाँको कविता सङ्ग्रह “आवरण” र परशुराम पराशरको लघुकथा सङ्ग्रह ‘सावधान’को लोकार्पण कार्यक्रम भएकाले सहभागी हुन भ्युटावर माथि उक्लिएँ । ओहो, वरिपरि देखिने सुन्दर छटाले मलाई बिस्तारै डरको दुनियाँबाट सम्मोहनको दुनियाँमा खिची रहेको महसुस हुन थाल्यो । तरेली परेका डाडाका खेत हुँदै अग्लिएका पहाडले आकाश छोएझैँ भान हुन्थ्यो । लगभग दुई तीन बजेको समय, न घाम न पानी आकाशको सौन्दर्य उत्कर्षमा पुगेको थियो । निलो र सेतो मिसिएर एउटा सुन्दर कोलाज बनेको देखिन्थ्यो । जता हे¥यो हरियाली, सबै हरियो आँखाभरि अटाएर बाँकी जीवनलाई पुग्ने गरी प्युनु जस्तै भैरहेको थियो । तेस्रो रचनावाचन सम्पन्न भै सकेको रहेछ र बाँकी चौथो र पाँचौँ चरणको रचनावाचन कार्यक्रममा सशक्त लघुकथा र कविताहरू सुन्दै हामी केहीक्षण हरियालीमा मदहोस बन्यौँ । घर्किंदो समय र काठमाडौँँका विभिन्न स्थानबाट जम्मा भएका पदयात्रीलाई बेलुका आआफ्नो गुँड फर्कनुपर्ने बाध्यताले हामीलाई त्यो मदहोसीमा धेरै बेर हराउन दिएन ।
हाम्रो टोली चौकोटदेवीलाई प्रणाम गर्दै ढुङ्गामा चित्रित बाघलाई एक फन्को मारेर तल झ¥यो । थाकेका पैतालामा उक्लिँदा जस्तो जोस नभए तापनि ओरालो बाटो र घर पुग्ने हतारोले हामीलाई दौडाउँदै थियो । कच्ची बाटोबाट अघि बढ्ने क्रममा हामी केही साथी अलि पछाडि नै छोडियौँ ।
अघि उकालो चढ्दा, परशुराम पराशरले अन्जुलीभरि लप्सी बोकेर बाड्नुभएको बासनाले ओरालोमा मेरो गोडामा ब्रेक लगायो । मध्य तराईमा जन्मी हुर्किएर भरखर उपत्यकाको पहाड र जङ्गल हिड्न थालेकी मैले लप्सीको बोट नदेखे पनि बजारमा किनेरै भा पनि यसको स्वादमा त लठ्ठिएकी थिएँ ।
बाटाका दुवै किनारामा पाकेर फत्रक्क झरेका लप्सीका केही दाना टिपेर झोलामा हालेँ । मैले सख्खरमा मौलिसुप र सुकेको नरिवल झानेर पकाइदिएको लप्सीको अचार खुबै मन पराउने छोराछोरीलाई सम्झिएर, यतैबाट केही लप्सी किनेर लान पाए हुने भन्ने लागिरहेको थियो । अलि अघि जाँदा हामीभन्दा अगाडि हिड्नुभएको हाम्रो टोलीको साथीहरूको हातहातमा झोला थपिएको र डोका डोकामा समान लिएर बसेका स्थानीयहरूलाई देख्दा टाढैबाट अब लप्सी किन्न पाइने भयो भनेर गरेको अनुमान त नजिक पुग्दा फेल खायो डोकाहरू त हरिया र पहेँलो काँक्रोले भरिभराउ रहेछन्, फर्सीका कलिला गट्टाहरू देख्दा काँचै चपाउँदा कति मिठो हुन्थ्यो किझैँ लाग्ने । यसै पनि सबै हरियो तरकारी र फलफूल रुचाउने मनलाई झन् गट्टो र काँक्रो मेरो पहिलो रोजाइमा पर्छन् । लिएर त जाने, गलेको शरीरमा भारी थपेर अझै एकछिन हिँडेर गाडी भेट्न अलिक मन लागेन । यसो भाउ बुझेको त झन्डै भक्तपुरमा नै पाइने दर सुनेर भारी बोक्न मन गरिनँ । उता बीना भने झोलामा टनाटन फर्सी र काँक्रो भरेर पैसा दिँदै रहिछन् । उनको नजिकै जाँदा दुइटा डोकोमा फर्सी र काँक्रा बोकेर आएका १४÷१५ वर्षका किशोरी बहिनीहरूले आफ्नो घरैको उत्पादन भएकाले केही सहज दाममा नै दिएका रहेछन् । अनि मैले पनि दुइटा गट्टा र दुइटा काँक्रा उनीहरूले नै भनेको दाम तिरेर किनेँ । अर्को तिरबाट केही हरिया काँक्रा र एउटा ठुलो पहेँलो काँक्रामा लोभिएर किनिहालेँ, बोकेर गाडीसम्म आइपुग्न त धौ धौ प¥यो ।
थाकेर आफ्नै शरीर भारी भैरहेको बेलामा थप ४÷५ किलो अर्गानिक तरकारी थपेर ओरालो झर्दाखेरी त बाटो पनि घामले पग्लिएर लामो भएको जस्तो लाग्यो । लप्सीको मोह केवल बाटोमा झरेर छरिएका फलको बासना लिएर अघि बढ्नुमा सीमित रह्यो । छैमले पुगेर सबै जना गाडीबाट प्रस्थान गर्ने क्रममा दक्षिणकाली नगरमा नै अवस्थित शेषनारायण मन्दिरको दर्शन–ढोग गर्ने अवसर पाइयो । चट्टानको तलपट्टि निर्माण गरिएको भगवान् नारायणको मन्दिरमा निरन्तर माथिबाट पानीले अभिषेक गरिरहेको देख्दा सबैभन्दा शक्तिशाली भगवान् नै प्रकृति हुन भन्ने लाग्यो । मन्दिर माथि रहेको चट्टानको एकभाग चोइटिएर केही चुच्चो परेको र त्यहाँबाट निरन्तर चुनढुङ्गाको सेतो पानी मन्दिर माथि गैरहने हुनाले, गाईको दुधले भगवान्को अभिषेक गरिरहेको जनविश्वास रहेछ । मन्दिरका पुजारीज्यूसँग सामान्य भलाकुसारी र केही जानकारी लिएर हामी दक्षिणकाली नगरबाट काठमाडौँँ महानगरपालिका भेट्न बल्खुतर्फ सोझियौँ ।
यसरी चौकैटदेवी मन्दिरको अध्ययन दर्शन भ्रमण गर्न जाने पहिलो संस्था नै स्रस्टा पदयात्रा नेपाल बन्न पुगेको गौरवमय भाव बोकेर अनि यस क्षेत्रको पहिचान विस्तार गर्न सहयोगी बन्नुपर्ने थप जिम्मेवारी महसुस भएको छ । पुरातŒव विभागले एक पटक खोजतलास गरेर पुनः चासो न दिएको जानकारी स्थानीय बासिन्दाबाट आएकाले यसै लेखमार्फत् ध्यानाकर्षण पनि गराउन चाहान्छु ।
स्रष्टा पदयात्राको थालनी गर्दा लाँकुरी भन्ज्याङको उकालो उक्लँदै गर्दा मनमा प्रश्न आएको थियो, कुन उद्देश्यले किन थालनी गर्न थाल्दै छौँ यो ? आपसमा धेरै पटक छलफल गरेका जय छाङछा, डा.भक्त राई, डिल्लीराज अर्याल र म अनि हाम्रो अभियानमा साथ दिएका डिल्लीरमण सुवेदी, जसध्वज गुरुङ र प्रवीण पुमा । हो हामी सात जनाले ३ मङ्सिर २०७३ देखि स्रष्टा पदयात्रा थालनी गरेका हौँ । ‘स्वास्थ्य र सिर्जनाको लागि स्रष्टा पदयात्रा’ ।
२०८१ असोज ५ गते छयासीयौँ यात्रामा ३४ जना स्रष्टा पदयात्री दक्षिणकाली नगरपालिका वडा नं. ८ छैमलेको चौकोटदेवी मन्दिर पुगेका हौँ ।
उपत्यका वरपरका डाँडाहरूमा पदयात्रा गरिसकिएको छ । यतिमात्र होइन स्रष्टा पदयात्रा पूर्वमा खोटाङ, पश्चिम पर्वतको मल्लाज, उत्तर रसुवाको वेत्रावती र दक्षिण गैँडाकोटको मौलाकालीका पुगिसकिएको छ ।
पदयात्राको क्रममा दक्षिणकाली नगरपालिकामा योसमेत गरी हामी ५ पटक आइसकेका छौँ । पहिलो पटक ७ पौष २०७४ मा खोकनाबाट हिँड्दै नेपालको पहिलो जलविद्युत ‘चन्द्रज्योति विद्युत्गृह’ अवलोकन गर्न आएका थियौँ । यस यात्रामा यो विद्युत्गृह सय वर्ष पुगेको अवसरमा निर्माण गरेको पार्क पुगेका थियौँ । चन्द्रज्योति विद्युत्गृह सन्चालन गर्न बनाइएको पानी पोखरी पनि अवलोकन गरेका थियौँ ।
नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजनाको पावर हाउस वि.सं. १९६८ सालमा बनेको हो । पुरानो शैलीको घर, सिमेन्ट प्रयोग नगरिएको चुना र सुर्कीले बनाइएको । १२ वैशाखको भुइँचालोले पनि क्षति पुगाउन नसकेको भवन । चन्द्र शमशेरको पालामा बनाइएको विद्युत्गृह देशकै ऐतिहासिक सम्पदा हो । उहिले राणाकालमा बेलायत जाँदा त्यहाँ बत्ती बलेको देखेर चन्द्र शमशेरले यो विद्युत्गृह बनाएका हुन् । भित्र दुइटा टर्वाइन मेसिन छन् । पानीको समस्याले पाँच सय वाट बिजुली उत्पादन गर्ने क्षमता भएको यसको उत्पादन बन्द छ । यहाँको पानी खान मात्र प्रयोग गरिएको छ, पाटनवासीका लागि । हाल मेसिन बिग्रनबाट बचाउन, यहाँ भ्रमणमा आएकालाई देखाउन मात्रै चलाइन्छ केही समय । नेपाल जलस्रोतको देश । तर, गलत व्यक्ति नेतृत्वमा पुगेको, दीर्घकालीन सोचको अभावले गर्दा देशमा अहिले खानेपानी र बिजुली अव्यवस्थित बन्न पुगेको छ । यसलाई व्यवस्थित गरेर पावरहाउस संचालनमा ल्याउन सके उपत्यकामा खानेपानी र बिजुलीको समस्यामा कमी आउने देखिन्छ । नेपालमा बिजुली उत्पादन हुन थालेको सय वर्ष नाघिसक्यो । पावर हाउस आफैँमा सुन्दर छ । यस वरिपरि राम्रा होटेल र होमस्टे हुने हो भने एक रात बिताउन र अध्ययन भ्रमण गर्न सजिलो हुने थियो । ऐतिहासिक गढी पनि हो पावर हाउस क्षेत्र । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा बनाएको गढीको भग्नावशेष छ त्यहाँ ।
विद्युत्गृहबाट पानीपोखरी हेर्न उक्लँदै गर्दा दायाँ बायाँ दुवैतिर आँखाले भ्याएसम्म सुनौला सुन्तला लटरम्म फलेको देख्दा हामी दङ्ग परेका थियौँ । घरका आँगन सुन्तलाले ढकमक्क स्वखेल गाउँ ।२०७५ असार १ गते दक्षिणकाली मन्दिर पुगेका हौँ । फर्पिङ शहरको पश्चिमपट्टि रहेको डाँडो दक्षिणकाली उत्पत्ति भएको डाँडाको नामले प्रसिद्ध रहिआएको छ । यही डाँडाको बीचको थुम्कामा पहिले दक्षिणकाली आफ्ना गणसहित विचरण गर्थिन् भनिन्छ । दक्षिणीका रूपमा रहेकी देवीले जङ्गलमा घाँस दाउरा लिन वा भेडाबाख्रा चराउन जाँदा फर्पिङबासी एक्लै दोक्लै फेला पारेमा भक्षण गर्थिन् भन्ने भनाइ पाइन्छ । डाँडामा रहेको एउटा ठुलो ढुङ्गामा मानिसको बलि हुन थालेपछि तत्कालीन राजा प्रताप मल्लको आदेशले तान्त्रिक लम्बकर्ण भट्टले कालीको मूर्ति बनाएर प्राणप्रतिष्ठा गर्दा काली जागेर जाज्वल्यमान भई कालीको शक्ति थाम्नै सकिएन । अनि तान्त्रिक लम्बकर्ण भट्टले चामुण्डाको मूर्ति बनाएर डाँडाको फेँदीमा स्थापना गरी डाँडामाथिको मूल पीठको ढुङ्गा घोप्टाइदिएर कालीको शक्तिलाई मत्थर पारिएको रहेछ ।
डाँडाको फेँदीमा तल खोचमा पर्ने दुई नदी उद्धारवती गङ्गा र पूर्णावती गङ्गाको दोभान र मसान घाटमा देवी चामुण्डाको मन्दिर रहेको छ भने दक्षिणकालीका नामले प्रख्यात देवीलाई तान्त्रिक लम्बकर्णले राँगा, हाँस, बोका, भेडा र कुखुराको पञ्चबलि दिएका थिए भनिन्छ । देवमाला वंशावलीमा श्री दक्षिणकाली माईको मूर्ति रहेको स्थान दक्षिणपट्टि पूर्णावती गङ्गा र उत्तरपट्टि उद्धारवती गङ्गा सङ्गममा सहस्रबलि, नरबलि महापूजा कोट्याहुति यज्ञ गरेर प्रतिष्ठा कर्मको विधि पु¥याई वैशाख शुक्ल तृतीया (अक्षय तृतीया)का दिन स्थापना गरेको कुरा उल्लेख गरेको पाइन्छ । दक्षिणकाली माईका भक्तलाई इतिहाससँग मतलब हुँदैन । समस्या समाधान निमित्त भाकल गर्छ, पूरा भएकै छ र भक्त आमाको शरणमा आइपुग्छ । यस कारण त दिनुनुदिन भक्तको सङ्ख्या बढ्दै छ ।
कुरा प्रष्ट छ आमा दक्षिणकालीबाट बालक भक्तको भलो हुने गरेको छ । एकान्त वनमा, दुई गङ्गाको दोभानमा देवीको आराधनाबाट भक्तले जिम्मेवारी सिक्ने अवसर पाउँछ । यो सत्य हो स्रष्टा पदयात्रीले यात्रा गरेको ठाउँको यथार्थ थाहा पाउँछ । र अहिले हामी छैमलेको चौकोटदेवी दर्शन, अध्ययन गर्न पाइला बढाउँदै छौँ । सडकछेउ घर भएका एक जनाले दाहिनेतर्फको उकालो बाटो देखाए, यथार्थमा यो छोटो भए पनि गोठालाहरूले वनमा गाईबाख्रा चराउन लैजाने बाटो हो— ठुलो बाटो खोज्ने हामी केहीबेर अलमलमा मात्र होइन रनभुल्ल भएका थियौँ ।
२०७७ फागुन १ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर (कुलेखानी ड्याम) अवलोकन गरी फर्कनेक्रममा शेषनारायण पुगेका थियौँ ।
चार अङ्कसँग काठमाडौँँको अजिबको संयोग छ— चार गणेश, चार टाकुरा, चार भन्ज्याङ, चार योगिनी, चार नारायण । वंशावली भन्छ, चारौँ शताब्दीमा नेपाल खाल्डोमा चार नारायणको स्थापना गरिएको थियो । चार दिशामा— चाँगुनारायण, इचङ्गुनारायण, शेषनारायण र विशङ्खु नारायण । लोक मान्यताअनुसार यी चार नारायणको परिक्रमा गरिन्थ्यो । देश दर्शनको उद्देश्यले पहिले पैदल १८ कोस हिँडेर परिक्रमा गरिन्थ्यो भने अचेल यातायातको साधनबाट गइन्छ ।
फर्पिङ शहरलाई प्राचीन अभिलेखहरूमा शिखरापुरी भनिएको पाइन्छ र मध्यकालमा नेवारी अभिलेखहरूमा फर्पिङ, फमपीन आदि नामकरण गरिएको छ । यस्तै उत्तरबाट दक्षिणतर्फ लम्पसार परेको ठुलो डाँडाका फेँदीमा पहराको चेप पारेर स्थापना गरिएको शेषनारायणलाई शिखर नारायण, ठाउँको नाउँबाट भएको र प्रायः अन्त्याक्षर लोप गरी शब्दको उच्चारण गर्ने नेवारी भाषाको परम्परा अनुसार शिखा वा शिका नारायण भनिएको हो । धेरै जसो वंशावलीले नृसिंह नारायण भनेर नामकरण गरेका छन् । त्यहाँ स्थापना गरिएको आठौँ शताब्दी पछिको पुरानो चतुर्भुजी नारायणको मूर्ति हराएकाले वर्तमानको मूर्ति प्राण–प्रतिष्ठा गरी स्थापना गरिएको हो । विष्णु नारायणको स्थापना गर्दा शालिग्राम शिला या गोमती चक्रशिला हुनुपर्छ । त्यो नभए काष्ठ, धातु, पाषाण र माटोकै भए पनि मूर्ति बनाएर स्थापना गर्ने विधान रहेअनुसार स्थापनाकालमा चार नारायणका अवश्य नै मूर्ति बनेका थिए होलान् । देव प्रतिमाहरू टुटफुट, अङ्गहीन भएमा पूजा नगर्नु र नयाँ निर्माण गरी प्राणप्रतिष्ठा गरेर स्थापना गर्नु भन्ने शास्त्रीय चलन भएको हुँदा अङ्गभङ्ग भएमा नयाँ मूर्ति बनाइ स्थापना गरिन्थ्यो । शिखरापुर (फर्पिङ)मा लिच्छविकालीन शिलालेख पाइएकाले प्राचीन बस्ती हो भन्ने कुरा थाहा हुन्छ । फर्पिङमा अति प्राचीन गोपालेश्वर शिवको मन्दिरपछि यहाँ शेषनारायणको स्थापना भयो । शैव र वैष्णवमा परस्पर वैमनस्य नहोस् भन्ने हेतुले प्राचीन कालदेखि नै शिव र विष्णु एकै हुन् भन्ने भावनालाई साकार रूप दिन फर्पिङमा परम्परादेखि चल्दै आएको हरिशङ्कर जात्रामा रथारोहण गरी जात्रा गरिने नारायणको सुनौलो मूर्तिले शेषनारायणको प्रतिनिधित्व गर्दछ । सुकरात कालदेखिको इतिहास रहेको शेषनारायणको दर्शन अवलोकन नगरेर स्रष्टा पदयात्री कसरी रहन सक्थ्यो ।
हो शेषनारायण मन्दिर परिसरमै उत्तरतर्फ आचार्य पद्मसम्भवले तपस्या गरेको गुफा छ, यसै याङलेसो गुम्बामा ध्यान गर्दा गर्दै उनले बज्रकिल (दोज्रो फुर्वा)को भयंकर क्रोधी रूप धारण गरेर आध्यात्मिक चर्याबाट भ्रान्तिको आवरणयुक्त शक्तिहरूलाई शान्तिपूर्ण जीवनको प्रवाहमा परिवर्तन गरिदिए । यति लेखिसकेपछि पद्मसम्भवबारे केही शब्द खर्चिनु स्वभाविक हुनेछ । बौद्ध धर्मअनुसार जीवहरूको जन्म चार प्रकारले हुन्छ— गर्भबाट जन्मने, अण्डाबाट जन्मने, पसिनाबाट जन्मने र अलौकिक रूपमा प्रकट हुने । मातापिताको समायोजनविनै अलौकिक रूपबाट जन्मिएको चामत्कारिक बालकलाई नै पद्मसम्भव भन्ने गरेको पाइन्छ । करूणाका प्रतिमूर्ति अवलोकितेश्वर सुखावती भुवनमा अमिताभलाई जनताको दुःखप्रति करुणायुक्त दृष्टि पु¥याउन अनुरोध गरेअनुसार अमिताभ बुद्धको जिब्रोबाट निस्किएको रातो प्रकाश किरण उल्का झैँ) खसेर ओर्गेन (उड्डियान)को धनकोष सरोवरको बीचमा खस्यो । स्वतःस्फूर्त रूपले फुलेको कमलको फूलको बीचमा अमिताभको हृदयमा प्रकट भएको एकाक्षरी मन्त्र ‘ह्री’ एक स्वर्ण वज्रको आकृतिमा प्रकट भयो । सबै कुद्धको सार समाहित भएको त्यो एक आठ वर्षको जत्रो बालक विराजमान भएको देखियो । बुद्ध अमिताभ र वोधिसत्व अवलोकितेश्वरको उपज पद्मसम्भव बुद्धले भविष्यवाणी गरेअनुसार सर्वसत्त्व हितार्थ र गुह्य मन्त्रको धर्म प्रकट गर्न यस धार्तीमा आएका हुन् ।
‘जीवन क्षणिक छ, संसारको चर्या अनन्त छ र बिछोड अपरिहार्य छ’ भनेर उनले सांसारिक भोगविलास त्यागेर मोक्ष प्राप्ति गर्नतर्फ आफ्नो मति स्थिर गरे । त्यसपछि उनले स्वतन्त्रतापूर्वक भारतका आठ प्रख्यात मसानहरूलाई आसन बनाई त्यसमाथि बसेर अति गम्भीर समाधिमा प्रवेश गरेको समयमा शरीर धान्न पद्मसम्भवले मृतकहरूलाई चढाउन ल्याएका खानेकुरा समेत खान्थे । निरन्तर अभ्यासको कारण उनी विनाशकारी शक्तिहरूमाथि नियन्त्रण गर्न सक्ने ऋद्धिसिद्धि प्राप्त शक्तिशाली गुरु बने ।
रंगल भूमिमा पद्मसम्भवले विमित्र नाम गरेका पुरुषबाट देवभाषा संस्कृत र अरू भाषाहरू गरी जम्मा ३६० भाषा र ६४ वटा लिपी सिके । शिल्पविद्या र मृत्तिका शास्त्र लगायतका सबै कलामा निपुण भए । गुह्य मन्त्रका स्वामी बनेका उनी दुष्करचर्या अभ्यास गरेर दिव्य–दृष्टि, दिव्य–श्रोत्त, दिव्य–घ्राण, दिव्य–जिव्ह्राका ऋद्धिहरू प्राप्त गरे । दुष्कर चर्यास्वरूप च(डाली अभ्यासमा निपुणता प्राप्त गरेपछि उनले डाकिनीहरूलाई महायान तथा वज्रयानका उपदेशहरू दिए । पद्मसम्भवले दक्षिण भारत, श्रीलङ्का, इन्डोनिसिया, बर्मा, मध्यएसिया, चीनका केही प्रान्त, रुस, अफगानिस्तान, पर्सिया, इजिप्ट र अरू विभिन्न भूमिमा भयङ्कर पहाडका देवताहरू, असभ्य जङ्गली मांशाहारी प्रेत पिशाचहरू र महामारी फैलाउने राक्षसहरूलाई दमन गर्नुका साथै मन्त्रयानका उपदेशहरू दिए । पद्मसम्भवले नेपालको पूर्वी भागमा पर्ने हलेसीका गुफामा दीर्घायु साधना गरेका थिए । मन्त्रयानका प्रवर्तक बौद्धधर्मलाई लोक धर्म बनाउने पद्मसम्भवले साधना गरेका पवित्र गुफा दक्षिणकालीको फर्पिङमा हुनु, स्रष्टा पदयात्राको क्रममा अवलोकन गर्न पाउनु— अवश्य सामान्य रूपमा लिन सकिन्न ।
२०७९ असार ४ गतेको ५९ औँ स्रष्टा पदयात्रा दक्षिणकाली मन्दिर अवलोकनपश्चात् कटुवाल दह अवलोकन गरेका थियौँ । कटुवाल दहसँग अनेकन किंवदन्ती जोडिएका छन् । मञ्जुश्री तिनै किंवदन्तीसँग गाँसिएको नाम हो । महाचीनको पञ्चशीर्ष पर्वतबाट परिक्रमा गर्न निस्किएका मञ्जुश्रीले नगरकोटको डाँडोबाट यो उपत्यका देखेका थिए । पानीले भरिएको विशाल सरोवरको पश्चिमको कुनामा फुलेको कमलको फूलमा उनको दिव्यदृष्टिले एउटा अलौकिक ज्योति देखे । यही ज्योतिको दर्शन गर्न भनी आएका उनी यति मोहित भए कि पानी निकास गर्न उनले डाँडो काटे । किंवदन्ती यसै भन्छ, तीव्रतम गतिमा पानी निस्कँदा ढुङ्गे चट्टानमा बन्न गएको दह हो कटुवाल दह । समाजमा घटेका अद्भूत घटनालाई दैवी शक्तिसित जोडेर हेर्नु मानवीय स्वभाव हो ।
मञ्जुश्रीले डाँडो काटेर पानीलाई निकास दिएको किंवदन्ती प्रख्यात छ । तर, पानी निकासका लागि काटिएको स्थान चोभार मात्रै थिएन, अन्य तीन स्थानमा पनि काटिएका थिए पहाड । त्यसमध्येको एक स्थान हो कटुवाल दह । दक्षिणकाली मन्दिरबाट पूर्व–दक्षिणमा पर्छ यो— काठमाडौँँ र ललितपुर जिल्लाको साँध । आफूलाई सभ्य सुसंस्कृत ठानी नाक फुलाउने, सबै कुरा मैले जानेको छु भन्ठान्ने बौद्धिक व्यक्तित्व कतिले कटुवाल दह हेरेका छन् ? मञ्जुश्रीले खड्गले काटी उपत्यकाको पानी निकालेको यो स्थान अवलोकन गरेका होलान् भनेर भन्न सक्दिन । उपत्यकाका नदीले बगाएको वस्तु या मानव अन्त कतै नपाएपछि कटुवाल दहमा पाइन्छ भन्ने किंवदन्ती रहेको छ । अहिलेसम्म गहिराई नाप्न नसकिएको दहको रूपमा लिइन्छ यसलाई ।
इतिहास, किंवदन्तीसँग जोडिएका स्थान अवलोकन गर्न जानु स्रष्टा पदयात्राको दायित्वको कुरा हो । निश्चय नै अवलोकन गर्नु पर्ने कुरा धेरै छन् दक्षिणकाली नगरपालिकामा । यसै गरी पदयात्रा गर्न छुटाउन नहुने स्थान नेपालमा निकै धेरै छन् । पदयात्रा गर्दै पुगिएको ठाउँको बारेमा जानकारी सङ्कलन गरी लेख्नु स्रष्टा पदयात्रीको अधिकार हो । जब कर्तव्य थोरै र अधिकार धेरै हुन्छ, तब कल्पनाभन्दा पनि यथार्थ सिर्जनामा आउने गर्दछ । यसो त अधिकारले अभिमान जन्माउँछ र अभिशाप बन्न पुग्छ, तर स्रष्टा पदयात्रीको हकमा भने अधिकार त्रासको कारण बन्ने गरेको छैन ।
अन्ततः हामीले चौकोट देवीथान जाने बाटो पहिल्याऔँ । यो के जङ्गलको बीचमा फराकिलो दुइटा घाँसे मैदान, त्यहाँ बाख्रागाई चर्दै गरेका । पहिलो घाँसे मैदानमा दुई चरणको रचनावाचन गरिएको थियो भने दोश्रोमा दिवा सह–भोजन । दुवै चउरको नाम च्यानडाँडा र प्रतिमान, पहिलो यानी रचनावाचन गरिएको स्थल च्यानडाँडा र भोजन गरिएको स्थल प्रतिमान चउर (जाति पोखरी) । भोजनपश्चात् आधा घण्टाभन्दा अलिक बढी समय लाग्यो होला कम्मर कम्मर आउको घाँसमा गोरेटो बाटो पहिल्याउँदै उकालै उकालो चौकोट देवीथानमा पुग्न । जहाँ मानिसको आस्था हुन्छ, त्यहाँ देवताको वास हुन्छ र त श्रद्धा र आस्थाको शक्तिले तानिएर अप्ठेरो बाटो छिचोल्दै भक्त भगवान्को शरणमा पुग्छ । पहाडको अग्लो थुम्कोमा देवीथान छ— खुला शीलाको रूपमा । फुल्चोकी र चम्पादेवीको कथा महाचिनबाट स्वयम्भू ज्योतिको दर्शन गर्न आएका मञ्जुश्रीको त्यागसँग जोडिएको त मलाई थाहा थियो, तर यहाँ अलिक फरक पाएँ— मञ्जुश्रीले खड्गले उपत्यकाको पानी निकालेपछि आफ्ना तीन शक्ति (दीग्गज, पत्नी)मा जेठी वरदालाई फुल्चोकीमा (फुल्चोकी भगवती), माहिली मोक्षदालाई चौकोटमा (चौकोट भगवती) र कान्छी कामदालाई चन्द्रागिरिमा (चम्पादेवी) स्थापना गरेका रहेछन् । यसको अर्थ चौकोटदेवी लिच्छवीकाल अघिको हुनुपर्छ । तर किन हो फुल्चोकी र चम्पादेवीको जति नाम चल्न सकेन मोक्षदेवी यानी चौकोटदेवीको । स्थानीय बाहेक अन्यको नजरमा किन पर्न सकेन । चार वर्ष जति अघि पुरातत्त्व विभागले उत्खनन गरेर प्राप्त इँटा, भाँडा–वर्तन, कार्बन अध्ययनको लागि लगेको भन्ने सुनियो, यति हो देवीबारे थाहा पाएको कुरा । यति चाहिँ भन्न सकिन्छ— स्रष्टा पदयात्रा नेपालको टोली नै पहिलो हो, सोध्दै खोज्दै आएको समूहमा देवीथान पुगेको, स्थानीय यही भन्थे ।
चौकोट (मोक्ष) देवीको शक्तिको बयान नै किंवदन्तीको जग हो । पृथ्वीनारायण शाह छैमलेको यस थुम्कोमा आएका हुँदा हुन त यसको सुन्दरताको मोहबाट बच्न नसकेर वरिपरि मगरबस्ती बसाल्ने थिए । काठमाडौँँ वरिपरिका फुलचोकी, चम्पादेवी, जमाचो, नगरकोट यहाँबाट देख्न सकिन्छ ।
काठमाडौँँ वरिपरिका थुम्कोहरू आफैँमा प्राकृतिक भ्यूटावर हुन्, स्रष्टा पदयात्राको क्रममा उपत्यका वरिपरि चारैतिर पुगियो— चौकोटदेवीको यस थुम्कोबाट हुमाने भन्ज्याङ, अनि उपत्यकाको धेरैजसो भाग जति देख्न पाइन्छ, अन्तबाट पाइन्न । चारैतिर हरियाली बनको बीचमा दुइटा आकर्षक चउर अनि उकालो उक्लँदै थुम्कोमा रहेको चोकोट देवीथान । स्थानीय सरकारले पुरानो गोरेटो बाटो पहिचान गरी ढुङ्गा छापेर व्यवस्थित गरिदिए पुग्छ । अझ सकिन्छ तीन ठाउँमा घाम पानीबाट बच्ने टहरा बनाए हुन्छ । जाति पोखरी अलिक ठुलो बनाएर कमलको फूलले सिगार्ने र सानो चउर पिकनिक गर्ने थलो र ठुलो चउर बाल उद्यान बनाएर खाने पानीको व्यवस्था गरिदिए हुन्छ । स्थानीय पहिचान झल्कने अनि स्थानीय परिकारले पाहुनाको स्वागत गर्ने होमस्टे सञ्चालन हुन सके रात बिताउँन चाहने र फरक स्वादमा भुल्न चाहने पर्यटकको रोजाइमा यो स्थान अवश्य पर्नेछ ।
अभिनव साहित्य समाजको जेष्ठ महिनाको कार्यक्रम सम्पन्न, पौडेल सम्मानित ।
नेपाल राज्यभरि धेरै साहित्यिक संघसंस्थाहरू खुलेका छन् । कति साहित्यिक संघसंस्थाहरू खुल्ने बित्तिकै बन्द पनि भएका छन् । कति केही समयपछि बन्द भएका छन् र थोरै मात्र लामो समयसम्म निरन्तर साहित्यिक गतिविधिमा संलग्न भएका छन् । यसरी सञ्चालित भएका साहित्यिक संघसंस्थाहरू कति सरकारी तवरबाट सञ्चालित भएका छन्, कति निजी क्षेत्रबाट सञ्चालित भएका छन् । सरकारी तवरबाट खोलिएर सरकारी तलब सुविधा लिएका पनि धेरै संघसंस्थाहरू बन्द भइसकेको अवस्था छ । यस्तो अवस्थामा निजी क्षेत्रबाट साहित्यिक संघसंस्थाहरूको लामो समय निरन्तरता सजिलो विषय भने पक्कै होइन । काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिकामा विभिन्न अवसर र समस्याहरू झेल्दै साहित्यिक गतिविधिहरूलाई २५ वर्षभन्दा लामो समयदेखि निरन्तर सञ्चालित गर्दै आएको संस्था हो– अभिनव साहित्य समाज । नेपाली साहित्यका लागि मलिलो फाँटको रूपमा गोकर्णेश्वर क्षेत्र स्थापित भएको छ । यो क्षेत्रलाई साहित्यिक क्षेत्रमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रजहरू भैरव अर्याल, रमेश विकललगायतका स्रष्टाहरूले संसारभर रहेका नेपाली साहित्यका पाठकहरुको मन जित्नु भएकोछ । वर्तमान समयमा यो क्षेत्रमा गोविन्द घिमिरे वेदमणि, विजय चालिसे, बाजुराम पौडेललगायतका साहित्यकारहरूले गोकर्णेश्वर क्षेत्रको विगतको विरासतलाई अझ उचाइमा पु¥याइरहँदा, यस क्षेत्रका वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेज्यूलाई २०८२ सालको जेष्ठ महिनामा गुमाउनु पर्दा यो क्षेत्रलाई नै अपुरणीय क्षति भएको पनि छ । यही बीचमा अभिनव साहित्य समाजले जेष्ठ महिनाको रचनावाचनको कार्यक्रम यही २०८२ साल जेष्ठ ३१ गते सम्पन्न गरेको छ । आजको कार्यक्रममा जेष्ठ महिनामा दिवंगत हुनुभएका चर्चित साहित्यकारहरू विजय चालिसे, भाग्यशाली अधिकारी र गणेश रसिकको सम्झनामा अभिनव साहित्य समाजको कार्यक्रममा एक मिनेट मौन धारण समेत गरिएको थियो । अभिनव साहित्य समाजको जेष्ठ महिनाको कार्यक्रम तीन प्रकारले सञ्चालन गरिएको थियो । यो कार्यक्रममा ससाना भाइबहिनीहरूलाई मुक्तक लेखनको तालिम दिएर स्थलगत मुक्तक लेखन गराई उत्कृष्ट मुक्तकहरूलाई सम्मानसमेत गरिएको थियो । यसका अलावा नियमित रचनावाचनको कार्यक्रम भएको थियो । आजको कार्यक्रममा विष्णुचन्द्र अभिनव सर्वोत्कृष्ट गद्य कविता पुरस्कार २०८२ कवि बुद्धिसागर पौडेललाई अर्पण गरियो । पौडेलले आफू उपन्यासकार बखतबहादुर थापाबाट लेखनीमा प्रवावित भएको बताउनु भएको थियो । अभिनव लक्ष्मीदेवी साहित्य सिरपा पुरस्कारका लागि आजै तालिम दिएर मुक्तक लेखन कार्यमा सक्रिय भई वाचन गर्ने २८ जना ससाना भाइबहिनीहरूमध्येबाट पाँच जना पुरस्कृत हुनुभयो । आज विद्यालय तहका भाइबहिनीहरूलाई प्रतियोगितात्मक मुक्तक लेखन तथा वाचन कार्यक्रम गराइएको थियो र ५ जना भाइबहिनीहरू पुरस्कृत भएका थिए । मुक्तक वाचनमा प्रथम सुशान्त कोइराला, द्वितीय समृद्धि श्रेष्ठ र तृतीय सोनिया पौडेल श्रीषा बर्तौला र अंशु कसजु श्रेष्ठ हुनुभएको थियो । मुक्तक प्रतियोगिताको लागि निर्णायकहरूमा परशुराम परासर मेनका आचार्य पोखरेल र निशा केसी रहनुभएको थियो । प्रतियोगितामा उत्कृष्ट हुनुभएका भाइबहिनीहरूले तीन हजार, दुई हजार र एकएक हजारका दरले नगद र प्रमाणपत्रसहित सम्मानित हुने अवसर पाउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहालज्यू रहनुभएको थियो भने अन्य अतिथिहरूमा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी, आर सी रिजाल, धुर्व थापा लगायतका व्यक्तित्वहरू रहनुभएको थियो । कार्यक्रमको सञ्चालन बीपी इलामेले गर्नुभएको थियो भने आज वाचित कविताहरू माथि समीक्षा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले र सभाको अध्यक्षता अभिनव साहित्य समाजका उपाध्यक्ष विमलप्रसाद अर्यालले गर्नुभएको थियो । आजको कार्यक्रममा विष्णुचन्द्र अभिनव सर्वोत्कृष्ट गद्य कविता पुरस्कारका संस्थापक श्रीकृष्ण पुडासैनी र अभिनव लक्ष्मी देवी साहित्य सिरपा पुरस्कारका संस्थापक प्रदीप रत्न शाक्य दुवैको उपस्थिति रहेको थियो । अभिनव साहित्य समाजको नियमित रचनावाचन कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार दिनको १ बजे २५ वर्ष अगाडिदेखि सञ्चालित हुँदै आइरहेकोे छ र आज पनि रचनावाचनको कार्यक्रम सम्पन्न भयो । विद्यार्थी भाइबहिनीहरूको अतिरिक्त आज ३१ जनाले रचनावाचन गर्नुभयो । आज रचनावाचन गर्ने स्रष्टाहरूमा जुमन किरण, सुशील आचार्य, गङ्गाप्रसाद भेटवाल, खोलाधरे साहिँलो, ठाकुर खतिवडा, ओमप्रसाद कोइराला, निर्मलरमण पराजुली, महेश्वर खनाल क्रिस्टोफर कार्की, बद्रीप्रसाद सुवेदी, रिदिमा खतिवडा, सोनिया, निशा केसी, ऋचा, बुद्धिसागर पौडेल, सपना अधिकारी, बाजुराम पौडेल, मधुसुदनप्रसाद घिमिरे, सरिता दुलाल घिमिरे, भावना न्यौपाने, राजेशमान केसी, सङ्गीता गजुरेल, हरि डाँगी, गीता बराल, जी क ेएन खडेरी, दिवाकर न्यौपाने, नवराज पुडासैर्नी जोत्स्ना’, आरसी रिजाल धुर्वराज थापा पुरुष प्रदिप रत्न शाक्य गोविन्द घिमिरे वेदमणि लगायतका सर्जकहरू हुनुहुन्थ्यो । रचना वाचन गर्नेहरू मध्येबाट किस्टोफर काकीर्, सरिता दुलाल घिमिरे, गीता बराल, दिवाकर न्यौपाने र जुमन किरणलाई हौसला स्वरूप पुस्तक हस्तान्तरण गरियो । जुन पुस्तक प्रदीप रत्न शाक्यले उपलब्ध गराउनु भएको थियो । गोविन्द घिमिरे वेदमणिले समग्र रचनावाचनको समीक्षा गर्नुभएको थियो । प्रमुख अतिथि दाहालले आफ्नो पत्रकारिता र साहित्यप्रतिको संलग्नताबारे विभिन्न अनुभवहरू सुनाउनु भएको थियो साथै अभिनवको उत्तरोत्तर प्रगतिको कामनासहित पुरस्कृत श्रष्टाहरू र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।