Sunday, December 14, 2025

कवि खोलाघरे साहिंलोलाई छन्दकवि पुरस्कार अर्पण र कृति विमोचन

छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन
‎ ‎अभिनव साहित्य समाजको २८६ अ‍ौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा(६ मा सम्पन्न भएको छ । कार्यक्रमका सहजकर्ता अभिनवका सहकोषाध्यक्ष शारदा पराजुली ,अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि सभानायक,वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल प्रमुख आमन्त्रित ,स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरि,पुरुषोत्तम श्रेष्ठ ,रघुनाथ आचार्य ,शर्मिला तिमिल्सिना,खोलाघरे साहिंलो ,गुणराज आचार्य लगायत विशेष आमन्त्रित रहनुभएको कार्यक्रममा छन्द कवि खोलाघरे साहिंलोलाई नगद रु। १० हजारसहित सम्मानित गरिनुका साथै शर्मिला तिमल्सिनाको गजलसङ्ग्रह ूरहर जिन्दगीकोू को सामुहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिमाथि परशुराम पराशरले छोटो टिप्पणी र केही गजल वाचन गर्नुभयो । शर्मिला तिम्सिनाले धन्यवाद मन्तव्यका साथ सङ्ग्रहभित्रबाट केही गजल वाचन गरेर सुनाउनु भएको थियोे । ‎अभिनव साहित्य समाज तथा स्रष्टा पदयात्राका उपाध्यक्ष विमल अर्यालले खोलाघरे साहिंलाको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयो । पुरस्कृत कवि खोलाघरेले आफ्नो मन्तव्यमा यो पुरस्कारको कदर गर्न प्रयासरत रहिरहने बताउँदै एउटा छन्दोबद्ध कविता सुनाउनुभयो । पुरस्कार कोषका संस्थापक रघुनाथले बधाइ तथा धन्यवाद मन्तव्य दिनुभएको थियो । स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरि र गुणराज आचार्यले छोटो शुभकामना मन्तव्य दिनुभयो ।प्रमुख आमन्त्रित पुरुषोत्तम दाहालले धेरै सारगर्भित कुरा गर्दै कवि लेखक साहित्यकारहरूले अब देश खोज्ने,देश लेख्ने बेला आएको छ भन्नुभयो । ‎ सभानायक गोविन्द घिमिरे वेदमणिले पुरस्कार कोष सार्वजनिक श्राद्ध हो यो कोषबाट बद्रीनाथ आचार्यलाई धेरैले चिन्न पाएको र रघुनाथ आचार्य ,विमल अर्यालजस्ता कोष व्यवस्थापकहरूको साहित्य प्रवर्द्धनमा ठूलो योगदान रहेको बताउनुभयो ।
‎कार्यक्रममा कृष्णप्रसाद जस्ताघरे, ध्रुव गजुरेल ,सुरेशचन्द्र घिमिरे ,सरिता दुलाल घिमिरे ,प्रनिशा तामाङ ,विजया बस्नेत ,मेनका पोख्रेल आचार्य ,दिवाकर नेउपाने ( ९बद्रीनाथ आचार्यको रचना० ,रत्ननिधि रेग्मी ,पुरुषोत्तम श्रेष्ठ ९ गीतिकविता ०,शान्ति रिसाल ,भानुभक्त नेउपाने,घनश्याम प्रसाईं ,श्रीकृष्ण सिम्खडा,उत्तम विचार,पूनम घिमिरे आदि स्रष्टाले कविता,गजल,मुक्तक,भजन वाचन गर्नुभएको थियो । कवि वासुदेव पौडेलले खोलाघरेलाई दिएको कवितात्मक शुभकामना वाचन गर्नुभएको थियो । जय साहित्य १ २०८२/०८/२७
खोलाघरे साहिलोका कविता ---

Friday, December 5, 2025

सुभाषचन्द्र पौडेल भीमफेदीयाको प्यारो गाउँ भीमफेदी गीत सार्वजनिक ।

सुभाषचन्द्र पौडेल भीमफेदीयाको प्यारो गाउँ भीमफेदी गीत सार्वजनिक ।
भीमफेदीयाको गीत सार्वजनिक कार्यक्रम साहित्यिक पत्रकार सङ्घको आयोजनामा राधृश्याम लेकालीको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रविद एवं राजनीतिज्ञ हिरण्यलाल श्रेष्ठ विशेष अतिथि साझा प्रकाशनका अध्यक्ष शेखर गिरी अतिथिहरूमा अन्य युवराज मैनाली लगायतका साहित्यकार, संगीतकार सर्जकहरू रहनुभएको थियो । कार्यक्रममा गीतकार सुभाषचन्द्र पौडेल भीमफेदिया गायक संगीतकारको टोलीहरूमध्ये गायिका तृप्ति खड्का गुरुङ गायक संगीतकार विजय गुरुङ गीतको एरेन्जर नरेश पाण्डे संयोजनकर्ता प्र्रमोद नेपालसमेत उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि, विशेष अतिथि, सर्जकहरूलाई रुद्राक्षको माला लगाएर उषा केसी र अन्य साथीहरूले आसनग्रहण गराउन सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन दिप प्रज्वलन गरेर प्रमुख अतिथिको हातबाट गरियो । तत्पश्चात सुभाषचन्द्र पौडेल भीमफेदीयाको गीत प्रसारण गरियो । कार्यक्रममा आज प्रसारित गीतकी गायिका तृप्ती खड्का गुरुङ र संगीतकार विजय गुरुङले गायन, संगीतका विभिन्न पक्षहरूको बारेमा चर्चा गर्नुभएको थियो । उहाँहरूले स्रष्टासँगका अन्तरंग संवादहरूलाई पनि राख्नुभएको थियो । तत्पश्चात गीतकार र गीतको बारेमा समीक्षा युवराज मैनालीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने अर्का वक्ता उपन्यासकार किशोर पहाडीले तीसको दशकबाट लेख्न थालेका पौडेलको लेखनका विभिन्न पाटाहरूको उजागर गर्नुभएको थियो । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले समग्रमा नेपाली साहित्यलाई व्यवस्थित गर्न सबै पक्ष सक्रिय हुनुपर्ने कुरा राख्नुभयो । कार्यक्रमका आकर्षक व्यक्तित्व प्रमुख अतिथि हिरण्यलाल श्रेष्ठले यहाँ बसिरहँदा र गीत सुनिरहँदा आफू मकवानपुरको भीमफेदी पुगेको प्रसङ्गलाई उजागर गर्नुभएको थियो । आज बोल्नुहुने सबैले गीतको माध्यमबाट आफूहरू भीमफेदी पुगेको र यो कार्यक्रमलाई भीमफेदीमै सम्पन्न गर्न सकेको भए अझ राम्रो हुने विचार राख्नुभएको थियो । कार्यक्रमका सभापति लेकालीले सुभाषचन्द्र पौडेल भीमफेदीयालगायत पुराना सर्जकहरूका धेरै पक्षहरूलाई उद्धृत गर्नुभएको थियो । कार्यक्रम अनामनगरको डालो रेस्टुरेन्टमा सम्पन्न भएको र सञ्चालन श्रीराम बस्नेतले गर्नुभएको थियो । समीक्षकहरूले भीमफेदियाको गीति लेखन देशप्रेमले ओतप्रोत भएको र उनलाई सिद्धिचरण श्रेष्ठ जस्ता कविहरूसँग समेत तुलना गरिएको थियो । गीतले भीमफेदीका विभिन्न ऐतिहासिक सांस्कृतिक पर्यटकीय पक्षहरूलाई श्रोताको माझमा प्रस्तुत गर्न सफल भएको देखिन्थ्यो ।
लैनसिंह बाङदेलको उपन्यास मुलुक बाहिर muluk bahira #novel Lain Sing Bangdel
को हुन् प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल ? Dr. Khagendra Prasad Luitel Yubaraj Mainali #gangabhetwal

Wednesday, December 3, 2025

नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू - गङ्गाप्रसाद भेटवाल

नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू के तपाईहरू नेपाली भाषाका महत्त्वपूर्ण उपन्यासहरू बारे जानकारी लिँदै हुनुहुन्छ ? मैले विद्यावारिधीको अध्ययनका क्रममा अध्ययन गरेका केही नेपाली उपन्यासहरूका अडियोलाई पछिल्लो पुस्तासम्म सुन्न सकिने गरी केही उत्कृष्ट उपन्यासहरू रेकर्ड समेत गरेको छु । जो धेरै टाढा रहनुभएको छ बर्मा, मणिपुर हुँदै संसारका विभिन्न मुलुकहरूमा पुग्नुभएको छ । हजुरहरू समक्ष पुस्तकका प्रतिहरू पुग्न नसकिरहेको अवस्थामा नेपाली समाज विभिन्न समयमा कस्तो थियो र त्यो समाजको प्रतिबिम्बलाई नेपाली उपन्यासकारहरूले कसरी चित्रित गर्नुभएको छ ? त्यो बुझ्न यी उपन्यासका अडियोहरू निश्चय नै सहयोगी हुनेछन् हजुरहरूले यी उपन्यास सुनिसकेपछि आफ्ना नयाँ पुस्ताहरूलाई र आफ्ना छरछिमेकी साथीभाइहरूलाई पनि सुन्न मिल्ने गरी सेयर गरिदिनुहोला । विभिन्न समयका नेपाली समाजको र गोरखा समाजको यथार्थ चित्रण यी उपन्यासहरूमा छन् ।
उपन्यास विक्रम र नौलो ग्रह रमेश विकल

Thursday, November 20, 2025

चन्द्रागिरिमा पदयात्रा (यात्रा संस्मरण) –गङ्गाप्रसाद भेटवाल

चन्द्रागिरिमा पदयात्रा (यात्रा संस्मरण)
–गङ्गाप्रसाद भेटवाल स्रष्टा पदयात्रा नेपालको ९५ औँ पदयात्रा चन्द्रागिरि क्षेत्रमा तय भएको छ । मिति २०८२ असार ७ गते असार महिनाको पहिलो शनिबार परेको हुनाले चन्द्रागिरि नगरको गुर्जुधारा क्षेत्रबाट पदयात्राको कार्यक्रम प्रारम्भ गरी विभिन्न भागहरू किसीपिडी, चेकपोस्ट, चन्दनभराटेश्वर, मातातीर्थ, ढाक्सी, मच्छेगाउँ विष्णुदेवी मन्दिर घुम्दै तीनथानामा निस्किएर पदयात्रा सम्पन्न गर्ने उद्देश्य हुन्छ । स्रष्टा पदयात्रा नेपालले ९५ औँ पदयात्राको क्रममा चन्द्रागिरि नगरको भित्री भाग पैदल भ्रमण गर्ने योजना यसरी तय भएको हुन्छ । यहाँहरूलाई चन्द्रागिरि नगरपालिकाको बारेमा थोरै जानकारी राख्नु जरुरी ठान्दछु । चन्द्रागिरि नगरपालिका नेपालको बागमती प्रदेश काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ । यो नगरपालिका काठमाडौं जिल्लाभित्रको ठुलो नगरपालिका हो । मिति २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविक स्थानीय विकास मन्त्रालय हाल संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप गर्दा काठमाडौं जिल्लाको साविक थानकोट गा.वि.स, दहचोक गा.वि.स, नैकाप नयाँभञ्ज्याङ गा.वि.स, वाडभञ्ज्याङ गा.वि.स, बलम्वु गा.वि.स, महादेवस्थान गा.वि.स, तीनथाना गा.वि.स, सतुंगल गा.वि.स, मातातीर्थ गा.वि.स, मच्छेगाउँ गा.वि.स र नैकाप पुरानोभञ्ज्याङ गा.वि.स गरी जम्मा ११ वटा गाउँ विकास समितिहरूलाई समेटेर २५ वटा वडा बनाई चन्द्रागिरि नगरपालिका घोषणा गरिएको थियो । नेपालको संविधान अनुसार राज्य पुनःसंरचना आयोगको पुनःसंरचना पछि नेपाल सरकार, मन्त्री परिषद्को मिति २०७३ साल फागुन २२ गतेको स्थानीय तह पुनःसंरचना सम्बन्धी निर्णय २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भई चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो । नगरपालिकाको सिमानामा– पूर्वतर्फ काठमाडौं महानगरपालिका, काठमाडौं र कीर्तिपुर नगरपालिका, काठमाडौं, पश्चिमतर्फः– धुनिवेंशी नगरपालिका, धादिङ्ग, उत्तरतर्फ– नागार्जुन नगरपालिका, काठमाडौं र दक्षिणतर्फ– दक्षिणकाली नगरपालिका काठमाडौँ, थाहा नगरपालिका, मकवानपुर र इन्द्र सरोवर गाउँपालिका, मकवानपुर रहेका छन् । यात्राको प्रारम्भमा किसिपिडी क्षेत्रमा चन्द्रागिरि नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्र महर्जनको अगुवाईमा स्थानीय बासिन्दाद्वारा नेवारी परम्परा अनुसार तारेको माछा र उसिनेको अण्डा सगुन, टिका र फूलप्रसादी सहित न्यानो स्वागत गरिएको थियो । उक्त अवसरमा स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले पदयात्राको औचित्य र निरन्तरताका श्रृङखलाका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा पदयात्रा नेपालका तर्फबाट सम्मानित गरिएका स्थानीय समाजसेवी विक्रम पाण्डेका बारेमा पूर्व मेजर पुण्यबहादुर खड्काले प्रकाश पारेका थिए । सम्मानित व्यक्तित्व विक्रम पाण्डेले पनि समग्र चन्द्रागिरि नगरपालिका भित्रका धार्मिक सम्पदाहरूको बारेमा र चन्द्रागिरि नगरको अवस्थाको बारेमा संक्षिप्त जानकारी दिँदै स्रष्टा पदयात्रा नेपाललाई यस क्षेत्रलाई पदयात्राको कार्यक्रम अन्तर्गत राखेकोमा धन्यवाद दिएका थिए । पाण्डे पूर्व सुरक्षाकर्मी समेत हुनुहुन्छ । पूर्व सुरक्षाकर्मी परिषद् चन्द्रागिरिले कार्यक्रमलाई अप्ठ्यारो स्थिति नपरोस् भनेर दिनभरि नै साथ दिएको थियो । सो समारोहमा वडा अध्यक्ष राजेन्द्र महर्जन तथा पूर्व वडाध्यक्ष कान्छाभाइ महर्जनद्वारा चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडिका बारेमा बोल्दै विकास निर्माणका विषयमा चर्चा गरेका थिए साथै स्रष्टाहरूलाई आफ्नो वडामा स्वागत गर्न पाएकोमा हर्ष प्रकट गरेका थिए । रचनावाचन किसिपिडीमा गरिए पश्चात पदयात्री टोलीले स्थानीय जनकल्याण पुस्तकालयलाई पुस्तकहरू प्रदानगरी चेकपोष्ट हुँदै चन्दनभराटेश्वर महादेव मन्दिर पुगि मन्दिरको ऐतिहासिक महŒवका बारेमा जानकारी लिइएको थियो । सो समारोहमा स्थानीय रविन्द्र रिजालले मन्दिरको ऐतिहासिक महŒवका बारेमा जानकारी गराएका थिए । उक्त स्थानमा गाउँले बलदेव लगायतका केही कविहरूले रचनावाचन पनि गरेका थिए । पदयात्रा टोली त्यहाँबाट गुमाल चोकी स्थित जेष्ठ नागरिक सेवा केन्द्र पुगि पदयात्री विजया बस्नेतको सौजन्यमा तैयार पारिएको सुस्वादु भोजन ७५ जना पदयात्रीले ग्रहण गरे पश्चात सो ठाउँमा पनि रचनावाचन कार्यक्रम भएको थियो । सो अवसरमा सेवा केन्द्रका सल्लाहकार गोपालकृष्ण पौडेलले संस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा पदयात्रा टोलीले विविध पुस्तकहरू केन्द्रलाई प्रदान गरेको थियो ।
कार्यक्रम समापन पश्चात पदयात्रा टोली धार्मिक र ऐतिहासिक महŒव बोकेको मातातीर्थ पुगी आमाको प्रतिबिम्ब आमाको प्रतिमा र कुण्डको दर्शन गरी साहित्यिक गतिविधिमा संलग्न भएको थियो । मातातीर्थमा पनि उक्त क्षेत्रकोबारेमा रविन्द्र रिजालले विविध जानकारी दिएका थिए । सो स्थानमा पदयात्रा टोलीलाई स्वागत गर्न तथा साहित्यिक गतिविधिमा संलग्न हुनका लागि मच्छेगाउँस्थित नारायण जन माविमा अध्ययनरत विद्यार्थीहरू भेला भएका थिए भने उक्त विद्यालयका प्र.अ. शुरुदेखि नै हामीसँगै थिए । वि.सं. २००८ सालमा स्थापना भएर संचालनमा रहेको नारायण जन माविमा कार्यक्रमको आयोजना गरिएको थियो भने पदयात्रा टोलीलाई स्काउट ट्रुपद्वारा सम्मान र स्वागत गरिएको थियो । सोही विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद रुपाखेतीद्वारा कार्यक्रमको सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरू विवेक बुढाथोकीले मेरो देश नेपाल, प्रशान्त पाण्डेले गीत, रमित कोइरालाले देउडा, रश्मिता तामाङले कथा सुनाएका थिए । रचनावाचन गर्ने क्रममा विभिन्न ठाउँहरूमा स्थानीय स्रष्टाहरू, पदयात्रा टोलीका साहित्यिक व्यक्तित्वहरू र अन्य आमा बुबाहरूले पनि साथ दिनुभएको थियो । स्थानीयवासीहरूले ठाउँ–ठाउँमा स्वागत गर्दै आत्मियता प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय विभूति श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको शालिक निर्माण गर्न जनस्तरबाट महŒवपूर्ण भूमिका निर्वाह गर्ने ध्रुव बस्नेतलाई सम्मान गरिएको थियो । कीर्तिपुर वार्ड नं ४ स्थित तीनधारे क्षेत्रमा जनस्तरबाट राष्ट्र विभूतिको शालिक खडा गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेकोमा उक्त कार्यले राष्ट्रिय विभूतिको गरिमालाई अझ बढाउने ठहरसहित उहाँलगायत स्थानीय वासिन्दाको उदाहरणीय कामको प्रशंसा गर्दै उक्त सम्मान बस्नेतलाई गरिएको थियो । सो दिन स्रष्टाको रचनावाचन ५ ठाउँमा मिलाइएको थियो । अन्तमा चन्द्रागिरि साहित्य सरोवरको कार्यक्रम मुनाल क्लवको सभा कक्षमा भयो । मुनाल क्लबको कार्यक्रममा रचनावाचनका साथसाथै क्लबका अध्यक्ष पुष्कर थापा, चन्द्रागिरि साहित्य सरोवरका अध्यक्ष गोपीचन्द्र कार्की, चन्द्रागिरि साहित्य समाजका अध्यक्ष जनार्दन अधिकार्री धड्कन’, स्रष्टा पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्याल र स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले आफ्ना धारणा राखेका थिए । सो संस्थाबाट स्वागत गरिएपछि रचनावाचन र असारको पदयात्रा विधिवत रूपमा सुसम्पन्न भएको घोषणा गरिएको थियो । यस यात्रामा सहभागी स्रष्टा पदयात्री १. मन्दिरा मधुश्री, २. विमल अर्याल, ३. डा.बालचन्द्र मिश्र, ४. गङ्गाप्रसाद भेटवाल, ५. नानीबाबा अधिकारी, ६. दुर्गा भवानी भट्ट, ७. घनश्याम प्रसाई, ८. गीता रेग्मी, ९. जयराम बिडारी, १०. प्रतीक घिमिरे, ११. रुबि सत्याल, १२. वासुदेव ठकुरी, १३. एन.बी. जनकपुरी, १४. वासुदेव पौडेल, १५. ध्रुवराज थापा, १६. दीपक अर्याल, १७. माधवलाल श्रेष्ठ, १८. डा. यादेवी ढकाल, १९. बुद्धिसागर पौडेल, २०. अनिता कोइराला, २१. शुभाष ढुंगेल, २२. शोभा पोखरेल, २३. शुभाषचन्द्र पौडेल भीमफेदिया, २४. विष्णुप्रसाद रुपाखेती, २५. जनार्दन अधिकार्री धडकन’, २६. गाउँले बलदेव अधिकारी, २७. सरस्वती सरस, २८. तारा केशी, २९. बिष्णुप्रसाद शर्मा पराजुली, ३०. विजया बस्नेत, ३१. लक्ष्मी थापा, ३२. समिश्रण धारा, ३३. राधिका कल्पित, ३४. सङ्गीता खरेल, ३५. सरला तिमल्सीना, ३६ शकदेब उपाध्याय, ३७. हेमराज आश्रम पुन, ३८. समीर सिंह, ३९. रिता खत्री, ४०. तुलराज पाण्डेय, ४१ सावित्रा पाण्डेय, ४२. रविन्द्र रिजाल, ४३. श्याम अधिकारी, ४४. विक्रम पाण्डे, ४५. चेतना शर्मा, ४६. मि रमा (रमा सुवेदी) लगायतका साहित्यकार हुनुहुथ्यो । साहित्यकार प्रोल्लास सिन्धुलीय लगायतका केही स्रष्टाहरू अन्यत्रको कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले केही समयपछि उहाँहरू फर्किनुभएको थियो । यस यात्राको यात्रा संस्मरण लेखनको जिम्मेवारी गङ्गाप्रसाद भेटवालको, विविध सञ्चारमाध्यमहरूलाई एकीकृत समाचार सम्प्रेषण गर्ने जिम्मा जयराम बिडारीको रहेको हुन्छ । समग्र पदयात्राको भिडियो सामग्रीको सङ्कलन गर्ने जिम्मा गङ्गा भेटवाल युट्युब च्यानलद्वारा स्वीकार गरिएको थियो । स्रष्टा पदयात्री, शुभचिन्तक, स्थानीय समाजसेवी, सामाजिक अभियन्ताहरू सबैको सङ्ख्या गन्दा धेरै भए तापनि स्रष्टा पदयात्राको निश्चित अभियानमा सहभागी हुने साहित्यकारहरूसँग पदयात्रामा रु १०० (एक सय) लेबी स्वरूप लिने गरिएको हुन्छ । माथि उल्लिखित महानुभावहरूबाट यस यात्रामा रु ४६००(चार हजार छ सय) आर्थिक रकम समेत सङ्कलन भयो । यसरी सङ्कलित गरिएको रकमबाट संस्थाका विविध कार्यक्रमहरू सञ्चालन हुने र बेलाबखतमा यात्रा संस्मरणका कृतिहरू प्रकाशन गर्नुपर्ने अवस्थामा सहयोग पुग्ने गरेको छ ।
कविहरू भावनामा डुब्छन् । कहिले हावा बनेर सरर उड्छन् अनि कहिले ती भावनाहरूलाई जमाएर कडा पत्थर पनि बन्छन् । कविको परिभाषा गर्नु सजिलो छैन । जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि । रवि भनेको उज्यालो हो । कवि भनेको विचार हो । रवि र कविको एकदमै नजिकको सम्बन्ध हुन्छ । उज्यालो नपुगेको ठाउँमा पनि कविको चेत पुग्ने गर्छ अनि त्यो चेतसँगै त्यहाँ उज्यालो–उज्यालिन्छ । सहज परिस्थितिमा कवि सुते पनि हुन्छ । तर, जब आफ्नो समाज, बस्ती, जन्मभूमि र सिङ्गो अस्तित्वमाथि भयङ्कर सङ्कट उत्पन्न हुन्छ त्यतिखेर कविलाई अल्मलिने छुट हुदैन । अल्छी गर्ने छुट हुदैन । हो, कविसँग कुनै धनराश्ी नहुन पनि सक्छ । ऊसँग ठुल्ठुला हतियारहरू पनि हुँदैनन् । तर, कविको हातमा कलम हुन्छ, कविको मन निर्मल हुन्छ, मस्तिष्क बेजोड ढङ्गले चल्ने गर्छ । कलम, मन र मस्तिष्कको संयोगले यो संसारलाई बदल्न सक्ने क्षमता पनि कविसँगै हुन्छ । होमर, विलियम शेक्सपियर, रविन्द्रनाथ ठाकुर, दाँते, पाब्लो नेरुदा, रुमी, कालिदास, टिएस एलियट, विलियम वड्र्सवर्थ, माया एन्जेलो, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, इन्द्रबहादुर राई, विजय मल्ल, बालकृष्ण सम यी सबै कविहरू हुन् । यी कविहरूले समयलाई बोकेका छन् । भयङ्कर ठूलो समस्याका पहाडहरूलाई धारिला विचारहरूले चिरेर मैदान बनाएका छन् । चन्द्रमामा पुगेका छन् । मंगलमा पुगेका छन् । पृथ्वीको गर्भमा पुगेका छन् । सारा ब्रह्माण्डको लेखा–जोखा गरेका छन् र संसारलाई समय–समयमा दिशा निर्देश गरेका छन् । युगलाई जगाएका छन् । गतिशीलताको मार्गमा हिँड्न बाटो प्रशस्त गरेका छन् । कवि बाटो हो । कवि गन्तव्य पनि हो । कवि विद्रोह हो । कवि विद्रोहको समाधान पनि हो । कवि परिवर्तन हो । कवि स्थिरताको धोतक पनि हो । कवि आवश्यक परे बम बनेर पड्कन्छ, जब्बर जन्जिरहरूलाई ध्वस्त बनाउँछ । ज्वालामुखी जसरी विस्फोट हुन््छ, भयङ्कर चट्टानलाई चिरेर लावा बाहिर फाल्छ । कवि रकेट जसरी उड्छ, तीव्र गतिमा आकाश छेडेर माथि पुग्छ । कवि विश्वलाई नियन्त्रण गर्न सक्ने एकमात्र शक्तिशाली तागत हो । यस्तो शक्तिशाली तागत हरेक मानिसको मस्तिष्कमा सुसुप्त अवस्थामा रहिरहेको हुन्छ । यसलाई जगाउन सके संसार जुरुक्कै उठ्नेछ । स्रष्टा पदयात्रा नेपाल भनेको कविहरूको टोली हो । यो टोली आफू पनि जाग्दै गाउँ, बस्ती, देश र मानव जातिलाई जगाउन निरन्तर अगाडि बढिरहेको छ । यसभन्दा अगाडि स्रष्टा पदयात्रा नेपालले ९४ औँ पदयात्राको कार्यक्रम सम्पन्न गरिसकेको छ र ९५औ पदयात्राका क्रममा कविका पाइलाहरू चन्द्रागिरि नगरको माटोमाथि टेकेर अगाडि बढेका छन् । पदयात्रा टोलीले स्थलगत रूपमा भ्रमण गर्दा स्थानीय बासिन्दाहरूका भनाइहरूसमेतलाई आधार मानेर यात्रा संस्मरणमा ती कुराहरू उल्लेख गर्ने गर्छ । चन्द्रागिरि नगरपालिकाको नाम त्यस क्षेत्रमा अवस्थित चन्द्रागिरि डाँडाको नामबाट राखिएको हो । चन्द्रागिरि डाँडा काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम भागमा अवस्थित एक प्रसिद्ध पहाड हो, जुन ऐतिहासिक र धार्मिक दृष्टिले निकै महŒवपूर्ण मानिन्छ । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरू गर्नुअघि यही डाँडाबाट काठमाडौं उपत्यकाको भूगोल अवलोकन गरेका थिए भन्ने जनविश्वास छ । त्यसैले, स्थानीय पहिचान, भौगोलिक स्थान, ऐतिहासिक तथा सांस्कृतिक महŒवका आधारमा उक्त नगरपालिका गठन गर्दा “चन्द्रागिरि” नाम राखिएको हुनुपर्छ । यस नगरपालिकामा नेवार समुदायको बसोबास निकै सघन र प्रमुख रूपमा पाइन्छ । विशेषगरी पुराना बस्तीहरू — बोसीगाँउ, सतुंगल, गुर्जुधारा, किसिपिडी, मच्छेगाँउ, नैकाप, बलम्बु, मातातीर्थ, दहचोक, थानकोट लगायतका ठाउँहरूमा नेवार समुदायको ऐतिहासिक रूपमा बसोबास रहिआएको छ । नेवार समुदायको बसाइको अवस्था सांस्कृतिक रूपले सक्रिय देखिन्छ । नेवार समुदायले आफ्नो भाषा, लिपि (नेपाल भाषाको प्रयोग), परम्परा र संस्कारहरू आज पनि जगेर्ना गर्दै आएका छन् । उनीहरूका विभिन्न जात्रा, नाच, पूजापाठ, गुठी व्यवस्था अझै पनि सजीव छन् । गुठी परम्पराको कुरा गर्दा गुठी प्रणाली अझै क्रियाशील छ । सामूहिक रूपमा पूजाआजा, सामुदायिक काम, विवाह÷संस्कारहरूमा गुठीको महŒवपूर्ण भूमिका हुन्छ । उनीहरू आर्थिक रूपमा विविध पेशामा संलग्न छन् । पहिले कृषि, काठ÷माटोका परम्परागत व्यवसायमा निर्भर रहेका नेवारहरू अहिले व्यवसाय, सरकारी सेवा, पर्यटन, निर्माण, शिक्षा लगायत विभिन्न क्षेत्रमा आबद्ध छन् । चन्द्रागिरि हिल विकास परियोजना, केबलकार, होटल तथा पर्यटक व्यवसायमा पनि उनीहरूको उल्लेखनीय उपस्थिति छ । उनीहरूमा पछिल्ला दिनहरूमा शहरीकरणको प्रभाव पर्दैछ । तीव्र शहरीकरणका कारण पुराना नेवारी बस्तीहरूमा परम्परागत घर, बाटो, संस्कृतिमा धेरै नै असर परेको देखिन्छ । कतिपय ठाउँहरूमा नेवार समुदाय अन्य जात÷समुदायसँग मिसिएर बसेका छन्, जसले सांस्कृतिक विविधता ल्याएको छ । अबका दिनमा भने नेपाल भाषाको संरक्षणमा पनि चुनौती थपिँदै गएको छ । नयाँ पुस्तामा नेपाल भाषा (नेवारी) बोल्ने प्रवृत्ति केही कम हुँदै गएको छ, तर भाषा संरक्षणका लागि विभिन्न संघसंस्थाले काम भने गरिरहेका छन् । चन्द्रागिरि नगर क्षेत्रमा बस्ने नेवारहरूमा श्रेष्ठ, शाक्य, बज्राचार्यहरूले व्यापार, धार्मिक कार्य, पुरोहितको कार्य गर्ने गरेको पाइन्छ । ज्यापू –महर्जन, डंगोलले कृिषको, सांस्कृतिक अगुवाको काम गर्ने गरेको पाइन्छ । त्यसैगरि ताम्राकार, लोहाकार, सुनुवारहरूले धातु–कला, औजार निर्माण गर्ने गरेको पाइन्छ । नकर्मी, खड्गी, नाइले संस्कार, बलि परम्परा, कपाल काट्ने काममा आङ्खलो सक्रियता देखाएको देखिन्छ । चित्रकारले पौवा, देवी–देवताका चित्र बनाउने गरेको पाइन्छ । चन्द्रागिरि नगरपालिकाभित्रको नेवार समुदाय सामाजिक, सांस्कृतिक र पेशागत रूपमा धेरै उपसमूहमा विभाजित भएपनि यी उपसमूहहरूबीच पारस्परिक सहयोग, गुठी परम्परा, जात्रामा सहकार्य जस्ता विषयहरू आज पनि जगेर्ना भइरहेको पाइन्छ । ऐतिहासिक रूपमा यो क्षेत्रमा नेवार समुदायको बाहुल्य भएको भए पनि हाल मगर लगायत अन्य आदिवासी जनजातिहरू पनि सक्रिय रूपले यहाँ बसोबास गर्दै आएका छन् । सतुंगल, थानकोट, ढाक्सी, मातातीर्थ, नागढुङ्गा, दहचोक, थानकोट आदि क्षेत्रमा मगर समुदायको साना–ठूला बस्तीहरू रहेका छन् । सडक र सुविधासम्पन्न क्षेत्रहरूमा पनि मगर परिवारहरू अन्य जातसंग मिलेर बसेका छन् । मगरहरूलाई उनीहरूले बोल्ने भाषाका आधारमा तीन भागमा राखेर अध्ययन गरेको देखिन्छ । (१) पर्वते मगर ः जसको मुख्य भाषाः नेपाली हुन्छ । उनीहरू पश्चिम नेपाल (गोरखा, पाल्पा, स्याङ्जा, गुल्मी) बाट स्थानान्तरण भई आएका मगरहरू हुन् । चन्द्रागिरि नगरमा सबैभन्दा बढी पाइने मगरको समूह यही हो । (२) धुत मगर ः मुख्य भाषाः धुत बोली बोल्छन् जो रोल्पा, रुकुम, बागलुङ, म्याग्दी क्षेत्रबाट आएका मगरहरू हुन् । चन्द्रागिरि नगरमा सीमित संख्यामा यो समुदाय देखिन्छन् । (३) कायात वा खाम मगर ः जसले मुख्य भाषामा खाम मगर भाषा बोल्छन् । यिनीहरू पूर्वी रुकुम, सल्यान, डोल्पा आदि क्षेत्रबाट आएका मगरहरू मानिन्छन् । चन्द्रागिरि नगरमा कम संख्यामा भए पनि यिनीहरू भेटिन्छन् । मगर समुदायमा थुप्रै थर पाइन्छन् । चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने मगरहरूको सामान्यतया यस्ता थर देखिन्छन् ः सामान्य थरहरू थापा, आले, पुन, राना, बुढा, घर्ती, रोका, सिङ्गी, छन्त्याल पाइन्छन् । यी थरहरू मगर समुदायको पारिवारिक पहिचान जनाउँछन् र जातीय गर्वसँग जोडिएका छन् । थरगत हिसावमा आले मगरका गाँउहरू यस नगरमा धेर ठाउँमा छन् । संस्कृतिमा रोधी घर, चण्डी नाच जोगाउन मगरहरू सक्रिय नै छन् । चन्द्रागिरि नगरपालिकामा तामाङहरूको पनि उल्लेख्य मात्रामा बसोबास रहेको पाइन्छ । विशेषगरी ग्रामीण क्षेत्रहरूमा, पहाडी भूभागहरूमा ससाना प्रकारका घरहरू बनाएर, कृषि कर्मसमेतलाई निरन्तरता दिँदै तामाङ समुदाय बस्दै आएको देख्न पाइन्छ भने हालका दिनमा उनीहरूले रोजगारी, व्यवसाय र अन्य अवसरको खोजीमा संसारका धेरै ठाउँहरूमा पुगेर आर्थिक अवस्थालाई मजबुत बनाएको समेत देख्न पाइन्छ । तामाङ समुदायमा भाषा र क्षेत्र अनुसार केही भिन्नता हुन्छ, जसमध्ये चन्द्रागिरिका तामाङहरू प्रायःः सल्ले तामाङ (यो समूह प्रायः काठमाडौं उपत्यका आसपासका क्षेत्रहरूमा पाइन्छ ) र मूल तामाङः (पहाडी र हिमाली क्षेत्रमा रहेका तामाङहरूको छरिएको उपसमूह) दुबै समूहका पाइन्छन् । चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने तामाङ समुदाय विविध थर र उपसमूहमा बिभाजित छ, जसले उनीहरूको सांस्कृतिक पहिचान र सामाजिक संरचनालाई दर्शाउँछ । उनीहरू मुख्यतया बौद्ध धर्म मान्ने भए पनि परम्परागत सांस्कृतिक र धार्मिक पेसामा संलग्न समूहहरू पनि छन् । यसैगरि चन्द्रागिरि नगरपालिकामा दलितहरूको पनि उल्लेख्य बसोबास भएको देखिन्छ । हुन त पछिल्लो दिनमा दलित शब्दको प्रयोग समाजमा उचित मानिदैन तैपनि नेपालको संविधान (२०७२)मा यी शब्दहरूलाई कुनै न कुनै रूपमा स्थान दिइरहेको देखिन्छ । नेपालको संविधान (२०७२) भाग २७ धारा २५५ मा राष्ट्रिय दलित आयोग र धारा २५६ मा राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार भनेर उल्लेख गरिएको छ । यो संवैधानिक व्यवस्थालाई उचित शब्दहरूले लक्षित वर्गहरूप्रति सेवा पु¥याउने गरी शब्दहरूमा पुनर्विचार गर्न सके समता र समानतामूलक समाजको निर्माणमा अझ थप टेवा पुग्ने देखिन्छ । संवैधानिक व्यवस्थाको प्रभाव अनुसार हरेक पालिकाहरूको वडा कार्यालयहरूमा दलित सदस्य भनेर नाम झुण्ड्याउनुपर्ने अवस्था देखिन आएको छ यसले समानतामा धेरथोर धक्का पुर्याएको जस्तो महसुस हुन्छ । चन्द्रागिरि नगरपालिकामा दलित समुदायको बसोबासको सन्दर्भमा, २०११ को जनगणना अनुसार, नगरपालिकामा विभिन्न जातीय समुदायका मानिसहरू बसोबास गर्दछन् । यसमा कामी, सार्की, दामाई÷ढोली, चमार÷हरिजन÷राम, बादी, धामी÷झाँक्री लगायतका दलित जातिहरू समावेश छन् । चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाहरूमा दलित समुदाय बसोबास गर्छन् । धेरैजसो दलित परिवारहरू गाउँमा वा शहरी क्षेत्रमा साना टोल, बस्ती वा झुपडीमा बसोबास गर्छन् । परम्परागत रूपमा दलितहरू पिछडिएका क्षेत्रहरूमा, बजार नजिक तर सीमित ठाउँमा बस्न बाध्य भएका छन् । शहरीकरणसँगै, केही दलित परिवारहरूले पक्की घर र आवासीय क्षेत्रमा स्थानान्तरण पनि गरेका छन् । दलित समुदायका धेरै सदस्यहरू कृषि मजदूरी, घरायसी काम, निर्माण मजदूरी, र केही परम्परागत पेशामा संलग्न छन् । शिक्षामा पहुँच बढ्दै गएको छ, तर अझै पनि आर्थिक अभाव र सामाजिक भेदभावका कारण शिक्षामा चुनौतीहरू छन् । विभिन्न सरकारी र गैर–सरकारी संस्थाहरूले दलितहरूको उत्थानका लागि कार्यक्रम संचालन गरिरहेका छन् । दलित समुदायले आफ्ना परम्परागत संस्कार र चाडपर्वहरू मनाउने चलन जारी राखेका छन् । सामाजिक रूपमा अझै पनि केही भेदभावको सामना गर्नुपर्छ, तर समावेशीकरण र सचेतनाका कारण सुधार हुँदैछ । शिक्षा र राजनीतिको क्षेत्रमा यस क्षेत्रका दलितहरू अत्यन्त क्रियाशील भएर पनि लागेका देखन्छन् । उनीहरूले समाज परिवर्तन गर्न शिक्षा र राजनीतिमा नै सुधार गरिनुपर्छ भन्ने बुझेर त्यो अभियानलाई जोडतोडका साथ अगाडि बढाएको देखिन्छ । चन्द्रागिरि नगरपालिकामा खस–आर्य समुदायको पनि बसोबास छ । उनीहरूको बसोबास सबल, शिक्षित र सामाजिक रूपमा प्रभावशाली समूहका रूपमा रहेको छ । उनीहरूको व्यापक उपस्थिति नगरपालिकाको सामाजिक संरचना र सि¨ो देशको विविध क्षेत्रमामा ठूलो प्रभाव पार्ने खालको छ । खस–आर्य भन्नाले सामान्यतः ब्राह्मण, क्षेत्री, ठकुरी, सन्यासी दलित लगायतका पहाडी मूलका जातहरू बुझिन्छ । ब्राह्मण (शर्मा, जोशी, भट्ट, पोखरेल, अर्याल, न्यौपाने, भेटवाल, आचार्य, आदि), क्षेत्री (विष्ट, केसी, गिरी, रावल, बस्नेत, खड्का, थापा, मल्ल आदि) ठकुरी (राजपूत मूलका क्षेत्री उपसमूह जसमा हमाल, मल्ल, शाही आदि) खस–आर्य समुदाय मानिन्छन् । खस आर्य समुदाय शिक्षा क्षेत्रमा अग्रणी छ । धेरैजसो परिवारका सदस्यहरू सरकारी सेवा, सेना, प्रहरी, शिक्षक, इन्जिनियर, डाक्टर, वकिल आदि पेशामा संलग्न छन् । युवा पुस्ताले विदेश अध्ययन तथा रोजगारी पनि अपनाएका छन् । यो समुदाय आर्थिक रूपमा धेरै हदसम्म स्थिर र सबल छ । चल–अचल सम्पत्ती, व्यवसाय र पेशागत हिसाबले उनीहरू अग्रस्थानमा छन् । काठमाडौंको शहरी विस्तारसँगै धेरै खस–आर्य परिवारले जग्गा–जमिनको व्यापार, निर्माण व्यवसायमा समेत लगानी गरेको देखिन्छ । यस नगरको राजनीतिमा खस–आर्य समाजको पकड राम्रो छ । खस–आर्य समुदायले आफ्नो परम्परागत वैदिक÷हिन्दू धर्म, पूजा–संस्कार, जात्रा, तिथिहरू अनुसरण गर्छन् । दशैं, तिहार, तीज, जनैपूर्णिमा, हरितालिका, शिवरात्रि आदि पर्व विशेष रूपमा मनाउने गरिन्छ । उनीहरू सामाजिक संघ–संस्था, आमा समूह, क्लब, मन्दिर निर्माणमा अग्रसर छन् । दलित समुदायहरू पनि खस–आर्य समुदायका अभिन्न अङ्गका रूपमा रहेका पाइन्छन् तर माथि दलितहरूको छुट्टै व्याख्या गरिएको हुनाले यहाँ त्यो पक्षलाई जोडिएको छैन ।
यस क्षेत्रमा तराई मूलका बासिन्दाको बसोबास पनि बढ्दै गइरहेको पाइन्छ । बसाइँ सरेर स्थायी प्रकृतिले बसोबास गर्ने तराई मूलका मानिसहरूको सङ्ख्या यस क्षेत्रमा कम पाइए पनि अस्थायी रूपमा बसोबास गर्ने तराई मूलका मानिसहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । चन्द्रागिरि नगरपालिका विशेषगरी सतुंगल, थानकोट, मातातीर्थ, नागढुङ्गा र सडक–केन्द्रित क्षेत्रहरूमा तराई मूलका मानिसहरूको बसोबास विस्तार भइरहेको छ । उनीहरू मुख्यतया भाडाको घर, सस्तो प्लटमा बनाइएका घर, वा केही आफ्नै निर्माण गरिएका पक्की घरहरूमा बसोबास गरिरहेका छन् । यो समुदाय स्थायी बसोबास गर्न आउनेसँगै अस्थायी (जस्तो–पढ़ाइ, व्यापार, रोजगारी) रूपमा बस्ने पनि रहेको देखिन्छ । तराई मूलका धेरै मानिसहरू सानातिना व्यवसाय (किराना पसल, फलफूल, माछा पसल, लत्ता कपडा), ठेला व्यवसाय, सिलाइ÷कटाइ, मिस्त्री काम लगायतमा संलग्न देखिन्छन् । केहीले जग्गा किनेर निर्माण व्यवसाय, ट्रान्सपोर्ट, होटेल÷लज सेवा पनि सञ्चालन गरिरहेका छन् । थोरै संख्यामा सरकारी सेवा वा शैक्षिक क्षेत्रमा कार्यरतसमेत पाइन्छन् । तराई मूलका मानिसहरूले आफ्ना परम्परागत चाडपर्वहरू (जस्तैः छठ, होली, दिवाली, समा–चकेवा, ईद, बकर–ईद आदि) चन्द्रागिरिमै मनाउँछन् । कोही भने आङ्खनो गाउँतिर पनि जान्छन् । चन्द्रागिरिमा मैत्रीपूर्ण सह–अस्तित्व रहेको छ—स्थानीय पहाडी जातहरू (नेवार, खस, तामाङ आदि) सँग पनि सामाजिक मेलमिलाप बढ्दै गएको छ । तराई मूलका समुदायलाई स्थायित्व, पहुँच र पहिचानको विषयमा केही अप्ठ्यारो परेको देखिन्छ । चन्द्रागिरि नगरपालिकामा विदेशी मुलुकका नागरिकहरूको बसोबास पछिल्ला दशकमा विस्तार भएको छ, विशेष गरी काठमाडौं उपत्यकाको शहरी विस्तार र अन्तर्राष्ट्रिय चासोका कारण चन्द्रागिरि नगर काठमाडौं महानगरको पश्चिमपट्टि अवस्थित भएकाले यहाँ विदेशी नागरिकहरूको अस्थायी वा दीर्घकालीन बसोबास उल्लेखनीय रूपमा देखिन थालेको हो । चन्द्रागिरि नगरपालिका स्थल मार्गबाट सवारी साधन हुँदै आउने सबैभन्दा ठूलो नाकाको प्रवेश बिन्दुको नगरपालिका भएको हुनाले विश्वका विभिन्न देशहरूबाट बैध र अवैध मानिसहरू यहाँसम्म आएर बस्ने गरेको पनि देखिन्छ । यहाँ भारत, चीन (विशेषगरी बौद्ध धर्म अध्ययनका लागि) अमेरिका, युरोपेली मुलुकहरू (आइ एन् जिओमा काम गर्न, अध्यापन, अनुसन्धान, धर्मिक कार्य आदि कारणले), कोरिया, जापान (धर्मिक वा परियोजना सहयोग गर्न) आएका देखिन्छन् । तिब्बती मूलका शरणार्थीहरू पनि विभिन्न स्थानमा पाइन्छन् । ्विदेशी मुलुकका वासिन्दाहरूले यस क्षेत्रमा केही सहयोग पु¥याएको पनि देखिन्छ, जस्तै सांस्कृतिक आदानप्रदानमा सहयोग पु¥याएका छन् (बौद्ध दर्शन, योग, कला आदि) । केहीले स्थानीय पर्यटन, होटल व्यवसाय, हस्तकला क्षेत्रमा लगानी पनि गरेका छन् । नेपाली भाषाको शिक्षामा रुचि राख्ने विदेशीहरू पनि बढिरहेका पाइन्छन । चन्द्रागिरि नगरपालिका उपत्यकाको ठूलो नगरपालिका हुनु, यहाँ धेरै खुला ठाउँहरू पाइनु, उद्योग कलकारखाना पनि हुनु र धेरै अवसर पनि पाइनुले देश र विदेशबाट आउने विभिन्न जाति, धर्म, समुदायका मानिसहरूको आकर्षण यहाँ धेरै देखिन्छ । सिङ्गो चन्द्रागिरि नगरपालिकामा विभिन्न देवीदेवताका मन्दिरहरू÷तीर्थस्थलहरु अस्तित्वमा रहेका छन् । एक नम्बर वार्डदेखि १५ नम्बर वार्डसम्म ठाउँ–ठाउँमा देवालयहरू रहेका र ठाउँ–ठाउँमा भजन गृहहरू रहेका भेटिन्छन् । नेपाली, नेवारी र विविध भाषमा सांस्कृतिक महŒवका महिमाहरू भजनको माध्यमबाट गाइने गरेको पनि देखिन्छ । संसारभर तीर्थस्थलको रूपमा चन्द्रागिरि नगरलाई परिचित गराउने तीर्थस्थलहरूमध्ये भालेश्वर महादेवको मन्दिर र मातातीर्थ कुण्ड क्षेत्र नै मुख्य रूपमा रहेका देखिन्छन् । अरू तीर्थस्थलको पनि उत्तिकै महŒव भने कायम छ । भालेश्वर महादेवको मन्दिर चन्द्रागिरि डाँडाको माथि रहेको छ जहाँसम्म जान केवलकारकोसमेत व्यवस्था भएको छ । मातातीर्थ कुण्डमा भने गुर्जुधारा, सतुङ्गल, थानकोट, कीर्तिपुर, तीनथाना लगायतका ठाउँबाट सडकका माध्यमबाट सवारी साधन लिएर अथवा पैदलै पनि जान सकिने अवस्था छ । धार्मिक आस्थाको दृष्टिकोणबाट चन्द्रागिरि नगरपालिका हिन्दू धर्मवलम्बीहरूको बाहुल्यता रहेको क्षेत्र देखिन्छ भने बौद्ध धर्मावलम्बीहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा रहेको पाइन्छ । अन्य धर्मलम्बीहरूको सङ्ख्या यहाँ नगन्य मात्रामा रहेको देखिन्छ । अबका दिनमा सिङ्गो नगरपालिकाको नेतृत्वले यस नगरभित्र बसोबास गर्ने सबै जाति, समुदायका मानिसहरूको भावनालाई सम्मान गर्दै विकास निर्माणको बाटोमा सबैको सहभागिता जुटाउँदै अगाडि बढ्नुपर्ने देखिन्छ । पदयात्राकै क्रममा स्थानीयहरूसँग छलफल, अन्तरक्रिया गर्ने सवालमा पहिलाका समयमा मतदानका प्रक्रियामा पनि भोट माग्नेहरूले÷उम्मेदवारहरूले सम्धी, जेठान, भान्जाभान्जी आदिको सम्बन्धका माध्यमबाट मतदाताहरूलाई भोट माग्ने र भोट दिने गरेको देखिन्छ भने पछिल्ला दिनमा शिक्षाको विकास हुँदै जानु, विकास निर्माणका कुरामा निष्पक्षता हुनुपर्छ भन्ने कुराको बोध हुँदै जानुले राजनीतिमा नातावाद, कृपावाद भन्दा पनि निष्पक्ष रूपमा विकास निर्माणका कामलाई प्राथमिकता दिनुपर्छ र पढेलेखेका, इमान्दार, स्वच्छ छवि भएका व्यक्तित्वहरूको चयन गर्न सक्नुपर्छ भन्ने कुरा देखिएको पाइन्छ । विकास, राजनीति र भ्रष्टाचारको सम्बन्धका बारेमा स्थानीयहरूसँग प्रतिक्रिया लिन खोज्दा भ्रष्टाचार र खराव शासन राज्यको सबैभन्दा ठूलो शत्रु हो । यसले देशलाई तहस नहस बनाएको छ भन्ने उहाँहरूको प्रतिक्रिया रहेको पाइयो । केही सन्दर्भमा उहाँहरू मौन पनि रहनु भयो । (श्रोत ः अध्ययन भ्रमण, विभिन्न पुस्तक तथा अनलाइन) ॐ कीर्तिपुर नगरपालिका ४ काठमाडौँ ।

Friday, November 14, 2025

मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रामा सहभागी हुने स्रष्टा - शीतल गिरी

मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रामा सहभागी हुने स्रष्टा ८.३० बजे अघि नै साँगा चोकमा आइपुग्नु पर्नेछ । ठीक समयमा त्यहाँबाट दक्षिणतर्फ रहेको प्रसाई ट्रस्ट कल्याण कोषको साण्डिल्य ग्राम शनिधाम, काक्राबारी पदयात्रा गर्दै जानेछौं । यस यात्रामा सम्मान, यात्राको पुस्तक बाइस पाइला पनि लोकार्पण गरिनेछ । यो भव्य कार्यक्रम रहेकोले संस्थापक, आजीवन लगायत सम्पूर्ण स्रष्टा पदयात्रीको सहभागीता रहने अपेक्षा गरिएको छ । यात्रामा सहभागी हुन १. विनोद नेपाल, २. दुर्गा भवानी भट्ट, ३. डा.बालचन्द्र मिश्र, ४. प्रतीक घिमिरे, ५. ध्रुबराज थापा पुरुष, ६. विमल अर्याल, ७. वासुदेव पौडेल, ८. नारायण भण्डारी जनकपुरी, ९. विष्णुप्रसाद शर्मा पराजुली, १०. नवराज रिजाल, ११. गंगाप्रसाद भेटवाल, १२ं मन्दिरा मधुश्री, १३. दिपक लोहनी, १४. एञ्जल निलु, १५. डा.शावित्री श्रेष्ठ, १६. महेन्द्र चालिसे, १७. बद्रीनाथ पौडेल, १८. शम्भुप्रसाद चालिसे (कुमार), १९. शीतल २०. डिल्लीरमण सुवेदी, २१. राजन पुडासैनी, २२. नानीबाबा अधिकारी, २३. वसन्त रिजाल, २४. खोलाघरे साहिंलो, २५. डा.धनप्रसाद सुवेदी, २६. डा.गणेश घिमिरे, २७ घनश्याम प्रसाई, २८. निशा केशी, २९. जुमन किरण, ३०. अप्सरा ढकाल, ३१. शान्ति सापकोटा, ३२. अनिता कोइराला, ३३. सुभाष ढुङ्गेल, ३४. शारदा पराजुली, ३५. परशुराम पराशर, ३६. विष्णु खनाल, ३७. डा.यादेवी ढकाल, ३८. लक्ष्मी थापा, ३९. वासुदेव ठकुरी, ४०. दुर्गा घिमिरे, ४१. शोभा शरभ, ४२. अभय श्रेष्ठ, ४३. जयराम विडारी, ४४. रुवी सत्याल, ४५. हरिष कल्पित, ४६. माधव घिमिरे अटल, ४७. विजया बस्नेत, ४८. नारायण जोशी, ४९. विना नेमकूलको नाम प्राप्त भएको छ । यस यात्राको संस्मरण लेखन जिम्मेवारी घनश्याम प्रसाई, प्रतीक घिमिरेको रहनेछ । धन्यवाद । अगाडिका पदयात्राका कार्यक्रम तल उल्लिखित भिडिओहरूमा हेर्न सकिन्छ है ।

Friday, October 24, 2025

९९औं पदयात्रा नुवाकोट - शीतल गिरी - (मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रा पलासे )

२०८२ कार्तिक १ गते विहान बालाजु माछापोखरी चोकमा जम्माभएर बासुदेव पौडेल, माधवलाल श्रेष्ठ, शीतल गिरी, ध्रुवराज थापा पुरुष, मन्दिरा मधुश्री, डा।शशी थापा पण्डित, डा।बालचन्द्र मिश्र, दुर्गा भवानी भट्ट, घनश्याम प्रसाई, डा।सावित्री श्रेष्ठ, निशा केशी, रामकुमार पण्डित, जुमन किरण, नानीबाबा अधिकारी, परिच्छेद सेन, खोलाघरे साहिलो र शुभारम्भ पाण्डे ७ जना ८ बजेको समयमा व्यवस्था गरिएको बसमा चढेर झोरको बाटो भएर नुवाकोटको बेलकोट प्रस्थान गरेका थियौं । गङ्गटे हुँदै अनवरत चार घण्टाको यात्रापछि बेलकोट गुग्यौं । बेलकोटगढि नेपाल एकिकरणको समयमा काठमाण्डौंका राजा जयप्रकाश मल्लको राज्यको सामरिक महत्त्वको एक गढी थियो । यताका नौ वटा कोटको अधिपति थिए जयन्त राना । यस गढीमा भएको युद्धमा जयन्त राना समातिए । उनै जयन्त रानाको बहिनप् निरञ्जना साक्षात भगवती रहेको थाहा पाएपछि बडा महाराजाधिराज पृथ्वीनारायण साहले ३ दिनमा नै गढी मर्मत गराउँनुको साथै निरञ्जना भगवती स्थापनागरी आकर्षक मन्दिर बनाएको जानकारी जयन्त रानाको खलकका मानबहादुर रानाले जानकारी गराए । गढी, कोट र मन्दिर अवलोकन गरेपश्चात मन्दिर परिसरमा गरिएको कार्यक्रमको सञ्चालन स्थानीय दिक्षा लामाबाट भएको थियो । स्रष्टा पदयात्राको बारेमा डा।बालचन्द्र मिश्रले जानकारी गराउँनु भयो भने स्थानिय स्रष्टा पदयात्री मन्दिरा मधुश्री, माधवलाल श्रेष्ठ, ध्रुवराज थापा पुरुष, रामकुमार पण्डित अनी स्थानिय स्रष्टाबाट पनि रचना वाचन भएको थियो । स्थानियले प्रस्तुत गरेका ख्याली भजन र नृत्य आकर्षक बन्न पुगेको थियो ।
बेलकोटगढीको कार्यक्रम पश्चात चिया बिसकुट खाएर बाघखोरमा पुग्दा दिनको २ बज्यो । खाना खाएपछि स्रष्टा पदयात्रीलाई त्यहाँ रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य स्वागत गरियो । अनि पदयात्री स्थानीयहरूका साथमा महादेव माध्यमिक विद्यालय भवनमा पुग्यौं र कार्यक्रममा सहभागी बन्यौ । यस स्थानमा भएको कार्यक्रमको सञ्चालन पनि दिक्षा लामाबाट भएको थियो । यहाँ ९९ स्रष्टा पदयात्राको संयोजक दुर्गा भवानी भट्टले यात्राबारे आफ्नो धारणा राखेको यस कार्यक्रमा स्रष्टा पदयात्राको तर्फबाट डा।शशी थापा पण्डित, डा।बालचन्द्र मिश्र, निशा केशी, डा।साबित्री श्रेष्ठ, जुमन किरणको रचना वाचन थियो । स्थानिय स्रष्टाले कविता, गित, नृत्य र भजन प्रस्तुत गरेर स्रष्टा पदयात्रीको मन जित्न सकेका थिए । बाघखोरमा कार्यक्रम सकेर झमक्क साँझ पर्नु अघि हामी झिल्टुङ पुग्यौं । त्यहाँ हाम्रो प्रतिक्षा महाकवि देवकोटा प्रतिष्ठानका मित्रहरूले हेरिरहनु भएको थियो । आज नै कुञ्जिनी पार्कमा महाकवि देवकोटाको शालिक अनावरण गरिएको थियो । समय व्यवस्थापन हुन नसक्दा हामी सो समारोहमा सहभागी हुन सकेनौं । काठमाडौंबाट आएका पाहुना साहित्यकारहरू पनि फर्किसकेका थिए । साझपख स्थानीय र स्रष्टा पदयात्रीबीच परिचयात्मक कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरियो । यहाँ मेरो पुर्व परिचित आफन्त सरस्वती गिरीसँग भेट हुनपुग्यो । खानपिन पश्चात आयोजनले व्यवस्था मिलाउनु भएका स्थानीयको घरघरमा बाँडिएर हामीले आराम गर्नुको साथै त्यहाँको बारेमा धेरै कुरा बुझ्न पायौ । भोली पल्ट विहान यानी २ गते कार्तिक ७।३० बजे राती भोजन गरेकै होटलमा भेला भएर चिया विस्कुट पछि झिल्केश्वर सहादेव सहकारी संस्थाको स्वागत ग्रहण गरी टीका थापेर स्थानीय जनसमुदाय, महाकवि देवकोटा प्रतिष्ठानका पदाधिकारी, वडाअध्यक्ष र प्रहरीहरुको साथमा गाउँघर अवलोकन गर्दै, गोसाइकुण्ड जाने पुरानोबाटो बारे जानकारी लिदै डाँडामा रहेको पोखरी रमणिय वनपाखा हेर्दै झिल्केश्वर महादेव झिल्केश्वर महादेव थानको दर्शन गर्दै झण्डा पार्क भनिने अग्लो डाँडामा पुग्यौं । यस डाँडाबाट ६ जिल्ला हेर्न सकिने रहेछ, तर हामीलाई प्रकृतिले छल्यौं । आजै बिहानदेखि कुहिरो लाग्नाले हेर्न पाएनौं । एकै क्षण मौसम खुलेको समय त्यहाँबाट देखिने हिमालभने हेर्न पायौं । अनी फर्किएर कुञ्जिनी पार्कतिर लाग्यौं र ९ बजेतिर पुग्यौं । यो कुञ्जिनी पार्कको नजिकै देवकोटाको मावली ससुराली घर, जो २०७२ को भुकम्पले भत्किएछ, सोहि घरमा बसेर एकै रातमा देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेका थिए । बेलकोटगढी न पा वडा नं ५, नगरपालिका र पर्यटन मन्त्रालयको समवेत प्रयास र लगानीमा सो घरमा सिमा जोडिएको कुञ्जिनीपार्क बनेको रहेछ । यो पार्कमा देवकोटा प्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेर हिजो १ गते अनावरण गरिएको देवकोटाको शालिकलाई साक्षी राखेर रचनावाचन गरेका थियौं । मन्दिरा मधुश्रीले संचालन गरेको रचनावाचन कार्यक्रममा दुर्गा भवानी भट्ट, घनश्याम प्रसाई, वासुदेव पौडेल, नानीबाबा अधिकारी, खोलाघरे साहिलोबाट कविता वाचन गरियो । कार्यक्रम पश्चात आधा घण्टाजति पैदल ओरालो ओर्लिएर तल सडकसम्म आयौं । त्यहाँ स्रष्टा पदयात्रीले रोटेपिङ पनि खेले । झिल्केश्वर महादेव सहकारी संस्था र महाकवि देवकोटा प्रतिष्ठान,बालकोटगढी न पा वडा नं ५ का सदस्यहरू र वडावासी लगायतबाट हामीलाई अगुवाइ गरिएको छ । ठाउँठाउँका बारेमा उहाँहरूले हामीलाई जानकारी दिइरहनुभएको थियो । तीनजना प्रहरी पनि हाम्रो टीमका साथमा पदयात्रामा साथै हुनुहुन्थ्यो । रोटेपिङ खेलेर भैंसीको दूध, बेस्सरी तताएको स्रष्टा पदयात्रीलाई थपीथपी खान दिइन्छ । त्यसपछि बिहानको ३ घण्टाजतिको पदयात्रा सकिन्छ, हामी त्यहाँका स्थानीयबाट विदा भएर बसमा चढ्छौं । ‎नारायण नेपाल महाकवि देवकोटा प्रतिष्ठानका सचिवको साथमा स्रष्टा पदयात्री देवीघाट पुग्छौं । त्यहाँ ज्येष्ठ नागरिक सेवा भवनमा भोजनको व्यवस्था गरिएको हुन्छ । सुस्वादु भोजनबाट सन्तुष्ट हुन्छौं । त्यसपछि आश्रमको हलमा जम्मा भएर परिचय आदानप्रदान पश्चात गरिएको कार्यक्रमको सञ्चालक नारायण नेपालजीबाट हुन्छ । आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपालबाट आश्रमको स्थापना, इतिहास, गतिविधि र सेवामूलक भावी कार्ययोजनाबारे जानकारी प्राप्तहुन्छ । ज्येष्ठ नागरिक आश्रमलाई हामी स्रष्टा पदयात्रासमूहबाट बाट रू ३ हजार समेत रु। ८०००। रकम समर्पण गर्छौं । अध्यक्ष शीतल गिरिको मन्तव्य पश्चात रचना वाचन कार्यक्रम हुन्छ । साहित्यकार आत्माराम खरेल अहिले त्यही आश्रममा बस्नु हुदो रहेछ, उहाँको पनि रचना सुन्छौं । कार्यक्रम समापन भएपछि आश्रमको अगाडि सामुहिक फोटो खिचिन्छ,अनि विष्णुप्रसाद नेपालजी, नारायण नेपालजीको अगुवाइमा हामी देवीघाटको भ्रमणमा जान्छौं । तादी र त्रिशूलीको सङ्गममा केही बेर स्रष्टाहरू रमाउँछन्, अध्ययन गर्छन् । पृथ्वीनारायण शाहको चिताशिलाको पनि अवलोकन गयरियो । जल्पादेवीको दर्शन पश्चात देवीघाट लगायत बेलकोटगढी नपालाई विदाइको हात हल्लाउँछौं र बसमा चढ्छौं । यस यात्रामा स्थानीय स्रष्टा रामराजा तिमिल्सिना, कार्यक्रम सञ्चालिका दीक्षा लामा, बेलकोटगढी न पा वडा नं ५ का अध्यक्ष लगायत हामीलाई सहयोग गर्ने सबैमा, महादेव मावि का प्रअ रामशरण पुडासैनी, झिल्केश्वर सहकारी संस्थाका सम्पूर्ण पदाधिकारीहरू, महाकवि देवकोटा प्रतिष्ठानका नारायण नेपाल, ज्येष्ठ नागरिक सेवा आश्रमका विष्णुप्रसाद नेपालजी, प्रहरी भाइहरू लगायत सबैको साथ र माया स्रष्टा पदयात्रीको मनमा बसेको छ ।

Tuesday, October 21, 2025

शुकदेव उपाध्यायको स्वागतयोग्य उपन्यास - ऐँजेरु - राजव

स्वागतयोग्य उपन्यास मात्र होइन साहित्यको जुनसुकै विधाको कथ्य लेखकको छनोटमा जे पनि हुन सक्छ । कथ्यले त्यसको स्तर र प्रभावशालीतामा निर्धारण गर्दैन कथ्य सिर्फ लेखनको आधार हो । त्यो आधारको दृष्टिकोण र त्यसको निर्वहन कस्तो भएको छ भन्ने पर्गेलाई नै महत्वपूर्ण हो । निर्वहनको स्वरूप र शिल्प सुन्दर परिष्कृत र कलाको ओजले भरिएको छ भने त्यस्तो साहित्यिक कृति पर्दा पाठक ध्यानस्थ हुन्छन्, त्यसको प्रभाव भित्र बाँधिन्छन्, रमाउँछन् संवेदित उद्धेलित हुन्छन् । पाठकलाई यसरी कृतिपाशमा राख्ने आल्लादित, संवेदित बनाउने कोसिस गर्नु लेखको पहिलो शर्त हो । ऐँजेरु सार्वजनिक भएपछि पाठकहरूले यसको कदको निरुपण गर्नु नै हुनेछ । यस पूर्व यहाँ पाठकको पठनवादित हुने कुरा राख्नु समचिन हुँदैन ।
पारिवारिक विघटन र विक्षिन्नता विश्वका सबै भाषाका उपन्यास लेखनको सार्वकालिक विषय हो । यस विषयमा निरन्तर लेखी रहिएको छ । नेपाली साहित्यमा पनि पारिवारिक विघटन विषयक उपन्यासहरु लेखिएका छन् तर अपेक्षित संख्या र स्तरमा छैनन् । त्यस्ता केही उपन्यास अध्यापी चर्चामा छन् । पढिरहेका छन् । ती शाश्वत मानिएका छन् । यसको मूल कारण तिनका स्रष्टाका निर्वहन र दृष्टिकोण नै हो । शुकदेव उपाध्यायको यो उपन्यास ऐँजेरुले पनि पारिवारिक विक्षिन्नतालाई भिन्न परिवेशमा उजागर गरेको छ । यस उपन्यासले उठान गरेको विक्षिन्नताका कारक अवयवहरू यौनाचार, व्यविचार, आत्मकेन्द्रित घमण्ड, दुव्र्यवहार र यिनलाई बलियोसँग पोषण गर्ने एकांकी वात्सल्य प्रेम हुन् । ती सब कारक यस उपन्यासमा दृश्यमान भएका छन् । बालकको लालनपालन सन्तुलित भएन भने त्यसको नाम दुर्योधन वा सिद्धार्थ यस्तै जे राखिएको होस् ।वृक्ष नाश गर्ने ऐझरुझैँ त्यो परिवारनाशक हुन्छ । त्यसले परिवारको साख, मर्यादा त्यसको आर्थिक जग सबका सब नास पार्छ, दुर्नाव गर्छ, पारिवारिक संवेदना ध्वस्त पार्छ ,यी सब उद्घाटित गर्ने लक्षमा एँेजेरुले औपन्यासिक गति लिएको छ । मैले थाहा पाएसम्म शुकदेव उपाध्यायको यो दोस्रो उपन्यास हो । उनको पहिलो उपन्यास पहिले पढ्न पाएको छैन । त्यो पढ्न पाएको भए उनको दोस्रो प्रयासमा आइपुग्दा उनले गरेको विकासबारे दाजेर भन्न सकिन्थ्यो । शुकदेव उपाध्यायसँग मेरो परिचयको समय चार दशकभन्दा लामो छ । तर परिचयको दिन समेत गन्दा उनीसँग मेरो भेटको संख्या एकदम कम छ । उनी मेरा अत्यन्त आत्मीय मित्र प्रख्यात यात्राकार, संस्मरणकार यस विषयका विज्ञ विद्वान् निर्मोही व्यासका प्रिय भाइ हुन् । त्यसकारण उनी मेरा पनि भाइ हुन् र मित्र पनि तर यस पूर्व मैले उनको साहित्यिक परिचय पाएको थिइनँ । साहित्यिक कर्ममा पनि विशेषगरी आख्यान लेखनमा अग्रसर रहेछन् भन्ने स्वागतयोग्य परिचय यस उपन्यासले दिन्छ । राजव हाल- संयुक्तराज्य अमेरिका २०८१ चैत्र १०, मार्च २३ २०२५ ।

कवि खोलाघरे साहिंलोलाई छन्दकवि पुरस्कार अर्पण र कृति विमोचन

छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन ‎ ‎अभिनव साहित्य समाजको २८६ अ‍ौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा(६...