उपन्यास – आमाको चन्द्रमा – म पढ्दै छु हजुरहरू पनि पढ्ने हैन त ?
उपन्यासकार शान्ति सापकोटाद्वारा लिखित किशोर उपन्यास आमाको चन्द्रमा विमोचित भएको छ । पाठकहरूले आमाको चन्द्रमा उपन्यास पढेर आस्वादन गर्न सक्नुहुनेछ । किशोरहरूका लागि लेखिएको उपन्यास भएको हुनाले चित्रहरूकोसमेत व्यवस्थापन यहाँ गरिएको छ न कि उपन्यासको सन्देश, उपन्यासले दिन खोजेको सन्दर्भ किशोरहरूले बुझ्न सकुन् भनेर यी चित्रहरूको व्यवस्थापन गरिएको देखिन्छ । यस उपन्यासको प्रकाशक सचित्र किताब प्रा।लि। रहेको छ । आमाको चन्द्रमा उपन्यासको बजार मूल्य रु ४०० रहेको छ । रु ४०० तिरेर यो उपन्यास पढ्दा ४० हजार बराबरको ज्ञान प्राप्त हुनेछ यहाँहरूले आजै नजिकको पसलमा अथवा चासो राखेर सचित्र किताब प्रालीसँग सम्पर्क गरी उपन्यास हात लगाउन सक्नुहुनेछ । कर्पोरेट अफिस थापा गाउँमा रहेको छ, जुन काठमाडौँ सहरको बीच भागमा पर्छ । जताबाट आएर पनि कर्पोरेट अफिसमा सम्पर्क राखी पुस्तक हात पार्नुहोला । पुस्तक अति उत्तम छ । यी कुरा भए उपन्यास खरिद गर्न चाहनेहरूका लागि जानकारी अब भित्री भागतर्फ प्रवेश गरौं ।
उपन्यास पढ्न सजिलो होस् भनेर १२ अध्यायमा विभाजन गरिएको छ उपन्यासको समग्र सार आमाप्रति केन्द्रित भएको देखिन्छ अध्याय १ बाट सुरु भएको उपन्यास अध्याय १२ मा गएर समापन भएपछि कृतज्ञता ज्ञापन गरिएको छ । कृतज्ञताअन्तर्गत आफू बाल साहित्य समाजको कार्यसमितिमा रहँदाका सन्दर्भहरू र उपन्यास लेख्ने प्रेरक सन्दर्भहरुलाईसमेत उद्धृत गर्नुभएको छ र अन्तिममा उपन्यासकारको संक्षिप्त परिचय राखिएको छ ।
उपन्यासमा चाहिँ के छ त अब सिधै उपन्यासतर्फ पनि प्रवेश गरौं ।
अध्याय १ ।।।
रुपाली
आमा हुनुहुन्थेन ।
मामाको बिहेका लागि आमा मामाघर जानुभएको थियो । आमा जानुभएकै तीन दिन भइसक्यो । आफूलाई तीन दिन पनि तीन महिना जस्तै भइसकेको थियो । अझै बाँकी थियो दुई महिना । दुई दिन के कसरी काट्ने होला दुई महिना जस्तै लाग्ने दुई दिन ।
स्कुल जान नपाएको पनि दुई दिन भइसक्यो। बहिनीलाई कसले हेर्ने फेरि बुबालाई त खेतबारीको काम गर्दैमा फुर्सद नहुने अस्ति त बहिनीलाई पनि सँगै खेततिर लैजानुभएको थियो। बुबाले खेतको काम गर्ने कि बहिनी हेर्ने दिउँसो हाफ टाइममा बहिनीलाई लिएर स्कुल नै आउनुभयो बिचैमा स्कुल छोडेर घर आउनु पर्यो ।।।।
यसरी प्रारम्भ भएको कथानकले विभिन्न उतारचढावहरू पार गर्दै अगाडि बढेको छ । विशेषत पारिवारिक वातावरणमा कथानकलाई अगाडि बढाइएको छ । कथामा आमा, मामा, काका, काकी, दिदी, बहिनीलगायतका नातेदारहरूलाई वरिपरि राखेर परिवेश निर्माण गरिएको छ । विभिन्न जिज्ञासाहरू, किशोर किशारीका समस्याहरू अनि समाधानहरू पनि उपन्यासमा आएका छन् । किशोर मन चञ्चल हुन्छ, जिज्ञासू हुन्छ । कहिले रुन मन लाग्छ, कहिले हाँस्न मन लाग्छ, कहिले खेल्न मन लाग्छ । कहिले चन्द्रमामा जाने मन हुन्छ । विद्यालयहरूमा पढ्दाखेरि दिक्क लागेर विद्यालय–कलेज छोडेका सन्दर्भहरू बंक हान्ने गरेका कुराहरू पनि उपन्यासमा आएका छन् । विशेषगरी १४ वर्षदेखि १९ वर्षसम्मका किशोर किशोरीहरूले यो उपन्यास संकलन गरेर अध्ययन गर्नुहोला । यसबाट हजुरहरूलाई धेरै जानकारी प्राप्त हुनेछ । उपन्यासको मैले पनि दोहोर्याएर पठन गरिरहेको छु ।।। । उपन्यासकार शान्ति सापकोटाको आमाको चन्द्रमा शीर्षकको उपन्यास सबैजनाले पढौं । म पनि पढिरहेको छु र आगामी दिनमा उपन्यासकारका अन्य उपन्यासहरू पनि हामीले पढ्ने अवसर पाउन सकौँ। उपन्यासकार र समस्त उपन्यासका पाठकहरूलाई धन्यवाद दिन्छु र उपन्यासको पूर्ण समालोचना पछि समय मिलाएर गर्नेछु हजुरहरु पनि आआफ्नो तरिकाले यस उपन्यास पढेर समीक्षा गर्नुहोला ।
कथाकार शारदा पराजुलीद्वारा लिखित बालकथाहरूको सङ्ग्रह मेरी पुतली शीर्षकको कृति प्रकाशनमा आएको छ, यहाँहरू सबैले यो सङ्ग्रहमा सङ्ग्रृहीत कथाहरूबाट विविध क्षेत्रका ज्ञान प्राप्त गर्न सक्नुहुनेछ ।
-छोरीको स्कुल -
प्रस्तुत कथासङ्ग्रहमा समेटिएका कथाहरूमध्ये पहिलो कथा छोरीको स्कुल शीर्षकको रहेको छ । यो कथाले बालबालिकाका क्रियाकलापहरूलाई पाठकहरूको सामु प्रस्तुत गरेको छ । पात्र संयोजनको दृष्टिकोणबाट हेर्दा प्रस्तुत कथाभित्र दुईथरिका पात्रहरू रहेका देखिन्छन् म पात्र र उसकी छोरी मुख्य पात्रको रूपमा प्रस्तुत भई सहायक पात्रमा केही बालबालिकाहरू आएकाछन् । बालबालिकाका क्रियाकलाप प्रस्तुत गर्दै लेखिएको हो छोरीको स्कुल शीर्षकको कथा । यस कथामा म पात्रले समग्र कथालाई आफ्नो मुखारविन्दबाट प्रस्तुत गरेको देखिन्छ ।
उसकी छोरी स्कुलबाट चार पाँच बजे घर आइपुग्छे । घर आइपुग्दा छोरीकी साथी देवकी अर्की साथी बबिया अनि पाहुना बनेर आएका पूर्ण सूचीकारको छोरो ध्रुव र माइली तामाङकी छोरी जयमाया यी सबै पात्रहरू मिलेर खेल्छन् । प्रस्तुत कथामा छोरीको स्कुल भनेर छोरीको खेल्ने ठाउँलाई प्रस्तुत गरिएको
छ । स्कुल छुट्टी भएर चार पाँच बजे घर आइपुगिसकेपछि म पात्रकी छोरी र छोरीका साथीहरू मिलेर खेल्ने क्रममा छोरी चाहिँ गुरुमा भनेर गुरुमाकै भूमिका निर्वाह गर्छे । अंग्रेजी, नेपाली, गणित सबै विषयमा उनीहरू खेलखेलमै पढ्ने गर्छन् । उनीहरू विभिन्न जातजातिका बालबालिकाहरू हुन्छन् । उनीहरूमा विभेद हुँदैन । उनी उनीहरू आपसमा भएका खानेकुराहरू पनि साटासाट गर्छन् । अबोध बालबालिकाहरू एउटै मानसिकताका साथ खेलमा रमाएका हुन्छन् । वास्तवमा यो नै विद्यार्थीहरूको लागि सिक्ने स्कुल हो भनेर बुझ्न सकिने अवस्था कथामा आएको देखिन्छ । कथाको आशय पनि बालबालिकाहरूलाई खेलको माध्यमबाट सिकाउन सकिन्छ, खेल्ने ठाउँलाई नै स्कुल बनाउन सकिन्छ भन्ने छ ।
प्रस्तुत कथामा आएका मुख्य पात्रहरूमध्ये म पात्रले कथाको वर्णन गरेको र म पात्रकी छोरीले कथामा मुख्य भूमिका निर्वाह गरेको छ । म पात्रकी छोरीका साथीहरूले कथामा सहायक भूमिका निर्वाह गरेका छन् । यसरी कथामा आएका मुख्य पात्र र सहायक पात्रले कथालाई उत्कर्षमा पु¥याई पाठकहरूलाई बालबालिकाका लागि खेल्ने ठाउँ नै वास्तविक स्कुल हो भन्ने कुरा बुझिदिन सन्देश छोड्न सफल भएका छन् । कथामा आएका मुख्य पात्र र सहायक पात्रको भूमिकाबाट कथाले पूर्णता पाएको देखिन्छ । बालबालिका र उनीहरूका अभिभावकका लागि यो कथा प्रभावकारी देखिन्छ ।
- बचेराको नयाँ वर्ष -
यस कथामा जुरेलीका आमाछोरीको संवाद र कार्यलाई मुख्य स्थान दिएको छ । नयाँ वर्षको दिन बचेराले आमा जुरेलीलाई कति गुँडमा बसिराख्नु घुम्न जाउँ भनेर कर गरेको स्थितिबाट कथानक अगाडि बढेको देखिन्छ । जुरेलीले बचेरालाई केही सम्झाउने प्रयास गरे तापनि बचेरो घुम्नलाई उत्सुक भएर कर गरेको छ । यस्तै अवस्थामा वर्णित पात्रहरू आइतमाया, शिवराम र उसका बुबाआमा घुम्न गएका र त्यसबाट बचेरा झन् घुम्न लालायत बनेको देखिन्छ । बचेराको घुम्न जाने जिद्दीपनले गर्दा जुरेली पनि भाले जुरेली आएपछि घुम्न जाउँला भनी बचेरालाई आश्वस्त पार्छे । नयाँ वर्षको अवसर पारेर उनीहरू घुम्नलाई सहर बजारतिर जान्छन् । बजारमा ठुलठुला बाटाहरू भएका, घरहरू पनि अग्लाअग्ला बनेका, जतासुकै घुइँचोमुइँचो देखिने तर सहरबजार एकदमै फोहोर देख्छन् उनीहरूले । उनीहरूलाई त्यहाँ खानेकुराको समस्या पर्छ । पानी समेत खान नपाउने स्थिति सहरमा देख्छन् र सहर भन्दा टाढाको खोलाबाट चुच्चामा केही पानी ल्याएर जुरेलीले बचेरालाई खुवाउँछे । उक्त बचेराको सहर बजार हेर्ने, घुम्ने इच्छा दिनको मात्र हैन रातको पनि पूरा गरेर उनीहरू भोलिपल्ट आफ्नै गुणमा फर्कन्छन् ।
यस कथामा भूमिकाको आधारमा जुरेलीका बचेरा र जुरेली मुख्य पात्रको रूपमा रहेका देखिन्छन् । उनीहरूको भूमिका सुरुदेखि अन्तिमसम्म रहेको छ । त्यसैले यो कथामा बचेरा र बचेराकी आमा जुरेली नै मुख्य पात्रका रूपमा रहेका छन् । बचेराको बाउ कथाको सुरु भागमा देखिएको छैन र त्यसपछाडिका भागमा उसको भूमिका रहेको छ । कथाको प्रारम्भमा बचेरा र जुरेलीको बीचमा मात्र संवाद भएको छ । उनीहरूको जिज्ञासा र उत्तर त्यहाँ आएको छ । बचेराले आमासँग सहर घुम्न जाने कुरा उठाएको छ । यी संवादमा भाले जुरेली नदेखिएकोले उसको भूमिका कम छ । र, यो कथामा केही वर्णित पात्रहरू पनि आएका छन् । आइतमाया, शिवराम र उसका बुबाआमालाई वर्णित पात्रका रूपमा देख्न सकिन्छ । यसरी पात्रको संयोजन हेर्दाखेरि मुख्य पात्र, सहायक पात्र र वर्णित पात्रको संयोजनबाट यो कथा अगाडि बढेर पूर्ण भएको देखिन्छ ।
प्रस्तुत कथाले केटाकेटीहरू धेरै जिज्ञासु हुन्छन्, केटाकेटीका जिज्ञासालाई समाधान गर्नुपर्छ । त्यसका लागि हरेक अभिभावकहरू तयार हुनुपर्छ भन्ने सन्देश प्रस्तुत गरेको छ । यसका साथै कथाले ठूलाठूला सहरहरूभन्दा ससाना गाउँघरहरू नै सफा सुन्दर र शान्त रहन्छन् भन्ने सन्देशको पनि प्रवाह गरेको
छ ।
।।।यसैगरी अन्य कथाहरूमा पुतलीकी साथी, छुमुको भक्ति, फुल बेच्ने केटी, जू मा एकदिन, हाम्रो गाउँ, इच्छा, चित्रकला, मेरो ब्याट र चिलगाडी रहेका छन् । यी सबै ११ वटै कथाहरू बालबालिकाहरूका निम्ति अत्यन्त उपयुक्त खुराक रहेका देखिन्छन् सबै बालबालिकाहरू र ती बालबालिकाका अभिभावकहरू र शिक्षक शिक्षिकाहरूले पनि यी कथाहरु पढेर आस्वादन गर्न सक्नुहुनेछ । यति धेरै राम्रा बालकथाहरूका सर्जक कथाकार शारदा पराजुलीज्यूलाई धेरै धेरै धन्यवाद आगामी दिनमा अझै धेरै कथाहरू उहाँबाट लेखियोस् र हामीले पढ्ने मौका मिलोस् ।
“म तयार भएर निस्किनै लागेको, बसले पर्खिंदै होला मलाई” भन्नुहुन्छ ।
म पनि निस्किनै लागेको छु भन्छु र निस्की पनि हाल्छु । अभियान छ स्रष्टा पदयात्राको ८६ औँ शृङ्खलामा चौकोटदेवी मन्दिर जाने । झोलामा केही पुस्तकहरू र पानीको बोतल, छाता हालेको छु । पदयात्राको ज्याकेट, पहेँलो टीसर्ट, सुरुवालको साटो उस्तै रङ्गको हाफपायन्ट लगाएको छु । पदयात्रामा लामो सुरवालभन्दा हाफपायन्ट सजिलो हुनेरहेछ, आफ्नै अनुभव हो ।
म प्रायः सहयात्री साथीहरूलाई पदयात्राको दिनमा चाहिँ को कहाँ आइपुग्नुभयो भनेर बुझ्नलाई फोन गर्छु । अहिले पनि विमल अर्याल, वसन्त रिजाल, परशुराम पराशर, अप्सरा ढकाल, सुमन पुडासैनी लगायतलाई फोन गरेको हुँ, सुमनजी नजाने हुनुभएछ यो पटक । विजया बस्नेतलाई पनि सोधेको छु, जानुहुन्छ अरे । म इलामको स्थायी बासिन्दा । नियतिले घुमाएर काठमाडौँँको बसाइ होला, अनेक साहित्यिक संस्थाहरूमा जोडिउँला, यो स्रष्टा पदयात्रामा मिसिउँला भन्ने ता दश मनमा एक मन पनि सोचेको थिइनँ, सत्ते होला !
आफ्नै गाउँठाउँमा बस्ने, कञ्चन हावापानीमा रमाउने, यतै बुढो भएर मर्दा पनि आफ्नै आमाबालाई जलाएको आफ्नै घाटमा जल्नेसम्मको चैँ सोचेकै हो, तर केटाकेटीलाई पछ्याउँदै यता आइपुग्नुपर्ने रहेछ । साना हुँदा केटाकेटीले हामीलाई पछ्याउँथे !
जानीनसक्नु मान्छेको जीवनक्रम !
मेरो मात्रै होइन, अरूको पनि हालत उही हो । स्रष्टा पदयात्राका नायक शीतल गिरी रौतहटका हुनुहुन्छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा मोरङ, भक्तपुर, सप्तरी, काभ्रे, लमजुङ, पाल्पा, रुकुम, मकवानपुर, नुवाकोट, स्याङ्जा, चितवन, पर्वत आदि अनेक जिल्लाका साथीहरू यो चारभन्ज्याङ खाल्डोका स्थायी बासिन्दा भैसक्नुभएको छ । यसलाई पनि एउटा सुखद संयोग नै मान्नुपर्छ, सबैसँग चिनजान हुन पाएको छ ।
मनमा अनेक थरीका कुरा खेलाउँदै म ता कोटेश्वर पुगँे, भाडा तिरेर बसबाट ओर्लिएँ । १५ रूपैयाँ भाडा । ज्येष्ठ नागरिकको कार्ड देखाएर ५ रूपैयाँ छुट पाइयो नत्र २० रूपैयाँ लाग्थ्यो । जतिसुकै नजिक गए पनि न्युनतम भाडा २० रूपैयाँ । बुद्धिप्रसाद घिमिरे प्रतिष्ठान, इलामले अस्ति मोतीजयन्तीका दिन मलाई गरेको सम्मानमा नगद पनि ८,५००÷– दिएको थियो, त्यसमध्ये बचेको हजार पन्ध्र सय छँदैछ नि, अहिले खल्तीमा ! बसबाट निस्किएर दक्षिणतर्फ लाग्छु । सडक पार गर्दैगर्दा विष्णु खनाल भेटिनुहुन्छ, सँगसँगै जान्छौँ आकाशे पुलसम्म ।
खोइ त ? न शीतल सर हुनुहुन्छ न त बस नै छ । बरु अरू साथीहरू पो अलिअलि गर्दै जम्मा हुँदै हुनुहुन्छ । हामी आलोपालो फोन पनि गर्दै छौँ । पुलको तल्लो छेउमा जम्मा भैसकेका पनि बस माथि नै रोकिन्छ भनेर फेरि माथि नै आयौँ । एकैछिनमा बस ता आइहाल्यो नि ! अगाडि नै स्रष्टा पदयात्राको ब्यानर बाँधेको बस आएपछि सरासरी चढछौँ हामी । अलिक तल भाटभटेनी छेउमा जयबहादुर घिमिरे केराको निकै काइँया भएको कार्टुन हालेर चढ्नुहुन्छ । कोटेश्वरमा हामी १६ जना चढछौँ । जम्मा ३४ जना र चालक १ समेत ३५ जना रिजर्भ बसमा । चोभार गेटबाट डिल्लीरमण सुवेदी । उनी आउँदा सबै सिट भरिइसकेका थिए, अनि उभिएरै काम चलाउनुप¥यो । कोटेश्वरदेखि नै भाडास्वरूप रु ४५०÷– को दरले बुझाउन थाल्यौँ । उठाउने जिम्मा भर्भराउँदा युवा राजन पुडासैनीले पाए । खुसीसाथ जिम्मेवारी पूरा पनि गरे, धन्यवाद छ राजनजी !
हामी ८.०३ मा बल्खुबाट दक्षिणकालीतर्फ लागेका हुन्छौँ । हामी उद्देश्याभिमुख छौँ दक्षिणकालीको छैमले पुग्न । बस गुडेको गुड्यै छ फर्पिङ हुँदै हेटौँडा राजमार्गमा । दक्षिणकाली नगरपालिकामा जम्मा ९ वडा छन् र अधिकांश बासिन्दा समाबेशी छन्, यहाँ राई लिम्बू प्राय छैनन् । दक्षिणकाली देवीको नामबाट नगरपालिकाको नामकरण गरिएको हो । सडकबाट तल र माथि पनि लप्सीका बोट मनग्गे देखिन्छन्, लटरम्मै फलेको देखिन्छ लप्सी । फर्पिङ क्षेत्र आएछ, बाक्लै नास्पातीका बोट देखिएकाले थाहा भैहाल्छ सामान्य ज्ञानमा पनि । जहिल्यै फर्पिङ नास्पातीका लागि जस्तो लाग्छ, समय सिद्धिन लागेकाले बोटमा पातला दाना देखिँदै छन् । हामी फर्पिङ पुगेका हुन्छौँ ८.३५ मा । मसँगै अर्को सिटमा मित्र घनश्याम प्रसाईं हुनुहुन्छ, हामी पनि विभिन्न विषयमा गफिँदै हुन्छौँ, सबै गफिएकै हुनुहुन्छ । केही बेर फर्पिङमा बस रोकिन्छ ।
बाहिर पारि, ललितपुर क्षेत्रको दृश्य देखिन्छ । बाटामुनि पैयुँ, हाडे ओखर, मौवा, लप्सी, उत्तिस आदि अनेक वनस्पति देखिन्छन्, सबै ता चिने पो ! चिनेजतिलाई नाम लिने ता हो ! दक्षिणकाली मन्दिर परिसरलाई पछि छोड्दै हाम्रो बस छैमलेको राम्चे भन्ज्याङ पुगेर रोकिन्छ । हामी फटाफट बाहिर नस्किन्छौँ र यताउता छरिन्छौँ । चिया खाने सल्लाह भएछ, म चाहिँ आज चिया नास्ता केही लिन्न । आज सोह्रश्राद्धको चतुर्थी तिथि आमाको स्मृति दिवस भएकाले म फलफूल मात्रै सेवन गर्ने निर्णयमा अडिग छु, पानी पनि घरबाटै लिएर गएको छु । नास्तापछि हामी अलिक माथिसम्म बसमा जान्छौँ अनि पैदल उकालो लाग्छौँ । थोरै माथि पुगेपछि बाटो अल्मलियो । नयाँ खनेको बाटो पनि घुमेर उँधै लागेको छ । अघि लाग्ने साथीहरू कोही छोटो बाटो जाऊँ भनेर उकालो जङ्गलको गोरेटोतिर लाग्नुहुन्छ धेरैजसो चाहिँ नयाँ बाटो नछोडी हिँड्दा निकै तल पो पुग्नुहुन्छ हेर्दाहेर्दै !
दुई मत हुन्छ । उकालो जानेपटि लागेको म पनि अल्पमतमा परेर उँधै लाग्छु तर एकै म डिल मुनि मात्रै पुगेपछि सबै उँभै फर्किने सल्लाह हुन्छ र फर्किहाल्छौँ । जङ्गलको गोरेटोमा तीन कोरी आठ पाइला सल्बलाउँदै उकालो लाग्छन् । दिनले खुब साथ दिएको छ आज । फाटफुट वर्षा हुन्छ भनेर सञ्चार माध्यमहरूले भनेका हुन्, छाता बोकेको छु तर आकाशमा बादल छ, हामीलाई उकालामा घाम लागेको भए ता थला बसाएरै छोड्ने थियो नि !
चिहान डाँडाको प्रतिमन चौरमा पुगिन्छ १०.४० मा । रमाइलो, फराकिलो चौर भएकाले यहीँ रचनावाचन गर्ने निधो हुन्छ र पहिलो चरणका संयोजक दीपक लोहनी र सहभागीहरूमा— एञ्जेल निलु, पर्शुराम पराशर, शोभा पोख्रेल, प्रभा बराल, विष्णु खनाल र शीतल गिरी एवम् गीता रेग्मी र दोस्रो चरणका संयोजक डिल्लीरमण सुवेदी र सहभागीहरूमा— विमल अर्याल, सुष्मा आचार्य, शारदा पराजुली, राजन पुडासैनी, हरिबोल काफ्ले, डा.बालचन्द्र मिश्र, घनश्याम प्रसाईं यतिले रचनावाचन गर्नुहुन्छ । वरिपरिको दृश्य कैद गर्नमा पनि व्यस्त हुनुहुन्छ कति जना । एक जना गोठालो भाइ आफ्ना बाख्राको बथानसँगै देखिन्छन् अलिक पर । निडर बाख्राहरू पनि हाम्रो कार्यक्रममा सहभागी हुन आएझैँ आउँछन् र हाम्रा बिसाइराखेका झोलाहरू आलोपालो सुँघेर जान्छन् ।
हामी पुनः उकालो हिँड्नु छ नि त ! जिन्दगीको हिँडाइ शिशु अवस्थामा बामे सर्न थालेदेखि अहिलेसम्म निरन्तर छ, अशक्त भएर थला नपरुञ्जेल यत्तिकै हो, उद्देश्यहरू फरक होलान्, कहिले हिँडिन्छ कुनै एक शीर्षकमा कहिले कुनै अर्कै शीर्षकमा । जङ्गलको बीचबाट बनाइएको बाटो छ, मोटरका लागि । त्यही हो मान्छे हिँड्ने पनि । हामी केही माथि पुग्दा अर्को झन् ठुलो, फराकिलो चौर भेटिन्छ, यसलाई पनि प्रतिमन चौर र ज्याकीचौर भनिँदो रहेछ । यसै चौरमा बिसाएर भोजन गर्ने सल्लाहअनुसार सबैजना बस्छौँ र फटाफट आफूसँग भएका खानेकुरा निकालेर बाँड्न थालिन्छ । मलाई चैँ आज रोटी, तरकारी, पकौडा, भुजिया आदि केही नचल्ने हुँदा शारदा र पर्शुराम पराशरकै छेउमा बसेर फलफूल, दही मात्रै लिन्छु ।
भोजनपछि समूह समूहका सामूहिक फोटो खिच्ने काम हुन्छ । स्रष्टा पदयात्राका कार्यकारी पदाधिकारीहरूको, सल्लाहकार समितिको, प्रचारप्रसार समितिको, समग्र महिलाहरूको, समग्र पुरुषगणको एक एक र सबैको सामूहिक एक थान पनि खिचेपछि टोली उकालो लाग्छ ।
विजया बस्नेतलाई हेर्छु, अघि नै उकालो लाग्नुभएछ । उहाँलाई मैले खोज्नुको पनि कारण छ । शारीरिक रूपमा अस्वस्थ हुँदाहुँदै पनि उहाँले पदयात्राको मोहलाई मार्न सक्नुभएन र सहभागी हुनुभएको छ । गत ८५ औँ मा यात्राको बीचमै अशक्त भएर अस्पताल जानुपरेको थियो अरे । म त्यसपल्ट थिइनँ, इलामतिर रहे पनि सोधीखोजी गर्दैरहेँ । हामीले सोही कुरालाई सम्झिएर आज उहाँलाई तल राम्चे चोकतिरै छोड्नुपर्ला भन्ने सल्लाह गरेका थियौँ तर उहाँ ता हामीजत्तिकै उत्साहित हुनुहुन्छ त ! म हिँड्न सक्छु, हिँड्छु, माथिसम्म नै पुग्छु भनेर अघिअघि बाटो लाग्न तयार हुनुहुन्छ । राम्चे चोकमा मेरो छाता, पानीको बोतल, २÷४ वटा पुस्तक एउटा सानो पोलिथिनमा छुट्याएर ठुलो झोला बसमै राखीछोडेको छु । विजयाको झोलामा पनि खासै केही नभएकाले मेरो पोलिथिन पनि त्यसमै हालेर आलोपालो बोक्ने सल्लाह गरेर बाटो लागेका हुन्छौँ । डाँडाको चौरमा भोजन सकेर उकालो लाग्दा विजयाले झोला बोकेर जानुभएछ ।
कतै गएर फर्केका आफ्नो कुकुर पनि डो¥याउँदै आएका हरिकुमार बलसँग प्रतिमन चौरको सिरानमा १२.३५ मा भेट हुन्छ । तिनको भनाइअनुसार चौकोटदेवीको प्रभाव राम्रो थियो अरे । माथि मन्दिर परिसरमा लुगा धोएर सुकाउँदा त्यसको छाया भक्तपुरमा पुग्थ्यो अरे । उपत्यकाका वरिपरि डाँडामा रहेका देवीहरूमा फुल्चोकी जेठी, मोक्ष देवी वा चौकोटदेवी माहिली र चम्पादेवी कान्छी हुन् भन्ने विश्वास रहेछ । हामी चौकोटदेवी मन्दिरका पुजारी माहिला बमजनलाई पनि भेटेर र उहाँसँगै माथि जान्छौँ ।
उकालो बाटो, कम चल्ती भएको, लेउ लागेर चिप्लो । घाम नलागे पनि ओभानो दिन भएकाले मात्रै हामीलाई सहज भएको हो, सिम्सिमे पानी मात्रै परेको भए चिप्लिएर कति जना पछारिने थियौँ । पानी परेको भए जुकाको उच्चस्तरीय आक्रमण पनि हुने थियोे, हामीले प्रतिरक्षामा दह्रोसँग जुट्नुपर्ने थियोे । धन्न पानी चैँ परेन, तैपनि कति जनालाई ता भ्यायो होला । पानी परेको भए, छेउछाउका झार समात्न पाए मात्रै नत्र जोखिम !
झार र घाँसले बाटो छ्याप्पै ढाकेको छ, कुनैकुनै ठाउँमा ता कम्मर कम्मर आउने घाँस पेल्दै गोरेटो भेटेर हिँड्नुपर्ने । जे होस् झुन्डझुन्ड हुँदै पनि हिँडियो, एकै झुरूप भएर पनि हिँडियो, पुगियो पनि टुङ्गैमा । हिँडेपछि पक्कै पुगिन्छ, ढिलो चाँडो भन्ने मात्रै फरक, हो अब आजलाई पुग्नुपर्ने बाँकी भनेको भरे आआफ्ना निवासमा मात्रै हो ।
मन्दिरभन्दा तीस मिटरजति पश्चिममा अलिकति तल एउटा पाँच फिट जतिको लामो र तीन फिट जति अग्लो ढुङ्गो एकापटि चिल्लो भएकोमा बाघको चित्र बनाइदिएको रहेछ, हामी त्यो हेर्न पनि पुग्छौँ । परबाट हेर्दा ता जङ्गलका माझमा झारले झ्याप्पै छोप्न लागेको, साँच्चै बाघ नै लुकेर ढुकेको हो कि जस्तो पो देखिने । शम्भु गजुरेल, एञ्जेल नीलू, रुबी सत्याल, प्रतीक घिमिरे, शोभा पोख्रेल, नानीबाबा अधिकारी लगायतका साथीहरू अघि नै पुगेर चित्रित ढुङ्गेबाघको वरिपरि झ्याम्मिनुभएको रहेछ, त्यसलाई थोरै समय हेरेर म यता मन्दिरतिर आइपुग्छु । चौकोटदेवी मन्दिर भनिएको ठाउँमा झार र घाँसले भरिभराउ अनुमानित १०० वर्गफीटको समतल चौर रहेछ । सानो घाँसे मैदान नै भने पनि हुने । ४÷५ जनाको मस्त भारी पुग्ने जतिको घाँस रहेछ । पश्चिमपटि केही ढुङ्गाहरू ठाडो पारेर गाडिएका, ठुला ठुला फराकिला ढुङ्गाहरू बिछ्याइएका, साना साना केही र ठुलो एउटा फलामे स्ट्यान्डमा घण्टीहरू झुन्डिएका, केही ठुला र केही साना त्रिशूलहरू पनि, ठडिएका, तिनै ठड्याइएका लाम्चो आकारका ढुङ्गाहरूलाई नै देवी भनेर मानिएको र तिनमै दर्शन गर्ने, ढोग्ने, फूलप्रसाद चढाउने गरिँदो रहेछ । हाम्रो इलाम, पाँचथरतिर हुने कतिपय देवीथानहरू जस्तो पो लाग्छ मलाई ता । आखिर देवीदेवता भक्तिमा हुने ता हुन् नि ! भक्तिभाव नै छैन भने महाकाली, महालक्ष्मी, महासरस्वती नै सामुन्ने आएर उभिए भने पनि मान पाउँदैनन् नि ! तर यहाँ ता नकुँदिएका, मूर्तिको कुनै आकारसम्म पनि नपाएका ढुङ्गाहरूले चौकोटदेवीको मान पाएका छन्, पूजिएका छन् । आस्था नै ठुलो हो । म यस्तै चिन्तनमा रुमलिन्छु ।
new book of kholaghare sahinlo
तिनै देवीस्वरूपका ढुङ्गाहरूका उतापटि अग्लोअलि अलि घुमाउरो पर्खालको आड छ, पर्खाललाई पनि उतापटि ठुलो रुखले आड दिएको छ । उत्तरपटि तीस फिटजति लम्बाइको विश्रामालय बनाइएको रहेछ, फलामे सिँढीबाट त्यसको छतमा चढ्छौँ हामी सबै । पश्चिम कुलेखानी छेउछाउसम्म र उत्तरपटि चम्पादेवी, भालेश्वर, चन्द्रागिरिको डाँडो छ्याङ्ङ देखिएको छ, अझै उत्तरमा शिवपुरीको विशाल डाँडो आङभरि घना जङ्ल बोकेर लडिरहेको छ । सोझै तल हुमाने भन्ज्याङ र कुलेखानी हेटौँडा राजमार्ग प्रष्ट देखिन्छन् । म जामाचोको थाप्लोबाट हेरेको उपत्यका र यहाँबाट हेरेको तुलना गर्छु मनमनमा, उस्तै उस्तै लाग्छ । हिमालहरू पनि छर्लङ्ग देखिने, यता फुल्चोकी, भट्टेडाँडा जम्मैतिरको राम्रोसँग दृश्यावलोकन गर्न सकिने यो ठाउँमा आइपुगेकामा सन्तोष लाग्यो ।
रमिता मात्रै हेरिरहेर नहुने ! काम पनि गर्नुपर्यो नि ! टोली नेताको निर्देशानुसार हामी तेस्रो चरणको रचनावाचनमा सहभागी हुन्छौँ, विश्रामालयकै छतमा स्रष्टाहरूका कला र गला गुञ्जिन थाल्छन् । मन्दिरका पुजारी माहिला बमजन हाम्रै कार्यक्रमका प्रत्यक्ष साक्षी भएर छतको डिलमा बस्नुभएको छ । तेस्रो, चौथो, पाँचौँ चरणको रचनावाचन यहीँ समाप्त गर्ने निर्णय भएर हरिबोल काफ्ले, नवराज रिजाल र रुबी सत्यालहरूको संयोजनमा— खोलाघरे साहिंलो, डिल्लीरमण सुवेदी, रामकुमार पण्डित, दीपक भेटवाल, विष्णुप्रसाद पराजुली, गङ्गाप्रसाद भेटवाल, दीपक लोहनी, रुबी सत्याल, अप्सरा ढकाल, जयबहादुर घिमिरे, विजया बस्नेत, वसन्त रिजाल, प्रतीक घिमिरे, शम्भु गजुरेल, दुर्गा भवानी भट्ट, नवराज रिजाल, विनोद नेपाल, नानीबाबा अधिकारी, वीना नेमकुल, शान्ता देवकोटा यति सबै स्रष्टाले रचनावाचन गरिसक्छौँ र फिर्ता बाटो लाग्न थाल्छौँ । ओरालो हिँड्नुपर्ने अब ! उकालो ता आइयो भने ओरालो के छ र ? लेउ लागेको ठाउँमा जोगिएर हिँडे त भैहाल्यो नि !
यता दिमागले चौकोटदेवीकै बारेमा सोच्न छोडेको छैन । डाँडाको थाप्लामा समतल धरातल हुनु प्राकृतिक हो जस्तो पनि लाग्दैन । यति अग्लो ठाउँ, गाउँ वस्तीभन्दा निकै अलग्ग सीमित क्षेत्रलाई किल्लाका रूपमा उपयोग गर्नुभन्दा अर्को उद्देश्य थियो जस्तो लाग्दैन । इतिहासअनुसार आपसमा लडाइँ भैरहन्थे । यो उपत्यका परिसर जसजसका अधीनमा प¥यो तिनले आफ्नो सुरक्षाका लागि दुश्मनका गतिविधिलाई सजिलैसँग देख्न सकिने ठाउँ रोजेर सैनिकहरूको सानो टुकडी राख्ने गरेको पनि हुन सक्छ । शक्तिको उपासना अहिले पनि गुल्म, ब्यारेक सबैतिर गर्ने नै गरिन्छ, त्यस बेला पनि शक्तिको आराधनाका लागि प्रतीक मानेर ती ढुङ्गाहरू स्थापना गरेर पूजा गरियो होला । अर्कातिर “कोत” हतियारखाना हो, उच्चारण विभेदले कोट पनि हतियार थन्क्याएर राख्ने ठाउँ नै हो । हतियारहरूको पूजा गरिने परम्परा छ । अझ पुराणहरूमा ता ब्रह्मास्त्र, आग्नेयास्त्र आदिको प्रार्थना गरिन्थ्यो र मात्रै प्रयोग गरिन्थ्यो । अझै अर्को सम्भावना के पनि देखिन्छ भने गाउँघरका शिरानमा जङ्गल पनि भएको ठाउँमा संसारी देवी, इन्द्र वा अन्य कुनै देवीदेवताको नाममा पूजाआजा गर्ने गरेर गाउँलाई दुर्भिक्षबाट मुक्ति दिलाउन, लामो खडेरी परेमा पानी माग्न संसारी देवी वा इन्द्रको पूजा गर्ने चलन पनि चलेको हुन्थ्यो, अझै पनि कतिपय ठाउँमा छँदैछ । यस्तै भएर त्यहाँ देवीको पूजा हुने गरेको र कोट सुरु भएपछि ठाउँको नाम कोट र त्यहाँ पूजा गरिने देवी कोटदेवी हुँदै “चौकोटदेवी” भएको हुन सक्छ । विजया अर्थात् विजया बस्नेतले आज पैदल हिँडेर सकुशल यात्रा पूरा गर्नुभएकामा मलाई निकै सन्तोष लागेको छ, सायद शीतल सरले पनि यो महसुस गर्नुभएको छ । उहाँ र म नै हौँ विजयालाई कसरी सुरक्षित हिसाबले आजको यात्रा पूरा गराउने भनेर सल्लाह गर्ने पनि । ढलान गरेको सडकमा आइपुग्दा बाटैभरि झरेका लप्सीका दाना देखेर विजया टिप्न थाल्नुहुन्छ र भन्नुहुन्छ “छोरीले खूब मन पराउँछे !”
म पनि सडकको भित्तापटि आँखा लगाउन थाल्छु र देखेजति टिपेर उहाँकै झोलामा हालिदिन्छु ।
तल आएर सबै जना जम्मा हुन केही बेर पर्खिनुपर्छ, पर्खिन्छौँ । पर्खिने निहुँमा सडककै पेटीतिर, वर्तिर पर्तिर खर्किन्छौँ । बेलुकाको साढे चार बजेको छ, अलिक अगाडिदेखि नै सूर्जेनारान छ्याङ्ङ आकाशबाट हामीतिर ताप प्रवाह गर्दै छन्, हप्हपी छ गर्मी । बसमा राखेका पानीका बोतल रित्तिँदै जान्छन् । बसले हिँड्ने अनुमति पाएको हुँदा हामी राम्चे भन्ज्याङलाई बिदाइको हात हल्लाइदिन्छौँ ।
राति परेको पानीले ओस्याएको हुन्छ सडक बिहान जाँदाखेरि । अहिले ता घामले सुकाएर बुङ्बुङ्ती धुलो उड्ने पो भएछ । पिच गर्न ठिकठाक पारेको फर्पिङ–दक्षिणकाली–राम्चे सडकमाथि हाम्रो वाहन गतिमान् छ । दक्षिणकाली परिसरलाई पछि पार्दै हामी शेनारायणमा पुगेर रोकिन्छौँ । शेषनारायणमा केही बेर रोकिने सल्लाहबमोजिम नै रोकिएका हौँ । उपत्यकाका चार नारायणमध्ये पूर्वका चाँगुनारायण, पश्चिमका शेषनारायण, उत्तरका इचङ्गुनारायण र दक्षिणका विशंखुनारायण । सबै नारायणहरूको दर्शन गरिसकेको छु मैले यसअघि नै । चारै नारायणको आआफ्नै महत्त्व छ, कथा छन् किम्वदन्ती छन्, अहिले त्यतातिर नजाऊँ । सबै नारायणहरूका बारेमा पूरै नालीबेली अध्ययन पनि छैन मेरो ता । त्यसो ता हाम्रा सहयात्री गङ्गाप्रसाद भेटवाल, (म ता आफूप्रसाद भन्छु) धेरै कुरामा जानकारी राख्नुहुन्छ । हामीले नजानेका कुराबारे आफूले जानेजति प्रष्ट पारिहाल्नुहुन्छ । हामी अरूलाई हाइसञ्चो !
अहिले पनि शेषनारायणको उत्तरमा ठ्याक्कै टाँसिएर रहेको आचार्य पद्मसम्भवको आश्रम बारेमा थोरैतिना प्रकाश पार्न भ्याइहाल्नुहुन्छ । अझै प्रष्ट पार्न शीतल सरले थपथाप गरिदिनुहुन्छ, अनि त हामीलाई के चाहियो र ? म ता फोटो पनि खिच्तिनँ, नमस्कार पनि मनले मात्रै गर्छु । काहिँलो भाइ दिवङ्गत भएको ४५ दिन पनि भएको छैन, त्यसैले ।
उँभोतिर नजर जान्छन् । पत्थरैपत्थरको कहालीलाग्दो भिर छ माथि । हलेसी थानमा यस्तो दृश्य झन् धेरै देख्न पाइन्छ, त्यो पनि सम्झनामा आउँछ फ्याट्टै । यस्तो अक्करे भिरकै छेउ रोजेर के बस्नुपर्या होला भगवान् जस्ताले पनि ? सजिला, राम्रा, रोज्जा ठाउँ अनगिन्ती भेटिन्थे त ! कि लहडी हुन्छन् भगवान् भनेका ? शिवजी हिवैँहिउँको कैलाशमा बस्ने, विष्णु समुद्रमा त्यही पनि शेषनागमाथि । ब्रह्मा कमलका झुप्पाभित्र ! अन्त कतै ठाउँ नपाएजस्तो नि !
शेषनारायण परिसरका माछाको रमित हेर्दै हेर्दै बसतिर लाग्छौँ । परशुराम पराशरलाई अघि माथि जङ्गलतिर हुँदैखेरि जुकाले सुटुक्कै नाप्न भ्याएछ । अहिले ठस्ठस भएर ढाडिएको अघाएको जुको आफ्ना अभिन्तरबाट फुत्त भुइँमा झर्दा मात्रै पो छक्क पर्नु भएछ । कस्तो अभर ! अरूलाई देखाउन पनि असजिलो ! हामी केहीजना पुरुषले मात्रै थाहा पायौँ । अब बेला पनि साँझको छेउछाउ भैसकेको छ । हाम्रो बस फिर्ती गन्तव्यमा चलायमान छ । चोभार गेटमा आइपुगेपछि गङ्गाप्रसाद भेटवाल र डिल्लीरमण सुवेदी ओर्लिनुहुन्छ । उहाँहरू दुवैको अहम् भूमिका छ पदयात्रामा । अनि, बल्खु चोकमा गीता, प्रभा, विजया, एञ्जेल नीलू लगायतका निकै जना झर्नुहुन्छ । छुट्ने बेलाको बाइबाई यहाँ पनि छुट्तैन । कोटेश्वरमा, जयबहादुर, विमल, अप्सरा, वसन्त, शारदा, पर्शुराम लगायतले बाइबाई पाउनुहुन्छ र म पनि जडीबुटीमा बिदाइ भएर उत्तर लाग्छु, घरमा आइपुग्छु ।
हेर्न ता हेरियो चौकोटदेवीलाई तर अव्यवस्था भने मनग्गे देखियो । स्थानीयहरूका भनाइमा यसरी ठुलो समूहमा यहाँ आउने हामी मात्रै रहेछौँ ।
चौकोटदेवीलाई आकर्षक पर्यटन स्थल बनाउन निम्नलिखित कुरामा पहल गर्नुपर्ने देखेँ मैंले—
१. छैमले भन्ज्याङदेखि माथि थाप्लोसम्म नै पैदल यात्रीहरूका लागि उकालो जतिमा सिँढी बिछ्याउनुपर्छ, रेलिङमेत भए अझै राम्रो हुन्छ ।
२.मोटरबाटोको जुन ट्रयाक निकालिएको छ त्यसलाई अझै फराकिलो बनाएर कम्तीमा खण्डास्मित (ग्र्याभेल) बनाउनुपर्छ ।
३. हरेक ५०० मिटरमा चिहानडाँडाको मलामी टहरो जत्रै विश्राम टहराहरू बनाइदिनुपर्छ, जसले जुनसुकै मौसममा पनि पदयात्रीलाई सुविधा पुग्छ ।
४.यस्ता टहराका आसपासमा वनभोज जानेहरूका लागि सजिलो हुने केही फराकिलो ठाउँ छोडिएको राम्रो हुन्छ ।
५.मन्दिर भनिएको ठाउँमा मन्दिर नै छैन, सानो छरितो मन्दिर बनाएर देवीको प्रतिमा स्थापना गर्नुपर्छ । दर्शनार्थीहरू एकातिरबाट आउने, अर्कातिरबाट जाने व्यवस्था हुनुपर्छ ।
६. मन्दिर परिसरलाई झार, घाँसपातरहित बनाएर प्राङ्गणमा वरिपरि फलामे बेञ्च राखिदिनुपर्छ ।
७. प्राङ्गणको मध्य भागमा + आकारमा बाटो बनाइदिएर गोल आकारका ईँटा बिछ्याइदिनुपर्छ । बाँकी ठाउँमा विभिन्न जातका फूलहरू रोपेर आकर्षक पार्नुपर्छ ।
८.प्राङ्गणको पूर्वमा प्रेक्षण चौकी (खष्भध तयधभच) निर्माण गरिदिनुपर्छ ।
९. दक्षिणकाली वडा नं ८ मा चौकोटदेवी पर्ने भए पनि वडा नं ९ बाट पनि उत्तिकै पायक पर्ने हुँदा हुमाने भन्ज्याङबाट मोटरबाटो र पैदल बाटो व्यवस्था गर्नु राम्रो हुन्छ । यसका लागि वडा नं ९ सँग सहकार्य गर्न सकिन्छ ।
१०. ठाउँठाउँमा पसल राख्न चाहनेहरूलाई उपयुुक्त शर्तमा जमिन दिन सकिन्छ । मन्दिर परिसर र विश्रामस्थलहरूमा यस्तो गर्न सम्भव छ ।
११. पानीको सुविधा हुने ठाउँ हेरी पैदलमार्गकै छेउछाउमा होटल, रिसोर्टहरू खोल्न सकिन्छ ।
एकैचोटि यी सबै काम हुन सक्दैनन्, क्रमशः हुन सक्छन् । चौकोटदेवी भनेको छैमले क्षेत्रको गौरव गर्न लायक पर्यटक लोभ्याउने ठाउँ हो । स्थानीय र प्रतिनिधिहरूले केन्द्रमा समेत सम्पर्क राखी खर्च जुटाएर माथिका काम गर्न सकेमा यसले आगामी १० वर्षमा दक्षिणकाली वडा नं ८ छैमलेको कायापलट हुन सक्छ र महत्त्वपूर्ण आर्थिक उपलब्धि गर्न सक्छ । स्रष्टा पदयात्राका हामी सबैको हार्दिक शुभकामना !
म मिथिला (सप्तरी) मा जन्मेकी मिथिलाकी छोरी स्रष्टा पदयात्रा नेपालको कार्यक्रममार्फत धेरै पटक पहाड चढने मौका पाउँदै आएकी छु । आज दक्षिणकाली नगरपालिकाको विकट पहाडी क्षेत्रमा रहेको चौकोटदेवी माताको मन्दिर दर्शन गर्दै छु, हे चौकोटदेवी माता अब मलाई हिमाल चढ्ने शक्ति पनि देऊ π
हरेक महिनाको पहिलो शनिबार स्रष्टा पदयात्राको टोलीले कुनै न कुनै भू–भागलाई लक्ष्य बनाएर पदयात्रालाई सफल बनाउने एउटा निधो गरिएको हुन्छ । यसपालि पनि मिति २०८१ साल असोज महिनाको पहिलो शनिबार ५ गते चौकोटदेवीलाई आफ्ना लक्ष्य बनाएर पदयात्रालाई निरन्तरता दिने अठोट गरिएको थियो । बिहान लगभग ४ बजे ओछ्यान छोडिसकेकी थिएँ । हिजैदेखि दिमागमा उथलपुथल थियो । छिटै उठ्नुपर्छ । राति छिनछिनमै आँखा खुल्थ्यो । ढिलो हुन्छ कि भनेर किनभने मेरो भागमा तरकारी परेको थियो । चार बजेतिर उठेर फ्रेस भएर भान्सामा पसँ तरकारी पकाउँदा पकाउँदै पाँच बजिसकेको थियो । त्यतिखेर दीपक लोहनी सरको फोन आयो । फोन उठाएर नमस्ते गरेँ । उहाँले सोध्नुभयो– तरकारी पाक्यो ? हजुर पाक्यो π कतिखेर निस्किनुहुन्छ ? ७ बजे निस्किन्छु । ६ः०० बजे निस्किँदा हुन्न, उहाँले प्रतिक्रिया जनाउनुभयो । ७ बजे निस्किने नि बल्खु जान कति लाग्छ र जाबो १० मिनेट त हो । उहाँले मेरो कुरामा सहमति जनाउनुभयो तर मैले बल्खुलाई गोँगबु सम्झेर भनेकी छु । त्यो कुरा न उहाँलाई थाहा छ न मलाई आफैँ थाहा छ । म निस्केँ भनेर ६ः४३ मा मेसेज गरेर म घरबाट निस्केँ । बसुन्धारा चोकबाट बसमा चढेँ । दीपक लोहनी सरलाई फोन गर्छु सोच्दै थिएँ । उहाँले फोन गरिहाल्नुभयो । म आउँदै छु भनेँ । गोँगबु चोकबाट वहाँ पनि त्यही बसमा चढ्नुभयो । बल्खु पुग्दा हामी ढिलो भइसकेका थियौँ । पदयात्राको बस हामीलाई पर्खिंदा पर्खिंदा यात्राका लागि गतिमान भइसकेको थियो । हामीले त्यहाँ पुगेर प्रतीक सरलाई फोन गर्यौं । त्यति बेलासम्ममा बस लगभग २५०÷ ३०० मिटर जति मात्र अगाडि बढन सफल भएको थियो । दीपक सरको फोनले बस ठ्याक्कै रोकियो । हामी हतार हतार त्यहाँ पुग्याँै । गाडी हाम्रो प्रतीक्षामा थियो । गाडीमा चढ्यौँ, बस चालकको पछाडि रुबी सत्याल म्याम बस्नु भएको थियो । म पनि छेउमै बसँे, बस्ने बित्तिकै सबैले आत्मीयताको हाँसोले स्वागत गर्नुभयो । यो दुवै कहाँ हराको भन्दै मजाक पनि उडाउनुभयो । त्यहाँदेखि हाँसोको मुहान फुटेझैँ हामी हास्न थाल्यौँ, किनभने म पदयात्रामा जाँदा मेरो खुसीको ठेगान नै रहँदैन । खुट्टाले भुइँ छोडिसकेको हुन्छ । मन चञ्चल भई चङ्गा जस्तै आकाशमा उडिरहेको हुन्छ । डाँडापाखामा डुलिरहेको हुन्छ । म मै हुँ भने कुरा पटक्कै याद रहँदैन । मेरो यो खुसीको भण्डार प्रतीक घिमिरे सर हुनुहुन्छ । उहाँले नै पदयात्रामा टोलीमा मेरो नाम हाल्नुभएको थियो । त्यसैले म यो खुसीको श्रेय उहाँलाई दिन चाहन्छु । कतिखेर हामी दक्षिणकालीको फर्पिङ पुगिसकेको मेसो नै पाइनँ । बस पनि आफ्नै गतिमा र हामी पनि गफगाफ र हाँसोमा मग्न थियौँ । हामी दक्षिणकालीको वडा नम्वर ६ मा पुगिसक्यौ भन्दै गङ्गा भेटवाल सरले हाम्रो ध्यान आकर्षण गराउनुभएको थियो । त्यहाँबाट बस दक्षिणकाली मन्दिरको छेउको बाटो हुँदै बस उकालो लाग्यो । केही अगाडि भन्ज्याङ भन्ने ठाउँमा एउटा सानो चौक थियो, बस त्यहाँ रोकियो । सबै जना ओर्लियौँ । एकछिनको लागि कोही यता त कोही उता भयौँ । हामी पाँच छ जना वासरुम खोज्दै एक जनाको घर पुग्यौँ । घरपेटी आमाबुवासँग फोटो खिच्यौँ । त्यहाँबाट आएर हामी एउटा चिया पसलमा भेला भयौँ । बिहानको ९ः३० बजेको थियो । सबैजनाले चिया खानुभयो पहिलो चरणको फोटो सेसन पनि भयो । त्यहाँदेखि हामी हिँड्दै कम्मर मर्काउँदै उकालो लाग्यौँ । केही पर गएर हामी रोकियौँ । एक जना स्थानीयबासीसँग चौकोटदेवीकोबारेमा केही जानकारी लियौँ । बोटबाट नास्पाती पनि टिपेर कति जना साथीहरूले खानुभयो । फोटो खिच्दै उकालो चढ्दै थियौँ । त्यहाँदेखि फेरि हामी बसमा चढेर अगाडि बढ्यौँँ । म पनि बसबाट नै प्रकृतिका अनुपम उपहारलाई नियाल्दै फोटो खिच्दै रमाउँदै थिएँ । वरिपरिका बस्ती, बस्तीका टहराहरूले प्रकृतिका सुन्दर दृष्यलाई अझै सुन्दर बनाइरहेका थिए । एकछिनपछि बस फेरि रोकियो । हामी आ–आफ्ना सामान लिएर ओर्लियाँै र आफ्ना गन्तव्यतिर हुइकियौँ । प्रकृतिका रमणीय दृश्य, हरियो वन जङ्गल, अग्लाअग्ला पहाड, सुन्दर फूलहरूले मन प्रफुल्लित भइरहेको थियो । उकालो चढ्दा खुट्टा दुखेको थाहा नै भएन । उकालो चढ्न अहिले त्यति गाह्रो हुँदैन तर त्यो दिनको स्मरण आज पनि ताजै छ । मेरो पहिलो पदयात्रा सुन्दरीजलदेखि तारेभिरसम्मको थियो । कहिले आफ्नो जीवनमा उकालो ओरालो देखेको पनि थिइनँ, चढ्ने कुरा त परै जाओस् । सुन्दरीजलको क्याम्पसम्म पुग्न मात्र १०० मिटर तल थियौँ । म पुरै असमर्थ भइसकेकी थिएँ । सिँढीमा थचक्क बसेँ । भोमिट पनि भएको थियो । सबै जना अगाडि बढिसके तर गङ्गा भेटवाल सर र विमल अर्याल सर मलाई पर्खिबस्नु भाथ्यो एकछिनपछि अलि आराम हुँदा हामी तीनै जना अगाडि बढ्यौँ । त्यस्तो विकट बाटो र विकट परिस्थिति जहाँ आफ्नै ज्यान भारी हुन्छ । त्यस्तो परिस्थितिमा विमल अर्याल सरले मेरो झोला बोकिदिनुभएको अविस्मरणीय क्षणलाई घरीघरी म सम्झिरहेको हुन्छु र त्यो क्षण हामी कहिले पनि नबिर्सिऊँ भन्ने कामना पनि गर्दछु । मान्छेको स्वभाव सारो गाह्रो पर्दा नि देखिन्छन् । हामी हिँड्दै फोटो खिच्दै कुरा गर्दै अगाडि बढिरहेका थियौँ ।
चौकोटदेवी क्षेत्रमा पनि प्रकृतिका सुन्दर दृश्यले मन रमाइरहेको थियो । स्वर्गका टुक्राझैँ अनुभव भइरहेको थियो । हामी स्वर्गमा हिँडिरहेछौँ जस्तो आफूलाई अनुभूति भइरहेको थियो । प्राकृतिक सौन्दर्यले मन रमाइरहेको थियो । रङ्गीबिरङ्गी फूल नानाथरीका बोट र बोटमा फलेका फलहरू कहिले नाम पनि नसुनेकाहरू देख्न पाइरहँदा आँखाले तृप्ति पाइरहेको थियो । त्यसैबिच हामी एकछिनका लागि बाटो अलमलियाँै, बाटो भेटाएर हामी डाँडामाथिको एउटा सानो चौरमा पुग्यौँ । त्यो चौर सुन्दर थियो । स्वर्गको प्रतिक अनुभूति गराइरहेको थियो । त्यहाँ सबै जना भेला भयौँ, बस्यौँ, फोटो पनि खिच्यौँ र पहिलो अनि दोस्रो चरणको रचनावाचन पनि गर्याैँ । पहिलो चरणको पहिलो वाचकको रूपमा मेरो प्रस्तुति रहेको थियो । मैले लघुकथा वाचन गरँे । लघुकथाको शीर्षक थियो चिठी । जो कि मार्मिक र वेदनाले भरिएको थियो तर मार्मिक चिठीले एकछिनको लागि हाँस्यमय माहोल बनाइदिएको थियो । म पछिको स्रष्टाहरू परशुराम पराशर, शीतल गिरी, प्रभा बराल, विष्णु खनाल, गीता रेग्मीले आआफ्ना रचनावाचन गरेर सुनाउनुभएको थियो । त्यहाँका रमणीय दृश्यमा सबै रमाइरहेको थियौँ । वन जङ्गल पहाडका दृश्यले हामीलाई आनन्द प्रदान गरिरहेको थियो । हाम्रा टोली आफ्ना गन्तव्यलाई पन्छाइरहेको थियो । पछिल्लो पदयात्रा जस्तो नदी र झरना यसपालिको यात्रामा थिएन तैपनि हामी उत्तिकै रमाइरहेका थियाँै । सायद सबभन्दा बढी म नै रमाइरहेकी थिएँ किनभने म तराईमा जन्मेकी हुर्केकी हँु । कहिले आँखाले पहाड हेर्न पाएका थिएनन् तर पहाड र जङ्गलप्रतिको माया प्रेम त सानैदेखि नै थियो । “हरियो वन नेपालको धन” को नारा केटाकेटीदेखि नै सुनेकी थिएँ । त्यो कुरा प्रत्यक्ष रूपमा देख्दा र अनुभव गर्दा मन फुरुङ्गै भए जस्तो हुन्थ्यो । सानैदेखिको रहर पूरा हुँदा देखेर आफूलाई आफैँमा राख्न असमर्थ भइरहेकी थिएँ । यसरी नै रमाउँदै उकालो ओरालोलाई पन्छ्याउँदै हाम्रा स्रष्टा टोली अगाडि बढिरहेको थियो । बाटामा मकैका खेती बग्रेल्ती थिए । ठाउँ ठाउँमा नास्पातीका बोटहरू पनि देख्न पाइन्थ्यो । बाटामा सानोसानो बस्ती पनि देखिन्थ्यो, जो कि धेरै पुरानो पाराले बनाइएका घरहरू देखिन्थे । गाई बाख्रा पनि देखिन्थ्यो । चौरमा हामी बस्दाखेरि एक हुल बाख्राबाख्री थिए । बाख्रा चराउने मान्छे पनि त्यही छेउमै बसेका थिए । कति जना हाम्रा साथीहरूले पाठापाठीसँग फोटो पनि खिचे । त्यति माथिको चौरमा पनि लामखुट्टेले बाख्राबाख्रीलाई टोकेर हैरान बनाइरहेको थिए । ठाउँ ठाउँमा टहरा पनि देखिन्थ्यो । आफ्नो देश र आफ्नो माटो कति प्यारो हुन्छ त्यसका उदाहरण त्यहाँका बासिन्दाहरूले दिइरहेको थिए । तरकारी खेती पनि प्रशस्तै देखिन्थ्यो । नयाँ बनेको बाटोको सुविधा भएकाले किसानहरूलाई तरकारीको भारी बोकेर बजारसम्म जानु परेको सास्ती खप्नु परेको देखिएन । बिक्री मूल्य कमबेसी जे भए पनि ब्यापारीहरू आ–आफ्ना बाहन लिई तरकारी बारीसम्म नै पुगेर किसानलाई सहज प¥ुयाएको देखिन्थ्यो । हामी बात मार्दै अगाडि बढिरहेका थियौँ । हेर्दाहेर्दै हामी १२ बजेतिर अर्को डाँडाको काखमा पुग्यौँ । भन्न त प्रतिमान डाँडा भनिन्थ्यो, तर चारैतिर यसरी आँखा दौडाउँदा स्वर्गको एउटा सानो टुक्रा जस्तै देखिन्थ्यो । हामीले ग्रन्थमा स्वर्गको बखान सुनेका छौँ तर यहाँ प्रत्यक्ष रूपमा हेर्न पाउँदा, आफ्ना खुट्टा टेक्न पाउँदा, मन प्रफुल्लित भइरहेको थियो । मन भावविभोर हुँदै थियो । आफूलाई स्वर्गमा बस्ने स्वर्गकी परी जस्तै अनुभव गरिरहेकी थिएँ । त्यहाँ पनि फोटो सेसन भयो र खाना पनि खाइयो । सबैले ल्याएका नाना थरीका परिकारहरू बाँडीचँुडी खायाँै । खाना खाएपछि फेरि फोटो खिच्याँै त्यहाँबाट १२ः३५ मा चौकोटदेवीको लागि प्रस्थान ग¥यौँ । हामी त्यहाँदेखि ठाडो उकालो चढ्दै जाँदा चौकोटदेवीको मन्दिर देखाप¥यो मन्दिरको ठ्याक्कै तल एउटा ठुलो ढुङ्गामा बाघको चित्र बनाइएको थियो । त्यहाँ पनि हामीले पालैपालो फोटो खिच्यौँ । चौकोटदेवीको स्थानसम्म पुग्यौँ । चौकोटदेवीको स्थानमा देवी विराजमान थिइन् । हामी सबैले देवीलाई ढोग गरी भेटी पनि चडायौँ । त्यहाँबाट देखिने दृश्यले स्वर्गको अनुभूति गराइरहेको थियो । तर बाक्लो बस्ती नभएको हुनाले सुनसान देखिन्थ्यो र मानिसको आवतजावत निकै न्यून थियो । त्यस्ता रमणीय ठाउँका विकास नदेखेर कताकता मनभित्र खल्लो खल्लो महसुस भइरहेको थियो । हुन त बाटोको राम्रो व्यवस्था थियो । जहाँ पनि रोड बाटोघाटोको राम्रो प्रबन्ध हुँदाहुँदै पनि मानिस र बस्तीबजारको अभाव देखिन्थ्यो । चौकोटदेवी मन्दिरको छेउछाउमा बस्ती बसाल्दा प्रर्यटकीय आवतजावत हुन सक्छ होला र हाम्रा देशका लागि व्यापार व्यवसायी प्रस्ट्याउने सम्भावना देखिन्छ होला । त्यो ठाउँको विकासको लागि सम्बन्धित नगरपालिकाको ध्यान आकर्षित होस् भन्ने अपेक्षा राख्दछु । साथै सानो अपिल पनि गर्दछु । जो जससँग सम्बन्धित छ त्यो व्यक्तिले त्यो ठाउँको विकासको लागि पहल गरुन् भन्ने अपेक्षा पनि राख्दछु किनभने घर र व्यवसायी; भए मात्र ठाउँको आकर्षण बढ्छ । नत्र जङ्गल र पहाड भनेर हेलचेक्राई गरेका हुन्छन् । त्यो पनि स्वभाविक नै हो । नेपालमा धेरैजसो ठाउँ जङ्गल र पहाडले नै ढाकिएका छन् हामी पदयात्री एउटा गम्भीर विषयवस्तुको रूपमा चौकोटदेवीको मन्दिरलाई लिन गइरहेका छौ । त्यो ठाउँको विकास कसरी हुन्छ भन्ने कुरालाई लिएर हामी गम्भीर हुन पुगेका छौँ । चौकोटदेवीको दर्शन गरेर चौकोटदेवीकै प्राङ्गणमा हामीले तेस्रो, चौथौ र पाँचौँ चरणको रचनावाचन ग¥यौ । रचनावाचन गरी कार्यक्रमलाई त्यही विश्राम दिएका थियौँ । भज्याङ चोकदेखि पश्चिम हिले गाउँमा बस्ने कक्षा पाँचसम्म पढेको बिजय बाइबा भन्ने एक जना व्यक्तिको भनाइअनुसार सेतीदेवी, वनदेवी र चौकोटदेवी तिनै दिदी बहिनी हुन् । जसमध्ये चौकोटदेवी कान्छी बहिनी हुन् भन्ने जानकारी जनाउनुभएको थियो । यसैगरी नीलाम्बर गौतमले फुल्चोकी, चम्पादेवी र चौकोटदेवी तीन दिदीबहिनी भएका बताउनुभयो । चौकोटदवीमा वैशाख १ गते र मङ्सिर पूर्णिमामा बत्ती बालेर पूजाआजा गर्ने गरिन्छ भन्ने जानकारी पनि प्राप्त गरेका थियौँ । त्यस चौकोटदेवीथानमा एउटा पाटीको स्थापना २०७६ साल असार २० गते रोज दुईका दिन स्वर्गीय गङ्गादेवी चपागाईं आफ्नी अर्धाङ्गिनीको स्मृतिमा धननाथ चापागाईंले निर्माण गरिएको लेखिएको थियो । त्यहाँ खास पुजारी पनि नराखिएको भए पनि बेलामौकामा पूजाआजा गरिन्छ भन्ने जानकारी पनि माइला बम्जनबाट पाइयो । चौकोटदेवीबाट देखिएका सुन्दर दृश्यको अवलोकनपछि मनलाई त्यतैतिर तानिरहेको छ । त्यहाँका पहाड र जङ्गलका तरङ्गित धुन अहिले पनि कानमा गुन्जिरहेका छन् घरी घरी आँखा त्यतैतिर दौडन्छन् । डाँडाको चौरमा लुटपिटिन खोज्छ मन । खुट्टाहरू नाच्न खोज्छन् तेतै, तर बाध्यता हाम्रो, हामी फर्किनुपर्छ आफूसँग ती रमणीय दृश्यबाहेक केही पनि ल्याउन सकिँदैन । न त त्यहाँ बस्न सकिन्छ । हामीले आफ्नो मनलाई आफँैले फकाउनुपर्छ । अर्को महिनाको पहिलो शनिबार फेरि हाम्रो स्रस्टा पदयात्री टोलीले अर्को कुनै नयाँ नौलो ठाउँ जानु नै हुन्छ । यो भन्दा पनि रमाइलो हुन सक्छ होला भन्ने हाम्रो परिकल्पना हुन्छ । परिकल्पनामा नै आफूलाई भुलाउन बाध्य हुन्छौँ । वास्तवमा पदयात्राहरू हाम्रा लागि कति आनन्दमय छन् महिनाको एक दिन भए पनि हाम्रो भेटघाट हुन्छ । रमाइलो गर्छौंँ । सडक, पेटी, मठ, मन्दिर, गाउँ, बँेसी आदि इत्यादिका अवलोकन र अनुभव बटुल्ने गछौँ । यसैबिच हामी लेख्ने अभ्यास पनि गर्छौं । हाम्रो लेखनमा श्रीवृद्धि भइरहेको छ । यो पदयात्राको चाँजोपाँजो मिलाउने महासचिव गङ्गाप्रसाद भेटवाल सरलाई धन्यवाद । चौकोटदेवी माताको आशीर्वाद सधँै हामीलाई मिलिरहोस्, जय चौकोटदेवी माता
यो ८६ औँ पदयात्रा हो । यो हाम्रो स्रष्टा पदयात्रा नेपालका स्रष्टाहरू २०८१ साल आश्विन ५ गते शनिबार काठमाडौँँको कोटेश्वरबाट बस चढेर दक्षिणकाली न.पा.वडा नं ८ छैमलेमा बस रोकेर पदयात्रा गर्दै चौकोटदेवीको दर्शन गर्दै रचनावाचन सम्पन्न गरेर फर्किएको थियो । यो पदयात्रामा हामी जम्मा ३४ जना स्रष्टा पदयात्रीहरू सहभागी भएका थियौँ ।
पदयात्राको दिन कुरिरहने बानी परिसक्यो मलाई । सकेसम्म, मिलेसम्म, भ्याएसम्म मलाई पदयात्रा छुटाउनै मन लाग्दैन । आज बिहान कोटेश्वरको आकाशेपुलमुनि पदयात्रीहरू लिएर गुड्ने बस भेट्नु छ, बिहानको ४ बजे घडीको अलार्म बज्छ । मलाई आज राती पटक्कै निदा परेको छैन । आँखा झप्कने, खुल्ने क्रम जारी छ, हतपत उठेर नित्यकर्मपश्चात ध्यानमा बस्छु, पटक्कै ध्यान लाग्दैन । ‘आ होस्,’ भन्दै उठेर भान्छातिर पसेर मनतातो दुई ग्लास पानी घुट्क्याएपछि पदयात्राको ड्रेस लगाएर हिजो नै तयार पारेको ३ किलो स्याउसमेतको ब्याग बोकेर निस्केँ कोटेश्वर चोकतिर । खोलाघरे दाइले फोनमा घण्टी बजाउनुभयो, अनि आवाज आयो, बहिनी निस्कनुभयो, जवाफमा मैले भने, नमस्ते दाइ म पुग्न लागेँ ।
कोटेश्वरमा रामकुमार पण्डितज्यूले अप्सराजी भनेपछि म झसङ्ग हुन्छु, किनकि म फोनमा व्यस्त छु, एउटा अर्को संसारमा मन छ, तर पाइला भने अर्कै संसारतिर लम्किरहेछन् । ‘ए हजुर ! ‘रामकुमारजी पो नमस्कार !’ पछि हामी आकाशेपुल क्रस गरेर बस स्टेसनमा पुग्यौँ, एकैछिनपछि स्रष्टा पदयात्रीहरूलाई बोकेर बस आयो बिहानको ७ः०० बजे । हामी पनि थपियौँ सिटमा । सुष्मा बहिनीसँगै आएर सिटमा बसिन् । बल्ल तेस्रो पदयात्राको भेटपछि हाम्रो राम्रो परिचय भयो । अब अरू पदयात्रीहरूलाई बिहान ७ः३० मा बल्खु चोकमा भेटेर बसका सिट भरिएपछि मन फुरुङ्ग पार्दै गन्तव्यका यात्राहरू सुरु ग¥यौँ ।
यस पटकको स्रष्टा पदयात्राले काठमाडौँँको दक्षिणभेगमा अवस्थित चौकेटदेवी मन्दिरलाई गन्तव्य बनाएको छ । व्यवसायिक कामले हेटौँडा जाँदा बाटोमा दक्षिणकाली मन्दिर हुँदै छैमले कटेको याद छ तर त्यही स्थानमा रहेर त्यो माटोमा भिज्ने मौका आजसम्म मिलेको थिएन । बसले त्रिभुवन विश्वविद्यालयको ढोका छिचोलेर चोभारको रुट समाउँदै गर्दा शरीर यात्रातिर हिँडे पनि विचलित मन अलिक प्रसन्न भयो । मनै त बदलिरहने, त्यसमाथि नीलो आकाशमा सेता सफा टुक्रा टुक्रा कपासझैँ फिँजिएर आजको घामलाई बादलुले जिस्काइरहेछ । म झ्यालपट्टिको बसको सिटमा छु, पूर्वपट्टिको जहाँबाट पूर्वमा भैँसीपाटीमा बनेका गज्याङ्गगुजुङ्ग वस्तीका नयाँघरहरूले त्यो तरेली परेको हरियो फाँटलाई गिज्याइरहेछ । झ्यालबाट पूर्वपट्टि नियाल्छु, सरर् चिसो बतासले शरद ऋतु दसैँको सङ्घारमा आएको आभाष दियो । मन रोमाञ्चित भयो । धुलाले ढपक्क ढाकिरहने आकाश र कोलाहालपूर्ण बस्तीबाट बाहिर निस्कँदै छु आज पदयात्राको निहुँमा, नितान्त म मेरो मात्र भावना मिसिएको सास फेर्न । मलाई आज आकाशमा नियाल्दा निक्कै रमाइलो लागिरहेछ । किनकि घामलाई बादलले घरी घरी जिस्काइरहेछ । अनि घाम पनि मन्द मन्द लजाइरहेछ र मेरो मनलाई रोमाञ्चित गराइरहेछ । म घरी प्रकृतिसँग, घरी मनसँग त बसभित्रका स्रष्टाहरूसँग मौन संवाद गर्छु तर गन्तव्यको कौतुहलतालाई छिट्टै मेटाउन सोधिरहन्छु गङ्गा भेटवालज्यूलाई, अब कति टाढा छ भनेर । अलिक त्यो भेगको परिचित गङ्गा भेटवालले अब आइपुग्न लाग्यो, चौकोटदेवी मन्दिर त प्रख्यात हो तर धेरै मानिसले त्यो ऐतिहासिक धार्मिक स्थललाई अझै ओेझेलमा नै राखे जस्तो लाग्छ भन्दै गफिँदै गफिँदै हामी त टौदह कटिसकेछौँ ।
हाम्रो बसले घुम्तीहरूलाई सजिलै कटाउँदै दक्षिणकाली मन्दिर नजिक पुगेपछि एकछिन मैले भगवतीको स्वरूपको परिकल्पना गर्दै नतमस्तक भई मनमनै नमस्कार गरेँ । दक्षिणकाली आमाले मेरो भावनासँग साक्षात्कार भएर सबै मनोकामना पुरा गर्नु हुने मेरो विश्वास छ, जब मलाई अति तनाव हुन्छ, जब मेरो कामहरू अधुरा हुन्छन्, तब म दक्षिणकाली आमालाई अन्तरमनबाट सम्झन्छु र गुनासो गर्छु, तब आमाले मेरो सबै बाधा अड्कल फुकाइदिनुहुन्छ । त्यसपछि म मौसमको पर्वाह गर्दिनँ र पुग्छु तुरुन्तै आमाको शरणमा शिर टेकाउन बल्ल मलाई चैन मिल्छ । भगवान् मेरो आस्था मात्र नभएर सहारा पनि हो । जसलाई विना स्वार्थ भक्तको संरक्षण गर्नुछ र गर्नु पनि हुन्छ, त्यो मेरो विश्वास हो । यो भक्तिको विश्वास आजसम्म डगमगाएको छैन । बाँकी त मैले मानिसप्रतिको विश्वास गर्न छोडेको युगौँ भइसक्यो । मेरो होस सम्हालेदेखि दक्षिणकाली माता मलाई मेरै आमा जस्तो लाग्छ, म चार कक्षामा पढ्दा नै मैले दक्षिणकाली माताको दर्शन गर्ने सौभाग्य पाएको थिएँ । एक जना मेरो स्कुलको ईश्वरी भन्ने साथी थिइन, हामी सँगै खेल्दा दक्षिणकाली माताको प्रसङ्ग चल्यो, मैले दर्शन गर्न मन लागेको छ भनेपछि मैले मन्दिर जाने बाटो देखेको छु, म तिमीलाई लैजान्छु भनेपछि मन्दिर जाने सल्लाह भयो । तर घरमा सल्लाह गर्दा साथीसँग त्यति टाढा नपठाउने निर्णय सुनाउनुभयो बुवाले । असाध्यै दर्शन गर्न मन लागेको दक्षिणकाली मन्दिर जाने अनुभूति नपाएपछि म रुँदै रुँदै साथीलाई स–विस्तार लाएपछि शुक्रबारको दिन स्कुल जाँदा खाना नखाई स्कुलड्रेस मै दक्षिणकाली मन्दिर जाने भन्ने निर्णय भयो । अनि शुक्रबारको दिन सहिदगेटबाट लोकलबस चढेर मन्दिर पुग्ने भनेर लायौँ सहिदगेटतिर । मेरो साथीलाई मन्दिर जाने सबै बाटोहरू याद रहेछ । हामी बस चढेर गयौँ र फर्पिङ्ग ओर्लियौँ, त्यति बेला बस मन्दिरसम्म पुग्दैनथ्यो । एक किलोमिटर जति अगाडिको ठुलो चौरमा बस रोकिएको थियो । हामीले त्यहाँ दुईचार दाना नास्पाती किन्यौँ र मन्दिरमा पुग्यौँ । त्यति बेला मैले खोजेको र रोजेको भगवान् भेटेको अनुभूति भयो । आहा त्यो दिन थियो जुन दिन दक्षिणकाली माताको दर्शन गर्ने मौका मिलेको थियो, त्यो इश्वरी नामको साथीको कारणले म धन्य भएँ । त्यसपछि स्कुल छुट्टी हुने समयमा घर आइपुग्यौँ । घरमा कसैलाई पनि थाहै भएन, हामी दक्षिणकाली माताको दर्शन गर्न पुगेको कुरा । त्यो कुरा गर्भमै थियो, आज स्रष्टा पदयात्राले त्यो घटना उजागर गर्ने मौका प्रदान ग¥यो । फेरि एक पटक त्यो मेरो ईश्वरी भन्ने बालसखालाई र स्रष्टा पदयात्रा नेपाललाई मनमनै हार्दिक आभार व्यक्त गरेँ ।
अब हामी दक्षिणकाली मन्दिरको गेटमा पुग्यौँ । टक्क बस रोकियो र टिकट काटेपछि मात्र मन्दिर परिसर कट्न पाइने जानकारी भएपछि हाम्रो बसले टिकटको पैसा तिरेर लाग्यौँ, दक्षिणकाली आमालाई देब्रे पार्दै जङ्गलको पिचबाटो छिचोल्दै गन्तव्यतिर । मैले बसमा बसेपछि फेरि सम्झेँ आहा जिन्दगी त यस्तै फिरङ्गी भए कस्तो रमाइलो हुन्थ्यो । न ताप न राप न सन्ताप आनन्दै आनन्द । सँगै बस्ने सुुष्मा बहिनीले दिदी सेल्फी लिऊँ न भने पछि झस्याङ्ग हुँदै फेरि नर्मल बन्ने कोसिस गरेँ । आजको पदयात्रामा निस्कँदा नै मौसमले साथ दिएको र पैदलयात्रा पनि करिब ६ किलोमिटर जति मात्रै भएकाले आज धेरै धपेडी झेल्न नपर्नेमा ढुक्क महसुस गरेर हिँड्यौँ । यस अगाडिको पदयात्रा सम्झँदा निक्कै थाकेको तर रमाइलो भएको कुरा एक अर्कालाई सुनाउँदै हाँस्दै हामी गुडिरह्यौँ एकतमासले जसरी आजसम्म जीवनयात्रा गुडिरहेछ । अहोरात्र समयको पछाडि ।
अबको हाम्रो बस रोकिने ठाउँ भन्ने सुनेपछि एकैछिन बसलाई भञ्ज्याङ्ग भन्ने ठाउँमा रोकेर पिउने पानी गाडीमा राख्यौँ र फर्पिङ्गको सुरक्षाकर्मीलाई यात्राको परिचय भराएर छैमले पुग्यौँ । छैमलेमा सानो बजार रहेछ, गुमुक्क परेका बस्तीहरू बीचमा गाडीलाई विश्राम दिएपछि हामी सबै जना नजिकैको चियापसलमा गई चिहानास्ता खाएपछि दुई चार वटा फोटोहरू फोनमा कैद गर्दै । निक्कै उत्साहका साथ स्थानीयहरूसँग चौकोटदेवी मन्दिर जाने बाटो र त्यहाँको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी लिँदै स्थानीयको श्रम पसिनाबाट उब्जिएको ताजा ताजा दुईचारवटा काँक्रा किनेर बिस्तारै लाग्यौँ मन्दिरतर्फ । स्थानीयको जानकारीअनुसार छैमललेलाई पश्चिमको कर्णाली भनिँदो रहेछ । वास्तवमा काठमाडौँँबाट नजिकै पर्ने प्रकृतिको अनुपम बस्ती रहेको छैमले कृषिमा निर्भर रहेछ । हरियाली जङ्गल, खेतका ठुला ठुला गह्रामा लगाइएको पाक्ने बेला भएको पहेँलपुरे धान र बारीका पाटाहरूमा लगाएका पाकिसकेका मकैका घोगाहरूको मगमग बास्नाले हामी सबैको मन उमङ्गले खुसी भएर भरियो । हामी ३४ जना स्रष्टा भए पनि कोही अघि कोही पछि गर्दै बाटो पहिल्याउन थाल्यौँ । कहीँ समूहमा त कहिले एक्लै हिँड्दा अर्गानिक माटोको सुगन्ध र आँखा र मनलाई शीतल पार्ने हरियालीले मनलाई असाध्यै हर्षित बनायो ।
मलाई दसैँको मौसम खुबै मन पर्छ, छैमलेको सेरोफेरोलाई पाइतालाले नापिरहँदा आफू बाल्यकाल हुँदाको सम्झनाले झक्झक्याई रह्यो । त्यहाँका बारीका कान्लामा पुतली फूलका बोटहरू मगमगाइरहेका थिए । रातोमाटो र कमेरो माटोले आँगन पिँडीमा लिपेर चिटिक्क देखिन्थे । कहीँ अलिक पर टारीमा मकैका झुप्पाहरू झुम्मिरहेका थिए । खेतका गह्राहरूमा धानका सुनौला झपक्क परेका बाला झुलिरहेका थिए । बाटोको वरिपरि कतै पोथ्रापोथ्री बुट्यान त कतै सर्लक्क परेका अग्ला अग्ला सल्लाका रुखहरूको बीचबाट पदयात्रा गरिरहँदा स्वर्गीय आनन्द भयो मलाई । म काठमाडौँँको बानेश्वरमा जन्मिएको डाँडापाखा नदेखे तापनि बाल्यकालमा साथीहरूसँग धानबाली र मकैबालीमा लुकामारी खेलेको याद ताजा बनायो फर्पिङ्गले । यो दसैँको मौसममा दाजुहरूले उडाएको चङ्गा चेट हुँदा भुइँमा नहेरी दाजुहरूको चेट भएको चङ्गा टिप्नको लागि आकाशतिर हेरेर दौडँदा धानबारीमा चप्पल कति हरायो कति । तैपनि चङ्गा टिप्नको लागि हामी भुराभुरी तँछाडमछाड गरी दौडन्थ्यौँ र चङ्गा ल्याएर दाजुहरूलाई दिन्थ्यौँ । बदलामा दाजुहरूले दुई वटा सुन्तला चकलेट दिनुहुन्थ्यो । हामीलाई त्यो चकलेट अमृत हुन्थ्यो तर घर फर्कंदा खुट्टा नाङ्गो देखेपछि आमाको गाली खानसम्म खान्थ्यौँ । भोलिपल्ट फेरि बुवालाई फकाएर चप्पल किन्न लगाउँनुहुन्थ्यो आमाले । मातृवात्सल्यको बयान गरेर कहिल्यै सकिन्न । हात्तीछाप चप्पल निक्कै बलियो र सस्तो हुन्थ्यो । त्यही चप्पल लगाएर कहिले लङजम्प कहिले हाईजम्प खेल्दा चिप्लिएर चुँडिने, कहिले धानबारीमा हराउने, कहिले खेल्दा खेल्दै बिर्सिएर घर आउने र भोलिपल्ट लिन जाँदा हराइसक्ने हुन्थ्यो । यस्ता चप्पलका कहानी मैले धेरै भोगेको छु बाल्यकालमा । विना चप्पल दौडँदा काँडा बिझेका खिलका दाग र सिसाका टुक्राले पैतालामा काटेका दागहरू अहिले पनि छन् पाइतालाहरूमा । जुन दागले निस्फिक्री बिताएका बाल्यकालका, उमङ्गले भरिएको अर्को खुसी पारिवारिक सौहाद्र्धता, साथीभाइसँगको रमाइलोको खुब याद आउँछ । जसले मेरा जीवनका सम्पूर्ण सङ्र्घषका पीडाहरू भुलाउन मद्दत गर्छ । त्यति बेला जति बेला म आफूलाई अति भाग्यमानी सम्झन्थेँ । त्यो मेरो बाल्यकालमा खेतबारीमा खेलेको समय आज फेरि पदयात्राको कारणले मेरो मानसपलटमा ताजा बनेर आयो । यो पदयात्राले ती बाल्यकालका सम्झनाहरूलाई ताजा बनाइदिएकोमा मनमनै खुब नतमस्कत भएँ यो धर्ती, आकाश, स्रष्टा पदयात्रा नेपाल र चौकेटदेवीसँग । जसको कारण म जीवित भएर यो जीवन्त अनुपम अनुभवी सुखद यात्रामा हरेक पल शान्तिको अनुभूत गरिरहेछु ।
अलिक डाँडा चढेर मन्दिर जाँदा हामीले एकछिन स्थानीयले सुझाएको बाटो भुल्यौँ । यौटा गु्रप डाँडाबाट अलिक ओरालो झ¥यौँ यतै हामो गन्तव्य भन्दै फेरि अर्को गु्रप डाँडा चढ्न थाल्यौँ । हामी ३, ४ जना अलमल प¥यौँ । कता जाँऊ कता ? त्यै मौका छोपेर त्यो सुन्दर रमणीय स्थानको फोटो कैद ग¥यौँ । गालामा राखेको अमलाको अमिलोले आँत रसाउँदै । समय ढल्कँदै छ, घाम छिप्पिन लागि सक्यो । अलमलको बीचमा पक्कै तल्लो बाटो नहुन पर्छ, किनकि देवीस्थान डाँडामा होला भन्ने अनुमानपछि तल झरिसकेका स्रष्टाहरू फेरि हामीसँगै मिलेर उकालो लाग्नुभयो । हरियो जङ्गलमा पहेँलो टिसर्ट लगाएर एकलहर कमिलाको ताँतीजस्तै देखिने पदयात्रीहरूले प्रकृति शोभायमान भयो । मैले फोन निकालँे र दृश्यलाई कैद गरी सुटुक्क आहा कस्तो रमाइलो आजको दिन न व्यवसायिक तनाव न घर व्यवहारको । नितान्त मेरो समय प्रकृतिसँगै देवीभक्तिको अमृतमय समयको सुस्वादन भोगिरहेछु । हर्षले मन गदगद भयो । पदयात्रीका झोलाबाट धमाधम निस्केका पुष्टकारी चक्लेटहरूले आँत रुझाउँदै सल्लाका बोटको छहारीलाई पन्छाउँदै हामी पुग्यौँ । छैमले स्थित सल्लाका सुरिला अग्ला रुखहरूले घेरिएको बीचमा हरियो कार्पेट ओच्छाएको प्रकृतिको सुन्दर चौरमा । वरिपरिका शीतल छहारी बिचमा फराकिलो चौडा समथर घाँसे खुल्ला चौरमा रसिलो दुबो र घाँसहरू झपक्क पारेर सिँगारिएझैँ लाग्ने हाम्रै प्रतीक्षारत चौरमा पुगेपछि नेपाल आमाको बात्सल्यले भरिपूर्ण काखमा पुगेजस्तो अनुभूत भयो । चौरको वरिपरि स–साना रुखहरूमा सिरसिर चलेको सुगन्धित बतासले विश्रामको निम्तो दिएपछि हामी सबै त्यहीँ एकतृत भएर पहिलो र दोस्रो रचनावाचनको कार्यक्रम सुरु गर्ने निधो ग¥यौँ । वास्तवमा मैले त्यो चौरबाट वरिपरि नियाल्दा परसम्म हरियाली डाँडाहरू कतै कति स–साना बस्तीहरू देखिन्थे भने कतै खेतीमा झप्प झप्प बालाहरू झुलिरहेको दृश्य नियाल्दा साँच्चिकै शान्त, सौम्य र मनोरम दृश्यमा आफूलाई चुर्लम्म डुबाएछु । रुबी सत्यालले दिदी फोटो खिचौँ न भनेपछि मैले पनि प्रकृतिसँग लपक्क टाँसिएर २, ४ क्लिक लिइहालेँ । यस्तो अलिक पर सबै सष्टाहरू जम्माएर रचनावाचनको प्रथम चरण सुरु भइसकेको छ । नजिकै एक हुल बाख्रापाठा लिएर २, ४ जना स्थानीयहरूले चौरमा चराउँदै हुनुहुँदो रहेछ । सबै जना जम्मा भैसकेको भए पनि मलाई एकछिन मौन संवाद गर्न मन लाग्यो छुट्टै बसेर एकछिन त्यो अनुपम आनन्द लुटिरहेँ । खुल्ला हरियो फराकिलो चौर एउटा डाँडाको थाप्लोमा अवस्थित छ । त्यसलाई शीतलता दिनको लागि अग्ला अग्ला सल्लाका रुखहरूले सूर्यको तापिलो किरणलाई छेकेको छ, रङ्गीबिरङ्गी बाख्राहरूले आफ्ना पाठापाठीहरूलाई सँगसँगै राखेर स्वादिलो घाँसमा चरण गरिरहेका छन् । गोठालाहरू एक आपसमा गफमा मस्त भई बिँडीको सर्कोले घाँटी भिजाइरहेछन् । एउटा टोली पहँेलो टिसर्ट लगाएर चौरभरी फिँजिएर रचनावाचनको तयारीमा जुटेका छन् । नजिकै वरिपरिका हरियाली युक्त खेतीपाती र खोल्साहरू देखिन्छन् । मध्यान्हमा पनि चिसो सिरसिर मन्द हावाले चाडबाट नजिकिएको सुगन्ध दिइरहेछ । आहा, सधैँ निरोगी भई बाँचिरहन पाए, यस्तै प्रकृतिको बेला बेलामा विचरण गरिरहन पाए, जीवनमा यस्तै शान्तिपूर्ण प्राकृतिक छहारी पाइरहन पाए भन्दै मन रोमाञ्चित हुँदै गयो । हामी दङ्ग पर्दै रचनावाचन स्थलमा मिसियौँ । हामी ३४ जनाको टोली भएको हुनाले रचना बाचनको लागि ५ वटा टोली विभाजित थियो । पहिलो र दोस्रो चरणको रचनावाचनमा दीपक लोहनीज्यूले संयोजन गर्नुभयो । रचनावाचनमा निकै उत्कृष्ठ कविता, भजन, गीत र लघुकथा प्रस्तुत भए । सहभागी सबैले रचनावाचनको मनग्य सुस्वादन ग¥यौँ । साङ्गीतिक भजन घनश्याम प्रसाई दाइले मुग्ध कण्ठमा गुनगुनाएपछि हामी पनि रम्यौँ मज्जाले, नाच्दै, फुर्कंदै, त्यहाँ कुनै सङ्कोच थिएन । कुनै बाधा बन्धन थिएन । मनको लगाम छोडेर गु्रपमा छमछमी नाच्यौँ । सबै मिलेर रमाइसकेपछि अब हामी छड्के छड्के बाटो पारेर फेरि पाइला नाप्न थाल्यौँ, चौकोटदेवी मन्दिर स्थानतिर ।
हाम्रो यात्रामा खाने सामलको बन्दोबस्त आफैँले गर्ने नियमको एउटा अनुशासन बाँधिएको छ । करिब दिनको १२ बज्न लागिसक्यो । सूर्यको रापिलो किरणले तातेर तालुबाट तातो बाफ निस्कँदै छ । पछाडि बोकेको झोलाको खानाको सुगन्धले लोभ्याइरहेछ ।, सबैको झोलाबाट केही न केही खानेकुराको वास्नाले नाक अघाइसक्यो, पेटमा मुसा दौडेर कुलकुल गरिसक्यो । तर कति बेला कहाँ बसेर खाने भन्ने नामोनिसान भन्ने नभएपछि शारदा पराजुली, एन्जल निलु र मैले अब त ठाउँ खोजेर खाजा खाऊँ भन्दै एक अर्कोसँग मिठा मिठा गफमा मख्खिँदै लाग्यौँ पश्चिमतर्फ । करिब आधा घण्टाको हिँडाइपछि भेटियो अत्यन्त लोभलाग्दो उत्तरपट्टि अलिक कोल्टे परेको विशाल चौर भेटियो । आहा ! प्रकृतिको कति अनुपम विशालताले भरिपूर्ण धर्ती । हरियो एकैनासे घाँस गलैँचा जस्तो देखिन्थ्यो । अलिक भिरालो र चौडिलो ठुलो चौर वरिवरि झपक्क परेका रुखहरू पश्चिमपट्टि भिरालो, बीचमा हिँड्ने अलिकति घाँसहरू ओइलिएको बाटो छ । हामी चौर नजिकै पुगेपछि चिच्यायौँ खुसीले र एकछिन दौडियौँ चौरभरी मनभित्रको बच्चा प्रकृतिलाई थेग्न सकेनौँ । अनि हिन्दी र नेपाली गीतमा गीत मिसाउँदै हामी स्वच्छन्द भएर रमायौँ, गायौँ, खुब आनन्द भयो । फोटो खिच्ने र टिकटकसम्म बनाउन भ्याए साथीहरूले । मैले यौटा संस्मरण लेखेको थिएँ “आफैँलाई बिर्संदा’’ शीर्षकमा कुनै बेला त्यो संस्मरणको याद आयो, लाग्यो आज पनि मैले मलाई बिर्संदै छु र प्रकृतिसँग लिप्त भएर विलय हुँदैछु । कहिले काहीँ लाग्छ, म मेरो मलाई मैले भनेको के हो ? प्रकृतिको अद्भुत शक्तिको पालक हामी यही अहम् रूपी मले गर्दा कतै वास्तविकताको आँगनीमा पुग्न नसकेको पो हो कि ? कहिले काहीँ आफूलाई बिर्संदा पनि स्वर्गीय आनन्द आउँछ । किनकि पात्रमा ‘म’ धुलायो भने म नै हाबी हुँदैन । तसर्थ ‘म’ झिकेर फालेपछि मात्र समभाव पैदा हुन्छ विनम्र भाव, शान्ति र सन्तुष्टी प्राप्त हुन्छ । यसरी मनभरीको प्राकृतिक सुस्वादनपछि हामी लाइनै बस्याँै खाजा खाने तयारीमा । प्रकृतिको पारिलो र फराकिलो काखमा । उत्तरका मनहर्ने दृश्यावलोकन गर्दै र फुकायौँ आ–आफ्नो खाजाका सामलहरू । मेरो भागमा यो पटक हाम्रो टोली नेता शतिल दाजुले फलफूल ल्याउनु भनेर तोक्नुभएको थियो । फलफूल बोकेर सबैको भागमा पु¥याउने गरी बाँड्न त असाध्यै मन पर्छ तर यात्रा कति लामो हुने कुनै पत्तो अत्तो हुन्न अनि कतिजना सामेल हुने हो यात्राको दिनमात्र अन्तिम निक्र्यौल हुन्छ । अनि फलफूल गाह्रो हुने भएकाले यात्रामा अलिक गाह्रो हुन्छ । त्यसैले अन्यौल पर्दै ३ केजी स्याउ र केही पुष्टकारी र पानी बोकेर हिँड्दा मलाई गधालाई भारी पुगेझँै भयो । यसै पनि उकालोसँग म परिचित हुन सक्दिन गाह्रो लाग्छ । बल्ल स्याउ निकालेर शारदाजीलाई ४÷५ वटा थमाएँ किनकि सोह्रश्राद्ध सुरु भैसकेको थियो यो पटकको पदयात्रा । हविष्यको दिन परेकाले २÷३ जना स्रष्टाहरूले फलाहार मात्रै गर्ने भएकाले केरा स्याउ दही बाँडयौँ र अरूहरूले आ–आफ्नो सक्दो पक्वान सिप प्रयोग गरेर ल्याएको परिकार चिउरा, दही, पकौडा, सेल, तरकारी, अचारले भोक शान्त पारेपछि हामीले त्यो अदभूत सुरभ्य वातावरणको सम्झनालाई अघाउन्जेल दृश्यवलोकन गर्दै अघि बढ्यौँ । अबको पालो अलिक उकालो उकालो दक्षिणतर्फ पुग्नुपर्ने भयो । मध्य घाममा सहभोजनपश्चात् उकालो लाग्दा घामले जिस्काइरहेको थियो तर हामी पनि के कम घामलाई जिस्काउँदै उकालो गोरेटो र मोटर बाटो छोडेर झाडी पन्छाउँदै आफ्नो बाटो बनायौँ र लाग्यो कमिलाको लस्कर झैँ लामबद्ध भई सफा र रमाइलो वातावरणको मज्जा लिँदै चौकोटदेवी मन्दिर परिसरतर्फ । झाडी र जङ्गल छिचोल्दै पूर्वपट्टिको डाँडाका पारिलो घाममा चट्ट परेका लिपपोत गरेका घरहरूलाई देब्रे पारेर मन मस्तिष्कलाई रोमाञ्चकता भर्दै भर्दै गफिँदै फेरि गु्रप फोटो त कहिले सेल्फीको आनन्द लिँदै नवदुर्गा भवानी भगवती कोटदेवीको मन्दिरतर्फ लम्कियौँ बढो उत्साहका साथमा ।
केही स्रष्टाहरू अघि नै मन्दिर पुगिसक्नु भएछ, डाँडाको थाप्लोमा अवस्थित ऐतिहासिक स्थल चौकोटदेवी मन्दिरसँगैको यौटा भजन किर्तन स्थलको छतमा । हाम्रो समूह ठुलो भएको हुनाले यौटै समयमा कुनै पनि तोकिएको स्थानमा पुग्न गाह्रो हुने तर मनको रफ्तार भने अघि नै त्यो गन्तव्यमा पुगिसकेथ्यौँ । काठमाडौँँको मुटुमा बसेका कथित आधुनिकीकरणले छोएकाहरूलाई गाउँले परिवेशको मौलिकताले सारै लोभ्याउँछ । तर फर्पिङ्गलाई काठमाडौँँको दक्षिण कर्णाली भनिए तापनि अलि अलि आधुनिकीकरणका छिटाहरू त्यहाँको स्थानीय मौलिकतामा परेको आभास भयो । घरहरू पनि जस्तापाता प्रयोग भएको र स्थानीयहरूमा पनि पश्चिमे शैलीको व्यवहार गरेको देखेर मन खिन्न नभएको चाहिँ पक्कै होइन तथापि खुल्ला आकाशको मुनि फराकिला फाँट, तरकारीले र मकै भटमासको बोटले भरिएका बारीहरू र सुन झैँ पाकेका लटरम्म धानका बालाहरूमा सुसज्जित पर परका खेतका गह्राहरूका दृश्यले अझै पर पर आँखामा दृश्य हिँडिरहे । फर्पिङ्गको सिमानामा मकवानपुरको भीमफेदी जाने डाँडो र काठमाडौँँको अन्तिम सिमानामा अवस्थित पुरातात्विक र ऐतिहासिक शक्तिपीठ चौकोटदेवीको दर्शन अभिलाषाले पाइलाहरूको रफ्तार अलिक बढाएपछि अन्ततोगत्वा पुग्यौँ सबै स्रष्टाहरू मन्दिर परिसरमा ।
स्थानीयको भनाइअनुसार देवीको स्थानमा मन्दिर तथा गजुर रहेनछ अनि भगवतीको मन्दिर संरक्षणको लागि त्यहाँ दिउँसै बाघ घुमिरहन्थ्यो रे । त्यसैको प्रतिक स्वरूप त्यहाँ यौटा बाघको चित्र कोरिएको ठुलो ढुङ्गा पनि रहेछ । त्यो ढुङ्गालाई देब्रे पार्दै डाँडाको शिरमा अवस्थित साक्षात देवी भगवती चौकोटदेवीको मन्दिर पुगियो । वास्तवमा चारवटा देवीको प्रतिमूर्ति स्वरूप चौकेटदेवीको नामले प्रख्यात मन्दिरमा मन्दिररूपी कुनै कुनै गजुरवाला चार भित्ताहरू रहेनछन् । भगवतीहरूलाई खुल्ला आकाशको गजुरले शोभायमान बनाएर अवस्थित खुल्ला देवी स्थानमा दियो र घण्टीहरूले सुसज्जित बनाएर वरिपरि भगवान्हरूको स्वरूपमा पूजा अर्चना गरिएको रहेछ । विशेष गरी मङ्सिर पूर्णिमामा मेला लाग्ने चौकोटदेवीको दर्शन गर्दा बडो आनन्दको अनुभूति गर्ने अवसर पायौँ । भगवतीको चरणमा नतमस्तक हुँदा मैले यो संसार बिर्सन्छु त भगवत कृपा प्राप्त भएको अनुभूत गर्छु अनि नयन भरीको पानीले देवीको पाउ धुने गर्छु त्यसै गरेँ र दिव्य दर्शन पाएँ । अति कृतज्ञ भएँ म । भावविभोर पनि भएँ केही क्षण । साथी प्रतीक र खोलाघरे दाइ तथा सुष्मा बैनी मिलेर फोटो खिच्यौँ । नजिकैको भजनमण्डली बस्ने छतको परिसरमा सबै स्रष्टाहरू जम्मा भयौँ । ओहो शारदाजीको त खुट्टाभरी रगत पो रहेछ । यसो मोजामा हेरेको त २ वटा जुकाले पो भ्याएछ । मलाई फेरि जुकासँग किन हो एकदमै डर लाग्छ चिच्याएछु अनायासै । सबैको ध्यान म तिरै केन्द्रित भयो हरे भगवान् भनेँ मनमनै अलिक सङ्कोच पनि लाग्यो ।
चौकोटदेवीको प्राङ्गणमा अवस्थित सत्तलको छतमा हाम्रो तेस्रो चौथो र पाँचौँ सबै चरणको रचनावाचन त्यहीँ गर्ने निधो भयो । सबैजना छतमा बस्यौँ र दृश्यावलोकन ग¥यौँ चारैतिर । आहा कति मनमोहक दृश्य, यहाँ चारैतिर डाँडाकाँडाहरूको तरेली परेका भन्ज्याङहरू । कहीँ सूर्यले चिहाएर टलक्कै टल्काएका डाँडा, कहीँ बादलका टुक्राहरूले छुपाएका सूर्यका किरणहरूमा लुकेका शान्त जङ्गल, कहीँ हरिया कलकलाउँदा फाँटहरू, कहीँ टार खेतबारी, कतै गुजुमुज्ज परी बसेको सुन्दर बस्तीहरू देखिने पाखा पखेरा अनि विशाल आकाशलाई कल्की परेका सेता बादलका टुक्राहरूले सजाई रहेका । कञ्चन निलो आकाशमा कपास फुसफुसाएजस्ता सेता लहरले आकृति बदलिरहने बादललाई हावाले घरी यता घरी उता दौडाइरहेको दृश्यले सबैजना स्रष्टाहरू हर्षित भएर भाव मग्न भयौँ । यति सुन्दर ठाउँमा उभिएर चारैतिर नजर दौडाउँदा आज आफूलाई साँच्चिकै भाग्यमानी सम्झिरहेँ । अनि त म पनि के कम भनी फोटोको सौखिन भएकाले आफ्नो फोन निकालेर दुईचार वटा क्लिक धमाधम खिचिहालेँ फोटो । भवानीजीले काँक्रो किनेर ल्याउनुभएको थियो । घामको रन्कोमा उकाली लाग्दा लाग्दा यहाँसम्म आइपुग्दा हामी सबैको मुखतालु सुकिसेको थियो । भवानीजीले बाँडेको काँक्राको एउटा चिरा त्यहाँ हात पा¥यौँ र हृदय नै रसाउने गरी क¥यामकुरुम पा¥यौँ । त्यस पछि हाम्रो रचनावाचन कार्यक्रम सुरु भयो । रचना कार्यक्रम सुरु गर्नुभन्दा अगाडि स्रष्टा पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्याल दाजुको र परशुराम पराशरका किताव विमोचन कार्यक्रम पनि त्यहीँ सम्पन्न ग¥यौँ । सबै स्रष्टाहरूले आ–आफ्नो पालोमा स्तरीय रचनाहरू सुनाउनुभयो । सबै स्रष्टाहरू अति हर्षित भयौैँ ।
एक त फर्पिङ्गको छैमले काठमाडौँँ र मकवानपुरको सिमानामा अवस्थित चौकोटदेवी शक्तिपीठको परिसर, अर्को सबैको मन हर्ने मनमोहक डाँडाको थाप्लोको सत्तलको पक्की छत झन् त्यसमाथि खुलेको आकाश, चारैतिर हरियाली जङ्गल डाँडाकाँडा र भञ्ज्याङ्ग देखिने अत्यन्त सुन्दर मनमोहक प्राकृतिक दृश्यको बीचमा हामी सबै जम्मा भएर रचनावाचनको कार्यक्रम सम्पन्न गर्दा सबै सष्टाहरूले आफूलाई भाग्यमानी सम्झेको कुरा व्यक्त गर्नुभयो । रचनावाचनको कार्यक्रम सकेर केहीबेर सुस्ताए पछि हामी त्यहाँबाट देखिने मनोरम दृश्यसहितको डाँडाकाँडा वनजङ्गल सहितको हरिया फाँटहरू, भञ्ज्याङ्गहरू र हाम्रै आतिथ्य र भक्तिको लागि पर्खिबसेकी चौकोटदेवी मन्दिरको तपोभूमिसँग बिदा मागेर घर फर्किने यात्रा अघि बढायौँ र लाग्यौँ ओरालोतर्फ । ओरालोतर्फ झरिरहेका पदयात्रीहरूको पहेँलो टिसर्टसहितको ताँतीले नागबेली बनाई लस्करै हरियो डाँडामा कुदिरहेको दृश्य माथिबाट नियालिरहेकी मलाई अदभूत लाग्यो र क्यामेरामा कैद गरेँ । ओरालो झर्दा अलि अलि बादलले पनि साथ दिइरहेको थियो र हामी हतार हतार गरेर रमाउँदै, गफिँदै बाँकी भएको चकलेट तितौरा बाँड्दै भिडियो खिच्दै कहिल्यै नबिर्सने दक्षिणकाली फर्पिङ्गको छैमलेस्थित चौकोटदेवीको यात्रालाई मनमुटुको क्यामेरामा खिचेर मातृभूमिप्रति कृतज्ञ भई छैमले बजारमा कुरिरहेको बसमा चढेर शेषनारायण मन्दिर तर्फ लाग्यौँ । शेषनारायण मन्दिर जाने मौका आजसम्म नपाएको हामीले त्यहाँको दृश्यावलोकन गर्दै भगवान नारायणको मन्दिरमा एकछिन भजनकृतन गर्दै श्रद्धाभक्ति अर्पण ग¥यौँ । तत्पश्चात पुनः बस चढेर हामी आ–आफ्नो गन्तव्यतिर लाग्यौँ । करिब ५ः३० मा कोटेश्वरको बसस्टपमा ओर्लेर आजको अदभूत अनुभवलाई सँगालेर घर फर्कंदा कृतज्ञ भएँ । जय चौकोटदेवी माता सधैँ कल्याण गर ।
काठमाडौं । शिक्षाविद् तथा साहित्यकार डा.सदानन्द कडेलका शैक्षिक आकाशका उज्ज्वल नक्षत्र र झुल्को आँखामा दुई कृति लोकार्पित भएका छन् ।
नेपाल स्रष्टा समाज,केन्द्रीय समितिको आयोजनामा शनिबार राजधानीमा आयोजित भव्य कार्यक्रमविच डा.कडेलका दुई कृतिहरु प्रा.डा.सुरेशराज शर्मा,प्रा.डा.वासुदेव त्रिपाठी, केदारभक्त माथेमा,प्रा.डा.विद्यानाथ कोइराला,प्रा.डा.मनप्रसाद वाग्ले,बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन,पवन आलोक,प्रा.डा.अन्जना भट्टराई,प्रा.डा.बालचन्द्र लुइटेल लगायतले लोकार्पण गरे ।
दुई कृतिमध्ये शैक्षिक आकाशका उज्ज्वल नक्षण जीवनी बिम्ब हो भने झुल्को आँखामा गीतसङ्ग्रह हो ।
पुस्तक लोकार्पण पछि काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति समेत रहिसकेका प्रा.डा.सुरेश शर्माले आफ्ना अनुभूतिहरु शेयर गर्दै भने हामीले आफैंलाई राम्रो बनाउन खोज्यौं होला तर देशलाई राम्रो गर्न कसले सोच्यो । देश बनाउने भनेको के हो ?जे गर्छौं त्यो भैरहको छ,गरिरहेका छौं कि छैनौं बेलाबेलामा समीक्षा हुनुपर्छ । हामीले पढ्ने बेलामा उति सजिलै पढ्न पाइएन् । पाएका मध्येपनि देशमा बस्ने अवसर थिएन् । उनले अगाडि भने आफुले पढ्दा अनुसन्धान गर्न विदेश जान बाध्य भएँ । त्यसपछि त्रिविविमा सेवा गरें । यति महँगा उपकरण थिए कि देशमा त्यो उपलब्ध नै थिएन् । रसायनशास्त्र पढेको म राष्ट्रिय शिक्षा समितिमा काम गरें । रसायनशास्त्र व्यवहारमा उतार्न पाइन । विदेश जान मन लागेन् । उनले देश विग्रन लागेकोमा चिन्ता प्रकट गरे मूलुकमा भएको कुरा विग्रन पो लाग्यो कि भन्ने पीर अरुलाई जस्तै मलाई नि लागेको छ ।
watch here with Dr. Sadananda Kanel
त्रिविविका पूर्वउपकुलपति एवं पूर्व राजदुत केदारभक्त माथेमाले आफु शिक्षाक्षेत्रबाट भगाइएको मान्छे भन्दै नेपालले शिक्षाको सही बाटो नलिएकोमा चिन्ता प्रकट गरे । उनले भने सामुदायिक विद्यालय र शिक्षा वलियो बनाउनुपर्छ । सामुदायिक शिक्षाबाट नै हो समाज विकास हुने । तर यो कुनैपनि राजनीतिक पार्टीका नेताबाट सुनिएन । अहिले उच्च शिक्षामा पनि गडवडी छ । उच्च शिक्षामा राजनीतिकरण भएकोमा उनले आपत्ति प्रकट गरे ।
अर्का वक्ता प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.वासुदेव त्रिपाठीले
विदेशिने संस्कृतिप्रति चिन्ता व्यक्त गरे । मेरो चाहाना थियो र अहिले पनि छ नेपाली भाषा सम्वृद्ध होस,शिक्षा विश्वस्तरीय होस ।
्िशक्षाविद प्रा.डा.मनप्रसाद वाग्लेले शिक्षा र साहित्यको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै निराश नहुन र आशावादी चेत जगाउन आग्रह गरे ।
प्रा.डा.विद्यानाथ कोइराला,नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा लोकार्पित कृति शैक्षिक आकाशका उज्ज्वल नक्षत्रमाथि प्रा.डा.बालचन्द्र लुइटेलले प्रकाश पारे । उनले अनुसन्धानमूलक ढंगले जीवनी लेख्न खोजिएको भन्दै कृतिको अनुसन्धानको क्षेत्रमा लाग्नेहरुको निम्ति महत्वपूर्ण भएको बताए । उनले विभिन्न विश्वविद्यालय,सिटिभिटी कसरी बन्यो भन्ने जान्न चाहानेको लागि जानकारीमूलक पुस्तक रहेकोले उच्च शिक्षामा आधूनिकीकरणको विषय समेत यसमा रहेको हुँदा अनुसन्धानको लागि सन्दर्भ सामाग्री हुनसक्नेमा जोड दिए ।
गीतसंग्रह झुल्को आँखामा बारे आफ्नो धारणा राख्दै प्रा.डा.अन्जना भट्टराईले चार अध्यायमा गीतहरु रहेको आमाप्रति समर्पित,थातथलोको स्मरण,महिलाका पीडाहरु,प्रेम लगायतका विषयहरुमा गीतहरु रहेको बताइन । उनले बालगीतहरु पनि कृतिले समेटेको जानकारी दिइन । ६० वटा गीत भएको पुस्तकमा प्रेम,लोककाव्य गीत प्रकृतिका बिम्बहरु रहेको बताइन।
कृतिका स्रष्टा डा.कडेलले रचनागर्भबारे आफ्नो अनुभव र अनुभूति सुनाए ।
Pyuthan update with Mohan bikram Singh
कार्यक्रमका अध्यक्ष रोदनले शैक्षिक क्षेत्रमा वाहिर प्रकाशमा नआएका धेरै कुराहरु जीवनी बिम्बले ल्याएको भन्दै जीवनी लेख्ने फेसन बनेको वर्तमान समयमा भ्रष्टाचारीहरु हत्कडी पटक पटक लगाएर जेल चाहार्नेहरु पैसा खर्चेर अरुलाई जीवनी लेखाउँने प्रचलन बढेको अबस्थामा मुलुककै शैक्षिक क्षेत्रलाई उठाउन जीवनभर लागिरहेका व्यक्तित्वहरुको बारेमा यस प्रकारको जीवनी आउनु गौरवको विषय हो । भन्दै प्रकाशनको अबसरको लागि उनले स्रष्टालाई धन्यवाद दिए ।
समाजकी कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन महासचिव देविका तिमिल्सिनाले गरेका थिए ।
शैक्षिक आकाशका उज्ज्वल नक्षत्रलाई नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो भने झुल्को आँखामालाई इन्दिरा लामिछाने उपाध्यायले प्रकाशन गरेकी हुन् ।
चार पुस्ताले गरे अभ्युदयको लोकार्पणकाठमाडौं । कवि सुमन थापा सङ्गमको कविता सङ्ग्रह अभ्युदय लोकार्पित भएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा कविका ८४ वर्षका पितासहित छोरी र नातिनातिनीहरूसमेतले उक्त कृतिको लोकार्पण गरे ।
अभ्युदयकी कवि सङ्गम आफैैले सञ्चालन गरेको उक्त कार्यक्रममा आफ्ना चार पुस्तालाई संगै राखेर साहित्यका केही प्रतिनिधीमूलक महानुभावहरूको समुपस्थितिमा कृति सार्वजनिक गर्न पाएकोमा आफ्नो लागि खुशी मिलेको बताइन् । यो भन्दा खुशी मेरो लागि के छ र उनले भनिन्।
चर्चित कवि र साहित्यकारहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा डा.शेखर कुमार श्रेष्ठले कृति माथि चर्चा गरेका थिए । श्रेष्ठले अभ्युदयमा प्रेम विषयका कविताहरू बढी भएको बताए । उनले भने प्रेमका अनेकानेक आयाम बाबुआमा प्रतिको प्रेम, प्रेमीप्रेमिकाको प्रेम, देशप्रेम,पशु र प्राकृतिक चिजवस्तुहरू माथिको प्रेम कविताहरूमा छरिएका छन् । कविका कविताहरूमा उनका मनका पीडाहरू आएका छन् भन्दै डा.श्रेष्ठले कविताहरू स्वच्छन्दवाद,नीजात्मक,आशा र निराशाहरू पोखिएका प्रतिकात्मक चेतका भएको आफूले पाएको बताए । उनले अगाडि भने सुन्दर र मिहिन ढंगले कवितले प्रतिक र बिम्बहरु खेलाउनुभएको छ । सुख दुख अभिव्यक्तिको माध्यम कवितालाई बनाएर कविता लेख्नुभएको छ । कविता मनदेखि पढ्यो भने पाठकलाई भावुक बनाउँछ ।
यसअघि कवि सङ्गमकी छोरी समीक्षा के.सी.ले उपस्थित सबैलाई स्वागत गर्दै भनिन्- ममिको खुशी शेयर गर्न उपस्थित हुनुभएका सबै आदरणीयजनहरूप्रति हार्दिक आभारी छु । सबैको माया,साथ र सहयोग पाइरहेकोमा खुशी व्यक्त गर्दछु ।
अनौपचारिक रूपमा गरिएको उक्त कार्यक्रममा कवि श्रीबाबु कार्की, रमी प्रिया, विश्व सिग्देल र प्रोल्लास सिन्धुलीयले अभ्युदयभित्रका कविताहरू वाचन गरे ।
कवि सङ्गमले आफ्ना केही थान कविता सुनाएर कार्यक्रमको समापन गरिन् ।
यस अघि उनका माइतीघरको फूल(कवितासङ्ग्रह) र प्रेमको आदिम गीत (संयुक्त कवितासङ्ग्रह) प्रकाशित भैसकेका छन् । कवि थापाले नेपाली साहित्यका विविध विधामा कलम चलाएको देखिन्छ । साथै उनका रचनामा राष्ट्रीय र अन्तराष्ट्रीय अनुभवसमेतका विषय आएका छन् ।