भगवान् आस्था मात्र नभएर सहारा हो
अप्सरा ढकाल
यो ८६ औँ पदयात्रा हो । यो हाम्रो स्रष्टा पदयात्रा नेपालका स्रष्टाहरू २०८१ साल आश्विन ५ गते शनिबार काठमाडौँँको कोटेश्वरबाट बस चढेर दक्षिणकाली न.पा.वडा नं ८ छैमलेमा बस रोकेर पदयात्रा गर्दै चौकोटदेवीको दर्शन गर्दै रचनावाचन सम्पन्न गरेर फर्किएको थियो । यो पदयात्रामा हामी जम्मा ३४ जना स्रष्टा पदयात्रीहरू सहभागी भएका थियौँ ।
पदयात्राको दिन कुरिरहने बानी परिसक्यो मलाई । सकेसम्म, मिलेसम्म, भ्याएसम्म मलाई पदयात्रा छुटाउनै मन लाग्दैन । आज बिहान कोटेश्वरको आकाशेपुलमुनि पदयात्रीहरू लिएर गुड्ने बस भेट्नु छ, बिहानको ४ बजे घडीको अलार्म बज्छ । मलाई आज राती पटक्कै निदा परेको छैन । आँखा झप्कने, खुल्ने क्रम जारी छ, हतपत उठेर नित्यकर्मपश्चात ध्यानमा बस्छु, पटक्कै ध्यान लाग्दैन । ‘आ होस्,’ भन्दै उठेर भान्छातिर पसेर मनतातो दुई ग्लास पानी घुट्क्याएपछि पदयात्राको ड्रेस लगाएर हिजो नै तयार पारेको ३ किलो स्याउसमेतको ब्याग बोकेर निस्केँ कोटेश्वर चोकतिर । खोलाघरे दाइले फोनमा घण्टी बजाउनुभयो, अनि आवाज आयो, बहिनी निस्कनुभयो, जवाफमा मैले भने, नमस्ते दाइ म पुग्न लागेँ ।
कोटेश्वरमा रामकुमार पण्डितज्यूले अप्सराजी भनेपछि म झसङ्ग हुन्छु, किनकि म फोनमा व्यस्त छु, एउटा अर्को संसारमा मन छ, तर पाइला भने अर्कै संसारतिर लम्किरहेछन् । ‘ए हजुर ! ‘रामकुमारजी पो नमस्कार !’ पछि हामी आकाशेपुल क्रस गरेर बस स्टेसनमा पुग्यौँ, एकैछिनपछि स्रष्टा पदयात्रीहरूलाई बोकेर बस आयो बिहानको ७ः०० बजे । हामी पनि थपियौँ सिटमा । सुष्मा बहिनीसँगै आएर सिटमा बसिन् । बल्ल तेस्रो पदयात्राको भेटपछि हाम्रो राम्रो परिचय भयो । अब अरू पदयात्रीहरूलाई बिहान ७ः३० मा बल्खु चोकमा भेटेर बसका सिट भरिएपछि मन फुरुङ्ग पार्दै गन्तव्यका यात्राहरू सुरु ग¥यौँ ।
यस पटकको स्रष्टा पदयात्राले काठमाडौँँको दक्षिणभेगमा अवस्थित चौकेटदेवी मन्दिरलाई गन्तव्य बनाएको छ । व्यवसायिक कामले हेटौँडा जाँदा बाटोमा दक्षिणकाली मन्दिर हुँदै छैमले कटेको याद छ तर त्यही स्थानमा रहेर त्यो माटोमा भिज्ने मौका आजसम्म मिलेको थिएन । बसले त्रिभुवन विश्वविद्यालयको ढोका छिचोलेर चोभारको रुट समाउँदै गर्दा शरीर यात्रातिर हिँडे पनि विचलित मन अलिक प्रसन्न भयो । मनै त बदलिरहने, त्यसमाथि नीलो आकाशमा सेता सफा टुक्रा टुक्रा कपासझैँ फिँजिएर आजको घामलाई बादलुले जिस्काइरहेछ । म झ्यालपट्टिको बसको सिटमा छु, पूर्वपट्टिको जहाँबाट पूर्वमा भैँसीपाटीमा बनेका गज्याङ्गगुजुङ्ग वस्तीका नयाँघरहरूले त्यो तरेली परेको हरियो फाँटलाई गिज्याइरहेछ । झ्यालबाट पूर्वपट्टि नियाल्छु, सरर् चिसो बतासले शरद ऋतु दसैँको सङ्घारमा आएको आभाष दियो । मन रोमाञ्चित भयो । धुलाले ढपक्क ढाकिरहने आकाश र कोलाहालपूर्ण बस्तीबाट बाहिर निस्कँदै छु आज पदयात्राको निहुँमा, नितान्त म मेरो मात्र भावना मिसिएको सास फेर्न । मलाई आज आकाशमा नियाल्दा निक्कै रमाइलो लागिरहेछ । किनकि घामलाई बादलले घरी घरी जिस्काइरहेछ । अनि घाम पनि मन्द मन्द लजाइरहेछ र मेरो मनलाई रोमाञ्चित गराइरहेछ । म घरी प्रकृतिसँग, घरी मनसँग त बसभित्रका स्रष्टाहरूसँग मौन संवाद गर्छु तर गन्तव्यको कौतुहलतालाई छिट्टै मेटाउन सोधिरहन्छु गङ्गा भेटवालज्यूलाई, अब कति टाढा छ भनेर । अलिक त्यो भेगको परिचित गङ्गा भेटवालले अब आइपुग्न लाग्यो, चौकोटदेवी मन्दिर त प्रख्यात हो तर धेरै मानिसले त्यो ऐतिहासिक धार्मिक स्थललाई अझै ओेझेलमा नै राखे जस्तो लाग्छ भन्दै गफिँदै गफिँदै हामी त टौदह कटिसकेछौँ ।
हाम्रो बसले घुम्तीहरूलाई सजिलै कटाउँदै दक्षिणकाली मन्दिर नजिक पुगेपछि एकछिन मैले भगवतीको स्वरूपको परिकल्पना गर्दै नतमस्तक भई मनमनै नमस्कार गरेँ । दक्षिणकाली आमाले मेरो भावनासँग साक्षात्कार भएर सबै मनोकामना पुरा गर्नु हुने मेरो विश्वास छ, जब मलाई अति तनाव हुन्छ, जब मेरो कामहरू अधुरा हुन्छन्, तब म दक्षिणकाली आमालाई अन्तरमनबाट सम्झन्छु र गुनासो गर्छु, तब आमाले मेरो सबै बाधा अड्कल फुकाइदिनुहुन्छ । त्यसपछि म मौसमको पर्वाह गर्दिनँ र पुग्छु तुरुन्तै आमाको शरणमा शिर टेकाउन बल्ल मलाई चैन मिल्छ । भगवान् मेरो आस्था मात्र नभएर सहारा पनि हो । जसलाई विना स्वार्थ भक्तको संरक्षण गर्नुछ र गर्नु पनि हुन्छ, त्यो मेरो विश्वास हो । यो भक्तिको विश्वास आजसम्म डगमगाएको छैन । बाँकी त मैले मानिसप्रतिको विश्वास गर्न छोडेको युगौँ भइसक्यो । मेरो होस सम्हालेदेखि दक्षिणकाली माता मलाई मेरै आमा जस्तो लाग्छ, म चार कक्षामा पढ्दा नै मैले दक्षिणकाली माताको दर्शन गर्ने सौभाग्य पाएको थिएँ । एक जना मेरो स्कुलको ईश्वरी भन्ने साथी थिइन, हामी सँगै खेल्दा दक्षिणकाली माताको प्रसङ्ग चल्यो, मैले दर्शन गर्न मन लागेको छ भनेपछि मैले मन्दिर जाने बाटो देखेको छु, म तिमीलाई लैजान्छु भनेपछि मन्दिर जाने सल्लाह भयो । तर घरमा सल्लाह गर्दा साथीसँग त्यति टाढा नपठाउने निर्णय सुनाउनुभयो बुवाले । असाध्यै दर्शन गर्न मन लागेको दक्षिणकाली मन्दिर जाने अनुभूति नपाएपछि म रुँदै रुँदै साथीलाई स–विस्तार लाएपछि शुक्रबारको दिन स्कुल जाँदा खाना नखाई स्कुलड्रेस मै दक्षिणकाली मन्दिर जाने भन्ने निर्णय भयो । अनि शुक्रबारको दिन सहिदगेटबाट लोकलबस चढेर मन्दिर पुग्ने भनेर लायौँ सहिदगेटतिर । मेरो साथीलाई मन्दिर जाने सबै बाटोहरू याद रहेछ । हामी बस चढेर गयौँ र फर्पिङ्ग ओर्लियौँ, त्यति बेला बस मन्दिरसम्म पुग्दैनथ्यो । एक किलोमिटर जति अगाडिको ठुलो चौरमा बस रोकिएको थियो । हामीले त्यहाँ दुईचार दाना नास्पाती किन्यौँ र मन्दिरमा पुग्यौँ । त्यति बेला मैले खोजेको र रोजेको भगवान् भेटेको अनुभूति भयो । आहा त्यो दिन थियो जुन दिन दक्षिणकाली माताको दर्शन गर्ने मौका मिलेको थियो, त्यो इश्वरी नामको साथीको कारणले म धन्य भएँ । त्यसपछि स्कुल छुट्टी हुने समयमा घर आइपुग्यौँ । घरमा कसैलाई पनि थाहै भएन, हामी दक्षिणकाली माताको दर्शन गर्न पुगेको कुरा । त्यो कुरा गर्भमै थियो, आज स्रष्टा पदयात्राले त्यो घटना उजागर गर्ने मौका प्रदान ग¥यो । फेरि एक पटक त्यो मेरो ईश्वरी भन्ने बालसखालाई र स्रष्टा पदयात्रा नेपाललाई मनमनै हार्दिक आभार व्यक्त गरेँ ।
अब हामी दक्षिणकाली मन्दिरको गेटमा पुग्यौँ । टक्क बस रोकियो र टिकट काटेपछि मात्र मन्दिर परिसर कट्न पाइने जानकारी भएपछि हाम्रो बसले टिकटको पैसा तिरेर लाग्यौँ, दक्षिणकाली आमालाई देब्रे पार्दै जङ्गलको पिचबाटो छिचोल्दै गन्तव्यतिर । मैले बसमा बसेपछि फेरि सम्झेँ आहा जिन्दगी त यस्तै फिरङ्गी भए कस्तो रमाइलो हुन्थ्यो । न ताप न राप न सन्ताप आनन्दै आनन्द । सँगै बस्ने सुुष्मा बहिनीले दिदी सेल्फी लिऊँ न भने पछि झस्याङ्ग हुँदै फेरि नर्मल बन्ने कोसिस गरेँ । आजको पदयात्रामा निस्कँदा नै मौसमले साथ दिएको र पैदलयात्रा पनि करिब ६ किलोमिटर जति मात्रै भएकाले आज धेरै धपेडी झेल्न नपर्नेमा ढुक्क महसुस गरेर हिँड्यौँ । यस अगाडिको पदयात्रा सम्झँदा निक्कै थाकेको तर रमाइलो भएको कुरा एक अर्कालाई सुनाउँदै हाँस्दै हामी गुडिरह्यौँ एकतमासले जसरी आजसम्म जीवनयात्रा गुडिरहेछ । अहोरात्र समयको पछाडि ।
अबको हाम्रो बस रोकिने ठाउँ भन्ने सुनेपछि एकैछिन बसलाई भञ्ज्याङ्ग भन्ने ठाउँमा रोकेर पिउने पानी गाडीमा राख्यौँ र फर्पिङ्गको सुरक्षाकर्मीलाई यात्राको परिचय भराएर छैमले पुग्यौँ । छैमलेमा सानो बजार रहेछ, गुमुक्क परेका बस्तीहरू बीचमा गाडीलाई विश्राम दिएपछि हामी सबै जना नजिकैको चियापसलमा गई चिहानास्ता खाएपछि दुई चार वटा फोटोहरू फोनमा कैद गर्दै । निक्कै उत्साहका साथ स्थानीयहरूसँग चौकोटदेवी मन्दिर जाने बाटो र त्यहाँको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी लिँदै स्थानीयको श्रम पसिनाबाट उब्जिएको ताजा ताजा दुईचारवटा काँक्रा किनेर बिस्तारै लाग्यौँ मन्दिरतर्फ । स्थानीयको जानकारीअनुसार छैमललेलाई पश्चिमको कर्णाली भनिँदो रहेछ । वास्तवमा काठमाडौँँबाट नजिकै पर्ने प्रकृतिको अनुपम बस्ती रहेको छैमले कृषिमा निर्भर रहेछ । हरियाली जङ्गल, खेतका ठुला ठुला गह्रामा लगाइएको पाक्ने बेला भएको पहेँलपुरे धान र बारीका पाटाहरूमा लगाएका पाकिसकेका मकैका घोगाहरूको मगमग बास्नाले हामी सबैको मन उमङ्गले खुसी भएर भरियो । हामी ३४ जना स्रष्टा भए पनि कोही अघि कोही पछि गर्दै बाटो पहिल्याउन थाल्यौँ । कहीँ समूहमा त कहिले एक्लै हिँड्दा अर्गानिक माटोको सुगन्ध र आँखा र मनलाई शीतल पार्ने हरियालीले मनलाई असाध्यै हर्षित बनायो ।
मलाई दसैँको मौसम खुबै मन पर्छ, छैमलेको सेरोफेरोलाई पाइतालाले नापिरहँदा आफू बाल्यकाल हुँदाको सम्झनाले झक्झक्याई रह्यो । त्यहाँका बारीका कान्लामा पुतली फूलका बोटहरू मगमगाइरहेका थिए । रातोमाटो र कमेरो माटोले आँगन पिँडीमा लिपेर चिटिक्क देखिन्थे । कहीँ अलिक पर टारीमा मकैका झुप्पाहरू झुम्मिरहेका थिए । खेतका गह्राहरूमा धानका सुनौला झपक्क परेका बाला झुलिरहेका थिए । बाटोको वरिपरि कतै पोथ्रापोथ्री बुट्यान त कतै सर्लक्क परेका अग्ला अग्ला सल्लाका रुखहरूको बीचबाट पदयात्रा गरिरहँदा स्वर्गीय आनन्द भयो मलाई । म काठमाडौँँको बानेश्वरमा जन्मिएको डाँडापाखा नदेखे तापनि बाल्यकालमा साथीहरूसँग धानबाली र मकैबालीमा लुकामारी खेलेको याद ताजा बनायो फर्पिङ्गले । यो दसैँको मौसममा दाजुहरूले उडाएको चङ्गा चेट हुँदा भुइँमा नहेरी दाजुहरूको चेट भएको चङ्गा टिप्नको लागि आकाशतिर हेरेर दौडँदा धानबारीमा चप्पल कति हरायो कति । तैपनि चङ्गा टिप्नको लागि हामी भुराभुरी तँछाडमछाड गरी दौडन्थ्यौँ र चङ्गा ल्याएर दाजुहरूलाई दिन्थ्यौँ । बदलामा दाजुहरूले दुई वटा सुन्तला चकलेट दिनुहुन्थ्यो । हामीलाई त्यो चकलेट अमृत हुन्थ्यो तर घर फर्कंदा खुट्टा नाङ्गो देखेपछि आमाको गाली खानसम्म खान्थ्यौँ । भोलिपल्ट फेरि बुवालाई फकाएर चप्पल किन्न लगाउँनुहुन्थ्यो आमाले । मातृवात्सल्यको बयान गरेर कहिल्यै सकिन्न । हात्तीछाप चप्पल निक्कै बलियो र सस्तो हुन्थ्यो । त्यही चप्पल लगाएर कहिले लङजम्प कहिले हाईजम्प खेल्दा चिप्लिएर चुँडिने, कहिले धानबारीमा हराउने, कहिले खेल्दा खेल्दै बिर्सिएर घर आउने र भोलिपल्ट लिन जाँदा हराइसक्ने हुन्थ्यो । यस्ता चप्पलका कहानी मैले धेरै भोगेको छु बाल्यकालमा । विना चप्पल दौडँदा काँडा बिझेका खिलका दाग र सिसाका टुक्राले पैतालामा काटेका दागहरू अहिले पनि छन् पाइतालाहरूमा । जुन दागले निस्फिक्री बिताएका बाल्यकालका, उमङ्गले भरिएको अर्को खुसी पारिवारिक सौहाद्र्धता, साथीभाइसँगको रमाइलोको खुब याद आउँछ । जसले मेरा जीवनका सम्पूर्ण सङ्र्घषका पीडाहरू भुलाउन मद्दत गर्छ । त्यति बेला जति बेला म आफूलाई अति भाग्यमानी सम्झन्थेँ । त्यो मेरो बाल्यकालमा खेतबारीमा खेलेको समय आज फेरि पदयात्राको कारणले मेरो मानसपलटमा ताजा बनेर आयो । यो पदयात्राले ती बाल्यकालका सम्झनाहरूलाई ताजा बनाइदिएकोमा मनमनै खुब नतमस्कत भएँ यो धर्ती, आकाश, स्रष्टा पदयात्रा नेपाल र चौकेटदेवीसँग । जसको कारण म जीवित भएर यो जीवन्त अनुपम अनुभवी सुखद यात्रामा हरेक पल शान्तिको अनुभूत गरिरहेछु ।
अलिक डाँडा चढेर मन्दिर जाँदा हामीले एकछिन स्थानीयले सुझाएको बाटो भुल्यौँ । यौटा गु्रप डाँडाबाट अलिक ओरालो झ¥यौँ यतै हामो गन्तव्य भन्दै फेरि अर्को गु्रप डाँडा चढ्न थाल्यौँ । हामी ३, ४ जना अलमल प¥यौँ । कता जाँऊ कता ? त्यै मौका छोपेर त्यो सुन्दर रमणीय स्थानको फोटो कैद ग¥यौँ । गालामा राखेको अमलाको अमिलोले आँत रसाउँदै । समय ढल्कँदै छ, घाम छिप्पिन लागि सक्यो । अलमलको बीचमा पक्कै तल्लो बाटो नहुन पर्छ, किनकि देवीस्थान डाँडामा होला भन्ने अनुमानपछि तल झरिसकेका स्रष्टाहरू फेरि हामीसँगै मिलेर उकालो लाग्नुभयो । हरियो जङ्गलमा पहेँलो टिसर्ट लगाएर एकलहर कमिलाको ताँतीजस्तै देखिने पदयात्रीहरूले प्रकृति शोभायमान भयो । मैले फोन निकालँे र दृश्यलाई कैद गरी सुटुक्क आहा कस्तो रमाइलो आजको दिन न व्यवसायिक तनाव न घर व्यवहारको । नितान्त मेरो समय प्रकृतिसँगै देवीभक्तिको अमृतमय समयको सुस्वादन भोगिरहेछु । हर्षले मन गदगद भयो । पदयात्रीका झोलाबाट धमाधम निस्केका पुष्टकारी चक्लेटहरूले आँत रुझाउँदै सल्लाका बोटको छहारीलाई पन्छाउँदै हामी पुग्यौँ । छैमले स्थित सल्लाका सुरिला अग्ला रुखहरूले घेरिएको बीचमा हरियो कार्पेट ओच्छाएको प्रकृतिको सुन्दर चौरमा । वरिपरिका शीतल छहारी बिचमा फराकिलो चौडा समथर घाँसे खुल्ला चौरमा रसिलो दुबो र घाँसहरू झपक्क पारेर सिँगारिएझैँ लाग्ने हाम्रै प्रतीक्षारत चौरमा पुगेपछि नेपाल आमाको बात्सल्यले भरिपूर्ण काखमा पुगेजस्तो अनुभूत भयो । चौरको वरिपरि स–साना रुखहरूमा सिरसिर चलेको सुगन्धित बतासले विश्रामको निम्तो दिएपछि हामी सबै त्यहीँ एकतृत भएर पहिलो र दोस्रो रचनावाचनको कार्यक्रम सुरु गर्ने निधो ग¥यौँ । वास्तवमा मैले त्यो चौरबाट वरिपरि नियाल्दा परसम्म हरियाली डाँडाहरू कतै कति स–साना बस्तीहरू देखिन्थे भने कतै खेतीमा झप्प झप्प बालाहरू झुलिरहेको दृश्य नियाल्दा साँच्चिकै शान्त, सौम्य र मनोरम दृश्यमा आफूलाई चुर्लम्म डुबाएछु । रुबी सत्यालले दिदी फोटो खिचौँ न भनेपछि मैले पनि प्रकृतिसँग लपक्क टाँसिएर २, ४ क्लिक लिइहालेँ । यस्तो अलिक पर सबै सष्टाहरू जम्माएर रचनावाचनको प्रथम चरण सुरु भइसकेको छ । नजिकै एक हुल बाख्रापाठा लिएर २, ४ जना स्थानीयहरूले चौरमा चराउँदै हुनुहुँदो रहेछ । सबै जना जम्मा भैसकेको भए पनि मलाई एकछिन मौन संवाद गर्न मन लाग्यो छुट्टै बसेर एकछिन त्यो अनुपम आनन्द लुटिरहेँ । खुल्ला हरियो फराकिलो चौर एउटा डाँडाको थाप्लोमा अवस्थित छ । त्यसलाई शीतलता दिनको लागि अग्ला अग्ला सल्लाका रुखहरूले सूर्यको तापिलो किरणलाई छेकेको छ, रङ्गीबिरङ्गी बाख्राहरूले आफ्ना पाठापाठीहरूलाई सँगसँगै राखेर स्वादिलो घाँसमा चरण गरिरहेका छन् । गोठालाहरू एक आपसमा गफमा मस्त भई बिँडीको सर्कोले घाँटी भिजाइरहेछन् । एउटा टोली पहँेलो टिसर्ट लगाएर चौरभरी फिँजिएर रचनावाचनको तयारीमा जुटेका छन् । नजिकै वरिपरिका हरियाली युक्त खेतीपाती र खोल्साहरू देखिन्छन् । मध्यान्हमा पनि चिसो सिरसिर मन्द हावाले चाडबाट नजिकिएको सुगन्ध दिइरहेछ । आहा, सधैँ निरोगी भई बाँचिरहन पाए, यस्तै प्रकृतिको बेला बेलामा विचरण गरिरहन पाए, जीवनमा यस्तै शान्तिपूर्ण प्राकृतिक छहारी पाइरहन पाए भन्दै मन रोमाञ्चित हुँदै गयो । हामी दङ्ग पर्दै रचनावाचन स्थलमा मिसियौँ । हामी ३४ जनाको टोली भएको हुनाले रचना बाचनको लागि ५ वटा टोली विभाजित थियो । पहिलो र दोस्रो चरणको रचनावाचनमा दीपक लोहनीज्यूले संयोजन गर्नुभयो । रचनावाचनमा निकै उत्कृष्ठ कविता, भजन, गीत र लघुकथा प्रस्तुत भए । सहभागी सबैले रचनावाचनको मनग्य सुस्वादन ग¥यौँ । साङ्गीतिक भजन घनश्याम प्रसाई दाइले मुग्ध कण्ठमा गुनगुनाएपछि हामी पनि रम्यौँ मज्जाले, नाच्दै, फुर्कंदै, त्यहाँ कुनै सङ्कोच थिएन । कुनै बाधा बन्धन थिएन । मनको लगाम छोडेर गु्रपमा छमछमी नाच्यौँ । सबै मिलेर रमाइसकेपछि अब हामी छड्के छड्के बाटो पारेर फेरि पाइला नाप्न थाल्यौँ, चौकोटदेवी मन्दिर स्थानतिर ।
हाम्रो यात्रामा खाने सामलको बन्दोबस्त आफैँले गर्ने नियमको एउटा अनुशासन बाँधिएको छ । करिब दिनको १२ बज्न लागिसक्यो । सूर्यको रापिलो किरणले तातेर तालुबाट तातो बाफ निस्कँदै छ । पछाडि बोकेको झोलाको खानाको सुगन्धले लोभ्याइरहेछ ।, सबैको झोलाबाट केही न केही खानेकुराको वास्नाले नाक अघाइसक्यो, पेटमा मुसा दौडेर कुलकुल गरिसक्यो । तर कति बेला कहाँ बसेर खाने भन्ने नामोनिसान भन्ने नभएपछि शारदा पराजुली, एन्जल निलु र मैले अब त ठाउँ खोजेर खाजा खाऊँ भन्दै एक अर्कोसँग मिठा मिठा गफमा मख्खिँदै लाग्यौँ पश्चिमतर्फ । करिब आधा घण्टाको हिँडाइपछि भेटियो अत्यन्त लोभलाग्दो उत्तरपट्टि अलिक कोल्टे परेको विशाल चौर भेटियो । आहा ! प्रकृतिको कति अनुपम विशालताले भरिपूर्ण धर्ती । हरियो एकैनासे घाँस गलैँचा जस्तो देखिन्थ्यो । अलिक भिरालो र चौडिलो ठुलो चौर वरिवरि झपक्क परेका रुखहरू पश्चिमपट्टि भिरालो, बीचमा हिँड्ने अलिकति घाँसहरू ओइलिएको बाटो छ । हामी चौर नजिकै पुगेपछि चिच्यायौँ खुसीले र एकछिन दौडियौँ चौरभरी मनभित्रको बच्चा प्रकृतिलाई थेग्न सकेनौँ । अनि हिन्दी र नेपाली गीतमा गीत मिसाउँदै हामी स्वच्छन्द भएर रमायौँ, गायौँ, खुब आनन्द भयो । फोटो खिच्ने र टिकटकसम्म बनाउन भ्याए साथीहरूले । मैले यौटा संस्मरण लेखेको थिएँ “आफैँलाई बिर्संदा’’ शीर्षकमा कुनै बेला त्यो संस्मरणको याद आयो, लाग्यो आज पनि मैले मलाई बिर्संदै छु र प्रकृतिसँग लिप्त भएर विलय हुँदैछु । कहिले काहीँ लाग्छ, म मेरो मलाई मैले भनेको के हो ? प्रकृतिको अद्भुत शक्तिको पालक हामी यही अहम् रूपी मले गर्दा कतै वास्तविकताको आँगनीमा पुग्न नसकेको पो हो कि ? कहिले काहीँ आफूलाई बिर्संदा पनि स्वर्गीय आनन्द आउँछ । किनकि पात्रमा ‘म’ धुलायो भने म नै हाबी हुँदैन । तसर्थ ‘म’ झिकेर फालेपछि मात्र समभाव पैदा हुन्छ विनम्र भाव, शान्ति र सन्तुष्टी प्राप्त हुन्छ । यसरी मनभरीको प्राकृतिक सुस्वादनपछि हामी लाइनै बस्याँै खाजा खाने तयारीमा । प्रकृतिको पारिलो र फराकिलो काखमा । उत्तरका मनहर्ने दृश्यावलोकन गर्दै र फुकायौँ आ–आफ्नो खाजाका सामलहरू । मेरो भागमा यो पटक हाम्रो टोली नेता शतिल दाजुले फलफूल ल्याउनु भनेर तोक्नुभएको थियो । फलफूल बोकेर सबैको भागमा पु¥याउने गरी बाँड्न त असाध्यै मन पर्छ तर यात्रा कति लामो हुने कुनै पत्तो अत्तो हुन्न अनि कतिजना सामेल हुने हो यात्राको दिनमात्र अन्तिम निक्र्यौल हुन्छ । अनि फलफूल गाह्रो हुने भएकाले यात्रामा अलिक गाह्रो हुन्छ । त्यसैले अन्यौल पर्दै ३ केजी स्याउ र केही पुष्टकारी र पानी बोकेर हिँड्दा मलाई गधालाई भारी पुगेझँै भयो । यसै पनि उकालोसँग म परिचित हुन सक्दिन गाह्रो लाग्छ । बल्ल स्याउ निकालेर शारदाजीलाई ४÷५ वटा थमाएँ किनकि सोह्रश्राद्ध सुरु भैसकेको थियो यो पटकको पदयात्रा । हविष्यको दिन परेकाले २÷३ जना स्रष्टाहरूले फलाहार मात्रै गर्ने भएकाले केरा स्याउ दही बाँडयौँ र अरूहरूले आ–आफ्नो सक्दो पक्वान सिप प्रयोग गरेर ल्याएको परिकार चिउरा, दही, पकौडा, सेल, तरकारी, अचारले भोक शान्त पारेपछि हामीले त्यो अदभूत सुरभ्य वातावरणको सम्झनालाई अघाउन्जेल दृश्यवलोकन गर्दै अघि बढ्यौँ । अबको पालो अलिक उकालो उकालो दक्षिणतर्फ पुग्नुपर्ने भयो । मध्य घाममा सहभोजनपश्चात् उकालो लाग्दा घामले जिस्काइरहेको थियो तर हामी पनि के कम घामलाई जिस्काउँदै उकालो गोरेटो र मोटर बाटो छोडेर झाडी पन्छाउँदै आफ्नो बाटो बनायौँ र लाग्यो कमिलाको लस्कर झैँ लामबद्ध भई सफा र रमाइलो वातावरणको मज्जा लिँदै चौकोटदेवी मन्दिर परिसरतर्फ । झाडी र जङ्गल छिचोल्दै पूर्वपट्टिको डाँडाका पारिलो घाममा चट्ट परेका लिपपोत गरेका घरहरूलाई देब्रे पारेर मन मस्तिष्कलाई रोमाञ्चकता भर्दै भर्दै गफिँदै फेरि गु्रप फोटो त कहिले सेल्फीको आनन्द लिँदै नवदुर्गा भवानी भगवती कोटदेवीको मन्दिरतर्फ लम्कियौँ बढो उत्साहका साथमा ।
केही स्रष्टाहरू अघि नै मन्दिर पुगिसक्नु भएछ, डाँडाको थाप्लोमा अवस्थित ऐतिहासिक स्थल चौकोटदेवी मन्दिरसँगैको यौटा भजन किर्तन स्थलको छतमा । हाम्रो समूह ठुलो भएको हुनाले यौटै समयमा कुनै पनि तोकिएको स्थानमा पुग्न गाह्रो हुने तर मनको रफ्तार भने अघि नै त्यो गन्तव्यमा पुगिसकेथ्यौँ । काठमाडौँँको मुटुमा बसेका कथित आधुनिकीकरणले छोएकाहरूलाई गाउँले परिवेशको मौलिकताले सारै लोभ्याउँछ । तर फर्पिङ्गलाई काठमाडौँँको दक्षिण कर्णाली भनिए तापनि अलि अलि आधुनिकीकरणका छिटाहरू त्यहाँको स्थानीय मौलिकतामा परेको आभास भयो । घरहरू पनि जस्तापाता प्रयोग भएको र स्थानीयहरूमा पनि पश्चिमे शैलीको व्यवहार गरेको देखेर मन खिन्न नभएको चाहिँ पक्कै होइन तथापि खुल्ला आकाशको मुनि फराकिला फाँट, तरकारीले र मकै भटमासको बोटले भरिएका बारीहरू र सुन झैँ पाकेका लटरम्म धानका बालाहरूमा सुसज्जित पर परका खेतका गह्राहरूका दृश्यले अझै पर पर आँखामा दृश्य हिँडिरहे । फर्पिङ्गको सिमानामा मकवानपुरको भीमफेदी जाने डाँडो र काठमाडौँँको अन्तिम सिमानामा अवस्थित पुरातात्विक र ऐतिहासिक शक्तिपीठ चौकोटदेवीको दर्शन अभिलाषाले पाइलाहरूको रफ्तार अलिक बढाएपछि अन्ततोगत्वा पुग्यौँ सबै स्रष्टाहरू मन्दिर परिसरमा ।
स्थानीयको भनाइअनुसार देवीको स्थानमा मन्दिर तथा गजुर रहेनछ अनि भगवतीको मन्दिर संरक्षणको लागि त्यहाँ दिउँसै बाघ घुमिरहन्थ्यो रे । त्यसैको प्रतिक स्वरूप त्यहाँ यौटा बाघको चित्र कोरिएको ठुलो ढुङ्गा पनि रहेछ । त्यो ढुङ्गालाई देब्रे पार्दै डाँडाको शिरमा अवस्थित साक्षात देवी भगवती चौकोटदेवीको मन्दिर पुगियो । वास्तवमा चारवटा देवीको प्रतिमूर्ति स्वरूप चौकेटदेवीको नामले प्रख्यात मन्दिरमा मन्दिररूपी कुनै कुनै गजुरवाला चार भित्ताहरू रहेनछन् । भगवतीहरूलाई खुल्ला आकाशको गजुरले शोभायमान बनाएर अवस्थित खुल्ला देवी स्थानमा दियो र घण्टीहरूले सुसज्जित बनाएर वरिपरि भगवान्हरूको स्वरूपमा पूजा अर्चना गरिएको रहेछ । विशेष गरी मङ्सिर पूर्णिमामा मेला लाग्ने चौकोटदेवीको दर्शन गर्दा बडो आनन्दको अनुभूति गर्ने अवसर पायौँ । भगवतीको चरणमा नतमस्तक हुँदा मैले यो संसार बिर्सन्छु त भगवत कृपा प्राप्त भएको अनुभूत गर्छु अनि नयन भरीको पानीले देवीको पाउ धुने गर्छु त्यसै गरेँ र दिव्य दर्शन पाएँ । अति कृतज्ञ भएँ म । भावविभोर पनि भएँ केही क्षण । साथी प्रतीक र खोलाघरे दाइ तथा सुष्मा बैनी मिलेर फोटो खिच्यौँ । नजिकैको भजनमण्डली बस्ने छतको परिसरमा सबै स्रष्टाहरू जम्मा भयौँ । ओहो शारदाजीको त खुट्टाभरी रगत पो रहेछ । यसो मोजामा हेरेको त २ वटा जुकाले पो भ्याएछ । मलाई फेरि जुकासँग किन हो एकदमै डर लाग्छ चिच्याएछु अनायासै । सबैको ध्यान म तिरै केन्द्रित भयो हरे भगवान् भनेँ मनमनै अलिक सङ्कोच पनि लाग्यो ।
चौकोटदेवीको प्राङ्गणमा अवस्थित सत्तलको छतमा हाम्रो तेस्रो चौथो र पाँचौँ सबै चरणको रचनावाचन त्यहीँ गर्ने निधो भयो । सबैजना छतमा बस्यौँ र दृश्यावलोकन ग¥यौँ चारैतिर । आहा कति मनमोहक दृश्य, यहाँ चारैतिर डाँडाकाँडाहरूको तरेली परेका भन्ज्याङहरू । कहीँ सूर्यले चिहाएर टलक्कै टल्काएका डाँडा, कहीँ बादलका टुक्राहरूले छुपाएका सूर्यका किरणहरूमा लुकेका शान्त जङ्गल, कहीँ हरिया कलकलाउँदा फाँटहरू, कहीँ टार खेतबारी, कतै गुजुमुज्ज परी बसेको सुन्दर बस्तीहरू देखिने पाखा पखेरा अनि विशाल आकाशलाई कल्की परेका सेता बादलका टुक्राहरूले सजाई रहेका । कञ्चन निलो आकाशमा कपास फुसफुसाएजस्ता सेता लहरले आकृति बदलिरहने बादललाई हावाले घरी यता घरी उता दौडाइरहेको दृश्यले सबैजना स्रष्टाहरू हर्षित भएर भाव मग्न भयौँ । यति सुन्दर ठाउँमा उभिएर चारैतिर नजर दौडाउँदा आज आफूलाई साँच्चिकै भाग्यमानी सम्झिरहेँ । अनि त म पनि के कम भनी फोटोको सौखिन भएकाले आफ्नो फोन निकालेर दुईचार वटा क्लिक धमाधम खिचिहालेँ फोटो । भवानीजीले काँक्रो किनेर ल्याउनुभएको थियो । घामको रन्कोमा उकाली लाग्दा लाग्दा यहाँसम्म आइपुग्दा हामी सबैको मुखतालु सुकिसेको थियो । भवानीजीले बाँडेको काँक्राको एउटा चिरा त्यहाँ हात पा¥यौँ र हृदय नै रसाउने गरी क¥यामकुरुम पा¥यौँ । त्यस पछि हाम्रो रचनावाचन कार्यक्रम सुरु भयो । रचना कार्यक्रम सुरु गर्नुभन्दा अगाडि स्रष्टा पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्याल दाजुको र परशुराम पराशरका किताव विमोचन कार्यक्रम पनि त्यहीँ सम्पन्न ग¥यौँ । सबै स्रष्टाहरूले आ–आफ्नो पालोमा स्तरीय रचनाहरू सुनाउनुभयो । सबै स्रष्टाहरू अति हर्षित भयौैँ ।
एक त फर्पिङ्गको छैमले काठमाडौँँ र मकवानपुरको सिमानामा अवस्थित चौकोटदेवी शक्तिपीठको परिसर, अर्को सबैको मन हर्ने मनमोहक डाँडाको थाप्लोको सत्तलको पक्की छत झन् त्यसमाथि खुलेको आकाश, चारैतिर हरियाली जङ्गल डाँडाकाँडा र भञ्ज्याङ्ग देखिने अत्यन्त सुन्दर मनमोहक प्राकृतिक दृश्यको बीचमा हामी सबै जम्मा भएर रचनावाचनको कार्यक्रम सम्पन्न गर्दा सबै सष्टाहरूले आफूलाई भाग्यमानी सम्झेको कुरा व्यक्त गर्नुभयो । रचनावाचनको कार्यक्रम सकेर केहीबेर सुस्ताए पछि हामी त्यहाँबाट देखिने मनोरम दृश्यसहितको डाँडाकाँडा वनजङ्गल सहितको हरिया फाँटहरू, भञ्ज्याङ्गहरू र हाम्रै आतिथ्य र भक्तिको लागि पर्खिबसेकी चौकोटदेवी मन्दिरको तपोभूमिसँग बिदा मागेर घर फर्किने यात्रा अघि बढायौँ र लाग्यौँ ओरालोतर्फ । ओरालोतर्फ झरिरहेका पदयात्रीहरूको पहेँलो टिसर्टसहितको ताँतीले नागबेली बनाई लस्करै हरियो डाँडामा कुदिरहेको दृश्य माथिबाट नियालिरहेकी मलाई अदभूत लाग्यो र क्यामेरामा कैद गरेँ । ओरालो झर्दा अलि अलि बादलले पनि साथ दिइरहेको थियो र हामी हतार हतार गरेर रमाउँदै, गफिँदै बाँकी भएको चकलेट तितौरा बाँड्दै भिडियो खिच्दै कहिल्यै नबिर्सने दक्षिणकाली फर्पिङ्गको छैमलेस्थित चौकोटदेवीको यात्रालाई मनमुटुको क्यामेरामा खिचेर मातृभूमिप्रति कृतज्ञ भई छैमले बजारमा कुरिरहेको बसमा चढेर शेषनारायण मन्दिर तर्फ लाग्यौँ । शेषनारायण मन्दिर जाने मौका आजसम्म नपाएको हामीले त्यहाँको दृश्यावलोकन गर्दै भगवान नारायणको मन्दिरमा एकछिन भजनकृतन गर्दै श्रद्धाभक्ति अर्पण ग¥यौँ । तत्पश्चात पुनः बस चढेर हामी आ–आफ्नो गन्तव्यतिर लाग्यौँ । करिब ५ः३० मा कोटेश्वरको बसस्टपमा ओर्लेर आजको अदभूत अनुभवलाई सँगालेर घर फर्कंदा कृतज्ञ भएँ । जय चौकोटदेवी माता सधैँ कल्याण गर ।
कोटेश्वर ।
No comments:
Post a Comment