Tuesday, June 25, 2024

हाम्रो भेट अवश्य हुन्छ आमा - विजया बस्नेत ( कविता )


आमा छन् घरमा बसेर सँगमा स्याहार्छु छोरी भनी ।

पीडा हुन्छ सधैँ म हुन्छु दुःखमा तड्पेर रुन्छिन् उनी ।।

कालो बादल रुन्छ आज नभमा आषाढ डुब्ने गरी ।

आमा धीर धरा तिमी सकलकी सौदामिनी हौ परी।।

प्राणै घातक रोगबीच पनिता लड्थे खुसीले तर 

आमाको ममता अपार भवमा रोएर बस्छिन् घर ।

आफू जोखिममा परेर पनिता राख्यौ  नि आनन्दमा ।

तिम्रो शोककथा यही भुवनको भन्दै छु मैले यहाँ ।।

पच्चीसै वयमा बनेर विधवा फालिन् जवानी पनि ।

बाँचिन् कष्ट गरी नि रातदिन ती छोरा र छोरी भनी ।।

सोच्छन् ती नरले परी रहरले नारी मरेकै दिन ।

सेतो वस्त्र, कपाल मुण्डन गरी बस्छ्यौ नि आमा किन ? ।।

अर्काको घरमा गरी बनिबुतो सन्तान पाले पनि ।

भन्ने गर्छ समाज त्यो पुरुषको श्रीमान् पिराहा भनी ।।

भाले पास परी गयो नि पहिले अल्पायु नै कालमा ।

पोथीले गुँढमा कुरेर बसिथी बच्चा परे जालमा ।।

फुल्ने यौवनका दुई त अघि नै लग्यो कठै ! कालले ।

बेहोसी पलमै बिते नि तिनको सन्सार यै चालले ।।

घुम्टो बादलको निलो गगनमा खोलेर पूर्वी दिशा ।

हाँस्दैँ छिन् सविता, शशी पनि कतै छोडेर जाँदा निशा।।

नाचे ती वनमा मुनाल, मुनिया हाँस्यो हिमालै पनि ।

हाँसिन् ती अबला खुसी नजरले छोरी छ मेरी भनी ।।

बाँच्दैँ थिन् यसरी अनेक दुःखमा हेरी उसैको मुख ।

रोप्यो तीर अझै नि हाय ! मुटुमा लुट्यो नि तिम्रो सुख ।।

त्यो  रानी वनमा सदा विरहमा रोएर बस्छे चरी ।

सन्सारी ममता अनित्य छ भनी सम्झाइ देऊ हरि ।।

कस्तो निष्ठुर नै रहेछ निय यो काखै उजाडी दियो ।

सम्झाऊँ कसरी म आज जननी प्रारब्ध यस्तै थियो ।।

ब्रह्माको जुन शक्तिले भुवन यो मान्छे बनायो अनि ।

सम्झाऊ मनुले उही छ जगमा लैजान खोज्ने पनि ।।

मेरो प्राणपखेरु उड्नु अघि नै लैजान्छु आमा घर ।

 बाँचेकी छ भनी खुसी भरिदिनू मर्छे नभन्नू तर ।।

स्वेच्छा मृत्यु  मिलोस् नि कानुन बनोस् हाँसू म जाने दिन ।

गोर्खाली जनकी म सन्तति भए रोएर मर्ने किन ।।

बाँचोस् देश अनन्त काल जगमा वैरी परास्तै गरी ।

फुल्दैँ फूल अनेक बर्ण, थर, भाषा, धर्म, शैली थरी ।।

मेरो चन्द्र र सूर्य अङ्कित ध्वजा गर्दै रहोस् फर्रर ।

अर्को जन्म कतै त मिल्दछ भने नेपाल नै होस् घर ।।

तिम्रो काख मिलोस् यही सकलमा फर्कन्छु फर्कन्छु म ।

हाम्रो भेट अवश्य हुन्छ जननी पर्खन्छु पर्खन्छु म ।।

              विजया बस्नेत ।








Tuesday, June 18, 2024

छन्द– शिखरिणी“ समस्या, (नगर झगडा आपस भनी) . . .🖉 देवीप्रसाद मिश्र

 


छन्द– शिखरिणी“

समस्या,

(नगर झगडा आपस भनी)

कलामा  विद्यामा भवबिच सदा सत्य अगुवा। 

बनून्  छोराछोरी असल दिलका देश कुरुवा।।

नलागून्  विद्रोही  मनमगज  पार्दै  कलहमा।

यिनै आशा हुन्छन् जनक–जननीका हृदयमा।।

                           (१)

नराखून् आत्मामा हठ सठ बनी,गाज धमिलो।

नपारून्  मेरा यो  हृदय  दहमा आज अमिलो

नमैल्याऊन्, झुप्रो,द्रविण धनका कारक बनी।

पुकार्दै छिन् आमा नगर झगडा आपस भनी।।

                          (२)

समस्या  आएमा  झटपट  गरी त्यो विषयमा।

नजुट्दा झन् ढाक्ने कलिकलुष घुस्दै हृदयमा।

गरून् वार्ता राम्रो  मिलनपथमा  सज्जन बनी ।

पुकार्दै छिन् आमा नगर झगडा आपस भनी।।

                          (३)

कुबोलीका गोली  सर सर नफाल्ने गर पर।

सुवेलाको  मेला अब  नभरिए ढल्दछ घर।।

तबेलामा खेला अतिशय भयो बुज्रुग बनी।।

पुकार्दै छिन् आमा नगर झगडा आपस भनी।।

                          (४)

नजानी ओढ्दै यो शिर उपर बर्काे छल गरी। 

यहीँ  घुम्ने गर्छन् अशुभ  ग्रह साथै वरिपरि।। 

सुकौडीमा दौडी नहिँड जहिल्यै दिग्गज बनी।

पुकार्दै छिन् आमा नगर झगडा आपस भनी।।

                    (५)

       ...🖉 देवीप्रसाद मिश्र 

नेपाली साहित्यकार विश्व सञ्जाल अभ्यास पाठशालाबाट,










Tuesday, June 11, 2024

प्रेमदीप जलाएं ... कविता – निर्मलरमण पराजुली



सपनीमा 

तिम्रो प्रतिबिम्बले 

नयन खुल्यो 

सिरानी उल्टायर 

सन्देश पठाएं 

हृदयको माझमा 

प्रेमको अङ्कुर 

पल्लवित भयो  

खुशीले नयन भिजाएं

आज मेरो मुटु 

कसैको नाउमा  धडकियो 

ममताले 

हृदय द्रबिभुत बनाएं

उनलाई  हृदयमा सजायर 

ममताको चिनो 

स्नेह विश्वाश 

उपहार पठाएं

प्रेमको प्रतिक 

गुलाफ हातमा बोकी  

तिम्रो स्वागतमा 

यो हृदय बिछ्याएं

तिम्रो नाममा  

श्रद्धा  सुमनको  

भेटी चढाएं

मनमा  

प्रेम पल्लवित गराएं

आस्था विश्वाशले 

मनको  भित्ता  रङ्गाएं

तिम्रो ममतामा  

मुटु सिचाएं

बाडुली लाग्यो मलाई 

तिम्रो सम्झनाले 

हृदयको माझमा 

प्रेमदीप  जलाएं

पहिलो जन्म 

साथी थियौ 

यो जन्म तिमीलाई 

हृदयमा 

समाहित  गराएं

स्विकार गर या तिरस्कार 

मेरो हर जन्म 

तिम्रो नाउमा 

लालमोहर लगाएं ...!!!

                 ...🖉 निर्मलरमण पराजुली



 निर्मलरमण पराजुलीनिर्मलरमण पराज














Thursday, June 6, 2024

मेरो डुवर्सको साहित्यिक यात्रा अनि उपलब्धि - तिलक ओली

 (नियात्रा)  

मेरो डुवर्सको साहित्यिक यात्रा अनि उपलब्धि 


डुवर्स नेपाली साहित्य सभाको निम्तो स्विकार्दै विगत  11 may 2024का दिन म घरबाट रवाना भएँ। रङ्गिया रेलवे स्टेसनबाट “कामरूप एक्सप्रेस“मा दिउँसो 2.45 बजे न्यू  आलिपुर पुगेर टेम्पो चडी आलिपुरद्वारा स्टेसनसम्म गएँ।त्यहाँबाट कञ्चनकन्या एक्सप्रेसमा मदारीहाटसम्म गएँ।मदारीहाट स्टेसनमा मलाई लिन डुवर्स नेपाली साहित्य सभाका मूलसचिव किरण उपाध्यायज्यू आइपुग्नु भएको रहेछ।उहाँसँग त्यहाँको एउटा होटलमा गएर खानपिन गरें।त्यही होटलको सामुन्ने भानुभक्त आचार्यको सालिक निर्माण भएको देखेर हर्षविभोर भएँ।सालिकमा गएर भानुबाजेलाई मनबाटै श्रद्धा चढाएर त्यहाँको स्मृति राख्न भनेर फोटो लिएँ।त्यसपछि उपाध्यायज्यूले मलाई त्यहाँको “इको टुरिजम“को अतिथिशालामा पु¥याउनुभयो।मेरो त्यसदिनको भोजन र विश्रामको व्यवस्थापन त्यहीँ मिलाइएको रहेछ।त्यहाँको प्राकृतिक सुन्दरता मनमोहक थियोे।

      राति नौबजे भोजन गरेर विश्राम गर्नलागेको थिएँ,असम गोर्खा सम्मेलनका मूल सचिव भाइ सञ्जीव दाहालले फोन गर्नुभयो उहाँ पनि बङ्गाइगाउँ जिल्ला समिति,गोर्खा सम्मेलनका तीनजना पदाधिकारीसहित त्यहाँ जाँदै हुनुहुन्छ भनेर।सुनेर धेरै खुसी लाग्यो।राति 12.30 बजे उहाँहरू त्यहाँ पुग्नुभयो।त्यस टोलीमा अगोसका मूलसचिल भाइ सञ्जीव दाहाल, बङ्गाइगाउँ जिल्ला समितिका सभापति श्रीमान श्याम उपाध्याय,मूलुसचिव श्रीमान पुष्प नेपाल र उप सभापति श्रीमान् दीपक सिटौला हुनुहुँदोरहेछ।

     भोलिपल्ट बिहानको खाजा किरणज्यूको घरमा ग्रहण गरी उहाँ र उहाँकै विद्यालयकी शिक्षिका लक्ष्मी मोक्तानसहित वीरपाडा नेपाली हाइस्कुलमा पुग्यौं।त्यहाँको नेपाली माध्यमको विद्यालय देखेपछि केही समय म भावविह्वल भएँ,किनभने आफू बसेको ठाउँमा अहिलेसम्म पनि दुःखले एउटा विषयमात्र आफ्नो मातृभाषामा पढाइ हुन्छ। त्यहाँ केही अतिथिवर्गको आगमन हुँनथालेको थियो।त्यहाँ उपस्थित अतिथिहरूसँग चिनजान र भाव विनिमय गर्दैगर्दा दुईजना स्रष्टाबाट उपहारस्वरूप पुस्तक पनि ग्रहण गरें।विस्तारै  सभाको समय पनि हुनलागेको थियोे।

      दिउँसो एघार बजे श्रीमान् सितम मोक्तानज्यूको सभापतित्वमा आमसभा सुरु भयो। सभालाई अति नै सहीढङ्गबाट उद्घोषण गर्ने स्थानीय शिक्षक दिलीप घिमिरेज्यूको वाकशैली अति नै मनमोहक थियो। सभामा प्रमुख अतिथिको आसनमा विराजमान हुनुहुन्थ्यो दार्जिलिङबाट पाल्नुभएकी डड्ड साङमो लेप्चाज्यू र आसाम गोर्खा सम्मेलनका आदरणीय सभापति कृष्ण भुजेलज्यू। विशिष्ट अतिथिको रूपमा असम नेपाली साहित्य सभालाई प्रतिनिधित्व गर्दै म, साथै अगोस,मूल सचिव भाइ सञ्जीव दाहालको पनि उपस्थिति थियो।स्थानीय धेरैवटा साहित्यिक संस्थाका माननीय पदाधिकारीवर्वको उपस्थितिले सभाको रौनक बढाएको थियो।

       डुवर्स नेपाली साहित्य सभाद्वारा दुईजना स्रष्टालाई पुरस्कार अलङ्करण गराइयो। उहाँहरू हुनुहुन्थ्यो सिलगढीका साहित्यकार श्रीमान् वेगवसन्त थापा र डुवर्स सामसिङकी कवि प्रशान्ती राई। डुवर्स नेपाली साहित्य सभाद्वारा प्रकाशित कथाप्रधान पत्रिका “यात्री“जसमा अतिथि सम्पादकका रूपमा मेरो पनि सहभागीता थियो,त्यसको विमोचन कार्यसूचीमा उपस्थित रहेको क्षण मेरा लागि चिरस्मरणीय भएर रहनेछ।

     दिउँसो तीनबजे कार्यसूची समापनपछि स्वादिष्ट भोजन ग्रहण गरी डुवर्स नेपाली साहित्य सभाद्वारा दिइएको असीमित मायालाई मनमुटुमा संगालेर कार्यकर्तावृन्दबाट विदा लिँदै घरतर्फ रवाना भएँ।

अशेष धन्यवाद,डुवर्स नेपाली साहित्य सभाका मूल सचिव आदरणीय किरण उपाध्याय तथा जम्मै पदाधिकारीवर्गमा।

जिउँदो जातिको जिउँदो भाषा

नेपाली हाम्रो मातृभाषा।

तिलक ओली

भोलाझार,तामुलपुर,असम।

सदस्य,असम नेपाली साहित्य सभा,केन्द्रीय समिति।
















को हुन् गङ्गाप्रसाद भेटवाल ? ...🖉 तोयानाथ सुवेदी

   


गङ्गाप्रसाद भेटवालको जन्म २०३३ साल असोज २ गते झापा जिल्लाको गौरादह नगरपालिका वार्ड नं ४ किस्तीचौनमा भएको हो । उनको बुबाको नाम तुलसीप्रसाद भेटवाल र आमाको नाम कृष्णमाया भेटवालहो । भेटवालहरूको मुख्य थलो काभ्रे जिल्लाको पलाञ्चोक भगवतीस्थान हो भने त्यहाँबाट धेरै पुस्ता अगाडि नै तेह्रथुमको इसीबु हुँदै गङ्गाप्रसाद भेटवालका खलक ताप्लेजुङ पुगे र ताप्लेजुङमा पाँच पुस्तासम्म बसेर झापामा बसाईं सरेको बंशावलीमा उल्लेख छ । गङ्गाप्रसाद भेटवालले गौरादह नगरपालिका वडा नम्बर ४ स्थित भीमसेन प्राथमिक विद्यालयबाट शिक्षा आरम्भ गरेका हुन् । भीमसेन प्राथमिक विद्यालय घर नजिकै भएको हुनाले उनले प्राथमिक तहको पढाइ सजिलैसँग पूरा गर्ने अवसर पाएका थिए ।  पढाइमा सानैदेखि तेज भेटवाल प्राथमिक तहदेखि नै पढ्नमा लगनशील विद्यार्थीका रुपमा देखिएका थिए । प्राथमिक तहको पढाइ कक्षमा प्रथम हुदै पूरा गरे । प्राथमिक तहमा अध्ययन गर्दादेखि नै विभिन्न कविता वाचन, कथा लेखन, कविता लेखन कार्यक्रममा धेरै विद्यालयहरूमा प्रतियोगीका रुपमा पुगी पुरस्कार जित्ने पनि गर्दथे । त्यस क्षेत्रको माध्यमिक तहको पढाइ हुने विद्यालय– स्कूलचौन माविमा स्रोत केन्द्र अन्तर्गतका धेरै विद्यालयहरूका विद्यार्थीहरु रचनात्मक क्रियाकलापमा सहभागी हुन्थे । त्यहाँ हुने धेरै रचनात्मक बालक्रियाकलापहरूमा भीमसेन प्राथमिक विद्यालयले पुरस्कारहरू जित्ने गर्दथ्यो, जहाँ गङ्गाप्रसाद भेटवाल पनि पुरस्कृत धेरै पटक भएका थिए । गौरादह नगरपालिकाकै अर्को स्रोत केन्द्र जनता माध्यमिक विद्यालयमा पनि धेरै रचनात्मक क्रियाकलापहरु हुन्थे । ती क्रियाकलापहरूमा पनि भेटवालले धेरै पटक पुरस्कार प्राप्त गरेका थिए । कहिले कवितावाचनमा कहिले हाजिरीजवाफ प्रतियोगितामा त कहिले बालकथा लेखन प्रतियोगितामा पुरुस्कार पाउथे । भीमसेन प्राथमिक विद्यालयबाट कक्षा पाँचसम्मको पढाइ पूरा गरिसकेपछि घरबाट एक घण्टाको दूरीमा रहेको जनता माध्यमिक विद्यालय गौरादहमा यिनी भर्ना भए । भेटवाल खेती किसानी परिवारमा जन्मिएका र मध्यमवर्गीय परिवारको रुपमा यिनको परिवार रहेको थियो । त्यस समयमा झापा जिल्लाका ग्रामीण बस्तीहरूमा मध्यमवर्गीय परिवारहरूसँग पनि साइकिलसम्मको पहुँच थिएन । प्रत्येक दिन घरबाट एक घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने अनि दिनभरि पढेर फेरि साँझमा एक घण्टा हिँडेर घर फर्किनुपर्दा थाकेर लखतरान बन्ने अवस्था हुन्थ्यो त्यसकारण पढाइमा केही कमजोर हने अवस्था देखियो । यिनी कक्षा छमा पढ्दा जनता माध्यमिक विद्यालय गौरादहमा तीन सय विद्यार्थी कक्षा छमा पढ्थे र ती तीन सय विद्यार्थीहरूमध्ये भेटवाल तृतीय भई छ कक्षा उत्तीर्ण गरी कक्षा सातमा पुगे । यस क्षेत्रमा भेटवालको परिवार शिक्षाप्रति लगाव राख्ने परिवारको रूपमा चिनिएको थियो । यिनका दाजु दिदीहरू विराटनगर, दमक र काठमाडौँसम्म गएर उच्च शिक्षा आर्जन गर्न थालिसकेका थिए । भेटवालले कक्षा छ, सात र ८ को पढाइ जनता माध्यमिक विद्यालय गौरादबाट पूरा गरे । जनता माध्यमिक विद्यालय त्यस समयमा झापा जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित थियो तर घरबाट टाढा भएको हुनाले धेरै समय आइजाइमै व्यतीत हुँदा पढाइमा समस्या हुन सक्ने महसुस हुन थाल्यो । त्यसपछि यिनी पढाइ गर्नका लागि काठमाडौँ पुगे र काठमाडौँमा परोपकार आदर्श माध्यमिक विद्यालयमा कक्षा नौमा भर्ना भए । यिनले परोपकार माध्यमिक विद्यालयबाट एस.एल.सी. प्रथम श्रेणीमा पास गरे र शंकरदेव क्याम्पसमा आइ.कम. पढ्नलाई भर्ना भए । शंकरदेव क्याम्पसबाट आइ.कम. पास गरिसकेपछि पुन यिनी गौरादह, झापा घर पुगे र गौरादह बसेकै बेलामा  नेपाली र अर्थशास्त्र विषय लिएर स्नातक (बि.ए.) तह गौरादह बहुमुखी क्याम्पसबाट पूरा गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तह र दर्शनाचार्य तहसम्मको औपचारिक शिक्षा यिनले पूरा  गरे ।  यिनले कानुनमा पनि स्नातक गरेका छन् र पेशाले यिनी कानुन व्यवसायी, लिक्विडेटर तथा नोटरी पब्लिकको रूपमा कार्यरत छन् । स्वतन्त्र अध्ययनमा पनि यिनको चाख निकै रहेको पाइन्छ । पछिल्लो समयमा अनुसन्धानमूलक लेखनीमा यिनको सक्रियता बढेको पाइन्छ । विभिन्न सामाजिक साहित्यिक संघसंस्थाको नेतृत्व तहमा समेत रहेर यिनले कार्य गरिरहेको पाइन्छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा २०५३ सालमा गौरादह बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको उम्मेदवार यिनी रहेका थिए भने २०७९ साल मङ्सिर महिनामा भएको संसदीय निर्वाचनमा काठमाडौँ काठमाडौँ क्षेत्र नम्बर १० बाट संघीय सांसदको स्वतन्त्रहरूको संजालको तर्फबाट उम्मेदवार समेत बन्न पुगेका थिए । यिनको हालको स्थायी ठेगाना काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वडा नम्बर ४ गाम्चाचौरमा रहेको छ । साहित्यतर्फको रुचि यिनमा बाल्यकालबाटै प्रवेश गरेको देखिन्छ । विद्यालय तहको अध्ययन गर्दाको समयमा नै यिनले अप्रकाशित रूपमा भएपनि कविता, कथा प्रशस्त मात्रामा लेखेका थिए । कक्षा नौमा पढ्दा दरबार हाइस्कुल रानीपोखरीमा भएको कवितावाचन कार्यक्रममा यिनी तृतीय स्थान ल्याउन सफल भएका थिए । उक्त कवितावाचन कार्यक्रम तत्कालीन समयको विद्यार्थी संगठन अखिलले आयोजना गरेको हुँदा उक्त पुरस्कारको हस्तान्तरण त्रिचन्द्र बहुमुखी क्याम्पसमा तत्कालीन शिक्षामन्त्री मोदनाथ प्रश्रितबाट भएको थियो । यसरी यिनले काठमाडौँ आइसकेपछि पहिलो पुरस्कार त्रिचन्द्र क्याम्पसमा तत्कालीन शिक्षामन्त्रीबाट प्राप्त गरे । यी सबै पृष्ठभूमि र आफ्ना काका जयप्रसाद भेटवालबाट कथा उपन्यास लगायतका विभिन्न लेखहरु लेखिरहने स्वभाव समेतबाट प्रेरणा पाएर यिनी साहित्य लेखनतर्फ अगाडि बढे । छापा माध्यममा पहिलोपटक प्रकाशित यिनको रचना यस्तै रहेछ शीर्षकको कविता साहित्य कला सङ्गम दमकले २०५४ सालमा प्रकाशित गरेको थियो । बिस. २०५३ देखि वि.स. २०५६ सम्म गौरादह बहुमुखी क्याम्पसमा पढ्दा यिनको सम्पादनमा भित्ते पत्रिका प्रकाशित हुने गर्दथ्यो भने वि.सं. २०५५ सालमा गौरादह बहुमुखी क्याम्पसको स्मारिका सुसेली नामको साहित्यिक पत्रिका यिनको सम्पादनमा प्रकाशित भयो । तत्कालीन समयका आफूभन्दा केही अग्रज आफ्नै परिवेशका कविहरू टङ्कराज आचार्य, विजय हतास, स्वागत नेपाल, खगेन्द्र न्यौपानेहरूबाट यिनले प्रेरणा पाए र आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउँदै लगे । उनको सम्पादनमा वि.सं.२०५६ सालमा झापाली कथा सङ्ग्रह र वृक्षलता कथासङ्ग्रह दुईटा प्रकाशित भयो । यसैगरी  वि.सं. २०५८ सालमा किताब भित्रको बालसपना कथासङ्ग्रह उनले सम्पादन गरे । वि.सं. २०६० सालमा भेटवालको सम्पादनमा साझा गीत सङ्ग्रह प्रकाशित भयो । सोही समयमा कवि स्वागत नेपाल मार्फत गीतकार कृष्णहरि बरालसँग यिनको चिनजान हुन पुग्यो । सोही समयमा यिनले प्रशस्त गीतहरु पनि लेखे । कतिपय गीतहरूले विद्युतीय माध्यमहरूमा प्रसारण हुने मौका पनि पाए । गगन (२०६०) एल्बम यिनको पहलमामा रेकर्ड भएर बजारमा पनि आयो । भेटवालका शब्दहरूलाई शम्भु राई, राजु लामा, प्राश्ना शाक्य, शुभ तामाङ, दिशु मानन्धर, दिजराज पौडेल लगायतका गायकहरूले गाएका छन्, स्वर दिएका छन् र ती अझै पनि विद्युतीय माध्यमहरुमा सुन्न सकिन्छ । वि.स.ं२०६१ सालको अन्तिमतिर गएर तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. बासुदेव त्रिपाठीसँग यिनी नजिकिन पुगे । सोही समयमा गङ्गा साहित्यिक प्रतिष्ठानको मातहतमा देशका विभिन्न विद्यालयहरूमा कविता वाचन कार्यक्रम सञ्चालन गरियो । विद्यार्थीहरू आफैले शान्ति र देशभक्ति का शीर्षकहरू राखेर कविताहरू श्रृजना गरी वाचन गरे  । त्यो एक किसिमको ठूलो अभियानको रूपमा सञ्चालन भयो र करिव एक हजार पृष्ठको बालबालिकाहरूद्वारा लिखित नेपाली बालकविता सङ्ग्रह भेटवालको नेतृत्वमा प्रकाशित हुन पुग्यो । त्यसपछि केही समय थिनले भारतका विभिन्न प्रान्तहरूको भ्रमण गरे । भारतीय बहुल समाजको चित्रलाई नजिकबाट बुझ्ने अवसर पाए ।  विशेषगरी पूर्वोत्तर भारतमा रहेका विविध जातिहरूको बारेमा नजिकबाट जानकारी प्राप्त गरे । गणतन्त्रको आगमन पश्चात केही समय परिवारलाई व्यवस्थित गर्ने काममा यिनी लागे भने दुईटा उपन्यासका पाण्डुलिपि पनि तयार गरे । त्यसपछि लामो समयसम्म यिनका फुट्कर रचनाहरू मात्र प्रकाशित भए । लघुकथा, कथा र कविताहरू विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भए भने काठमाडौँमा हुने नियमित साहित्यिक कार्यक्रममा यिनको उपस्थिति बाक्लो हुने गर्दथ्यो । भेटवाल प्रखर वक्ताका रूपमा पनि चिनिन्छन् । भेटवालका ध्वन्य आवाजहरु विभिन्न विद्युतीय माध्यमहरूमा सुन्न सकिन्छ । पछिल्ला दिनमा गङ्गा भेटवाल युट्युब च्यानलको माध्यमबाट साहित्यिक पत्रकारिताको धर्मसमेत भेटवालले निर्वाह गरिरहेका छन् । २०८० सालमा भेटवालद्वारा लिखित पर्दाभित्र... उपन्यास प्रकाशित भयो ।  पर्दाभित्र... उपन्यासले सामाजिक परिवेशमा आफ्नो कथानकलाई प्रस्तुत गरेको छ । नेपाली समाजभित्र घटेका र घट्न सक्ने विकृति विङ्ंगतिहरुलाई उजागर गरेको छ । प्रस्तुत उपन्यासले अहिलेको युवा पुस्तालाई देशका विभिन्न क्षेत्रको विषयवस्तुको जानकारी गराउँदै समग्र देशको रक्षा गर्न संस्कृतिको रक्षा गर्न र नेपाली पहिचान बचाउनको निम्ति अगाडि आएर लागि पर्न आह्वान गरेको छ । अब युवाहरू शिक्षित भएर यसै बस्न मिल्दैन  । वैचारिक ढंगले सशक्त भएर देश रक्षा गर्न निक्लनुपर्छ । समग्र नेपाली पहिचानसहित नेपाल विश्वमा अग्रपंक्तिमा उभिन सक्नुपर्छ । उपन्यासले यसको लागि युवाहरू नै अगाडि बढ्नुपर्छ भन्ने कुराको सन्देश प्रस्तुत गरेको छ ।                                                   ...🖉 तोयानाथ सुवेदी  

गङ्गाप्रसाद भेटवालद्वारा लिखित नेपाली उपन्यास पर्दाभित्र 

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल दम्पतीसँगको अन्तरङ्ग संवाद -साथीहरूको साथ   

गङ्गाप्रसाद भेटवालद्वारा  वाचित गोविन्दराज भट्टराईको उपन्यास मुगलान  


                          गङ्गाप्रसाद भेटवालद्वारा वाचित बाजुराम पौडेलको  उपन्यास मखमली  

महासचिव गङ्गाप्रसाद भेटवालद्वारा प्रस्तुत हेर्ने प्रतिवेदन स्रष्टा पदयात्रा नेपालको
८२ औं सृङ्खला ।


                          गङ्गाप्रसाद भेटवालद्वारा वाचित जगदीश घिमिरेको लिलाम उपन्यास

खोटाङ सेरोफेरो स्रष्टा पदयात्रा नेपाल खोटाङ भ्रमणमा





Tuesday, June 4, 2024

लघुकथा : महायोजन - डा. विदुर चालिसे

 लघुकथा : महायोजन  


                                                                            डा. विदुर चालिसे

बोलाउँदा बोलाउँदा आवाजहरू सुकिसकेको थियो । उठ्न नसकेर थचक्क बसेको पिल्सिएको मनमा एउटा प्रश्न थियो ।

––“यो भवसागर तार्ने को होला ?“

क्रन्दन, क्षोभ, भय, भड्काव र भताभुङ्ताले जो कोही पनि अब चयनले बाँच्ने अवस्था थिएन । एकदिन उसलाई मनमा खुब सुर्ता लागेर आयो ।

––“अयोग्यताको जाँच कसरी गर्ने ?“

––“मायाले जाँचेर !“

––“मायाको जाँच भन्नाले ?“

––“उसको प्रमाणीकरण !“

––“त्यसो भए विश्वविद्यालय आफै फेल !“

नेपथ्यबाट योग्यताको काइते जाँच गरिदिएर घरको न घाटको भएको पीडक प्रज्ञान प्राध्यापकले सचसच बयान दिँदै भने ।

––“योग्यताको जाँच फल र मायाको नाच फल जाँच्नेले दिने हो कि अयोग्य जँचाउनेले !“

––“परमभाव नियम कानुनले !“

––“अनियमित कानुन पनि हुन्छ त ?“

––“जब कर्तव्य पागल हुन्छ, तब कानुन मायाले अनियमित र पागल हुन्छ !“

यस्तै सवाल जवाफ नेपथ्यबाट आइरहेको थियो । योग्यताको प्रदर्शन महायोजनबाट सुरू गर्ने कुरा अब सर्वत्र गुन्जिएको थियो । जब यस्ता विचारहरू गणाधिपतिहरूमा आयो । तब छेउछाउमा अनेक रूपका महायोजन अयोग्यहरू देखिए !

––“भ्यालेण्टाइनका महाराजा, महारानी, महामाया, महामन्त्री, महाप्रभु र महादयाका श्रीपेचहरू !“

अजात शत्रुसँग भ्यालेण्टाइन पर्वको दिन थियो । दसा लागेर माना सामल भरिरहेका एकराजले एक दिन विज्ञप्तीमार्फत जानकारी दिए ।

––“सक्छौ भने आफूलाई पागल प्रेमीको घोषणा गर !“

नेपाली भूलचुक अधिकारीहरूको वेभसाइटमा जवाफ स्क्रोल भइरह्यो ।

––“आज भ्यालेण्टाइन दिन हो !“

––““महायोजन !“

––“सर्वत्र छुट छ !“

                                        ... 🖉 डा. विदुर चालिसे

 more stories 










अस्पतालमा मुर्दाको घर - कविता - चिरन्जिवी बास्कोटा





अस्पतालमा मुर्दाको घर हुदोरहेछ
बरफको खाटमा मुर्दाहरू  सुत्दारहेछन्   

अनि त मुर्दाहरू  सल्बलाउदा रहेछन्  
दिउसै पनि तर्साउदा रहेछन ।

हिजो मुर्दाको सपना भनेथे
आज त मुर्दाको घर देख्दै छु 

हामी मरेका लाई मुर्दा भन्थ्यौ
मुर्दाहरु त महलमा बस्दा रहेछन्   ।

घुस खाएरै मरेका मुर्दाहरु
मानिसकै रगतले भुँडी भर्दारहेछन्   

मुर्दाको परिवार पनि मुर्दैजस्ता
मुर्दा संङ्गै सुत्दा रहेछन्   । 

                ...🖉चिरन्जिवी  बास्कोटा  










९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...