छन्द– शिखरिणी“
समस्या,
(नगर झगडा आपस भनी)
कलामा विद्यामा भवबिच सदा सत्य अगुवा।
बनून् छोराछोरी असल दिलका देश कुरुवा।।
नलागून् विद्रोही मनमगज पार्दै कलहमा।
यिनै आशा हुन्छन् जनक–जननीका हृदयमा।।
(१)
नराखून् आत्मामा हठ सठ बनी,गाज धमिलो।
नपारून् मेरा यो हृदय दहमा आज अमिलो
नमैल्याऊन्, झुप्रो,द्रविण धनका कारक बनी।
पुकार्दै छिन् आमा नगर झगडा आपस भनी।।
(२)
समस्या आएमा झटपट गरी त्यो विषयमा।
नजुट्दा झन् ढाक्ने कलिकलुष घुस्दै हृदयमा।
गरून् वार्ता राम्रो मिलनपथमा सज्जन बनी ।
पुकार्दै छिन् आमा नगर झगडा आपस भनी।।
(३)
कुबोलीका गोली सर सर नफाल्ने गर पर।
सुवेलाको मेला अब नभरिए ढल्दछ घर।।
तबेलामा खेला अतिशय भयो बुज्रुग बनी।।
पुकार्दै छिन् आमा नगर झगडा आपस भनी।।
(४)
नजानी ओढ्दै यो शिर उपर बर्काे छल गरी।
यहीँ घुम्ने गर्छन् अशुभ ग्रह साथै वरिपरि।।
सुकौडीमा दौडी नहिँड जहिल्यै दिग्गज बनी।
पुकार्दै छिन् आमा नगर झगडा आपस भनी।।
(५)
...🖉 देवीप्रसाद मिश्र
नेपाली साहित्यकार विश्व सञ्जाल अभ्यास पाठशालाबाट,
No comments:
Post a Comment