Monday, May 26, 2025

छयासीऔँ अभियानमा छैमले, चौकोटदेवी –खोलाघरे साहिंलो

          

           

 छयासीऔँ अभियानमा छैमले, चौकोटदेवी

         

–खोलाघरे साहिंलो 

 बिहानको साढे छ हुनै लागेको छ ।

शीतल सरलाई फोन गर्छु तयारीका बारेमा बुझ्न ।

“म तयार भएर निस्किनै लागेको, बसले पर्खिंदै होला मलाई” भन्नुहुन्छ  ।

म पनि निस्किनै लागेको छु भन्छु र निस्की पनि हाल्छु । अभियान छ स्रष्टा पदयात्राको ८६ औँ शृङ्खलामा चौकोटदेवी मन्दिर जाने । झोलामा केही पुस्तकहरू र पानीको बोतल, छाता हालेको छु  । पदयात्राको ज्याकेट, पहेँलो टीसर्ट, सुरुवालको साटो उस्तै रङ्गको हाफपायन्ट लगाएको छु । पदयात्रामा लामो सुरवालभन्दा हाफपायन्ट सजिलो हुनेरहेछ, आफ्नै अनुभव हो ।

म प्रायः सहयात्री साथीहरूलाई पदयात्राको दिनमा चाहिँ को कहाँ आइपुग्नुभयो भनेर बुझ्नलाई फोन गर्छु । अहिले पनि विमल अर्याल, वसन्त रिजाल, परशुराम पराशर, अप्सरा ढकाल, सुमन पुडासैनी लगायतलाई फोन गरेको हुँ, सुमनजी नजाने हुनुभएछ यो पटक । विजया बस्नेतलाई पनि सोधेको छु, जानुहुन्छ अरे । म इलामको स्थायी बासिन्दा । नियतिले घुमाएर काठमाडौँँको बसाइ होला, अनेक साहित्यिक संस्थाहरूमा जोडिउँला, यो स्रष्टा पदयात्रामा मिसिउँला भन्ने ता दश मनमा एक मन पनि सोचेको थिइनँ, सत्ते होला !

आफ्नै गाउँठाउँमा बस्ने, कञ्चन हावापानीमा रमाउने, यतै बुढो भएर मर्दा पनि आफ्नै आमाबालाई जलाएको आफ्नै घाटमा जल्नेसम्मको चैँ सोचेकै हो, तर केटाकेटीलाई पछ्याउँदै यता आइपुग्नुपर्ने रहेछ । साना हुँदा केटाकेटीले हामीलाई पछ्याउँथे !

जानीनसक्नु मान्छेको जीवनक्रम !

मेरो मात्रै होइन, अरूको पनि हालत उही हो । स्रष्टा पदयात्राका नायक शीतल गिरी  रौतहटका हुनुहुन्छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा मोरङ, भक्तपुर, सप्तरी, काभ्रे, लमजुङ, पाल्पा, रुकुम, मकवानपुर, नुवाकोट, स्याङ्जा, चितवन, पर्वत आदि अनेक जिल्लाका साथीहरू यो चारभन्ज्याङ खाल्डोका स्थायी बासिन्दा भैसक्नुभएको छ । यसलाई पनि एउटा सुखद संयोग नै मान्नुपर्छ, सबैसँग चिनजान हुन पाएको छ ।

 

मनमा अनेक थरीका कुरा खेलाउँदै म ता कोटेश्वर पुगँे, भाडा तिरेर बसबाट ओर्लिएँ । १५ रूपैयाँ भाडा । ज्येष्ठ नागरिकको कार्ड देखाएर ५ रूपैयाँ छुट पाइयो नत्र २० रूपैयाँ लाग्थ्यो । जतिसुकै नजिक गए पनि न्युनतम भाडा २० रूपैयाँ । बुद्धिप्रसाद घिमिरे प्रतिष्ठान, इलामले अस्ति मोतीजयन्तीका दिन मलाई गरेको सम्मानमा नगद पनि ८,५००÷– दिएको थियो, त्यसमध्ये बचेको हजार पन्ध्र सय छँदैछ नि, अहिले खल्तीमा ! बसबाट निस्किएर दक्षिणतर्फ लाग्छु । सडक पार गर्दैगर्दा विष्णु खनाल भेटिनुहुन्छ, सँगसँगै जान्छौँ आकाशे पुलसम्म । 

खोइ त ? न शीतल सर हुनुहुन्छ न त बस नै छ । बरु अरू साथीहरू पो अलिअलि गर्दै जम्मा हुँदै हुनुहुन्छ । हामी आलोपालो फोन पनि गर्दै छौँ । पुलको तल्लो छेउमा जम्मा भैसकेका पनि बस माथि नै रोकिन्छ भनेर फेरि माथि नै आयौँ । एकैछिनमा बस ता आइहाल्यो नि ! अगाडि नै स्रष्टा पदयात्राको ब्यानर बाँधेको बस आएपछि सरासरी चढछौँ हामी । अलिक तल भाटभटेनी छेउमा जयबहादुर घिमिरे केराको निकै काइँया भएको कार्टुन हालेर चढ्नुहुन्छ । कोटेश्वरमा हामी १६ जना चढछौँ । जम्मा ३४ जना र चालक १ समेत ३५ जना रिजर्भ बसमा । चोभार गेटबाट डिल्लीरमण सुवेदी । उनी आउँदा सबै सिट भरिइसकेका थिए, अनि उभिएरै काम चलाउनुप¥यो । कोटेश्वरदेखि नै भाडास्वरूप रु ४५०÷– को दरले बुझाउन थाल्यौँ । उठाउने जिम्मा भर्भराउँदा युवा राजन पुडासैनीले पाए । खुसीसाथ जिम्मेवारी पूरा पनि गरे, धन्यवाद छ राजनजी !

हामी ८.०३ मा बल्खुबाट दक्षिणकालीतर्फ लागेका हुन्छौँ  । हामी उद्देश्याभिमुख छौँ दक्षिणकालीको छैमले पुग्न । बस गुडेको गुड्यै छ फर्पिङ हुँदै हेटौँडा राजमार्गमा । दक्षिणकाली नगरपालिकामा जम्मा ९ वडा छन् र अधिकांश बासिन्दा समाबेशी छन्, यहाँ राई लिम्बू प्राय छैनन् । दक्षिणकाली देवीको नामबाट नगरपालिकाको नामकरण गरिएको हो । सडकबाट तल र माथि पनि लप्सीका बोट मनग्गे देखिन्छन्, लटरम्मै फलेको देखिन्छ लप्सी । फर्पिङ क्षेत्र आएछ, बाक्लै नास्पातीका बोट देखिएकाले थाहा भैहाल्छ सामान्य ज्ञानमा पनि । जहिल्यै फर्पिङ नास्पातीका लागि जस्तो लाग्छ, समय सिद्धिन लागेकाले बोटमा पातला दाना देखिँदै छन् । हामी फर्पिङ पुगेका हुन्छौँ ८.३५ मा । मसँगै अर्को सिटमा मित्र घनश्याम प्रसाईं हुनुहुन्छ, हामी पनि विभिन्न विषयमा गफिँदै हुन्छौँ, सबै गफिएकै हुनुहुन्छ । केही बेर फर्पिङमा बस रोकिन्छ । 

बाहिर पारि, ललितपुर क्षेत्रको दृश्य देखिन्छ । बाटामुनि पैयुँ, हाडे ओखर, मौवा, लप्सी, उत्तिस आदि अनेक वनस्पति देखिन्छन्, सबै ता चिने पो ! चिनेजतिलाई नाम लिने ता हो ! दक्षिणकाली मन्दिर परिसरलाई पछि छोड्दै हाम्रो बस छैमलेको राम्चे भन्ज्याङ पुगेर रोकिन्छ ।  हामी फटाफट बाहिर नस्किन्छौँ र यताउता छरिन्छौँ । चिया खाने सल्लाह भएछ, म चाहिँ आज चिया नास्ता केही लिन्न । आज सोह्रश्राद्धको चतुर्थी तिथि आमाको स्मृति दिवस भएकाले म फलफूल मात्रै सेवन गर्ने निर्णयमा अडिग छु, पानी पनि घरबाटै लिएर गएको छु । नास्तापछि हामी अलिक माथिसम्म बसमा जान्छौँ अनि पैदल उकालो लाग्छौँ । थोरै माथि पुगेपछि बाटो अल्मलियो । नयाँ खनेको बाटो पनि घुमेर उँधै लागेको छ । अघि लाग्ने साथीहरू कोही छोटो बाटो जाऊँ भनेर उकालो जङ्गलको गोरेटोतिर लाग्नुहुन्छ धेरैजसो चाहिँ नयाँ बाटो नछोडी हिँड्दा निकै तल पो पुग्नुहुन्छ हेर्दाहेर्दै !

दुई मत हुन्छ । उकालो जानेपटि लागेको म पनि अल्पमतमा परेर उँधै लाग्छु तर एकै म डिल मुनि मात्रै पुगेपछि सबै उँभै फर्किने सल्लाह हुन्छ र फर्किहाल्छौँ । जङ्गलको गोरेटोमा तीन कोरी आठ पाइला सल्बलाउँदै उकालो लाग्छन् । दिनले खुब साथ दिएको छ आज । फाटफुट वर्षा हुन्छ भनेर सञ्चार माध्यमहरूले भनेका हुन्, छाता बोकेको छु तर आकाशमा बादल छ, हामीलाई उकालामा घाम लागेको भए ता थला बसाएरै छोड्ने थियो नि !

चिहान डाँडाको प्रतिमन चौरमा पुगिन्छ १०.४० मा । रमाइलो, फराकिलो चौर भएकाले यहीँ रचनावाचन गर्ने निधो हुन्छ र पहिलो चरणका संयोजक दीपक लोहनी  र सहभागीहरूमा— एञ्जेल निलु, पर्शुराम पराशर, शोभा पोख्रेल, प्रभा बराल, विष्णु खनाल र शीतल गिरी एवम् गीता रेग्मी र दोस्रो चरणका संयोजक डिल्लीरमण सुवेदी र सहभागीहरूमा— विमल अर्याल, सुष्मा आचार्य, शारदा पराजुली, राजन पुडासैनी, हरिबोल काफ्ले, डा.बालचन्द्र मिश्र, घनश्याम प्रसाईं यतिले रचनावाचन गर्नुहुन्छ । वरिपरिको दृश्य कैद गर्नमा पनि व्यस्त हुनुहुन्छ कति जना । एक जना गोठालो भाइ आफ्ना बाख्राको बथानसँगै देखिन्छन् अलिक पर । निडर बाख्राहरू पनि हाम्रो कार्यक्रममा सहभागी हुन आएझैँ आउँछन् र हाम्रा बिसाइराखेका झोलाहरू आलोपालो सुँघेर जान्छन् । 

हामी पुनः उकालो हिँड्नु छ नि त ! जिन्दगीको हिँडाइ शिशु अवस्थामा बामे सर्न थालेदेखि अहिलेसम्म निरन्तर छ, अशक्त भएर थला नपरुञ्जेल यत्तिकै हो, उद्देश्यहरू फरक होलान्, कहिले हिँडिन्छ कुनै एक शीर्षकमा कहिले कुनै अर्कै शीर्षकमा । जङ्गलको बीचबाट बनाइएको बाटो छ, मोटरका लागि । त्यही हो मान्छे हिँड्ने पनि । हामी केही माथि पुग्दा अर्को झन् ठुलो, फराकिलो चौर भेटिन्छ, यसलाई पनि प्रतिमन चौर र ज्याकीचौर  भनिँदो रहेछ । यसै चौरमा बिसाएर भोजन गर्ने सल्लाहअनुसार सबैजना बस्छौँ र फटाफट आफूसँग भएका खानेकुरा निकालेर बाँड्न थालिन्छ । मलाई चैँ आज रोटी, तरकारी, पकौडा, भुजिया आदि केही नचल्ने हुँदा शारदा र पर्शुराम पराशरकै छेउमा बसेर फलफूल, दही मात्रै लिन्छु ।



भोजनपछि समूह समूहका सामूहिक फोटो  खिच्ने काम हुन्छ । स्रष्टा पदयात्राका कार्यकारी पदाधिकारीहरूको, सल्लाहकार समितिको, प्रचारप्रसार समितिको, समग्र महिलाहरूको, समग्र पुरुषगणको एक एक र सबैको सामूहिक एक थान पनि खिचेपछि टोली उकालो लाग्छ ।

विजया बस्नेतलाई हेर्छु, अघि नै उकालो  लाग्नुभएछ । उहाँलाई मैले खोज्नुको पनि कारण छ । शारीरिक रूपमा अस्वस्थ हुँदाहुँदै पनि उहाँले पदयात्राको मोहलाई मार्न सक्नुभएन र सहभागी हुनुभएको छ । गत ८५ औँ मा यात्राको बीचमै अशक्त भएर अस्पताल जानुपरेको थियो अरे । म त्यसपल्ट थिइनँ, इलामतिर रहे पनि सोधीखोजी गर्दैरहेँ । हामीले सोही कुरालाई सम्झिएर आज उहाँलाई तल राम्चे चोकतिरै छोड्नुपर्ला भन्ने सल्लाह गरेका थियौँ तर उहाँ ता हामीजत्तिकै उत्साहित हुनुहुन्छ त ! म हिँड्न सक्छु, हिँड्छु, माथिसम्म नै पुग्छु भनेर अघिअघि बाटो लाग्न तयार हुनुहुन्छ । राम्चे चोकमा मेरो छाता, पानीको बोतल, २÷४ वटा पुस्तक एउटा सानो पोलिथिनमा छुट्याएर ठुलो झोला बसमै राखीछोडेको छु । विजयाको झोलामा पनि खासै केही नभएकाले मेरो पोलिथिन पनि त्यसमै हालेर आलोपालो बोक्ने सल्लाह गरेर बाटो लागेका हुन्छौँ । डाँडाको चौरमा भोजन सकेर उकालो लाग्दा विजयाले झोला बोकेर जानुभएछ । 

कतै गएर फर्केका आफ्नो कुकुर पनि डो¥याउँदै आएका हरिकुमार बलसँग प्रतिमन चौरको सिरानमा १२.३५ मा भेट हुन्छ । तिनको भनाइअनुसार चौकोटदेवीको प्रभाव राम्रो थियो अरे । माथि मन्दिर परिसरमा  लुगा धोएर सुकाउँदा त्यसको छाया भक्तपुरमा पुग्थ्यो अरे । उपत्यकाका वरिपरि डाँडामा रहेका देवीहरूमा फुल्चोकी जेठी, मोक्ष देवी वा चौकोटदेवी  माहिली र चम्पादेवी कान्छी हुन् भन्ने विश्वास रहेछ । हामी चौकोटदेवी  मन्दिरका पुजारी माहिला बमजनलाई पनि भेटेर र उहाँसँगै माथि जान्छौँ । 

उकालो बाटो, कम चल्ती भएको, लेउ लागेर चिप्लो । घाम नलागे पनि ओभानो दिन भएकाले मात्रै  हामीलाई सहज भएको हो, सिम्सिमे पानी मात्रै परेको भए चिप्लिएर कति जना पछारिने थियौँ । पानी परेको भए जुकाको उच्चस्तरीय आक्रमण पनि हुने थियोे, हामीले प्रतिरक्षामा दह्रोसँग जुट्नुपर्ने थियोे । धन्न पानी चैँ परेन, तैपनि कति जनालाई ता भ्यायो होला । पानी परेको भए, छेउछाउका झार समात्न पाए मात्रै नत्र जोखिम !

झार र घाँसले बाटो छ्याप्पै ढाकेको छ, कुनैकुनै ठाउँमा ता कम्मर कम्मर आउने घाँस पेल्दै गोरेटो भेटेर हिँड्नुपर्ने । जे होस् झुन्डझुन्ड हुँदै पनि हिँडियो, एकै झुरूप भएर पनि हिँडियो, पुगियो पनि टुङ्गैमा । हिँडेपछि पक्कै पुगिन्छ, ढिलो चाँडो भन्ने मात्रै फरक, हो अब आजलाई पुग्नुपर्ने बाँकी भनेको भरे आआफ्ना निवासमा मात्रै हो ।

मन्दिरभन्दा तीस मिटरजति पश्चिममा अलिकति तल एउटा पाँच फिट जतिको लामो र तीन फिट जति अग्लो ढुङ्गो एकापटि चिल्लो भएकोमा बाघको चित्र बनाइदिएको रहेछ, हामी त्यो हेर्न पनि पुग्छौँ । परबाट हेर्दा ता जङ्गलका माझमा झारले झ्याप्पै छोप्न लागेको, साँच्चै बाघ नै लुकेर ढुकेको हो कि जस्तो पो देखिने । शम्भु गजुरेल, एञ्जेल नीलू, रुबी सत्याल, प्रतीक घिमिरे, शोभा पोख्रेल, नानीबाबा अधिकारी लगायतका साथीहरू अघि नै पुगेर चित्रित ढुङ्गेबाघको वरिपरि झ्याम्मिनुभएको रहेछ, त्यसलाई थोरै समय हेरेर म यता मन्दिरतिर आइपुग्छु । चौकोटदेवी मन्दिर भनिएको ठाउँमा झार र घाँसले भरिभराउ अनुमानित १०० वर्गफीटको समतल चौर रहेछ । सानो घाँसे मैदान नै भने पनि हुने । ४÷५ जनाको मस्त भारी पुग्ने जतिको घाँस रहेछ । पश्चिमपटि केही ढुङ्गाहरू ठाडो पारेर गाडिएका, ठुला ठुला फराकिला ढुङ्गाहरू बिछ्याइएका, साना साना केही र ठुलो एउटा फलामे स्ट्यान्डमा घण्टीहरू झुन्डिएका, केही ठुला र केही साना त्रिशूलहरू पनि, ठडिएका, तिनै ठड्याइएका लाम्चो आकारका ढुङ्गाहरूलाई नै देवी भनेर मानिएको र तिनमै दर्शन गर्ने, ढोग्ने, फूलप्रसाद चढाउने गरिँदो रहेछ । हाम्रो इलाम, पाँचथरतिर हुने कतिपय देवीथानहरू जस्तो पो लाग्छ मलाई ता । आखिर देवीदेवता भक्तिमा हुने ता हुन् नि ! भक्तिभाव नै छैन भने महाकाली, महालक्ष्मी, महासरस्वती नै सामुन्ने आएर उभिए भने पनि मान पाउँदैनन् नि ! तर यहाँ ता नकुँदिएका, मूर्तिको कुनै आकारसम्म पनि नपाएका ढुङ्गाहरूले चौकोटदेवीको मान पाएका छन्, पूजिएका छन् । आस्था नै ठुलो हो । म यस्तै चिन्तनमा रुमलिन्छु ।

                                                          new book of kholaghare sahinlo



तिनै देवीस्वरूपका ढुङ्गाहरूका उतापटि अग्लोअलि अलि घुमाउरो पर्खालको आड छ, पर्खाललाई पनि उतापटि ठुलो रुखले आड दिएको छ । उत्तरपटि तीस फिटजति लम्बाइको विश्रामालय बनाइएको रहेछ, फलामे सिँढीबाट त्यसको छतमा चढ्छौँ हामी सबै । पश्चिम कुलेखानी छेउछाउसम्म र उत्तरपटि चम्पादेवी, भालेश्वर, चन्द्रागिरिको डाँडो छ्याङ्ङ देखिएको छ, अझै उत्तरमा शिवपुरीको विशाल डाँडो आङभरि घना जङ्ल बोकेर लडिरहेको छ । सोझै तल हुमाने भन्ज्याङ र कुलेखानी हेटौँडा राजमार्ग  प्रष्ट देखिन्छन् । म जामाचोको थाप्लोबाट हेरेको उपत्यका र यहाँबाट हेरेको तुलना गर्छु मनमनमा, उस्तै उस्तै लाग्छ । हिमालहरू पनि छर्लङ्ग देखिने, यता फुल्चोकी, भट्टेडाँडा जम्मैतिरको राम्रोसँग दृश्यावलोकन गर्न सकिने यो ठाउँमा आइपुगेकामा सन्तोष लाग्यो ।

रमिता मात्रै हेरिरहेर नहुने ! काम पनि गर्नुपर्यो नि ! टोली नेताको निर्देशानुसार हामी तेस्रो चरणको रचनावाचनमा सहभागी हुन्छौँ, विश्रामालयकै छतमा स्रष्टाहरूका कला र गला गुञ्जिन थाल्छन् । मन्दिरका पुजारी माहिला बमजन हाम्रै कार्यक्रमका प्रत्यक्ष साक्षी भएर छतको डिलमा बस्नुभएको छ । तेस्रो, चौथो, पाँचौँ चरणको रचनावाचन यहीँ समाप्त गर्ने निर्णय भएर हरिबोल काफ्ले, नवराज रिजाल र रुबी सत्यालहरूको संयोजनमा— खोलाघरे साहिंलो, डिल्लीरमण सुवेदी, रामकुमार पण्डित, दीपक भेटवाल, विष्णुप्रसाद पराजुली, गङ्गाप्रसाद भेटवाल, दीपक लोहनी, रुबी सत्याल, अप्सरा ढकाल, जयबहादुर घिमिरे, विजया बस्नेत, वसन्त रिजाल, प्रतीक घिमिरे, शम्भु गजुरेल, दुर्गा भवानी भट्ट, नवराज रिजाल, विनोद नेपाल, नानीबाबा अधिकारी, वीना नेमकुल, शान्ता देवकोटा यति सबै स्रष्टाले रचनावाचन गरिसक्छौँ र फिर्ता बाटो लाग्न थाल्छौँ । ओरालो  हिँड्नुपर्ने अब ! उकालो ता आइयो भने ओरालो के छ र ? लेउ लागेको ठाउँमा जोगिएर हिँडे त भैहाल्यो नि !

यता दिमागले चौकोटदेवीकै बारेमा सोच्न छोडेको छैन । डाँडाको थाप्लामा समतल धरातल हुनु प्राकृतिक हो जस्तो पनि लाग्दैन । यति अग्लो ठाउँ, गाउँ वस्तीभन्दा निकै अलग्ग सीमित क्षेत्रलाई किल्लाका रूपमा उपयोग गर्नुभन्दा अर्को उद्देश्य थियो जस्तो लाग्दैन । इतिहासअनुसार आपसमा लडाइँ भैरहन्थे । यो उपत्यका परिसर जसजसका अधीनमा प¥यो तिनले आफ्नो सुरक्षाका लागि दुश्मनका गतिविधिलाई सजिलैसँग देख्न सकिने ठाउँ रोजेर सैनिकहरूको सानो टुकडी राख्ने गरेको पनि हुन सक्छ । शक्तिको उपासना अहिले पनि गुल्म, ब्यारेक सबैतिर गर्ने नै गरिन्छ, त्यस बेला पनि शक्तिको आराधनाका लागि प्रतीक मानेर ती ढुङ्गाहरू स्थापना गरेर पूजा गरियो होला । अर्कातिर “कोत” हतियारखाना हो, उच्चारण विभेदले कोट पनि हतियार थन्क्याएर राख्ने ठाउँ नै हो । हतियारहरूको पूजा गरिने परम्परा छ । अझ पुराणहरूमा ता ब्रह्मास्त्र, आग्नेयास्त्र आदिको प्रार्थना गरिन्थ्यो र मात्रै प्रयोग गरिन्थ्यो । अझै अर्को सम्भावना के पनि देखिन्छ भने गाउँघरका शिरानमा जङ्गल पनि भएको ठाउँमा संसारी देवी, इन्द्र वा अन्य कुनै देवीदेवताको नाममा पूजाआजा गर्ने गरेर गाउँलाई दुर्भिक्षबाट मुक्ति दिलाउन, लामो खडेरी परेमा पानी माग्न संसारी देवी वा इन्द्रको पूजा गर्ने चलन पनि चलेको हुन्थ्यो, अझै पनि कतिपय ठाउँमा छँदैछ । यस्तै भएर त्यहाँ देवीको पूजा हुने गरेको र कोट सुरु भएपछि ठाउँको नाम कोट र त्यहाँ पूजा गरिने देवी कोटदेवी  हुँदै “चौकोटदेवी” भएको हुन सक्छ । विजया अर्थात् विजया बस्नेतले आज पैदल हिँडेर सकुशल यात्रा पूरा गर्नुभएकामा मलाई निकै सन्तोष लागेको छ, सायद शीतल सरले पनि यो महसुस गर्नुभएको छ । उहाँ र म नै हौँ विजयालाई कसरी सुरक्षित हिसाबले आजको यात्रा पूरा गराउने भनेर सल्लाह गर्ने पनि । ढलान गरेको सडकमा आइपुग्दा बाटैभरि झरेका लप्सीका दाना देखेर विजया टिप्न थाल्नुहुन्छ र भन्नुहुन्छ “छोरीले खूब मन पराउँछे !”

म पनि सडकको भित्तापटि आँखा लगाउन थाल्छु र देखेजति टिपेर उहाँकै झोलामा हालिदिन्छु ।

तल आएर सबै जना जम्मा हुन केही बेर पर्खिनुपर्छ, पर्खिन्छौँ । पर्खिने निहुँमा सडककै पेटीतिर, वर्तिर पर्तिर खर्किन्छौँ । बेलुकाको साढे चार बजेको छ, अलिक अगाडिदेखि नै सूर्जेनारान छ्याङ्ङ आकाशबाट हामीतिर ताप प्रवाह गर्दै छन्, हप्हपी छ गर्मी । बसमा राखेका पानीका बोतल रित्तिँदै जान्छन् । बसले हिँड्ने अनुमति पाएको हुँदा हामी राम्चे भन्ज्याङलाई बिदाइको हात हल्लाइदिन्छौँ ।

राति परेको पानीले ओस्याएको हुन्छ सडक बिहान जाँदाखेरि । अहिले ता घामले सुकाएर बुङ्बुङ्ती धुलो उड्ने पो भएछ । पिच गर्न ठिकठाक पारेको फर्पिङ–दक्षिणकाली–राम्चे सडकमाथि हाम्रो वाहन गतिमान् छ । दक्षिणकाली परिसरलाई पछि पार्दै हामी शेनारायणमा पुगेर रोकिन्छौँ । शेषनारायणमा केही बेर रोकिने सल्लाहबमोजिम नै रोकिएका हौँ । उपत्यकाका चार नारायणमध्ये पूर्वका चाँगुनारायण, पश्चिमका शेषनारायण, उत्तरका इचङ्गुनारायण र दक्षिणका विशंखुनारायण । सबै नारायणहरूको दर्शन गरिसकेको छु मैले यसअघि नै । चारै नारायणको आआफ्नै महत्त्व छ, कथा छन् किम्वदन्ती छन्, अहिले त्यतातिर नजाऊँ । सबै नारायणहरूका बारेमा  पूरै नालीबेली अध्ययन पनि छैन मेरो ता । त्यसो ता हाम्रा सहयात्री गङ्गाप्रसाद भेटवाल, (म ता आफूप्रसाद भन्छु) धेरै कुरामा जानकारी राख्नुहुन्छ । हामीले नजानेका कुराबारे आफूले जानेजति प्रष्ट पारिहाल्नुहुन्छ । हामी अरूलाई हाइसञ्चो !

अहिले पनि शेषनारायणको उत्तरमा ठ्याक्कै टाँसिएर रहेको आचार्य पद्मसम्भवको आश्रम बारेमा थोरैतिना प्रकाश पार्न भ्याइहाल्नुहुन्छ । अझै प्रष्ट पार्न शीतल सरले थपथाप गरिदिनुहुन्छ, अनि त हामीलाई के चाहियो र ? म ता फोटो पनि खिच्तिनँ, नमस्कार पनि मनले मात्रै गर्छु । काहिँलो भाइ दिवङ्गत भएको ४५ दिन पनि भएको छैन, त्यसैले ।

उँभोतिर नजर जान्छन् । पत्थरैपत्थरको कहालीलाग्दो भिर छ माथि । हलेसी थानमा यस्तो दृश्य झन् धेरै देख्न पाइन्छ, त्यो पनि सम्झनामा आउँछ फ्याट्टै । यस्तो अक्करे भिरकै छेउ रोजेर के बस्नुपर्या होला भगवान् जस्ताले पनि ? सजिला, राम्रा, रोज्जा ठाउँ अनगिन्ती भेटिन्थे त ! कि लहडी हुन्छन् भगवान् भनेका ? शिवजी हिवैँहिउँको कैलाशमा बस्ने, विष्णु समुद्रमा त्यही पनि शेषनागमाथि । ब्रह्मा कमलका झुप्पाभित्र ! अन्त कतै ठाउँ नपाएजस्तो नि !

शेषनारायण परिसरका  माछाको रमित हेर्दै हेर्दै बसतिर लाग्छौँ । परशुराम पराशरलाई अघि माथि जङ्गलतिर हुँदैखेरि जुकाले  सुटुक्कै नाप्न भ्याएछ । अहिले ठस्ठस भएर ढाडिएको अघाएको जुको आफ्ना अभिन्तरबाट फुत्त भुइँमा झर्दा मात्रै पो छक्क पर्नु भएछ । कस्तो अभर ! अरूलाई देखाउन पनि असजिलो ! हामी केहीजना पुरुषले मात्रै थाहा पायौँ । अब बेला पनि साँझको छेउछाउ भैसकेको छ । हाम्रो  बस फिर्ती गन्तव्यमा चलायमान छ । चोभार गेटमा आइपुगेपछि गङ्गाप्रसाद भेटवाल र डिल्लीरमण सुवेदी ओर्लिनुहुन्छ । उहाँहरू दुवैको अहम् भूमिका छ पदयात्रामा । अनि, बल्खु चोकमा गीता, प्रभा, विजया, एञ्जेल नीलू लगायतका निकै जना झर्नुहुन्छ । छुट्ने बेलाको बाइबाई यहाँ पनि छुट्तैन । कोटेश्वरमा, जयबहादुर, विमल, अप्सरा, वसन्त, शारदा, पर्शुराम लगायतले बाइबाई पाउनुहुन्छ र म पनि जडीबुटीमा बिदाइ भएर उत्तर लाग्छु, घरमा आइपुग्छु । 

हेर्न ता हेरियो चौकोटदेवीलाई तर अव्यवस्था भने मनग्गे देखियो । स्थानीयहरूका भनाइमा यसरी ठुलो समूहमा यहाँ आउने हामी मात्रै रहेछौँ ।

चौकोटदेवीलाई आकर्षक पर्यटन स्थल बनाउन निम्नलिखित कुरामा पहल गर्नुपर्ने देखेँ मैंले—

१. छैमले भन्ज्याङदेखि माथि थाप्लोसम्म नै पैदल यात्रीहरूका लागि उकालो जतिमा सिँढी बिछ्याउनुपर्छ, रेलिङमेत भए अझै राम्रो हुन्छ ।

२. मोटरबाटोको जुन ट्रयाक निकालिएको छ त्यसलाई  अझै  फराकिलो बनाएर कम्तीमा खण्डास्मित (ग्र्याभेल) बनाउनुपर्छ ।

३. हरेक ५०० मिटरमा चिहानडाँडाको मलामी टहरो जत्रै विश्राम टहराहरू बनाइदिनुपर्छ, जसले जुनसुकै मौसममा पनि पदयात्रीलाई सुविधा पुग्छ ।

४. यस्ता टहराका आसपासमा वनभोज जानेहरूका लागि सजिलो हुने केही फराकिलो ठाउँ छोडिएको राम्रो हुन्छ ।

५. मन्दिर भनिएको ठाउँमा मन्दिर नै छैन, सानो छरितो मन्दिर बनाएर देवीको प्रतिमा स्थापना गर्नुपर्छ । दर्शनार्थीहरू एकातिरबाट आउने, अर्कातिरबाट जाने व्यवस्था हुनुपर्छ ।

६. मन्दिर परिसरलाई झार, घाँसपातरहित बनाएर प्राङ्गणमा वरिपरि फलामे बेञ्च राखिदिनुपर्छ ।

७. प्राङ्गणको मध्य भागमा + आकारमा बाटो बनाइदिएर गोल आकारका ईँटा बिछ्याइदिनुपर्छ । बाँकी ठाउँमा  विभिन्न जातका फूलहरू रोपेर आकर्षक पार्नुपर्छ ।

८. प्राङ्गणको पूर्वमा प्रेक्षण चौकी (खष्भध तयधभच) निर्माण गरिदिनुपर्छ ।

९. दक्षिणकाली वडा नं ८ मा चौकोटदेवी पर्ने भए पनि वडा नं ९ बाट पनि उत्तिकै पायक पर्ने हुँदा हुमाने भन्ज्याङबाट मोटरबाटो र पैदल बाटो व्यवस्था गर्नु राम्रो हुन्छ । यसका लागि वडा नं ९ सँग सहकार्य गर्न सकिन्छ ।

१०. ठाउँठाउँमा पसल राख्न चाहनेहरूलाई उपयुुक्त शर्तमा जमिन दिन सकिन्छ । मन्दिर परिसर र विश्रामस्थलहरूमा यस्तो गर्न सम्भव छ ।

११. पानीको सुविधा हुने ठाउँ हेरी पैदलमार्गकै छेउछाउमा होटल, रिसोर्टहरू खोल्न सकिन्छ ।

एकैचोटि यी सबै काम हुन सक्दैनन्, क्रमशः हुन सक्छन् । चौकोटदेवी भनेको छैमले क्षेत्रको गौरव गर्न लायक पर्यटक लोभ्याउने ठाउँ हो । स्थानीय र प्रतिनिधिहरूले केन्द्रमा समेत सम्पर्क राखी खर्च जुटाएर माथिका काम गर्न सकेमा यसले आगामी १० वर्षमा दक्षिणकाली वडा नं ८ छैमलेको कायापलट हुन सक्छ र महत्त्वपूर्ण आर्थिक उपलब्धि गर्न सक्छ । स्रष्टा पदयात्राका हामी सबैको हार्दिक शुभकामना !

२०८१÷०६÷१४










No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...