Friday, November 29, 2024

कथा : टुटेका सपनाहरू - गङ्गाप्रसाद भेटवाल

                                                       


            कथा :  टुटेका सपनाहरू

                                                                                                     

                                                                                                          गङ्गाप्रसाद भेटवाल                                          

पच्चिस  वर्षीय उषा बहुत जाँगरिली छन् । नहुन पनि कसरी त्यही जाँगरिली भएकै कारणले उनी एउटा गैर सरकारी संस्थामा काम गर्छिन् । उनी विभिन्न ठाउँमा गएर आफ्नो हाकिमले दिएको काम पूरा गर्छिन् । उनको काम प्राय रिपोर्टिङसँग सम्बन्धित हुन्छ । कहिले उनी ग्रामीण क्षेत्रका महिलाको साक्षरताका बारेमा रिपोर्टिङ गर्छिन् त कहिले सहरी क्षेत्रका अव्यवस्थित सुकुम्बासी बस्तीका जनजीवनकोबारेमा । उनको दैनिकी व्यस्तताका साथ चलेको छ । हप्ताका छ दिन हुने काममा जान्छिन् । शनिबार एक दिन बिदा हुन्छ त्यो दिन पनि कपडा र कोठाको सरसफाईमा व्यस्त हुन्छिन् । 

भरभराउदी उषा खुसी छिन् । काठमाडौँमा उनको आफ्नो घर त छैन तर आफैँ कमाउन सक्ने भएकीले उनमा खासै केही चिन्ता छैन । भर्खरै उनले एमबिए पास गरेकी हुन् । गैर सरकारी संस्थामा काम गर्दागर्दै उनको मनमा लोकसेवा परीक्षा दिएर स्थायी जागिरमा जाने सोच बन्दैछ तर सोचेको कुरा आफूले चाहेको समयमा पाउन पनि त सकिँदैन । त्यो उनले राम्रोसँग बुझेकी छन् । जीवनको एउटा पाटो यसरी चलिरहेको छ भने अर्को पाटो जुन प्रेमको पाटो हो त्यो पनि आफ्नै तरिकाले हुर्किराखेको छ । आफूसँगै एमबिए पढेर पास भएको मदन उनको प्रेमी हो । उनीहरू आफ्नो प्रेममा आनन्दित छन् । दुवैको एक किसिमले भन्नुपर्दा पढाइको मुख्य समय सकिएको र जीवनको नयाँ अध्यायमा प्रवेश गर्ने समय आएको छ । दुबैले राम्रो जागिर खाएर आपसमा विवाह गर्ने सल्लाह गरेका छन् । यो समय उनीहरूका लागि महत्वपूर्ण समय हो। यहीबाट जीवनको वास्तविक यात्रा प्रारम्भ हुन्छ। उषाले यो कुरा राम्ररी बुझेकी छन् । एक दिन उषा रिपोर्टिङकै सिलसिलामा एउटा वृद्धाश्रममा पुग्छिन् । त्यहाँ उनले वृद्धआमाहरूको जीवन भोगाइको रिपोर्टिङ गर्नुपर्ने हुन्छ । उषा आश्रमको कम्पाउन्ड भित्र पुग्छिन् । त्यहाँको प्रशासनसँग कुरा गरेर आमाहरू भएको ठाउँतिर पुग्छिन् । काठमाडौँको ठाउँ हिउँदको समय आमाहरू बाहिरपट्टिकै कुर्सीहरूमा बसेका छन् । उषा उनीहरू भएको ठाउँमा पुगेर एकजना आमालाई आमा π भनेर सम्बोधन गर्दै बोलाउँछिन् । ती आमा मुख बिगार्दै मुन्टो अर्कोतिर फर्काउँछिन् । उषा ट्वाल्ल पर्छिन् र फेरि भन्छिन् आमा π ती आमा त त्यो कुर्सी नै छोडेर अलि पर गएर अर्कै कुर्सीमा बस्छिन् । उषा झन् छक्क पर्छिन् । उनी जुन उत्साह लिएर त्यहाँ आएकी थिइन् त्यो उत्साहमा नै दुविधा देखिन्छ । उनले त्यहाँ रहेकी अर्की आमालाई बोलाउँछिन् । ती आमा पनि बोल्न चाहन्नन् । उनले फेरि त्यहाँ रहेकी अर्की आमालाई बोलाउने प्रयत्न गर्छिन् तर ती आमा पनि त्यस्तै सङ्केत गर्छिन् । त्यसपछि उषाको मनमा लाग्छ– यी आमाहरूले जीवनमा धेरै ठूला धोका खाएका छन् । धोका दिनेहरू सायद मेरै उमेरका मान्छे हुनुपर्छ । 

उनी त्यसपछि त्यस आश्रमको प्रशासन कार्यालयमा गएर थप सोधपुछ गर्छिन् । प्रशासन कार्यालयमा बसेका अनुभवी व्यक्तिले समग्रमा आमाहरूको जीवन, आश्रममा आउनुपर्ने कारण र परिवारसँगको सम्बन्ध बारेमा राम्रोसँग जानकारी दिन्छन् । उषाले ती कर्मचारीलाई आमाहरूसँग संवादका लागि वातावरण मिलाइदिन अनुरोध गरेपछि ती व्यक्ति गएर आमाहरूलाई केही कुरा भन्छन् । त्यसपछि उषाले आमाहरूसँग बातचित गर्ने वातावरण बन्छ र संवाद चल्छ । उनी सुरुमा बोल्न खोजेकी आमाको छेउमा पुग्छिन् । भन्छिन् –आमा 

 आमा : हजुर, के भयो नानी ? किन आयौ ?

 उषा : आमा म हजुरसँग जीवनको बारेमा केही सोध्न चाहन्छु !

 आमा : हेर नानी हाम्रो बारेमा तिमीले जानेर केही हुनेवाला छैन । 

 उषा :  त्यस्तो त केही होइन आमा, म एउटा गैर सरकारी संस्थामा जागिर खान्छु । 

मानिसहरूका समस्या के के हुन्छन् । 

तिनीहरूको पहिचान गर्छु र हाम्रो कार्यालयमा बुझाएर हाम्रो संस्थाले केही सहयोग गर्न सक्छ कि भनेर प्रतिवेदन तयार गर्छु । त्यसैका लागि आमाहरूसँग कुरा गर्न खोजेकी मात्र हुँ । 

आमा : त्यस्तो भन्ने धेरै आउँछन्, के के सोध्छन् जान्छन् । फर्केर पनि आउँदैनन् । आज तिमी आयौ । पछि तिमी       पनि आउँदिनौ । त्यो हामीलाई थाहा नै छ । त्यही भएर यहाँ कोही बोल्न नचाहेका बुझ्यौ । 

उषा : त्यसो होइन आमा ! पछि जे भएपनि म आउँछु ।

                  उषा र आमाबीचको संवाद विशेष रूपमा अगाडि बढ्दै जान्छ ।

उषा :  आमा ! तपाईंको घर कहाँ हो ?

 आमा :  यस प्रश्नको उत्तर मसँग छैन, नानी !

 उषा :  आमा, तपाईँ कसरी यहाँ आइपुग्नुभयो ? 

 आमा : नानी, यस प्रश्नको उत्तर मसँग भएपनि भन्न सक्दिन । 

 उषा :  तपाईंका आफन्तहरू को को हुनुहुन्छ ? 

आमा :  नानी तिमी पनि म जस्तै महिला हौ । कुनै दिन तिम्रो अवस्था पनि मेरो जस्तै बन्ला  

 अनि आफन्त र पराई थाहा पाउछौ ।  मलाई यस्ता प्रश्न नसोध । 

त्यसपछि आमा गम्भीर बन्छिन् । उषालाई अप्ठ्यारो महसुस हुन्छ । त्यहाँ केही मौनता छाउन पुग्छ । पढेलेखेकी उषा आमालाई हेर्दै केही समय टोलाउँछिन् र आमालाई भन्छिन्– आमा अब म तपाईंलाई थप केही प्रश्न सोध्दिन तर म पनि महिला नै भएकोले तपाईंबाट केही सल्लाहसुझाव चाहन्छु । जीवन कसरी जिउनुपर्छ म तपाईंबाट सुन्न चाहन्छु । तपाईंले मलाई सल्लाह दिनुभयो भने म र अरु धेरै छोरीहरूको जीवनमा सहयोग पुग्नेछ । के तपाईँ आफ्नै जीवन कहानी पनि सुनाउँदै मलाई सल्लाह दिन सक्नुहुन्छ ? 

आमा पुलुक्क आँखा उठाएर उषालाई हेर्छिन् । आफ्नो अगाडि अत्यन्तै सुन्दर युवती उषालाई देख्छिन् । सुरुमा केही नभनी चुप बसौँ जस्तो पनि गर्छिन् तर एकैछिनमा उनी उषाप्रति दयालु भाव व्यक्त गर्छिन् । त्यसपछि उषाको हात समाउँदै आफूतिर तान्छिन् । गालामा हात लगेर सुमसुम्याउँछिन् । सँगैको कुर्सीमा बसाउँछिन् र भन्छिन्– आज तिमीले मलाई कर गर्यौ । मेरो जीवन कहानी बन्न बाध्य बनायौ ।  म बुढी पनि भएँ । मैले जीवनमा गरेका गल्ती र जीवनका भोगाइले तिमीलाई जीवनमा सचेत रहन मद्दत गर्ला । म तिमीलाई मेरो जीवन सबै उदाङ्गो पारेर भन्छु सुन : 

म गाउँबाट पढ्न र पढेर ठूलो मान्छे बन्न भनेर काठमाडौँ आएँ । यो सहर नै यस्तै हो । मेरै जस्ता सपना बोकेर यहाँ धेरै आएका छन् र आइरहन्छन् । सायद तिमी पनि त्यसैगरी यस शहरमा आएकी हौली । अनुभव तिमीसँग पनि केही होला ।

उषा : त्यसपछि समय कसरी अगाडि बढ्यो त आमा ! 

आमा : भन्दै त छु नि । मेरी साथी बिमला र म ओखलढुंगाबाट गाउँकी काकी पर्नेको ठेगाना टिपेर 

एसएलसी पछिको शिक्षा लिन काठमाडौँ आइपुग्यौँ । उबेला हामीले दुःख भनेको गाउँघरतिर मात्र हुन्छ शहरमा हुन्न भन्ने सोचेका थियौँ तर शहर भनेको त दुःखको महासागर रहेछ । केही समयपछि एसएलसीको रिजल्ट आयो । हामी दुवैजना पास भयौं । ती काकीले केही समय बस्न हामीलाई सहयोग गरिन् तर सधैंभरि त्यो सम्भव पनि थिएन । बिमलाले र मैले ताहाचल क्याम्पसभन्दा केही भित्र एउटा सानो कोठा खोजेर बस्ने प्रबन्ध गर्यौ । काठमाडौँमा पढ्नभन्दा टिक्न गाह्रो रहेछ । हामी काम खोज्नतिर लाग्यौँ । प्राइभेट कम्पनीहरूमा काम दिगो हुँदैन थियो । यता उता सर्दा सर्दै समय बित्दै गयो । त्यही बीचमा बिमला दाङतिरको एउटा केटासँग पोइला गई । मलाई झन् कठिन भयो । पढ्ने र ठूलो मान्छे बन्ने सपना टाढा गएजस्तो भयो । हातमुख जोड्न नै सकस भयो । जीवन जीउन सजिलो हुँदो रहेनछ । बिमला पोइला गइसकेपछि कोठाभाडा तिर्न र अन्य सामान जुटाउन मलाई धौधौ पर्न थाल्यो । त्यही समयमा उदय नाम गरेको केटासँग मेरो चिनजान भयो । ऊ ट्याक्सी चालक थियो । ऊसँग मेरो हिमचिम बढ्दै गयो । उसले सामान सबै म ल्याउँछु खाना मेरो लागि पनि तिमीले बनाइदेउ भन्यो । एक किसिमको सहमति बन्यो ।  अलिअलि गर्दै हामी दुवै त्यही कोठामा बस्न थाल्यौ । अहिलेको भाषामा भन्ने हो भने लिभिङ टुगेदरमा हाम्रो बसाई चल्न थाल्यो । हामी सँगै बस्न थालेपछि उसलाई साँच्चिकै श्रीमान् बनाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर ऊ भने हामी बरु सँगै नबसौँ भनेर ततर्किन्थ्यो । बिहेको कुरा गरेपछि ऊ सधैँ डराउँथ्यो । मैले उसको सवारी चालक परिचयपत्रमा नाम हेरँे नाम उदय सुर्खाली र ठेगाना सुर्खेत थियो । हामी बस्दै जाँदा मेरो पेटमा बच्चा बस्यो । ऊ सुरुदेखि नै त्यो बच्चा फालौं भन्थ्यो तर म त्यसो गर्न मान्दिन थिएँ । बच्चा जन्मने अन्तिम अन्तिम समयतिर आएर ऊ एकाएक गायब भयो । ऊ गायब हुँदा मेरो पेटमा सात महिनाको बच्चा थियो । त्यस्तो बेलामा म कसरी बाँचे होला नानी । कोही नहुनेको हरि हुँदा रहेछन् । म मर्न भनेर विभिन्न उपाय खोज्थेँ े  । हिम्मत गरेर कतै जान्थेँ तर मर्न सक्दिनथेँ । एकदिन बिहानै मर्न भनेर म झोलामा डोरी राखेर पशुपतिको श्लेष्मान्तक वन पुगेँ । त्यहाँ भित्र घना जंगल थियो । कुनै रुखमा झुण्डिएर मर्न सकिन्छ कि भनेर त्यस्तो बुद्धि आएको थियो । बिरुपाक्षको मन्दिरभन्दा अलिक अगाडि गएर एउटा रुखको हाँगामा डोरी बाँधे र घाँटीमा डोरीमा अट्काएँ ।  कोही आएर मलाई समायो । मलाई त्यहाँ आएर बचाउने एक जोडी अङ्कल आन्टी थिए । उनीहरूले बिहानको समयमा जङ्गलमा फ्रेस हावा लिन आउँदा देखेर मलाई बचाए । त्यो बेला मलाई उनीहरूले बचाउँदा शलेषमान्तक वनमा शिव पार्वती घुम्छन् भन्ने श्री स्वस्थानी व्रतकथामा लेखिएको र त्यसकोबारेमा सानोमा गाउँघरतिर सुनेको कुरा याद आयो । त्यसबेला उनीहरूले मेरोबारेमा सबै कुरा सोधे । मैले पनि सबै कुरा बताएँ । त्यसपछि ती अंकलले भने– चिन्ता नगर नानी, म उदयलाई खोजेर तिमी कहाँ ल्याउँछु र तिमीहरूको ठेगान लाग्छ । 

उषा : अनि उदयलाई ती अङ्कलले खोजेर ल्याए त आमा π

आमा :  त्यसपछि घटनाले अर्को मोड लियो नानी । 

उषा :  कस्तो मोड लियो त्यो पनि सुनाउनु न आमा π

आमा :  ती अङ्कल नाम चलेका वकिल रहेछन् । देशभरि वकिलहरूको संगठन हुँदो रहेछ । सुर्खेतमा 

रहेका वकिलहरूको सहयोग लिएर उदय सुर्खालीको घर पत्ता लगाएछन् । उदयको अर्कै कहानी रहेछ । उनीहरूको परिवार दलित परिवार रहेछ । उदयहरू तीन दाजुभाई रहेछन् । उनीहरूको पाँचजनाको परिवार दैलेखमा हुँदा उसको जेठो दाइले ठकुरीकी छोरीलाई भगाएर विवाह गरेछ । ठकुरी परिवारले छोरीलाई छुटाएर लगेछन् । त्यसको लगत्तै कुनै अज्ञात मानिसको हुल आएर उदयका दुईजना दाइ र बाबुलाई मारेर गएछन् । त्यसबेला उदय सानै थियो रे त्यही भएर छोडेछन् । त्यसपछि उनीहरू आमाछोरा सुर्खेत आएर दुःखजिलो गरेर बसेछन् । म बाहुनकी छोरी भन्ने थाहा पाएपछि ऊ तर्सिएर भागेको रहेछ । बुढेसकालको आमाको साहारा ऊ बाँच्न चाहन्छु भन्थ्यो रे । 

उषा :  त्यसपछि ती अङ्कलले के गरे आमा ।

आमा :  ती अंकलले धेरै कुरा सम्झाए । समाजको अवस्थाको बारेमा र मैले जन्माउने बच्चाका 

बारेमा भविष्य सम्मका कुराहरू बताए । त्यसबेला वास्तवमै म भुमरीमा परेको आभास भयो । उनले मलाई आफ्नै छोरी जस्तै सम्झेर धेरै सम्झाए । मैले जन्माउने बच्चाको बाबुको नाम के हुने ? जन्मदर्ता कसरी गर्ने ? र भविष्यसम्म नाम कसरी सुरक्षित गर्नेबारेमा धेरै बताए । म यस्ता कुराहरूमा अनविज्ञ थिएँ । उदय मेरो जीवनबाट नफर्किने गरी टाढा गइसकेको थियो । ती अंकलले भने–नानी तिमीले मैले भने जसरी केही काम गर्यौ भने तिम्रो इज्जत म बचाइदिन सक्छु तर तिमीले गलत गर्न पाउँदिनौ । म समयसँग धोका खाएकी मान्छे अब अरुलाई धोका दिनु हुँदैन भन्नेमा थिएँ । ती अंकलले सुझाए बमोजिम मेरो विवाह उनको डाइभरसँग भयो । मेरो विवाह दर्ता भयो । बच्चा पनि जन्मियो । जन्मदर्ता पनि भयो । त्यसपछि सम्बन्ध विच्छेद पनि उनैले नै गरिदिए र एउटा सर्त राखे– अब आइन्दा हाम्रो भेटघाट बोलचाल सबै बन्द । त्यसपछि हाम्रो चिनजान खत्तम भयो । त्यसयता उनीसँग कहिल्यै भेट भएन तर उनले केही आर्थिक सहयोग भने मलाई गरेका थिए । त्यसपछि फेरि मेरो जीवन छोराको साथमा अगाडि बढ्यो । दुःख त आफूसँग छँदै थियो । यसरी छोराको लागि इज्जत बचाउन बिहे गरी सम्बन्धविच्छेद भएको थियो । त्यसपछि एक बैंकका सीइओसँग मेरो भेट भयो । उनले बैंकमा जागिर दिने आश्वासन दिए । त्यसबेला मेरो छोरो पनि दुई वर्षको भएको थियो । बैंकमा जागिर दिने र एक हाउजिङमा बस्ने पनि व्यवस्था मिलाउने भने । उनको तलब धेरै थियो । उनकै तलबबाट हाउजिङमा बस्ने ठाउँमा भाडा तिर्ने कुरा राखे । विभिन्न शर्त राखे भोलिका दिनमा कतै केही नगर्ने । श्रीमान श्रीमती भनेर पनि दाबी नगर्ने । धेरै कुरामा मलाई वाचा गराए । भित्री मनले भने मानेको थिएन तर परिस्थितिले त्यो प्रस्ताव स्वीकार गर्न बाध्य गरायो । म छोरो सहित हाउजिङमा बस्न थालेँ । छोरो स्कुलमा डे बोर्डर्समा राखेँ । म बैंकमा जागिरे भएँ । पाँच बजे कोठामा आउँथे । ती बैंकका सिइओ पनि मसँगै कोठामा आइपुग्थे । उनका लागि खाना बनाउनु पर्दैन थियो । बेलुका ९ बजे मेरो कोठाबाट घर जान्थे । उनको र मेरो बीचमा कुनै पर्खाल थिएन । दिनभरि बैंकमा जागिर गर्थेँ । साँझ उनको लागि काम गर्थेँ । राति छोराको भविष्य कल्पना गर्दै निदाउँथेँ । यसरी उनीसँगको सम्बन्ध १५ वर्ष चल्यो छोरो पनि ठूलो हुँदै गयो । अचानक उनले आफूलाई यौन रोग लागेको भने र चेकअप गर्न दुवैजना क्लिनिकमा गयौं । रिपोर्ट हेरेर मेरो ठिक भएको डाक्टरले बताए । उनकोमा रोग जटिल छ भने । त्यसपछि उनी मबाट अलग भए । अर्कै बैंकमा सिइओ भएर पनि गए । बाटोमा कहिलेकाहीँ देख्दा अरु नै महिलालाई लिएर हिँडेको देख्थँे पछि थाहा पाएँ । त्यो क्लिनिक उनकै साथी पर्नेको रहेछ । त्यसपछि फेरि मेरा खराब दिन सुरु भए । बैंकमा म सामान्य कर्मचारी थिएँ तलव पनि सामान्य थियो । मेरो र छोराको खर्च त पुग्थ्यो तर हाउजिङको भाडा लगायत अन्य खर्च पुग्दैनथ्यो । त्यही बीचमा एकजना राष्ट्रिय स्तरका नेता मसँग जोडिन आइपुगे । उनी मसँग अरु पन्ध्र वर्ष सँगै बसे । त्यसबीचमा छोरो पनि बढेर र पढेर ठूलो भयो । थप अध्ययन गर्न भनेर अमेरिका पुग्यो । ती नेताले छोरालाई विदेश पठाउन पनि सहयोग गरे । हामी अघोषित श्रीमान् श्रीमतीकै रूपमा बस्यौँ । जिल्लातिर उनका परिवार हुनाले परिवारका सदस्यले ती कुरा थाहा पनि पाएनन् । माइततिरका मेरा आफन्तसँग पनि पातलो भेटघाट हुन्थ्यो त्यो पनि बाहिर बाहिरै । उनी पन्ध्र्र वर्षजति काठमाडौँ बस्दा मसँगै बसे । त्यसपछि उमेरले बुढो हुँदै गएकोले उतै उनकै जिल्लातिर बस्न थाले । जिल्लामा बस्न थाले पनि विभिन्न तरिकाले अरु पाँच वर्षजति मलाई मुस्किलले खर्च जुटाए । त्यसपछि उनी आफै थलिएर बिरामी भए । उनी बितेको पनि पाँच वर्ष भयो । उता अमेरिकाबाट छोराले केही खर्च पठाउँदै थियो । उसका छोराछोरी भएपछि बुहारीले अब खर्च नपठाउ जे गर्छ नेपाल सरकारले गर्छ भनेर दबाब दिएपछि छोरा पनि मसँग सम्पर्कमा छैन । उल्टै मेरी आमाले इज्जत फालेर बाँचिन् भन्छ रे । जीवनको अन्तिम क्षणमा म सहाराविहिन भएपछि आफूसँग भएको गहना गुरिया सबै बेचेर यही आश्रममा आएँ र यही दिएँ । बाँचिन्जेल यही आश्रममा बस्छु भनेर आएकी हुँ । सुन्यौ नि, मेरो जीवनको भोगाइ । अब तिमी जे गर्छौ गर बास π यति हो मेरो भन्नु ππ 

एकसुरले सुनिरहेकी उषा आफँैमा हराएकी जस्ती देखिन्थिन् । उनी आफूलाई सम्हाल्दै आमालाई पछि आउँछु है आमा भनेर बिदा भइन् । कार्यालय गएर आफ्नो प्रतिवेदन बुझाइन । 

उषा कोठामा पुग्छिन् । उनले अठोट गरिन् सरकारी जागिरमा नै जाने । सरकारी जागिर भए जीवन जिउन सजिलो होला भन्ने अनुमान लगाउँछिन् । लोकसेवा परीक्षा तयार गरिरहेकी उनले लिखित परीक्षामा अधिकृत तहमा नाम निकालिन् । मौखिक परीक्षा बाँकी हुन्छ । उनको प्रेमी पनि निरन्तर उनको सम्पर्कमा रहिरहेको हुन्छ ।  उषाको अधिकृतमा नाम निक्लिएको मदनलाई सुनाएकी हुन्छन् । मदनले भने केही दिनमा तिमीलाई सरप्राइज दिन्छु भन्दै कुरा लुकाएको हुन्छ । 

उषा, मदनको लागि खुल्ला खुल्ला बनेकी हुन्छिन् । आफ्नो लामो समयको प्रेमीसँग विश्वास गरेकी हुन्छिन् र भर पनि परेकी छन् । उनीहरूले गोप्य रूपमा मन्दिरमा गएर विवाह समेत गर्छन् । उषा अधिकृत तहको जागिरमा प्रवेश गर्छिन् । मदनसँगको सम्बन्धका कारण उनको पेट भारी भइसकेको हुन्छ । उता मदनको अमेरिकाको भिसा लागेर स्वाट्ट अमेरिका उड्छ । उषा जीवनकै मझ्धारमा पुग्छिन् । अर्कालाई सल्लाहसुझाव दिने काम सजिलो हुने तर आफैंलाई पर्दा निर्णय गर्न मुस्किल पर्ने भनेजस्तो अवस्थामा पुग्छिन् ।

उषा जागिरमा त छिरेकी छन् तर खुसी छैनन् । आफ्नो पहिलो गर्वलाई सुरक्षित जन्म दिनु नै अधिकांश महिलाको चाहना हुन्छ, यस्तो भनाइ समाजमा सुनेकी छन् उषाले र उनी पनि त्यही चाहन्छिन् । मदन उनको जीवनबाट स्वाट्टै हराइसकेको हुन्छ । आफ्नो कार्यालयमा उनले यी राजलाई खुल्न भन्ने दिएकी हुन्नन् । त्यही कार्यालयमा एकजना पाको उमेरका उपसचिव तहका अधिकृत हुन्छन् । उनी उषासँग नजिकिन थाल्छन् । नजिकिने क्रम बढ्दै जान्छ । घनिष्ठता बढ्छ । उषाले ती व्यक्तिको बारेमा सबै जानकारी लिन्छिन् । ती सम्बन्ध विच्छेद भएका व्यक्ति हुन्छन् । पन्ध्र वर्ष अगाडि नै बिहे भएको र बिहेको पाँच वर्षसम्म बच्चा नभएपछि तिनकी श्रीमतीले सम्बन्ध विच्छेद गरेर अर्कैसँग बिहे गरेकी हुन्छिन् । दुबैले एकआपसमा विगत जानिसकेपछि विवाह गर्छन् । उनीहरूको छोरो जन्मिन्छ । छोराको नाम भविष्य राख्छन् । 

उनीहरूको दिनचर्या आनन्दसँग चल्छ । उषा हर रात सुत्नुभन्दा अगाडि ती आश्रममा भेटिएकी आमा सम्झिन्छिन् । आफ्नो श्रीमानको मायामा डुब्छिन् र छोरो भविष्यको सुन्दर र सुखी भविष्यको कल्पना गरिरहन्छिन् । 

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर वडा नं ४ काठमाडौँ 

                                                                        महासचिव

                                                            स्रष्टा पदयात्रा नेपाल । 

 .watch more 







No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...