अविरल बगिरहने नदी जस्तै रहेछ जीवन यात्रा
दुर्गा भवानी भट्ट (कन्चन)
मानिसको जीवनको यात्रा अविरल बगिरहने नदी जस्तै रहेछ । आफूलाई दुख्दा पनि पिडा सहदै, कतै पनि नभाँच्चिई, कतै नअडी, नरोक्की, बगिरहनुपर्ने रहेछ । कहिले समथर भागमा बग्दै कहिले पहरासँग ठोकिँदै, कहिले खोचमा हराउँदै, पोखराको सेती नदी जस्तै रहेछ जीवन । मानौ किनारालाई छोएर बग्ने नदीले बगरसँग लुकामारी खेल्दै आफ्नो गन्तव्य तय गरेझैँ जीवन यात्रा सुचारु रूपमा चलाउँदै लानुपर्ने रहेछ । जीवन यात्रा हो । तर यस या त्रामा किनाराको मेल कहिले पनि गराउन नसकिने रहेछ जिन्दगी !
जीवनका अनगिन्ती यात्राहरू समयलाई छोएर बहने बतास जस्तै हुन्छ्न् । शुन्यतामा बहने वायुले न आकाशलाई छोएको देखिन्छ न धर्तीमा बहेको देखिन्छ । देखिन्छ त केवल प्रकृतिसँग बहेली खेल्दै हाम्रो तनलाई स्पर्श गर्दै उसको गतिको पालन गर्दै प्रकृतिको नियममा पो कटिबद्ध रहे जस्तै रहेछ । मानिसको जीवनको यात्रा ! त्यही गतिमा अनवरत रूपमा गरिने यात्रामध्येको एउटा स्मरणीय यात्रा हो । स्रस्टा पदयात्राबाट तय गरिएको यात्रा !! हाम्रो यात्राको गन्तव्य स्थल राम्चे डाँडामा अवस्थित चौकोटदेवी मन्दिरसम्मको थियो ।
२०८१÷०६÷०५ शनिबारको दिन बिहान सखारै उठेर आफ्नो नित्य कर्म गरी आफ्नो भागमा परेको तरकारी पकाई झोलामा प्याक गरेर राखी स्रस्टा पदयात्राको पोशाक लगाई पदयात्राको लागि निस्किएँ । टोखा वडा नं ८ बाट गरेको पदयात्रा नयाँ बसपार्कबाट रिङरोडको बस चढी हिँडेँ बिचबिचमा गाडी लामो समयसम्म रोक्ने रुटको गाडीको नियम नै हो तर लामो समयसम्म रोकेको ठाउँमा छिटो जाऊँ न भाइ भन्दै कराउँदै हाम्रो रिजर्भ बस भेट्न बल्खु पुगेँ । करिब बिहान ६ बजेदेखि लम्किएका पाइला बुर्कुसी मार्दै थिए । त्यो ठाउँ भेट्न जुन ठाउँ मेरा लागि अनभिज्ञ थिए । बल्खुमा भेट भएर बस चढ्ने हामी ३४ जना उपस्थित भएका थियौँ । साथै हाम्रो भागमा परेका परिकारहरू पनि आफ्नो आफ्नो झोलामा बोकेका थियौँ । सबै जना प्रफुल्ल पनि थियाँै ।
२०८१ असोज ५ गते गरिने ८६ औँ पदयात्राको लागि राजन पुडासैनी तरकारी, रामकुमार पण्डित भिजाएको चना, दिपक लोहनी दही, शम्भु गजुरेल चिउरा, शुष्मा आचार्य दही, विष्णुप्रसाद शर्मा पराजुली दही, डिल्लीरमण सुवेदी फल, ऐन्जल नीलु तरकारी, दालपुरी रुबी सत्याल, तरकारी दुर्गा भवानी भट्ट, विष्णु खनाल पुष्टकारी, हरिबोल काफ्ले फल, बिस्कुट दिपक भेटुवाल, अप्सरा ढकाल फल, नवराज रिजाल पनिर तरकारी, विनोद नेपाल निम्की, बारा नानीबाबा अधिकारी, बीना नेम्कुल रोटीलाई ल्याउने जिम्मेवारी तोकिएको थियो ।
त्रिभुवन विश्वविद्यालयलाई दायाँ पार्दै किर्तिपुरको मन्जुश्री पार्क, हुँदै टौदह, मच्छे गाउँ, फर्पिङको सुख्खा बन्दगाहा हुँदै दक्षिणकाली मातालाई बायाँ पर्दै अगाडि बढेको हाम्रो यात्रामा बाटोमा रमाइलो गर्दै फलफूलहरू खाँदै बाहिरका रमणीय स्थलहरू मध्ये बाटोबाट पारीपट्टि ललितपुरको छम्पी वरिपरिका डाँडाहरूमा नागबेली बनेर बगेका खोल्साहरू पाक्न पाक्न लागेका धानका बालाहरूले बहेली खेल्दै रमाउँदै यताउता गर्दै झुल्दै गरेका दृश्य जहाँ प्रकृति पनि आनन्द रमाउँदै शरद् ऋतुको आगमनको आभास दिलाउँदै थियो । त्यही माथि छेउछाउमा बन्दै गरेका सडकहरूले विकासको आँखा खुल्नै लागेको छ तर पूरा हुन बाँकी छ भन्ने अड्कल पनि काट्न सकिन्थ्यो । यस्तै रमाण्ीाय दृश्यहरूका अवलोकन गर्दै रमाउँदै छैमलेको बस बिसाउनीमा पुगियो ।
त्यहाँ पुग्दा देखिएको एउटा घर मलाई असाध्यै मन प¥यो । सानैदेखि त्यस्ता घरहरू तर नाम बिर्सिएछु । बाँके घर, तिनपाखे घर, तीनढोके घर, चुली एकनाले घर, चुप्पी झ्याल भएको घर, ढुङ्गाले छाएको घर, खरले छाएको घर, बार्दली निकालेको घर, आँखी झ्याल भएको घर इत्यादि नामकरण भएको घरको नाम सुन्थँे सानामा त्यसैमध्ये एउटा घर त्यहीँ देखँे । तर नाम भुसुक्कै बिर्सिएछु । सोध्न त प¥यो । नबोली सोधिँदैन । मेरो बोल्ने बानीले गाल पर्ने गर्छ मलाई धेरै फेरि हाहा !! त्यही पनि सोधिहालेँ ।
त्यहीँको एक जना बुढी आमैलाई जे होला होला भनेर गाली खाए पनि खाइयोस् भनेर ! आमा यो घरलाई के घर भनिन्छ भनँे । आमाले सजिलो तरिकाले जवाफ दिनुभयो । बाँकटे घर भनिन्छ नानी भनेर ! म मक्ख परेँ । बोल्ने बानीले मलाई त्यति नराम्रो पनि नगर्ने रहेछ भनेर ! सोच्दै अनि त्यहीको छेउमा नै बसेर एउटा फोटो पनि खिचिहालँे । फोटो खिच्न रमाउने म सानैदेखि । त्यही ठाउँमा सोही व्यक्तिहरूसँगै त्यही समयमा पुग्न सकिँदैन । त्यस्ता पलहरू पछिका लागि स्मरणीय पल हुन्छन् भन्ने मेरो मान्यता हो र हुन्छन् पनि पुरानो पलको याद मिठो !! मेरो छोरा पनि यस्तै प्रकृतिसँग रमाउने खाले छ । अहिले विदेशी भूमिमा अध्ययनरत छोरालाई आफूले बाँकटे घरको छेउमा खिचेको फोटो पठाइ हालेँ । छोरो खुसीले गदगद हुँदै वाउ यो कताको ठाउँ हो । आमै भन्यो । मैले ठाउँको नाम बताइ दिएँ र हामी स्रस्टा पदयात्राको टोली त्यहाँ घुम्न गएका हौँ सानू भनेर ! ऊ रमाउँदै हो र कति राम्रो ठाउँ रहेछ भन्दै खुसी हुँदा मेरो अर्को खुसी त्यहाँ थपियो । हौसला दिने मान्छे हो त्यो मेरो सानू छोरो पनि ! घरको नाम सोधेर छोरासँग कुराकानी भएपछि साथीहरू भएको ठाउँमा दौडिदै गएँ ।
साथीहरू चियामा रमाउँदै हुनुहुन्थ्यो । म चाहिँ त्यता रमाउँदै थिएँ । घरको नाम सोध्दै हिँड्नमा त्यति सोधिसकेपछि चिया पिउन दौडिएको म !! तर चिया सक्किएछ पहिलो पटकको फेरि चिया पाक्दै गर्दा २ केजी काँक्रो पनि किनिहालेँ । माथि गएर खान पाइन्छ रमाइ रमाइ भनेर काँक्रो किनिसकेर चिया पिउन आएँ । चिया पिउँदा पिउँदै सामूहिक फोटो पनि खिचियो । अनि चिया पिउँदै पसले भाइलाई पनि सोधिहालेँ । भाइ आज हजुरले सपनामा के देख्नुभएको थियो भनेर ? भाइ मुसुमुसु हाँस्दै किन र दिदी ? भन्दै केही देखेको थिन नि भन्न भ्याइ हाले । हाहाहा बहिनी भने हाँस्दै राम्रो सपना देखेको थिएँ दिदी किनर भनेर सोध्नुभयो ? मैले हाँस्दै भने आज यत्रो चिया बिक्री भयो बिहानै भनेर सोधेको बहिनी भनेर म पनि हाँसेँ सँगै हुनु भएका सर म्याम पनि हाँस्नुभयो । त्यहाँ पनि छुच्ची मान्छेले झन्डै गाल पारेको गाली खाइन्छ कि भन्ने पिरलो थियो । खाइएन बचियो त्यहाँ पनि ! हाहा .... ।
अब फेरि गाडी चढ्न घुरुरु दौडिदै बस बिसौनीमा पुगे । हाम्रो गन्तव्य स्थल त्यहाँबाट धेरै नै माथि थियो । बस चढेर जानुपर्ने । माथि पुगेपछि नास्पातीको बोटमा चढेर फोटो खिचेर नास्पाती पनि टिपियो तर टिपेको नास्पाती चाहिँ कता गए कुन्नी म भएको ठाउँमा आइपुग्दै पुगेन । थोरै भएर होला सायद ! मइले भने टिपेर खाँदै हिडेँ । गाउँको स्वाद ३० वर्षपछि चाखियो ।
चौकोटदेवीको दर्शन गर्न वनको बाटो जानुपर्ने थियो । बाटोमा हिँड्दा बाटोमा नै अलमल परियो । त्यो चाहिँ पछाडि बस्नुको बेफाइदा थियो । तर पनि बाटोमा लिन सक्ने फाइदा चाहिँ लिई नै हालेँ । गीति कवितावाचन गरेर गीति शैलिमा ! आफ्नै रचना थियो । त्यो कविता पनि ! एक जना सरलाई भिडियो खिच्न लगाएर भिडियो पनि बनाएँ रमाइलो पलको, तर उहाँको नाम थाहा भएन । दुःख दिएकोमा माफ चाहिँ मागी मागी भिडियो खिच्न लगाएँ । अनि फेरि बाटो पैलाएर त्यही बाटो फर्किएर राम्चेको डाँडो उकालो लागियो नारायण गोपाल र तारादेवीले गाउनुभएको गीत गाउँदै वन जङ्गलको बोटबिरुवासँगै रमाउँदै बोटबिरुवाको नाम सोध्दै चिनेको जति चिनियो नचिनेको जति सबै सोध्दै हिँड्दा धेरै जसो औषधिको लागि योग्य वनस्पतिहरू भेटियो । त्यसमध्येको पनि एक्ले वीर भन्ने बोट साह्रै उपयोगी वनस्पति हो । त्यो झार जति नै झाँगिए पनि एक्लै नै सप्रिन्छ त्यसले हाँगा हाल्दैन । त्यो रोपेर जोगाउन सकियो भने कसैको पनि नजर लाग्न सक्दैन भन्ने मान्यता पनि छ । तर जुठो पार्नु हँुदैन ! पूजा गर्नुपर्छ घरको माथि मूल ढोकामा राख्न सकियो भने लक्ष्मीको बास हुन्छ भन्ने पनि मान्यता रहेछ । मैले त्यो बोट पनि जङ्गलमा भेटेँ । पहिला रानीवनमा देखेको थिएँ । ल्याएर रोपेँ । सार्नै सकिन आफैँ म¥यो । त्यहाँबाट पनि ल्याएर सारेको छु । आधा मरि सक्यो सर्छ कि सर्दैन थाहा छैन । वातावरण नमिलेको ठाउँमा नहुने हो कि के हो जस्तो लाग्दै छ ।
हाम्रै माटोमा धेरै औषधिहरू अपरिचित भएर बसेको रहेछ । यी वनस्पतिको सदुपयोग गरिने हो भने देशको लागि आयस्रोतको भण्डार नै खुल्ने थियो, भने झैँ लाग्यो मनभरी । खुल्दुली भयो, के गर्नु सम्बन्धित निकायले नै वास्ता गर्दैन भने आफू मात्रै बर्बराएर पनि हुने केही हैन, भनेझँै भयो । उकालो लाग्ने क्रममा डाँडाको पहिलो बिसौनीमा पहिलो चरणको कवितावाचन गर्ने कार्यक्रम सम्पन्न भयो । दोस्रो बिसौनीमा खुल्ला चौरमा बसेर खाजा खाने र सामूहिक फोटो खिच्ने कार्यक्रम सम्पन्न भयो । अब पुग्नुपर्ने चौकोटदेवीको दर्शनको लागि बाटो तताउँदै उकालोमा फेरि गीत गाउँदै बाटोमा हराउँदै हराउँदै देवीको काखमा पुगियो । त्यहीँ हाम्रो यात्राको मुख्य गन्तव्य स्थल थियो । त्यहाँ देवीको दर्शन पाउँदा मलाई छुट्टै अनुभूति भयो ।
सानो बेलामा बुवाको काँधमा चढेर सन्सारी पूजा गर्न लेकको वनमा गएको यादले झस्कायो । थोरै समय भए पनि गाउँ घरको वन पाखामा खेलेको म ! ती सबै बोट बिरुवाले मलाई त्यही बालापनको याद दिलाउनुका साथै देवीको दर्शन पाउनेबित्तिकै शरीरमा लागेको थकान पनि एक्कै छिनमा निर्मूल भयो । के शक्ति थियो चौकोटदेवीको मैले बुझ्न सकिनँ । देवीको मन्दिर वरिपरि घुमेँ । घुम्दाखेरी घुमेको धितै नमर्ने ठाउँ चौकोटदेवीको बासस्थान । मैले फोटो पनि धित मरुन्जेल खिचेँ । तर देवीसँगै रमाउन मलाई अझै धितै मरेन र धित मरेको पनि छैन खै किन हो कुन्नी ?
मलाई साह्रै मन छोएको अर्को तथ्य भनेको चौकोटदेवीको मन्दिरमा रहेको ढुँगा कुँदेर बनाएको धुपौरो मैले सायदै पहिलो पट्क देखेको हुनपर्छ । सानो छँदा देखेर बिर्सिएको भए म जान्दिन तर ठुलो भइसकेपछि देखेको भने त्यही नै हो । स्वामी र कट्टुसको वृक्षमुनि विराजमान देवीको अनुहार साह्रै चम्किलो लाग्यो । मनमा देवी त्यतै फुरुङ्ग भएर नाचिरहेकोझँै अनुभूति भयो । खै किन हो किन !
हाम्रो अन्तिम गन्तव्य र अन्तिम चरण कवितावाचन कार्यक्रम पनि सोही स्थानमा थियो । केही छिनपछि कवितावाचनको कार्यक्रम सुरु भयो । त्यही रहनुभएका एक जना दाइबाट त्यहाँको किम्बदन्ती पनि सुन्ने मौका पाइयो । तल बिच बाटोमा पनि त्यही स्थानीयबाट सोही स्थानको बारेमा केही कुरा सुन्दै जाँदा त्यहाँ धोएर सुकाएको कपडाको छाया, भक्तपुरको दरबारमा देखिन्थ्यो रे ! भन्ने कुरा पनि सुनियो । पछि खै के भएर हो देखिनै छाड्यो रे ! दैविक शक्ति घट्दै गएर देखिन छाडेको हो कि कसैले केही छल गरेको भएर हो । मैले पुरै कुरा सुन्न नपाएको पनि हुन सक्छ, त्यत्ति कुरा चाहिँ सुन्ने मौका पाएँ । कवितावाचन गर्ने क्रममा सुन्दरता भन्ने शीर्षकको कवितावाचन गर्दा सुनिएको हाँसो नै काफी थियो । किनकि म प्रेम सम्बन्धी कविता लेख्नै न जान्नेमा पर्ने मान्छे हुँ । त्यो कवितामा बाङ्गोटिङ्गो प्रेम घुसेको थियो । त्यही सिलसिला सबै जना बाँकी स्रष्टाज्यूहरूबाट पनि कवितावाचन सक्किएपछि सोही स्थानमा बसी काँक्रो, स्याउ, मुलाको चाना खाएर हामी हाम्रो गन्तव्य स्थानमा पुगेर फर्किंदा चौकोटदेवीलाई दायाँ पार्दै ओरालो झर्दै गर्दा भेटिएको बाघको आकृतिमा सबै जनाले फोटो खिच्नुभयो । रमाउनुभयो तर मैले भने फोटो खिचिनँ । त्यो स्थानमा, एउटा कुरा चाहिँ सुने राती जिउँदो बाघ आएर सोही स्थानमा बस्ने गर्छन् रे भनेर देवीको वाहन आउने नै भए नि आउन त भने झैँ लाग्यो । बसबिसौनीसम्म पुग्न केही समय हिँड्नै पर्ने भएकाले सल्लाघारी वनमा बगेको पानी पिउँदै दौडिँदै हिँडे । म चाहिँ ओरालोमा खुट्टा दुखेर त्यही पनि बाटोमा भेटिएका महेलका दाना र लप्सी खाँदै फर्सी र काँक्रोको भाउ सोध्दै हिँडेको त ! बिहानको भन्दा ३ गुणा बढी भाउ बढाइ हाले त बाबै ! त्यसै सोधेर मात्रै आएँ आफू त ! अनि हाम्रो रिजर्भ बसमा चढेर फेरि सोही बाटो हुँदै घर फर्कियौ । बाटोमा रमाउँदै गीत गाउँदै आफ्नो आफ्नो बासस्थानतिर लाग्यौँ सबै जना ! म भने रिङरोड हुँदै ग्वार्कोमा ओर्लिएर बहिनीको घरमा बास बसी भोलिपल्ट घर आएँ । यसरी पूरा भयो मेरो २०८१÷०६÷०५ गते ।
यात्रा रहेछ जिन्दगी एक्लै म हिँडिदिन्छु ।
घुम्तीमा लोलाउने घुम्तीमा लोलाउने फूलसँगै हाँसी दिन्छु फुलसँगै हाँसी दिन्छु ।
यो गीतको झझल्को पनि आयो । समग्रमा भन्नुपर्दा राम्चेको छैमले तल समथर जमिनदेखि माथि पहाडी भूमिको टुप्पोमा पुग्दासम्म देखिएका र भेटिएका अनि जानकारीमा आएका साँस्कृतिक परम्परा त्यसको क्षेत्रको विकास क्रम, पर्यटकीय क्षेत्रको लागि प्रवद्र्धन गर्नु पर्ने कुरामा त्यस ठाउँका बासिन्दाको चासोका कुराहरू, राम्चेमा बसोबास गर्ने जातजातिमा क्षेत्री, ब्राह्मण, नेवार, तामाङ, दमाई, कामी आदि सबै जातजातिहरू मिलेर बसेका एक आपसमा भातृत्व भाव साटेर भारोपर्म गरेर कृषि गर्दै आफ्नो जिविकोपार्जन गर्दै आएका एक आपसमा मिलेर बसेका एकलाई केही पर्दा अर्कोले सहयोग गर्ने अर्कोलाई केही पर्दा अर्कोले सहयोग गर्दै हाँसीखुसी जीवन चलाएर बसेको देख्दा भाइचाराको आभास पूर्ण रूपमा दिलाउँछ ।
त्यस्तै त्यहाँको संस्कृतिक परम्परा विभिन्न किसिमका धर्म संस्कृतिले भरिपूर्ण छ । तामाङले आफ्नै परम्पराअनुसार चाडपर्व मनाउने आफ्नो चाडपर्वमा सबै जनालाई समाबेश गराइ रमाउने, नेवारहरूले आफ्नै पारा शैलीमा चाडपर्व मनाउँछन् । त्यहाँ पनि सबै जातजाति मिलिजुली रमाइलो गर्दै आफ्नो परम्परालाई सम्मान गर्दै चाडपर्व मनाउने रहेछन् । त्यस क्षेत्रमा पर्यटक बोलाई पर्यटकीय क्षेत्रको रूपमा देश विदेशलाई चिनाउने हो र त्यस ठाउँको आर्थिक क्षेत्रमा विकास गर्ने हो भने राम्चेको छैमले बस बिसौनीदेखिको मोटर बाटो चौकोटदेवीको मन्दिरसम्म पु¥याउनु जरुरी देखिन्छ । साथै चौकोटदेवी उचित बासस्थान बनाइ आदर सम्मानका साथ राख्दै चौकोटदेवीको उत्पती कसरी भयो । कसले थाहा पाएर देवीको स्थापना त्यस ठाउँमा गरेको हो ? भन्ने कुराको खाका तयार बनाएर राम्चेको छैमले भन्ने ठाउँको बस बिसौनीदेखि नै प्रचारप्रसार गर्ने एउटा जानकारी मूलक बोर्ड बनाएर बाटोको जानकारी गराएर प्रचार गर्ने हो भने त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई त्यसको चिनारी गराउन सकिने प्रचुर सम्भावना छ ।
सुरुमा आफ्नो ठाउँको विकासका सोही ठाउँका जनताहरू जाग्नु जरुरी हुन्छ । अनि त्यस क्षेत्रमा नेतृत्व गर्दै आउनुभएका जनप्रतिनिधिहरूको चासोको विषय हुनु अत्यन्तै जरुरी हुन्छ । त्यस क्षेत्रका विशेषता समेटेर प्रचारप्रसार गर्ने हो भने झन छिटो पर्यटकहरू भित्र्याई त्यस ठाउँलाई विकास गर्न सकिने देखिन्छ । मानिस चेतना भएको प्राणी हो । मानिसलाई राम्रो चिज खान, राम्रो चिज लगाउन, राम्रो ठाउँमा घुम्न असाध्यै मनपर्छ । त्यसको लागि हामी आफैँ कसिनुपर्छ । भने झैँ राम्चेको विकासको लागि त्यहीँका स्थानीय बासिन्दा र जनप्रतिनिधिको पहल हुने हो भने त्यस ठाउँको उज्ज्वल भविष्य देखिन्छ ।
घर फर्किएर आउँदा छुटाउनै धार्मिक स्थल श्री शेष नारायण मन्दिरको दर्शन पनि गरियो र नारायणको उत्पतिको बारेमा पनि जान्न मन भएर त्यहीँ बसोबास गर्नु हुने एक जना स्थानीयसँग गरेको भलाकुसारीमा धेरै कुराको जानकारी पाउने अवसर पनि जुट्यो । प्रकृतिको अलौकिक उपमा श्री शेष नारायण मन्दिरको प्राकृतिक बनोट जहाँ कामधेनु गाईको थुन पहरामा झुन्डिएर दुधका थोपा चुहाहिरहेकी छिन् । पहरामा नै प्राकृतिक आकृति बनाएर बस्नुभएको नागको आकृति पनि छर्लङ्ग देख्न सकिन्छ । यो पनि एउटा अलौकिक शक्ति नै हो । यसको उत्पतिको बारेमा भन्नुपर्दा ः श्री शेषनारायण मन्दिरका बारेमा विभिन्न किम्बदन्तीहरू प्रचलित रहेका छन् । तर यसको उत्पत्तिको कारण यही नै हो भन्ने यकिन प्रमाण भने कहीँ कतै पाहिएको अवस्था छैन ।
श्री शेषनारायणको मन्दिर उपत्यकाको ४ प्रमुख नारायणमध्येमा एक पर्दछ । यो मन्दिर लिच्छविकालमा विष्णु गुप्तको पालोमा स्थापना गरिएको भन्ने मानिन्छ । यस मन्दिरसँगै शेष नागराजको बासस्थान मानिने पोखरी पनि रहेको छ । शेषनारायणको मन्दिर बाग्मती अञ्चल अन्तर्गत फर्पिङ ंस्थित दक्षिणकाली नगरपालिकाको वडा नं ५ मा रहेको छ । राजधानीबाट करिब १५ कि. मि. को दुरीमा रहेको यो ठाउँ अत्यन्तै मनमोहक र रमणीय स्थलको रूपमा रहेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको समान आस्था रहेको यस स्थलमा बौद्ध धर्मसँग सम्बन्धित गुम्बाहरू पनि निर्माण गरिएका छन् । फर्पिङ दक्षिणकाली जाने बाटोको छेवैमा रहेको यो स्थलमा पानीको ठुलो मुहान रहेको छ । पहाडको फेदीमा तथा पहराको चेपमा साँगुरो ठाउँमा शिखर नारायणको मन्दिर रहेको छ । एक तले यस मन्दिर भित्र नरसिंह नारायण, गदाधर नारायण, शेषनारायणका साथै अन्य देवदेवीहरूको मूर्ति पनि स्थापना गरिएको छ । उपत्यकाका चार नारायण स्थापना गराउने श्रेय हरिदत्त वर्मालाई जाने गरेको छ । मन्दिरसँगै एक गुफा रहेको छ जसलाई गोरक्षनाथ गुफा पनि भन्ने गरिन्छ । अहिले त्यो गुफा बन्द गरिएको छ । राजा महेन्द्रको पालामा बन्द गरेको भन्ने भनाइ छ । त्यस गुफाबाट गोरख नाथको मन्दिर जाने गरिन्थ्यो । तर गुफा भित्र गएका मानिसहरू अल्मलिएर गुफाभित्र नै हराउन थालेपछि सो गुफा बन्द गरिएको भन्ने भनाइ छ । फर्पिङमा शेष नारायणको नाममा हरिशङ्कर जात्रा गर्ने पनि चलन छ ।
शेषनारायणको पानी प्रयोग गरी नेपालको पहिलो जलविद्युत (चन्द्र ज्योति) आयोजनाको उत्पादन सुरु गरिएको थियो र हालसम्म पनि सो जलविद्युत आयोजना प्रयोगमा नै आइ रहेको छ । ललितपुरका विभिन्न भागमा आज पनि यही स्थानको पानीलाई पिउने पानीको रूपमा वितरण गर्ने गरिएको छ । वनको फेदीमा रहेको श्री शेषनारायणको मन्दिर नारायण मध्येको एक अलौकिक मन्दिरको रूपमा देख्न पाइन्छ । हामीले सोही मन्दिरको अवलोकन गरेर मन्दिरै छेउको पोखरीको सौन्दर्यसँग आफ्नो मनको सुन्दरता साटेर फेरि हाम्रो रिजर्भ बसमा चढेर आफ्नो गन्तव्यतर्फ लाग्याँै ।
No comments:
Post a Comment