Wednesday, May 29, 2024

स्रष्टा पदयात्रीको ७८ औँ पदयात्रा – भिमढुङ्गा - गङ्गाप्रसाद भेटवाल - २०८० साल माघ ६

                                       एक झलक एता - ८२ औं सृङ्खला ।           


 स्रष्टा पदयात्राको ७८ औँ श्रृङ्खला 

१. विषयप्रवेश

      स्रष्टा पदयाात्रा भन्नाले सर्जकले पैदल तय गर्ने यात्रालाई बुझाउँछ । सष्टा भनेको सर्जक हो जसले कुनै पनि नवीन कुराको सृजना गर्दछ । पदयात्रा शब्दको निर्माण पद र यात्राको योगबाट भएको हो । यसरी सम्पूर्णतामा स्रष्टा पदयात्रा दुई शब्दको सन्देशात्मक संप्रेश्य  पदावली बनेको देखिन्छ । पदयात्राको माध्यमबाट नयाँ ज्ञानको खोजी तथा ज्ञान एवम् अभियानको प्रचार प्रसार गर्ने गरेको पाइन्छ । पौराणिक कालका पदयात्राका सन्दर्भहरू पनि हामीले विभिन्न समयमा सुन्ने गरेका हुन्छौँ । कतिपय पदयात्राका प्रसङ्गहरू शास्त्रहरूमासमेत उल्लेख भएका पाइन्छन् । रामायणमा चौध बर्ष राम बनबास जाँदा विभिन्न स्थानहरूको पदयात्राकै माध्यमबाट भ्रमण गरेको देखिन्छ । त्यस्तै महाभारतमा पनि पाण्डवहरूले बनबास जानु परेको बर्णित छ । पाण्डवहरूबाट पनि भारतबर्षका विभिन्न स्थानहरूको पदयात्राको माध्यमबाट भ्रमण गरेको धार्मिक इतिहास छ । पदयात्रा गर्नाले सम्बन्धित क्षेत्रको वस्तुगत अध्ययन गर्न सजिलो हुन्छ भने पदयात्रीले ग्रहण गरेका अनुभूतिहरू दीर्घकालसम्म मानसपटलमा रहिरहन्छन् । पदयात्राले वास्तविक ज्ञानको बोध गराउँदछ र त्यस क्षेत्रका समस्याको पहिचान गर्न सक्ने बनाउँछ । विभिन्न समयमा राजनेताहरू तथा धार्मिक अभियन्ताहरूले समेत पदयात्राको माध्यमबाट धेरै स्थानहरूको भ्रमण गरी ज्ञान आर्जन गरेका र समस्याको पहिचान गर्न सफल भएका देखिन्छन् । भारतीय राजनेता माहात्मा गान्धीले पदयात्रा गरी भारतलाई बुझी समस्याहरूको नजिकबाट पहिचान गरी भारतको राजनैतिक भविष्यसँग आफूलाई जोड्न सफल पनि भएको पाइन्छ । त्यसैगरी नेपालको विकट कर्णाली क्षेत्रमा जन्मिएका धार्मिक गुरु योगी नरहरीनाथले पदयात्राकै माध्यमबाट नेपालका विकट गाउँदेखि भारतका विभिन्न प्रान्तहरूको भ्रमण गरेर सनातन धर्मको प्रचार प्रसार गरी परम्परालाई व्यवस्थित गरेको पाइन्छ । नेपालको राजनैतिक वृतमा पनि पदयात्राको विशेष महŒव रहने गरेको पाइन्छ । यो लेखमा भने स्रष्टासँग पदयात्रा जोडिएर आएको छ । यहाँ स्रष्टा भन्नाले कला, साहित्य तथा सङ्गीतका सर्जकहरूलाई सङ्केत गरेको छ र तिनै स्रष्टाहरूले तयार गरेको एकदिने पदयात्राको सन्दर्भ तथा प्रस्तुतीका प्रसङ्गहरू यो लेखमा समेटिएका छन् जसलाई यो लेखमा स्र्रष्टा पदयात्राको ७८ औँ श्रृङ्खला भनी शीर्षकीकरण गरिएको छ । 


२. स्रष्टा पदयात्रीको ७८ औँ पदयात्रा – भिमढुङ्गा

    काठमाडौँ उपत्यका नेपालको बाक्लो जनघनत्व भएको सहर हो । नेपालको राजधानी पनि यहीँ छ ।  काठमाडौँ उपत्यका भन्नाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई बुझाउँदछ । यो उपत्यकाको वरिपरी हरिया डाँडाहरूले ढाकिएको छ । उपत्यकाका मानिसहरूलाई आन्तरिक भ्रमणका लागि तथा पिकनिक जानका लागि विभिन्न स्थानहरूको निर्माण गरिएको छ । गोदावरी, थानकोट, बालाजु, लाँकुरी भञ्या¨, नगरकोट आदि स्थानमा पिकनिक स्पोटहरू रहेका छन् । धेरै आन्तरिक पर्यटकहरूको ध्यान त्यतै जाने गरेको पाइन्छ तर स्रष्टा पदयात्रीहरूले भने एक निश्चित ठाउँमा बसेर पिकनिक खाने काम नगरी कुनै एक रूटको पहिचान गरी दशदेखि तीस किलोमिटरसम्म यात्रा तय गर्ने गरेको हुन्छ । यसरी यात्रामा निक्लदा त्यस क्षेत्रको भूगोल, विकास निर्माणको अवस्था, सम्बन्धित क्षेत्रको शैक्षिक स्तर, चेतनाको स्तर, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थानको अवस्थिति आदिको गहन अवलोकन तथा अध्ययन गर्ने गरेको पाइन्छ । मिति २०८० साल माघ महिनाको ६ गते शनिवारका दिन स्रष्टा पदयात्राका लागि काठमाडौँ महानगर पालिकाको सितापाइलामा जम्मा भएर भिमढुङ्गा हुदै अगाडि बढ्ने रूटको तय गरिएको 

थियो । रूट कसरी तय हुन्छ त्यो पनि भनिहालौँ । सम्बन्धित क्षेत्रमा ज्ञान भएका स्रष्टाहरूले स्रष्टा पदयात्रा नेपालका अध्यक्षलाई सम्बन्धित क्षेत्रको बारेमा जानकारी दिइन्छ । त्यसपछि सम्भाव्यता यकिन भएपछि स्रष्टा पदयात्रा समूहको ग्रुपमा राखिन्छ । सबै स्रष्टाहरूले आफूले जानेका विषय त्यहाँ थप गरी रूटलाई पहिचान तथा यकिन गरिन्छ । कतिपय रूटको अध्यक्षले आफँै यकिन गरी त्यसको जानकारी स्रष्टा पदयात्राको समूहमा  दिने गरिएको छ । स्रष्टा पदयात्राको कार्यक्रम हरेक महिनाको पहिलो शनिवार  रहने गरेको छ । यात्रा प्रारम्भ गर्नु केही दिन अगाडिसम्म पदयात्रामा जानेको नाम टिपाउने चलन छ । नाम नटिपाएकालाई भरसक नलाने चलन छ । पदयात्रालाई मर्यादित र अनुशासित बनाउन ड्रेस र ब्यागको व्यवस्था गरिएको हुन्छ । काठमाडौँ वरिपरीको यात्रा एकदिने हुन्छ भने काठमाडौँ बाहिरको पदयात्रा स्थान समय अनुसार केहीदिनसम्मको हुन्छ । हालसम्म ७७ औँ पदयात्राको श्रृङ्खला नेपालभित्रै पूरा भई सकेको र आज ७८ औँ श्रृङ्खला भिमढुङ्गा क्षेत्रको रहेको छ । आगामि दिनमा स्रष्टा पदयात्राको कार्यक्रम नेपाल बाहिर पनि तय गरिएको तालिका सार्वजनिक भई सकेको छ । स्रष्टा पदयात्रा समूहमा दैनन्दिन स्रष्टाहरूको चासो बढ्दै गएको छ । काठमाडौँ भन्दा बाहिरका जिल्लाहरूमा कार्यक्रमहरू लग्दा सम्बन्धित क्षेत्रका संघसंस्थाहरूको समेत सहभागिता रहने गरेको छ । स्रष्टा पदयात्रा समूहको यात्रा स्थापना कालदेखि नै निरन्तर चलिरहेको छ । स्थापना कालदेखिका केहीकेही यात्रीहरू आजका दिनमा पनि उत्तिकै सक्रिय छन् भने कसैलाई उमेरले साथ दिन असहज देखिएको छ तर नयाँ स्रष्टाहरूको आकर्षण थपिँदो छ । निर्धारित यात्रामा जान भ्याउनेले मात्र नाम टिपाउने चलन छ । आजको भिमढुङ्गा क्षेत्रको पदयात्रामा जानका लागि चालिस जना भन्दा बढीको नाम उल्लेख भएको थियो तर माघको जाडो निकै कडा थियो । केहीलाई चिसोले समस्या पारेको खबर गाइँगुइँ आइसकेको थियो । जे होस म कीर्तिपुरबाट तोकिएको समयमा निक्लिएँ । भेटघाट स्थान सितापाइला भएकोले त्यतैतिर केन्द्रित भएँ । जाडोको मौसम शनिबारको दिन बाटो खाली नै थियो । म बल्खु हुँदै साढे सात बजे नै सितापाइला पुगेँ । २०८० सालको माघको प्रारम्भबाट नै मौसम सफा रहे तापनि ठिहि¥याउने जाडो निकै बढेको थियो । सितापाइला छेउछाउका चियापसल खुलिसकेका थिएनन् । अलि परतिरको चिया पसलमा चिया पिउन गएँ । आठ बजे भन्दा अगाडि केही पदयात्रीहरू आइसकेका तर यताउताका चिया पसलतिर छिरेको पाइन्थ्यो । म चिया पिएर फेरी चोकमा आउँदा मन्दिरा मधुश्री, शान्ति सापकोटा, राजकुमार राई, लिलाराज दाहाल, कल्पना आचार्य र प्रतीक घिमिरे चोकमा देखिनु भयो । उहाँहरूले पनि चिया पिउने चासो देखाएकाले भिमढुङ्गा तर्फकै अलि अगाडिको चिया पसलमा हामी पुनः छिर्याैँ । हामी चिया पिएर चोकमा आउँदा त्यहाँ स्रष्टा पदयात्रीहरूको चहलपहल भई सकेको थियो । एउटै ड्रेसमा निकै मानिसहरू देख्दा स्थानीय मानिसहरूमासमेत चासो बढेको थियो । यताबाट जानुहोस्, यसरी जानुहोस भनेर सल्लाह दिने मान्छे पनि धेरै निक्लिए । यो यात्रामा सरिक हुनुहुने स्रष्टा पदयात्रीहरूको नामावली यस प्रकार रहेको 

छ – गङ्गाप्रसाद भेटवाल, परशुराम पराशर, शारदा पराजुली, शीतल गिरी, रुवी सत्याल, जयराम विडारी, प्रतीक घिमिरे, लिलाराज दाहाल, राधा भट्टराई, कल्पना आचार्य, नानीबाबा अधिकारी, एन.बि. जनकपुरी, विनोद नेपाल, आलोक चालिसे, शान्ति सापकोटा, नवराज रिजाल, मन्दिरा मधुश्री, बखतबहादुर थापा, बुद्धिसागर पौडेल, डिल्लीरमण सुवेदी, राजकुमार राई, मुरारी सिग्देल, प्रभा बराल, देवराज ढकाल, रञ्जु दाहाल, अनिता कोइराला, सुभाष ढुङ्गेल, प्रोल्लास सिन्धुलीय, अनिता यात्री, लक्ष्मी मुडभरी, खुश्वु रिजाल, रामप्रसाद पन्त, रामकुमार पण्डित, शोभा पोखरेलसमेत गरी चौँतिस जनाको सहभागिता । पदयात्रामा सहभागि मध्ये कोही आख्यान बिधाका सिद्धहस्त प्रतिभा थिए भने कोही कविता बिधाभित्र पनि छन्दमा पारङ्गत थिए । कोही अघिल्लो पुस्ताका थिए भने कोही नवप्रवेशी स्रष्टा समेत थिए । प्राय सबै स्रष्टाहरूले रचना वाचन गरेका थिए । छन्दकवि खोलाघरे साँहिलो यात्रामा जान नसके पनि उनले यात्राकाबारेमा केही खाका तयार गरेका थिए । त्यो दिनको यात्रा सितापाइलाबाट प्रारम्भ भयो । यात्रामा सामान्यतया घरबाट  खानेकुरा लाने र कुनै स्थानमा बसेर खाने परिपाटी छ तर पानी भने यात्रामा नै किन्ने चलन छ । पानीको कार्टुन किनियो र सबैका हातमा एउटा एउटा पानीका बोतल परे । यसरी बाृेक्दा कसैलाई भारी नहुने । यात्रा अगाडि बढाउँदै रचना वाचनको क्रमलाई साथै लगियो । यात्राका क्रममा पाँच चरण गरेर रचना वाचन भयो । कसैका मुक्तक कसैका कविता सुनिए त कसैका लघुकथा सुनिए अनि कोही भलाद्मी श्रोता बन्न पुगियो । यो पदयात्राका क्रममा वाचन भएका रचना मध्ये केही गङ्गा भेटवाल युटुव च्यानल र आजको खबर एचडि च्यानलमा पछि सम्म सुन्न मिल्ने गरी राखिएको समेत छ । हुन त यस भन्दा अगाडिका श्रृङ्खला समेतका रचना यी च्यानल मार्फत हेर्न सुन्न सकिन्छ । समूहमा यात्रा गर्दा निक्कै आनन्द आउँछ । एक अर्काका बारेमा नजिकबाट चिन्ने अवसर मिल्नेछ । यात्राकै क्रममा साहित्यिक र सामाजिक अनुभवको आदानप्रदान हुन्छ । भावना मिल्ने, विचार मिल्ने साथीहरूसँगको अन्तरक्रियाबाट विचार माझिएको र परिस्कृत भएको महसुस हुन्छ । अझ स्थानीयहरूसँगको अन्तर संवादले नयाँ उर्जा दिन्छ नयाँ तथ्यात्मक ज्ञानको बोध हुन्छ । सितापाइला–भिमढुङगा–विट्जरल्याण्ड पार्क–नैकाप हँुदै कलङ्कीको पदयात्राको रूट यात्राका लागि सजिलो रूट मध्येको एक हो । यो क्षेत्रको पदयात्रामा ठूलो सकस छैन । हामी सहजै यो यात्रामा अगाडि बढ्याँै । नागार्जुन नगरपालिकाको कार्यालय भएर जयन्ति गाउँ, उमा गाउँ हुँदै मरहठ्ठा गाउँमा पुगियो र त्यही मरहठ्ठा गाउँमा रहेको शक्ति बल्लभेश्वर मन्दिरमा पुगेर केही समय आराम गरियो र प्रथम चरणको कविता वाचन गरियो, सुनियो–सुनाइयो । पहिलो चरणमा छ जना सर्जकको रचना सुनियो ।  त्यस पश्चात भूल ढुङ्गा हँुदै फेरि अगाडि बढियो र एघार बजे भिमढुङ्गा पुगियो र बायाँतिर रहेको मन्दिरको प्राङ्गणमा खाना खानका लागि बसियो । सबैले लगेको खाना त्यहाँ बाढ्ने काम भयो । यसरी यात्रामा खाना बाँडचुड गरेर खाँदा निकै रमाइलो हुने तर भान्से बस्न चाहिँ गाह्रो गाह्रो मानेको पनि देखियो । शारदादेवी खनाल पराजुलीले मुख्य भान्सेको भूमिका निर्वाह गर्नु भयो । खाना पश्चात सात जना स्रष्टाहरूद्वारा रचना वाचन गरिएको थियो । उक्त स्थानमा राजकुमार राईले हङकङको अनुभव समेत साट्नु भएको थियो । त्यस पश्चात फेरि यात्रा अगाडि बढ्यो । यात्राकै क्रममा भिमढुङ्गा नामाकरणको जानकारी मिल्यो । परापूर्व कालमा काठमाडौँ उपत्यका पानीले भरिएको थियो । उक्त समयमा उक्त स्थानमा जान ठूलो ढुङ्गाको नाउ बनाएको र उक्त ठूलो नाउको तुलना भिमसँग गरेकाले यो क्षेत्रको नाम भिमढुङ्गा रहन गएको भन्ने जनविश्वास रहेको जानकारी मिल्यो । यो एक प्रकारको किम्बदन्ती हो । यसै गरी यात्रा अगाडि बढ्दै गयो । भिमढुङ्गाबाट तीन बाटा छुट्टिए –एउटा धादिङ जाने अर्को नागढुङगा जाने र अर्को स्वीट्जरल्याण्ड पार्कतिर जाने । हामीले स्वीट्जरल्याण्ड पार्क जाने बाटो समायौँ घट्टेखोला –इन्द्रमार्ग रूट । जङ्गल तथा गाउँको बाटो हिड्दै उकालो जाँदा केहीबेरमा स्वर्गीय पण्डित नारायण पोखरेल प्रतिष्ठान बद्रीनारायण धाममा पुगियो । छेउमा इन्द आधारभुत बिद्यालय थियो । त्यस अगाडि एउटा ठूलो खालको चौतारी थियो । त्यहाँ लिङ्गे पिङसमेत थियो तर डोरी थिएन । त्यहाँ तेस्रो चरणका रचना वाचन कार्यक्रम गरियो । उक्त स्थानमा छ जना सर्जकबाट रचना वाचन गरियो । हिउँदको समय दिन छिटो छिटो नै जान्छ । सिरेटोले वेग बढाउँदै गएको थियो । पदयात्रा टोली दायाँबायाँको दृश्यावलोकन गर्दै, प्रकृतिसँग रमाउँदै, आआफ्ना कुरा साटासाट गर्दै अगाडि बढिरह्यो । स्वीट्जरल्याण्ड पार्क पुग्दा पिकनिक आउनेको घुँइचो देखिन्थ्यो । हाम्रो टोलीका सर्जकहरूलाई पुनः रचना वाचन गर्नु छदैथियो त्यसैले शान्त वातावरणको खोजी गरियो । यसै शिलशिलामा धेरै सिँढी चढेर बिन्दबासिनी मन्दिर पुगियो । जुन मन्दिर पृथ्वीनारायण शाहले निर्माण गरेका थिए । त्यहाँ दुई सय अठार सिँढी रहेछन् समेत भनेको सुनियो । माथि मन्दिरको प्राङ्गणमा पुग्दा दिनको करिव साढे दुई बजेको 

थियो । त्यहाँ चाँैथो र पाँचौ चरणको रचना वाचन गर्ने काम सम्पन्न भयो । हाम्रो कार्यक्रममा मन्दिर दर्शन गर्न आउनेको समेत चासो देखिन्थ्यो । त्यहाँ पाँचौ चरणको कार्यक्रम सकिए पछि स्रष्टा पदयात्रा नेपाल नामबाट कार्यक्रम स्वतन्त्र हैँसियतले संचालित हुँदै आएकोमा कानुनी बैधता दिन दर्ता आवश्यक थियो र एउटा सर्वसम्मत समिति आवश्यक भएकोले संस्था दर्ता गर्न र कार्यक्रम व्यवस्थित गर्न संस्थाको समिति तयार गरियो । स्रष्टा पदयात्राका संयोजक शीतल गिरीको समेत राय लिएर स्रष्टा पदयात्री लिलाराज दाहालले समितिमा बस्नेहरूको नामावली प्रस्ताव गर्नु भयो । जसमा शीतल गिरी, विमलप्रसाद अर्याल, गङ्गाप्रसाद भेटवाल, शारदादेवी खनाल(पराजुली), वसन्तप्रसाद रिजाल, मन्दिरा मधुश्री, शान्ति सापकोटा, प्रवीण पुमा, प्रतीक घिमिरे, नानीबाबा अधिकारी र एन.बि. जनकपुरी समेत रहने गरी समिति गठन गरियो । हुनत पर्वतको मल्लाजमा भएको निर्णयबाट नै कानुनी रूपमा संस्था दर्ता गर्ने अधिकार यो समितिलाई दिई सकेको भएता पनि ७८ औँ पदयात्रामा धेरै सष्टाहरूको चासो देखिएकोले दर्ताको प्रक्रियाका लागि सल्लाह सुझाव लिन केही दिनलाई रोकिएको थियो । तर यो भेलाले पनि पर्वतको निर्णयलाई अनुमोदन गरेको थियो । मुनाफा बितरण नगर्ने संस्थाको रूपमा कम्पनी रजिष्टारको कार्यलयमा शीतल गिरी, विमलप्रसाद अर्याल, गङ्गाप्रसाद भेटवाल, शारदादेवी खनाल र वसन्तप्रसाद रिजालको नाममा संस्था दर्ता गर्ने निर्णय भयो । विन्दबासिनी माताकी जय भनेर सबैले प्रतिबद्धता जाहेर गरेको देखियो । कानुन व्यावसायी अधिबक्ता एवम् स्र्रष्टा पदयात्री गङ्गाप्रसाद भेटवालले तयार गरेको संस्थाको विधिविधानलाई यस अघि नै पारित गरेकाले अर्को पदयात्राबाट यो संस्थाले कानुनी हैँसियत राख्ने 

देखियो ।  त्यस पश्चात पदयात्राको कार्यक्रम ओरालो तर्फ केन्दित भयो । रिम्पोछे गुम्बा हँुदै नैकापलाई लक्षित गर्दै पदयात्रीहरू अगाडि बढ्ने काम भयो । बुद्धिसागरजीको हराएको मोवाइल विन्दवासिनी माताको आशिर्वाद स्वरूप पछि प्राप्त भएको थियो । फिर्ने क्रममा केही पदयात्रीहरू नैकाप भञ्Σयाङतिर लागे भने  पदयात्रीको मूल समूह खड्का गाउँ हुँदै कलङ्की पुगेर यात्रा समापन गरियो ।  आगामि पदयात्रा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालीका अन्र्तगत थानापती क्षेत्रमा रहने छ । शुभम् ...जय स्रटा ।

                                                  गङ्गाप्रसाद भेटवाल 

                                                      गाम्चाचौर ,

                                                 कीतिपुर नगर पालिका वार्ड ४

                                                  काठमाडौँ, नेपाल ।

                                                 ९८४९७१४८६७ 




No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...