कथा – शङ्काभित्रको खुसी
गङ्गाप्रसाद भेटवाल
हिउँदको समय काठमाडौँको जाडो मानिसहरूलाई घाम प्यारो छ । रातिको तापक्रम शुन्य डिग्री सेन्टिग्रेडमा झरेको छ । दिउँसो भने आकाश सफा भएकोले पारिलो घाम लाग्छन् । यसरी दिउँसो घाम नलाग्ने हो भने पुषको महिना निकै गाह्रो हुन्छ ।
उमा घरको छतमा बसेर सुन्तला खाँदै हुन्छिन् । सुन्तला खाने समय पनि यही मङ्सिर–पुष महिना नै त हो । छेउमा एक दुई भोगटेका दाना पनि छन् । उमा सुन्तला खाँदै बसेका बेला सन्तोष आउँछ ।
उमा ! सुन्तला तिमी मात्रै खान्छौ कि मलाई पनि दिन्छौ ?
दिन्छु नि बस्नुस् न । सुन्तला ल्याउने हजुर नै त हो सधैं तर आफू कहिले घरमा बस्न भ्याउनुहुन्न सधैं मैले त खाने गरेकी छु नि ।
सन्तोष छेउमा बस्छ । त्यहाँ भएका सुन्तलाका दानामध्ये एक दाना उठाउँछ । सुन्तलाको बोक्रा मज्जाले तास्छ ।
उमा π हेर त कति राम्रो सुन्तला ।
‘हजुरले ल्याएको सुन्तला नराम्रो हुन्छ त’
‘कुरो त बुझ्छौ तिमी पनि ।’
सन्तोषले सुन्तला बीचमा फुटाउँछ र देब्रे हातले उमाको टाउको समाउँछ अनि दाहिने हातले उमाको मुखमा सुन्तला पु¥याउँछ र खुवाउन खोज्छ ।
हैट के गर्नुभएको यस्तो ?
‘प्यारीलाई सुन्तला खुवाउन खोजेको नि ।’
त्यस्तरी ख्वाएपछि त सबै गेडा पनि निलिन्छन् नि । त्यसरी खुवाउनुहुन्न ।
यी यसरी खुवाउनुपर्छ भन्दै सन्तोषको एक हातबाट सुन्तला लिएर गेडासमेत झिकेर फाली सन्तोषलाई नै उमाले खुवाउँछिन् । सन्तोष पनि आफ्नो अर्को हातको सुन्तलाको केस्राबाट गेडा फालेर उषालाई बाँकी सुन्तला खुवाउँछ ।
प्रेमिल ढङ्गले सुन्तला खाइसकेपछि उनीहरू दुवैजना छतमै रहेको एउटा गुन्द्रीमा बसी मज्जाले घमाइलो वातावरणमा रमाउँछन् । विभिन्न गफगाफ गर्छन् र आपसमा आनन्दित हुन्छन् ।
केही समयपछि त्यहीँ छतमा रहेको भोगटेमध्ये केही भोगटे तासेर उनी नुन–खुर्सानी मिसाउँदै साँध्न थाल्छिन् ।
‘उमा ! तिमीलाई भोगटे खाने रहर अझै पुगेको छैन है ?’
‘खै के भनु हजुर ! बिहे गरेको पन्ध्र वर्ष भयो । घरमा नयाँ मान्छे ल्याउन पाएको छैन । भोगटे खायो बस्यो । यस्तै गरी त समय बित्यो ।’
सन्तोष गम्भीर बन्छ । उमालाई मज्जाले शिरदेखि पाउसम्म हेर्छ । उमाका गालामा केही बुढ््यौली हुन खोजेजस्तो संकेत देख्छ । उमालाई उसले बिहे गरेर ल्याउँदा उमा पच्चिस वर्षकी थिइन् अनि ऊ २७ वर्षको । आज दुवै जना ४० माथि पुगे । उनीहरू घरमा जम्मा दुई जना मात्र छन् । बाआमा भाइका घरमा बस्छन् । सन्तोषको भन्दा पाँच वर्ष ढिलो गरी बिहे भएको भाइका दुई सन्तान भइसकेकाले बाआमा नातिनातिना हेर्न भाइकै घरमा बस्छन् र उतै रमाउँछन् पनि ।
उमा र सन्तोष बाहिरबाहिर हाँसे पनि भित्रभित्रै पिरलोमा पर्छन् । यो पिरलो धेरै वर्षदेखि उनीहरूले झेल्दै आएका छन् । यस्तो पिरलोबाट उन्मुक्ति पाउन दुवैजना पोषिलो खानेकुरा खाएर लक्ष्य केन्द्रित हुन्छन् तर नतिजा शून्य ।
उमा सन्तोषलाई असाध्यै माया गर्छिन् । सन्तोषको माया पनि त्यस्तै छ ऊप्रति । जतिजति उमेर बढ्दै जान्छ त्यति त्यति उनीहरुमा भित्रभित्रै छटपटी बढ्दै जान्छ । उमा कसैका ससाना केटाकेटी देख्दा एक टकले हेर्ने गर्छिन् । त्यो हेराइमा उनका चाहना, इच्छा, रहर र भविष्यसम्मका कल्पना मिसाउँछिन् तर ती सबै उनका अधीनमा हुन्नन् ।
उमाको मनको छटपटी सन्तोषले बुझेको छ । ती दुवैले आफ्नो स्वास्थ्य स्थिति पनि बुझेका छन् । कमजोरी उमामा थिएन । सन्तान नहुनुको कारण सन्तोषको तर्फबाट थियो । परिस्थिति जे जस्तो भएतापनि उनीहरूमा मायाको अभाव थिएन । ऊ आफूलाई फुर्सद हुँदा उमालाई लिएर उनलाई मनपर्ने ठाउँमा घुमाउन लग्थ्यो ।
एकदिन उमाको मनपर्ने स्थान गोदावरीको बोटानिकल गार्डेनमा पुग्छन् उनीहरू । त्यहाँको फूलबारी, ससाना खोला बुट्यान, रमाइलो वन, खुल्ला प्रकृतिले दुवैको मन प्रफुल्लित बनाउँछ । चौरको एक कुनामा बसेर प्रेमलाप गर्छन् । उनीहरू आपसमा हराउँछन् । प्रकृतिले शितलता दिन्छिन् अनि मधुर स्वरमा आएको झ्याउकिरीको आवाजले संगीत भरिदिन्छ । त्यो गार्डेनमा सयौं मान्छेहरू यताउता हिँडिरहन्छन् । फोटो खिचिरहन्छन् अनि हल्ला गरिरहन्छन् । तर उनीहरू न त मान्छेहरूलाई देख्छन् न त उनीहरूको हल्ला नै सुन्छन् । उनीहरूलाई लाग्छ –यत्रो आनन्दमय फूलबारीमा हामी दुई मात्र छाँै ।
दिन बितेको पत्तै हुँदैन । एक्कासी त्यहाँको बगैंचे आएर अब जानू, छुट्टी भयो भन्छ । त्यसपछि मात्र उनीहरू झसङ््ग हुन्छन् र आफ्नो आन्तरिक संसारबाट बाहिर निक्लन्छन् । आफूले लगेका पानीका बोतल खाली देख्छन् । लगेको खाजा पनि सकिएको देख्छन् । खान त उनीहरूले नै खाए तर कतिखेर खाइयो भन्ने कुरा थाहा हुँदैन ।
त्यो बोटानिकल गार्डेनबाट उनीहरू बाहिर निस्कन्छन् । बाहिर पार्किङमा राखेको बाइकको धुलो पुसपास पारेर सन्तोषले बाइक स्टार्ट गर्छ । उमा आफ्नो सल, कुर्था मिलाई बाइकमा बस्छिन् ।
बाइक अगााडिको माइक्रो स्टेशनमा आइपुग्छ ।
‘उमा’ एक कप तातो चिया खाएर जाउँन है !
हुन्छ’ ।
बाइक एक छेउमा अड्याउँछ सन्तोष । तीन चारवटा माइक्रो त्यहाँ हुन्छन् । मान्छेको पातलो चहलपहल । ससाना टहरामा खाद्यान्न पसल अनि त्यस्तै टहरामा खाजा होटल र चिया पसल हुन्छन् । उमाको हात समातेर ऊ एउटा बाँसको मेचमा बस्छ । सामुन्नेको चिया पसल कि साउनी, अधबँैसे उमेरकी महिलाले सोध्छिन् – कस्तो चिया बनाउँ हजुर ?र्
रङ कडा, दूध कडा, चिनी कडा भएको दुई कप ।
हस् हजुर ।’
त्यहाँ बसेको बेला उमाको हात आफूतिर तान्दै सन्तोष भन्छ –उमा, तिमी खुसी त छौ नि हैन ?
उमा केही नबोली पुलुक्क सन्तोषको आँखातिर हेर्छिन् । त्यहाँ चार आँखाहरू दुई हुन्छन् । लगत्तै आफ्ना आँखा बन्द गरेर जिउ ढल्काएर सन्तोषसँग टाँसिन्छिन् ।र्
चिया आयो, हजुर !
साउनीको आवाजले उनीहरू सतर्क बन्छन् । चिया दिने ती महिलाको साथमा तीनजना ससाना केटीहरू पनि देखिन्छन् ।
सन्तोषको मुखबाट फुत्त शब्द निक्लिर्यो ओहो ! साउनीका छोरी तीनतीन जना पो रहेछन् त ।’र्
हो नि । के गर्नु, छोरी छोरी भयो भनेर मुर्दार भागिगो ।
आउला नि ।
के आउँथ्यो बजिया, अर्की लिएर भागो, अब आाएर पनि के काम ।’
होटलवाल्नीसँगको छोटो संवादपछि यसो उमातिर फर्कन्छ । उमा ती सानी छोरीलाई बोकेर त्यहाँको अर्को पसलमा गएर चिजबल किनिदिँदै हुन्छिन् ।
उमा, चिया सेलायो । आऊ ।’
उनीहरू त्यही बाँसको मेचमा चिया खाइसकेर पनि केहीबेरसम्म बस्छन् ।
त्यसपछि सन्तोष भन्र्छ उमा अब जाऊँ ।’ र्
हुन्छ ।’
बाइक स्टार्ट गरेर सातदोबाटोतिर लाग्छन्् । केही हतार पनि हुन्छ उनीहरूलाई । सन्तोषले बाइकको स्पिड बढाउँछ । गफ गर्दै अगाडि बढिरहेका हुन्छन् । हातीवनको घुम्तीमा रोकिराखेको ट्रकमा उनीहरूको बाइक जोडले बजारिन्छ । स्पिडमा भएकोले ठूलो आवाजका साथ उनीहरू त्यहाँ मोटरसाइकल दुर्घटनामा पर्छन् । दुवैजना बेहोस हुन्छन् । बाटोमा भिड जम्मा हुन्छ । ट्राफिक आउँछन् । उनीहरूलाई घटना मुचुल्का उठाइसकेर अस्पताल पुर्याइन्छ । दुवै जनाको गम्भीर अवस्था हुन्छ । अस्पतालको आइसियुमा राखेर उपचार सुरु हुन्छ । उनीहरूको झोलामा भएको डायरीमा लेखिएको टेलिफोन नम्बरको आधारमा आफन्तलाई समेत अस्पताल आउन भनिन्छ । सन्तोषको दुवै खुट्टा कच्याककुचुक भएको, टाउको फुटेको अनि उमाको पनि टाउको फुटेको र देब्रे हात भाचिएको हुन्छ । अस्पतालमा सिकारु डाक्टरका कारण सन्तोषको दुवै खुट्टाको अपरेसन असफल हुन्छ । उसका दुवै खुट्टा काट्नुपर्ने अवस्था आउँछ । उमाको भने बिस्तारै टाउकाको चोट विसेक हुन्छ । लगभग दुई महिना सन्तोषको अस्पताल बसाई हुन्छ भने उमाको पनि पन्ध्र्र्र्र दिन बिरामी बनेर र बाँकी एक महिना पन्ध्र दिन कुरुवा बनेर सन्तोषको जत्तिकै अस्पताल बसाई हुन्छ ।
समय केही बित्यो । परिस्थितिको पाटो पल्टियो । घरमा वैशाखीको सहायताले सन्तोष मुस्किलले यता उता हिडडुल गर्न सक्ने हुन्छ । आफन्त, साथीभाइ भेटघाटका लागि सुरुसुरुमा बाक्लै आउँथे । पछिपछि भेट्न आउने मान्छेको क्रम पनि पातलिँदै जान्छ
उमा पूर्ण रूपले निको भइन् । सन्तोषको साथी विनोद अलि बाक्लै उसलाई भेट्न आइरहन्थ्यो । यस्तै हो जीवन भनेर सम्झाइरहन्थ्यो पनि । समय बित्दै जाँदा उमा दोजिया भइन् । मुस्किलले अप्ठ्यारो तरिकाले भएपनि सन्तोष र उमाबीचका विविध कारोबार, घरव्यवहार आदि चलेकै थिए । उमा दाजिया भएपछि विनोद उनीहरूकोमा जान असजिलो मान्न थाल्यो र जान निकै कम गर्न थाल्यो । त्यस घरबाट बोलावट भएमा मात्र जान थाल्यो ।
केही समयपछि उमाले छोरालाई जन्म दिइन् । सन्तोष र उमालाई त्यो बुढ्यौली उमेरमा सन्तानको सुख पाउने अवसर जुर्यो । छोराको नाम पुरोहित बाजले पुण्यप्रसाद राखिदिए ।
पुण्यप्रसाद घर अगाडिको आँगनमा मज्जाले खेल्न सक्ने भयो । ऊ हाँसी हाँसी घरलाई उज्यालो बनाउथ्यो । सन्तोष पनि मज्जाले हाँस्थ्यो तापनि मनको एक कुनामा यो छोरो मेरो हो कि होइन भन्ने भाव राखिराख्थ्यो तर दुनियाको नजरमा पुण्यप्रसाद उसकै छोरो देखिँदा ऊ खुसी थियो । उमामा त खुसीको सीमा नै थिएन । छोराकी आमा बन्न पाउँदा संसार जितेको अनुभूति भएको थियो तैपनि मनको एक कुनामा घटनाको पर्दाफास हुन्छ कि भन्ने डर रहिरहन्थ्यो । पछिल्ला दिनमा विनोद पनि त्यो घरमा बाक्लै आउँथ्यो । सन्तोषसँग कुरा गरेको बहाना गथ्र्यो । उमाको हालखबर सोधेजस्तो गथ्र्यो र पुण्यप्रसादलाई च्याप्प समाएर माया गथ्र्यो तर उसको मनमा पनि घटनाले के रूप लेला भन्ने झस्का परिरहन्थ्यो । हजुरबा हजुरआमा पनि हाम्रो बुढेसकालको नाती भनेर पुण्यप्रसादलाई खेलाउँथे । बेलाबेला ट्वाल्ल परेर हेर्थे तैपनि नाती पाएकोमा खुसी थिए ।
पुण्यप्रसाद एउटा बालक थियो तर उसले नजानिकन पनि धेरैलाई खुसी दिएको थियो ।
समाप्त ।
गङ्गाप्रसाद भेटवाल कीर्तिपुर वडा नं ४ काठमाडौँ
फोन – ९८४९७१४८६७ ।
No comments:
Post a Comment