Monday, June 23, 2025

मण्डन यात्रा: हरिया फाँटदेखि काव्य चौतारीसम्म - शम्भु गजुरेल " कुनाघरे काइँलो"

 मण्डन यात्रा: हरिया फाँटदेखि काव्य चौतारीसम्म

शम्भु गजुरेल " कुनाघरे काइँलो"

मण्डन यात्रा प्रारम्भ यात्राको सुचना प्रवाह गुरुले सञ्जालमा गर्दिए आगामी पथको वृतान्त प्रतिमा छर्लङ्ग नैँ पार्दिए सारा यात्रुहरू पढेर सुचना चम्के तयारी तिर यात्री लेखकको गयो दिल सिधै मण्डन् दगुर्ने तिर। जाडोको महिना थियो नगरमा बर्को थियो हुस्सुको तारा अस्त थिए थिएन नभमा लाली कतै सूर्यको आफ्नो नित्य कला सकेर म हिडेँ झोला भिरी काँधमा तोकेको पलमा पुगौँ म कसरी भन्ने लिई चाहना । बाईपास भरी थियो कृषकको ताँती बिहानी पख बेच्थे साग मकै मुला र धनियाँ आनन्द मानी कन हेर्दै पावन दृश्यमा नजरले गोडा छिटो लम्किए भेटेको बसमा चढेँ सिट मिल्यो आँखा दुबै चम्किए । समयको धरोहरले सधैं नयाँ अध्याय लेखिरहेछ। बिहान ६:४५ बजे चाबहिलबाट सुरु भएको हाम्रो यात्रा राजधानीको कोलाहलभन्दा टाढा, प्रकृतिको सुस्केरा सुन्ने चाहनाको अभिव्यक्ति थियो— एउटा सुन्दर र स्मरणीय मण्डन यात्रा। शहरी आपाधापी पछि हरियालीको आश्वादन : ७:५० तिर ठिमी पार गर्दै गर्दा, सूर्यका कोमल किरणहरू हाम्रा आँखामा झुल्किरहेका थिए। राजधानीको धुलो र चापछाप छोडेर हामी विस्तारै जीवनको अर्को रूपतिर बढ्दै थियौं। सूर्यविनायकदेखि केराघारीसम्मको बाटो निर्माणाधीन थियो, जसले यात्रामा केही अवरोध त ल्यायो तर उत्साह घटेन। तीनपिप्ले नजिकै उर्वर भूमि पाँचखाल देखा पर्न थाल्यो— कहिल्यै हरियालीले ढाकिएको त्यो फाँट, अहिले सिमेन्टको जंगलमा परिणत हुँदैछ। आलु, मकै, तरकारीको गन्ध हराउँदै गइरहेको देख्दा मनमा गहिरो प्रश्न उब्जियो— के विकासले कृषिलाई विस्थापित गर्दैछ? मिठास बोकेको पाँचखाल र जंगल रिसोर्टहरूको छायाँ : ९:४० तिर हामी पाँचखाल पुग्यौं। स्थानीय प्रसिद्ध मिष्ठान्न पसलहरू— श्रीकृष्ण स्वीट र माँ दुर्गा स्वीट बाट निस्किएको मिठाइको सुवासले वातावरण सजीव बनायो। घना हुस्सुले दृश्य ओझेलमा पारेको थियो, तर मिठासको अनुभूति गहिरो थियो। जंगल अतिक्रमण गरेर उभिएका रिसोर्टहरू देख्दा संरक्षण र व्यापारबीचको द्वन्द्व मनभित्र बज्न थाल्यो। चाकुखोला र रानीटार: इतिहास, कथा र वर्तमान: जिरो किलो पार गरेर हामी चाकुखोला सिमानातिर झर्यौं। त्यहाँको एउटा मन्दिर र स्कुल सँगै स्थानीयहरूको आत्मीयता देखिन्थ्यो। चाकुखोलाको नामाकरण सुन्दै गर्दा कथाको रस पाइयो— सख्खर उत्पादनको प्रशस्तता र चाकु बनाउँदा खोलामा मिसिने मिठो रसका कारण यसलाई “चाकुखोला” भनिएको रहेछ। त्यहाँको माटो, नाम र मानिस—सबैमा मिठास मिसिएको महसुस भयो। रानीटारको फाँटमा पुग्दा आलुका बोटहरू उम्रँदै गरेका देखिए। तर, सँगसँगै खेतीको जगमा उभिएका घरहरूले विकास र प्रकृतिको दोधार झल्काइरहेथ्यो। कुन्ता बेसीमा माछा पोखरीले स्वागत गर्
यो। स्थानीय सरकारसँगको साक्षात्कार:

१०:०० बजे हामी मण्डन देउपुर नगरपालिकाको आकर्षक भवनमा पुग्यौं। नगर प्रमुख टोकबहादुर वाइवा र उपप्रमुख विष्णुमणि नेपालद्वारा हार्दिक स्वागत भयो। भव्य सभा हल, २०० सिट क्षमता, सुशोभित संरचना—सबैले स्थानीय सरकारको प्रतिबद्धता देखायो। १०:४३ मा सुरु भएको कार्यक्रम भावनात्मक र सौम्य थियो। वडा अध्यक्ष, मेयर, उपमेयर लगायतका वक्ताहरूले आफ्ना मन्तव्य दिए। लोकेन्द्र विष्ट, पुरुषोत्तम नेपाल, शीतल गिरि, गङ्गा भेटवाल, बालचन्द्र मिश्र लगायतले मन्तव्य दिएका थिए। उद्घोषक शालिकराम श्रेष्ठको प्रस्तुतिमा तीजको “मालिक्नी माइत जानु भो” गीतले सभालाई रमाइलो बनायो। पुस्तक विमोचन, कविता वाचन, र स्थानीय साहित्यिक धारामा नयाँ ऊर्जा भरिएको महसुस भयो। शार्दूलविक्रीडित छन्दमा रचित दिनेश नेपालको “हाम्रो मण्डन, राम्रो मण्डन” कविता स्मरणीय रह्यो। विद्यालय, हरियाली र गीतको प्रतिध्वनि: २:५६ मा हामी आँपघारीस्थित श्री बिन्दवासिनी मा.वि. पुग्यौं। चापको बो र सालको वनले ढाकिएको त्यो स्थान शान्त र रमणीय लाग्यो। तर, वन खोतलेर बनाइएको भवन, ३ बजे नै अस्ताएको घाम— विद्यालयको अवस्थाप्रति केही चिन्ता पनि जगायो। विद्यालयमा "अन्धकार नासिनी जय जय बिन्दवासिनी" गीतको सस्वर गायनले हृदय छोयो। शारदा पराजुलीको सञ्चालन, प्राचार्य पुष्पराज अवस्थी र बिमल अर्यालका मन्तव्य, र कविता वाचनहरूले वातावरण भावुक बनायो— शीतल गिरि, परशुराम पराशर, निशा केसी, खोलाघरे साहिला, दिनेश नेपालजस्ता स्रष्टाहरूको प्रस्तुति उल्लेखनीय थियो। इन्द्रावतीको संगीत र माझी गाउँको रमझम: ३:४० मा हामी जोगिटार फाँटमा पुग्यौं— तोरी फुलेको खेत, मकैको सुत्ला चेपिएको दृश्य र एउटा आँपको चौतारो। ४:३० तिर इन्द्रावती नदी किनारको माझी गाउँमा पुग्यौं। नदीको कलकल, हावाको सरसर, र चापको रुखमुनिको चौतारी— शान्ति, अनुभूति र स्मृतिको एकैचोटि संगम। सोवित माझी र लालगेडीसँग जोडिएको चौतारीको कथा मन छुने थियो। गाई र बंगुर एउटै गोठमा पालिएको देख्दा धार्मिक समभावको अनुपम उदाहरण देखियो। नदी बगरमा साहित्यिक कार्यक्रम भयो— विजया बस्नेत, बालचन्द्र मिश्र, राजन पुडासैनी, शम्भु गजुरेल, नवराज रिजाल, प्रभा बराल लगायतका कविहरूले प्रकृति र समाजका संवेदनशील पक्षलाई कविता मार्फत उजागर गरे। भजन , भक्ति र काव्य : ज्वाँनेटारको बसाइँ अत्यन्त सम्मानित र भावविभोर बनाउने खालको थियो । भोजन पश्चात् ७:३० बजे हामी भजन गृहमा पुग्यौं। शोकाकुल सामाजिक वातावरण भएपनि स्रष्टा पदयात्रीको स्वागतार्थ भजन गृह खोलिएको थियो । हरिबोल काफ्ले, पण्डित मुकुन्द नेपाल, एन्जेल निलुजीलगायतको भजन प्रस्तुति सुन्दर थियो। एन्जेल निलुको मैथिली भजन विशिष्ट लाग्यो। शम्भु गजुरेलको कविता वाचन र उपमेयरको भावनात्मक मन्तव्यले दिनभरको थकान भुलाइदियो। चन्डेनीको बाटोमा— ऐतिहासिक चौतारी र स्मृति: ७:२१ मा ज्वाँनेटारबाट चन्डेनीतर्फ लाग्यौं। बेशीको समथर टारमा पुराना मन्दिर, सामुदायिक भवनहरू हेर्दै अगाडि बढ्यौं। सुरेन्द्र नेपाल र चण्डिका नेपालले स्थानीय इतिहास सुनाउँदै लगे। ठूलोवन सामुदायिक वन, नर्दम पोखरी, जितौरी पोखरी—नाममा र कथनमा रहेपनि गौरव पूर्ण अस्तित्व जगाउने प्रयत्नमा अग्रसर देख्दा आनन्द आयो। कहिँ सुक्दै गएका जलस्रोत, कहिँ हराउँदै गएका चौतारी मन खिन्न पनि भयो । श्री चौरको गणेशथान र पुराना वासस्थानले इतिहासको जरा देखाए। देवी प्रतिभाको नाम र योगदान पनि सुन्न पाइयो। अन्तिम स्पर्श: उमा शिक्षालय र साहित्यिक निष्कर्ष: १२:११ बजे श्री उमा सहशिक्षालयमा अन्तिम कार्यक्रम सम्पन्न भयो। खाना पछि रचना वाचन कार्यक्रम भयो— रामकुमार पण्डित, खोलाघरे साहिला, कृष्ण सुवेदी निराकार, विष्णु शर्मा पराजुली, पुष्पराम सापकोटा, डिल्लीराज नेपाल, चण्डिका नेपाल, राजन पुडासैनी, नानीबाबा अधिकारी, सुमन पुडासैनी, शोभा पोख्रेल, दुर्गा भवानी भट्ट, गङ्गा भेटवाल, शम्भु गजुरेल लगायतले प्रस्तुति दिनुभयो। शालिग्राम श्रेष्ठको संयोजन, शारदा पराजुलीको मन्तव्य, विद्यार्थीहरूको उत्साह— सबैले मण्डन देउपुरको साहित्यिक जागरणको स्पष्ट संकेत गरे। यात्रा सकियो, अनुभूति बाँकी नै छ... २:२२ बजे हामी थानडाँडा हुँदै सुलीकोटतर्फ लाग्यौं। यात्रा सकियो, तर मन अझै मण्डनका हरिया फाँटमा भिजिरहेको थियो। हिमालको टाकुरी, इन्द्रावतीको संगीत, चौतारीका कविता, माझी गाउँका कथा, र साहित्यप्रति समर्पित अनुहारहरू— यी सबै अमिट सम्झनामा रहिरहनेछन्। समाप्ति भाव: "मण्डन देउपुर, तिमी केवल एक गन्तव्य होइनौ, तिमी स्मृति, सौन्दर्य र सम्भावनाको सजीव संगालो हौ।"




        

No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...